विकासन्युज

ग्रीनल्यान्ड विवादले अमेरिका–युरोप सम्बन्ध चिसियो, अमेरिकामा १० ट्रिलियन डलरको लगानी जोखिम

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प ग्रीनल्यान्डलाई आफ्नो नियन्त्रणमा ल्याउने प्रयासमा सक्रिय रूपमा लागेका छन् । यसका लागि उनी युरोपसँग समेत टकराव मोल्न तयार देखिन्छन् । तर, युरोपेली संघ (ईयू) यस विषयमा झुक्न तयार छैन ।  ग्रीनल्यान्ड विवादकै कारण ईयूले अमेरिकासँगको ट्रेड डिलमा काम अघि नबढाउने निर्णय गरेको छ । यो सम्झौता गत वर्ष भएको भए पनि हाल स्वीकृति र कार्यान्वयनको चरणमा थियो । ग्रीनल्यान्ड हाल डेनमार्कको नियन्त्रणमा छ र डेनमार्कले यस विषयमा कुनै पनि छलफल गर्न अस्वीकार गरिसकेको छ । तर, ट्रम्प भने ग्रीनल्यान्डलाई अमेरिकी नियन्त्रणमा ल्याउन चाहन्छन् । यदि यो विवाद थप चर्कियो भने अमेरिकामा करिब १० ट्रिलियन डलर बराबरको लगानी जोखिममा पर्न सक्छ, जुन अमेरिकी कुल गार्हस्थ उत्पादन (जीडीपी) को झन्डै एक तिहाइ हो । अमेरिकामा युरोपको वित्तीय जोखिम (फाइनान्सियल एक्सपोजर) इतिहासमै सबैभन्दा उच्च स्तरमा पुगेको छ । अमेरिकी सम्पत्तिमा ईयूका लगानीकर्ताको लगानी १० ट्रिलियन डलर पुगेको छ । युरोपेली लगानीकर्ताको अमेरिकी इक्विटीमा ६ ट्रिलियन डलरको होल्डिङ छ, जुन अमेरिकामा ईयू लगानीकर्ताको कुल होल्डिङको ५८ प्रतिशत हो । त्यसैगरी, अमेरिकी ट्रेजरीमा युरोपेली लगानीकर्ताको हिस्सेदारी २ ट्रिलियन डलर अर्थात् १९ प्रतिशत छ । यदि बेलायत, नर्वे र स्विट्जरल्यान्डलाई पनि जोड्ने हो भने अमेरिकी ट्रेजरी होल्डिङमा युरोपको हिस्सेदारी ४० प्रतिशत पुग्छ । अमेरिकी सरकारी तथ्यांकअनुसार ईयूका लगानीकर्तासँग अमेरिकी कर्पोरेट तथा अन्य बन्डमा २ ट्रिलियन डलरको होल्डिङ छ भने एजेन्सी बन्डमा २२५ अर्ब डलरको लगानी रहेको छ । यदि युरोपेली देशहरूले अमेरिकी ऋण बजारबाट आफ्नो लगानी फिर्ता लिए भने अमेरिकालाई गम्भीर समस्या पर्न सक्छ । यसैबीच, अमेरिकी ट्रेजरीमा डेनमार्कको होल्डिङ ऐतिहासिक रूपमा न्यून स्तरमा झरेको छ । हाल यो केवल ९ अर्ब डलरमा सीमित भएको छ, जुन पछिल्लो १४ वर्षकै सबैभन्दा कम हो । पछिल्लो एक वर्षमा डेनमार्कले अमेरिकी ट्रेजरीमा आफ्नो लगानी ४ अर्ब डलर अर्थात् ३० प्रतिशतले घटाएको छ । सन् २०१६ यता डेनमार्कले आफ्नो होल्डिङ आधा घटाइसकेको छ । अमेरिकी ट्रेजरीमा डेनमार्कको हिस्सेदारी युरोपेली देशहरूको कुल हिस्सेदारीको जम्मा १ प्रतिशत मात्र हो । पछिल्ला दिनमा भारतसहित धेरै देशहरूले अमेरिकी ऋण बजारमा आफ्नो हिस्सेदारी घटाएका छन् । उता