विकासन्युज

नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ: अर्थमन्त्री डा. वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि नेपाल धितोपत्र बोर्डले काम गर्नुपर्ने बताएका छन् । सोमबार नेपाल धितोपत्र बोर्डको स्थलगत निरीक्षणका लागि पुगेका उनले यस्तो धारणा राखेका हुन् । सो क्रममा उनले बोर्ड नेतृत्वलाई उच्च नैतिकतासहित पूँजीबजार विकासको कार्य अघि बढाउन निर्देशन दिए ।  ‘नयाँ अध्यक्ष नियुक्त भएपछि बोर्डले दीर्घकालीन उद्देश्यसहित अघि बढ्न खोजेको र त्यसको सकारात्मक प्रभाव बजारमा गएको मैले पाएको छु,’ उनले भने, ‘उच्च नैतिकतासहित पूँजीबजार विकासको कार्य अघि बढाउनुहोस् ।’ नियमनको दायरा हेर्दा राष्ट्र बैंक जत्तिकै गह्रौं दायित्व बोर्डमाथि रहेको भन्दै उहाँले विचलित नभई अघि बढ्न र लगानीकर्ताको सम्पत्तिको संरक्षण गर्न बोर्ड नेतृत्वलाई निर्देशन दिए । नयाँ सरकार गठनपछि बजारका लगानीकर्ताको अपेक्षा उच्च रहेको भन्दै अर्थमन्त्री वाग्लेले नियमनकारी कानुन निर्माण गर्दा सबै पक्षसँग परामर्श गर्न र सबैको साझा बुझाइ हुनेगरी लागू गर्न बोर्डलाई निर्देशन दिए । सेयर बजारका हिस्सेदारहरूलाई साथमा लिएर पर्याप्त छलफल गर्न र सरोकारवालाहरूको माग सम्बोधन गर्न पनि उनले बोर्डलाई भने ।  नेपालको सेयर बजारलाई एसियाकै दोस्रो राम्रो र प्रतिस्पर्धी बजार बनाउने नवनियुक्त अध्यक्षको उद्घोषलाई आफूले कार्यान्वयनमा देख्न चाहेको पनि अर्थमन्त्री वाग्लेले बताए । ‘एसियाकै दोस्रो राम्रो र प्रतिस्पर्धी सेयर बजार बनाउने तपाईंको उद्घोषलाई म हेरिरहेको छु,’ अर्थमन्त्रीले बोर्ड अध्यक्षलाई भने, ‘सबैको साथ लिएर अघि बढ्नुहोस् । लगानीकर्ताको सम्पत्तिको रक्षा गर्नुहोस् । सरकार र मन्त्रालयले के सहयोग गर्ने हो, भन्नुहोस् ।’   कार्यक्रममा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा। गोपाल भट्टले पूँजीबजार विकास ब्लूप्रिन्ट तयार गरी लागू गरेको बताए ।  उनले यही साउन महिनाभित्रै प्राथमिक र दोस्रो बजारमा आईपीओ निष्कासन, इन्ट्रा डे कारोबार, मार्जिन ल्यान्डिङ र सर्ट सेलिङ कारोबारका निर्देशिका तयार पार्ने र भदौमा सम्बन्धित क्षेत्रसँग परामर्शपछि लागू गर्दै जाने बताए ।

पोलमा झुण्डिएका प्रयोगविहीन तार हट्दै, राजधानीलाई आधुनिक बनाउने सरकारी अभियान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले राजधानीमा अव्यवस्थित तथा प्रयोगविहीन तार व्यवस्थापन र भूमिगत केबलिङको कामलाई प्रभावकारी बनाउन सम्बन्धित सबै निकायले साझा जिम्मेवारीका साथ काम गर्नुपर्ने बताएका छन् ।  उनले न्युरोड र विशालबजार क्षेत्रमा गरिएको तार व्यवस्थापनपछि देखिएको सकारात्मक परिवर्तनलाई अन्य क्षेत्रमा पनि विस्तार गरिने जानकारी दिए । सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा संयुक्त स्थलगत अनुगमन गर्दै तार व्यवस्थापन अभियानको प्रगति, चुनौती तथा आगामी कार्ययोजनाबारे सम्बन्धित निकायसँग छलफल गरेका थिए ।   