ऊर्जा मन्त्री विराजभक्तको विज्ञ सल्लाहकारमा विवेक राज कँडेल नियुक्त
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सल्लाहकार (ऊर्जा व्यापार तथा पूर्वाधार, विशिष्ठ श्रेणी) मा चितवनका विवेक राज कँडेल नियुक्त भएका छन् । सल्लाहकारको भूमिकामा रहँदा कँडेलले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षामा जोड दिँदै नीति तर्जुमा गर्न, आन्तरिक ऊर्जा क्षेत्रको सुधारलाई अघि बढाउन र निजी क्षेत्रको लगानी आकर्षित गर्न रणनीतिक परामर्श प्रदान गर्नेछन् । साथै, उजले बृहत् ऊर्जा व्यापार सुधार र क्षेत्रीय ऊर्जा बजार एकीकरणलाई गति दिने कार्यमा समेत योगदान पुर्याउनेछन् । त्रिभूवन विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ गरेका कँडेलले हार्वर्ड विश्वविद्यालयको केनेडी स्कुल अफ गभर्नमेन्टबाट जलवायु ऊर्जा रूपान्तरण र नेतृत्वमा विशेषज्ञतासहित सार्वजनिक प्रशासनमा स्नातकोत्तर (एमपीए) तथा नेदरल्यान्ड्सको युनिभर्सिटी अफ टुवान्टेबाट ऊर्जा म्यानेजमेन्टमा स्नातकोत्तर गरेका छन् । उनीसँग युएन डीपी, विश्व बैंक र आइरिनालगायतका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा डेढ दशकभन्दा बढी काम गरिसकेको अनुभव छ ।
सुनको मूल्य तोलामा ४ हजार ३ सय रुपैयाँले घट्यो
काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा चार हजार तीन सय रुपैयाँ घटेको छ भने चाँदी पनि एक सय ३५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार दुई सय रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार तीन सय १० कायम भएको छ । हिजो सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार पाँच सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार चार सय ४५ प्रतितोला कायम भएको थियो ।
जीवनसाथी खोजिदियो एआईले, २६५ जोडी विवाह बन्धनमा
काठमाडौं । जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको कृत्रिम बौद्धिकता (एआई) मा आधारित डेटिङ एपले उल्लेखनीय परिणाम देखाएको छ । सन् २०२४ मा सुरु गरिएको उक्त एपमार्फत भेट भएका २६५ जोडीले विवाह गरिसकेका छन् । ‘टोकियो एनमुसुबी’ नामक यो एप सेप्टेम्बर २०२४ मा सञ्चालनमा आएको थियो । विवाह गर्न इच्छुक करिब ७० प्रतिशत व्यक्ति म्याचमेकिङ प्रक्रियामा सक्रिय रूपमा सहभागी नभएको सरकारी सर्वेक्षणपछि उनीहरूलाई सहज रूपमा जीवनसाथी खोज्न सहयोग गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो । एपमा सहभागी हुन इच्छुक व्यक्तिले आफू कानूनी रूपमा अविवाहित रहेको प्रमाण पेश गर्नुपर्ने, अनलाइन अन्तर्वार्ता उत्तीर्ण गर्नुपर्ने लगायतका मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ । यसबाट विवाहप्रति गम्भीर उद्देश्य भएका व्यक्तिमात्र सहभागी हुने वातावरण बनाइएको सरकारको भनाइ छ । यस वर्ष जुन ३० सम्म एपमा करिब ३६ हजार आवेदनमध्ये १६ हजार सदस्य दर्ता भएका छन् । सरकारी तथ्याङ्कअनुसार हाल ७६० जोडी गम्भीर प्रेम सम्बन्धमा छन् भने २६५ जोडीले विवाह गरिसकेका छन् । सरकारले सार्वजनिक गरेको अनुभवमा ‘टर्टल’ नामबाट चिनिएकी एक महिलाले आफ्नो ४०औँ जन्मदिन नजिकिँदै गर्दा यसलाई ‘अन्तिम अवसर’ ठानेर एप प्रयोग गरेको बताएका छन् । उनका अनुसार