विकासन्युज

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक साधारणसभा प्रतिवेदन नबुझाएसम्म खारेजीको अनुमति नदिने जनाएको छ । ती सहकारी संस्थालाई तत्काल वार्षिक साधारणसभा सम्पन्न गरी लेखापरीक्षण प्रतिवेदन साधारणसभाको निर्णय तथा वार्षिक प्रतिवेदन कामपा सहकारी विभागमा बुझाउन यस अघि निर्देशन दिइसकेको छ ।  कामपा सहकारी विभाग प्रमुख महेश कुमार काफ्लेका अनुसार लामो समयदेखि साधारणसभा प्रतिवेदन नबुझाएका सहकारीलाई खारेजीको प्रक्रियामा लैजाँदा बचतकर्ताको रकम हिनामिना हुने भएकाले महानगरले पहिले प्रतिवेदन त्यसपछि मात्रै खारेजी प्रक्रिया अघि बढाउने भएको हो । खारेजीको प्रक्रियामा आउने कुनै पनि सहकारीले सबैभन्दा पहिले उक्त सहकारीमा रकम बचत गर्ने बचतकर्ताको यकिन हुनुपर्ने, आर्थिक कारोबार पनि एकिन हुनुपर्ने जनाइएको छ । कामपाले २ महिनाअघि नै सूचनामार्फत तोकिएको समयमा प्रतिवेदन पेस नगर्ने र साधारणसभा नगर्ने सहकारीलाई निष्क्रिय घोषणा गरी कानुनी कारबाही गरिने चेतावनीसमेत दिइसकेको छ । हाल कामपामा करिब १ हजार ९ सय सहकारी सञ्चालनमा छन् ।

एसइई परीक्षा चैत १९ गतेदेखि सुरु हुने, ५ लाख १७ हजार विद्यार्थी सहभागी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १० को अन्तिम परीक्षा अर्थात् माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १९ गतेदेखि २९ गतेसम्म देशभर एकैसाथ सञ्चालन गर्ने भएको छ । बोर्डले बुधबार एसइई परीक्षाको तालिका सार्वजनिक गर्दै आउँदो चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डको तालिका अनुसार पहिलो दिन १९ गते अनिवार्य अङ्ग्रेजी, २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते अनिवार्य विज्ञान, २४ गते सामाजिक, २५ गते ऐच्छिक प्रथम पत्रका विषय र २६ गते ऐच्छिक द्वितीय विषयका परीक्षा हुनेछन् । चैत २७, २८ र २९ गते भने प्राविधिक धार तर्फका पुराना र नयाँ कोर्सको परीक्षा हुने बोर्डअन्तर्गत कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए ।  गत वर्षको एसइई चैत ७ गतेदेखि सञ्चालन भएको थियो भने यस वर्ष आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका कारण यस वर्षको परीक्षा विगत वर्षभन्दा करिब १२ दिन पर सारिएको बोर्डले जानकारी दिएको छ । जनक शिक्षा सामग्री केन्द्रले आगामी फागुन २१ गतेको निर्वाचनको लागि आवश्यक मतपत्र छपाइको काम गरिरहेको र एसइई परीक्षाको प्रश्नपत्र छाप्ने कार्य पनि जनक शिक्षाबाटै हुने भएकाले पनि परीक्षाको मिति केही दिनलाई सार्नु परेको बोर्डले जानकारी दिएको छ । एसइई परीक्षाका लागि यस वर्ष ५ लाख १७ हजार विद्यार्थीले आवेदन भरेको जानकारी दिँदै बोर्डले गत वर्ष गत परीक्षामा नियमिततर्फ ४ लाख २१ हजार ५८५ र ग्रेड वृद्धितर्फ ७५ हजार ५३९ जना विद्यार्थी सहभागी भएका थिए ।

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरी भर्ना आवेदन माग गरिएकामध्ये मुस्ताङमा ८० प्रतिशत जिल्ला बाहिरका रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हिमाली क्षेत्रको प्रतिकूल मौसमका बाबजुद जिल्ला बाहिरबाट उल्लेख्य सङ्ख्यामा युवायुवती निर्वाचन प्रहरीमा भर्ना हुन आएका छन् । यसअघि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपालको संयुक्त कार्यविधि २०८२ अनुसार मुस्ताङमा निर्वाचन प्रहरी छनोट, नियुक्ति तथा परिचालनका लागि योग्यता पुगेका नेपाली नागरिकबाट एकीकृत रूपमा दरखास्त आह्वान गरिएको थियो । जिल्ला प्रहरी कार्यालयमा माघ २ गतेसम्म आवेदन खुल्ला गरिएकामा आवश्यक सङ्ख्या नपुगेपछि थप २ दिन समय थपिएको थियो । मुस्ताङमा नेपाल प्रहरीलाई २६६ जना र सशस्त्र प्रहरी बल नेपाललाई ४६ जना गरी ३१२ जना निर्वाचन प्रहरी सङ्ख्या माग गरिएकामा ३२३ जनाले आवेदन दिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिए । मुस्ताङमा आवेदन दिन म्याग्दी, बाग्लुङ, पर्वत, धादिङ, रुकुम, रोल्पा र गोर्खालगायत जिल्लाबाट आएका उनले बताए ।

