नेपाल प्रहरीले गर्यो ८५ वटा पीकअप खरिदको प्रक्रिया सुरु
काठमाडौं । नेपाल प्रहरीले ८५ वटा पीकअप खरिद गर्ने प्रक्रिया सुरु गरेको छ । जेनजी आन्दोलनका क्रममा धेरै गाडीमा क्षति पुगेसँगै प्रहरीले गस्तीमा प्रयोग गर्ने पीकअप खरिद गर्न लागेको हो । प्रहरीले खुलाएको टेन्डरमा ७५ युनिट पेट्रोलबाट चल्ने पीकअपको लागि बोलपत्र माग गरिएको छ । विद्युतीय पीकअप भने १० युनिट खरिद गर्न लागिएको हो । प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै गाडी किन्न टेण्डर आह्वान गरेको हो । इच्छुक कम्पनी/टेण्डरदाताले आगामी कात्तिक ९ गते (२६ अक्टोबर) मा हुने प्रिबिड मिटिङमा सहभागिता जनाउन पाउने छन् । त्यसपछि विद्युतीय टेण्डर कात्तिक १४ (३१ अक्टोबर) भित्र पेस गर्नुपर्ने सूचनामा उल्लेख छ। प्रहरी प्रधान कार्यालयका अनुसार टेण्डर १४ कात्तिक अपराह्न २ बजे खोलिने छ ।
गगन थापाले गरे मंसिरमै कांग्रेसको १५औं महाधिवेशन प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५औं महाधिवेशन यही मंसिर महिनाभित्र सम्पन्न गर्ने कार्यतालिका प्रस्ताव गरेका छन् । थापाले दुई विकल्पसहित महाधिवेशनको विस्तृत कार्यतालिका पेश गरेका हुन् । पहिलो विकल्पअनुसार मंसिर २७ देखि २९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ । थापाले पेश गरेको कार्यतालिकामा कात्तिक २१ सम्म नयाँ सदस्यता वितरण तथा नवीकरणको इन्ट्री गर्ने, मंसिर ७ मा क्रियाशील सदस्यहरूको नामावली निर्वाचन समितिमा बुझाउने र मंसिर १२–१३ मा वडा अधिवेशन गर्ने प्रस्ताव गरिएको छ । यस्तै, मंसिर २१ मा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, केन्द्रीय प्रतिनिधि चयन र जनसम्पर्क समिति अधिवेशन सम्पन्न गरी अन्ततः मंसिर २७ देखि २९ भित्र केन्द्रीय महाधिवेशन गर्ने योजना रहेको छ । दोस्रो विकल्पमा भने सबै तहको अधिवेशन चरणबद्ध रूपमा सम्पन्न गर्ने प्रस्ताव गरिएको छ । सोअनुसार मंसिर ५ बाट वडा अधिवेशन सुरु गरी, मंसिर २१ मा प्रदेश अधिवेशन र मंसिर २७–२९ मा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने तालिका प्रस्तुत गरिएको हो । थापाले विधान संशोधनमार्फत क्रियाशील सदस्यबाटै सिधा नेतृत्व चयन गर्न सकिने सम्भावनासमेत उल्लेख गरेका छन् । महामन्त्री थापाले क्रियाशील सदस्यता नवीकरणमा लचकता अपनाउने प्रस्ताव पनि गरेका छन्। । उनका अनुसार १४औं महाधिवेशनमा सहभागी भएकामध्ये मृत्यु भएका र पार्टी परित्याग गरेका बाहेक सबै सदस्यको सदस्यता स्वतः नवीकरण भएको मान्ने सकिने छ । यद्यपि क्रियाशील सदस्यता व्यवस्थापन समितिका अनुसार असोज मसान्तसम्म ८१ प्रतिशत सदस्यता नवीकरण भइसकेको भए पनि इन्ट्री कार्य अझै बाँकी रहेको छ । २८ असोजदेखि जारी केन्द्रीय समितिको बैठकमा भने महामन्त्री थापाको प्रस्ताव पेश हुन सकेको छैन । संस्थापन पक्षीय नेताहरू मंसिरमा महाधिवेशनको पक्षमा नरहेकाले थापाको कार्यतालिका अगाडि बढ्न नसकेको हो । तर, महामन्त्री थापा, विश्वप्रकाश शर्मा र डा. शेखर कोइरालाको समूह मंसिरमै नियमित महाधिवेशन हुनुपर्ने अडानमा छन् । उनीहरूका अनुसार यदि मंसिरमा महाधिवेशन सम्भव नभए विशेष महाधिवेशनमा जानुपर्नेछ ।
