विकासन्युज

काठमाडौं फर्कदा बढी भाडा असुल्नेलाई कारबाही

चितवन । राजधानी फर्कने यात्रुसँग बढी भाडा लिएको गुनासोपछि स्थानीय प्रशासनले अनुगमन गरी बढी भाडा लिने सवारीसाधनका चालक र धनीलाई कारबाही गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा अनुगमनमा गएको सुरक्षा निकायका प्रमुखसहितको टोलीले उनीहरुलाई कारबाही गरेको हो ।  जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार नारायणगढको पुलचोक, पोखरा बसपार्क र आँपटारीमा प्रमुख जिल्ला अधिकारी अर्याल, प्रहरी उपरीक्षक गोविन्द पुरी, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख सुरेश तिवारीसहितको टोलीले सडकमा जाँच गरी कारबाही गरेको हो । सो क्रममा बढी भाडा लिने ६ जनालाई नियन्त्रणमा लिइएको छ । यात्रुलाई बढी भाडाको टिकट दिएर चलानीमा कम रकम उल्लेख गरेर ठगी गरेकालाई कारबाही गरिएको हो । सो क्रममा २५ माइक्रोबसले उठाएको बढी भाडा फिर्ता समेत गरिएको प्रहरी निरीक्षक शर्माले बताए । प्रमुख जिल्ला अधिकारी अर्यालयका अनुसार चलानीबिना यात्रु लिएर हिँडेका सवारी चालक र बढी भाडा असुल गरेकालाई सचेत गराइएको, भाडा फिर्ता गराइएको, जरिवाना लगाइएको र नियन्त्रणमा लिइएको छ । अटेर गरेकालाई पक्राउ गरी कालोबजारी ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । चितवन हुँदै काठमाडौंतर्फ गुड्ने सवारीसाधनमा अनुगमन गरिएको हो ।  दसैँ मानेर काठमाडौं फर्किनेको चाप बढेपछि यातायात व्यवसायीले उनीहरुबाट चर्को भाडा असुल्ने गरेको गुनासो सुनेपछि नियमित रुपमा अनुगमन गर्न थालिएको प्रहरी उपरीक्षक पुरीले बताए ।  

जेनजी आन्दोलनका क्रममा भागेका कैदी नियन्त्रणमा नलिएसम्म भिसामा कडाइ हुन सक्ने

काठमाडौं । संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्रीले जेनजी आन्दोलन पश्चात् उत्पन्न राजनीतिक जटिल परिस्थितिका कारण यूएईले भिजिट, कामदार र विद्यार्थी भिसामा कडाइ गरेको बताएका छन् । जेनजी आन्दोलनको बेला बाहिरी निस्किएका कैदी बन्दीलाई नियन्त्रणमा नलिएसम्म भिसामा कडाइ हुन सक्ने उनले बताए ।  ‘युएई आफैंमा अत्यन्त शान्त, सुरक्षित तथा विकास, प्रगति र आर्थिक समृद्धिमा अगाडि बढिरहेको देश हो । नेपालमा जेनजी आन्दोलनपछि जेलमा रहेका धेरै कैदीबन्दी तथा अपराधी बाहिरिएका छन् । जतिसक्दो छिटो हामी ती कैदीहरूलाई पुनः नियन्त्रणमा ल्याउँदैनौँ, तबसम्म युएईजस्ता देशहरूले भिसामा कडाइ हुन सक्ने देखिन्छ,’ उनले भने । राजदूत क्षेत्रीका अनुसार युएई सरकारले भिसा कडाइ गरेको विषयमा कुनै औपचारिक जानकारी दूतावासले प्राप्त गरेको छैन । यद्यपि देशको सुरक्षाको दृष्टीले सावधानी अपनाउन युएई सरकारले कदम चालेको हुन सक्ने उनले बताए । ‘नेपालमा छिट्टै शान्ति र अमन चयन तथा स्थिरता र विश्वसनीय वातावरण हुना साथ भिसा नीतिमा फेरि सहजता हुनेछ । युएईमा रहेका नेपालीहरू मेहनती, इमान्दारी, लगनशील, सरल, शिष्ट तथा बफादार भएकाले पनि नेपालीहरूलाई युएई सरकार र जनताले रोजगारीमा प्राथमिकतामा राखेको छ,’ उनले भने । युएईमा रोजगारीका नाममा नेपालीले नेपालीलाई गर्ने ठगी र मानव बेचबिखनका घटनाबारे उनले गम्भीर चिन्ता व्यक्त गरे । भिजिट भिसा लिएर काम दिलाई दिने नाममा केही दलालहरूले नेपालीहरूबाट ठगी गर्ने क्रम बढेको उनको भनाइ छ ।  ‘दूतावासमा यस्ता घटनाबारे धेरै उजुरी आएका छन् । यस्ता अपराध गम्भीर प्रकृतिका छन् र नेपालकै कानुन अनुसार कडाभन्दा कडा सजाय हुनुपर्छ । प्रमाणसहित उजुरी आए अनुसन्धान र कारबाही तुरुन्त अघि बढाइन्छ,’ उनले भने ।  युएई रोजगारीमा आउँदा सरकारबाट मान्यता प्राप्त एजेन्सीबाट मात्र आउनु र सरकारले तोकेको रकम मात्र बैंक भौचर वा ट्रान्सफरको प्रमाण राख्नु पर्ने उनले बताए ।  उनका अनुसार युएईमा नेपालीहरूको संख्या ७ लाख भन्दा बढी रहेकाले विभिन्न ठगी, मानव बेचविखन तथा आपराधिक घटनाहरू तीव्र रूपमा बढ्दै गएका छन् । 

