४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले बढेर २७१४ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १६२ कम्पनीको सेयर मूल्य बढ्दा ८८ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३३२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युत कम्पनीको ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै मन्जुश्री फाइनान्सको ३५ करोड, एसवाई प्यानलको ३२ करोड, बन्दिपुर केबलबारको २८ करोड र श्रीनगर एग्रीटेकको २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एसवाई प्यानल, श्रीनगर एग्रीटेक, त्रीशुली जलविद्युत र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेका छन् । बिहीबार १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै २.३८ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।
निपाह भाइरसको जोखिम बढेपछि सीमा नाकाहरूमा सरकारले थाल्यो निगरानी
काठमाडौं । छिमेकी मुलुक भारतमा निपाह भाइरसको संक्रमण देखिएपछि नेपालमा पनि संक्रमण फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च सतर्कता अपनाएको छ । भारतको पश्चिम बंगालमा केही साताअघि निपाह भाइरसको संक्रमण पुष्टि भएपछि नेपालका सम्पूर्ण हवाई तथा थल नाकाबाट भित्रिने यात्रुको निगरानी सुरु गरिएको मन्त्रालयले जनाएको छ । बिहीबार मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हवाई तथा थल नाकामा स्थापना गरिएका हेल्थ डेस्कमार्फत संक्रमणका लक्षण देखिएका यात्रुमाथि निगरानी राख्ने कार्य भइरहेको बताए । प्रवक्ता बुढाथोकीले निपाह भाइरसको जोखिम नेपालमा उच्च रहेको उल्लेख गर्दै संक्रमणको शंका भएका व्यक्ति नेपाल प्रवेश गरेमा उपचारका लागि अस्पतालहरू समेत तोकिएको जानकारी दिए । निपाह भाइरस चमेरो, सुँगुर वा संक्रमित व्यक्तिबाट सर्ने भएकाले ती माध्यमलाई विशेष ध्यानमा राखेर रोकथामका उपाय अपनाइएको उनको भनाइ छ । उनले भने, 'केही साता पहिले छिमेकी मुलुक भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण देखापरेपछि हामीले सम्पूर्ण हवाई तथा थल नाकामार्फत नेपाल भित्रिने व्यक्तिहरूको निगरानी सुरु गरेका छौँ । त्यसैगरी थल र हवाई नाकामा रहेका हेल्थ डेस्कहरूले संक्रमणका लक्षण भएका बिरामीलाई निगरानीमा राख्ने काम गरिरहेका छन् । निपाह भाइरस सर्ने प्रमुख माध्यम चमेरो, सुँगुर वा संक्रमित व्यक्ति भएकाले यी तीन पक्षलाई मध्यनजर गर्दै आम नागरिकलाई सचेत बनाइरहेका छौँ ।' निपाह संक्रमण फैलिएको क्षेत्रबाट आउने व्यक्तिलाई केही समय क्वारेन्टाइनमा बस्न र उनीहरूसँग प्रत्यक्ष सम्पर्कमा नजान मन्त्रालयले अपिल गरेको छ । निपाह भाइरस : अहिलेको अवस्था र सतर्कता निपाह भाइरस एक घातक जोनोटिक भाइरस हो, जसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म हुनसक्छ । यो भाइरस मुख्य रूपमा फलफूल खाने चमेरो (फ्रुट ब्याट) बाट मानिसमा सर्छ । भारतको पश्चिम बंगाल राज्यमा जनवरी २०२६ को सुरुवातमा निपाह भाइरसका केस पुष्टि भएपछि यो भाइरस पुनः चर्चामा आएको छ । भारतमा वर्तमान प्रकोप जनवरी २०२६ मा पश्चिम बंगालको बारासात क्षेत्रमा दुई जना नर्समा निपाह भाइरसको संक्रमण पुष्टि भएको छ । दुवै नारायण मल्टिस्पेसियालिटी अस्पतालमा कार्यरत थिए र गम्भीर अवस्थामा छन् । एक जना कोमामा र अर्की भेन्टिलेटरमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । केही रिपोर्टमा पाँच जनासम्म संक्रमित भएको उल्लेख छ । करिब १२० जना उच्च जोखिममा रहेका सम्पर्कहरूलाई क्वारेन्टाइन तथा निगरानीमा राखिएको छ । नेपालमा जोखिम र सतर्कता नेपालमा हालसम्म निपाह भाइरसको कुनै केस पुष्टि भएको छैन । तर भारतको पश्चिम बंगालसँगको खुला सीमा र चमेरोको उपस्थितिका कारण जोखिम भने कायम रहेको विज्ञहरू बताउँछन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका अस्पतालहरूलाई निपाहजस्ता लक्षण भएका बिरामी तथा अचानक मृत्युका घटनाबारे जानकारी दिन निर्देशन दिएको छ । निपाह भाइरसका लक्षण र रोकथाम लक्षणहरू : सुरुमा ज्वरो, टाउको दुख्ने, खोकी, श्वासप्रश्वासमा समस्या देखिन्छ । पछि मस्तिष्क सुन्निने (इन्सेफलाइटिस), कोमा र मृत्यु पनि हुनसक्छ । सर्ने तरिका : चमेरोले टोकेका वा दूषित फलफूल, काँचो खजुरको रस सेवन गर्दा तथा संक्रमित व्यक्तिको ¥याल, खकार वा प्रत्यक्ष सम्पर्कबाट सर्न सक्छ । रोकथामका उपाय – काँचो खजुरको रस नपिउनु – चमेरोले टोकेका फलफूल नखानु – संक्रमितसँग सम्पर्क भए तुरुन्त स्वास्थ्य जाँच गराउनु – हात धुने, मास्क लगाउनेजस्ता सामान्य सावधानी अपनाउनु हाल निपाह भाइरसको कुनै निश्चित औषधि वा खोप उपलब्ध छैन । तर समयमै सहयोगी उपचारले ज्यान बचाउन सकिने चिकित्सकहरू बताउँछन् । नेपालमा जोखिम कम भए पनि सतर्क रहन आवश्यक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारमाथिको उजुरी जाँच गरिँदै
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरीमाथि जाँचबुझ गरी बिहीबार बेलुकी ५ बजेपछि उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारमाथि जाँचबुझ बुधबार दिउँसो ३ बजेदेखि नै सुरु भएको हो । यो क्रम बिहीबार बेलुका ५ बजेसम्म जारी रहने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । बिहीबार मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गरिने उनले बताए । बिहीबार बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन कार्यक्रम रहेको छ । माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ । शुक्रबार ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन अधिकृतको कार्यालयमा तीन वटा कार्यक्रम तय गरिएको जानकारी पनि उनले गराए । देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा प्राप्त जानकारी अनुसार पुरुष ३०८९, महिला ३९६ र तेस्रो लिङ्गी १ गरी तीन हजार ४८७ को उम्मेद्वारी दर्ता भएको छ । यीमध्ये चार जिल्लाका पाँच उम्मेदवारमाथि उजुरी परेको पनि सहायक प्रवक्ता जिसीले सुनाए । सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं २ का एक, रौतहट जिल्ला क्षेत्र नं १ का एक, भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं २ का दुई र कैलाली जिल्ला निर्वाचन क्षेत्र नं १ का एक उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको छ । यी उजुरीमाथि अहिले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा जाँचबुझ भइरहेको छ ।
मेरोमाइक्रोफाइनान्सको अध्यक्षमा कल्याण विक्रम पाँडे पुनः नियुक्त
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा पुन: कल्याण विक्रम पाँडे नियुक्त भएका छन् । पाँडेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरे । नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा नवनियुक्त अध्यक्ष पाँडेले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम शपथ लिएका हुन् । संस्थाको सञ्चालक समितिको २०८२ पौष ३० गते बसेको १८२ औं बैठकले पाँडेलाई सर्वसम्मत रूपमा अध्यक्षमा पुनः चयन गरेको थियो । पाँडे यसअघि पनि संस्थाको संस्थापक (ग्लोबल आइएमई बैंक) समूहको तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्षको जिम्मेवारी सम्हालिसकेका अनुभवी बैंकर हुन् । हाल उनी सो बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (एसईओ) का रूपमा कार्यरत छन् । शपथ ग्रहण कार्यक्रममा संस्थाका कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल, नायब प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवराज दाहाल लगायतको उपस्थिति रहेको थियो ।
हुन्डाईको फ्ल्यागशिप पालिसेडलाई नर्थ अमेरिकाको सर्वश्रेष्ठ युटिलिटी भेहिकलको उपाधि
काठमाडौं । अल न्यू हुन्डाई पालिसेडले २०२६ नर्थ अमेरिकन युटिलिटी भेहिकल अफ द इयर उपाधि पाएको छ। नर्थ अमेरिकन कार, युटिलिटी एन्ड ट्रक अफ द इयर (एनएसीटीओवाई) निर्णायक मण्डलले पालिसेडलाई उक्त उपाधि दिएको हो । एनएसीटीओवाई पुरस्कार अमेरिका र क्यानडाका ५० स्वतन्त्र अटोमोबाइल पत्रकारको निर्णायक मण्डलले निर्धारण गर्छ । छापा, डिजिटल, टेलिभिजन, रेडियो र सामाजिक सञ्जाल प्रतिनिधित्व गर्ने यी पत्रकारहरूले दीर्घकालीन ड्राइभिङ, तुलनात्मक परीक्षण तथा डिजाइन, प्रदर्शन, नवप्रवर्तन, सुरक्षा र मूल्यका सूक्ष्म मूल्याङ्कनसहितको प्रक्रियाबाट सवारीसाधनको समीक्षा गर्छन् । हुन्डाई मोटरको फ्ल्यागशिप एसयूभी ‘नयाँ पालिसेड’ ले धेरैको ध्यान खिचेको छ । यसमा इन्धनबाट चल्ने परम्परागत इन्जिन (आईसीई) मात्र होइन, नयाँ पुस्ताको दक्ष हाइब्रिड विकल्प पनि उपलब्ध छ । यही कारणले पालिसेडलाई शक्तिशाली, भरपर्दो र विभिन्न आवश्यकतामा प्रयोग गर्न मिल्ने एसयूभीका रूपमा मान्यता मिलेको हो । यसले विशाल र प्रिमियम इन्टेरियर, सहज प्रविधि तथा परिवारमैत्री सुरक्षा र सुविधाबाट पनि आफूलाई अलग बनाएको छ । हालै आएको नेक्स्ट जेनेरेसन हाइब्रिड भेरियन्टले ग्यालोनमा ३४ माइलको माइलेज दिन्छ । यसैगरी, ६०० माइलभन्दा बढीको ड्राइभिङ रेन्ज रहेको छ । यसमा शक्तिशाली र स्मूथ भी सिक्स इन्जिन पनि छ, जसले प्रदर्शनमा कुनै सम्झौता गर्दैन। २०२५ मा अमेरिकामा पालिसेडको रेकर्ड बिक्री भयो । रिटेल बिक्री १७ प्रतिशतले बढ्दा कुल बिक्री १३ प्रतिशतले वृद्धि भएकाे हाे । १९९४ मा स्थापना भएको एनएसीटीओवाई कुनै एकल मिडिया संस्थासँग आबद्ध नभएको सबैभन्दा दीर्घकालीन सवारी पुरस्कार कार्यक्रम हो । यसको स्वतन्त्रता, कडा मूल्याङ्कन प्रक्रिया र विविध निर्णायक मण्डलका कारण यी पुरस्कारहरू विश्वव्यापी अटोमोबाइल उद्योगका सबैभन्दा विश्वसनीय र प्रतिष्ठित सम्मानमध्ये पर्छन् ।
