विकासन्युज

ओली भन्छन् : फागुनको चुनावमा सहभागी हुन्नौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी २१ फागुनका लागि तय भएको निर्वाचनमा सहभागी नहुने बताएका छन् । शुक्रबार सम्मपन्न भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले निर्वाचनमा सहभागी नहुने बताएका हुन् ।  उनले निर्वाचनमा सहभागी नहुने घोषणा गरे पनि उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले उनको प्रतिवाद गरेका छन् । 

एमालेको १०औं केन्द्रीय कमिटी बैठकमा आत्मसमीक्षा र बहस, ओलीले गरे नेतृत्व हस्तान्तरण गर्ने संकेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौं केन्द्रीय कमिटी बैठक ललितपुरको जावलाखेलमा मंसिरमा महाधिवेशन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । एमालेले आफ्नो ११ औ महाधिवेशन मंसिर २७ देखि २९ सम्म पोखरामा गर्ने भएको छ । नेपालको समसामयिक राजनीतिक परिदृश्य, विशेषतः भदौ २३ को जेनजी प्रदर्शन पछिको यो बैठक पार्टीका लागि गहिरो समीक्षा, चिन्तन र पुनर्संरचनाको अवसर बन्न पुगेको छ । यो बैठक केवल आन्तरिक छलफलको औपचारिकता मात्रै थिएन, यसले एमालेको भविष्यको दिशा, नेतृत्वको मर्म र संगठनात्मक आधारमा पुनरावलोकन गर्ने महत्त्वपूर्ण क्षण सिर्जना ग‍रेको एमाले नेताहरूले बताउँछन् । बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदन, संगठनात्मक समीक्षा, आगामी महाधिवेशनको तयारी मुख्य कार्यसूची थिए । यस्तै, समसामयिक राजनीतिक मूल्यांकनका विषयमा एमाले नेताहरूले खुलेर छलफल गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले प्रारम्भिक सम्बोधनमा पार्टीलाई अनुशासित, समर्पित र व्यवहारिक ढंगले अघि बढाउने विषयमा जोड दिए । उनले स्पष्ट रूपमा भनेका छन्, ‘हामी केवल प्रतिक्रिया होइन, नेतृत्वको जिम्मेवारी बहन गर्नुपर्ने अवस्थामा छौं ।’ बैठकमा पोलिटब्युरो र स्थायी कमिटीसहित १५० भन्दा बढी केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् । पहिलो दिनमै ५० जनाले प्रतिवेदनमाथि टिप्पणी गरेका थिए । बैठकमा उठेका विचारहरू बौद्धिक, आत्मसमीक्षात्मक र केही स्थानमा आलोचनात्मक पनि रहेको नेताहरूले बताएका छन् । अध्यक्ष ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा भदौ २४ को प्रदर्शनलाई राष्ट्र, संविधान र लोकतन्त्रविरुद्धको सुव्यवस्थित षड्यन्त्रका रूपमा व्याख्या गर्दै त्यसलाई प्रतिगमनको निरन्तरता भएको बताए ।  तर केही नेताहरूले यो विश्लेषणलाई अति एकपक्षीय भएको ठहर गर्दै जनआक्रोशलाई बुझ्ने प्रयास हुनु आवश्यक रहेको धारणा राखे । जनमत, असन्तुष्टि र विरोधको प्रकृतिलाई समग्र रूपमा अध्ययन गर्नुपर्ने सुझाब पनि बैठकमा आएको अर्का एक नेताले बताए । ती नेताका अनुसार भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र राजनीतिक जवाफदेहिताका सवाल बैठकमा विशेष रूपमा उठेका थिए ।  ओलीको प्रतिवेदनले कानुनी संरचना सुदृढीकरण र निष्पक्ष कारबाहीका विषय उठाए पनि नेताहरूको चिन्ता थियो– कथन धेरै, काम कम भयो । धेरैजसो नेताका धारणा कार्यान्वयन तहमा ध्यान केन्द्रित गर्नुपर्ने पक्षमा केन्द्रित रहेको ति नेताले बताए । बैठकमा केही सदस्यहरूले प्रत्यक्ष रूपमा ओलीको नेतृत्व अब बोझ हुँदै गएको भन्दै वैकल्पिक नेतृत्वबारे सोच्नुपर्ने र त्यसका लागि ओलीले मार्ग प्रशस्त गर्नुपर्ने रायसमेत राखेको नेताहरूले बताएका छन् ।  अध्यक्ष ओलीले त्यसप्रति प्रतिक्रिया दिँदै भने, ‘सामाजिक सञ्जालले भनेर होइन, पार्टीको निर्णयले म पदमा बस्ने या नबस्ने हो । यदि केन्द्रीय कमिटीले निर्णय ग‍र्यो भने म एक मिनेट पनि यो कुर्सीमा बस्दिनँ ।’ अध्यक्ष ओलीले अहिल्यै राजीनामा नदिनेसमेत बताएका छन् । केन्द्रीय कमिटी बैठकलाई समापन सम्वोधन गर्दै ओलीले आफ्नो काँधमा केही जिम्मेवारी रहेको दोहोर्‍याए । ओलीले भने, ‘मेरो काँधमा केही जिम्मेवारी छन्, ती पुरा नहोउञ्जेल राजीनामा दिन्नँ ।’ ओलीले महाधिवेशनको फैसला मान्ने भन्दै महाधिवेशन पछि नेतृत्व हस्तान्तरण गर्न सक्ने संकेत गरे ।

