सिटिजन्स डिजि बैंक: एउटै प्लेटफर्ममा ५० भन्दा बढी सेवा
काठमाडौं । पछिल्लो समय नेपालमा डिजिटल बैंकिङले तीव्र गति लिइरहेका बेला सिटिजन्स बैंक यस परिवर्तनको अग्रपङ्क्तिमा देखिएको छ । बैंकका डिजिटल बैंकिङ प्रमुख भूपेन्द्र विष्टका अनुसार अहिले अधिकांश बैंकहरूले ग्राहकसँगको प्रत्यक्ष कारोबारको ८०-९० प्रतिशत हिस्सा डिजिटल माध्यमबाट गरिरहेका छन् । सिटिजन्स बैंकमा पनि काउण्टर ट्रान्जेक्सन र डिजिटल ट्रान्जेक्सनबीच ठूलो अन्तर देखिएको उनको भनाइ छ । तथ्याङ्कअनुसार बैंकको कुल कारोबारमध्ये करिब ९३ प्रतिशत कारोबार डिजिटल माध्यमबाट भइरहेको छ, जसले डिजिटल बैंकिङप्रति ग्राहकको आकर्षण तीव्र रूपमा बढिरहेको स्पष्ट हुने विष्ट बताउँछन् । उनका अनुसार नयाँ पुस्ता प्रविधिप्रति बढी आकर्षित भएकाले बैंकमा नगइ डिजिटल माध्यमबाटै सेवा लिन रुचाउँछन् । ‘ठूला कारोबारहरू पनि अब डिजिटल माध्यमबाटै सञ्चालन हुँदैछन् । काउण्टर भिजिट गर्ने ग्राहकहरू निकै कम भएका छन् । चेकमार्फत हुने ठूला कारोबारहरू पनि आरटीजीएस र आइपीएस प्रणालीबाट गरिरहेका छन् । ठूला व्यवसायीहरूले आरटीजीएसलाई प्राथमिकता दिइरहेका छन्,’ उनले भने । विष्टका अनुसार सिटिजन्स बैंकले मोबाइल बैंकिङलाई समयानुकूल अपग्रेड गर्दै सेवा विस्तार गरेको छ । ‘हामीले पैसा ट्रान्सफर, बिल भुक्तानी, क्रेडिट कार्ड तथा भर्चुअल क्रेडिट कार्डजस्ता सुविधा मोबाइल बैंकिङमा उपलब्ध गराएका छौं । भर्चुअल क्रेडिट कार्डले फिजिकल कार्ड बोक्ने झन्झट कम गरेको छ र देशभरका क्युआर मर्चेन्टहरूमा प्रयोग गर्न सकिन्छ । यसले क्रेडिट-आधारित डिजिटल भुक्तानीलाई व्यापक पहुँच दिँदै यसको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ,’ उनले भने । ग्राहकले मोबाइल बैंकिङ प्लेटफर्ममार्फत क्रेडिट कार्डको नयाँ आवेदन, क्रेडिट कार्ड लिमिट वृद्धि अनुरोध, केवाईसी अपडेट तथा विभिन्न किसिमका कर्जाका आवेदन सहजै गर्न सक्ने विष्ट बताउँछन् । बैंकले आफ्ना ग्राहकहरूलाई पेडे-लोन नामक डिजिटल कर्जा सुविधा प्रदान गर्दै आएको छ । बैंकको प्रणालीले ग्राहकको जम्मा तथा भुक्तानी कारोबार इतिहास, क्रेडिट हिस्ट्री तथा अन्य सूचकहरूको आधारमा कर्जा लिन योग्य ग्राहकलाई स्वचालित रूपमा पहिचान गरी मोबाइल बैंकिङ एपमै देखाउने व्यवस्था गरेको छ । योग्य ग्राहकले आवेदन गरेपछि कर्जा तुरुन्तै स्वीकृत भई रकम तत्काल खातामा जम्मा हुने व्यवस्था रहेको उनले जानकारी दिए । सिटिजन्स बैंकले हालै ‘सिटिजन्स डिजि बैंक’ प्लेटफर्म सुरु गरेको छ । यो मोबाइल र वेब दुवै माध्यमबाट उपलब्ध एक अत्याधुनिक एकीकृत प्लेटफर्म हो, जसबाट करिब ५० भन्दा बढी सेवाहरू एउटै ठाउँबाट प्रयोग गर्न सकिने विष्टले बताए । ‘यसले बैंक भिजिट गर्ने आवश्यकतालाई उल्लेख्य रूपमा घटाएको छ र कर्मचारीहरूलाई अन्य उत्पादक कार्यमा ध्यान केन्द्रित गर्न मद्दत पुर्याएको छ,’ उनले भने । बैंकको आन्तरिक प्रणालीबारे