विकासन्युज

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ । राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि व्यवहारमा त्यो पूर्ण रूपमा रुपान्तरण भएको छैन । संविधानमा महिलालाई गरिएको व्यवस्था कार्यान्वयन नभएकाले आफूहरू मैदानमा उत्रिएको उनीहरूले बताएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँबाट चार जना महिला प्रतिस्पर्धा गर्दै छन् । तनहुँका दुवै क्षेत्रमा २८ जनाको उम्मेदवारी परेकामा चार जना मात्रै महिला उम्मेदवार छन् । तनहुँ–१ मा १६ उम्मेदवारमध्ये तीन महिला र क्षेत्र नम्बर–२ मा १२ उम्मेदवारमध्ये एक जना महिला छन् । मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले क्षेत्र नम्बर १ मा आमजनता पार्टीबाट भानु नगरपालिका–१२ की चिजामाया अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट भानु नगरपालिका–८ की भगवती न्यौपाने र नेपाल मजदुर किसान पार्टीबाट भक्तपुर नगरपालिका–४ निवासी रामलक्ष्मी दुवालको उम्मेदवारी दर्ता भएको राससलाई जानकारी दिए । यसैगरी क्षेत्र नम्बर–२ मा मङ्गोल अर्गनाइजेसन पार्टीबाट ऋषिङ गाउँपालिका–६ निवासी सुष्मा आलेको उम्मेदवारी दर्ता भएको छ । ढोरपाटन (बागलुङ) बाट रासस प्रतिनिधिले जनाएअनुसार दुई वटा निर्वाचन क्षेत्र भएको बागलुङमा २३ जनाको उम्मेदवारी परेको छ । तीमध्ये दुई जना मात्र महिला छन् । बागलुङ क्षेत्र नम्बर–१ बाट मङ्गोल नेशनल अर्गनाइजेशनकी गुमाकुमारी मगर र क्षेत्र नम्बर–२ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)की मञ्जु शर्मा चुनावमा होमिएकी छन् । पाल्पामा पनि महिला उम्मेदवार एक जना मात्र छन् । दुई वटा निर्वाचन क्षेत्र भएको पाल्पामा ३० जनाले मनोनयन दर्ता गराएकामा एक जना महिलाको मात्र उम्मेदवारी परेको हो । राष्ट्रिय जनमोर्चाले क्षेत्र नं १ बाट नरमती सिंजालीलाई उम्मेदवार बनाएको छ । यसैबीच, नेपाल महिला सङ्घकी नेत्री गङ्गा पौडेलले महिला सशक्तीकरणका निम्ति राजनीतिक दलहरू गम्भीर नभएका आरोप लगाएकी छन् । पाल्पामा एक जना महिलाको मात्र उम्मेदवारी पर्नु दल र तिनका नेताको महिलाप्रतिको दृष्टिकोण नबदलिएको उनको भनाई छ । रासस

अमेरिकी डलर १४७ रुपैयाँ, राष्ट्र बैंकले तोक्यो नयाँ विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७२ रुपैयाँ २१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ४० पैसा र बिक्रीदर १९२ रुपैयाँ २१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९९ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ११ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५८ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ३ पैसा र बिक्रीदर २१ रुपैयाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५ पैसा र बिक्रीदर ३९ रुपैयाँ २१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ६ पैसा र बिक्रीदर ४० रुपैयाँ २२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७१ पैसा र बिक्रीदर चार रुपैयाँ ७३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४० रुपैयाँ ३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ १८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ७ पैसा र बिक्रीदर १६ रुपैयाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१२ रुपैयाँ ९६ पैसा र बिक्रीदर २३ रुपैयाँ ०५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८ रुपैयाँ ८५ पैसा, कुवेती दिनार एकको खरिददर ४७९ रुपैयाँ २० पैसा र बिक्रीदर ४८१ रुपैयाँ १७ पैसा, बहराइन दिनार एकको खरिददर ३८८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ९५ पैसा , ओमनी रियाल एकको खरिददर ३८० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३८१ रुपैयाँ ८९ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

