कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दल नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेता शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालय सुर्खेतले जनाएको छ । नेकपा (एमाले) को समर्थनमा मंगलबार शाहीले कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए । मुख्यमन्त्री शाहीको बुधबार शपथ ग्रहण गर्ने कार्यक्रम छ ।
शेखर गोल्छालाई एक करोड धरौटी माग गर्न आदेश
काठमाडौं । व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटी माग गर्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले मंगलबार बीमासम्बन्धी कसुरमा ७५ लाख र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख धरौटी माग गर्न आदेश दिएको हो । न्यायाधीश प्रतिमाकुमारी भट्टराईको इजलासले उनलाई एक करोड धरौटी माग गर्न आदेश दिएको अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए । गोल्छा मंगलबार अदालतमा उपस्थित भएका थिए । सोही मुद्दामा यसअघि दीपक भट्ट र शुलभ अग्रवालसँग पनि धरौटी माग गरेको थियो । बीमा कसुरमा अग्रवालसँग २ करोड र भट्टसँग डेढ करोड धरौटी माग गरेको थियो । धितोपत्रसम्बन्धी कसुरमा अग्रवालसँग २ करोड ३० लाख र भट्ट एक करोड धरौटी माग गर्ने आदेश दिएको थियो ।
नारायणगढ-मुग्लिन सडक मंगलबार राति ८ बजेदेखि बिहान ५ बजेसम्म पूर्ण बन्द
काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्ड मंगलबार (आज) मंगलबार राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म बन्द रहने भएको छ । सुख्खा पहिरो खस्ने जोखिम कायमै रहेकाले जिल्ला प्रशासन कार्यालय चितवनले सवारी आवागमनमा रोक लगाएको हो । पहिरोका कारण हुन सक्ने मानवीय जोखिमलाई मध्यनजर गरी यो निर्णय गरिएको हो । मंगलबार साँझ ६ बजे मुग्लिन बजार नजिकै तेस्रोपटक सुख्खा पहिरो खसेको थियो । पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध बनेको थियो । सडक विभागका इन्जिनियरको नेतृत्वमा मेसिन प्रयोग गरी पहिरो पन्छाइएको छ । अहिले सडक सञ्चालनमा आए पनि पहिरो खस्ने क्रम रोकिएको छैन । सडक डिभिजन भरतपुरले जोखिम कायमै रहेकाले सतर्कता अपनाउन भनेको छ । प्रशासनले मंगलबार १२ साउन राति ८ बजेदेखि भोलि १३ साउन बिहान ५ बजेसम्म सबै प्रकारका गाडी चलाउन रोक लगाएको छ । रातको समयमा यात्रा गर्दा ठूलो दुर्घटना हुन सक्ने भएकाले यात्रा नगर्न सबैलाई अनुरोध गरिएको छ । सडक विभाग र प्रशासनले पहिरोको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेका छन् । सडक बन्द रहेको समयमा थप जानकारी वा सहयोगका लागि विभिन्न नम्बरहरु सार्वजनिक गरिएको छ । नागरिकले नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १११४ नम्बरमा फोन गर्न सक्ने छन् । त्यस्तै, जिल्ला आपतकालीन केन्द्र (डिइओसीमा) को १२३४ नम्बरमा सम्पर्क गर्न मिल्नेछ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारीलाई ९८५५०१३९९९ नम्बरमा सिधै फोन गर्न सकिनेछ ।
