भारी उपकरणको सहयोगमा सिंहदरबार भित्रका जलेका सवारी हटाइँदै
काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा राखिएका सवारीसाधन जलेपछि मंगलबारदेखि भारी उपकरण प्रयोग गरेर तिनलाई हटाउन प्रारम्भ भएको छ । आगजनीमा क्षतिग्रस्त एक हजार सवारीसाधन सडक विभागका चार वटा भारी उपकरण प्रयोग गरेर ती हटाउन थालिएको विभागले जनाएको छ । हालसम्म २०० वटा चारपाङ्ग्रे र ४०० दुईपाङ्ग्रे सवारीसाधन व्यवस्थापन गरिएको छ । जलेका सवारीसाधनको व्यवस्थापन नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्र परिसरमा गरिएको छ । सिंहदरबारभित्र जलेका सवारीको व्यवस्थापन पूरा भएपछि अन्य स्थानका जलेका सवारी उठाइने विभागका कर्मचारी विष्णुकुमार महर्जनले जानकारी दिए ।
बीमामा सानो गल्ती ठूलो समस्या, ध्यान दिनैपर्ने यी १० कुरा
काठमाडौं । बीमा अनिश्चित जोखिमबाट सुरक्षित हुने माध्यम हो । तर, धेरैले बीमाको वास्तविक फाइदा के हो भनेर बुझेका छैनन् । अरूले भनेको र सुनको आधारमा बीमा गर्ने धेरै जना छन् । धेरैजसो बीमितले नबुझीकन पोलिसी किन्छन् । तर सर्त, विवरण र दाबी प्रक्रिया बुझ्दैनन् । यसले पछि समस्यामा पार्छ । बीमाबाट वास्तविक फाइदा लिनको लागि बीमा गर्दा नै बीमित सचेत हुनुपर्छ । सही जानकारी र सावधानीले मात्रै बीमाबाट फाइदा लिन सकिन्छ । नेपाल बीमा प्राधिकरणले आफ्नै वेबसाइटमा बीमा सचेतनासम्बन्धी सूचना जारी गरेको छ । उक्त सूचनामा बीमितले बीमा गर्नुअघि ध्यान दिनुपर्ने थुप्रै विषय स्पष्ट गरिएको छ । प्रस्ताव फाराम स्पष्ट र सही भर्नुपर्ने बीमा प्राधिकरणका अनुसार बीमाको प्रस्ताव फाराम बीमितले सम्पूर्ण विवरण स्पष्टसँग खुलाई भर्नुपर्छ । फाराममा पेसा, व्यवसाय, उमेर, स्वास्थ्य अवस्था र आम्दानीका स्रोतहरू खुला रूपमा उल्लेख गर्नुपर्ने हुन्छ । यदि गलत वा अपूर्ण जानकारी फारममा उल्लेख गरेको छ भने बीमा दाबी अस्वीकृत हुन सक्छ । बीमा सम्बन्धी प्रस्ताव फाराम स्वयंले भर्ने प्राधिकरणका अनुसार बीमाको प्रस्ताव फाराम बीमितले स्वयंले सही र पूर्ण विवरणसहित भर्नुपर्छ । यदि बीमित निरक्षर छ वा फाराम भर्न सक्दैन भने, तोकेको व्यक्तिले मात्र फाराम भर्न सक्ने व्यवस्था हुन्छ । बीमा कम्पनीको बारेमा स्पष्ट जानकारी बीमालेखमा उल्लेखित सर्त एवं सुविधा बुझेर मात्रै बीमा गर्ने धेरै जनाले बीमा गर्दा बीमा पोलिसी नबुझीकन बीमा गर्ने गरेको पाइन्छ । कस्तो अवस्थामा दाबी पाइन्छ, पाइँदैनदेखि लिएर सबै सर्तहरु पोलिसीमा उल्लेख गरिएको हुन्छ । तर, बीमितले कुन-कुन अवस्थामा के-के जोखिम कभर हुँदैन भन्ने कुरा नबुझ्दा पछि समस्या आउने गरेको थुप्रै उदाहरणहरू छन् । प्राधिकरणले बीमालेखमा उल्लेखित सम्पूर्ण सर्त, सुविधा बुझेर मात्र बीमा गर्न प्राधिकरणले आग्रह गरेको छ । आवश्यकता र आम्दानीअनुसार बीमा गर्ने बीमितले आफ्नो आवश्यकता, पेशा व्यवसाय एव आम्दानीको स्रोत समेतलाई मध्यनजर गरी बीमा गर्नुपर्दछ, प्राधिकरणले भनेको छ, ‘ अन्यथा समय अवधि नहुँदै बीमालेखलाई निरन्तरता दिन नसकिने हुन्छ ।’ धेरैले बीमालाई नाफा कमाउने माध्यमको रुपमा बुझ्ने गरेका छन् । वास्तवमा बीमाको उद्देश्य जोखिम कभर हो । नाफा कमाउने माध्यमको रुपमा बुझेर कतिपय बीमितले आफ्नो आर्थिक हैसियत भन्दा माथि रहेर बीमा गर्ने गर्छन् र पछि निरन्तरता दिन नसक्दा बीचमै पोलिसी सरेण्डर गर्ने गरेका छन् । यसलाई न्यूनीकरण गर्नकै लागि प्राधिकरणले यस्तो आग्रह गरेको हो । बीमा शुल्क, नवीकरण र दाबीबारे स्पष्ट जानकारी बीमा गरेपछि बीमितले आफ्नोतर्फबाट सबै काम सकियो भनेर चुपचाप बस्ने गरेको पनि पाइन्छ । तर बीमा शुल्क बुझाउने समय, नवीकरण, दाबी प्रक्रियाबारे भने राम्रोसँग बुझेका हुँदैनन् । प्राधिकरणका अनुसार बीमालेख खरिद गर्नु अघि बीमा शुल्क बुझाउने समय, नवीकरण मिति, इच्छाएको व्यक्तिको नाम र दाबी रकम पाउने वा नपाउने अवस्था बारे स्पष्ट हुनुपर्छ । त्यस्तै बीमा शुल्क बुझाएपछि अनिवार्य रुपमा आधिकारिक रसिद लिनु बिर्सनु हुँदैन । बीमा कम्पनीको बारेमा स्पष्ट जानकारी बीमितले आफूले बीमा गर्न लागेको बीमा कम्पनीको बारेमा राम्रोसँग बुझेर मात्र बीमा गर्नुपर्दछ । प्राधिकरणका अनुसार बीमा अभिकर्ता वा अरूले भनेको आधारमा मात्रै विश्वास गरेर पोलिसी लिनु हुँदैन । आफूले कुन कम्पनीमा बीमा गर्न लागेको हो त्यसबारे बीमित आफै स्पष्ट हुनुपर्छ । सम्पूर्ण कागजातहरू सुरक्षित राख्ने बीमा सम्बन्धी नीति-नियमबारे सामान्य जानकारी बीमितले राखि राख्नुपर्छ । प्राधिकरणका अनुसार बीमालेख, भुक्तानी रसिद र सम्पर्क विवरणहरू सुरक्षित रूपमा राख्नुपर्दछ । प्रविधिको विकाससँगै विभिन्न बैंक तथा एसएमएसमार्फत घरमै बसी बीमा शुल्क बुझाउन सकिने भएको हुँदा सो सम्बन्धी यथेष्ट जानकारी लिएर मात्र बीमा गर्नुपर्ने प्राधिकरणको सल्लाह छ । परिवारलाई जानकारी बीमा गरेपछि आफ्नो परिवार वा इच्छाइएको व्यक्तिलाई बीमाको प्रकार, कम्पनीको नाम, पोलिसी नम्बर र दाबी प्रक्रिया बारे जानकारी गराउनुपर्छ । कतिपय अवस्थामा परिवार वा इच्छाएको व्यक्तिले यसबारे जानकारी नपाउँदा बीमाबाट पाउने सुविधा गुमाइरहेका हुन्छन् ।
आइजीआई प्रुडेन्सियल र काठमाडौं नेशनल मेडिकल कलेजबीच क्यासलेस सेवा सम्झौता