अख्तियार प्रमुख राईको राजीनामा माग, जेनजीको प्रदर्शन

काठमाडौं । जेनजी युवाहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग्दै प्रदर्शन गरेका छन् । उनीहरूले आज बिहान टंगालस्थित अख्तियार आयोगको मुख्यालय अगाडि सडकमा प्रदर्शन गरेका हुन् । प्रदर्शनलाई लक्षित गर्दै सुरक्षा निकायले आसपासका क्षेत्रमा कडा निगरानी र अतिरिक्त सुरक्षाकर्मी तैनाथ गरेको थियो । प्रदर्शनमा सहभागी अमित खनाल ओझाले अख्तियार प्रमुख राईले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । जेनजी युवाहरूले यसअघि पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नियुक्त भएका ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति खारेज गर्न माग गर्दै आएका छन् ।  जेनजी मुभमेन्ट अलायन्सले राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग्दै आज आयोगमै औपचारिक पत्र पनि बुझाएको छ । जेनजीले हिजो मात्र प्रमुख आयुक्त राईलाई इमेलमार्फत स्वेच्छिक राजीनामाको आग्रह गरेको थियो । 

सुनको मूल्य निरन्तर अकासिँदो, तोलाको दुई लाख ३५ हजार ४००

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा मंगलबार एक तोला सुन दुई हजार ३०० ले महँगो भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार दुई लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको एक तोला सुनको मोल आज दुई हजार ३०० रुपैयाँले बढेर दुई लाख ३५ हजार ४०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने स्थिर छ । सोमबार एक तोला चाँदी दुई हजार ९६० रुपैयाँमा खरिदबिक्री भएको थियो । गत आइतबार एक तोला सुन दुई लाख ३० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार ९३० रुपैयाँमा क्रयविक्रय भएको थियो ।  अन्तरराष्ट्रिय बजारमा मंगलबार एक औँस सुन तीन हजार ९६५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।   

एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एसवाई प्यानल नेपालको आईपीओमा आवेदन दिने आज असोज २१ गते अन्तिम दिन रहेको छ । असोज ७ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय रुपैयाँको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । जसमध्ये २ प्रतिशत अर्थात् २ लाख ६१ हजार ६२७ कित्ता सेयर उद्योग प्रभावित क्षेत्र चितवनको रत्ननगर नगरपालिकाका स्थानीय बासिन्दालाई छुट्याएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले प्रभु बैंकको सौराहा र टाँडी शाखा, उद्योगको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

तरलता घटाउन ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले मंगलबार ९० अर्ब निक्षेप खिच्दैछ । नेपाल राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरण बोलकबोलमार्फत तरलता कम गर्न निक्षेप खिच्न लागिएको हो ।  ब्याजदर अनलाइन बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । मंगलबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ कात्तिक २ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।  अहिले कुल निक्षेप ७३ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालिन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ ।  यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।  

सुमेरु पोलिमर्सले आईपीओ निष्काशन गर्ने, सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

काठमाडौं । सुमेरु पोलिमर्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको हाे । कम्पनीले कुल ६ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । यस सम्बन्धमा गत असोज १२ गते काठमाडौंको नक्सालस्थित सिद्धार्थ क्यापिटलको कार्यालयमा दुबै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा सुमेरु पोलिमर्स लिमिटेडका प्रबन्ध सञ्चालक दिवस घिमिरे र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन् ।

सूर्यज्योति लाइफले ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा सहयोग गर्‍यो डेढ करोड रुपैयाँ

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । इन्स्योरेन्सले राष्ट्र र समुदायका लागि आवश्यक परेको हरेक समयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग गर्दै आएको छ । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा देशभरका सार्वजनिक तथा सरकारी भौतिक संरचनामा आगजनी र तोडफोड हुँदा भएको ठूलो क्षतिपछि नेपाल सरकारले ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ स्थापना गरेको छ । राष्ट्र पुनर्निर्माणको यस महान अभियानमा सहभागी हुँदै सूर्यज्योति लाइफले उक्त कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोगको चेक कम्पनीका सञ्चालक चुडामणि देवकोटा र प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले मंगलबार अर्थमन्त्रीसमक्ष हस्तान्तरण गरेका छन् । कम्पनीले विगतमा पनि विशेष गरी शिक्षा र स्वास्थ्य क्षेत्रका लागि निरन्तर सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको छ । प्रमुख कार्यकारी अधिकृत खत्रीले हाल गरिएको यो योगदानले क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत कार्यमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता राष्ट्रिय अभियानमा सूर्यज्योति लाइफ सधैं अग्रसर रहने प्रतिबद्धता जनाएका छन् ।