विकासन्युज

१० हजार घुस लिँदै गरेको अवस्थामा वडा सचिव पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडासचिव अजयकुमार साहलाई १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।      आयोगका अनुसार सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने क्रममा सेवाग्राहीलाई दुःख–हैरानी दिइ घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले साहलाई पक्राउ गरिएको हो ।       आयोगले सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा सोही वडास्थित एक स्थानीय होटलबाट आज नियन्त्रणमा लिएको हो । आयोगले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।     

गुणस्तरहीन दालमोठ, तेल, चिया र अचार बेच्ने उद्योगविरुद्ध मुद्दा

चितवन । न्यूनस्तरको खाद्य पदार्थ बिक्री गरेका अभियोगमा चितवनका चार उद्योगविरुद्ध पाँच  मुद्दा दर्ता गरिएको छ । पूर्वी चितवनको रत्ननगरमा रहेको रिजाल फुड्स एण्ड बेभरेजविरुद्ध दुई मुद्दा र अन्य तीन उद्योगविरुद्ध एक/एक मुद्दा दर्ता गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले ती उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको हो । रिजाल फुड्सको दालमोठ र नमकीन मिक्सचर (दालमोठ)को गुणस्तर न्यून भएकाले मुद्दा दर्ता गरिएको हो । कार्यालयका सूचना अधिकारी वन्दना पन्तका अनुसार खैरहनीको ओमकार आयल इन्डष्ट्रिजविरुद्ध मुद्दा दर्ता गरिएको छ । आयातीत तोरीको गेडाबाट उत्पादित तोरीको तेलको गुणस्तर कमजोर भएकाले मुद्दा दर्ता गरिएको हो । त्यस्तै सिटिसी चिया असलाको उत्पादन गर्ने भरतपुरको नौलो फुड्स इन्डष्ट्रिज र रत्ननगरको चुक अमिलो उत्पादन गर्ने आचार्य फुड उद्योगविरुद्ध मुद्दा दर्ता गरिएको उनले जानकारी दिए । कारबाहीमा परेका उद्यगमाथि खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको हो । यस्तै कार्यालयले खाद्य स्वच्छतासम्बन्धी आकस्मिक अनुगमन १० पटक, खाद्य बजार अनुगमन ९२ पटक, दाना बजार अनुगमन २० पटक, होटल रेष्टुराँ अनुगमन ६३ पटक गरेको छ । गत आर्थिक वर्षमा नै ८७ वटा खाद्य उद्योग र २२ दाना उद्योगको अनुगमन गरेको उनले जानकारी दिए ।  त्यसैगरी हाटबजार मेला महोत्सव चार पटक, आहार पूरक खाद्यपदार्थ अनुगमन ११ पटक, विद्यालय र अस्पतालका क्यान्टिन अनुगमन आठ पटक गरेको छ । कार्यालयले सरोकारवालासँग अन्तरक्रिया, तालिमलगायतका कार्यक्रम सम्पन्न गरेको छ ।    

बजारमा सिताके च्याउ सबैभन्दा महँगो, बन्दा र काँक्रो सस्तो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५०, आलु रातो (गोलो) प्रतिकिलो रु ५३, आलु रातो (मुढे) प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु सेतो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५७ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ११०, गाजर (तराई) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु १००, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ६० र भन्टा डल्लो प्रतिकिलो रु ७० कायम भएको छ । समितिका अनुसार बोडी तने प्रतिकिलो रु ९०, मकै बोडी प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १३०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १४०, टाटे सिमी प्रतिकिलो रु १२०, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु ६०, लौका प्रतिकिलो रु ७०, परवर (लोकल) प्रतिकिलो रु ७०, परवर (तराई) प्रतिकिलो रु ७०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौँला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ९०, भिन्डी प्रतिकिलो रु ७०, सक्खरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १०० र स्कुस प्रतिकिलो रु ७० कायम भएको छ । रायोसाग प्रतिकिलो रु २००, पालुङ्गो प्रतिकिलो रु २५०, तोरीको साग प्रतिकिलो रु २००, प्याज (हरियो) रु २००, च्याउ (कन्य) प्रतिकिलो रु २८०, च्याउ (डल्ले) प्रतिकिलो रु ५००, राजा च्याउ प्रतिकिलो रु ३२० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ । कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु १२०, चुकन्दर प्रतिकेजी रु ७०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु २००, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ५००, सौफको साग प्रतिकिलो रु २००, पुदिना प्रतिकिलो रु ४००, गान्टेमूला प्रतिकिलो रु २००, इमली प्रतिकिलो रु १६०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन ३००, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ५००, आँप (मालदह) प्रतिकिलो रु २००, आँप (दशहरी) प्रतिकिलो रु २००, सुन्तला (नेपाली) प्रतिकिलो रु ७०, तरबुजा (हरियो) प्रतिकिलो रु ७०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रूखकटहर प्रतिकिलो रु ५०, नास्पाती (लोकल) प्रतिकिलो रु ९०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, आभोकाडो प्रतिकिलो रु ८००, अमला प्रतिकिलो रु २८०, नरिवल (काँचो) प्रतिकिलो रु ७० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ । ड्रागन फ्रुट (नेपाली) प्रतिकिलो रु ४००, अदुवा प्रतिकिलो रु २३०, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु २५०, भेडे खुर्सानी प्रतिकिलो रु ८०, लसुन हरियो प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु ४००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण भएको छ ।     