धेरै ब्लाइन्ड डेटपछि अगस्टको अन्त्यतिर वर्तमान पतिसँग भेट भएको, सेप्टेम्बरको मध्यदेखि गम्भीर सम्बन्ध सुरु भएको र डिसेम्बरको अन्त्यमा विवाह प्रस्ताव स्वीकार गरिएको थियो । एपमार्फत जीवनसाथी भेट्टाउन सफल अर्का एक प्रयोगकर्ता ‘स्काइट्री’ ले एआईले सम्भावित जोडीसँगको अनुकूलता चरणबद्ध रूपमा देखाउने भएकाले भेट गर्ने निर्णय लिन सहज भएको बताएका छन् । उनका अनुसार आफ्नी प्रेमिकासँगको एआई अनुकूलता मूल्याङ्कन अत्यन्त उच्च रहेको थियो । यसबीच, जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार सन् २०२५ मा जापानी नागरिकबाट जन्मिएका शिशुको सङ्ख्या घटेर छ लाख ७१ हजार २३६ मा पुगेको छ । यो सङ्ख्या लगातार दशौँ वर्षको वार्षिक गिरावट हो । सोही अवधिमा मृत्यु सङ्ख्या १६ लाखभन्दा बढी पुगेको छ भने प्रजनन दर १.१५ बाट घटेर १.१४ मा झरेको छ । यद्यपि विवाहको सङ्ख्या भने केही बढेको मन्त्रालयले जनाएको छ ।
सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट
काठमाडौं । सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकाको जुनियर राष्ट्रिय कराँते टोली (टिम यूएसए) मा छनोट भएकी छन् । अमेरिकाको वासिङ्टन राज्यस्थित स्पोकेनमा जुलाई १६ देखि १९ सम्म सम्पन्न २०२६ यूएसए कराँते राष्ट्रिय च्याम्पियनसिप अन्तर्गत ४७ किलोको टोली कुमिते विधामा स्वर्ण पदक जित्दै उनी टिम यूएसएमा छनोट भएकी हुन् । अब शेर्पाले आगामी अगस्ट २४ देखि ३० सम्म कोस्टा रिकामा हुने २०२६ प्यान अमेरिकन कराँते च्याम्पियनसिपमा संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व गर्नेछिन् । न्युयोर्कमा रहेको कराँते प्रशिक्षण केन्द्र डोजोमा प्रशिक्षणरत उनले पछिल्ला केही वर्षदेखि राष्ट्रिय तथा राज्यस्तरीय प्रतियोगितामा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै भएकी छन् । शेर्पाले सन् २०२५ को यूएसए कराँते राष्ट्रिय च्याम्पियनसिपमा कांस्य पदक, २०२४ को नेशनल गेम्समा दुई रजत पदक, २०२४ को लुइजियानामा सम्पन्न प्रतियोगितामा एक रजर र कांस्य पदक तथा २०२३ को यूएसए कराँते राष्ट्रिय च्याम्पियनसिपमा दुई रजत पदक जितेकी थिइन् । उनले एएयू कराँते च्याम्पियनसिप र गार्डेन स्टेट कराँते च्याम्पियनसिपमा र न्युयोर्क स्टेट च्याम्पियनसीपमा एक स्वर्ण र एक रजत समेत स्वर्ण पदक जितेको नेपाल अमेरिका पत्रकार समाजका अध्यक्ष सुरज भण्डारीले बताए । जेत्सुन सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ३ लोदिङ निवासी ल्हाक्पा शेर्पा र छेतेन शेर्पाकी छोरी हुन् । लामो समयदेखि शेर्पा परिवार नै अमेरिकामा बस्दै आएका छन् । खेलसँगै उनी अध्ययन र पौडी प्रतियोगितामा समेत सक्रिय रहेको जेत्सुनका बुवा ल्हाक्पा शेर्पाले बताए । उनले भने, ‘अन्तराष्ट्रिय उपाधि हाम्रो परिवार, प्रशिक्षक र छोरीको वर्षौंको मिहिनेत, अनुशासन र समर्पणको प्रतिफल हो, यसलाई हामी मात्रै हैन मेरो देश नेपालको शिर समेत उच्च बनाएको महसुस भएको छ ।’ शेर्पा परिवारले प्रशिक्षक तथा कराँते प्रशिक्षण केन्द्र डोजोप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।
थ्री स्टार हाइड्रोपावरको सीईओमा सन्दीप अधिकारी नियुक्त