प्रधानमन्त्रीसँग मेरो निरन्तर संवाद हुन्छ, ‘बाइपास’ गरिएको चर्चा अफवाहमात्रः अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र साहसँग आर्थिक एजेण्डामा नजिकको समन्वय भइरहेको दाबी गर्दै बाहिर फैलाइएका अफवाहको पछि नलाग्न उद्यमीहरूलाई आग्रह गरेका छन् । केही समययता प्रधानमन्त्री शाहले निजी क्षेत्रसँग गरेको छलफलमा अर्थमन्त्री वाग्ले अनुपस्थित छन् । निजी क्षेत्रसँगको छलफलमा अर्थ मन्त्रालयको नेतृत्व गरिरहेका डा. वाग्लेलाई प्रधानमन्त्रीले बेवास्ता गरेका समाचारहरू प्रकाशित भएपछि उनले मंगलवार अर्थ मन्त्रालयमा उद्यमीसँगको छलफलमा यस्तो प्रष्टीकरण दिएका हुन् । उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू स्वयं निजी क्षेत्रसँग निरन्तर संवादमा हुनुहुन्छ । मुख्य विषयहरूमा उहाँले सोझै र तत्काल म लगायतका मन्त्रीहरुसँग फलोअप गरिरहनुभएको छ । हाम्रो निरन्तर संवाद पनि भइरहेको हुन्छ । प्रत्येक क्याबिनेटपछि प्रधानमन्त्रीज्यूसँग म बस्छु । तर बजारमा चाहिँ अनेक अफवाहहरू, झुठहरू फैलाइन्छ ।’ उनले आर्थिक मुद्दामा प्रधानमन्त्रीको तहबाट लामो समययताकै सबैभन्दा गहिरो चासो र समन्वय भइरहेको पनि स्पष्ट पारे । उनले प्रधानमन्त्री स्वयं निजी क्षेत्रसँग निरन्तर संवादमा रहेको तथा उद्यमी–व्यवसायीले उठाएका विषयमा तत्काल आफू तथा सम्बन्धित मन्त्रीहरूसँग समन्वय र फलोअप गर्ने गरेको बताए । उनले सरकार निजी क्षेत्रको लगानी सुरक्षित गर्न तथा प्रतिफलको सुनिश्चितता दिने कुरामा प्रतिवद्ध रहेको दोहाेर्याए । अर्थमन्त्री वाग्लेले मुलुकका आर्थिक मुद्दाहरूमा प्रधानमन्त्री शाहसँग निरन्तर गहिरो छलफल भइरहेको भन्दै बजारका हल्लाहरूको पछाडि नलाग्न आग्रहसमेत गरे ।
दित्य ओभरसिजबाट ठगिएका ४८ जनालाई क्षतिपूर्ति
काठमाडौं । वैदेशिक रोजगार विभागले दित्य ओभरसिज प्रालिबाट ठगिएका ४८ जनालाई क्षतिपूर्ति दिलाउँदै प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । ४८ जना व्यक्तिहरूलाई ठगी गरेको र पहिलो पटकको निर्देशन पालना नगरेकोमा ओभरसिजलाई दोस्रो पटक जरिवाना गरेको गरिएको हो । वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५३ बमोजिम ४८ जना व्यक्तिबाट तोकिएको भन्दा बढी शुल्क लिएको सम्बन्धमा २४ लाख र विभागको आदेश वा निर्देशन पालना नगरेको हकमा २०६४ को दफा ५४ बमोजिम दोस्रो पटकलाई रु ५० हजार जरिवाना गरिएको छ । विभागले यसअघि तोकिएको भन्दा बढी शुल्क लिएको भनी सचेतसमेत गराएको थियो ।
बैंकिङ कसुरमा भागेर दुबई पुगेकी साउद फर्किँदा विमानस्थलबाटै पक्राउ
काठमाडौं । बैंकिङ कसुरमा फरार रहेकी एक महिला पक्राउ परेकी छन् । सोमबार दुबईबाट नेपाल आउने क्रममा निर्मला साउद त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी हुन्। बैंकिङ कसुर मुद्दाका फरार रहेकी कैलाली गौरीगंगा नगरपालिका १ का चौमाला हाल गोदावरी नगरपालिका ८ स्याउले बस्ने साउद पक्राउ परेकी हुन् । कतार एयरवेजको उडान नम्बर क्युआर ६५० बाट दुबईबाट नेपाल आउने क्रममा अध्यागमन कार्यालयको विद्युतीय प्रणालीमा पीए ११९०९४६ नम्बरको राहदानी ब्ल्याक लिस्टमा देखिएको थियो । कार्यालयले सक्कल राहदानीसहित मानिस जिम्मा लगाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय, मालाखेती कैलालीमा पठाइएको प्रहरीले जनाएको छ ।
नेपालमा थप पुँजी र प्रविधि भित्राउन एनआरएनलाई सञ्चारमन्त्रीको आह्वान
