लुम्बिनीमा म्यारियट प्रवेश, नेपालको पहिलो पाँचतारे वाटर तथा इको–रिसोर्ट सञ्चालनमा आउने
काठमाडौं । लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडले विश्वप्रसिद्ध होटल चेन म्यारियट इन्टरनेशनलसँग साझेदारी गरी ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’ ब्रान्डअन्तर्गत रिसोर्ट सञ्चालन हुने भएको छ । दुवै पक्षबीच औपचारिक होटल म्यानेजमेन्ट एग्रिमेन्ट (एचएमए) मा हस्ताक्षर भएसँगै रिसोर्टलाई पाँचतारे स्तरमा स्तरोन्नति गरिने भएको हो । रिसोर्ट रुपन्देही जिल्लाको सियारी गाउँपालिका–५ मा सन् २०१८ देखि सञ्चालनमा छ। काठमाडौं उपत्यकाबाहिर नेपालमा म्यारियट इन्टरनेशनलको यो पहिलो तथा एकमात्र उपस्थिति हो । सम्झौता दुवै संस्थाका शीर्ष नेतृत्वको उपस्थितिमा सम्पन्न भएको हो । सम्झौतामा लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडका तर्फबाट अध्यक्ष दीपक पाण्डे र प्रबन्ध निर्देशक रोशनकुमार न्यौपाने सहभागी थिए भने म्यारियट इन्टरनेशनलका तर्फबाट एशिया प्यासिफिक क्षेत्रका चिफ अपरेसन अफिसर नीरज गोविल, दक्षिण एशिया विकास विभागका वरिष्ठ उपाध्यक्ष किरण एन्डिकट तथा उपाध्यक्ष जुही रोय सहभागी थिए । रिसोर्टले चालू आर्थिक वर्षको अन्त्यसम्म पाँचतारे होटल सञ्चालनको इजाजतपत्र प्राप्त गर्ने लक्ष्य लिएको जनाएको छ । ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’ अत्याधुनिक प्रविधि र विश्वस्तरीय सेवासुविधासहित नेपालको पहिलो तथा एकमात्र पाँचतारे वाटर रिसोर्टका रूपमा सञ्चालनमा आउनेछ । रिसोर्टमा म्युजिकल फाउन्टेन, थ्री डी वाटर स्क्रिन, मोटर बोटिङ, मिनी क्रुज, वाटर रेस्टुरेन्ट तथा वाटर स्पाजस्ता सुविधा समावेश गरिनेछन् । साथै वैश्विक जलवायु चुनौतीलाई ध्यानमा राख्दै परियोजनालाई ग्रीन सर्टिफाइड (गोल्ड) वेलनेस रिट्रिट तथा इको–रिसोर्टका रूपमा विकास गरिएको जनाइएको छ । परियोजनाले नेपालमा खेलिने प्रमुख खेलकुदलाई समर्थन गर्ने विश्वस्तरीय पूर्वाधार निर्माण गर्दै रिसोर्टलाई स्पोर्ट्स टुरिज्मको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य पनि लिएको छ । यससँगै रिसोर्टले नेपालको पहिलो अर्गानिक पाँचतारे वेलनेस लक्जरी रिसोर्टका रूपमा नेचुरोथेरापी अभ्यास गर्ने पनि जनाइएको छ । रिसोर्ट परिसरमा बुद्ध थिम पार्क निर्माण गरिने बताइएको छ, जसअन्तर्गत मिनी स्तूपा, मिनी बुद्ध संग्रहालय, ध्यान क्षेत्र र सांस्कृतिक केन्द्र समावेश हुनेछन् । रिसोर्टलाई अन्तर्राष्ट्रिय सम्मेलन, डेस्टिनेसन विवाह तथा वाटर, इको, वेलनेस, खेलकुद र सांस्कृतिक पर्यटनका लागि प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ । परियोजनाले पर्यटन प्रवर्द्धनसँगै रोजगारी सिर्जना, स्थानीय उत्पादनको उपयोग र स्थानीय अर्थतन्त्र सुदृढीकरणमा योगदान गर्ने अपेक्षा गरिएको छ । यसैबीच, लुम्बिनी प्यालेस रिसोर्टले उक्त परियोजनामा सार्वजनिक लगानी आकर्षित गर्न प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओको लागि तयारी भइरहेको जानकारी पनि दिएको छ ।