अमेरिकाको कर्जा लगातार बढ्दै गएको छ । संघीय सरकारको कुल कर्जामध्ये २६ प्रतिशत ऋण आगामी १२ महिनाभित्र म्याच्योर हुन लागेको छ । यसको अर्थ करिब १० ट्रिलियन डलर ऋण आउँदो वर्ष उच्च ब्याजदरमा पुनः वित्तीय व्यवस्था (रिफाइनान्स) गर्नुपर्नेछ । यति नै बेला अमेरिकी ट्रेजरीले निकट भविष्यमा ब्याज लागत कम गर्न छोटो अवधिका बन्डहरू जारी गर्न थालेको छ । किन ग्रिनल्यान्ड कब्जा गर्न खोज्दैछन् ट्रम्प ? विश्लेषकहरूका अनुसार ट्रम्पले ग्रीनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिन खोजेको विषय सिधै भू(भाग कब्जा गर्नेभन्दा पनि दीर्घकालीन रणनीतिक र सुरक्षासँग जोडिएको छ । ग्रिनल्यान्ड आर्कटिक क्षेत्रमा अवस्थित रहेको कारण यसको भू-राजनीतिक महत्त्व उच्च मानिन्छ । अमेरिका, चीन र रुसबीच आर्कटिक क्षेत्रमा प्रभाव विस्तारको प्रतिस्पर्धा तीव्र बन्दै गएको अवस्थामा ग्रिनल्यान्डले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताइन्छ । यहाँबाट उत्तर अमेरिका र युरोप जोड्ने मार्ग तथा आर्कटिक समुद्री क्षेत्रमाथि निगरानी सहज हुने सुरक्षा विज्ञहरूको भनाइ छ । अमेरिकाले ग्रिनल्यान्डमा पहिले नै थुले स्पेस बेस सञ्चालन गर्दै आएको छ, जुन हवाई तथा अन्तरिक्ष निगरानीका लागि प्रयोग हुँदै आएको छ । यसलाई अझ मजबुत बनाउन ट्रम्प प्रशासन इच्छुक रहेको देखिन्छ । त्यसैगरी, ग्रीनल्यान्डमा पाइने दुर्लभ खनिज, तेल, ग्यास तथा विशाल प्राकृतिक स्रोतहरूले पनि अमेरिकी चासो बढाएको छ । जलवायु परिवर्तनका कारण बरफ पग्लिँदै जाँदा यी स्रोतहरू भविष्यमा अझ पहुँचयोग्य बन्ने अनुमान गरिएको छ । विश्लेषकहरूका अनुसार ट्रम्प प्रशासनको अर्को मुख्य उद्देश्य चीनको बढ्दो प्रभावलाई रोक्नु पनि हो । चीनले आर्कटिक क्षेत्रमा लगानी र पूर्वाधार विस्तार गर्दै आएको सन्दर्भमा ग्रिनल्यान्डमा अमेरिकी उपस्थिति बलियो बनाउन खोजिएको बुझाइ छ । ‘अमेरिका फर्स्ट’ नीतिलाई प्राथमिकता दिने ट्रम्पले राष्ट्रिय सुरक्षा, आर्थिक सम्भावना र दीर्घकालीन रणनीतिक फाइदाका आधारमा ग्रिनल्यान्डलाई महत्त्वपूर्ण क्षेत्रका रूपमा हेरेका थिए । यही सोचअनुसार उनले सन् २०१९ मा डेनमार्कसँग ग्रिनल्यान्ड खरिद गर्ने प्रस्तावसमेत अघि सारेका थिए, तर डेनमार्क सरकारले उक्त प्रस्ताव अस्वीकार गरेको थियो । अमेरिकाले इतिहासमा अलास्का र लुइसियाना जस्ता भू–भाग खरिद गरिसकेको उदाहरणलाई ट्रम्पले सन्दर्भका रूपमा प्रस्तुत गरेका थिए । यद्यपि ग्रीनल्यान्ड डेनमार्कको स्वायत्त क्षेत्र भएकाले यस विषयमा संवेदनशीलता अझ बढेको देखिन्छ ।