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन) को ज्ञान, सीप, प्रविधि र पुँजीलाई स्वदेशको विकाससँग जोड्ने गरी सरकारले नीतिगत, कानुनी तथा व्यावहारिक सुधारलाई प्राथमिकता दिएको बताएका छन् । विदेशमा रहेका नेपालीको अनुभव र लगानीलाई राष्ट्र निर्माणमा उपयोग गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले सूचना प्रविधि, कृत्रिम बौद्धिकता (एआई), डेटा सेन्टर तथा डिजिटल पूर्वाधारजस्ता क्षेत्रमा लगानीका लागि नेपाल तयार रहेको स्पष्ट पारे । मंगलबार (आज) सूचना र तथा सञ्चार मन्त्रालयमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पदाधिकारीसँग भएको भेटवार्तामा सञ्चारमन्त्री डा तिमिल्सिनाले सरकारले देशमा लगानीमैत्री वातावरण निर्माण गर्न आवश्यक सुधारका काम अघि बढाइरहेको बताए । छलफलमा एनआरएनएका उपाध्यक्ष रोजिना प्रधान राई, उपाध्यक्ष ज्ञानेन्द्र रेग्मी, उपमहासचिव कृष्ण पोखरेललगायतको सहभागिता थियो । भेटका क्रममा एनआरएनएका प्रतिनिधिहरूले सन् २०२७ को जनवरीमा काठमाडौंमा आयोजना हुने चौथो ‘एनआरएनए ग्लोबल नलेज कन्भेन्सन–२०२७’ को तयारीबारे जानकारी गराएका थिए । उक्त सम्मेलनले विश्वभर रहेका नेपालीको ज्ञान, सीप, अनुभव र नवप्रवर्तनलाई नेपालको विकाससँग जोड्ने उद्देश्य राखेको एनआरएनले जनाएको छ । छलफलमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले सरकारले विभिन्न स्थानमा आधुनिक डाटा सेन्टर निर्माणको प्रक्रिया अघि बढाइरहेको बताउँदै ती परियोजनामा स्वदेशी तथा विदेशी लगानी दुवैको आवश्यकता रहेको बताए । एआई, डेटा सेन्टर, डिजिटल पूर्वाधार र सूचना प्रविधिसँग सम्बन्धित क्षेत्रमा लगानी गर्न उपयुक्त वातावरण बनेको उल्लेख गर्दै उनले लगानीकर्ताका लागि थप सहज वातावरण तयार गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले विदेशमा बसोबास गर्ने नेपालीले स्वदेशप्रति गहिरो माया राख्ने र देशका लागि केही गर्न चाहने भावना सकारात्मक रहेको उल्लेख गरे । त्यस सम्भावनालाई नीतिगत रूपमा उपयोग गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले नेपालमा सीप, प्रविधि र पुँजी भित्र्याएर राष्ट्र निर्माणमा योगदान गर्न गैरआवासीय नेपालीलाई आग्रह गरे । अहिले सरकारले सुशासन र नागरिक सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राखेर राजनीतिक संस्कारमा परिवर्तन ल्याउने उद्देश्यका साथ काम गरिरहेको उल्लेख गर्दै सञ्चारमन्त्री डा तिमिल्सिनाले सुधारका प्रयासमा विभिन्न समस्या तथा व्यवधान आए पनि निरन्तर अघि बढ्ने स्पष्ट पारे । ‘अहिले जहाँ हेरे पनि सुधार गर्नुपर्ने मात्रै देखिन्छ । हरेक ठाउँमा समस्या र चुनौतीका चाङ छन् । नियत सही हुँदा पनि काम गर्ने क्रममा व्यवधान आउन सक्छन् । अहिले के गर्नेभन्दा पनि कसरी गर्ने भन्ने विषय बढी महत्त्वपूर्ण बनेको छ,’ उनले भने । सरकारले प्रक्रियामुखी कार्यशैलीभन्दा नतिजामुखी कार्यसम्पादनलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले नागरिकलाई प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर सरकार अघि बढिरहेको बताए । नीति, योजना र बजेट कार्यान्वयनमा व्यावहारिक सुधार गर्दै सुशासन र डिजिटल प्रणालीको विस्तारमा सरकार केन्द्रित रहेको सञ्चारमन्त्री तिमिल्सिनाको भनाइ थियो । एनआरएनएका प्रतिनिधिहरूले सरकारले अघि सारेका डिजिटल रूपान्तरण, विद्युतीय शासन, कृत्रिम