काठमाडौं । थ्री स्टार हाइड्रोपावर लिमिटेडले सन्दीप अधिकारीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको साउन ११ गते बसेको बैठकले अधिकारीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । यो नियुक्तिसँगै कम्पनीको व्यवस्थापकीय नेतृत्व अधिकारीले सम्हाल्ने भएका छन् ।
चिकित्सक कुटिएपछि देशभरका सरकारी अस्पतालको ओपीडी ठप्प
काठमाडौं । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले देशभरका सरकारी अस्पतालको बहिरङ्ग (ओपीडी) सेवा ठप्प पारेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तीले उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गर्नुका साथै अस्पतालमा तोडफोड गरेका थिए । घटनामा गम्भीर घाइते भएका डा. प्रमोद रामको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनाको कडा निन्दा गर्दै नेपाल चिकित्सक संघले बिरामीको ज्यान बचाउन दिनरात खटिने स्वास्थ्यकर्मीमाथि मरणासन्न हुने गरी गरिएको आक्रमण अस्वीकार्य रहेको जनाएको छ । संघले उपचारका क्रममा कुनै लापरबाही वा त्रुटि भएको आशंका भए त्यसको छानबिन र कानुनी प्रक्रिया अघि बढाउने व्यवस्था हुँदाहुँदै हिंसात्मक आक्रमणमा उत्रिनु कानुनी राज्यको मूल्य–मान्यताविपरीत भएको उल्लेख गरेको छ । संघका अनुसार स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित नभएसम्म र दोषीमाथि कानुनबमोजिम कडा कारबाही नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाइनेछ । चिकित्सकहरूको आन्दोलनका कारण देशभरका सरकारी अस्पतालमा ओपीडी सेवा प्रभावित भएको छ भने आकस्मिक तथा अतिआवश्यक सेवाहरू भने यथावत सञ्चालनमा रहेका छन् । नेपाल चिकित्सक संघले आह्वान गरेको आन्दोलनका कारण काठमाडौं उपत्यकाका सरकारी अस्पतालको सेवा ठप्प हुँदा बिरामी मर्कामा परेका छन् । उपत्यकाका वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, सिभिल अस्पताल लगायतका अस्पतालले ओपीडी सेवा बन्द गरेका छन् । आकस्मिक तथा अतिआवश्यक सेवाबाहेक नियमित स्वास्थ्य सेवा प्रभावित भएको अस्पतालहरूले जनाएका छन् । ओपीडी सेवा बन्द भएपछि उपचारका लागि बिहानै अस्पताल पुगेका सयौं बिरामी सेवा नपाई निराश हुँदै घर फर्किन बाध्य भएका छन् । नियमित परीक्षण, फलोअप तथा नयाँ उपचारका लागि आएका बिरामीहरू आन्दोलनको प्रत्यक्ष मारमा परेका छन् । चिकित्सकहरूको आन्दोलनका कारण उपत्यकाका प्रमुख सरकारी अस्पतालमा बिरामीको चाप भए पनि उपचार सेवा प्रभावित हुँदा सेवाग्राहीले सास्ती बेहोर्नुपरेको छ ।
गभर्नर र डेपुटी गभर्नरलाई कुलिङ पिरियड, पुँजी २० अर्ब
काठमाडौं । संघीय संसदको प्रतिनिधि सभामा दर्ता भएको ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ माथि परेका स्वीकृत संशोधन प्रस्तावहरूले मुलुकको केन्द्रीय बैंकलाई नवीन वित्तीय प्रविधिमैत्री, आधुनिक र समावेशी बनाउने दिशामा बहस सिर्जना गरेको छ । प्रतिनिधि सभा नियमावली बमोजिम स्वीकृत भएका कुल ७७ वटा संशोधन प्रस्तावहरूमा केन्द्रीय बैंकको सञ्चालनगत स्वायत्तता, क्रिप्टोकरेन्सी तथा डिजिटल मुद्राको नियमन, सञ्चालक समितिको संरचनागत सुधार र नेतृत्व नियुक्तिमा पारदर्शिता जस्ता विषयहरू समेटिएका छन् । नवीनतम वित्तीय प्रविधि र जोखिम व्यवस्थापनका लागि संशोधन विधेयकमा