विकासन्युज

ईक्यानको नयाँ अध्यक्षका लागि पौडेल र भुसाल भिड्ने, १८ पदका लागि ३४ जनाको उम्मेदवारी

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को नयाँ नेतृत्वका लागि दौडधुप सुरु भएको छ । यही पुस २८ गते हुने २०औँ साधारणसभा तथा महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने भएपछि उम्मेदवारी दर्ता प्रक्रिया अघि बढेको हो । ईक्यानका अनुसार अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । हालका प्रथम उपाध्यक्ष एन्ड्र्यु पौडेल (लक्ष्मण) र महासचिव दीपकराज भुसाल अध्यक्ष पदका प्रत्याशी बनेका हुन् । यसअघि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी गीता शिवाकोटी (गीताञ्जली) पछि हटेपछि अध्यक्ष पदमा दुई जनाबीच प्रतिस्पर्धा हुने भएको हो । यस्तै, छ उपाध्यक्ष पदका लागि सात जनाको उम्मेदवारी दर्ता भएको छ । उपाध्यक्ष पदका उम्मेदवारमा रत्नबहादुर भट्टराई, विकल्पराज पाख्रेल, फिलिपकुमार डाँगी क्षेत्री, मञ्जित ढकाल, पुष्पराज भट्टराई, बासुदेव दाहल र गीता शिवाकोटी (गीताञ्जली) रहेका छन् । महासचिव पदका लागि भवननाथ हुमागाईं र नवराज केसी खत्रीको उम्मेदवारी परेको छ भने दुई सचिव पदका लागि चार जनाले उम्मेदवारी दिएका छन् । सचिव पदका उम्मेदवारमा लालबहादुर तामाङ, भूपाल केसी, आशिष कार्की र सुरज सिलवाल छन् । कोषाध्यक्ष पदका लागि उमा खड्का पाठक र साधना पुडासैनी उम्मेदवार बनेका छन् भने सह–कोषाध्यक्ष पदका लागि भीमबहादुर थापा र गोविन्द खनालले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, नौ सदस्य पदका लागि १४ जनाको उम्मेदवारी परेको छ । सदस्य पदका उम्मेदवारमा अशोककुमार हाथी, प्रकाश रिजाल, अनन्तराज घिमिरे, विवेक बस्नेत, दामोदर शर्मा, सञ्जीव पाण्डे, नवराज नेपाल, उद्धव वन, कमलप्रसाद तिमल्सिना, बसन्त पाण्डे, प्रभात पौडेल, भेषराज राय, दिनेश पौडेल र शिवप्रसाद अर्याल रहेका छन् । पुस २८ गते हुने साधारणसभा तथा महाधिवेशनबाट अध्यक्षसहित १८ पदका लागि ३४ जनाको उम्मेदवारी परेको ईक्यानले जनाएको  छ। अध्यक्षका उम्मेदवार एन्ड्र्यु पौडेलले ईक्यानलाई थप व्यावसायिक, पारदर्शी र सदस्यकेन्द्रित संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले शैक्षिक परामर्श व्यवसायमा देखिएका नीतिगत चुनौती समाधान, सरकारी निकायसँग प्रभावकारी संवाद तथा सदस्यहरूको हकहित संरक्षणलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन् । निर्वाचनका लागि दुवै पक्षले तयारी तीव्र पारेका छन् । भुसाल प्यानलतर्फ उपाध्यक्ष पदका उम्मेदवारमा फिलिप डीसी, मञ्जित ढकाल, विकल्पराज पाख्रेल र रत्न भट्टराई रहेका छन् । भुसाललाई पूर्वअध्यक्ष प्रकाश पाण्डे र वर्तमान अध्यक्ष शेषराज भट्टराईको समर्थन रहेको छ । भुसालका प्रस्तावक स्वयं पाण्डे र समर्थक भट्टराई रहेका छन् ।  