मन्त्रीद्वयले गौशाला, पुरानो बानेश्वर र जडीबुटीलगायत क्षेत्रमा पुगेर सडकका पोलमा वर्षौंदेखि झुण्डिएका प्रयोगविहीन इन्टरनेट, टेलिफोन तथा टेलिभिजनका तार हटाउने कार्यको निरीक्षण गरेका थिए । अनुगमनका क्रममा मन्त्री श्रेष्ठले अव्यवस्थित तार हटाउने अभियान कुनै एक मन्त्रालय वा संस्थाले मात्रै सफल बनाउन नसक्ने उल्लेख गर्दै नियामक निकाय, सेवा प्रदायक संस्था र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।  यो अभियान केवल सहरी सौन्दर्यसँग मात्र नभई नागरिकको सुरक्षा, व्यवस्थित पूर्वाधार विकास र आधुनिक सहर निर्माणसँग प्रत्यक्ष रूपमा जोडिएको विषय रहेको उनको भनाइ छ । त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले पहिलो चरणको काम साउन १५ गतेभित्र सम्पन्न गर्ने प्रतिबद्धता गरिए पनि अपेक्षित गति हासिल हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।  उनले नागरिकले प्रत्यक्ष रूपमा परिणाम देख्ने गरी निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्न निर्देशन दिँदै ढिलासुस्ती गर्ने निकाय वा व्यक्तिप्रति आवश्यक कारबाही गरिने चेतावनी दिए । उनले प्रयोगमा नरहेका केबल तत्काल हटाउनुपर्ने र पोलमा तार जडान गर्ने सेवा प्रदायक संस्थाले नै त्यसको व्यवस्थापन तथा हटाउने जिम्मेवारी लिनुपर्ने स्पष्ट पारे ।  साथै, कानुनी, प्राविधिक वा प्रशासनिक अवरोध देखिए तत्काल मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिँदै नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रभावकारी नियमन, समन्वय र स्पष्ट कार्यतालिकासहितको कार्ययोजना कार्यान्वयन गर्न आग्रह गरे । सरकारले पहिलो चरणमा त्रिपुरेश्वर–कालिमाटी–कलंकी, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–लाजिम्पाट, सामाखुशी–टाउन प्लानिङ–गोंगबु, कीर्तिपुर तथा पुरानो बानेश्वर–गौशाला–चाबहिल गरी छ वटा मार्गमा अव्यवस्थित तथा प्रयोगविहीन तार हटाउने अभियान सञ्चालन गरिरहेको छ ।  पाइलट परियोजनाका रूपमा सुरु गरिएको यस अभियानबाट प्राप्त अनुभवका आधारमा अन्य क्षेत्रमा समेत विस्तार गर्ने तयारी सरकारको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले वर्षायामका कारण कार्यसम्पादनमा केही ढिलाइ भए पनि थप १५ दिनभित्र पहिलो चरणको काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए ।  उनका अनुसार धेरै स्थानमा पोलमा रहेका तारको स्वामित्व पहिचान गर्न कठिनाइ भएको, कतिपय तारमा सेवा प्रदायकको पहिचान खुल्ने ट्याग नभएको तथा सडक क्षेत्रमा दिनको समयमा काम गर्न नपाइने व्यवस्थाले अभियान प्रभावित भएको छ । हाल पुरानो बानेश्वर–गौशाला–चाबहिल क्षेत्रमा तार हटाउने कार्य तीव्र रूपमा अघि बढिरहेको प्राधिकरणले जनाएको छ । काठमाडौं महानगरपालिकाले प्राथमिकतामा राखेका अन्य क्षेत्रमा पनि चरणबद्ध रूपमा काम विस्तार भइरहेको छ। साथै, सबै दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकलाई आफ्ना तारमा संस्थागत पहिचान खुल्ने ट्याग अनिवार्य रूपमा राख्न निर्देशन दिइएको छ । सरकारले गत असार ३१ गते नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, एनसेल तथा इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था आइस्पानलाई एकीकृत कार्ययोजना तयार गरी पहिलो चरणको काम निर्धारित समयभित्र सम्पन्न गर्न निर्देशन दिएको थियो ।  