लोकल गोलभेँडा किलोको ४५ रुपैयाँ, यस्तो छ कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु ३०, आलु रातो (भारतीय) प्रतिकिलो रु २६, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४४ रहेको छ । यस्तै, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ६०, बन्दा (तराई) प्रतिकिलो रु ५०, बन्दा (नरिबल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ७०, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ८०, काउली तराई प्रतिकिलो रु ६०, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ६०, भन्टा डल्लो प्रतिकिलो रु ८०, मकै बोडी प्रतिकिलो रु ५० कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, घिउ सिमी (राजमा) प्रतिकिलो रु १४०, टाटे सिमी प्रतिकिलो रु १००, तिते करेला प्रतिकिलो रु १६०, लौका प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु २४०, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४५, सलगम प्रतिकिलो ८०, भिन्डी प्रतिकिलो १३०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ५५, पिँडालु प्रतिकिलो रु ७० र स्कुस प्रतिकिलो रु ८० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ३५, पालुङ्गो प्रतिकेजी रु ८०, चमसुर प्रतिकिलो रु ८०, तोरीको साग प्रतिकिलो रु ४५, मेथी प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ९०, तरुल प्रतिकिलो रु ६०, च्याउ (कन्य) प्रतिकिलो रु १००, च्याउ (डल्ले) प्रतिकिलो रु ५००, राजा च्याउ प्रतिकेजी रु ३००, सिताके च्याउ प्रतिकेजी रु १,००० र कुरिलो प्रतिकिलो रु १,८५० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु १००, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकेजी रु ४२०, रातो बन्दा प्रतिकिलो रु ११०, जिरीको साग प्रतिकिलो रु १२०, ग्याठकोभी प्रतिकिलो रु ७०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु ८०, पुदिना प्रतिकिलो रु ३८०, गान्टे मुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ४०० र रूखटमाटर प्रतिकेजी रु २६० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २८०, स्याउ (फुजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १८०, कागती प्रतिकिलो रु ११०, अनार प्रतिकिलो रु ३५०, सुन्तला (नेपाली) प्रतिकिलो रु १६५, तरबुजा हरियो प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु १३०, जुनार प्रतिकिलो रु १३०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु १००, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ६५, निबुवा प्रतिकिलो रु ७०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २४०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १२०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु २८० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ११०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ११०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १३०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १००, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ६५०, भेडे खुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु ६०, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २३५, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,००० ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

शिव शक्ति केमोप्लास्टको आम्दानी १ अर्ब १५ करोड रुपैयाँ

काठमाडौं । शिव शक्ति केमोप्लास्ट प्रालिले एक वर्षमा १ अर्ब भन्दा बढी आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा १ अर्ब १४ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ ।  यसअघि कम्पनीले सन् २०२४ मा १ अर्ब ७० लाख रुपैयाँ, सन् २०२३ मा ९२ करोड ५० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब १३ करोड १० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब ३ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  सन् २०२५ मा उद्योग क्षमताको ६५ प्रतिशत उपयोग भएको कम्पनीले जनाएको छ । जबकि यसअघि सन् २०२४ मा ६४ प्रतिशत र सन् २०२३ मा ५२ प्रतिशत क्षमता उपयोग भएको थियो । सन् २०२४ मा २ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत वर्ष २ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सन् २००२ मा स्थापना भएको शिव शक्ति केमोप्लास्टले विभिन्न प्रकारका पीपी वोभन फ्याब्रिक्स र बोराहरू, लेमिनेटेड पीपी ब्याग, त्रिपाल, प्राकृतिक तथा रंगीन फ्याब्रिक्स उत्पादन गर्दै आएको छ । अष्ट्रियाको गुणस्तर मापदण्डअनुसार उत्पादन गर्दै कम्पनीले ती उत्पादनहरू आन्तरिक बजारसँगै निर्यातसमेत गर्दै आएको छ । शिव शक्ति ग्रुपद्वारा सञ्चालित यस कम्पनीलाई राहुलकुमार अग्रवालले सञ्चालन गर्दै आएका छन् । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ७३ करोड २१ लाख रुपैयाँ ऋण लिएको छ । जसमध्ये दीर्घकालीन ६ करोड २१ लाख रुपैयाँ र अल्पकालीन ६७ करोड रुपैयाँ ऋण रहेको छ । 