स्पष्ट पार्दै विष्टले भने, ‘हामीले बिजनेस प्रोसेस म्यानेजमेन्ट टुलमार्फत बैंकका सम्पूर्ण आन्तरिक प्रक्रियाहरू स्वचालित गरेका छौं । हाल विभिन्न विभागका अधिकांश कार्य प्रवाहहरू यसै प्लेटफर्ममा समावेश भइसकेका छन् । साथै बैंकका आन्तरिक मेमो र कर्जा मूल्याङ्कनका फाइलहरू पनि डिजिटल रूपमै स्वीकृत हुने व्यवस्था मिलाइएको छ । यसले कर्मचारीहरूको समय बचत हुनुका साथै कार्यक्षमतामा उल्लेख्य वृद्धि गरेको छ ।’ के हो सिटिजन्स डिजि बैंक ? सिटिजन्स बैंकले गत महिना सार्वजनिक गरेको ‘सिटिजन्स डिजि बैंक’ एक अत्याधुनिक एकीकृत ओम्नी–च्यानल प्लेटफर्म हो । यसको मुख्य उद्देश्य बैंकमा छरिएर रहेका सबै डिजिटल सेवाहरूलाई एउटै सुरक्षित र सहज च्यानलमार्फत ग्राहकसम्म पुर्याउनु हो । सिटिजन्स डिजि बैंक वेबसाइट र मोबाइल एप दुवै माध्यमबाट प्रयोग गर्न सकिने विष्ट बताउँछन् । उनका अनुसार ग्राहक जहाँ छन्, त्यहीबाट बैंकमा नगई सबै डिजिटल बैंकिङ सेवा लिन सक्ने व्यवस्था गरिएको छ । ‘यसको मुख्य उद्देश्य ग्राहकले भौतिक रूपमा शाखामा उपस्थित हुनुपर्ने वाध्यतालाई अन्त्य गर्नु हो । घरमै बसेर कुनै पनि बैंक कर्मचारीको सहयोग नलिई सरल र सुरक्षित तरिकाले सेवा उपभोग गर्न सकिन्छ । यसबाट सेवाग्राही, प्रयोगकर्ता र बैंकका कर्मचारी सबैलाई सहज हुनेछ,’ उनले भने । ग्राहकहरूले केवाईसी अद्यावधिक गर्दा भोग्नुपर्ने झन्झटिलो प्रक्रियालाई पनि सिटिजन्स डिजि बैंकले सहज बनाइदिएको विष्टको भनाइ छ । ‘कुनै एउटा विवरण सच्याउन पूरै फारम भर्नुपर्ने पुरानो प्रणालीलाई अन्त्य गरी आवश्यक विवरण मात्रै सच्याउन मिल्ने व्यवस्था गरिएको छ । प्यान अपडेट, राष्ट्रिय परिचयपत्र नम्बर अपडेट जस्ता काम अब यसै माध्यमबाट गर्न सकिन्छ,’ उनले भने । हाल यस प्लेटफर्मभित्र ११ वटा मुख्य मेनुअन्तर्गत ५० भन्दा बढी डिजिटल सेवाहरू उपलब्ध रहेको उनले जानकारी दिए । ‘अनलाइन खाता खोल्ने, लकर सुविधाका लागि आवेदन दिने, मोबाइल बैंकिङ सञ्चालन गर्ने, डिम्याट सम्बन्धी सम्पूर्ण काम गर्ने तथा डिजिटल लोनको अनुरोध गर्ने जस्ता महत्वपूर्ण सुविधाहरू यसमा समावेश छन् । क्युआर मर्चेन्ट सेवा, ब्यालेन्स सर्टिफिकेट र टिडिएस सर्टिफिकेट लिन सकिने सुविधाले गर्दा व्यावसायिक ग्राहकहरू पनि यसप्रति निकै आकर्षित भएका छन्,’ उनले भने । डिजिटल बैंकिङप्रति ग्राहकको उत्साहजनक सहभागिताले सिटिजन्स बैंकलाई नेपालको डिजिटल बैंकिङ क्षेत्रमा अग्रणी र विश्वासिलो संस्थाको रूपमा स्थापित गर्दै लगेको विष्टको विश्वास छ ।
प्रतिनिधिसभा निर्वाचन काठमाडौं : सात लाख १० हजार ७०८ मतदाता, २५७ उम्मेदवार