त्यसअघि जेठ २८ गते दूरसञ्चार प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै राजधानीका विभिन्न क्षेत्रमा चरणबद्ध रूपमा प्रयोगविहीन तथा अव्यवस्थित तार हटाउने अभियान सुरु गरेको थियो । सरकारका अनुसार अव्यवस्थित तारका कारण नागरिकको सुरक्षामा जोखिम बढ्नुका साथै सहरी सौन्दर्यमा समेत नकारात्मक प्रभाव परेको छ। यही अवस्थाको अन्त्य गर्दै राजधानीलाई सुरक्षित, व्यवस्थित र आधुनिक बनाउने उद्देश्यका साथ समयबद्ध र परिणाममुखी अभियानलाई निरन्तरता दिइनेछ । अनुगमनका क्रममा मन्त्रीद्वयले विद्युत् वितरण पूर्वाधारको अवस्थासमेत अवलोकन गरेका थिए । सरकारले तार व्यवस्थापनसँगै आवश्यक कानुनी सुधारको प्रक्रिया पनि अघि बढाइरहेको जनाएको छ ।

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट ११ जनालाई पक्राउ गरेको छ । सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ११ जनालाई पक्राउ गरेको हो । अवैध लागुऔषध कारोबारमा संलग्न रहेका भन्ने सूचनाका आधारमा लतिलपुर, झापा, सुनसरी, कैलाली, दाङ र नवलपरासी पश्चिमबाट आइतबार र आज गरी ११ जनालाई पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  ललितपुरको गोदावरी नगरपालिका-३ टौखेलबाट अवैध लागुऔषध पोलेन करिब पाँच ग्राम र नियन्त्रित लागुऔषध स्पास्पेन २० ट्याब्लेटसहित सोही ठाउँ बस्ने कास्की घर भएका २० वर्षीय आरएन गुरूङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरीले निजलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।  झापाको भद्रपुर नगरपालिका-२ चाराली चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२० मिलिग्राम र नगद पाँच हजार ६०० सहित दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पृथ्वीनगरले जनाएको छ ।  पक्राउ पर्नेमा भद्रपुर-२ का २६ वर्षीय अमन राई र सोही ठाउँका २६ वर्षीय निकेश राई रहेका छन् । प्रहरीले उनीहरूले प्रयोग गरेको मे९प १६०३ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।  झापाको हल्दीबारी गाउँपालिका-३ बाङ्गे चोकस्थित सन्ध्या होटलबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२० मिलिग्रामसहित सोही गाउँपालिका-२ बस्ने २२ वर्षीय विकास राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ ।  सुनसरीको धरान उपमहानगरपालिका-७ बाट नियन्त्रित लागुऔषध नाइट्राजेपाम ८३ ट्याब्लेट र नगद १९ हजार ४८५ सहित धरान-७ पानमारा बस्ने १९ वर्षीय सोएल अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।  