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा तुवाँलो लाग्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ । हाल कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका केही स्थानमा तुवाँलो लागेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । त्यसैगरी, आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने तथा अन्य भागमा मौसम मुख्यतया सफा रहने छ । महाशाखाले हुस्सु र कुहिरोका कारण हवाई सेवामा ढिलाइ हुनसक्ने तराईका विभिन्न विमानस्थलहरुमा दृश्यता घट्दा उडानमा अवरोध हुनसक्ने तथा लामो तथा छोटो दूरीका सवारीसाधनका चालकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

९.७७ अर्बको पेट्रोलियम पदार्थ आयात, ४.७४ अर्ब रुपैयाँ राजस्व संकलन

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट ९ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल गरी ९ अर्ब ७७ करोड २ लाख ३२ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वर कुमार हुमागाईंका अनुसार अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा ५१ करोड ५९ लाख ४३ हजार रुपैयाँ अर्थात् ५.६० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व ५.७० प्रतिशत अर्थात् २५ करोड ४२ लाख ४० हजार रुपैयाँले बढेको उनले बताए ।  कार्यालयको तथ्याङ्कअनुसार चालु आवको ६ महिनामा पेट्रोलियम पदार्थ आयातबाट ४ अर्ब ७४ करोड ९४ लाख ३६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा ४ अर्ब ७२ करोड ६ लाख रुपैयाँ पर्ने ५३ हजार १५२ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी ३ अर्ब २२ करोड ६५ लाख रुपैयाँ पर्ने ३३ हजार ७४४ किलोलिटर डिजेल आयात भएको छ । यस्तै, ६ महिनाको अवधिमा १ अर्ब २४ करोड ७ लाख रुपैयाँ पर्ने १२ हजार ८११ मेट्रिक टन एलपी ग्यास, ३७ करोड ९४ लाख रुपैयाँ पर्ने ४ हजार ११२ किलोलिटर एटिएफ र ९ करोड ५ लाख रुपैयाँ पर्ने ९६४ किलोलिटर मट्टितेल आयात भएको कार्यालयको तथ्याङ्क छ ।

आँखा उपचार केन्द्रलाई २.२० करोडको उपकरण हस्तान्तरण

काठमाडौं । आँखा उपचार केन्द्र लालबन्दी सर्लाहीलाई लायन्स क्लब इन्टरनेसनलले २ करोड रुपैयाँ भन्दा बढीको आधुनिक उपकरण हस्तान्तरण गरेको छ । बुधबार एक औपचारिक कार्यक्रमबीच मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले केन्द्रलाई २ करोड २० लाख २१ हजार ८६० रुपैयाँको अत्याधुनिक उपकरण हस्तान्तरण गरे ।  स्तरोन्नतिका लागि लालबन्दी नगरपालिका–५, जरुवा पानीमा सञ्चालन भइरहेको सामुदायिक परोपकार आँखा उपचार केन्द्रलाई उपकरण हस्तान्तरण गरिएको लायन्स क्लब इन्टरनेसनलका डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले बताए ।  क्लबले आँखाको शल्यक्रिया गर्न मिल्ने फेको सर्जरी मेसिनसहित माइक्रोस्कोप, ल्याम्पलगायत उपकरण प्रदान गरेको छ । केन्द्रको स्तरोन्नतिपछि यहाँका नागरिकले काठमाडौंस्थित तिलगङ्गा आँखा उपचार केन्द्र बराबरको सुविधा प्राप्त गर्ने क्लबका डाइरेक्टर बुर्लाकोटीको भनाइ छ । आँखामा भएका सम्पूर्ण समस्याको उपचार अब केन्द्रबाटै गर्न सकिने उनले बताए । 