सुन्तलाले मनग्य मूल्य पाएपछि किसान उत्साहित, बोटबाटै प्रतिकिलो १०० रुपैयाँमा बिक्री
चितवन । जिल्लामा सुन्तलाखेती गर्ने किसानले राम्रो मूल्य पाएपछि उत्साहित भएका छन् । विगतको तुलनामा यस वर्ष सुन्तलाले राम्रो मूल्य पाएपछि किसान उत्साहित भएका हुन् । जिल्लाको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका– २९ मा सुन्तला खेती हुँदै आएको छ । इच्छाकामना गाउँपालिका–५ का किसान रामप्रसाद बोहोरा अहिले गत वर्षको तुलनामा सुन्तलाको मूल्य राम्रो पाएपछि खुसी छन् । उनले भने 'गत वर्षको तुलनामा यसवर्ष किसानले सुन्तलाको मूल्य पाएका छाैँ । खुसी छौँ ।' गत वर्षमा मूल्य नपाउँदा निकै समस्या हुने गरेको भए पनि यसवर्ष बोटबाटै प्रतिकिलो रु १०० भन्दा बढीमा बिक्री हुँदै आएको उनले बताए । किसानले अहिले सुन्तलालाई ग्रेडिङ्ग (वर्गीकरण) गरेर बिक्री वितरण गर्दै आएको उनले बताए । उनले भने, 'आफ्नो वडाले मात्रै सुन्तलाबाट रु ६० लाख हाराहारी कमाएको छ । अझै सुन्तला बिक्री गर्न बाँकी छ ।' कतिपय किसानले पहिलेनै बिक्री गरिसकेका छन् भने कतिपयको अझै बिक्री गर्न बाँकी रहेको उनले बताए । माघ १५ गतेसम्ममा उत्पादित सुन्तला बिक्री भइसक्ने उनले बताए । यस्तै भरतपुर महानगरपालिका–२९ चौकिडाँडाका किसान हिक्मत चेपाङ अहिले सुन्तलाको मूल्य राम्रो पाएको भन्दै खुसी छन् । उनीहरुले चेपाङ कृषि समूह बनाएर समूहका सदस्यहरुले व्यावसायिक रुपमा सुन्तलाखेती गर्दै आएका छन् । उनले भने, 'हामी सबैले धेरै थोर क्षेत्रफलमा सुन्तला खेती गरेका छौँ । मूल्य पाएको छ । खुसी छौँ ।' अहिले किसानको बारीबाटै व्यवसायीले सुन्तला उठाउने गरेको उनले बताए। प्रतिकिलो रु १०० भन्दा बढीमा सुन्तला बिक्री भएको उनले बताए । सुन्तलामा विषादी हाल्दा धेरै बचाउन सकिने तर प्राङ्गारिक उत्पादन गर्दा कम बच्ने भएकाले केही समस्या भए पनि अहिले मूल्य पाएकाले आफूहरु उत्साहित भएको उनको भनाइ छ । इच्छाकामना गाउँपालिका कृषि अधिकृत समीक्षा पौडेल व्यावसायिक किसानले सुन्तालालाई ग्रेडिङ्ग गरेर बिक्री गर्दै आएको बताउँछन् । उनका अनुसार सानो, मझौला र ठूलो गरेर छुट्याएर बिक्री गर्दै आएको छ । यसरी ग्रेडिङ् गरेर बिक्री गर्दा किसानले उचित मूल्य पाउन सफल भएको उनले बताए । इच्छा कामना गाउँपालिकामा मात्रै यसवर्ष सुन्तला उत्पादनमा कमी आएको छ । उनका अनुसार ९२ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिँदै आएको यस क्षेत्रमा यो वर्ष एक हजार दुई दशमलब आठ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । उनले भने 'गत वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादन घटेको छ ।' गत वर्ष एक हजार १२० मेट्रिकटन सुन्तला उत्पादन भएको उनले जानकारी दिए । सुन्तलाका रुख बुढो हुनु र जलवायु परिवर्तनका कारण रोग लाग्दा उत्पादनमा कमी आए पनि किसानले मूल्य भने राम्रो पाएका हुन् । पौडेलका अनुसार इच्छाकामना गाउँपालिकामा आर्थिक वर्ष २०७९-८० मा १०८० मेट्रिक टन उत्पादन भएको थियो । २०८०-८१ मा केही उत्पादन घटेर १०३६ मेटिक टन उत्पादन भएको थियो । २०८१-८२ मा ११२० मेट्रिकटन र २०८२-८३ मा १००२.