कैलालीको धनगढी उपमहानगरपालिका-७ देवरियाबाट सोही ठाउँ बस्ने २५ वर्षीय पवन चौधरी, बर्दगोरिया गाउँपालिका-३ खैरेनीबाट सोही ठाउँ बस्ने १७ वर्षीय किशोर र धनगढी उपमहानगरपालिका-१ शान्तिनगर बस्ने २३ वर्षीय कुँवेर पार्की पक्राउ परेका छन् । त्यस्तै, दाङको शान्तिनगर गाउँपालिका(७ खैरेनीबाट नियन्त्रित लागुऔषध नाइट्राजेपाम ६७ ट्याब्लेट र ट्रामाडोल १० ट्याब्लेटसहित सोही ठाउँ बस्ने २२ वर्षीय गणेश विष्ट र घोराही उपमहानगरपालिका-१४ स्वर्गद्धारी टोल डेरा गरी बस्ने रोल्पा माडी गाउँपालिका-५ घर भएका ३४ वर्षीय सन्तोष बाठालाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको छ ।  नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-१ बस्ने ३४ वर्षीय गणेश गुप्तालाई नियन्त्रित लागुऔषध डाइजेपाम ३९६ एम्पुल, फेनारगन ४४६ एम्पुल र बुप्रेनोर्फिन ४४६ एम्पुलसहित प्रहरीले पक्राउ गरेको छ ।  लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरीले निजको घर तलासी गर्दा उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

यी हुन् प्रोटिनको कमी पूरा गर्ने फलफूल

काठमाडौं ।  प्रोटिन दाल, अण्डा वा मासुमा मात्र नभई फलफूलमा पनि राम्रो मात्रामा पाइन्छ । यदि तपाईंलाई प्रोटिनको कमी छ र अतिरिक्त प्रोटिन थप्न चाहनुहुन्छ यी पाँच फलफूल तपाईंको लागि उत्तम विकल्प हुन सक्छन्।  यद्यपि यी फलफूलहरू प्रोटिनको मुख्य स्रोत होइनन्, तिनीहरूले तपाईंको दैनिक आहारको पोषणमूल्य निश्चित रूपमा बढाउँछन् ।   आउनूहोस् प्रोटिनको कमीलाई केही हदसम्म पूरा गर्न सक्ने यी शक्तिशाली फलफूलहरूको बारेमा जानौं । अम्बा प्रोटिनको हिसाबले अम्बा फलफूलको राजा हो । एक कप काटेको अम्बामा लगभग ४.२ ग्राम प्रोटिन हुन्छ । यसमा भिटामिन सी र फाइबर पनि प्रशस्त मात्रामा पाइन्छ, जुन तपाईंको पाचन प्रणालीको लागि धेरै राम्रो हुन्छ । एभोकाडो एभोकाडो यसको स्वस्थ बोसोको लागि मात्र परिचित छैन, तर यसमा प्रोटिनको मात्रा पनि राम्रो हुन्छ ।    एक कप एभोकाडोमा लगभग ३ ग्राम प्रोटिन हुन्छ ।  तपाईं यसलाई टोस्टमा पिसेर वा आफ्नो सलादमा थप्न सक्नुहुन्छ, जसले तपाईंलाई लामो समयसम्म तृप्त राख्नेछ । कटहर यदि तपाईं शाकाहारी हुनुहुन्छ भने, कटहर तपाईंको लागि वरदानभन्दा कम छैन । एक कप पाकेको वा राम्ररी पकाएको कटहरमा लगभग २.८ ग्राम प्रोटिन हुन्छ ।  यसको बनावट मासु जस्तै हुने भएकाले यसलाई ‘शाकाहारी मासु’ पनि भनिन्छ । खुर्पानी सुकेको होस् वा ताजा, खुर्पानी प्रोटिनको राम्रो स्रोत हो । एक कप काटेको ताजा खुबानीले लगभग २.३ ग्राम प्रोटिन प्रदान गर्दछ ।  यो पोटासियम र भिटामिन ए को खजाना पनि हो । यसले आँखाको ज्योति र छालाको चमक बढाउन मद्दत गर्छ । तपाईं यसलाई ओट्स वा दहीसँग मिसाएर खान सक्नुहुन्छ । किवी किवी रोग प्रतिरोधात्मक क्षमता बढाउन मात्र नभई प्रोटिनको लागि पनि राम्रो छ । एक कप किवीमा लगभग २ ग्राम प्रोटिन हुन्छ। किवीको सबैभन्दा उल्लेखनीय विशेषता भनेको यसको एक्टिनिडिन नामक इन्जाइम हो। जसले प्रोटिनको पाचनमा मद्दत गर्छ । यी फलफूलहरूले तपाईंको आहार सन्तुलनमा राख्न मद्दत गर्छन् । यदि तपाईं कसरत गर्नुहुन्छ भने, आफ्नो खानामा तिनीहरूलाई थप्नु बुद्धिमानी विकल्प हो। तर याद राख्नुहोस्, यी फलफूलहरूले तपाईंको सम्पूर्ण प्रोटिन कोटा पूरा गर्न सक्दैनन्, त्यसैले तिनीहरूलाई अन्य प्रोटिन स्रोतहरूसँग सन्तुलित गर्नु उत्तम तरिका हो ।

