विकासन्युज

८ करोडका बनेको हुलाकी राजमार्गको निर्माणाधीन पुल अन्तिम चरणमा

राँझा । नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा निर्माणाधीन चार लेन पुल अन्तिम चरणमा छ । पुल निर्माण सम्पन्न गर्ने सम्झौता २०८३ वैशाख १८ गतेसम्म भए पनि निर्माणको गति हेर्दा समयावधिभन्दा अगावै पुल निर्माण हुने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका योजना प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए । उनले भने, खजुरावासीले भोगिरहेको लामो समयदेखिको सास्ती अबको केही समयमै अन्त्य हुनेछ, निर्माण कम्पनीले तोकिएको समयभन्दा अगावै सम्पन्न गर्नेगरी काम अघि बढाएको छ ।' काम छिटो गर्ने नाममा गुणस्तरमा सम्झौता नहोस् भन्नका लागि हुलाकी राजमार्ग निर्देशनालयले नियमित रूपमा कार्यस्थलमै पुगेर अनुगमन गरिरहेको छ । नेपालगन्ज–गुलरिया सडक खण्डकै लाइफ लाइन मानिने यो पुलले बाँके र बर्दियाको आवागमनलाई थप सहज र सुरक्षित बनाउने विश्वास गरिएको छ । नयाँ निर्माण गर्न लागिएको पुल २२ मिटर चौडाइ र ३४।४ मिटर लम्बाइको छ । पुलको दुवैतर्फ दुई सय मिटर एप्रोच सडक पनि निर्माण गरिनेछ । नारायणम निर्माण सेवासँग २०८३ वैशाख १८ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी भ्याटसहित आठ करोड ९६ लाखमा ठेक्का सम्झौता भएको थियो । खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले खजुरावासीको निरन्तरको पहलले यो काम सम्भव भएको उल्लेख गर्दै भने, 'खजुरावासीको लामो समयदेखिको सपना पूरा हुँदैछ, निर्माण कम्पनीको काम गर्ने शैलीबाट हामी सबै उत्साहित छौँ ।' उनका अनुसार खजुराका स्थानीय बासिन्दामात्र होइन, यहाँबाट दैनिक ओहोरदोहोर गर्ने यात्रुहरू पनि पुल निर्माणको गति देखेर खुसी छन् । वर्षाको समयमा नाला थुनिएर सडकमा पानी आउँदा घण्टौँसम्म यातायात अवरुद्ध हुने समस्या अब इतिहास बन्नेछ । खजुरामा चार लेन सडक भए पनि वर्षौँ पहिले निर्माण भएको साँघुरो र जीर्ण पुल भएका कारण सानो वर्षातमा समेत नालाको पानी सडक भएर बग्दा बर्षायाममा आवागमन प्रभावित हुने गरेको थियो । रासस

यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँर कैलाली- २ बाट उम्मेदवार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विजय स्वाँर नेपाली कांग्रेसबाट कैलाली- २ बाट उम्मेदवार बनेका छन् ।  यातायात क्षेत्रमा लामो समयदेखि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका स्वाँरलाई कांग्रेसले टिकट दिएसँगै कैलाली-२ को प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ ।  कैलाली स्वाँरको गृहजिल्ला हो । उनले नेकपा एमालेका सूर्यबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनाल र नेकपाका नन्दबहादुर साउदसँग प्रतिस्पर्धा गर्नेछन् । यस क्षेत्रमा एमाले, कांग्रेस र रास्वपाबीचको त्रिपक्षीय भीडन्त मुख्य आकर्षणको केन्द्र रहने देखिएको छ । गत २०७९ सालको आमचुनावमा यस क्षेत्रबाट नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी विजयी भएका थिए । रेशम चौधरीको प्रभाव क्षेत्र मानिने यस ठाउँमा यसपटक कांग्रेसले स्वाँरलाई टिकट दिएपछि पुरानो नतिजा उल्टिने दाबी कांग्रेस वृत्तमा छ । कैलालीको विकास र स्थानीय मुद्दाहरूलाई प्राथमिकतामा राखेर चुनावी अभियान सुरु गरेका स्वाँरले परिवर्तन र समृद्धिका लागि आफ्नो उम्मेदवारी भएको बताए ।

काबुलमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट, एक चिनियाँसहित सातको मृत्यु

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा सोमबार एक चिनियाँ रेस्टुरेन्ट बाहिर भएको विस्फोटमा एक चिनियाँ नागरिकसहित सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । काबुल प्रहरीका प्रवक्ता खालिद जरदानका अनुसार राजधानीको सहर–ए–नाव क्षेत्रमा भएको विस्फोटमा मृत्यु हुनेमध्ये एक जना चिनियाँ नागरिक र छ जना अफगान नागरिक रहेका छन् । प्रवक्ताका अनुसार स्थानीय समयअनुसार दिउँसो ३ बजे विस्फोट भएको थियो । काबुलस्थित आपतकालीन अस्पतालका चिकित्सकहरूले बीबीसीलाई दिएको जानकारीअनुसार विस्फोटपछि चार महिला र एक बालकसहित २० जना घाइतेलाई अस्पताल ल्याइएको थियो । प्रहरी प्रवक्ता खालिद जरदानले मृतक चिनियाँ नागरिक मुस्लिम रहेको र उनले आफ्नी पत्नी तथा एक अफगान सहयोगीसँग मिलेर चिनियाँ नुडल रेस्टुरेन्ट सञ्चालन गर्दै आएको बताए । उनका अनुसार विस्फोट रेस्टुरेन्टको भान्साको नजिक भएको थियो र घटनाको अनुसन्धान जारी छ । यसैबीच चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएसआईएस) ले उक्त विस्फोटको जिम्मेवारी लिएको छ । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले रेस्टुरेन्ट बाहिर भएको विस्फोटको निन्दा गरेका छन् ।

सुनको मूल्य तोलामा २ लाख ८४ हजार ७ सय रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ तोकिएको छ । सोमबार सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैबीच चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोला ७० रुपैयाँले वृद्धि भई ५ हजार ८८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।

रिक्त मन्त्रालयहरूको कार्यभार  प्रधानमन्त्रीले सम्हाल्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीले पदबाट राजनीमा दिएपछि रिक्त भएका ती मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने गरी तोकेका छन्  ।       प्रधानमन्त्रीसमक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएकाले उनीहरुले सम्हाली आएका मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।   

प्रतिनिधिसभा  निर्वाचन : प्रत्यक्ष तर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको प्रक्रिया देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा सुरु भएको छ ।  निर्वाचन आयोग सहायक प्रवक्ता कुलबहादुर जिसीलेका अनुसार उम्मेदवारी दर्ताका लागि मंगलबार बिहान १०ः०० देखि बेलुकी ५ः०० बजेसम्मको निर्वाचन कार्यक्रम यसअघि नै सार्वजनिक गरिसकिएको जानकारी दिए । बेलुकी ५ः०० बजेसम्म आएर लाम बस्नेले उम्मेदवारी दर्ता गर्न पाउने पनि उनले सुनाए । सबै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । उम्मेदवारी दर्ताका लागि नागरिकता वा मतदाता परिचयत्र पत्रसहित १३ प्रकारका कागजात साथमा लिएर आउन आयोगले यसअघि नै आह्वान गरिसकेको छ । आज बेलुकी ५ः०० देखि ७ः०० बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम रहेको पनि उनले सुनाए । माघ ६ गते बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ । माघ ७ गते दिउँसो ३ः०० बजेदेखि माघ ८ गते बेलुका ५ः०० बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ः०० देखि ७ः०० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ । माघ ९ गते बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । माघ ९ गते दिउँसो १ः०० देखि ३ः०० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ः०० देखि साँझ ७ः०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ ।  

गगन थापाले काठमाडौं–४ छोडेर सर्लाही–४ रोजे

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचन क्षेत्र परिवर्तन गरेर सर्लाही जाने भएका हुन् । यसअघि उनी तीनपटक काठमाडौं–४ बाट उनले चुनाव जित्दै आएका थिए । यस पटक भने उनले निर्वाचन क्षेत्र परिवर्तन गरेका हुन् ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं क्षेत्र नम्बर ४ मा पुकार बम उम्मेदवार भएका छन् । यसअघि बम काठमाडौं–१ बाट उम्मेदवार भएका थिए । त्यस क्षेत्रमा नेपाली कांग्रेसका प्रकाशमान सिंहले जितेका थिए ।  यस्तै, नेपाली कम्युनिष्ट पार्टीले सो क्षेत्रबाट इन्द्र भुषाललाई उम्मेदवार बनाएको छ । सो क्षेत्रका लागि एमालेले भने उम्मेदवार टुङ्ग्याउन सकेको छैन ।   

