विकासन्युज

सुनको मूल्य तोलाकै ३ लाख नाघ्यो, चाँदी पनि महँगियो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले आज नयाँ कीर्तिमान बनाएको छ । अन्तरराष्ट्रिय बजारमा देखिएको तीव्र उतारचढावको प्रभावस्वरूप शुक्रबार सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज प्रतितोला सुनको मूल्य ९ हजार २ सय रुपैयाँले बढ्दै छापावाल सुन ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला ३ सय २० रुपैयाँले बढेर छ हजार १९० कायम भएको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी ५ हजार ९ सय २० रुपैयाँमा सीमित थियो । मङ्गलबार सुनको मूल्य २ लाख ८४ हजार ७०० रुपैयाँ र चाँदी पाँच हजार ८ सय ८० रुपैयाँ रहेको थियो ।  गत आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ८ सय  र चाँदी ५ हजार ६ सय २५ मा कारोबार भएको महासङ्घले जनाएको छ । सोमबार सुन रु दुई लाख ८२ हजार र चाँदी ५ हजार ८ सय १० मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा सुन प्रतिऔंस चार हजार ९६० अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतिऔंस ९८ अमेरिकी डलर पुगेको छ । 

काठमाडौं–१ मा कांग्रेसलाई राप्रपा र रास्वपाको दोहोरो चुनौती

काठमाडौं । आगामी आमनिर्वाचन २०८२ नजिकिँदै जाँदा काठमाडौं उपत्यकामा राजनीतिक तापक्रम तीव्र रूपमा बढिरहेको छ । लामो समयसम्म दुई ठूला दलबीच सीमित देखिएको प्रतिस्पर्धा यसपटक बहुदलीय, त्रिकोणात्मक र अनिश्चित दिशातर्फ अघि बढिरहेको संकेत देखिन्छ ।  काठमाडौं–१ नेपाली कांग्रेसको बलियो किल्ला मानिन्छ । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि २०७९ को प्रतिनिधिसभा निर्वाचनसम्म कांग्रेसका नेता प्रकाशमान सिंह यही क्षेत्रबाट लगातार विजयी हुँदै आएका थिए ।  राजधानीको केन्द्रीय राजनीतिक वृत्तमा गहिरो प्रभाव राख्ने सिंहको व्यक्तिगत पहिचान र संगठनात्मक पकडले यो क्षेत्र लामो समय कांग्रेसको सुरक्षित गढका रूपमा चिनिँदै आएको हो । तर २०७९ को निर्वाचन परिणामले त्यो सुरक्षित किल्ला गम्भीर रूपमा कमजोर भएको संकेत दियो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार रविन्द्र मिश्रसँगको प्रतिस्पर्धामा सिंहले जम्मा १२५ मतको झिनो अन्तरले मात्रै जित निकाले । सिंहले ७ हजार १४३ मत प्राप्त गर्दा मिश्रले ७ हजार १८ मत ल्याएका थिए । त्यसैगरी, स्वतन्त्र उम्मेदवार पुकार बम ४ हजार ११५ मतसहित तेस्रो स्थानमा रहे भने एमालेका किरण पौडेल ३ हजार ५३२ मत सहित चौंथो स्थानमा सीमित भए । यो नतिजाले काठमाडौं–१ मा कांग्रेसको मत आधार खुम्चिँदै गएको र वैकल्पिक शक्तिहरूको आकर्षण बढ्दो क्रममा रहेको स्पष्ट संकेत दिएको छ । कांग्रेसको खस्किँदो जनाधारसँगै निरन्तर निर्वाचन