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

झापा । घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष २०८२/०८३ मा नयाँ उद्योग दर्ता र सेवा प्रवाहमार्फत रु दुई करोड ४१ लाख ६१ हजार १५० राजश्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार गत आर्थिक वर्षमा कार्यालयमा ५८६ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा धेरै ३०२ वटा सेवामूलक उद्योग रहेका छन् । त्यसैगरी १४७ वटा उत्पादनमूलक, १३३ वटा कृषि तथा वनजन्य, तीन वटा सूचना प्रविधिसम्बन्धी र एउटा ऊर्जामूलक उद्योग दर्ता भएका छन् । कार्यालयले संकलन गरेको कूल राजश्वमध्ये प्रशासनिक सेवा शुल्कबाट रु एक करोड ९८ लाख १४ हजार ५०, व्यवसाय रजिस्ट्रेशन दस्तुरबाट रु ४२ लाख ८२ हजार १०० तथा सरकारी सम्पत्तिको बिक्रीबाट रु ६५ हजार प्राप्त भएको सूचना अधिकारी भट्टराईले जानकारी दिए ।

नबिल बैंकले बन्द गर्‍यो एकैपटक १२ वटा शाखारहित बैंकिङ सेवा केन्द्र

काठमाडौं । नबिल बैंकले देशका विभिन्न जिल्लामा सञ्चालनमा रहेका १२ वटा शाखारहित बैंकिङ (बीएलबी) सेवा केन्द्र बन्द गरेको छ । बैंकले सुर्खेत, बझाङ, अर्घाखाँची, तेह्रथुम, धनकुटा र डोटीमा सञ्चालित १२ वटा शाखारहित बैंकिङ सेवा केन्द्र बन्द गरेको जनाएको हो । ​​​​​​ बैंकका अनुसार बन्द गरिएका सेवा केन्द्रमा सुर्खेतको बराहताल-२ रानीघाट, बझाङको बित्थडचिर गाउँपालिका-१, २ र ९, अर्घाखाँचीको छत्रदेव-४, तेह्रथुमको फेदाप गाउँपालिका-२ ओयाकजुङ, ४ स्थित साम्दु, ५ स्थित इशिबु, धनकुटाको साँगुरीगढी-२ बुद्धिमोरङ तथा डोटीको सायल गाउँपालिका-२ स्थित छपाली, ६ स्थित डल्लेख र मेल्लेखमा रहेका शाखारहित बैंकिङ सेवा केन्द्र बन्द भएका हुन् ।  नबिल बैंकले शाखारहित बैंकिङ सेवा बन्द भइसकेकाले सम्बन्धित प्रतिनिधिमार्फत अबउप्रान्त कुनै पनि बैंकिङ कारोबार नगर्न ग्राहकलाई आग्रह गरेको छ । बैंकले बैंकिङ सेवा लिन नजिकको शाखा वा डिजिटल बैंकिङ सेवा ‘लद्यबलप’ प्रयोग गर्न अनुरोध गरेको छ । साथै, शाखारहित बैंकिङ सेवा प्रदान गर्ने प्रतिनिधिहरूलाई पनि अबउप्रान्त कुनै पनि बीएलबी कारोबार नगर्न तथा नगराउन बैंकले निर्देशन दिएको छ ।

अर्थमन्त्री वाग्लेले बोलाए तीन दर्जन उद्योगपति

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालका अग्रणी उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे विशेष छलफल गर्ने भएका छन् ।  अर्थमन्त्रीको सचिवालयका अनुसार नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गर्दै अर्थतन्त्रमा विशिष्ट योगदान पुर्‍याएका झन्डै तीन दर्जन उद्योगपतिसँग अर्थ मन्त्रालयमा  ‘बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम’ आयोजना गरिएको हो। छलफलमा अर्थमन्त्री डा. वाग्लेसहित अर्थसचिव डा। घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडीलगायत अर्थ मन्त्रालयका महत्त्वपूर्ण महाशाखा तथा विभागका अधिकारीहरूको सहभागिता रहने जनाइएको छ । कार्यक्रम आज अपरान्ह ३ बजेदेखि अर्थ मन्त्रालयमा सुरु हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