गणपति सिमेन्टमा नयाँ लगानीकर्ताको प्रवेश, ‘विनायक’ र ‘गणपति’ ब्रान्डका नयाँ सिमेन्ट ल्याउँदै
काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका- ६ मा रहेको गणपति सिमेन्ट इन्डस्ट्रीजमा नयाँ लगानीकर्ताको आगमन भएको छ । शुक्रबार कम्पनीले विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो । उद्योगलाई पुनः पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने तयारी तीव्र गतिमा अघि बढेको कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष अर्जुन चौलागाईंको नेतृत्वमा गठित नयाँ लगानीकर्ता समूहले उद्योगलाई पुनर्जीवित गरी देशको निर्माण क्षेत्रमा सशक्त योगदान पुर्याउने लक्ष्य लिएको छ । अध्यक्ष चौलागाईसँगै अमेरिकामा करिब १५ वर्षदेखि निर्माण तथा विभिन्न व्यवसायमा संलग्न एनआरएन विषम पाण्डे र नेपालमा विभिन्न व्यवसायिक क्षेत्रमा सक्रिय शालिक पाठकले उद्योगमा नयाँ ऊर्जा, लगानी र दिगो सञ्चालनको दृष्टिकोणसहित सहकार्य गर्न थालेका हुन् । विगत केही वर्षदेखि सीमित मात्रामा सञ्चालनमा रहेको गणपति सिमेन्टलाई पुनः पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने कार्ययोजना अघि बढाइएको अध्यक्ष चौलागाईंले जानकारी दिए । उनका अनुसार कम्पनीले ‘विनायक’ र ‘गणपति’ ब्रान्डका नयाँ सिमेन्ट बजारमा ल्याउँदै देशभरका प्रमुख सहरहरूमा बिक्री सञ्जाल विस्तार गर्ने तयारी गरेको छ । उद्योगको पुनः सञ्चालनसँगै कपिलवस्तु तथा आसपासका क्षेत्रमा रोजगारीका अवसर सिर्जना, स्थानीय उत्पादन प्रवर्द्धन र स्वदेशी ब्रान्डको सुदृढीकरण हुने कम्पनीको विश्वास छ । गणपति सिमेन्ट इन्डस्ट्रीजले आगामी दिनमा उत्पादन क्षमता विस्तार, गुणस्तर सुधार र दिगो बजार सञ्जाल निर्माणलाई प्राथमिकता दिने योजनासमेत सार्वजनिक गरेको छ।
डेडिकेटेड लाइनको बक्यौता तिर्दै उद्योग
काठमाडौं । डेडिकेटेड र टंक लाइनको सुविधा प्रयोग गरेबापत उद्योगहरूले धमाधम बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिर्न थालेका छन् । लामो समयदेखि बक्यौता रहेका औद्योगिक समूहहरूले अन्ततः किस्ता तिर्न सुरु गरेका हुन् । सिमरास्थित हामा आइरन एन्ड स्टील इन्डस्ट्रीजले डेडिकेटेड ट्रंक अन्तर्गतको कुल ५ करोड ८५ लाख रुपैयाँ बक्यौतामध्ये पहिलो किस्ताका रूपमा २० लाख ९० हजार बुझाएको छ । त्यस्तै, वैशाखदेखि किस्ता तिर्न रोकेको परासीस्थित लक्ष्मी स्टीलले पनि पुनः तिर्न सुरु गर्दै ८४ लाख ९८ हजार रुपैयाँको किस्ता बुझाएको छ । केही समयदेखि किस्ता तिर्न रोकेको सर्वोत्तम सिमेन्टले पनि ४० लाख बुझाएको छ । प्राधिकरणले उद्योगहरूलाई बक्यौता तिर्न बारम्बार दबाब दिँदै आएको छ ।