सिंगटी हाइड्रोले ३ करोड ४ लाख ५० हजार कित्ता हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक साधारण सभाबाट स्वीकृत प्रस्तावअनुसार चुक्ता पूँजीको १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ३ करोड ४ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गरिनेछ । हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतामा बुधबार सिंगटी हाइड्रो इनर्जीका तर्फबाट प्रबन्ध सञ्चालक सुदीप खड्का र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् । कम्पनीका अनुसार हकप्रद सेयर निष्कासनबाट संकलित रकम अन्य हाइड्रोपावर कम्पनीहरूमार्फत प्रवर्धन गरिएका ६१.११ मेगावाट क्षमताको नारखोला जलविद्युत आयोजना तथा ८६.५९ मेगावाट क्षमताको लान्द्रुक मोदी जलविद्युत आयोजनामा लगानी गर्न प्रयोग गरिनेछ । हकप्रद सेयरमार्फत पूँजी संरचना मजबुत बनाउँदै दीर्घकालीन ऊर्जा परियोजनामा लगानी विस्तार गर्ने सिंगटी हाइड्रो इनर्जीको लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
डडेल्धुरा अस्पतालका अध्यक्ष ओझामाथि कालो मोसो प्रहार, कारवाहीको माग गर्दै कर्मचारी आन्दोलित
काठमाडौं । डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझामाथि कार्यकक्षमै कालो मोसो प्रहार भएको छ । बुधबार (आज) दिउँसो कार्यकक्षमै रहेका बेला आएका अज्ञात व्यक्तिले कालोमोसो दलेका थिए । नचिनेका केही व्यक्ति कार्यकक्षमा आएर ने.क.पा. बहुमतको सदस्य रहेको बताउँदै उनीमाथि कालो मोसो दलेको बताइएको छ। ओझामाथि कालोमोसो दलिएको फोटो बुधबार सामाजिक सञ्जाल भाइरल भएको छ । जहाँ कालोमोसो दल्नेहरूले नेकपा बहुमत जिन्दावाद, भ्रष्टाचारी होसियार भन्दै कालो मोसो प्रहार गरिएको देखिएको छ । कालोमोसो दल्नेहरू हतारहतार जंगलतिर भागेका थिए । कार्यकक्षमा प्रवेश गर्दा सामान्य व्यवहार देखाए पनि एक्कासि मोसो प्रहार गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अध्यक्षमाथि मोसो प्रहार गरिएकोमा अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले दुर्व्यवहार गर्ने विरुद्ध कानुनी कारवाहीको माग गर्दै आन्दोलन सुरु गरेका छन् । उनीहरूले दुर्व्यवहार गर्ने माथि कारवाही नहुँदासम्म आकस्मिक बाहेकका सेवा नदिने बताउँदै बिरामीप्रति पर्ने असुविधाप्रति माफी मागेका छन् । ‘यस क्षेत्रको समग्र स्वास्थ्य प्रणाली र अस्पतालबाट प्रवाह हुने सेवा सुविधामा अहोरात्र दिनरात नभनी अग्रपङ्क्तिमा खटेर बिरामी सेवाग्राही नागरिकहरूको सहज र प्रभावकारी उपचार पद्धति व्यवस्थापनमा सर सल्लाह र सामुदायिक अपनत्व लिने वातावरण सिर्जना गर्न कियाशिल रहनुभएका विकास समिति अध्यक्ष माथि यस संवेदनशील संस्थाभित्र प्रवेश गरि प्रमाणविहीन र तथ्यहीन आरोपहरू लगाउँदै अस्पताल जस्तो गरिमामय पवित्रस्थलमा गरिएको व्यवहारले लज्जित तुल्याएको छ, अस्पतालले निकालेको विज्ञप्तिमा भनिएको छ । कर्मचारीले यस्ता घटनाले अस्पतालको सेवा प्रवाह तथा अस्पतालमा कार्यरत सबै तहका कर्मचारीहरू र पदाधिकारीहरूको मनोबलमा गिराउने काम भएको बताएका छन् । घटनाको दोषीमाथि छानबिन गरी कानुन बमोजिम कारवाही गर्न माग गर्दै कर्मचारीले भविष्यमा यस्ता अराजक गतिविधिहरू हुन नदिन स्थानीय प्रशासन र सुरक्षा निकायलाई आग्रह गरेका छन्
अब सामाजिक सुरक्षा सेवामा राष्ट्रिय परिचय नम्बर अनिवार्य
काठमाडौं । सामाजिक सुरक्षा सेवामा नागरिकको पहिचान प्रमाणीकरणलाई थप प्रभावकारी बनाउँदै अब योगदानकर्ता तथा लाभग्राहीका लागि राष्ट्रिय परिचय नम्बर अनिवार्य हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र सामाजिक सुरक्षा कोषबीच बुधबार (आज) राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली प्रयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै योगदानकर्ताका लागि राष्ट्रिय परिचय नम्बर अनिवार्य हुने भएको हो । समझदारीपत्रमा सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारी र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका तर्फबाट महानिर्देशक नमराज घिमिरेले हस्ताक्षर गरे । समझदारीअनुसार अब सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई सामाजिक सुरक्षा नम्बर जारी गर्ने, विवरण अद्यावधिक गर्ने तथा सेवा प्रवाह गर्नुअघि लाभग्राहीको पहिचान प्रमाणीकरण गर्दा राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमार्फत उपलब्ध हुने विद्युतीय सेवाहरू प्रयोग गर्नेछ । राष्ट्रिय परिचय नम्बरका आधारमा नागरिकको नाम, जन्ममिति, ठेगानालगायत जनसांख्यिक विवरण प्रमाणीकरण गर्ने, आवश्यक तथ्याङ्क उपलब्ध गराउने तथा जैविक (बायोमेट्रिक) विवरण प्रमाणीकरण गर्ने सेवाहरू प्रदान गरिने उल्लेख छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार जैविक विवरणलाई प्रणालीमा रहेको तथ्याङ्कसँग भिडान गरी नागरिकको पहिचान यकिन गरिनेछ । समझदारीमा विदेशमा रहेका नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्रका लागि आवेदन तथा विवरण संकलन प्रक्रियामा सामाजिक सुरक्षा कोषलाई समेत संलग्न गराई कोषमा सूचीकरण गर्न समन्वय गर्ने व्यवस्था पनि गरिएको छ । यससँगै डेटा सुरक्षा, प्रणाली पहुँच, प्रमाणीकरण तथा आवश्यक प्राविधिक सहयोगसम्बन्धी प्रावधानहरू समेत समेटिएका छन् । समझदारीपत्र हस्ताक्षर भएको मितिदेखि लागू हुने र आपसी सहमतिमा परिमार्जन गर्न सकिने जनाइएको छ ।
हिमपात र अत्यधिक चिसोका कारण पेरिसमा १४० उडान रद्द
पेरिस । हिमपात र अत्यधिक चिसोका कारण बुधबार बिहान फ्रान्सको राजधानी पेरिसस्थित चाल्र्स डे गल विमानस्थलमा करिब १०० उडान रद्द गरिएको छ भने ओर्ली विमानस्थलमा थप ४० उडान स्थगित गरिएको फ्रान्सका यातायातमन्त्री फिलिप टबारोटले जानकारी दिएका छन् । मङ्गलबार राति उडान अवरोधको सम्भावना देखिएको उल्लेख गर्दै मन्त्री टबारोटले सिएनयुज टेलिभिजनसँग कुरा गर्दै ‘आज दिउँसोसम्म अवस्था क्रमशः सामान्य हुने अपेक्षा गरिएको’ बताए । उनका अनुसार मौसम सुधारसँगै हवाई आवागमन पनि पुनः नियमित हुने आशा गरिएको छ । हिमपातका कारण पेरिस र आसपासका उपनगरहरूमा चल्ने सबै सार्वजनिक बस सेवाहरू अस्थायी रूपमा स्थगित गरिएको छ । तर, यातायात अधिकारीहरूका अनुसार मेट्रो र उपनगरीय रेल सेवाहरूको ठूलो हिस्सा भने सञ्चालनमै रहेको छ, जसले यात्रुहरूलाई आंशिक राहत दिएको छ । फ्रान्सको राष्ट्रिय मौसम सेवा मेटिओ–फ्रान्सले देशका ९६ मुख्य भूमि विभागहरूमध्ये ३८ विभागमा भारी हिमपात र कालो बरफको जोखिम रहेको भन्दै सतर्कता जारी गरेको छ । ती क्षेत्रमा तीनदेखि सात सेन्टिमिटर अर्थात् करिब एकदेखि तीन इन्चसम्म हिउँ जमिसकेको छ । मौसम सेवाले हाल देखिएको चिसोलाई ‘यस मौसमका लागि दुर्लभ रूपमा तीव्र’ भएको उल्लेख गरेको छ । यसअघि नै अधिकारीहरूले पेरिस क्षेत्रका बासिन्दाहरूलाई अनावश्यक यात्रा नगर्न, सतर्क रहन र सम्भव भएसम्म बुधबार घरबाटै काम गर्न आग्रह गरेका थिए । यस जाडोयाममा युरोपले भोगेको सबैभन्दा कडा चिसोका क्रममा फ्रान्समा मौसमसँग सम्बन्धित दुर्घटनामा हालसम्म कम्तीमा छ जनाको ज्यान गएको अधिकारीहरूले जानकारी दिएका छन् । चिसो अझै केही समय कायम रहन सक्ने अनुमान गरिएकाले सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ । रासस