आवासीय भवनमा शिक्षिकाको शव, श्रीमानको म्यासेजपछि खुलासा

काठमाडौं । झापाको मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्ग्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी-२ की २९ वर्षीया कविता कुमारी ढुङ्गाना मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ ।  उनी आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन् । गुप्ता पर्साको वीरगञ्ज-१६ निवासी हुन् । श्रीमान्/श्रीमती दुवै जना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गरिरहेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले घटनाबारे अनुसन्धान भइरहेको बताउँछन् । विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार साउन ५ गतेदेखि विद्यालय बिदामा रहेको र सोमबार विद्यालय सञ्चालनका क्रममा दुवै शिक्षक सम्पर्कमा थिएनन् । उनीहरू बस्ने कोठामा बाहिरबाट ताला लागेको थियो भने फोन सम्पर्क हुन नसकेको उनको भनाइ छ । ‘दिनभरि सम्पर्क नभएपछि बेलुका करिब ४:३० बजे रतन गुप्ता आफैंले मेरो वाट्सएपमा सन्देश पठाएका थिए । सन्देशमा श्रीमती कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको, आफू अर्को कोठामा सारेको र डरका कारण त्यहाँबाट निस्किएको उल्लेख गर्दै ताला खोलेर कानुनी प्रक्रिया पूरा गरिदिन अनुरोध गरेका थिए,’ प्रधानाध्यापक लुइँटेलले भने ।  स्थानीयवासीका अनुसार गुप्तालाई आइतबार साँझ करिब ५ बजेतिर दुइवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखिएको थियो । त्यसयता उनी सम्पर्कमा रहेका छैनन् । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक अवाले भने, ‘विद्यालय परिसरभित्र एक महिलाको शव फेला परेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ । मृत्युको कारण यकिन भइसकेको छैन र शवको परीक्षणसहित सबै पक्षबाट अनुसन्धान अघि बढाइएको छ । सम्पर्क विहीन रहेका उनका श्रीमान्को पनि खोजी भइरहेको छ ।’

नेप्सेको सीईओका लागि आवेदन आह्वान, तलब–भत्ता सरकारले तोक्ने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) खुला प्रतिस्पर्धाबाट नियुक्त गरिने भएको छ । नेप्सेका तत्कालीन सीईओ चुडामणि चापागाईंले गत असार २२ गते राजीनामा दिएपछि रिक्त रहेको पदका लागि आवेदन आह्वान गरिएको हो । अर्थ मन्त्रालयले सहसचिव महेश आचार्यको संयोजकत्वमा गठित छनोट तथा सिफारिस समितिले इच्छुक तथा योग्य नेपाली नागरिकलाई १५ दिनभित्र अर्थात् साउन २६ गते कार्यालय समयभित्र आवेदन दिन आग्रह गरेको छ । नेप्सेको सीईओ बन्न अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि, वाणिज्य वा कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी (सीए) वा सो सरहको उपाधि हासिल गरेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । साथै, पुँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी क्षेत्रमा व्यवस्थापकीय तहमा कम्तीमा सात वर्ष काम गरेकोसहित कम्तीमा १५ वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ । मन्त्रालयले व्यवस्थापकीय तह भन्नाले नेपाल सरकारको अधिकृतस्तरको कम्तीमा द्वितीय श्रेणी वा सो सरहको पद, वा कम्पनी तथा संगठित संस्थाको कार्यकारी प्रमुख वा सोभन्दा दुई तह मातहतसम्मको व्यवस्थापकीय नेतृत्वमा रहेको व्यक्तिलाई जनाउने उल्लेख गरेको छ ।  आवेदक नेप्सेको प्रमुख कार्यकारी अधिकृतको छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३ बमोजिम अयोग्य नभएको हुनुपर्नेछ । साथै, अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड, २०७३ (संशोधनसहित) अनुसार कम्तीमा ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । गैरनेपाली नागरिक, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागूऔषध कारोबार, पुरातात्त्विक वस्तु वा संरक्षित वन्यजन्तुसम्बन्धी कसुर तथा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाएका, प्रचलित कानुनबमोजिम कालोसूचीमा समावेश भई फुकुवा भएको तीन वर्ष पूरा नभएका, विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर) प्राप्त गरेका, सार्वजनिक निकायसँग ठेक्का वा पट्टा सम्झौता गरी कार्यरत तथा मानसिक सन्तुलन ठीक नभएका व्यक्ति भने आवेदनका लागि अयोग्य हुने मन्त्रालयले जनाएको छ । आवेदनसँगै स्वघोषणा फाराम, स्वयंले प्रमाणित गरेका शैक्षिक तथा अनुभवका प्रमाणपत्र, दुई प्रति पासपोर्ट आकारका फोटो तथा व्यावसायिक कार्ययोजनाका तीन प्रति खामबन्दी गरी पेश गर्नुपर्नेछ । दरखास्त दस्तुरबापत ५ हजार रुपैयाँ जम्मा गरेको सक्कल भौचर पनि आवेदनसँगै पेश गर्नुपर्नेछ । मन्त्रालयका अनुसार प्रमुख कार्यकारी अधिकृतको मासिक पारिश्रमिक, भत्ता तथा अन्य सुविधा सरकारले तोकेबमोजिम हुनेछ । छनोट तथा सिफारिस समितिले प्राप्त आवेदनलाई आवश्यक परे कुनै कारण उल्लेख गरी वा नगरी रद्द गर्न सक्ने मन्त्रालयले जनाएको छ । साथै, झुटा विवरण वा कागजात पेश गर्ने आवेदकको आवेदन रद्द गरिनुका साथै प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ ।