डिशहोम र ‘डल्ले’ बीच साझेदारी, उपत्यकाका सबै आउटलेटमा ग्राहकलाई छुट
काठमाडौं । डिशहोमले रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग नयाँ साझेदारीको घोषणा गरेको छ । यस सहकार्य अन्तर्गत डिशहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम मार्फत ग्राहकहरूले अब डल्लेका काठमाडौं उपत्यका भित्रका सम्पूर्ण आउटलेटहरूमा छुट पाउनेछन् । यस साझेदारीको माध्यमबाट डिशहोमका सक्रिय ग्राहकहरूले डल्ले रेस्टुरेन्टका उपत्यकका भित्रका सबै आउटलेटहरूमा १० प्रतिशत छुट पाउनेछन् । यो छुट प्राप्त गर्न ग्राहकहरूले माइ डिशहोम एप मा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्ने बताइएको छ । कम्पनीकाअनुसार, भर्चुअल प्रिभिलेज कार्ड माइ डिशहोम एपबाट डाउनलोड गर्न सकिनेछ । यसपछि दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी एपमा लगइन गर्नुहोस् । होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको प्रिभिलेज कार्ड आइकन मा क्लिक गर्नुहोस र डल्लेमा कार्ड देखाएर छुट प्राप्त गर्नुहोस् । यस साझेदारीलाई औपचारिकता दिने क्रममा डल्लेका मानेगिङ डाइरेक्टर आलोक योन्जोन, डिशहोमका डेपुटी चिफ प्रोडक्ट अफिसर, आदित्य भट्टराई बीच एमओयूमा हस्ताक्षर गरिएको छ ।
सिङ्गापुरका राष्ट्रपति थरमनसँग अर्थमन्त्री खनालको भेट
वासिङ्टन डीसी । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता गरेका छन् । विश्व बैंक समूहको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका खनालले ‘साइडलाइन’ बैठकमा राष्ट्रपति थरमनसँग भेट गरेका हुन् । भेटको अवसरमा मन्त्री खनालले नेपालमा भएको राजनीतिक विकासक्रम र आर्थिक प्राथमिकताको विषयमा छलफल भएको बताए । उक्त भेटमा राष्ट्रपति थरमनले द्रुत गतिको आर्थिक समृद्धि हासिल गर्न पाँच मुख्य कुरामा ध्यान दिन आग्रह गरेको यहाँस्थित दूतावासले जनाएको छ । राष्ट्रपति थरमनले मानव पुँजी, पूर्वाधार, ऊर्जा, व्यापार र खुलापनमार्फत द्रुत गतिको विकास हासिल गर्न सकिने विषयमा जोड दिएका थिए । अर्थमन्त्री खनालद्वारा अन्तरराष्ट्रिय वित्त निगमका प्रतिनिधिसँग छलफल अर्थमन्त्री खनालले अन्तरराष्ट्रिय वित्त निगम (आइएफसी)का कार्यवाहक क्षेत्रीय उपाध्यक्ष एलेन फरलेमुसँग भेटवार्ता गरे। भेटवार्ताका अवसरमा आइएफसीसँगको साझेदारी, नेपालको निजी क्षेत्रको वृद्धिको लागि सहयोगलगायतका विविध आर्थिक विषयमा छलफल भएको डिसीस्थित नेपाली राजदूतावासले जनाएको छ । भेटघाटको अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेल, दूतावासका प्रतिनिधि, अर्थमन्त्रालयका अधिकारीहरू र आइएफसीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
धनगढीमा प्रोटोन ईमासको नयाँ शोरूम सञ्चालनमा
काठमाडौं । जगदम्बा मोटर्स अन्तर्गतको इलेक्ट्रिक सवारी साधन ब्रान्ड प्रोटोन ईमासले शुक्रबार धनगढीको बोराडाँडीमा नयाँ शोरूमको उद्घाटन गरेको छ । यस अवसरमा ब्रान्डले तीनवटा प्रोटोन ईमास ७ सवारी साधन हस्तान्तरण समेत गरेको थियो, जसले सुदूरपश्चिम क्षेत्रमा बढ्दो ग्राहक विश्वास र उत्साहलाई झनै सुदृढ बनाएको छ । नव उद्घाटन गरिएको यो अत्याधुनिक थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सुविधा केन्द्रले ग्राहकलाई सबै सेवा एकै छानामुनि उपलब्ध गराउनेछ । धनगढीका ग्राहकहरूलाई पनि देशभरका अन्य केन्द्रहरू सरह प्रिमियम मापदण्डमा आधारित सेवा प्रदान गरिने कम्पनीले जनाएको छ । शोरूमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष केशवराज जोशीले गरे । कार्यक्रममा स्थानीय उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा अन्य अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा रिबन काट्ने, उत्पादन प्रदर्शन र सवारी हस्तान्तरण जस्ता गतिविधिले उपस्थितहरूको आकर्षण र उत्साह थप बढाएको थियो । उद्घाटन समारोहमा केही ईमासका विद्यमान मालिकहरूले आफ्ना सकारात्मक अनुभवहरू साझा गरेका थिए, जसले नयाँ ग्राहकहरूलाई तत्काल बुकिङका लागि प्रेरित गरेको बताइएको छ । यस अवसरमा जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले भने, 'धनगढी शोरूम शैली, प्रदर्शन र दिगोपनासँग गतिशीलताको परिभाषा पुनर्लेखन गर्ने दिशामा हाम्रो यात्राको अर्को महत्वपूर्ण कदम हो। धनगढीका बासिन्दाहरूको प्रोटोन ईमास ब्रान्डप्रतिको जोश र हरित भविष्यप्रतिको विश्वासले हामीलाई गहिरो प्रेरणा दिएको छ ।' धनगढीमा शोरूम सञ्चालनसँगै, प्रोटोन ईमासले नेपालभर आफ्नो सञ्जाल अझ मजबुत बनाउँदै दिगो नवप्रवर्तन, ग्राहक सन्तुष्टि र अत्याधुनिक ईभी प्रविधिको लक्ष्यतर्फ आत्मविश्वासपूर्वक अघि बढेको कम्पनीको भनाइ छ।
शिवम् होल्डिङ्सको ११ करोड ६० लाख बराबरको नगद लाभांश पारित
काठमाडौं । शिवम् सिमेन्ट्सकाे सहायक कम्पनी शिवम् होल्डिङ्सको चौथो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि सेयरधनीहरूलाई ११ करोड ६० लाख रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले सो आर्थिक वर्षका लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा वार्षिक प्रतिवेदनसहितका अन्य सबै प्रस्तावहरू पनि एकमतले पारित गर्दै साधारण सभा सम्पन्न गरेको हो । शिवम् होल्डिङ्सले नेपालमा रुचाइएको शिवम् ब्रान्डको ओपीसी सिमेन्ट उत्पादन गर्ने शिवम् सिमेन्ट्स लिमिटेड मा ८५ प्रतिशत स्वामित्व राखेको छ । बाँकी १५ प्रतिशत सेयर नेपालका विभिन्न क्षेत्रमा सक्रिय सफल उद्यमी तथा व्यवसायीहरूको व्यक्तिगत लगानीमा रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ देखि लगातार चौथो वर्ष (२०८१/०८२ सम्म) सेयरधनीहरूलाई लाभांश वितरण गर्दै आएको छ । हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड रहेको छ । साथै, कम्पनीले २० प्रतिशत बराबरको १ अर्ब १६ करोड मूल्यका सेयरहरू सर्वसाधारणमा प्रिमियम मूल्यमा निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गरिसकेको र हाल स्वीकृतिको प्रतीक्षामा रहेको जनाएको छ ।
तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैंकको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैंकिङ प्रणाली सञ्चालनमा राख्न आग्रह गरेको हो । त्यसैगरी राष्ट्र बैंकले शनिबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख गरेको छ ।
उज्यालोको पर्व तिहार आजदेखि सुरु, मनाइँदै धनत्रयोदशी
काठमाडौं । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ ।प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको हो । दिउँसो १ः२३ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ । यमदीपदान पनि आजैदेखि सुरु हुने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए । काग तिहार भने आइतबार परेको उनले बताए । बेलुकी त्रयोदशी तिथि परेका दिन धनत्रयोदशी एवं यमदीपदान पर्व मनाउने शास्त्रीय मान्यता छ । सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः अर्थात् सूर्योदयकालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय मान्यता अनुसार यस्तो निर्णय गरिएको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए । यमपञ्चकका अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने विश्वास छ । धनवन्तरी जयन्ती भने आइतबार परेको छ । तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पनि समितिले जनाएको छ । यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन्। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गरिन्छ । कात्तिक २ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार मनाइने र बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष ढकालले बताए । सोमबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरी बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने मान्यता छ । कात्तिक ३ गते दिउँसो २ः५२ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गर्नुपरेको हो । रातमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि रहेको छ । यस वर्ष कात्तिक ४ गते मङ्गलबार औँसी तिथि दिउँसो ४ः२९ बजेसम्म परेको छ । यस दिन तिहारका कुनै पनि पर्व परेको छैन । कात्तिक ४ गते यमपञ्चक अर्थात् तिहारको मध्य समय परेपनि शास्त्रले तोके अनुसार कुनै कर्म परेको छैन । गाईगोरु एवं गोवद्र्धन पूजा कात्तिक ५ गते बुधबार परेको छ । हलितिहार, बलीपूजा र आत्म ९म्ह० पूजा र नेपाल संवत् ११४६ आरम्भ यसै दिन परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार नेपाल संवत् ११४५ यसै दिनदेखि सुरु हुन्छ । कात्तिक ६ गते बिहीबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत रहेको समितिका सदस्य लक्ष्मण पन्थीले राससलाई जानकारी दिनुभयो । भाइटीका पश्चिम मोहडा गरेर गर्नुपर्ने समितिले जनाएको छ । भाइटीका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्केर बस्नुपर्छ । लगाइदिने दिदीबहिनी भने पूर्व फर्कनुपर्ने जनाइएको छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने उनले सुनाए। राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक ६ गते गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ । झिलीमिलीको चाड भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि राजधानीलगायत प्रमुख शहरमा थरी थरीका बत्ती बाल्न सुरु भइसकेको छ । बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् । कोजाग्रत पूर्णिमामा लक्ष्मीको पूजा गरी त्यसै दिनदेखि दीपावलीलाई निरन्तरता दिने क्रम पनि शहरी क्षेत्रमा बढ्न थालेको छ । बडादसैँमा सुनसान प्रायः हुने काठमाडौँ उपत्यका तिहारमा झिलीमिलीले उत्सवमय बन्छ । लक्ष्मीपूजाका दिन भलो होस् भनी भैलो र गोवद्र्धन पूजाका दिन देउसी खेल्ने गरिन्छ । विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भने कोजाग्रत पूर्णिमाका दिनदेखि देउसी भैलो खेल्ने परम्परा पनि छ । कौडा, लंगुरबुर्जा, तासलगायत विभिन्न स्वरुपका जुवा तिहारका अवसरमा खेल्ने गरिन्छ । नेपाल प्रहरीले पटाका नपड्काई सभ्य रूपमा पर्व मनाउन आह्वान गरेको छ । तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरेपनि पड्काउन भने छाडिएको छैन । रासस
विद्युत महसुल विवादले बढायो उद्योग क्षेत्रमा असन्तुष्टि, सरकारसमक्ष उद्योगीहरूको ध्यानाकर्षण
काठमाडौं । विभिन्न उद्योगीहरूले ट्रंकलाइन र डेडिकेटेड लाइनको विशेष महसुल विवादलाई लिएर सरकार र नेपाल विद्युत प्राधिकरणविरुद्ध आपत्ति जनाएका छन् । उद्योगीहरूको तर्फबाट संयुक्त रूपमा प्रस्तुत गरिएको निवेदनमा विगतदेखि नै गरिएको विद्युत उपभोग अनुसार मात्र महसुल तिर्नुपर्ने र अनावश्यक बक्यौता दावी गरेर उद्योगहरूको मानमर्दन गरिएको विषय उठाइएको छ । उद्योगीहरूले २०७२ देखि २०७५ सम्मको टीओडी मिटर विवरण र लाल आयोगको प्रतिवेदनलाई आधार बनाएर मात्र विशेष दरमा महसुल लिनुपर्ने भएता पनि प्राधिकरणले बिना प्रमाणबिना सहमति बक्यौता रकम माग गरिरहेको आरोप लगाएका छन् । साथै लोडसेडिङको अवस्थामा पनि ट्रंकलाइन र डेडिकेटेड लाइन ग्राहकहरूलाई