सांसदहरूले व्यापक परिमार्जनको माग गरेका छन् । सांसद परशुराम तामाङ्गले डिजिटल बैंकिङङको परिभाषामा प्रदेश बैंकलाई समेत समेट्नुपर्ने प्रस्ताव अघि सारेका छन् भने सांसद गणेश कार्कीले विद्युतीय माध्यमबाट हुने वित्तीय अपराध, साइबर आक्रमण, फिसिङ र ठगीबाट निक्षेपकर्ताको रकम सुरक्षा गर्न राष्ट्र बैंकलाई थप अधिकार दिनुपर्नेमा जोड दिएका छन् । यस्तै, सांसद कमल सुवेदीले केन्द्रीय बैंकबाट जारी हुने कानुनी ग्राह्य मुद्राका रूपमा केन्द्रीय बैङ्क डिजिटल मुद्रालाई स्पष्ट परिभाषित गर्न माग गरेका छन् । सांसद गणेश पराजुलीले निजीस्तरका भर्चुअल÷क्रिप्टो करेन्सीलाई कानुनी मान्यता दिन नसकिने स्पष्ट पार्दै भर्चुअल सम्पत्ति सेवा प्रदायकहरूलाई राष्ट्र बैंकको इजाजतपत्र, न्यूनतम पूँजी, केवाईसी एएमएल मापदण्ड र नियामकीय परीक्षण क्षेत्रको कडा दायराभित्र ल्याउनुपर्ने संशोधन पेस गरेका छन् । केन्द्रीय बैंकको नीति निर्माण तहमा समावेशिताको सुनिश्चितताका लागि सांसदहरूले सञ्चालक समितिको ढाँचामा सुधारको प्रस्ताव गरेका छन् । सांसद प्रा. डा. पुष्पराज कँडेल, लिमा अधिकारी (आचार्य) र एशुदा कुमारी बरालले गैर–कार्यकारी सञ्चालकहरूमध्ये कम्तीमा एक जना महिला सञ्चालक अनिवार्य रूपमा नियुक्त गरिनुपर्ने व्यवस्था राख्न संशोधन दिएका छन् । सांसद कमल सुवेदीले सञ्चालक समितिमा कम्तीमा दुई जना (वा ३३ प्रतिशत) महिला सञ्चालकको उपस्थिति सुनिश्चित गरिनुपर्ने र कुल सदस्य संख्या ७ हुनुपर्ने प्रस्ताव दर्ता गराएका छन् । यस्त,ै सांसद गणेश पराजुलीले सञ्चालक सदस्यको कुल संख्या घटाएर ३ जनामा सीमित गर्नुपर्ने फरक दृष्टिकोण पेस गरेका छन् । गभर्नर र डेपुटी गभर्नर ‘कुलिङ पिरियड’ नेतृत्व चयनमा स्वार्थको बाझिने अवस्था अन्त्य गर्न तथा व्यावसायिक निष्ठा कायम राख्न गभर्नर र डेपुटी गभर्नर नियुक्तिको मापदण्डमा कडा व्यवस्था गर्न सांसदहरूले माग गरेका छन् । सांसद गुरु प्रसाद बरालले कुनै पनि वाणिज्य बैंकको मुख्य कार्यकारी अधिकृत पदबाट अलग्गिएको कम्तीमा २ वर्ष व्यतीत नभई गभर्नर पदका लागि सिफारिस हुन नपाउने गरी ‘कुलिङ पिरियड’ को व्यवस्था राख्न प्रस्ताव गरेका छन् । सांसद तामाङले पनि वित्तीय संस्थाका बहालवाला वा निवृत्त भएको ३ वर्ष नपुगेका व्यक्तिलाई नेतृत्वमा ल्याउन नहुने संशोधन हालेका छन् । यसैगरी, सांसद लिमा अधिकारी (आचार्य), खुश्बु ओली र रमेश कुमार मल्लले डेपुटी गभर्नरको पदमा राष्ट्र बैंकभित्रका विशिष्ट श्रेणीका अधिकृतका साथै बाहिरका योग्य तथा लब्धप्रतिष्ठित विज्ञहरूलाई समेत प्रतिस्पर्धाको ढोका खोल्नुपर्ने प्रस्ताव गरेका छन् । अर्का सांसद सुशील खड्काले सिफारिस हुने तीन जना डेपुटी गभर्नरमध्ये दुई जना राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूबाट र एक जना बाहिरका योग्य अर्थशास्त्री÷वित्तीय विशेषज्ञहरू (५० वर्ष ननाघेको) मध्येबाट छनोट गर्ने छुट्टै ढाँचा अघि सारेका छन् । संसदमा प्राप्त संशोधनहरूमा राष्ट्र बैंकको पुँजी वृद्धि र मौद्रिक नीतिको जवाफदेहितासम्बन्धी विषयहरू पनि परेका छन् । सांसद गुरु प्रसाद बरालले राष्ट्र बैंकको चुक्ता पुँजी ५ अर्ब रूपैयाँबाट बढाएर १० अर्ब रूपैयाँ पु¥याउनुपर्ने संशोधन हालेका