काठमाडौं । सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सात लाख १० हजार ७०८ मतदाता कायम भएका छन् । यसमा महिला तीन लाख ६४ हजार, पुरुष तीन लाख ४६ हजार ११६ र सात रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौंमा मतदान स्थल ३२० र मतदान केन्द्र ८१७ कायम गरिएको जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए । काठमाडौं, निर्वाचन क्षेत्र नं. १ मा मतदान स्थल २२, मतदान केन्द्र ५७ छ । यहाँ २५ हजार २५२ महिला र २३ हजार २३७ पुरुष गरी कुल ४८ हजार ८४९ मतदाता रहेका छन् । यसैगरी क्षेत्र नं. २ मा मतदान स्थल ४०, मतदान केन्द्र १०० छ । यस क्षेत्रमा पुरुष मतदाता ४५ हजार ३१५ र महिला मतदाता ४३ हजार ३९३ गरी कुल मतदाता ८८ हजार ७०८ रहेको पनि उनले सुनाए । क्षेत्र नं. २ काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मतदाता रहेको क्षेत्र हो । काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं. ३ मा मतदान स्थल २९ र मतदान केन्द्र ७२ रहेको छ । यो निर्वाचन क्षेत्रमा महिला मतदाता ३२ हजार ९२३ र पुरुष मतदाता ३१ हजार ५५६ गरी कुल ६४ हजार ४७९ मतदाता रहेका छन् । क्षेत्र नं. ४ मा ३३ मतदान स्थल, ८८ मतदान केन्द्र रहेको छ । यहाँ ३९ हजार ५९९ महिला र ३६ हजार ५४२ पुरुष गरी ७६ हजार १४१ मतदाता रहेका छन् । क्षेत्र नं. ५ मा मतदान स्थल ३१, मतदान केन्द्र ९० रहेको छ । ४० हजार ८३२ महिला, ३७ हजार २७८ पुरुष र अन्य चार गरी कुल मतदाता ७८ हजार ११४ रहेका छन् । क्षेत्र नं. ६ मा मतदान स्थल ३२, मतदान केन्द्र ७९ रहेको छ । यहाँ महिला ३४ हजार ९५६, पुरुष ३२ हजार ८०२ र अन्य एक गरी कुल मतदाता ६७ हजार ७५९ रहेको छ । क्षेत्र नं. ७ मा मतदान स्थल २९, मतदान केन्द्र ७८ रहेको छ । महिला ३४ हजार ७३८ र पुरुष ३२ हजार ६७३ गरी कुल ६७ हजार ४११ मतदाता रहेका छन् । क्षेत्र नं. ८ मा मतदान स्थल २३ र मतदान केन्द्र ६५ रहेको छ । महिला २९ हजार ८९८ र पुरुष २७ हजार ९१३ गरी कुल ५७ हजार ८११ मतदाता रहेका छन् । क्षेत्र नं. ९ मा ३४ मतदान स्थल र मतदान केन्द्र ९० रहेको छ । महिला ४० हजार २७८ र पुरुष ३८ हजार २१७ गरी कुल ७८ हजार ४९५ रहेका छन् । क्षेत्र नं. १० मा मतदान स्थल ४७ र मतदान केन्द्र ९८ रहेको छ । यहाँ महिला ४२ हजार ७१६, पुरुष ४० हजार ५८३ र अन्य दुई गरी कुल मतदाता ८३ हजार ३०१ रहेका छन् । काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नंं. १ मा ३०, क्षेत्र नंं. २ मा २२, क्षेत्र नंं. ३ मा २४, क्षेत्र नं. ४ मा २८, क्षेत्र नंं. ५ मा २७, क्षेत्र नं. ६ मा २२, क्षेत्र नं. ७ मा २८, क्षेत्र नं. ८ मा २२, क्षेत्र नं. ९ मा २७ र क्षेत्र नं.१० मा पनि २७ उम्मेद्वार मनोनयन पत्र दर्ता गराएको पनि जिल्ला निर्वाचन अधिकारी भट्टराईले बताए । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा गरी २५७ उम्मेद्वारले मनोनयन पत्र दर्ता गराएको जानकारी पनि उनले दिए ।
जर्मनीलाई उछिन्दै तेस्रो स्थानतर्फ भारत, भविष्यमा विश्वकै नम्बर एक अर्थतन्त्र हुने दाबी