कामना सेवा विकास बैंकद्वारा विराटचोकको बाल आश्रमलाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत शाखा कार्यालय विराटचोकमार्फत ब्रेथ अफ लाइफ (बाल आश्रम) लाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको छ । बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले एक कार्यक्रमकाबीच बाल आश्रमका सञ्चालक निर्मला राईलाई खाद्यान्न तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए । सामग्री ग्रहण गर्दै सञ्चालक राईले गरिब तथा विपन्न वर्गका बालबालिकाको आधारभूत आवश्यकता, शिक्षा तथा उज्ज्वल भविष्य सुनिश्चित गर्न बैंकको सहयोगले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । उनले यस सहयोगले आश्रममा रहेका बालबालिकाको दैनिकी र शैक्षिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने भन्दै बैंकप्रति आभार व्यक्त गरिन् । कार्यक्रममा बोल्दै बैंकका कोशी प्रदेश प्रमुख भुसालले बाल आश्रमलाई प्रदान गरिएको खाद्यान्न तथा शैक्षिक सामग्रीले समुन्नत समाज निर्माणमा सहयोग पुग्ने उल्लेख गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रममार्फत हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा विराटचोक उपमहानगरपालिकाकी उपमेयर नीतु थापा कोइराला, वडा अध्यक्ष योगेन्द्र सुवेदी, बैंकका कर्मचारी, बाल आश्रमका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनमा पनि सरोकारवालाहरूसँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
कांग्रेसको भावी यात्राका लागि विशेष महाधिवेशन निर्णायक : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस २७ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने महाधिवेशनको उद्घाटन समारोहमा व्यापक सहभागिता जनाउन पार्टीका नेता, कार्यकर्ता तथा समर्थक सबैलाई आग्रह गरेका छन् । महाधिवेशनको उद्घाटन कार्यक्रमलाई पार्टीभित्र देखिएका विचारगत मतभेद, संगठनात्मक चुनौती तथा समसामयिक राजनीतिक अवस्थाबारे खुला छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा उल्लेख गर्दै थापाले यसमा सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनका अनुसार विशेष महाधिवेशन केवल औपचारिक कार्यक्रम मात्र नभई पार्टीलाई नयाँ दिशा दिने, आन्तरिक लोकतन्त्र सुदृढ बनाउने र कांग्रेसको भावी राजनीतिक यात्राबारे स्पष्ट दृष्टिकोण तय गर्ने मञ्च हो । थापाले पार्टी विधान र प्रक्रियाअनुरूप छलफल र निर्णयको संस्कार बलियो बनाउन विशेष महाधिवेशनको भूमिका महत्वपूर्ण रहने धारणा राखे । उनले पार्टीका सबै तहका नेता–कार्यकर्ताले भृकुटीमण्डपमा उपस्थित भई आफ्ना विचार, सुझाव तथा प्रतिबद्धता प्रकट गर्नुपर्ने बताए । उनका अनुसार वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसले स्पष्ट धारणा र एकताबद्ध दृष्टिकोण प्रस्तुत गर्नुपर्ने आवश्यकता छ, र त्यसका लागि विशेष महाधिवेशन निर्णायक बन्न सक्छ । उद्घाटन समारोहबाटै पार्टीभित्र सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्दै थापाले लोकतान्त्रिक मूल्य, विधि र सिद्धान्तको पक्षमा दृढ भएर अघि बढ्न सबैलाई आह्वान गरेका छन् ।
५ अर्बको कारोबार, १८७ कम्पनीको सेयर मूल्य घट्यो
काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ अंकले घटेर २६३५ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार ६२ कम्पनीको सेयर मूल्य बढ्दा १८७ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३२३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको भएको छ । एसवाई प्यानलको २६ करोड रुपैयाँको कारोबार भएको छ । साथै श्रीनगर एग्रीटेकको २३ करोड, मन्जुश्री फाइनान्सको २० करोड, शिवम् सिमेन्टको १६ करोड र सागर डिस्टीलरीको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।