जितेका नेता सिंह यसपटक प्रतिष्पर्धाको रिङबाट आउट भएका छन् । उनको स्थानमा कांग्रेसले प्रवल थापालाई उम्मेदवार बनाएको छ । २०८२ को निर्वाचनमा पनि काठमाडौं–१ मा मुख्य प्रतिस्पर्धा फेरि कांग्रेस र राप्रपाकै बीचमा केन्द्रित हुने देखिन्छ । राप्रपाले यसपटक पनि रविन्द्र मिश्रलाई नै उम्मेदवार बनाइसकेको छ । मिश्रका लागि यो तेस्रो संसदीय चुनाव हो । २०७४ मा उनी विवेकशील साझा पार्टीबाट यही क्षेत्रबाट उम्मेदवार बनेका थिए भने २०७९ मा राप्रपाको तर्फबाट चुनाव लडेका थिए । मिश्रको निरन्तर उपस्थितिले सहरी, मध्यमवर्गीय र वैचारिक रूपमा असन्तुष्ट मतदातामा राप्रपाको पकड विस्तार हुँदै गएको देखिन्छ । विशेषगरी २०७९ मा सिंहलाई अत्यन्तै नजिकको प्रतिस्पर्धामा पु‍¥याउन सफल मिश्रले यसपटक कांग्रेस किल्ला भत्काउने मनोवैज्ञानिक आधार बलियो बनाएको स्थानीय विमल घिमिरेले बताए ।  ‘राप्रपाका उम्मेदवार मिश्र पछिल्लो डेढ दशकदेखि उक्त क्षेत्रमा खटेका छन् । यो उनको सकारात्मक पाटो हो । तर नयाँ र युवा थापाको प्रवेशले उक्त क्षेत्रको मत परिणाममा प्रभाव पार्न सक्छ,’ घिमिरेले भने । पछिल्ला निर्वाचन परिणामहरू हेर्दा काठमाडौं–१ मा एमालेको प्रभाव क्रमशः कमजोर हुँदै गएको देखिन्छ । तर यसपटकको निर्वाचनमा एमालेले मोहन रेग्मीलाई उम्मेदवार बनाएर दमदार पुनरागमन गर्न चाहेको छ । अघिल्लो निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी समेत बन्न नसकेको एमालेले यसपटक रेग्मीमार्फत केही आशा जगाउला यसै भन्न सकिदैन घिमिरेले जानकारी दिए । निर्वाचन २०८२ लाई फरक बनाउने तत्व भनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवेश हो । रास्वपाले यस क्षेत्रबाट रञ्जु दर्शनालाई उम्मेदवार बनाएसँगै चुनावी समीकरणमा नयाँ मोड आएको छ । दर्शनाको राजनीतिक पृष्ठभूमि, सहरी छवि, युवा पुस्तामाझको लोकप्रियता र पुरानो राजनीतिको दिक्कताले मतदातालाई प्रतिनिधित्व गर्ने शैलीले त्रिकोणात्मक प्रतिस्पर्धालाई थप रोचक बनाएको छ । उनी विवेकशील साझा आन्दोलनबाट उदाएकी नेतृ हुन् । जसले राजधानी केन्द्रित वैकल्पिक राजनीतिमा छुट्टै पहिचान बनाएकी छन् । कांग्रेस र राप्रपाबीच कडा प्रतिस्पर्धा भइरहँदा मत विभाजनको अवस्था सिर्जना भएमा रास्वपा डार्क हर्सका रूपमा उदाउने सम्भावना प्रबल देखिन्छ । विशेषगरी कांग्रेसले गर्ने निर्वाचन अभियानले मत परिणाममा प्रभाव पार्न सक्ने स्थानीय अमर कुँवरले बताए । युवा, शिक्षित र सहरी मतदातामा रास्वपाको आकर्षण बढ्दो क्रममा रहेकाले काठमाडौं–१ मा उनीहरूको मत निर्णायक तहसम्म पुग्न सक्ने विश्लेषकहरूको आँकलन छ । २०७९ मा स्वतन्त्र उम्मेदवारले पाएको उल्लेख्य मत यसपटक रास्वपातर्फ सर्न सक्ने सम्भावनालाई पनि नकार्न सकिँदैन ।

पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने समय २ दिन लम्बियो

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने समय २ दिन लम्बिएको छ । पुस २५ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले माघ ११ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ७५ करोड रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरमा ७५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसमध्ये उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पाका स्थानीय बासिन्दाहरूलाई जारी पुँजीको ५ प्रतिशत अर्थात् १८ करोड ७५ लाख रुपैयाँको १८ लाख ७५ हजार कित्ता सेयर बिक्री गरिनेछ ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।  स्थानीय बासिन्दाले उद्योगसँगै नबिल बैंकको तानसेन, बर्दघाट, बुलिबटार, गैँडाकोट, प्रभु बैंकको पाल्पा, बर्दघाट, परासी, बेलातारी, सिद्धार्थ बैंकको पाल्पा, बर्दघाट र परासी शाखाबाट आवेदन दिन सक्नेछन् ।

काभ्रेपलाञ्चोकमा ८८ मतदानस्थल संवेदनशील, निर्वाचन सुरक्षाका लागि ३ हजार बढी सुरक्षाकर्मी परिचालन हुने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै काभ्रेपलाञ्चोक जिल्लामा सुरक्षा व्यवस्था कडा बनाइने भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाभर रहेका ८८ मतदानस्थल संवेदनशील रहेकामा तीमध्ये २३ वटा ‘अति संवेदनशील’ सूचिमा परेका छन् । ‘संवेदनशील र अति संवेदनशील मतदानस्थलमा विशेष सुरक्षा सतर्कता अपनाइनेछ,’ जिल्ला प्रहरी प्रमुख कोमल शाहले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र निर्वाध रूपमा सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार सुरक्षाकर्मीहरू कार्यस्थलमै परिचालन गरिनेछन् । निर्वाचन सुरक्षाका लागि जिल्लामा निर्वाचन प्रहरी २ हजार २६९ जना, नेपाल प्रहरी १ हजार ११५ जना र सशस्त्र प्रहरी ३५० जना परिचालन गर्ने योजना रहेको छ । काभ्रेपलाञ्चोकमा कायम कुल ३ लाख २६ हजार ६११ मतदातामध्ये १ लाख ६७ हजार ४९९ पुरुष, १ लाख ५९ हजार ११० महिला र २ जना अन्य लिङ्गका मतदाता रहेका छन् । यसैबीच, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी छनोट प्रक्रियाअन्तर्गत बिहीबार धुलिखेलमा लिखित परीक्षा तथा अन्तर्वार्ता सम्पन्न भएको छ । माग गरिएको सङ्ख्याका लागि २ हजार ४९३ जनाले आवेदन दिएकोमा २ हजार २८३ जना परीक्षामा सहभागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आसन्न निर्वाचनमा काभ्रेपलाञ्चोकका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कुल ४२ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन क्षेत्र नं १ मा १५ दल र ३ स्वतन्त्र गरी १८ जना उम्मेदवार मैदानमा छन् । त्यसैगरी, निर्वाचन क्षेत्र नं २ मा १६ दल र ८ स्वतन्त्र गरी २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं २ मा दुई दलका र एक स्वतन्त्र गरी ३ जना महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । क्षेत्र नं १ मा अन्य समूहबाट एक जना उम्मेदवार रहेका छन् भने ११ जना स्वतन्त्र उम्मेदवार छन् । यस निर्वाचनमा दलित समुदायबाट उम्मेदवारी नपरे पनि जनजातितर्फबाट २५ जना प्रत्याशी बनेका छन् ।

सूर्यकुण्ड हाइड्रोले माघ १८ गतेदेखि आईपीओ बिक्री गर्ने, ५० हजार कित्ता आवेदन दिन सकिने

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले माघ १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरेपश्चात् अब कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार रुपैयाँको २० प्रतिशत अर्थात् १३ करोड ७९ लाख ३५ हजार रुपैयाँको १३ लाख ७९ हजार ३५० कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ६ लाख ८९ हजार ६७५ कित्ता सेयर आयोजना प्रभावित क्षेत्र नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका बासिन्दा र सर्वसाधारण लगानीकर्तालाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ६८ हजार ९६७ कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ ।  अब दोस्रो चरणमा कम्पनीले १३ हजार ७९३ कित्ता कर्मचारी र ३४ हजार ४८४ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित राखि बाँकी रहेको ५ करोड ७२ लाख ४३ हजार १ सय रुपैयाँको ५ लाख ७२ हजार ४३१ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गर्नेछ ।  कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले माघ २१ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिभित्र पूर्ण बिक्री नभएमा आवेदन दिने समय फागुन ३ गतेसम्म लम्बिनेछ ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताहरुले सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।   