राज्य बनाउन कर चाहिन्छ, अजुर्नदृष्टि लगाएर कर संकलन गर्नूहोस् : वाग्ले

काठमाडौ‌ं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व संकलनको बिग्रिएको लय र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित वार्षिक अवधिको राजस्व समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताउनुभएको हो । यस वर्षको राजस्व संकलनका लागि लक्ष्य, समय अवधि र उद्देश्य स्पष्ट रहेको भन्दै उनले भन्सार र राजस्व प्रशासनका अधिकारीहरूलाई अर्जुनदृष्टि लगाएर काम गर्न निर्देशन दिए । नयाँ आर्थिक वर्षको राजस्व संकलन लक्ष्यलाई मिसन मोडमा अघि बढाउन पनि उनले निर्देशन दिए । ‘नेपालमा कर संकलनको विगतको तथ्याङ्क हेर्दा राजस्व संकलनको बिग्रिएको लय र चुहावटको गुनासो अत्यधिक पाइएको छ । अब यो सैह्य हुँदैन । राजस्व संकलनको लक्ष्य, डेटलाइन र उद्देश्यमा यहाँहरू स्पष्ट हुनुहुन्छ,’ अर्थमन्त्री डा.वाग्ले भने, ‘अर्जुनदृष्टि लगाएर अघि बढ्नुहोस् । करदातालाई कर लगाएर होइन, उत्साहित गरेर कर संकलन गर्नुहोस् ।’ कर उठाउने लक्ष्य वैज्ञानिक बनाउनुपर्नेमा जोड दिँदै उनले कर संकलनको जिम्मेवारीमा रहेका कर प्रशासकहरूले अनुकूल वातावरणबाट बाहिर निस्किएर यथार्थमा जोड दिनुपर्ने बताए । ‘कर प्रशासकहरू कम्फरटेबल जोनबाट बाहिर निस्कनुहोस्, वैज्ञानिक र यथार्थतामा जोड दिनुहोस्,’ अर्थमन्त्री वाग्लेले भने, ‘राज्य बनाउन कर चाहिन्छ, कर उठाउन तपाईंहरूको साथ । इमान र मेहनत गरे प्रोत्साहन मिल्छ, गलत गरे दण्ड ।’ भन्सार, राजश्व र आन्तरिक करतर्फका कर प्रशासकहरूलाई सरकारको राजस्व लक्ष्य प्राप्तिका लागि आवश्यक सबै खाले स्रोत साधन उपलब्ध गराउन राज्य तयार रहेको मन्त्री वाग्लेले बताए । नागरिकलाई करको दायरामा ल्याउन सार्वजनिक जनचेतना अभिवृद्धि गर्न, सरकारले घोषणा गरेको छुट योजनालाई कार्यान्वयन गर्न तथा करदाता प्रोत्साहनको उपहार कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि उनले निर्देशन दिए । सो क्रममा उहाँले राजस्व छली रोक्न प्राविधिक उपकरण प्रयोगमा जोड दिन भन्सार र आन्तरिक राजस्व विभागलाई निर्देशन दिए । उनले भन्सार विभागलाई तीन महिनाभित्रै देशका प्रमुख १४ भन्सार कार्यालयमा सवारीसाधन स्क्यानर मेसिन जडान गर्न पनि निर्देशन दिए । ‘भन्सार विभागका महानिर्देशकज्यू, १४ प्रमुख नाकामा सवारीसाधन स्क्यानर जडान गर्न अगाडि बढिहाल्नुहोस्। के(कस्तो सहयोग चाहिने हो, मन्त्रालयबाट भन्नुहोस्,’ अर्थमन्त्रीले भने । उनले यसअघि सञ्चालनमा आएर बिग्रिएका स्क्यानर मेसिन पनि मर्मतसम्भार गरेर सञ्चालनमा ल्याउन कार्यालयहरूलाई निर्देशन दिए । भन्सार र करको चुहावट भइरहेका क्षेत्रहरूको सूक्ष्म अनुगमन गर्न र व्यवसायीलाई तर्साएर होइन, प्रणाली सिकाएर करको दायरामा ल्याउन पनि उनले आग्रह गरे । कार्यक्रममा बोल्दै अर्थसचिव डा. घनश्याम