छन् । सांसद कँडेलले मौद्रिक नीतिको कार्यान्वयनसम्बन्धी प्रतिवेदन प्रत्येक तीन–तीन महिनामा सरकार समक्ष पेस गर्नुपर्ने र त्यस प्रतिवेदनमाथि संघीय संसदको प्रतिनिधि सभामा अनिवार्य छलफल हुनुपर्ने व्यवस्था गर्न माग गरेका छन् । यस्तै, सांसदहरू डा. कृष्णहरि बुढाथोकी, विदूषी राणा, सन्तोष सुब्बा, वासना थापा, मदन कृष्ण श्रेष्ठ र सुशील खड्का लगायतले सञ्चालक वा पदाधिकारीको योग्यता तोक्दा परम्परागत अर्थशास्त्र र बैंकिङका साथै कृषि, वातावरण, सूचना प्रविधि र डिजिटल बैङ्किङ क्षेत्रको कार्यअनुभवलाई समेत समेट्नुपर्ने प्रस्ताव पेस गरेका छन् ।
जाे कान्तिमा जाँच्दैनन्, निजीमा छोड्दैनन्
काठमाडौं । कान्ति बाल अस्पतालका कार्यकारी प्रमुख डा. पंकज रायले कान्ति बाल अस्पतालको बहिरंग विभागमा जँचाउन आएका बिरामीलाई नहेर्ने गरेको पाइएको छ । अस्पतालमा भेटिएका अधिकांश बिरामीका अभिभावकहरूले डा. रायको नाममा ओपिडीको टिकट दिइए पनि उनले बिरामी नजाँचेको गुनासाे गरेका छन् । अस्पताल प्रशासनले डा. राय दोहोरो जिम्मेवारीमा रहेका कारण नभ्याएर बिरामी नहेरेको हुन सक्ने जानकारी दिएकाे छ । अस्पतालका प्रवक्ता रामबन्धु शर्मा भन्छन्, ‘असाध्यै व्यस्त भएर नहेर्नू भएको होला । बिरामीका अभिभावकले भने जस्तो नहोला ।’ डा. रायले प्रशासनसमेत हेर्नुपर्ने भएको र मन्त्रालयमा हुने बैठकका कारण बिरामी हेर्न नसकेको हुनसक्ने उनी बताउँछन्। यद्यपि डा. राय बिहान ७ देखि ९ बजेसम्म ह्याम्स अस्पतालको ओपीडीमा बिरामी हेर्दै आइरहेका छन् । सरकारी अस्पतालको नेतृत्व तहमा रहेका चिकित्सकले निजी अस्पताल वा स्वास्थ्य संस्थामा काम गर्न नपाउने व्यवस्था स्वास्थ्य मन्त्रालयको २०७७ सालको मन्त्रीस्तरीय निर्णयबाटै लागू गरिएको थियो । उक्त निर्देशनको अटेरी गर्दै डा. राय ह्याम्समा कार्यरत छन् । तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७७ साउन ९ गते मन्त्रीस्तरीय निर्णय गर्दै सरकारी चिकित्सकलाई निजी स्वास्थ्य संस्थामा कार्य गर्न रोक लगाउने नीति लिएको थियो । यद्यपि, उक्त व्यवस्था एकैपटक सबै सरकारी चिकित्सकमा लागू गर्न व्यावहारिक कठिनाइ देखिएपछि यसको कार्यान्वयन नेतृत्व तहमा रहेका चिकित्सकबाट सुरु गरिएको थियो । सोही निर्णय कार्यान्वयनका लागि मन्त्रालयले २०७७ साउन १२ गते स्वास्थ्य मन्त्रालय तथा मातहतका सबै निकाय, तत्कालीन प्रदेश सरकारअन्तर्गतका सामाजिक विकास मन्त्रालय, तथा स्थानीय तहअन्तर्गतका स्वास्थ्य निकायलाई परिपत्र गर्दै सरकारी अस्पतालका नेतृत्व तहका चिकित्सकलाई निजी अस्पतालमा काम गर्न नदिन निर्देशन दिएको थियो । हाल मन्त्रालयको नाम परिवर्तन भएर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय भएको भए पनि उक्त निर्णय औपचारिक रूपमा खारेज गरिएको छैन । त्यसैले सरकारी अस्पतालका प्रमुख तथा नेतृत्व तहका चिकित्सकको निजी अस्पतालमा संलग्नतासम्बन्धी विषय बेला बेलामा पुनः चर्चामा आउने गरेको छ । तर, डा. रायले ह्याम्समा नियमितरूपमा बिरामी हेरिरहेको पाइएको छ । उनी अस्पतालको प्रमुख बालरोग विशेषज्ञ रहेको ह्याम्स अस्पतालले जनाएको छ । यस विषयमा प्रतिक्रिया लिन पटक–पटक फोन गर्दा पनि डा. रायले कुनै प्रतिक्रिया दिन चाहेनन् ।