जेलब्रेकपछि ५४२ नेपाली र ६४५ विदेशी कैदी फरार
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको जेलब्रेकपछि हालसम्म ५४२ जना नेपाली र ६४५ जना विदेशी कैदी फरार रहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त आन्दोलनका क्रममा देशका विभिन्न जेलमा तोडफोड भएपछि सयौं कैदीहरू फरार भएका थिए । तीमध्ये अहिलेसम्म पनि १ हजार १८७ जना कैदी पक्राउ परेका छैनन् । सेनाको विवरणअनुसार फरारमध्ये नेपाली कैदीको संख्या ५४२ र विदेशी कैदीको संख्या ६४५ रहेको छ । जेल तोडफोडपछि भागेका कैदीहरूमध्ये केहीलाई पछिल्ला दिनहरूमा पुनः पक्राउ गरिए पनि केही फरार रहेको सेनाले बताएको छ ।
एनसेलको नयाँ सीईओमा माइकल फोले नियुक्त
काठमाडौं । एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा माइकल फोले नियुक्त भएका छन् । उनको यो नियुक्ति यही कार्तिक १५, २०८२ देखि लागू हुने कम्पनीले जनाएको छ । नयाँ सीईओ नियुक्तिसँगै कार्यवाहक सीईओका रूपमा समेत कार्यभार सम्हाल्दै आएका सैयद इनामुल कबीरले कम्पनीको प्रमुख वित्तीय अधिकृत (सीएफओ)को आफ्नो महत्त्वपूर्ण भूमिकालाई निरन्तरता दिनेछन् । दुई दशकभन्दा बढी दूरसञ्चार क्षेत्रमा वरिष्ठ नेतृत्वको अनुभव बोकेका फोलेले यस क्षेत्रका प्रमुख कम्पनीहरूमा कुशल नेतृत्वका साथ सफलता हासिल गरेका रेकर्डहरू रहेका छन् । एनसेलमा आवद्ध हुनुअघि फोलेले एयरटेलमा फ्रेन्च अफ्रिकाका प्रमुखको रूपमा कार्यरत रहँदै सातवटा फ्राङ्कोफोन अफ्रिकी बजारहरूको सञ्चालन जिम्मेवारी वहन गरेका थिए । त्यसअघि उनले टेलिनोर पाकिस्तान (टीपी)का सीईओका रूपमा कार्य गर्दै कठिन व्यवसायिक परिस्थितिमा पनि कम्पनीलाई अगाडि बढाउँदै बजारमा अग्रणी वृद्धि, नाफा, र कर्मचारी संलग्नताका साथ उल्लेखनीय सफलता हासिल गरेका थिए । उनका अघिल्ला नेतृत्वदायी भूमिकाहरुमा, ग्रामीणफोन (बंगलादेश) र टेलिनोर (बुल्गेरिया)मा सीईओको पदसमेत समावेश छन्, जहाँ उनले उल्लेखनीय व्यवसायिक परिवर्तनको नेतृत्व गर्दै ग्राहक संख्या ७ करोडभन्दा माथि पुऱ्याएका थिए र ईबिट्डामा ६० प्रतिशतभन्दा बढी वृद्धि हासिल गरेका थिए । फोलेले टामीर माइक्रोफाइनान्स (हालको इजीपैसा, पाकिस्तान)का अध्यक्ष र टेलिनोर हेल्थका अध्यक्षको रूपमा पनि काम गरेका छन् । हाल उनी अफ्रिकाको अग्रणी एसेट माइक्रोफाइनान्स कम्पनी वाटु अन्तर्गतको वाटु डीआरसी एसएका अध्यक्षका रूपमा कार्यरत छन् । नियुक्ति सम्बन्धी आफ्नो धारणा व्यक्त गर्दै फोलेले भने, ‘काठमाडौंमा एनसेलको यो जिम्मेवारी लिन पाउँदा म अत्यन्त खुसी र सम्मानित महसुस गरिरहेको छु । एनसेल देशका लागि महत्त्वपूर्ण पूर्वाधार हो, जसले नेपाली जनताका लागि नयाँ अवसरहरू सृजना गर्दै, डिजिटल रूपान्तरणलाई अघि बढाउने, आर्थिक प्रतिस्पर्धात्मकता बढाउने र विदेशी लगानी आकर्षित गर्ने अपार सम्भावना बोकेको छ । आजको डिजिटल, एआई पावर्ड र सामाजिक सञ्जालको युगमा दूरसञ्चार कम्पनीहरू केवल सेवा प्रदायक मात्र होइनौं, हामी समाजको डिजिटल संरचना बुन्ने भूमिका निभाइरहेका छौं ।’ ‘हामी आधुनिक अर्थतन्त्रको सञ्चालन प्रणाली बनिसकेका छौं । यसैले राष्ट्रको सेवा गर्न, हाम्रा सेवाहरू सुदृढ बनाउन र सबैभन्दा महत्त्वपूर्ण रूपमा आगामी पुस्तालाई सशक्त बनाउनका लागि यी महत्त्वपूर्ण सम्पत्तिहरूलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्नु अत्यावश्यक छ,’ उनले थपे । एनसेलको सञ्चालक समितिले नेतृत्व भूमिकामा फोलेलाई कम्पनीमा स्वागत गर्न पाउँदा अत्यन्त खुसी भएको जनाएको छ । फोल म्याकगिल विश्वविद्यालयका स्नातक हुन् र इनसीडबाट उनले ग्लोबल म्यानेजमेन्ट एन्ड गभर्नेन्समा एक्सिक्युटिभ सर्टिफिकेटस् प्राप्त गरेका छन् । उनी क्यानडा–केन्या दुबैको नागरिक हुन् । एनसेल सन् २००४ मा स्थापना भई २००५ बाट सेवा प्रदान गर्दै आइरहेको नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो ।
सेना भन्छ– जेनजी आन्दोलनमा ज्यान गुमाएका २२ जनामात्र प्रदर्शनकारी
काठमाडौं । नेपाली सेनाले भदौ २३ र २४ मा भएको जेन‍जी आन्दोलनमा मृत्यु भएकामध्ये २२ जना मात्रै जेनजी प्रदर्शनकारी भएको बताएको छ । सेनाले शुक्रबार एक पत्रकार सम्मेलनको अयोजना गरी उक्त कुरा सार्वजनिक गरेको हो । सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले आन्दोलनमा मृत्यु भएका मध्ये २२ प्रदर्शनकारीको ज्यान गएको बताएका हुन्। आन्दोलनमा ७६ जनाको मृत्यु भएको र तीमध्ये २२ प्रदर्शनकारी रहेको दाबी सेनाको छ । मृत्यु भएका मध्ये तीन प्रहरी, १० कैदी र अन्य ४१ रहेको उपरथी थापाले जानकारी दिए ।
६ दशक पुरानो ब्रान्ड नेबिको अब कर्णाली याक्ससँग
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको क्रिकेट टिम कर्णाली याक्स र नेबिको लिमिटेडबीच सह-प्रायोजनका लागि सम्झौता सम्पन्न भएको छ । बिहीबार आयोजित एक विशेष कार्यक्रममा सम्झौता भएको हो । कार्यक्रममा नेबिकोका तर्फबाट म्यानेजिङ डाइरेक्टर अशोक पोखरेल, सीईओ होम न्यौपाने र मार्केटिङ हेड अरुण पौडेल उपस्थित थिए । त्यस्तै, कर्णाली याक्सका तर्फबाट म्यानेजिङ डाइरेक्टर गृहेन्द्र घिमिरे र को–ट्रेनर राजु बस्न्यातको उपस्थिति पनि रहेको थियो । कम्पनीले कर्णाली याक्ससँगको सहकार्यलाई नेपाली क्रिकेटको प्रवर्धन र खेलकुद क्षेत्रमा योगदान पुर्याउने अवसरका रूपमा लिएको जनाएको छ । सम्झौताका अन्त्यमा नेबिको लिमिटेडले कर्णाली याक्स टिमलाई आगामी खेलहरूमा सफलताको शुभकामना दिँदै समग्र नेपाली क्रिकेटको उज्ज्वल भविष्यको कामना गरेको छ। नेबिको नेपालकै पहिलो बिस्कुट उत्पादक कम्पनी हो, जसले छ दशकभन्दा बढी समयदेखि बिस्कुट, कुकीज, कन्फेक्सनरी तथा ब्रेकफास्ट सिरियलजस्ता स्वस्थकर उत्पादनहरू बजारमा ल्याउँदै आएको छ ।