उपाध्यायले कर र राजस्वका विविध क्षेत्रको ह्रासको कारण पहिल्याउन मातहतका अधिकृतहरूलाई निर्देशन दिए । बाहिर देखिएको आर्थिक गतिविधि र कर तथा राजस्वको तथ्याङ्कमा केही बेमेल रहेको भन्दै उनले कमजोरी के–कहाँ रह्यो हेर्न र सच्याउन निर्देशन दिएका हुन् । कार्यक्रममा मन्त्रालयका राजस्व महाशाखा प्रमुख एवम् सहसचिव उत्तरकुमार खत्रीले राजस्व संकलनको विगत, वर्तमान स्थिति र आगामी आर्थिक वर्षको लक्ष्य प्राप्तिको चुनौतीबारे प्रस्तुतीकरण दिएका थिए । कार्यक्रममा बोल्दै भन्सार विभागका महानिर्देशक यमलाल भूसालले गत वर्ष भन्सार विभागले पाएको राजस्व लक्ष्य र प्राप्तिको अवस्था तथा आगामी वर्षको लक्ष्य प्राप्तिको योजना प्रस्तुत गरेका थिए । आन्तरिक राजस्व विभागका उपमहानिर्देशक जनकराज शर्माले सरकारले घोषणा गरेको राजस्व छुट योजना र कर प्रोत्साहन कार्यक्रम सञ्चालनका लागि विभाग लागिपरेको बताए ।

बोर्डको अनुमतिबिना विज्ञापन प्रसारण गरे कारबाही हुने

काठमाडौं । विज्ञापन बोर्डले आफ्नो स्वीकृतिबिना श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण नगर्न सम्बन्धित पक्षलाई निर्देशन छ । बोर्डले सोमबार (आज) सूचना जारी गर्दै कानुनी प्रक्रिया पूरा नगरी प्रसारण भइरहेका विज्ञापन तत्काल परीक्षण गराई अनुमति लिन र कानुनविपरीतका सामग्री अविलम्ब हटाउन निर्देशन दिएको हो । बोर्डका अनुसार विभिन्न सञ्चारमाध्यममार्फत बोर्डको स्वीकृति नलिई विज्ञापन प्रसारण भइरहेको, विज्ञापनकर्ताको नाम, ठेगाना तथा चेतावनीमूलक सन्देशजस्ता अनिवार्य विवरण नराखिएको, तथ्यहीन तथा अतिरञ्जित दाबी गर्दै उपभोक्तालाई भ्रममा पार्ने सामग्रीसमेत प्रसारण भइरहेको पाइएको छ । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १५ (ख) र विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ अनुसार विज्ञापन सामग्री परीक्षण तथा प्रसारण अनुमति दिने अधिकार विज्ञापन बोर्डलाई रहेको छ ।  यसका लागि विज्ञापन प्रसारण सामग्री परीक्षणसम्बन्धी मापदण्ड, २०७८ (पहिलो संशोधन, २०८०) समेत कार्यान्वयनमा रहेको बोर्डले जनाएको छ । बोर्डले नेपालमा प्रसारण हुने सबै श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारणअघि अनिवार्य रूपमा परीक्षण गराई बोर्डबाट अनुमति प्राप्त गर्नुपर्ने स्पष्ट गरेको छ ।  हालसम्म परीक्षण नगराई प्रसारण भइरहेका विज्ञापन सामग्री पनि तत्काल परीक्षण गराई कानुनी प्रक्रिया पूरा गर्न आग्रहसमेत गरेको छ । बोर्डले कानुनी व्यवस्था विपरीत विज्ञापन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

उपायको कारोबार एक वर्षमै ५४ प्रतिशत बढ्यो, १५ सयभन्दा बढीलाई रोजगारी