विशेष दरमा महसुल तिर्न बाध्य पारिनु गैरकानुनी र असंवैधानिक भएको उद्योगीहरूको भनाइ छ । उद्योगीहरूले हजारौं श्रमिकलाई रोजगारी दिँदै आइरहेको, विद्युत उपभोगको सम्पूर्ण रकम तिरेको र उद्योग सञ्चालनमा कुनै अवरोध नआओस भनी वैकल्पिक व्यवस्थाहरु समेत अपनाएको उल्लेख गर्दै प्राधिकरणबाट जारी धम्कीपत्रले उद्योगीहरूको आत्मसम्मानमा ठेस पुर्याएको जनाएका छन् । यसले उद्योग क्षेत्रलाई मात्र नभएर समग्र रोजगार र आर्थिक विकासमा नकारात्मक प्रभाव पर्ने चिन्ता पनि व्यक्त गरिएको छ । उद्योगीहरूले अर्थ, ऊर्जा, उद्योग, कानुन, श्रम, गृह मन्त्रालयसहित नेपाल राष्ट्र बैंक, नेपाल बैंकर्स एसोसिएसन, उद्योग वाणिज्य संघ र उद्योग परिसंघलगायत प्रमुख निकायहरूलाई समेत ध्यानाकर्षण गराइएका छन् । उद्योगीहरुले तत्काल विवाद समाधान गरी न्यायसंगत महसुल निर्धारण गरी उद्योगधन्दा सुचारु राख्न सरकारसँग आग्रह गरेका छन् । निवेदन दिने उद्योगमा शिवम् सिमेन्ट, मारुती सिमेन्ट, निगाले सिमेन्ट, कसमस सिमेन्ट, युनाइटेड सिमेन्ट, घोराही सिमेन्ट लगायत दर्जनौं उद्योगहरुको नाम उल्लेख गरिएको छ । जसमा त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिज, त्रिवेणी स्पिनिङ मिल्स, जगदम्बा स्टील, अशोक स्टील स्टील, हुलास स्टील, हामा आइरन, एभरेष्ट पेपर मिल, एभरेष्ट रोलिङ मिल्स, जगदम्बा सिन्थेटिक, एसआर फुड्स, घराना फुड्स, सिद्धार्थ पेटप्लास्ट, गोयन्का फुड्स, भलवारी स्वचालित कारखाना, श्याम प्लास्टिक उद्योग, पन्चकन्या प्लाष्टिक इण्डष्ट्रिज, पञ्चकन्या स्टील, एसआर स्टील इन्डष्ट्रिज, लक्ष्मी स्टील तथा सोनापुर मिनरल्स एण्ड आयल रहेका छन् । यी उद्योगहरूले अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, उद्योग मन्त्रालय, कानुन न्याय मन्त्रालय, श्रम मन्त्रालय, गृह मन्त्रालय, नेपाल राष्ट बैंक, नेपाल बैंकर एसोशेसन, नेपाल उद्योग वाणिज्य संघ र नेपाल उद्योग परिसंघको ध्यानार्कष गराएका छन् । उद्योगीहरू सबै कानूनी प्रक्रिया र पारदर्शिता अपनाएर आफ्नो हक सुरक्षित गर्ने पक्षमा रहेको पनि प्रष्ट पारेका छन् । सरकार र ऊर्जा मन्त्रालयबाट यसबारे औद्योगिक क्षेत्रमा सकारात्मक पहल हुने अपेक्षा गरिएको छ ।
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरू
काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार सिंहदरबारमा बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । यी हुन् मन्त्रीपरिषद् बैठकका निर्णयहरू : सार्वजनिक वित्त व्यवस्थापन परियोजनाको लागि विश्व बैंकको व्यवस्थापनमा मल्टिडोनर ट्रष्ट फण्डबाट प्राप्त हुने १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने । विद्युत उत्पादन, प्रशारण र वितरण लगायतका विभिन्न आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने । इनरुवा पूर्णीया ४ सय के। भि। अन्तरदेशीय प्रशारण लाइन तथा दोधारा ९बरेली ४०० के। भि। अन्तरदेशीय प्रशारण लाइन निर्माण गर्न नेपाल विद्युत प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेशन अफ इण्डिया लिमिटेडको संयुक्त लगानीमा नेपाल तथा भारत दुवै भूमिमा दुई वटा संयुक्त कम्पनीहरू स्थापना गर्ने र उल्लिखित दुई वटा संयुक्त कम्पनीहरूमा नेपाल विद्युत प्राधिकरणबाट क्रमशः एक अर्ब तथा दुई अर्ब रुपैयाँ बराबरको स्वपुँजी लगानी गर्न स्वीकृति प्रदान गर्ने । नेपाल र भारतबिच पारस्परिक कानूनी सहायता सन्धिसम्बन्धी एग्रिमेण्ट बिटुइन द गभमेंण्ट अफ नेपाल एण्ड गभमेण्ट अफ द रिपब्लिक इण्डिया अन म्युचअल लिगल एसिस्टेन्स म्याटर्स विषयक सम्झौता स्वीकृत गर्ने । नेपालले अन्य मुलुकसँग आवश्यकताअनुसार फौजदारी मामिलामा