शीतलहरका कारण चिसो बढेपछि विद्यालयमा पठनपाठन स्थगित

सुदूरपश्चिम । लगातारको शीतलहरका कारण चिसो बढेपछि कैलालीको गौरीगङ्गा नगरपालिका कार्यालयले एक हप्ताका लागि नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ ।  नगरपालिका कार्यालयले जारी गरेको सूचनामा केही दिनदेखि अत्यधिक चिसो भई बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै विद्यालयको दैनिक पठनपाठन पनि प्रभावित भएकाले यही पुस २४ देखि आगामी माघ २ गतेसम्मका लागि बिदा दिइएको उल्लेख छ । बाक्लो हुस्सु र कुहिरोसँगै दिनहुँ चल्ने गरेको शीतलहरका कारण बढेको कठ्याङ्ग्रिने चिसोले कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । जाडोको सामना गरिरहेका अधिकांश सर्वसाधारणलाई आगो ताप्ने व्यवस्थाका लागि  धनगढी उपमहानगरपालिका र गौरीगङ्गा नगरपालिकासहितका पालिका तहहरूले केही दिनअघि दाउरा उपलब्ध गराएको थियो । शीतलहरका कारण धनगढीको अधिकतम तापक्रम र न्यूनतम तापक्रम घट्दै गएको छ । पहाडी क्षेत्रमा पारिलो घाम लाग्दा यतिबेला तराईका जिल्लालाई भने कुहिरो र हुस्सुले ढाकेको छ ।  शीतलहरले बढ्ने चिसोका कारण आलु, तोरीलगायतको हिँउदे बालीमा डढुवा रोगको समस्या देखिएको किसानले बताएका छन् ।  

विशेष महाधिवेशनलाई नीति महाधिवेशन बनाऔं : नेता केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले दोस्रो विशेष महाधिवेशनलाई सहमतिमा नीति महाधिवेशन बनाउन सकिने बताएका छन् ।  पार्टीका पूर्वप्रवक्तासमेत रहेका केसीले पत्रकारहरूसँग कुरा गर्दै पार्टीलाई विभाजनबाट रोक्न सबै पक्षलाई लचक हुन आह्वान गरेका छन् । कुनै बहानामा विशेष महाधिवेशन नरोकिने दाबी गर्दै केसीले यसलाई पार्टी निर्माणको अवसरको रूपमा योग गर्नुपर्ने बताएका छन् ।  पार्टीको विधानले बाध्यकारी मानेको विषयलाई कसैले पनि लत्याएर यसबाट भाग्न नहुनेमा केसीको जोड थियो ।

कांग्रेसमा शक्ति संघर्ष, विशेष महाधिवेशन आह्वान आज

काठमाडौं । नेपाली कांग्रेसभित्र जारी आन्तरिक विवादका बीच बुधबार (आज) विशेष महाधिवेशन औपचारिक रूपमा आह्वान गरिँदैछ । विशेष महाधिवेशनको माग गर्दै आएको पक्षले गठन गरेको दोस्रो विशेष महाधिवेशन सचिवालयले आज देशभरका प्रतिनिधिहरूलाई महाधिवेशनका लागि आह्वान गर्न लागेको हो । सचिवालयका तर्फबाट शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन स्थानीय प्रशासनसँग औपचारिक पत्राचारसमेत गरिएको छ । सचिवालयका सदस्य तथा नेता मनोजमणि आचार्यले आजै विशेष महाधिवेशन आह्वान गरिने जानकारी दिँदै पार्टीलाई विद्यमान संकटबाट निकास दिन यो कदम चालिएको बताए । उनका अनुसार पार्टी विधानअनुसार नेतृत्वले समयमै नियमित महाधिवेशन गर्न नसकेपछि विशेष महाधिवेशन अपरिहार्य भएको निष्कर्षमा सचिवालय पुगेको हो । पार्टीलाई विधि र पद्धतिमा फर्काउन विशेष महाधिवेशनको आह्वान गरिएको हो ।  ‘पत्रकार सम्मलेनमार्फत नेतृत्वको जवाफदेहिता सुनिश्चित गर्ने र आन्तरिक लोकतन्त्र पुनःस्थापना गर्ने उद्देश्यले विशेष महाधिवेशनको आह्वान गरिएको हो,’ आचार्यले बताए । पछिल्लो समय ६० प्रतिशत महाधिवेशन प्रतिनिधिहरू आफूहरूको सम्पर्कमा रहेको दाबी आचार्यको छ । संस्थापन समूहले व्यापक दवाव दिए पनि दुइ तिहाई प्रतिनिधि विशेष महाधिवेशनमा उपस्थित हुने जानकारी आएको आचार्यले बताए । विशेष महाधिवेशनको घोषणासँगै कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष थप सतहमा आएको छ । एकातर्फ संस्थापन पक्षले यस कदमलाई असंवैधानिक र पार्टी विभाजनतर्फ उन्मुख प्रयास भन्दै आलोचना गरिरहेको छ भने अर्कोतर्फ विशेष पक्षधरहरूले यसलाई पार्टी बचाउने अन्तिम विकल्पको रूपमा प्रस्तुत गरेका छन् । सहमहामन्त्री बद्री पाण्डेले अहिले विवाद गर्ने समय नभएको बताउँछन् । उनले भने, ‘विशेष महाधिवेशनको पक्षमा रहेका साथीहरूले पनि शान्त भएर सोंचेपछि वातावरण सहज बन्दै जान्छ ।’ राजनीतिक विश्लेषकहरूका अनुसार आजको आह्वानले नेपाली कांग्रेसको आन्तरिक राजनीति नयाँ मोडमा प्रवेश गर्ने संकेत गरेको छ । अब पार्टी नेतृत्वले यसलाई कसरी सम्बोधन गर्छ र विवाद संवादमार्फत समाधान हुन्छ कि टकरावतर्फ जान्छ भन्ने विषय चासोको केन्द्र बनेको छ ।  पछिल्लो समय वरिष्ठ नेता डा. शेखर कोइराला विभाजन रोक्न लागेका छन् । कोइराला पक्षले विशेष महाधिवेशनलाई संकल्प भेलाको रूपमा लैजाने, आगामी संसदीय चुनावका उमेदवारहरू कोइरालासहित सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले आपसी सहमतिमा बाँड्ने र नयाँ नेतालाई आगामी प्रधानमन्त्रीको रूपमा अगाडि लिएर जाने सहितका प्रस्तावहरू ल्याएको छ ।  बुधवार अपरान्ह राष्ट्रियसभाका उमेदवारहरूको मनोनयनपछि वार्तालाई घनिभूत बनाउने तयारी कोइराला पक्षधर नेताहरूले गरेका छन् ।