काठमाडौं । लजिस्टिक्स सेवा प्रदायक उपायले पछिल्लो एक वर्षमा कारोबार, शाखा विस्तार, रोजगारी सिर्जना र पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । कम्पनीका अनुसार चालु आर्थिक वर्षमा कारोबार ५४ प्रतिशतले वृद्धि भएको छ भने कर्मचारी संख्या चार गुणाभन्दा बढी बढेर १ हजार ५ सय नाघेको छ । सन् २०२० मा स्थापना भएको उपायले ई–कमर्स, डिजिटल व्यापार तथा विभिन्न व्यवसायलाई लक्षित गर्दै देशभर लजिस्टिक्स सेवा विस्तार गर्दै आएको छ । हाल कम्पनीको सेवा सबै जिल्लासहित ५ हजारभन्दा बढी वितरण केन्द्रसम्म पुगेको छ । कम्पनीका अनुसार गत आर्थिक वर्षसम्म करिब ३८० कर्मचारी रहेकोमा अहिले १ हजार ५ सयभन्दा बढी कर्मचारी कार्यरत छन् । प्रत्यक्ष रोजगारीसँगै डेलिभरी पार्टनर, स्थानीय साझेदार, यातायात सेवा प्रदायकलगायतमार्फत अप्रत्यक्ष रूपमा ५ हजारभन्दा बढी रोजगारी सिर्जना भएको कम्पनीले जनाएको छ । त्यस्तै, एक वर्षअघि ४० शाखा रहेको कम्पनीले अहिले ४०० भन्दा बढी शाखा तथा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । दैनिक पार्सल वितरण क्षमता पनि करिब १ हजारबाट बढेर औसत १५ हजार पुगेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार कारोबार वृद्धिमा देशव्यापी शाखा विस्तार, ढुवानी सेवाको बढ्दो माग, नयाँ व्यावसायिक ग्राहक, फुलफिलमेन्ट सेवाको विस्तार तथा ई–कमर्स बजारको तीव्र वृद्धिले महत्वपूर्ण भूमिका खेलेको छ । उपायले काभ्रेको साँगामा १८ रोपनीभन्दा बढी क्षेत्रफलमा करिब ४५ हजार वर्गफिटमा अत्याधुनिक थर्ड पार्टी लजिस्टिक्स (३पीएल) वेयरहाउस निर्माण गरिरहेको जनाएको छ । करिब १ लाख ४० हजार वर्गफिट भण्डारण क्षमता रहने उक्त वेयरहाउस आगामी ६ महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य रहेको कम्पनीको भनाइ छ । वेयरहाउस सञ्चालनमा आएपछि स्टोरेज, इन्भेन्टरी व्यवस्थापन, पिक एन्ड प्याक, फुलफिलमेन्ट तथा देशव्यापी वितरणलगायतका एकीकृत ३पीएल सेवाहरू एउटै स्थानबाट उपलब्ध हुने कम्पनीले जनाएको छ । हाल कम्पनीले काठमाडौंको पेप्सीकोलास्थित १८ हजार वर्गफिटको ३पीएल वेयरहाउसबाट सेवा सञ्चालन गरिरहेको छ । उपायका फुलफिलमेन्ट डिभिजनका अध्यक्ष संगम पौडेलले नेपाली व्यवसाय गर्ने शैली तीव्र रूपमा परिवर्तन भइरहेको उल्लेख गर्दै त्यसअनुसार लजिस्टिक्स क्षेत्रलाई पनि आधुनिक बनाउनु आवश्यक रहेको बताए । निर्माणाधीन ३पीएल वेयरहाउसले नेपाली व्यवसायलाई अझ प्रभावकारी, व्यवस्थित र विस्तारयोग्य लजिस्टिक्स समाधान उपलब्ध गराउने उनको विश्वास छ । त्यस्तै, कम्पनीका एभीपी–ह्युमन रिसोर्सेस राजु केसीले कर्मचारी संख्या बढाउनु मात्र नभई दक्ष जनशक्ति उत्पादनमा पनि कम्पनीले जोड दिएको जानकारी दिए । नियमित तालिम, सुरक्षित कार्य वातावरण, करियर विकास र कर्मचारी कल्याणलाई प्राथमिकतामा राखेर उपायलाई दीर्घकालीन रोजगारीको उत्कृष्ट कार्यस्थल बनाउने लक्ष्य रहेको उनले बताए । हाल उपायले ई–कमर्स कम्पनी, साना तथा मझौला व्यवसाय, उत्पादन उद्योग, हाइड्रोपावर आयोजना, रिटेल ब्रान्डलगायतलाई एन्ड–टु–एन्ड लजिस्टिक्स समाधान उपलब्ध गराउँदै आएको जनाएको छ । कम्पनीले आगामी वर्षहरूमा देशव्यापी नेटवर्क विस्तार, थप ३पीएल वेयरहाउस, फुलफिलमेन्ट सेवा तथा कृत्रिम बाैद्धिकता (एआई) मा आधारित आधुनिक लजिस्टिक्स पूर्वाधारमा थप लगानी गर्ने योजना सार्वजनिक गरेको छ ।