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र काठमाडौं नेशनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल (एसबी हेल्थ केयर प्रालि) बीच नगदरहित (क्यासलेस) सेवा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार, आइजीआई प्रुडेन्सियलका बीमितहरूले अस्पतालमा उपचार गर्दा नगद रकम तिर्नु नपर्ने र बीमा कम्पनीले सो रकम सिधै अस्पताललाई भुक्तानी गर्ने व्यवस्था हुनेछ । यसले बीमितहरूलाई आकस्मिक अवस्थामा सहज उपचार प्राप्त गर्न सहयोग पुर्याउने कम्पनीले जनाएको छ । सम्झौतामा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका तर्फबाट जनरल म्यानेजर तथा प्रमुख सञ्चालन अधिकृत (सीओओ) शरण रेग्मी र काठमाडौं नेशनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) जहान्गिर अन्सारीले हस्ताक्षर गरेका हुन् । आइजीआई प्रुडेन्सियलले देशभरका विभिन्न अस्पतालहरूसँग यस किसिमका सम्झौताहरू गर्दै आएको छ । जसको उद्देश्य बीमित ग्राहकहरूलाई सहज, द्रुत र विश्वासिलो स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको बताइएको छ ।
राजनीतिक निष्क्रियता र बेथिति विरुद्ध २८ जनाको सामूहिक अपिल, वैकल्पिक शक्ति निर्माणको आह्वान
काठमाडौं । वर्तमान राजनीतिक अन्योल, भ्रष्टाचार, गैरजिम्मेवारी र सत्ताको भागबण्डाले निराश नेपाली नागरिक समाजका विभिन्न क्षेत्रमा सक्रिय २८ जना व्यक्तिहरूले संयुक्त अपिल जारी गरेका छन् । ‘हाम्रो आह्वान’ शीर्षकको अपिलमार्फत उनीहरूले पुराना दलहरूप्रति असन्तुष्टि जनाउँदै नयाँ राजनीतिक विकल्प निर्माणको आह्वान गरेका हुन् । उनीहरूले नेपालको राजनीतिक नेतृत्वले जनताको भावना अनुसार देशको दिगो भविष्यको दिशा तय गर्न नसकेको बताएका छन् । अपिलमा दलहरूबीचको सत्ताको हानथाप, भ्रष्टाचार र अनैतिक अभ्यासहरूको आलोचना गर्दै अब नयाँ सोच, नेतृत्व र संरचनाको खाँचो रहेको उल्लेख गरिएको छ । अपिलमा कलाकार, लेखक, पत्रकार, अधिवक्ता, अधिकारकर्मी, अभियन्ता, प्राध्यापकलगायत विभिन्न पेशाका व्यक्तिहरूको हस्ताक्षर रहेको छ । अपिलको अन्त्यमा उनीहरूले भनेका छन्, 'हामी समयले तेस्र्याएका प्रश्नहरूलाई टारेर होइन, जुझेर भविष्यको बाटो बनाउने प्रयत्नमा छौँ ।'
श्रीलङ्काको मन्दीबाट रिकभरी ‘असमान’ र सुस्त : विश्व बैंक
काठमाडौं । विश्व बैंकले मङ्गलबार नगद सङ्कटमा परेको श्रीलङ्काको सबैभन्दा खराब आर्थिक मन्दीबाट पुनःप्राप्ति ‘असमान र अपूर्ण’ रहेको र धेरै घरपरिवारले सन् २०२२ को सङ्कटको समयमा गुमाएको जीविकोपार्जन पुनः प्राप्त गर्न नसकेको बताएको छ । दक्षिण एसियाली यस टापु राष्ट्रको पछिल्लो समीक्षामा विश्व बैंकले सन् २०२५ मा ४.६ प्रतिशत र सन् २०२६ मा ३.५ प्रतिशतमा अर्थतन्त्र वृद्धि हुने अनुमान गरेको छ । यो गत वर्षको ५ प्रतिशतबाट घटेको हो । श्रीलङ्काको अर्थतन्त्रले सन् २०२२ मा सबैभन्दा खराब मन्दीको सामना गरेको थियो । उक्त वर्ष अर्थचतन्त्र ७.