विकासन्युज

यूएईसँग व्यापार–लगानी साझेदारी विस्तार गर्न महासंघ अध्यक्ष ढकालको पहल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई)को वित्त मन्त्रालयका सचिव महामहिम अब्दुल्ला अहमद अल सालेहसँग भेटवार्ता गरेका छन् ।  भेटवार्तामा नेपाल–यूएईबीचको द्विपक्षीय आर्थिक सम्बन्ध थप सुदृढ गर्दै व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो । संयुक्त अरब इमिरेट्स (यूएई) का लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीको उपस्थितिमा सम्पन्न भेटवार्तामा दुवै पक्षले आगामी दिनमा नेपाल–यूएई आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउँदै पारस्परिक लाभका साझेदारीहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।  सो अवसरमा महासंघका अध्यक्ष ढकालले नेपालमा रहेको लगानी सम्भावनाबारे जानकारी गराउँदै निजी क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए।  उनले नेपालमा जलविद्युत्, पर्यटन, कृषि प्रशोधन, ठूला पूर्वाधार तथा सूचना प्रविधि ९आईटी० जस्ता प्राथमिकता प्राप्त क्षेत्रमा व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने सकिनेमा जोड दिए । साथै उनले काठमाडौंका लागि एमिरेट्स एयरलाइन्सको प्रत्यक्ष उडान सुरु हुनु पर्यटन, व्यापार र समग्र व्यावसायिक आवागमन बिस्तारका लागि अत्यन्त महत्त्वपूर्ण हुने उल्लेख गरे ।  यूएईको वित्त मन्त्रालयका सचिव महामहिम अब्दुल्ला अहमद अल सालेहले नेपालले प्रस्तुत गरेका परियोजना र अवसरहरूप्रति यूएई पक्षले चासो देखाउँदै निजी क्षेत्रबीचको सहकार्य बढाउन सकारात्मक रहेको बताए ।। दुवै पक्षले आगामी दिनमा सहकार्यलाई अझ गहिरो बनाउँदै ठोस परिणामतर्फ अघि बढ्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन् । 

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता कायम

धरान । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा पाँच लाख ८० हजार ९४५ जना मतदाता कायम भएका छन् । जिल्लाका १२ स्थानीय तहमध्येबाट दुई लाख ९४ हजार २५२ पुरुष, दुई लाख ८६ हजार ६९१ महिला र दुई जना तेस्रो लिङ्गी मतदाता कायम भएका हुन् ।      जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभाका लागि चार निर्वाचन क्षेत्र तोकिएका छन् । जिल्लाभर जम्मा १६७ मतदानस्थल र ६२४ मतदान केन्द्र निर्धारण गरिएको कार्यालयका प्रमुख कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी निर्वाचन क्षेत्र नं २ मा एक लाख ५६ हजार ९९० मतदाता छन् भने सबैभन्दा कम एक लाख ३४ हजार ३०२ मतदाता कायम भएका छन् ।      निर्वाचन आयोगका अनुसार मतदाता नामावली अद्यावधिकपछि उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाता शिक्षालगायत तयारीका कार्यक्रम अघि बढाइएको जिल्ला निर्वाचन कार्यालय प्रमुख पौडेलले बताए ।      आगामी निर्वाचनका लागि सङ्घीय सरकारले सुनसरीमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरू खटाइसकेको छ । प्रकाश राउतलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । उनी हाल सुनसरी जिल्ला अदालतमा जिल्ला न्यायाधीशका रूपमा कार्यरत छन् । निर्वाचन अधिकृतका रूपमा दिव्यराज घिमिरे, राजेन्द्रकुमार लम्साल र पदमबहादुर कार्कीलाई तोकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख पौडेलले जानकारी दिए ।  