युनिक नेपाल लघुवित्तले सेयरधनीलाई लाभांश नदिने

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । संस्थाको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो । बैठकले देशव्यापी रूपमा बढ्दै गएको लघुवित्तविरोधी गतिविधिका कारण ऋण नतिर्ने प्रवृत्ति बढ्नु, व्यवसायिक मन्दीका कारण ऋणीको व्यवसाय प्रभावित भई कर्जा असुली हुन नसक्नु तथा युवा पलायनका कारण कर्जा लगानी विस्तार हुन नसकेको निष्कर्ष निकालेको छ । साथै, कम्पनीको निष्क्रिय कर्जा बढ्दै जाँदा आम्दानीको ठूलो हिस्सा नोक्सानीमा डुबेको र यसले मुनाफा घट्दै नगद प्रवाहमा समेत असर परेको बैठकको निष्कर्ष छ । यस्तो अवस्थामा सेयरधनीलाई लाभांश बाँड्ने चाहना हुँदाहुँदै पनि संस्थाको वित्तीय अवस्था जोगाउनु नै उत्तम विकल्प ठहर गर्दै लाभांश वितरण नगर्ने निर्णय गरिएको संस्थाले जनाएको छ ।

सुनको मूल्य घट्यो, चाँदीले रेकर्ड तोड्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेर नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घट्दा चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेर ४ हजार ९३५ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो । चाँदीको मूल्यले गत पुस १४ गते कायम प्रतितोला ४ हजार ९३५ रुपैयाँको मूल्यलाई बराबरी गर्दै नयाँ उचाइ बनाएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