त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु

कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयले विभिन्न सङ्कायमा विद्यार्थीसँग लिँदै आइएको शुल्कको पुनरावलोकन गर्न बनेको कार्यदलले बिहीबारदेखि काम थालेको छ ।       शुल्कबारे विद्यार्थी सङ्गठनको विरोधका कारण उपकुलपति कार्यालयमा अवरोध हुनुका साथै विश्वविद्यालयको दैनिक गतिविधि प्रभावित हुन थालेपछि विश्वविद्यालयको कार्यकारी परिषद्ले गत साता व्यवस्थापन सङ्कायका सहायक डीन प्राध्यापक डा दिलीप पराजुलीको संयोजकत्वमा शुल्क पुनरावलोकनसम्बन्धी उच्चस्तरीय कार्यदल गठन गरेको थियो । कार्यदलमा अङ्ग्रेजी केन्द्रीय विभागका प्रमुख ध्रुव कार्की र शिक्षाशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा सूर्यबहादुर थापासमेत रहेका छन् ।      कार्यदललाई तीन महिनाभित्र सबै अध्ययन संस्थान, आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा लिइने सबै प्रकारका शुल्कको अध्ययान गरी समयानुकूल बनाउन र एकरूपता हुनेगरी कार्यविधि सिफारिस गर्न कार्यादेश दिइएको डा पराजुलीले जानकारी दिए ।      विश्वविद्यालयमा नेपाली कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले कार्यालय सञ्चालन अवरुद्ध हुने गरी उपकुलपति कार्यालयको मूल ढोकामा विज्ञप्ति टाँसेपछि काम प्रभावित हुँदै आएको छ । अखिल (क्रान्तिकारीले) शुल्क वृद्धि फिर्ता लिनुपर्नेसहितका माग राख्दै विज्ञप्ति टाँसेको हो ।      यसैबीच, गतिरोध खुलाउन त्रिविले विद्यार्थी कल्याण महाशाखा प्रमुख दीपेन्द्र पराजुलीको संयोजनमा छलफल तथा परामर्श गरिरहेको छ ।     

सानिमा बैंकका ग्राहकलाई बिगर्माटमा क्यासब्याक अफर

काठमाडौं । सानिमा बैंकले ‘बिगर्माट क्यासब्याक’ योजनाको पहिलो चरणमा सफलता हासिल गरेपछि समय थप गर्दै योजना पुनः सञ्चालनमा ल्याएको छ । उक्त योजना अन्तर्गत सानिमा बैंकका ग्राहकहरूले हरेक शुक्रबार सानिमा डेबिट तथा क्रेडिट कार्डमार्फत बिगर्माटमा सामान खरिद गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना २०८३ साल असारसम्म लागू रहने बैंकले जनाएको छ । बैंकले ग्राहकहरूलाई विभिन्न छुट तथा अफर प्रदान गर्दै डिजिटल भुक्तानीको अधिकतम प्रयोगका लागि प्रोत्साहन गर्दै आएको छ । यससम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध रहेको बैंकले जानकारी दिएको छ । हाल सानिमा बैंकका देशका सातै प्रदेशमा १३४ वटा शाखा कार्यालय तथा १२८ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

५१.६६ सेकेन्डमा ५० शब्द उल्टो उच्चारण गर्दै कृष्ण पाण्डेयले कायम गरे दोस्रो पटक विश्व कीर्तिमान