आरएसडिसी लघुवित्तको नाफा ७३.५४ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा ७३.५४ प्रतिशत बढेर ६ करोड ६८ लाख ६९ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ४ करोड ४१ लाख ८२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।  चालु आवको पुस मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ४ प्रतिशत घटेर १० करोड ७६ लाख २४ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ११ करोड २१ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  यस्तै दोस्रो त्रैमासमा लघुवित्तको खुद शुल्क तथा कमिशन आम्दानी २१ प्रतिशत बढेर २४ लाख ६० हजार रुपैयाँ, सञ्चालन नाफा ६९.४८ प्रतिशत बढेर १० करोड ९६ लाख रुपैयाँ र कुल सञ्चालन आम्दानी १.७२ प्रतिशत घटेर ११ करोड २१ लाख ६८ हजार रुपैयाँ रहेको छ ।  पुस मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ६८ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा वितरणयोग्य नाफा ३ करोड ६७ लाख रुपैयाँ थियो ।  १ अर्ब ३ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा २६ करोड २३ हजार रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा लघुवित्तको निक्षेप तथा सापटी २६.३७ प्रतिशत घटेर ५ अर्ब १ करोड ३७ लाख रुपैयाँ र कर्जा लगानी १५.३३ प्रतिशत घटेर ५ अर्ब ३१ करोड ३० लाख रुपैयाँ रहेको छ ।  नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी ५.४७ रुपैयाँ बढेर १४.८३ रुपैयाँ पुगेको छ । पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४३.१५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२५.१५ रुपैयाँ रहेको छ ।  गत वर्षको पुसमा २.७१ प्रतिशत रहेको खराब कर्जा चालु आवको पुसमा ०.१३ प्रतिशत घटेर २.८४ प्रतिशतमा झारेको छ । यस्तै, पुस मसान्तसम्ममा लघुवित्तको आधार दर ६.४३ प्रतिशत र कस्ट अफ फण्ड ५.५० प्रतिशत रहेको छ । 

सानोथिमि बाल सुधार गृहमा झडप र आगजनी

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि-२ सानोथिमिस्थित बाल सुधार गृहमा बिहीबार राति झडप र आगजनी भएको छ ।  बाल सुधार गृहका दुई समूहबीच भएको झडप आगजनी र तोडफोडमा परिणत भएको थियो । आपसमा झडप भएपछि थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गाना नेतृत्वको टोलीले सुधार गृह पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो ।      प्रहरी टोलीलाई झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि नै ढुङ्गा मुढा गरेको थियो । स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलबाट ५० जना परिचालन भएका थिए ।  मध्यरातमा भक्तपुर र काठमाडौंका वारुणयन्त्रले आगो निभाएका थिए । सुधार गृहमा भएको क्षतिको विवरण आउन बाँकी रहेको थिमि प्रहरी वृत्तले जनाएको छ । उक्त गृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना छन् । अहिले स्थिति नियन्त्रणमा आएको भए पनि त्यहाँ बाक्लो सङ्ख्यामा उपस्थित सुरक्षाकर्मीले निगरानी गरिरहेका छन् । 

शिखर पावरको आईपीओमा विदेशमा रहेका नेपालीले आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज माघ ९ गते अन्तिम दिन रहेको छ । माघ ६ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात् ३२ करोड रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ३२ लाख कित्ता सेयर बिक्री गर्न अनुमति पाएको छ । सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् २ करोड २२ लाख रुपैयाँको २ लाख २२ हजार कित्ता सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूले आवेदन दिन पाउनेछन् ।  कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।  वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।