भेनेजुएलाले अमेरिकालाई ५ करोड ब्यारेल तेल दिने ट्रम्पको दावी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार साँझ भेनेजुएलाका अन्तरिम अधिकारीहरूले दक्षिण अमेरिकी देशका नेता निकोलस मादुरोलाई हटाएपछि अमेरिकालाई ३ करोडदेखि ५ करोड ब्यारेलसम्म तेल हस्तान्तरण गर्ने बताएको जनाएका छन् । ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै उक्त तेल बजार मूल्यमा बिक्री गरिने र त्यसबाट प्राप्त रकम संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिको नियन्त्रणमा रहने जनाएका छन् । उनले उक्त रकम भेनेजुएलाका जनता र अमेरिकाको हितमा प्रयोग हुने पनि दावी गरेका छन् । ‘मैले ऊर्जा सचिव क्रिस राइटलाई यो योजना तुरुन्त कार्यान्वयन गर्न निर्देशन दिएको छु,’ ट्रम्पले लेखेका छन्, ‘तेल भण्डारण जहाजमार्फत ल्याइनेछ र सिधै अमेरिकाका अनलोडिङ डकमा उतारिनेछ ।’ ट्रम्पले अमेरिकालाई हस्तान्तरण गरिने तेल ‘उच्च गुणस्तरको’ र ‘स्वीकृत (सान्क्सनअनुसार मान्य)’ रहेको बताए। ट्रम्पको घोषणापछि अमेरिकी कच्चा तेलको फ्युचर्स मूल्य १.३ प्रतिशतले घटेर प्रति ब्यारेल ५६.३९ डलरमा झरेको छ । यो घोषणा अमेरिकी सेनाले काराकासमा मादुरो र उनकी पत्नीलाई पक्राउ गरी न्यूयोर्क ल्याएको तीन दिनपछि आएको हो । उनीहरूमाथि संघीय लागुऔषध तस्करी षड्यन्त्रसम्बन्धी अभियोग लगाइएको छ । वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा शेभरन, कोनोकोफिलिप्स र एक्सन मोबिललगायत प्रमुख अमेरिकी तेल कम्पनीका प्रतिनिधिहरू तथा अन्य स्वदेशी उत्पादकहरूसँग भेट गरी ‘भेनेजुएलाको तेल क्षेत्रमा ठूला लगानी गर्ने’ विषयमा छलफल गर्ने योजना बनाएका छन् । ट्रम्पले अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलाको पुरानो र जीर्ण तेल उत्पादन क्षमताको पुनस्र्थापना गर्न अर्बौं डलर लगानी गर्ने बताएका छन् । हाल शेभरन मात्र भेनेजुएलामा सञ्चालनमा रहेको अमेरिकी तेल कम्पनी हो । कोनोकोफिलिप्स र एक्सन मोबिलका सम्पत्तिहरू भने सन् २००० को मध्यतिर तत्कालीन राष्ट्रपति हुगो चाभेजले राष्ट्रियकरण गरेका थिए । मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसले सोमबार म्यानह्याटनस्थित अमेरिकी जिल्ला अदालतमा भएको पेशीका क्रममा आफूहरू दोषी नभएको दाबी गरेका छन् । उक्त सुनुवाइका क्रममा मादुरोले न्यायाधीश एल्भिन हेलरस्टाइनसमक्ष आफूलाई ‘अपहरण गरिएको’ र आफू ‘युद्धबन्दी’ भएको बताएका थिए ।

मेची भन्सार कार्यालयबाट ४८ करोड ५२ लाखको छुर्पी निर्यात

झापा । नेपालमा उत्पादित छुर्पीको निर्यात ३२ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा पूर्वीनाका काँकरभिट्टा हुँदै ४८ करोड ५२ लाख ७३ हजार रुपैयाँ मूल्यबराबरको दुई लाख ७५ हजार २४६ केजी छुर्पी निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए । गत आव २०८१/८२ को सोही अवधिको तुलनामा चालु आवमा ३२ प्रतिशतले निर्यात बढेको हो । गत आवको साउनदेखि मङ्सिरसम्ममा ३६ करोड ७६ लाख २३ हजार रुपैयाँ मूल्यबराबरको दुई लाख १७ हजार ६८ केजी छुर्पी निर्यात भएको उनले बताए । गत आवको तुलनामा चालु आवमा छुर्पीको निर्यात ११ करोड ७६ लाख ५० हजार रुपैयाँले बढेको जनाइएको छ । नेपाली छुर्पी निर्यात हुने मुख्य नाका नै काँकरभिट्टा हो । मेची भन्सारबाट निर्यात हुने प्रमुख १० मालवस्तुको सूचीमा छुर्पी चौथो स्थानमा छ । पहाडी तथा हिमाली जिल्लामा दुग्धजन्य वस्तुबाट छुर्पी उत्पादन हुन्छ । निर्यात भएर अधिकांश छुर्पी युरोप र अमेरिका पुग्ने गरेको छ । ती मुलुकमा यसलाई कुकुर र बिरालोको खानाका रूपमा प्रयोग गर्छन् । नेपाल छुर्पी व्यवसायी सङ्घका महासचिव ऋषि तिम्सिनाले नेपालमा उत्पादन हुने छुर्पीको ८० प्रतिशत हिस्सा कोशी प्रदेशले ओगटेको बताए । नेपालबाट निर्यात हुने प्रमुख उत्पादन छुर्पीको उत्पादन र व्यवसाय प्रवर्द्धनका लागि सरकारले ध्यान दिन नसकेको महासचिव तिम्सिनाले गुनासो गरे ।