काठमाडौं । काठमाडौं पूर्वविश्व कीर्तिमानी कृष्ण पाण्डेयले दोस्रो पटक विश्व रेकर्ड्स कीर्तिमानी राखेका छन् । काठमाडौं मोडेल सेकेन्डरी स्कूल, बागबजारमा भएको एक कार्यक्रममा पाण्डेयले दोस्रो पटक विश्व रेकर्ड्स कीर्तिमानी राखेका हुन् ।  ‘फास्टेस्ट टाइम टु स्पेल ५० वर्ड्स ब्याकवार्डस्’ शीर्षकको रेकर्ड प्रयासमा बिहीबार पाण्डेले ५१.६६ सेकेण्डमा ५० वटा शब्द उल्टोबाट उच्चारण गरेका थिए ।   कार्यक्रममा स्वतन्त्र साक्षी, आधिकारिक समयमापक, व्यावसायिक फोटोग्राफी तथा भिडियो डकुमेन्टेसनको व्यवस्था गरिएको थियो । कार्यक्रम पश्चात सबै प्रमाण सामग्री गिनिज वर्ल्ड रेकर्ड्समा आधिकारिक प्रमाणीकरणका लागि पेस गरिएको छ । कृष्ण पाण्डेय । यसअघि अमेरिकाको न्युयोर्कमा गिनिज वर्ल्ड रेकर्ड्स हासिल गरेको पाण्डेयले दोस्रो पटक नेपालबाटै वर्ल्ड रेकर्ड राख्न पाउँदा खुसी भएको बताए ।  ‘आफ्नै भूमिमा वर्ल्ड रेकर्ड्सका लागि तयारी र प्रयास गर्नु मेरो लागि विशेष सम्मान र राष्ट्रिय गौरवको विषय हो,’ उनी भन्छन्,यो प्रयास केवल अर्को रेकर्ड्स थप्ने विषय मात्र होइन । नेपाली प्रतिभाको क्षमता विश्वस्तरमा प्रमाणित गर्दै युवाहरूलाई प्रेरित गर्न गरिएको हो ।’ कार्यक्रममा बोल्दै काठमाडौं मोडल कलेजका अध्यक्ष रामेश्वर अर्यालले विद्यार्थीकालमा पनि अत्यन्तै मिहिनेती र प्रतिभाशाली रहेको बताउँदै आफ्नो क्षमतालाई विश्व रेकर्डमा राख्न सफल भएको भन्दै बधाई दिएका थिए ।  ‘पहिलो पटक उहाँले रेकर्ड राखिसक्नुभयो, दोस्रो पटकका लागि नेपाल रोजेको र त्यसमा आफ्नो क्याम्पस आयोजक रहन पाएको भन्दै यो सौभाग्य हो । उहाँको प्रतिभा, उहाँको क्षमता र उहाँको सफलताले कुनै पनि कुरा असम्भव छैन भन्ने प्रमाणित गर्नुभएको छ,’ उनले भने ।  अर्यालले पाण्डेको प्रेरणाबाट आफ्नो कलेजमा अध्ययनरत विद्यार्थी भाइबहिनीलाई पनि अभिप्रेरित हुने अपेक्षा व्यक्त गरेका छन् ।  पाण्डेयले पहिलो ‘गिनिज वर्ल्ड रेकर्ड्स’ सन् २०१३ मा राखेका थिए त्यो बेला पाण्डेयले  एक मिनेटमा ३६ वटा विपरीत शब्द हिज्जे उच्चारण गरि वर्ल्ड रेकर्ड राखेका थिए ।  ​​​​​​​ पाण्डेयलाई रिजउड नेपाली समाजद्वारा २०१४ अप्रिलमा भएको कार्यक्रममा सर्टिफिकेट प्रदान गरिएको थियो । त्यो बेला उनलाई १ मिनेटमा ४० वटा प्रश्न सोधिएको थियो भने जसमा ४ वटा मात्र गलत भएका थिए । त्योभन्दा अगाडि भारतीय नागरिक शिशिर हथवारले २०१२ मा ओमानमा एक मिनेटमा ३० वटा विपरीत शब्द हिज्जे उच्चारण गरी वर्ल्ड रेकर्ड राखेका थिए ।  गिनिज वर्ल्ड रेकर्ड्सका कडा नियम, मापदण्ड तथा प्रमाणीकरण प्रक्रियाअनुसार सञ्चालन गरिएको थियो ।  एमआईटी कलेजको आयोजना तथा  काठमाडौँ मोडेल सेकेन्डरी स्कूलको सहकार्य तथा बेस्ट वेस्टर्न प्लसले हस्पिटालिटी सहयोगमा कार्यक्रम गरिएको थियो ।

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा । जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार यसपटक थपिएका ५० हजार नयाँ मतदातासहित जिल्लामा सात लाख १३ हजार ५३७ मतदाता रहेका छन् ।  उनले क्षेत्र नम्बर ५ मा मात्र ८१ हजार ८१ पुरुष, ८२ हजार २९६ र अन्य दुई गरी एक लाख ६३ हजार ३७९ मतदाता रहेको जानकारी दिए । यस क्षेत्रमा ६१ वटा मतदानस्थल र १८५ वटा मतदान केन्द्र रहेका छन् । क्षेत्र नम्बर ४ मा ६६ हजार २८३ पुरुष, ६४ हजार ४२८ महिला र अन्य एकसहित एक लाख ३० हजार ७१२ मतदाता छन् भने ६३ वटा मतदानस्थल र १५६ वटा मतदान केन्द्र रहेको उनले जानकारी दिए ।  क्षेत्र नम्बर ३ मा ७१ हजार १७४ पुरुष, ६९ हजार ६८३ महिलासहित एक लाख १० हजार ८५७ मतदाता, ६७ वटा मतदानस्थल र १६४ वटा मतदान केन्द्र रहेका छन् । क्षेत्र नम्बर २ मा ७३ हजार ९५० पुरुष, ७३ हजार ५६७ महिला र अन्य पाँचसहित एक लाख ४७ हजार ५२२ मतदाता रहेका छन् । यहाँ ४९ वटा मतदानस्थल र १६५ वटा मतदान केन्द्र रहेको कार्यालयले जनाएको छ ।  यसैगरी क्षेत्र नम्बर १ मा ६५ हजार ८५८ पुरुष, ६५ हजार २०९ महिलासहित ४३ वटा मतदानस्थल र १४५ मतदान केन्द्र रहेको कार्यालय प्रमुख नेपालले जानकारी दिए ।   