३ प्रतिशतले सङ्कुचित भएको थियो । सोही समयमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षलाई महिनौँको सडक विरोधपछि राजीनामा दिन बाध्य पारिएको थियो । 'यद्यपि हालको आर्थिक प्रगति उत्साहजनक छ, रिकभरी असमान र अपूर्ण छ', विश्व बैंकका श्रीलङ्का विश्लेषक डेभिड सिस्लेनले कोलम्बोमा पत्रकारहरूलाई भने । गरिबी दर घटेको भए पनि सन् २०१९ को तुलनामा अझै दोब्बर उच्च रहेको छ । 'श्रम बजार सुधार गर्न ढिलो भएको छ', सिस्लेनले भने, 'दुई करोड २० लाख मानिसमध्ये करिब १० प्रतिशत अझै गरिबीको रेखामुनि बस्छन् ।' खाद्यान्न मूल्य उच्च रहिरहँदा विशेष गरी कमजोर समूहहरूमा कुपोषण गम्भीर समस्या बनेको छ । देशले सन् २०२२ अप्रिलमा ४६ अर्ब डलरको विदेशी ऋण चुकाएको थियो र सन् २०२३ को सुरुमा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट दुई अर्ब ९० करोड डलरको चार वर्षे बेलआउट प्राप्त गरेको थियो । एक वर्षअघि सत्तामा आएका राष्ट्रपति अनुरा कुमार दिसानायकेको प्रशासनले उनका पूर्ववर्तीले ल्याएका धेरै कठोर उपाय र उच्च करहरू कायम राखेको छ । रासस
दशैंपछिको पहिलो कारोबारमा सेयर बजार उच्च अंकले घट्यो, सबै समूहका सूचक घटे
काठमाडौं । दशैंपछि खुलेको सेयर बजारमा उच्च अंकले गिरावट आएको छ । नेप्से परिसूचक ५८.५५ अंक (९२.१९ प्रतिशत) घटेर २६०४ अंकमा कायम भएको छ । कुल ४ अर्ब ६२ करोडको कारोबार भएको छ । आज १६ कम्पनीको मूल्य बढ्दा २३५ कम्पनीको मूल्य घटेको छ भने एउटाको मूल्य स्थिर रहेको छ । सबै समूहका सूचक घटेका छन् । अन्य समूह सबैभन्दा बढी ४.८३ प्रतिशतले घटेको छ । नेपाल पुनर्बीमाको मूल्य भारी दरले घट्दा यस समूह बढी प्रभावित भएको छ । बैंकिङ १.३२, विकास बैंक २.३८, फाइनान्स १.१२, होटल तथा पर्यटन २.७२, हाइड्रोपावर २.७४, लगानी १.९१, जीवन बीमा १.८६, उत्पादन तथा प्रशोधन १.८५, माइक्रोफाइनान्स १.८७, निर्जीवन बीमा २.०४ र व्यापार १.१७ प्रतिशतले घटेको छ । भूगोल इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । नेपाल पुनर्बीमाको ८.५७, माथिल्लो मैलुङखोलाको ७.२१ तथा पन्चकन्या माइ हाइड्रोपावरको ६.८७ प्रतिशतले घटेको छ । आज ऋणपत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ । मूल्य धेरै बढ्नेमा सेन्चुरी डिबेन्चर १० प्रतिशत , एनआईसी एसिया ऋणपत्र ९.११ प्रतिशत र स्टान्डर्ड चार्टर्ड डिबेन्चर ९ प्रतिशत मूल्य वृद्धिसहित अगाडि छन् । धेरै कारोबार भएका कम्पनीहरूमा युनियन हाइड्रोपावर, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट र सिनर्जी पावर डेभलपमेन्ट रहेका छन् ।