काठमाडौं । भारत विश्वमै सबैभन्दा छिटो वृद्धि भइरहेको अर्थतन्त्र हो । हाल अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो भने चीन दोस्रो स्थानमा छ । स्टेट बैंक अफ इन्डिया (एसबीआई) रिसर्चको एक रिपोर्टले भारत चाँडै जर्मनीलाई उछिन्दै तेस्रो स्थानमा पुग्न सक्ने जनाएको छ । यसैक्रममा अमेरिकी लगानी कम्पनी कार कार्लाइल ग्रुपका सह–संस्थापक डेभिड रुबेनस्टीनले भारत केही दशकभित्रै विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्न सक्ने दावी गरेका छन् । उनले स्विट्जरल्यान्डको दावोसमा भइरहेको विश्व आर्थिक मञ्चका क्रममा इकोनोमिक्स टाइम्ससँगको विशेष अन्तर्वार्तामा यो कुरा बताएका हुन् । रुबेनस्टीनले भने, ‘मलाई लाग्छ २०–३० वर्षभित्र भारत विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्न सक्छ ।’ उनले अमेरिका–भारत सम्बन्धबारे कुनै चिन्ता नरहेको पनि बताए । उनका अनुसार राष्ट्रपति ट्रम्प सामान्यतया भारतसँगको अमेरिकाको सम्बन्धप्रति निकै सकारात्मक रहँदै आएका छन् । उनले आफ्ना अत्यन्त नजिकका सहयोगीमध्ये एकलाई राजदूतका रूपमा पठाएका छन् । रुबेनस्टीनले भारतीय नीति–निर्मातालाई विश्वव्यापी प्राइभेट क्रेडिट, प्राइभेट इक्विटी र प्राइभेट लगानीलाई पश्चिमी ढाँचाको मात्र लगानीका रूपमा नहेर्न आग्रह गरे । उनका अनुसार जब प्राइभेट इक्विटी र प्राइभेट क्रेडिट बजारलाई फस्टाउन दिइन्छ, तब पर्याप्त पूँजी भएका भारतीय उद्यमीहरू पनि यस क्षेत्रमा प्रवेश गर्छन् । यस्ता नीतिहरूले धेरैलाई भारतमै बस्न र लगानी गर्न प्रोत्साहन गर्नेछन् । रुबेनस्टीनका अनुसार प्राइभेट इक्विटी भनेको सेयर बजारमा सूचीकृत नभएका कम्पनीहरूमा सिधै पुँजी लगानी गर्नु हो । अर्थात् सेयर किनबेच हुने बजारमार्फत होइन, कम्पनीसँग प्रत्यक्ष साझेदारी गरेर लगानी गरिन्छ । यसले ती कम्पनीहरूलाई विस्तार, प्रविधि सुधार वा व्यवस्थापन सुदृढीकरणका लागि आवश्यक पूँजी उपलब्ध गराउँछ । त्यसैगरी, प्राइभेट क्रेडिट भनेको परम्परागत बैंकिङ प्रणालीबाट ऋण नलिई कम्पनीहरूले निजी लगानीकर्ताबाट सिधै ऋण लिने प्रक्रिया हो । बैंकको लामो प्रक्रिया र कडा सर्तभन्दा बाहिर रहेर आवश्यक पूँजी जुटाउन सकिने भएकाले पछिल्लो समय यो विकल्प लोकप्रिय बन्दै गएको छ । यी दुवै लगानीका ढाँचा परम्परागत वित्तीय प्रणालीभन्दा फरक, नयाँ र लचिलो उपायका रूपमा विकसित हुँदै आएका छन् । यही रणनीतिअन्तर्गत उक्त समूहले भारतमा विभिन्न क्षेत्रका कम्पनीहरूमा हालसम्म ८ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गरिसकेको छ, जसले निजी लगानीको बढ्दो प्रभाव र महत्व देखाउँछ । उनले ट्रम्पको चीन नीति चीनलाई नोक्सान पुर्याउने उद्देश्यले नभई व्यापारिक असन्तुलन सुधार्न केन्द्रित रहेको पनि बताए । रुबेनस्टीनले भने, ‘जब चीनले अमेरिकासँग केही चुनौतीहरू रहेको महसुस गर्यो, तब उसले आफ्ना उत्पादन अन्य बजारमा बेच्न थालेको छ । त्यसैले अहिले चीनको वार्षिक व्यापारिक अधिशेष एक ट्रिलियन डलरभन्दा बढी छ, जुन अन्य बजारमा बिक्री बढाएका कारण सम्भव भएको हो ।’ यसैक्रममा रुबेनस्टीनले रुस–युक्रेनको मुद्दा पनि उठाएका छन् । उनका अनुसार ट्रम्पका लागि चीनभन्दा पनि रुस–युक्रेनको विषय ठूलो मुद्दा हो । उनले भने, ‘ट्रम्पलाई लाग्छ कि राष्ट्रपति सी जिनपिङसँग उनको राम्रो सम्बन्ध छ र उनीहरू यस वर्ष कम्तीमा दुई पटक भेट्नेछन् । सम्भवतः उनीहरूबीच कुनै सम्झौता पनि हुन सक्छ ।’ २०२८ मा जर्मनीलाई उछिन्दै भारत, ५ ट्रिलियन डलर अर्थतन्त्र बन्ने प्रक्षेपण