शुक्रवारदेखि पश्चिम नेपालमा वर्षा हुने, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । शुक्रवार (भोलि) देखि नेपालमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ । विभागको मौसम पूर्वानुमान शाखाले शुक्रवार रातिदेखि शनिवार बेलुकासम्म मुलुकको पश्चिम भूभाग अन्तर्गत सुदूरपश्चिम प्रदेश, बिहानमा विशेष गरेर सुदूरपश्चिम, त्यस्तै, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी गराएको हो ।  शाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले वर्षासँगै उच्च हिमाली भूभागहरूमा मध्यम हितपात हुने सम्भावना रहेको समेत बताए ।  वर्षा मध्यम खालको हुने र त्यो शनिवार बेलुकासम्म मात्रै रहने उनको भनाइ छ । शाखाका अनुसार माघ १३ गते मंगलवार रातिदेखि फेरि हल्का वर्षको सम्भावना रहेको छ । मंगलवार रातिदेखि बुधवारसम्म हल्का वर्षा हुने र उच्च हिमाली भूभागमा मध्यमखालको हिमपातको पनि सम्भावना रहेको वरिष्ठ मौसमविद् पौडेलले बताए ।  यसअघि गत साता पूर्वी नेपालका ताप्लेजुङलगायतका जिल्लाहरुका हल्का वर्षा भएको र उच्च हिमाली भूभागहरुमा मध्यम खालको हिमपात नभएको थियो । हाल देशभर मौसम मुख्यतया सफा रहे पनि तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ ।  कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । यो प्रणालीले हालको सुक्खा र धुलोयुक्त वातावरणमा केही राहत दिनसक्ने विज्ञहरूको भनाइ छ । यस वर्षको हिउँदमा सामान्यभन्दा कम वर्षा भएको र तापक्रम औसतभन्दा माथि रहेको अवस्थामा यो वर्षाले कृषि, वायु प्रदूषण नियन्त्रण र जलस्रोतमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । 

४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले बढेर २७१४ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १६२ कम्पनीको सेयर मूल्य बढ्दा ८८ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३३२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युत कम्पनीको ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै मन्जुश्री फाइनान्सको ३५ करोड, एसवाई प्यानलको ३२ करोड, बन्दिपुर केबलबारको २८ करोड र श्रीनगर एग्रीटेकको २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एसवाई प्यानल, श्रीनगर एग्रीटेक, त्रीशुली जलविद्युत र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेका छन् ।    बिहीबार १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै २.३८ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।   