ओलीले गरे महाधिवेशन पछि नेतृत्व हस्तान्तरण गर्ने संकेत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् ।  केन्द्रीय कमिटी बैठकलाई समापन सम्वोधन गर्दै ओलीले आफ्नो काधमा केही जिम्मेवारी रहेको दोहा¥याए । ओलीले भने, ‘मेरो काँधमा केही जिम्मेवारी छन्, ती पुरा नहोउञ्जेल राजीनामा दिन्नँ ।’ ओलीले महाधिवेशनको फैसला मान्ने भन्दै महाधिवेशन पछि हस्तान्तरण गर्न सक्ने संकेत गरे।

नेपाली क्रिकेट टोलीका खेलाडीलाई सन नेपाल लाइफले दियो ३० लाखको बीमा उपहार

काठमाडौं । नेपाली पुरुष क्रिकेट टिमले तेस्रो पटकका लागि विश्वकपमा ऐतिहासिक यात्रा तय गरेको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रत्येक सदस्यलाई ३० लाख रुपैयाँको बीमा सुरक्षा प्रदान गर्ने भएको छ ।  यस अन्तर्गत राष्ट्रिय क्रिकेट टिमका प्रत्येक सदस्यलाई ३० लाख रुपैयाँ बराबरको बीमा सुविधा र नेपालकै पहिलो इमर्जेन्सी मेडिकल सुविधा सन मेडिकेयर समावेश हुनेछ । जसले खेलाडीहरूलाई आकस्मिक दुर्घटनाबाट पनि स्वास्थ्य उपचार सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ ।  यसले खेलाडीहरूलाई थप प्रोत्साहन मिल्ने विश्वास कम्पनीले लिएको छ ।

एक महिनादेखि कार्यालय नगएका सीईओ चापागाईं ब्रोकरको कार्यक्रममा देखिए

काठमाडौं । विगत एक महिनादेखि कार्यालय हाजिर नभएका नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणी चापागाईं शुक्रबार एउटा कार्यक्रममा देखिएका छन् । उनी शुक्रबार स्टक ब्रोकर एशोसिएसन अफ नेपाल (एस्बान) को दिपावली तथा छठ पर्वको पावन अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनी सहभागी भएका हुन् । नेप्सेका कर्मचारीहरुले विभिन्न माग राख्दै अध्यक्ष हेमन्त बस्याल र सीईओ चापागाईंलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । कर्मचारीले कार्यालय प्रवेश गर्न नदिइएपछि सीईओ चापागाईं घरमै बसिरहेका थिए । एक महिनापछि उनी सार्वजनिक कार्यक्रममा देखिएका हुन् ।  कर्मचारीहरुले अध्यक्ष बस्याल र सीईओ चापागाईंको नियुक्तिका विषयमा छानबिन गर्न माग गर्दै विगत करिब एक महिनादेखि विरोधमा छन् ।   नेप्से कर्मचारी संघले शुक्रबार नै विज्ञप्ति जारी गर्दै कानुनतः पाउनुपर्ने ५ प्रतिशत बोनस माग गरेका छन् । यो मुद्दा अहिले सर्वोच्च अदालतमा समेत पुगिसकेको छ ।  

सिद्धार्थ बैंकका ग्राहकहरूलाई जर्मन होम्समा १० प्रतिशत छुट

काठमाडौं ।  सिद्धार्थ बैंक र जर्मन होम्स प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।   सम्झौता अनुसार बालकोट, भक्तपुरस्थित जर्मन होम्स्मा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ । 