दलितको जनसङ्ख्या १३ प्रतिशत, निर्वाचनमा उम्मेदवार ६ जना मात्रै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री प्रकाश रसाइली स्नेहीलाई मात्रै उम्मेदवार बनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट डडेल्धुरामा चक्र स्नेहीलाई र बर्दिया-२ बाट विमला विकलाई उम्मेदवार बनाइएको छ । नेपाली कम्युनिष्ट पार्टीले स्याङ्जा-२ बाट पदम विश्वकर्मा र कञ्चनपुर-३ बाट मानबहादुर सुनारलाई मात्रै टिकट दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाँके-३ बाट खगेन्द्र सुनारलाई उम्मेदवार बनाएको छ । दलित आन्दोलनका अगुवा तथा पूर्वराजदूत पदम सुन्दासले मुख्य ठूला राजनीतिक दलहरूले नै दलित समुदायलाई भोट बैंक बनाएको तर अवसरबाट सधैँ वञ्चित गर्दै आएको टिप्पणी गरे ।  ‘पार्टीभित्र दलित नेताको योगदान अरू समुदायको जत्तिकै हुन्छ, तर निर्वाचनको समयमा उनीहरूले टिकट पाउँदैनन् । टिकट दिँदा नै एक प्रकारको विभेद हुँदै आएको छ, दलितको जनसङ्ख्यालाई हेर्ने हो भने पनि १३ प्रतिशत छ,’ उनले भने ।  नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) का अध्यक्ष विन्दु परियारले परिवर्तनका लागि पटकपटक लडेको पुरानो प्रजातान्त्रिक दल कांग्रेस, मजदुर, गरिब, किसान, दलित, महिला, जनजाति, मधेसी आदिको अधिकारका लागि सङ्घर्ष गरिरहेको दाबी गर्ने नेपाली कम्युनिष्ट पार्टी र एमाले नै दलितप्रति अनुदार देखिएको टिप्पणी गरिन् । यसरी दलित समुदायलाई प्रत्यक्षमा टिकट नदिनुले प्रतिनिधिसभामा दलित समुदायको प्रतिनिधित्व घट्ने देखिन्छ । संसद्मा ३३ प्रतिशत महिला अनिवार्य हुने संवैधानिक व्यवस्था जस्तै दलितको सवालमा पनि अनिवार्य व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।  विसं २०७९ को प्रतिनिधिसभामा १५ जना (५.८१ प्रतिशत) को प्रतिनिधित्व रहेको थियो । विसं २०६४ को संविभानसभामा ५० जना दलित (८.३२ प्रतिशत) को उपस्थिति थियो । २०७० सालको संविधानसभामा ४० जना (६.६५ प्रतिशत) र २०७४ सालमा प्रतिनिधिसभामा २० जना (७.२७ प्रतिशत) रहेको थियो । यो सङ्ख्या हेर्ने हो भने संसद्मा दलितको प्रतिनिधित्व क्रमशः घट्दो क्रममा देखिन्छ । ५९ जनाको राष्ट्रिय सभामा ८ जना मात्रै दलितको सहभागिता छ । संविधानको धारा, ४२ (१) अनुसार सामाजिक रूपले पछाडि परेकालाई समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिताको हक हुने व्यवस्था हुनेछ भनिए पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन सकेको छैन ।

निर्वाचनमा बढ्दो आकर्षण : तीन हजार बढी उम्मेदवार मैदानमा

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनको तुलनामा उत्साहजनक देखिएको निर्वाचन आयोगले जनाएको छ ।    मंगलबार १६५ वटै निर्वाचन क्षेत्रमा तीन हजार ४८७ उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन्  । २०७९ सालमा भने दुई हजार ४१२ उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका थिए ।  यस वर्ष ६८ राजनीतिक दलबाट दुई हजार २९७ ले उम्मेदवारी दर्ता गराएका छन् । जसमा पुरुष २०६४ र महिला २३५ छन् । स्वतन्त्र उम्मेदवारी दिने एक हजार १८७ छन् । जसमा एक हजार २४ पुरुष र १६० महिला रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए ।    उम्मेदवारी दर्ता गराउनेमा २५ देखि ३५ वर्ष उमेर समूहका ५८३, ३६ देखि ५० वर्ष उमेर समूहका एक हजार ६१०, ५१ देखि ६५ वर्ष उमेर समूहका एक हजार ९० र ६५ वर्षभन्दा माथिका २०१ जना छन् ।  सुशासनको मुख्य नारा लिएर भएको जेनजी आन्दोलनपछि उम्मेदवारी दर्ता गराउने युवाको सङ्ख्या बढेको अनुमान गरिएको छ ।