थापा नेतृत्वको कांग्रेस कार्यसमिति पहिलोपटक सानेपा जाँदै, भोलि केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने भएको छ । पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापतिमा निर्वाचित भएका थिए । तर, थापा नेतृत्वको कार्यसमिति निर्वाचित भएयता अहिलेसम्म केन्द्रीय कार्यालय सानेपा पुगेको थिएन । कांग्रेस प्रवक्ता देवराज अर्यालका अनुसार केन्द्रीय कार्य समिति बैठक शुक्रबार मध्यान्ह १ वजे बस्न लागेको हो । यसबीच दुई पटक केन्द्रीय कार्यसमिति बैठक तथा संसदीय बोर्ड बैठक पार्टी प्यालेस र विभिन्न होटलहरूमा बसेका थिए । प्रवक्ता चालिसेले भोलि कार्यसमितिको औपचारिक रूपमा केन्द्रीय कार्यालय सानेपा जाने र त्यहीँ केन्द्रीय समिति बैठक बस्ने जानकारी दिए ।
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो
काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्यमा केही कमी आएको छ । बुधबारको तुलनामा बिहीबार प्रतितोला सुन दुई हजार ९०० रुपैयाँ र चाँदी ५० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९२ हजार २०० रुपैयाँ त्यति नै चाँदीको मोल पाँच हजार ८७० रुपैयाँ कायम भएको छ । बुधबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार १०० रुपैयाँ र त्यति नै चाँदीको मोल पाँच हजार ९२० रुपैयाँ कायम भएको थियो । मंगलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार ७०० रुपैयाँ त्यति नै चाँदीको मोल पाँच हजार ८८० रुपैयाँ कायम भएको थियो । गत आइतबार एक तोला सुन दुई लाख ७८ हजार ८०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार एक तोला सुन दुई लाख ८२ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ८१० रुपैयाँमा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६९५ र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
इनड्राइभका ड्राइभर पार्टनर्सका लागि सडक सुरक्षा तालिम सम्पन्न
काठमाडौं । इनड्राइभले 'इनड्राइभसँग सुरक्षित यात्रा तपाईंको रोजाइमा' अभियान अन्तर्गत आफ्ना ड्राइभर पार्टनर्सका लागि सडक सुरक्षा तालिम सफलतापूर्वक सम्पन्न गरेको छ । यस पहलमार्फत इनड्राइभले चालक सशक्तिकरण, सडक सुरक्षा प्रवर्द्धन तथा समुदायको समग्र कल्याणप्रतिको आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई पुनः पुष्टि गरेको जनाएको छ । तालिम सत्रमा ड्राइभर पार्टनर्सलाई सडक सुरक्षा अभ्यास, ट्राफिक नियमको पालना, जिम्मेवार ड्राइभिङ र पेशागत आचरणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको थियो । इनड्राइभका अनुसार यस्ता तालिमले सुरक्षित, विश्वसनीय र यात्रु–मैत्री राइड–हेलिङ वातावरण निर्माणमा चालकहरूको भूमिकालाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ । नियमित र गुणस्तरीय सुरक्षा तालिमलाई प्राथमिकतामा राख्दै कम्पनीले आफ्ना ड्राइभरहरूलाई आर्थिक रूपमा मात्र होइन, आत्मविश्वासी, सचेत र वास्तविक सडक चुनौती सामना गर्न सक्षम बनाउने लक्ष्य लिएको छ । यस पहलको एक प्रमुख विशेषता इनड्राइभको ‘स्वतन्त्र छनोट’ मोडेल हो, जसले ड्राइभरहरूलाई यात्रासम्बन्धी निर्णयहरू स्वतन्त्र रूपमा लिन सक्ने अधिकार प्रदान गर्दछ । सुरक्षा शिक्षालाई स्वायत्ततासँग जोड्दै, इनड्राइभले सुरक्षा र सेवाको गुणस्तरमा सम्झौता नगरी दिगो र न्यायपूर्ण मोबिलिटी प्रणाली प्रवर्द्धन गर्दै आएको छ । तालिमका सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी सत्र नेपाल ट्राफिक प्रहरीका प्रतिनिधिहरूले सहजीकरण गरेका थिए । सो अवसरमा उनीहरूले सुरक्षित सडक सुनिश्चित गर्न प्लेटफर्म, चालक र सम्बन्धित निकायबीचको सहकार्य तथा साझा जिम्मेवारीको महत्व औंल्याएका थिए । इनड्राइभ नेपालकी ड्राइभर अपरेशन्स स्पेसलिस्ट सुनिता जिमी राईले चालक साझेदारहरूको सशक्तिकरण प्रविधि वा आम्दानीमा मात्र सीमित नभई जिम्मेवार, सुरक्षित र दिगो मोबिलिटी संस्कृतिको विकाससँग प्रत्यक्ष रूपमा जोडिएको बताइन् । यस्ता सुरक्षा तालिमले चालकहरूलाई यात्रु तथा आफ्नै सुरक्षाप्रति सचेत रहँदै जिम्मेवार निर्णय लिन सक्षम बनाउने उनको भनाइ छ । इनड्राइभले ड्राइभर पार्टनर्सलाई सेवाको मेरुदण्डका रूपमा लिँदै उनीहरूको सुरक्षा, सीप विकास र सशक्तीकरणलाई सदैव प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ । यस पहलमार्फत नेपालमा समावेशी, सुरक्षित र विश्वासयोग्य राइड–हेलिङ समुदाय निर्माण गर्ने आफ्नो दृष्टिकोणलाई कम्पनीले पुनः पुष्टि गरेको जनाएको छ ।
तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार
तनहुँ । राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि व्यवहारमा त्यो पूर्ण रूपमा रुपान्तरण भएको छैन । संविधानमा महिलालाई गरिएको व्यवस्था कार्यान्वयन नभएकाले आफूहरू मैदानमा उत्रिएको उनीहरूले बताएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँबाट चार जना महिला प्रतिस्पर्धा गर्दै छन् । तनहुँका दुवै क्षेत्रमा २८ जनाको उम्मेदवारी परेकामा चार जना मात्रै महिला उम्मेदवार छन् । तनहुँ–१ मा १६ उम्मेदवारमध्ये तीन महिला र क्षेत्र नम्बर–२ मा १२ उम्मेदवारमध्ये एक जना महिला छन् । मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले क्षेत्र नम्बर १ मा आमजनता पार्टीबाट भानु नगरपालिका–१२ की चिजामाया अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट भानु नगरपालिका–८ की भगवती न्यौपाने र नेपाल