होटेल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । होटेल फरेष्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज माघ ८ गते अन्तिम दिन रहेको छ । माघ ४ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख सेयरमा विदेशमा रोजगार गरिरहेका नेपालीहरूले आवेदन दिन पाउनेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम् १० कित्तादेखि अधिकतम २ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

ओलेरीको मस्कलाई जवाफः र्‍यान एयरको स्वामित्व इयू बाहिरको व्यक्तिले लिन मिल्दैन

काठमाडौं । र्‍यान एयरका प्रमुख कार्यकारी माइकल ओलेरीले अर्बपति उद्यमी एलन मस्कलाई सङ्केत गर्दै युरोपेली सङ्घको नियमले गैर-युरोपेलीलाई आयरिश एयरलाइन्स नियन्त्रण गर्न निषेध गर्ने बताएका छन् । अमेरिका र क्यानडाको नागरिकता भएका दक्षिण अफ्रिकामा जन्मेका मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समा र्‍यान एयर  किन्ने बारेमा एक सर्वेक्षण चलाएको विषयमा ओलेरीको यो भनाइ आएको हो ।  ‘गैर-युरोपेली नागरिकले युरोपेली एयरलाइन्सको बहुसङ्ख्यक हिस्सा स्वामित्व लिन सक्दैनन्,’ आलेरीले अर्को हप्ता सार्वजनिक गरिने कम्पनीको आय अद्यावधिक गर्नुअघि बुधबार डब्लिनको पत्रकार सम्मेलनमा भने, ‘तर यदि उहाँ (मस्क) र्‍यान एयरमा लगानी गर्न चाहनुहुन्छ भने, हामी सोच्छौं कि यो धेरै राम्रो लगानी हो, निश्चित रूपमा उहाँले एक्समा कमाएको वित्तीय प्रतिफल भन्दा उल्लेखनीय रूपमा राम्रो लगानी हो ।’  उनले थप प्रचारको लागि मस्कलाई धन्यवाद दिए । र्‍यान एयरको बिक्रीका लागि सार्वजनिक रूपमा सूचना आएपछि यात्रीहरूको सङ्ख्याका आधारमा युरोपको सबैभन्दा ठूलो एयरलाइन्स मानिने र्यानएयर किन्ने बिषयमा सार्वजनिक राय लिइरहेका मस्कले केही दिनदेखि सुझाव लिइरहेका पाइन्छ । टेस्लाको स्थापना गरेका र आफ्नो एयरोस्पेस कम्पनी स्पेसएक्सले विकास गरेको स्याटेलाइट इन्टरनेट प्रणाली स्टारलिङ्कका प्रमुख मस्क विश्वका सर्वाधिक धनी व्यक्तिमध्ये शीर्षस्थानमा रहेका उद्यमी हुन् ।    आयरल्याण्डका नागरिक ओलेरीले आफ्नो विमानमा वाइफाइ जोड्न स्टारलिङ्क प्रयोग गर्न अस्वीकार गरेपछि मस्कको यो भनाइ आएको हो । र्‍यान एयरका यात्रुले पनि इन्टरनेट सेवाको खर्च तिर्न चाहँदैनन्, मस्कले विमानको प्रयोग गर्ने यात्रुको अवस्थाप्रति व्यङ्ग्य गर्दै लेखेका छन् । मस्कले ओलेरीलाई ‘मूर्ख’ व्यक्ति को रूपमा वर्णन गर्दै बर्खास्त गर्न आव्हानसमेत गरेका छन् ।  र्‍यान एयरको बजार मूल्य करिब ३० अर्ब युरो (३५ अर्ब डलर) रहेको छ । युरोपेली सङ्घको नियमले युरोपेली सङ्घका नागरिक वा युरोपेली सङ्घ बाहिरका केही निश्चित युरोपेली देशहरूको स्वामित्वमा रहेको एयरलाइन्स हुनुपर्ने व्यवस्था गरेको छ ।   मस्कले सन् २०२२ मा ४४ अर्ब डलरमा ‘एक्स’ किनेका थिए । 