बौद्धिकता, सुशासन तथा डिजिटलाइजेसनका कार्यक्रम कार्यान्वयनमा सहकार्य गर्न आफूहरू तयार रहेको बताएका छन् । कृषि, पर्यटन, सूचना प्रविधि, नवप्रवर्तन तथा अन्य उत्पादनमूलक क्षेत्रमा ज्ञान, सीप र लगानीमार्फत एनआरएनले सहयोग गरिरहेको उल्लेख गर्दै एनआरएनले सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटसँग मेल खाने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको एनआरएनएले जानकारी दिएको छ । एनआरएनएका उपाध्यक्ष रोजिना प्रधान राईले गैरआवासीय नेपालीलाई निश्चित अधिकारसहितको नागरिकता उपलब्ध गराउने सरकारको निर्णयलाई सकारात्मक कदमको रूपमा स्वागत गर्दै त्यसको कार्यान्वयनलाई थप सहज बनाउन आग्रह गरिन् । उनले गैरआवासीय नेपालीसम्बन्धी ऐन संशोधनका लागि तयार भएको विधेयकलाई पनि सरकारले शीघ्र अघि बढाउनुपर्ने आवश्यकता औंल्याइन् । गैरआवासीय नेपालीले नेपालमा सम्पत्ति खरिद–बिक्री, सवारीचालक अनुमतिपत्र प्राप्ति लगायतका सेवामा विभिन्न व्यावहारिक समस्या भोग्नुपरेको तथा आफ्नै देश आउँदासमेत भिसासम्बन्धी जटिलताको सामना गर्नुपरेको उनले उल्लेख गरिन् । ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने अवधारणाअनुसार सरकारले व्यवहारिक नीति अवलम्बन गर्न सके नेपालमा थप सीप, प्रविधि र पुँजी भित्रिने विश्वास उनले व्यक्त गरिन् । छलफलका क्रममा एनआरएनएका उपाध्यक्ष ज्ञानेन्द्र रेग्मीले विदेशमा रहेका नेपालीले वर्तमान सरकारसँग ठूलो अपेक्षा राखेको बताउँदै संविधानले गैरआवासीय नेपालीलाई प्रदान गरेका राजनीतिक अधिकारबाहेकका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने धारणा राखे । उनले गैरआवासीय नेपालीका हितमा केही सकारात्मक नीतिगत व्यवस्था भए पनि त्यसको कार्यान्वयनमा ढिलाइ हुन नहुने बताउँदै विदेशमा रहेका नेपालीको ज्ञान, अनुभव, प्रविधि र लगानीलाई नेपालसँग जोड्ने वातावरण अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । एनआरएनले आयोजना गर्ने विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल सरकारको उच्चस्तरीय तथा आधिकारिक सहभागिताको अपेक्षा गरिएको पनि एनआरएनले जनाएको छ। त्यस्ता सम्मेलनमार्फत विश्वभर छरिएर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता, उद्यमी र लगानीकर्ताको ज्ञान तथा अनुभवलाई नेपालको आर्थिक, सामाजिक र प्राविधिक विकाससँग जोड्ने उद्देश्य रहेको एनआरएनएले जनाएको छ ।
कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाहीले कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गरेका छन् । नेकपा (एमाले)को समर्थनमा आज कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतमा पुगेर नेता शाहीले मुख्यमन्त्री पदमा दाबी पेस गरेका हुन् । नेता शाहीले आज दाबी पेस गरे पनि प्रदेश प्रमुख यज्ञराज जोशीले उनलाई बैठकको छलफलपछि बुधबार मात्रै नियुक्ति दिने प्रदेश प्रमुखको कार्यालय सुर्खेतका सूचना अधिकारी मनमाया काउचाले जानकारी दिए । शाहीले दाबी पेस गर्ने समयमा एमालेका प्रमुख सचेतक टेकराज पछाईंको पनि उपस्थिति थियो । हाल कर्णाली प्रदेशसभाका ४० प्रदेशसभा सदस्यमध्ये १४ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र १० नेकपा एमालेका प्रदेशसभा सदस्य छन् ।