विशेष महाधिवेशनका लागि २४ असोजभित्र हस्ताक्षर गरिसक्न विश्वप्रकाश शर्माको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि यही असोज २४ गतेभित्र हस्ताक्षर गरिसक्न महाधिवेशन प्रतिनिधिहरूलाई अपिल गरेका छन् । भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्, 'हस्ताक्षर गर्न चाहनुहुन्छ भने २४ गतेभित्रै गर्नुस् ।' आगामी असोज २६ गते नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्ने तय भएको छ । सो बैठकपछि हस्ताक्षर गर्ने सोच बनाएका केही प्रतिनिधिहरूलाई सन्देश दिँदै शर्माले भनेका छन्, 'लगनपछिको पोते के काम !' महामन्त्री शर्माले विशेष महाधिवेशन सम्पन्न हुँदा पार्टी अझ बलियो र एकताबद्ध बन्ने विश्वास व्यक्त गरेका छन् ।
एमएडब्लु वृद्धिले नेपालकै ठूलो एक्सचेन्ज मेला आयोजना गर्दै, १५ लाख रुपैयाँसम्मको अफर
काठमाडौं । एमएडब्लु वृद्धिले आउँदो शुक्रबार (असोज २४ गते) देखि काठमाडौं गैरीधारास्थित एलिस रिसेप्सन र देशभरका दिपल, नामी र सेरेसका अधिकृत सोरुमहरुमा एकैसाथ देशव्यापी रुपमा चाडवाड लक्षित मेगा एक्सचेन्ज कार्निभलको आयोजना गर्ने भएको छ । कम्पनीका अनुसार तीन दिनसम्म चल्ने यो एक्सचेन्ज मेलामा ग्राहकहरुले आफ्ना पुराना गाडीहरु साटेर नेपालकै सबैभन्दा स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड इभीमा अपग्रेड गर्ने सक्नेछन् । काठमाडौंमा आयोजना हुने मुख्य कार्यक्रममा ग्राहकले दिपल, अवतार, नामी र सेरेस जस्ता नेपालका शिर्ष इभी ब्रान्डका चर्चित मोडलहरु एउटै स्थानमा अवलोकन गर्न र टेस्ट ड्राइभ गर्न पाउनेछन् । यसका साथै, सबै उमेर समूहका लागि मिल्ने मनोरञ्जन केन्द्र पनि हुनेछ । आगन्तुकहरुले ह्युमनोइठ रोबोट सो, कार रेसिंग सिमुलेटर, किड्स जोन र इनडोर गेमका साथै रिफ्रेसमेन्टको मज्जा लिन सक्नेछन् । ग्राहकहरुले एक्सचेन्जमेलामा नेपालका शीर्ष पाँच रिकन्डिसन हाउसमार्फत् आफ्ना पुराना गाडीहरुको सर्वोत्कृष्ट मूल्यांकन गराउन सक्नेछन् । यसका साथै ग्राहकले एक्सचेन्जमा बोनस र नगद छुट पनि पाउनुहुनेछ जसबाट निश्चित मोडेलहरुमा अधिकतम १५ लाख रुपैयाँसम्मको लाभ पाउन सक्नेछन् । यो कार्यक्रममा बुकिंग गर्ने हरेक ग्राहकले नगरकोटस्थित प्रिमियम रिसोर्टमा एक जोडीले नाइट स्टेको पनि अफर पाउनेछन् । एक्सचेन्ज कार्निभलमा पहिलो पटक अल्ट्रा प्रिमियम इलेक्ट्रिक एसयुभी अवतारलाई टेस्ट ड्राइभ गर्न सक्नेछ । साथै नाडा अटोसोमा सो स्टपर बन्न सफल दिपल एस०५ र सेग्मेन्ट फस्ट फिचरहरुले भरिएको नामी भिगो पनि प्रदर्शनमा राखिनेछ । काठमाडौंबाहेक नेपालभरका दिपल, नामी र सेरेसका सम्पूर्ण सोरुममा पनि एक्सचेन्ज कार्निभल आयोजना हुनेछ जहाँ ग्राहकले एक्सचेन्ज सुविधा, नगद छुट र अन्य धेरै अफर पाउने कम्पनीले जनाएको छ ।