पारस्परिक कानूनी सहायता सन्धि गर्न वार्ताको लागि प्रश्ताव गर्नेसम्बन्धी ट्रिटी अन म्युचअल लिगल एसिस्टेन्स इन क्रिमिनल म्याटर्स स्वीकृत गर्ने । विशेष अदालतमा कार्यरत नेपाल न्याय सेवा, न्याय समूह, राजपत्राङ्कित प्रथम श्रेणीका रजिस्ट्रार श्री जितेन्द्रबाबु थपलियालाई नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा नियुक्ति गरी न्याय परिषद्को सचिव पदमा पदस्थापन गर्ने । उच्च अदालत पाटनका माननीय न्यायाधीश श्री चन्द्रवहादुर सारूलाई सो अदालतको कामकाजसमेत गर्ने गरी काठमाडौँ उपत्यका विकास प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोक्ने । २०८२ असोज ३१ मा भारतमा सञ्चालन हुने दिक्षान्त परेड समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धीविक्रम शाहलाई सहभागी हुन स्वीकृति दिने । मित्रराष्ट्रहरू चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतको रुपमा कार्यरत नेपाली राजदूतहरुलाई सो पदको जिम्मेवारीबाट मुक्त गरी २०८२ कात्तिक २० गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने । २०८२ कात्तिक १७ र १८ मा भारतको नयाँदिल्लीमा आयोजना हुने सेकेण्ड एशिया प्यासिफिक इकमर्स पोलिसी समिट, २०२५ मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव श्री लक्ष्मीकुमारी बस्नेतलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने । कार्यक्रमहरूको सत्या ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतका आ।व। २०८२र८३ का लागि अधिकृतस्तरका ११ अस्थायी दरबन्दी स्वीकृत गर्ने । नेपाली सेनातर्फ एकजना रथीको सरुवा गर्ने, एकजना उपरथीको रथीमा बढुवा गर्ने, पाँचजना सहायक रथीहरूको सरुवा गर्ने र पच्चीसजना महासेनानीहरूको सरुवा गर्ने । २०८२ कात्तिक १७ देखि २१ गतेसम्म भियतनामको हनोईमा आयोजना हुने आइएइए टेक्निकल कोप्रेशन प्रोजेक्ट, आरएएस ७०४३, रेजिनल मिड टिम रिभ्यु मिटिङ कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव श्री विश्ववावु पुडासैनीलाई सहभागी हुन स्वीकृति दिने । २०८२ कात्तिक ९ देखि ११ गतेसम्म इण्डोनेसियामा आयोजना हुने ४५ औं सिटीनेट एक्ज्युकिटिभ कमिटी मिटिङमा सहभागी हुन ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई स्वीकृति दिने । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको अध्ययन निर्देशक पदमा लोक सेवा आयोगका सहसचिव श्री यज्ञप्रसाद ढुङ्गेललाई काजमा पठाउन स्वीकृति दिने । २०८२ कात्तिक १६ देखि २३ गतेसम्म संयुक्त अधिराज्यको लण्डनमा आयोजना हुने वल्र्ड ट्राभल मार्के, २०२५ मा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री हरिप्रसाद मैनालीलाई सहभागी हुन स्वीकृति दिने । २०८२ कात्तिक २६ मा गणतन्त्र कोरियाको सिओलमा आयोजना हुने ११ औं ग्लोवल आइसिटी लिडरसिप फोरममा सहभागी हुन सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय जगदीश खरेललाई स्वीकृति प्रदान गर्ने । त्रिभूवन विश्वविद्यालय परिसरभित्र रहेको कीर्तिपुर क्रिकेट रङ्गशाला आयोजनाको गुरुयोजना स्वीकृत गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने र गुरुयोजना बमोजिमको बाँकी कार्यको बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृति प्रदान गर्ने । नेपाल न्याय सेवा, सरकारी वकील समूहका का।मु। नायबमहान्यायाधिवक्ता श्री उद्धवप्रसाद पुडासैनीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने । नेपाल न्याय सेवा, सरकारी वकील समूहका बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सचिव श्री सूर्यराज दाहाललाई महान्यायाधिवक्ताको कार्यालयको नायबमहान्यायाधिवक्ता पदमा सरुवा गर्ने ।