विश्वप्रकाश र मलाई पार्टीभित्र संगठित रूपमा घेराबन्दी गरिँदैछ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई लक्षित गर्दै संगठित रूपमा दबाब र घेराबन्दी भइरहेको आरोप लगाएका छन् । बुधबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले पार्टी सञ्चालनमा पछिल्लो समय प्रक्रिया र विधानलाई बेवास्ता गर्ने प्रवृत्ति बढ्दै गएको दाबीसमेत गरे ।  महामन्त्रीका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा आफूहरूलाई कर्नर गर्ने प्रयास भइरहेको थापाको भनाइ थियो ।  ‘मलाई कर्नरमा पार्न खोज्दा मेरो दायरा बढेको छ । केन्द्रीय समितिमा आफू अल्पमतमा भएपनि पार्टी कार्यकर्ता र जनताका बीचमा मेरो लोकप्रियता नेताहरूले खोस्न सक्दैनन्,’ उनको दाबी छ । ‘पार्टीभित्र प्रक्रिया र विधानलाई क्रमशः निल्दै जाने क्रम चलिरहेको छ । यही क्रममा म र अर्का महामन्त्री विश्वप्रकाश शर्मा आफ्नो भूमिकामा सक्रिय रहँदा हामीलाई कमजोर बनाउने, एक्ल्याउने र घेराबन्दी गर्ने प्रयत्न भएको छ । संख्याको दम्भ देखाउँदै सबै मिलेर हामीमाथि प्रहार गर्ने काम भइरहेको छ,’ उनले थपे । थापाले पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर पारिँदै गएकोप्रति गम्भीर चिन्ता पनि व्यक्त गरे । उनले नेतृत्व तहबाटै विधि र संस्थागत अभ्यासलाई बेवास्ता गरिएको आरोपसमेत लगाए । पार्टी कार्यालयमा गरिएको घेराबन्दी सानो र सीमित भएको उल्लेख गर्दै उनले आम कार्यकर्ता, समर्थक र शुभेच्छुकको घेरा भने निकै ठूलो रहेको महामन्त्री थापाको दाबी छ । उनका अनुसार कांग्रेसको वास्तविक शक्ति बाहिर छ । ‘आम कार्यकर्ता, समर्थक र नागरिकको बीचमा रहेको गगन थापालाई एक्ल्याउँदा गगनलाई घाटा हुँदैन । मेरो त्यो घेरा धेरै ठूलो छ,’ थापाले भने । उनले पार्टीभित्रको साँघुरो घेराभन्दा बाहिर निस्केर जनतामाझ जाने वातावरण नेतृत्वकै गतिविधिले सिर्जना गरिरहेको टिप्पणी गर्दै अन्ततः आम नागरिकले नै सही–गलतको फैसला गर्ने विश्वास पनि व्यक्त गरे ।

निक्षेप र कर्जाको ब्याजदर घट्यो, निजी क्षेत्रतर्फ कर्जा बढ्यो

काठमाडौं । पछिल्लो समय निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्दै गएको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा रहेको निक्षेप बढेको छ भने निक्षेप र कर्जाको ब्याजदर घटेको छ । चालु आवको कात्तिकसम्मको अवधिमा निजी क्षेत्रतर्फको कर्जा प्रवाह बढेको छ । २०८२ असार मसान्तको तुलनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप, २०८२ कात्तिक मसान्तमा ३ दशमलव १ प्रतिशतले बढेर ७४ खर्ब ८६ अर्ब २५ करोड पुगेको छ । २०८१ को सोही अवधिमा यस्तो निक्षेप २ दशमलव ३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १३ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २०८२ असार मसान्तको तुलनामा १.२ प्रतिशतले बढेर ५५ खर्ब ६२ अर्ब ७५ करोड पुगेको छ । २०८१ को सोही अवधिमा यस्तो कर्जा २०८१ असार मसान्तको तुलनामा २ दशमलव ५ प्रतिशतले वृद्धि भएको थियो । वार्षिक बिन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६ दशमलव ९ प्रतिशतले बढेको छ । कात्तिक मसान्त सम्मको अवधिमा भएको कर्जा प्रवाहमध्ये उपभोगमा आधारित ऋणको हिस्सा सबैभन्दा बढी २० दशमलव ८ प्रतिशत रहेको छ भने सबैभन्दा कम ऋण प्रवाह स्थानीय तहमा भएको छ ।  २०८१ कात्तिकमा वाणिज्य बैंकको निक्षेप तथा कर्जाको भारित औसत व्याजदर क्रमशः ५ दशमलव १ प्रतिशत र ९ दशमलव ७ प्रतिशत रहेकोमा २०८२ कात्तिकमा क्रमशः ३ दशमलव ७४ प्रतिशत र ७ दशमलव ३८ प्रतिशतमा झरेको छ ।  २०८२ कात्तिक मसान्तमा २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक गरी कुल १०७ बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा रहेका छन् । सबै स्थानीय तहहरुमा वाणिज्य बैंकका शाखा पुगेको छ । बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०८१ कात्तिक मसान्तमा ११ हजार ५ सय ४२ रहेकोमा २०८२ को सोहि अवधिमा ११ हजार ५ सय १६ रहेको छ । यस अवधिमा एटिएम बुथको संख्या भने ४४ ले थप भई ५ हजार २६८ पुगेको छ । बैंक तथा वित्तीय संस्थाको निष्कृय कर्जा बढेको छ भने विपन्न क्षेत्र कर्जा घटेको छ । २०८१ कात्तिकमा कुल कर्जाको ४ दशमलव ४२ प्रतिशत रहेको निष्कृय कर्जा २०८२ कात्तिकमा ५ दशमलव २६ प्रतिशत पुगेको छ । त्यसैगरी, २०८१ कात्तिकमा विपन्न क्षेत्र कर्जा कुल कर्जा लगानीको ६.१७ प्रतिशत रहेकोमा २०८२ कात्तिकमा ५.३६ प्रतिशत रहेको छ ।     

स्याङ्जामा ४१ हजार मेट्रिकटनभन्दा बढी धान उत्पादन

वालिङ । गत वर्षको तुलनामा यस वर्ष स्याङ्जामा धान उत्पादन वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष १३ दशमलव आठ प्रतिशतले धान उत्पादन बढेको हो । गत वर्ष ३६ हजार ५६० मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष ४१ हजार ६४० मेट्रिकटन उत्पादन भएको जिल्लास्थित कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ नारायण पाठकले जानकारी दिए । स्याङ्जामा यस वर्ष नौ हजार ७२ हेक्टर क्षेत्रफलमा धान उत्पादन भएको थियो । जिल्लामा क्रमशः धान उत्पादन हुने क्षेत्रफल घट्दै गइरहेको छ भने उत्पादनमा वृद्धि हुँदै गइरहेको कार्यालयले जनाएको छ ।  'पछिल्ला वर्षमा उन्नत जातका बीउको प्रयोग, आधुनिक यन्त्र/उपकरण तथा प्रविधिको प्रयोग बढ्दै गएको छ', पाठकले भने, 'बढ्दो प्रविधिको प्रयोग सँगसँगै अनुकूल वातावरणका कारण पनि उत्पादकत्व वृद्धि भएको हो ।' देशका कतिपय ठाउँमा लगाइएको धानबाली भित्र्याउने बेलामा परेको बेमौसमी पानीले क्षति पुर्‍याए पनि स्याङ्जामा भने त्यति ठूलो क्षति हुन नपाएकाले उत्पादनमा कमी नभएको उनको भनाइ छ ।  जिल्लामा धानखेती हुने कूल क्षेत्रफलमध्ये झण्डै ४० प्रतिशतमा ‘हाइब्रिड’ र उन्नत जातका बीउको प्रयोग हुने गरेको अर्थविज्ञ पाठकले जानकारी दिए। यस वर्ष प्रतिहेक्टर चार दशमलव ५९ मेट्रिकटन धानको उत्पादकत्व रहेकामा गत वर्ष प्रतिहेक्टर चार दशमलव तीन मेट्रिकटन थियो । गत वर्ष स्याङ्जामा ६७ हेक्टर क्षेत्रफलमा ३०६ मेट्रिकटन चैते धान उत्पादन भएको थियो । जिल्लाका आँधीखोला किनार, ज्याग्दीखोला किनार, दरौँखोला, कालीगण्डकी नदी किनारका फाँटहरू धान खेतीका लागि पकेट क्षेत्रका रूपमा रहेका कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ पाठकले जानकारी दिए। उनका अनुसार यहाँ घरायसी प्रयोजन तथा बीउका लागि धान उत्पादन हुँदै आएको छ ।  यहाँका किसानले गत वर्षमात्रै करिब रु एक करोडको धानको बीउ बिक्री गरी आम्दानी गरेका थिए । सरकारबाट सिफारिस भएका विभिन्न उन्नत जातका धानको बीउ बिक्रीबाट स्याङ्जाका किसानले आम्दानी गर्दै आएका कृषि विकास कार्यालयले जनाएको छ । सरकारले बनाएको विद्युतीय बीउ व्यवस्थापन प्रणाली (डेसिस)मार्फत स्याङ्जाका किसानले उत्पादन गरेको बीउ स्याङ्जासहित बाहिरी जिल्लामा पनि बिक्री भइरहेको कार्यालयका अर्थविज्ञ पाठकले बताए । उनका अनुसार जिल्लामा रामधान, सावित्री, सावा मन्सुली, हर्दिनाथलगायत उन्नतसहित स्थानीय जातका धान लगाउने गरिएको छ ।

नेकपाले राष्ट्रिय सभा निर्वाचनका सबै सिटमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाले आगामी राष्ट्रिय सभा निर्वाचनमा सबै सिटमा उम्मेदवारी दर्ता गर्ने भएको छ । बुधवार (आज) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच बनेको चुनावी गठबन्धनबाट अलग भएपछि नेकपाले एक्लै चुनावी मैदानमा उत्रिने निर्णय गरेको हो । पार्टीले सबै प्रदेशमा उम्मेदवार टुंग्याउँदै दर्ता प्रक्रियामा सहभागी हुने जनाएको छ । राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते हुँदै छ । प्राप्त सूचीअनुसार नेकपाले कोशी प्रदेशबाट खेमराज सुन्दास, हेमराज घिमिरे, नमिता न्यौपानेलाई उमेदवार चयन गरेको छ । नेकपाको मधेस प्रदेश उमेदवारहरूमा रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समिकुमारी अग्रवाल रहेका छन् । बागमती प्रदेशवाट प्रेमप्रसाद सापकोटा र सरोजकुमारी झासँगै गण्डकीबाट कपिल लामालाई उमेदवारको रूपमा नेकपाले अगाडि सारेको छ । बागमती प्रदेशको एक सिट भने खाली छोडेको छ । यस्तै, लुम्बिनी प्रदेशबाट दुर्गा भण्डारी, वृहस्पति अधिकारी, सर्जन विकको साथै कर्णाली प्रदेशबाट बुद्धिप्रसाद शर्मा र अन्जु महतारालाई उमेदबार बनाएको छ । सुदूरपश्चिम प्रदेशवाट टीकाराम जैशी र रोजी बस्नेत सुनारलाई उम्मेदबार वनाएको छ । नेकपाका मुख्य सचिव गणेशमान गुरुङका अनुसार पार्टीले गठबन्धनबिनै चुनावी प्रतिस्पर्धामा उत्रँदै आफ्नो राजनीतिक हैसियत पुनःस्थापित गर्ने लक्ष्य राखेको छ ।

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा सुनिलकुमार र रजिस्ट्रारमा खेमराज नियुक्त

काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. सुनिलकुमार जोशी नियुक्त भएका छन् । उपकुलपति नियुक्तिका लागि मापदण्ड कडा भएकाले उम्मेदवारी नपरेको भन्दै पहिलो पटक सूचना जारी गर्दा आवेदन नपरेपछि पुनः दरखास्त आह्वान गरिएको थियो । दोस्रो पटक सूचना जारी गर्दा पनि उम्मेदवारी नपरेपछि तेस्रो पटक सूचना प्रकाशित गरिएको थियो । तेस्रो पटकको सूचनामा दुई जनाको मात्र नामावली दर्ता भएको थियो । तीमध्ये एक जनाको योग्यता मापदण्डअनुसार नपुगेकाले उपकुलपति पदमा प्रा.डा. सुनिलकुमार जोशी नियुक्त भएका हुन् । यस्तै, सोही विश्वविद्यालयको रजिस्ट्रार पदमा डा. खेमराज जोशी नियुक्त भएका छन् । रजिस्ट्रार पदका लागि भने १० जनाको आवेदन परेको थियो । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको अध्यक्षतामा बसेको विश्वविद्यालयको सिनेट बैठकले प्रा.डा. जोशीलाई उपकुलपति र डा. जोशीलाई रजिस्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो । उपकुलपतिमा नियुक्त जोशी काठमाडौं मेडिकल कलेजमा कम्युनिटी मेडिसिन विषयका प्राध्यापक हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन २०८२ असार ४ गते प्रमाणीकरण गरेसँगै उपकुलपति, रजिस्ट्रारलगायत पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु गरिएको हो ।

सुनिल थापा, रामकुमारी झाँक्री र महन्थ ठाकुर राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवार

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री सुनिलबहादुर थापालाई कोशी प्रदेशवाट उम्मेदवार बनाएको छ । तीन ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल हुने भएपछि थापा उम्मेदवार बन्ने भएका हुन् ।   पछिल्लो तीन दलीय तालमेलअनुसार कांग्रेसले ९ सीट, एमालेले ८ सीट र जसपाले १ सिट पाउने भएका छन् । जसपाले प्राप्त गर्ने उक्त सिटमा अध्यक्ष महन्थ ठाकुर उम्मेदवार बन्ने भएका छन् । कांग्रेसले मधेसबाट धमेन्द्र पासवान र सञ्जत कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितबहादुर शाही तथा सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई राष्ट्रिय सभा उम्मेदवार बनाएको छ ।  कोशीका उमेदवार थापा राष्ट्रपति रामचन्द्र पौडेलका मुख्य राजनीतिक सल्लाहकार थिए । राष्ट्रिय सभाको निर्वाचनमा प्रतिष्पर्धा गर्न थापाले उक्त पदबाट राजीनामा दिएका थिए । खाती पूर्वमहान्याधिवक्ता हुन् ।  एमालेले पनि आफूले तालमेलअनुसार पाएको सिटमा उम्मेदवारी टुँग्याएको छ ।  एमालेले पाएको ८ सीटमा कोशी प्रदेशबाट रोशनी मेचे, बागमतीबाट डा. प्रेमकुमार दङ्गाल, गण्डकीबाट सम्झना देवकोटा, लुम्बिनीबाट रामकुमारी झाँक्री, कर्णालीबाट मीना रखाल र सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारीलाई उम्मेदवारका रूपमा अघि सारेको छ ।  मेचे एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री रहेको समयमा सचिवालयमा रहेर काम गरेकी नेतृ हुन् । डा. दँगाल किसान आयोगका पूर्वअध्यक्ष हुन् भने झाँक्री २०७४ को समानुपातिक सांसद हुन् ।