चुनावी घोषणापत्रमा निजी क्षेत्रलाई प्राथमिकता दिइयोस्: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रले अघि सारिरहेका एजेण्डालाई प्राथमिकता दिन आग्रह गरेका छन् । नुवाकोटको विदुरमा आयोजित नुवाकोट महोत्सवको उद्घाटन गर्दै उनले मुलुक निर्वाचनमय भएको र सबै राजनीतिक दल यतिबेला चुनावी घोषणापत्र लेख्ने तयारीमा रहेकाले निजी क्षेत्रको प्राथमिकताका विषय समेट्न आग्रह गरे । उनले भने, ‘मुलुकको अर्थतन्त्रको विकास सबै दलको साझा एजेण्डा बन्नुपर्छ र त्यसका लागि निजी क्षेत्रका एजेण्डाहरुलाई दलहरुले आफ्ना चुनावी घोषणापत्रमा प्राथमिकताका साथ राख्नुपर्छ । म सबै राजनीतिक दलहरुलाई यो आग्रह गर्दछु कि सबै दलले आफ्ना चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई पहिलो प्राथमिकता दिनुहोला ।’ देशमा रोजगारीका अवसरहरू सिर्जना गर्न तथा उद्योगधन्दा कलकारखानाको समुचित विकास गरी औद्योगिक विकासका माध्यमबाट मुलुकको आर्थिक विकास गर्न निजी क्षेत्रका एजेण्डाले प्राथमिकता पाउनु जरुरी रहेको उनले सुझाव दिए ।  हिजो मुलुकको अर्थतन्त्र संकटपूर्ण अवस्थामा पुगेका बेला सरकार र निजी क्षेत्रको संयुक्त प्रयासका कारण आजको अवस्था आएको स्मरण गर्दै अध्यक्ष ढकालले आगामी दिनहरू पनि त्यति सहज नरहेका र आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको बताए ।  उनले देशमा जुनसुकै राजनीतिक दलको सरकार आएपनि अर्थतन्त्र सबैको साझा एजेण्डा बन्नुपर्ने र निजी क्षेत्रसँगको सहकार्यलाई सबैले आत्मसात गर्नुपर्ने सुझाव पनि दिए ।  मुलुकको आर्थिक अवस्थाको यथोचित बृद्धि भयो भने मात्र मुलुकमा सुशासन कायम भई समृद्धि आउने र यसका लागि सबै राजनीतिक दलले आर्थिक एजेण्डालाई साझा एजेण्डाका रुपमा विकास गर्नुपर्नेमा उनको जोड छ ।

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक साधारणसभा प्रतिवेदन नबुझाएसम्म खारेजीको अनुमति नदिने जनाएको छ । ती सहकारी संस्थालाई तत्काल वार्षिक साधारणसभा सम्पन्न गरी लेखापरीक्षण प्रतिवेदन साधारणसभाको निर्णय तथा वार्षिक प्रतिवेदन कामपा सहकारी विभागमा बुझाउन यस अघि निर्देशन दिइसकेको छ ।  कामपा सहकारी विभाग प्रमुख महेश कुमार काफ्लेका अनुसार लामो समयदेखि साधारणसभा प्रतिवेदन नबुझाएका सहकारीलाई खारेजीको प्रक्रियामा लैजाँदा बचतकर्ताको रकम हिनामिना हुने भएकाले महानगरले पहिले प्रतिवेदन त्यसपछि मात्रै खारेजी प्रक्रिया अघि बढाउने भएको हो । खारेजीको प्रक्रियामा आउने कुनै पनि सहकारीले सबैभन्दा पहिले उक्त सहकारीमा रकम बचत गर्ने बचतकर्ताको यकिन हुनुपर्ने, आर्थिक कारोबार पनि एकिन हुनुपर्ने जनाइएको छ । कामपाले २ महिनाअघि नै सूचनामार्फत तोकिएको समयमा प्रतिवेदन पेस नगर्ने र साधारणसभा नगर्ने सहकारीलाई निष्क्रिय घोषणा गरी कानुनी कारबाही गरिने चेतावनीसमेत दिइसकेको छ । हाल कामपामा करिब १ हजार ९ सय सहकारी सञ्चालनमा छन् ।