मजदुर किसान पार्टीबाट भक्तपुर नगरपालिका–४ निवासी रामलक्ष्मी दुवालको उम्मेदवारी दर्ता भएको राससलाई जानकारी दिए । यसैगरी क्षेत्र नम्बर–२ मा मङ्गोल अर्गनाइजेसन पार्टीबाट ऋषिङ गाउँपालिका–६ निवासी सुष्मा आलेको उम्मेदवारी दर्ता भएको छ । ढोरपाटन (बागलुङ) बाट रासस प्रतिनिधिले जनाएअनुसार दुई वटा निर्वाचन क्षेत्र भएको बागलुङमा २३ जनाको उम्मेदवारी परेको छ । तीमध्ये दुई जना मात्र महिला छन् । बागलुङ क्षेत्र नम्बर–१ बाट मङ्गोल नेशनल अर्गनाइजेशनकी गुमाकुमारी मगर र क्षेत्र नम्बर–२ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)की मञ्जु शर्मा चुनावमा होमिएकी छन् । पाल्पामा पनि महिला उम्मेदवार एक जना मात्र छन् । दुई वटा निर्वाचन क्षेत्र भएको पाल्पामा ३० जनाले मनोनयन दर्ता गराएकामा एक जना महिलाको मात्र उम्मेदवारी परेको हो । राष्ट्रिय जनमोर्चाले क्षेत्र नं १ बाट नरमती सिंजालीलाई उम्मेदवार बनाएको छ । यसैबीच, नेपाल महिला सङ्घकी नेत्री गङ्गा पौडेलले महिला सशक्तीकरणका निम्ति राजनीतिक दलहरू गम्भीर नभएका आरोप लगाएकी छन् । पाल्पामा एक जना महिलाको मात्र उम्मेदवारी पर्नु दल र तिनका नेताको महिलाप्रतिको दृष्टिकोण नबदलिएको उनको भनाई छ । रासस
अमेरिकी डलर १४७ रुपैयाँ, राष्ट्र बैंकले तोक्यो नयाँ विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७२ रुपैयाँ २१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ४० पैसा र बिक्रीदर १९२ रुपैयाँ २१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९९ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ११ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५८ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ३ पैसा र बिक्रीदर २१ रुपैयाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५ पैसा र बिक्रीदर ३९ रुपैयाँ २१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ६ पैसा र बिक्रीदर ४० रुपैयाँ २२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७१ पैसा र बिक्रीदर चार रुपैयाँ ७३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४० रुपैयाँ ३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ १८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ७ पैसा र बिक्रीदर १६ रुपैयाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१२ रुपैयाँ ९६ पैसा र बिक्रीदर २३ रुपैयाँ ०५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८ रुपैयाँ ८५ पैसा, कुवेती दिनार एकको खरिददर ४७९ रुपैयाँ २० पैसा र बिक्रीदर ४८१ रुपैयाँ १७ पैसा, बहराइन दिनार एकको खरिददर ३८८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ९५ पैसा , ओमनी रियाल एकको खरिददर ३८० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३८१ रुपैयाँ ८९ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।