८ मेट्रिकटन उत्पादन भएको उनले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले यहाँको सुन्तलाको स्वाद मिठो भएका कारण बजार पाउन गाह्रो नभएकाे बताए । उनले भने, 'यहाँको सुन्तलाको स्वाद राम्रो भएकाले नारायणगढ, मुग्लिन, फिस्लिङ, काठमाडौँ र पोखरामा माग उच्च छ । व्यवसायी बगैँचामै आएर खरिद गर्छन् ।' इच्छाकामनामा सुन्तला खेतीको सम्भावना प्रचुर रहेको भन्दै उनले गाउँपालिका सुन्तलाखेती प्रवद्र्धनमा लागिरहेको बताए । उनले बीउबाट उत्पादित बिरुवा किसानलाई निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको बताउँछन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र बस्नेत सन्तुलाका बोटमा लाग्ने रोग नियन्त्रणका लागि जैविकि औषधि, पुराना बोट हटाएर नयाँ बिरुवा रोप्ने कार्यक्रम, किसानलाई थप तालिम र अनुदान जस्ता कार्यक्रम गाउँपालिकाले अघि सारेको बताउँछन् । उनले भने 'कृषि एम्बुलेन्सको व्यवस्था गरेर सुन्तला लगायतका कृषि उपजलाई बजारसम्म पुर्याउन पालिकाले सहयोग गर्दै आएको छ ।' कृषि विकास कार्यालय चितवनकी अधिकृत स्वस्तीका चौहान जिल्लामा सुन्तला उत्पादन राम्रो भएपछि उचित मूल्य पाएको बताउँछिन् । १४५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको बताउँदै उनले अहिले किसान सन्तुष्ट भएको बताइन् । अझै केही ठाउँको उत्पादन टिप्न बाँकी रहेकाले यस वर्षको उत्पादन कति भन्न सक्ने अवस्थामा नरहेको उनको भनाइ छ । भरतपुर महानगरपालिका–२९ को विभिन्न स्थानमा अझै सुन्तला टिप्न बाँकी रहेको छ । रासस
अल्पसंख्यकलक्षित अभिव्यक्तिमा राप्रपा उम्मेदवार भण्डारी विवादमा, निर्वाचन आयोगले माग्यो स्पष्टीकरण
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार तथा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी विवादमा तानिएका छन् । आयोगले भण्डारीलाई पत्राचार गर्दै उक्त अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भएकोले सचेत गराएको छ। भण्डारीले अल्पसंख्यक समुदायलाई लक्षित गरेको भनिएको अभिव्यक्तिका कारण निर्वाचन आयोगले उनीसँग लिखित स्पष्टीकरणसमेत माग गरेको छ । आयोगले सार्वजनिक रूपमा गरिएको उक्त भनाइले निर्वाचनको मर्यादा र आचारसंहिता उल्लङ्घन गरेकोले यसबारे स्पष्ट र औपचारिक जवाफ पेश गर्न निर्देशन दिएको छ ।
वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको निर्यात
वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ४८ अर्ब १० करोड रुपैयाँ मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ५२ प्रतिशत अर्थात १६ अर्ब ४३ करोड रुपैयाँ बढीको निर्यात भएको छ । गत आवको छ महिनाको अवधिमा भने ३१ अर्ब ६७ करोड रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवमा यहाँबाट हुने निर्यात ५२ प्रतिशतले बढेको बताए । चालु आवको छ महिनामा २५ अर्ब ४२ करोड रुपैयाँ मूल्यको भटमासको तेल प्रशोधित निर्यात भएको छ । तीन अर्ब ४८ करोड रुपैयाँ मूल्य पर्ने फलफूलको जुस र तीन अर्ब ५५ करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । त्यस्तै दुई अर्ब २५ करोड रुपैयाँ मूल्यको प्रशोधित पाम तेल निर्यात भएको छ । त्यस्तै एक अर्ब ७८ करोड रुपैयाँ मूल्य पर्ने विभिन्न किसिमका कपडा निर्यात भएको छ ।