तिलिचो बेसक्याम्पमा टुजी र फोरजी सेवा सुरु, च्छो रोल्पामा भोइस सेवा

काठमाडौं । नेपाल टेलिकमले मनाङको प्रसिद्ध पदयात्रा र पर्यटन क्षेत्र तिलिचो बेस क्याम्पमा नयाँ बीटीएस (बेस ट्रान्सीभर स्टेशन) स्थापना गरी टुजी र फोरजी मोबाइल सेवा शुक्रबारबाट सञ्चालनमा ल्याएको छ ।  करिब ४ हजार ३५० मिटर उचाइमा अवस्थित तिलिचो ताल जाने रुटमा नेपाल टेलिकमले माइक्रोवेभ प्रविधिमार्फत सेवा विस्तार गरेको हो ।  यससँगै खाङसार–श्रीखर्क–तिलिचो बेसक्याम्प–बाइसघुम्ती क्षेत्रका स्थानीय बासिन्दा, पदयात्री र व्यवसायीहरू अब सजिलै सञ्चार सम्पर्कमा रहन सक्ने भएका छन् । टेलिकम सेवाको विस्तारपछि उक्त क्षेत्रका पर्यटन, होटल र व्यवसायिक सेवा प्रदायकहरूले डिजिटल भुक्तानी प्रणालीमा आवद्ध हुन सजिलो हुने भएको छ । साथै पदयात्राका क्रममा स्वास्थ्य समस्या परेमा आपतकालीन उद्धार कार्यमा पनि नेपाल टेलिकमको सेवा जीवनरक्षक हुने स्थानीयवासीहरूको विश्वास रहेको छ । यसै क्रममा नेपाल टेलिकमले दोलखा जिल्लाको रोल्वालिङ उपत्यकामा पर्ने च्छो–रोल्पा ट्रेकिङ रुटको अन्तिम बस्ती नागाउँमा पनि भ्वाइस सेवा सुरु गरेको छ । सो सेवा मिति असोज २८ गतेदेखि भी–एसएटी प्रविधिमार्फत सुचारु गरिएको हो । समुद्री सतहदेखि ४ हजार १९० मिटरको उचाइमा अवस्थित नागाउँ साइटबाट च्छो–रोल्पा, बेदिङ–ना, दूधकुण्ड, यालुङ बेसक्याम्प, टासी लेप्चा पास बेसक्याम्प लगायतका क्षेत्रका स्थानीय तथा पर्यटकहरूले अब सहज सञ्चार सम्पर्क गर्न पाउनेछन्। उच्च उचाइ, कठोर मौसम र जनशक्ति अभावबीच पनि नेपाल टेलिकमका प्राविधिक कर्मचारीहरूले गरेको अथक प्रयासका कारण दुर्गम हिमाली क्षेत्रमा आधुनिक सञ्चार सेवा विस्तार सम्भव भएको हो । नेपाल टेलिकमले भविष्यमा पनि देशका अन्य दुर्गम पर्यटन र सीमावर्ती क्षेत्रमा आधुनिक प्रविधियुक्त सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपाल प्रहरीले गर्‍यो ८५ वटा पीकअप खरिदको प्रक्रिया सुरु

काठमाडौं । नेपाल प्रहरीले ८५ वटा पीकअप खरिद गर्ने प्रक्रिया सुरु गरेको छ । जेनजी आन्दोलनका क्रममा धेरै गाडीमा क्षति पुगेसँगै प्रहरीले गस्तीमा प्रयोग गर्ने पीकअप खरिद गर्न लागेको हो । प्रहरीले खुलाएको टेन्डरमा ७५ युनिट पेट्रोलबाट चल्ने पीकअपको लागि बोलपत्र माग गरिएको छ । विद्युतीय पीकअप भने १० युनिट खरिद गर्न लागिएको हो । प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै गाडी किन्न टेण्डर आह्वान गरेको हो । इच्छुक कम्पनी/टेण्डरदाताले आगामी कात्तिक ९ गते (२६ अक्टोबर) मा हुने प्रिबिड मिटिङमा सहभागिता जनाउन पाउने छन् । त्यसपछि विद्युतीय टेण्डर कात्तिक १४ (३१ अक्टोबर) भित्र पेस गर्नुपर्ने सूचनामा उल्लेख छ। प्रहरी प्रधान कार्यालयका अनुसार टेण्डर १४ कात्तिक अपराह्न २ बजे खोलिने छ ।