निपाह भाइरसको जोखिम बढेपछि सीमा नाकाहरूमा सरकारले थाल्यो निगरानी

काठमाडौं । छिमेकी मुलुक भारतमा निपाह भाइरसको संक्रमण देखिएपछि नेपालमा पनि संक्रमण फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च सतर्कता अपनाएको छ । भारतको पश्चिम बंगालमा केही साताअघि निपाह भाइरसको संक्रमण पुष्टि भएपछि नेपालका सम्पूर्ण हवाई तथा थल नाकाबाट भित्रिने यात्रुको निगरानी सुरु गरिएको मन्त्रालयले जनाएको छ । बिहीबार मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हवाई तथा थल नाकामा स्थापना गरिएका हेल्थ डेस्कमार्फत संक्रमणका लक्षण देखिएका यात्रुमाथि निगरानी राख्ने कार्य भइरहेको बताए । प्रवक्ता बुढाथोकीले निपाह भाइरसको जोखिम नेपालमा उच्च रहेको उल्लेख गर्दै संक्रमणको शंका भएका व्यक्ति नेपाल प्रवेश गरेमा उपचारका लागि अस्पतालहरू समेत तोकिएको जानकारी दिए । निपाह भाइरस चमेरो, सुँगुर वा संक्रमित व्यक्तिबाट सर्ने भएकाले ती माध्यमलाई विशेष ध्यानमा राखेर रोकथामका उपाय अपनाइएको उनको भनाइ छ । उनले भने, 'केही साता पहिले छिमेकी मुलुक भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण देखापरेपछि हामीले सम्पूर्ण हवाई तथा थल नाकामार्फत नेपाल भित्रिने व्यक्तिहरूको निगरानी सुरु गरेका छौँ । त्यसैगरी थल र हवाई नाकामा रहेका हेल्थ डेस्कहरूले संक्रमणका लक्षण भएका बिरामीलाई निगरानीमा राख्ने काम गरिरहेका छन् । निपाह भाइरस सर्ने प्रमुख माध्यम चमेरो, सुँगुर वा संक्रमित व्यक्ति भएकाले यी तीन पक्षलाई मध्यनजर गर्दै आम नागरिकलाई सचेत बनाइरहेका छौँ ।' निपाह संक्रमण फैलिएको क्षेत्रबाट आउने व्यक्तिलाई केही समय क्वारेन्टाइनमा बस्न र उनीहरूसँग प्रत्यक्ष सम्पर्कमा नजान मन्त्रालयले अपिल गरेको छ । निपाह भाइरस : अहिलेको अवस्था र सतर्कता निपाह भाइरस एक घातक जोनोटिक भाइरस हो, जसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म हुनसक्छ । यो भाइरस मुख्य रूपमा फलफूल खाने चमेरो (फ्रुट ब्याट) बाट मानिसमा सर्छ । भारतको पश्चिम बंगाल राज्यमा जनवरी २०२६ को सुरुवातमा निपाह भाइरसका केस पुष्टि भएपछि यो भाइरस पुनः चर्चामा आएको छ । भारतमा वर्तमान प्रकोप जनवरी २०२६ मा पश्चिम बंगालको बारासात क्षेत्रमा दुई जना नर्समा निपाह भाइरसको संक्रमण पुष्टि भएको छ । दुवै नारायण मल्टिस्पेसियालिटी अस्पतालमा कार्यरत थिए र गम्भीर अवस्थामा छन् । एक जना कोमामा र अर्की भेन्टिलेटरमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । केही रिपोर्टमा पाँच जनासम्म संक्रमित भएको उल्लेख छ । करिब १२० जना उच्च जोखिममा रहेका सम्पर्कहरूलाई क्वारेन्टाइन तथा निगरानीमा राखिएको छ । नेपालमा जोखिम र सतर्कता नेपालमा हालसम्म निपाह भाइरसको कुनै केस पुष्टि भएको छैन । तर भारतको पश्चिम बंगालसँगको खुला सीमा र चमेरोको उपस्थितिका कारण जोखिम भने कायम रहेको विज्ञहरू बताउँछन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका अस्पतालहरूलाई निपाहजस्ता लक्षण भएका बिरामी तथा अचानक मृत्युका घटनाबारे जानकारी दिन निर्देशन दिएको छ । निपाह भाइरसका लक्षण र रोकथाम लक्षणहरू : सुरुमा ज्वरो, टाउको दुख्ने, खोकी, श्वासप्रश्वासमा समस्या देखिन्छ । पछि मस्तिष्क सुन्निने (इन्सेफलाइटिस), कोमा र मृत्यु पनि हुनसक्छ । सर्ने तरिका : चमेरोले टोकेका वा दूषित फलफूल, काँचो खजुरको रस सेवन गर्दा तथा संक्रमित व्यक्तिको ¥याल, खकार वा प्रत्यक्ष सम्पर्कबाट सर्न सक्छ । रोकथामका उपाय  – काँचो खजुरको रस नपिउनु – चमेरोले टोकेका फलफूल नखानु – संक्रमितसँग सम्पर्क भए तुरुन्त स्वास्थ्य जाँच गराउनु – हात धुने, मास्क लगाउनेजस्ता सामान्य सावधानी अपनाउनु हाल निपाह भाइरसको कुनै निश्चित औषधि वा खोप उपलब्ध छैन । तर समयमै सहयोगी उपचारले ज्यान बचाउन सकिने चिकित्सकहरू बताउँछन् । नेपालमा जोखिम कम भए पनि सतर्क रहन आवश्यक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।