चितवन राष्ट्रिय निकुञ्जले उच्च सतर्कता बढायो

चितवन । प्रतिनिधि सभा निर्वाचन २०८२ को मिति नजिकिँदै जाँदा चितवन राष्ट्रिय निकुञ्जभित्र चोरी सिकारी हुनसक्ने जनाउँदै उच्च सतर्कता बढाएको छ । निर्वाचनका समयमा नयाँ मानिसहरूको आवतजावत बढ्ने र चोरी सिकारी हुनसक्ने भएकाले उच्च सतर्कता अपनाइएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अहिले स्थानीय, सरोकारवाला निकायहरूसँगको सहकार्यमा सुरक्षा व्यवस्था मिलाइएको छ । निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना, निकुञ्ज प्रशासनले आन्तरिक तथा बाह्य सुरक्षाको व्यवस्था गरेको छ । निर्वाचन लागेपछि चोरी सिकारीको खतरा बढ्ने भएकाले निकुञ्जले त्यहीअनुसार व्यवस्थापन गरेको उनले बताए। निकुञ्ज क्षेत्रको कोर इलाकाभित्र र मध्यवर्ती एवं आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था बलियो बनाइएको छ । उनका अनुसार चोरी सिकारी नियन्त्रण युवा जागरण अभियान, मध्यवर्ती सामुदायिक वनका पदाधिकारी तथा कर्मचारी र स्थानीयलाई निर्वाचनको समयमा सजग हुन आग्रह गरिएको छ । उनले भने, 'प्रतिनिधिसभा निर्वाचनको समयमा निकुञ्ज सुरक्षाका लागि हामी तयार छौँ ।' निकुञ्जभित्र र आसपासका क्षेत्रमा गस्ती बढाउने, एम्बुसिङ, स्विमिङलगायत कामलाई निरन्तर कायम राखिने छ । ९५२/६३ वर्ग किलोमिटरमा फैलिएको निकुञ्जमा २२ वटा मध्यवर्ती उपभोक्ता समिति छन् । निकुञ्जभित्र स्थायी ५७ वटा र अस्थायी तीनवटा पोष्ट छन् । उनले भने, 'सबै पोष्टलाई उच्च सतर्कमा रहन भनिएको छ । कर्मचारी पनि सोहीअनुसार परिचालन गरिएको छ ।' पटिहानी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष साजनकुमार महतो निर्वाचन नजिकिएसँगै उपभोक्ता समितिले पनि उच्च सतर्कता अपनाएको बताउछन् । निर्वाचनको समयमा नकारात्मक सोच राखेका व्यक्ति सलवलाउन सक्ने भएकाले सबै उपभोक्तासहितले आ–आफ्नो ठाउँबाट चनाखो भएर काम गरेको उनले बताए। उनले भने, 'चोरी सिकारी हुनसक्छ कि भनेर निगरानी बढाइएको छ । चनाखो रहन सबै उपभोक्तालाई आग्रह गरिएको छ ।' उपभोक्ता समितिहरू वन्यजन्तु संरक्षणका लागि सधैँ एक भएर काम गर्दै आएको उनको भनाइ छ । अहिले निकुञ्ज क्षेत्रमा रहेका मध्यवर्ती उपभोक्ता समितिहरूको निर्वाचन पनि भइराखेकाले केही बढी सक्रियता बढेको छ भने संरक्षण शिक्षाका बारेमा पनि ज्ञान दिइँदै आएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्त निर्वाचनको समयमा सबैको ध्यान निर्वाचनतर्फ केन्द्रित हुँदा चोरी सिकार हुनसक्ने भएकाले पूर्वतयारीस्वरुप कडाइका साथ काम गरिएको बताउछन् । उनले भने, 'हामी सधैँ चनाखो अवस्थामा रहन्छौँ, यतिबेला थप चनाखो बनेका छौँ ।'