विकासन्युज

सुदूरपश्चिममा मौसम सामान्य

काठमाडौं । देशको मध्य तथा पूर्वी क्षेत्रमा मनसुनी वर्षा सक्रिय भइरहँदा सुदूरपश्चिम प्रदेशमा भने आज मौसम सामान्य रहेको छ । स्थानीय वायुको प्रभाव कायमै रहेकोले एक÷दुई स्थानमा वर्षा हुनसक्ने पूर्वानुमान गरिए पनि प्रदेशका अधिकांश जिल्लामा दिउँसो घाम लागेको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ । गएराति कैलालीको चुरे पहाडी क्षेत्र गर्भामा ७० मिलिमिटर वर्षाको मापन गरिएको थियो । ‘सुदूरपश्चिम प्रदेशमा आज मौसम सामान्य रह्यो । प्रदेशमा मौसम क्रमशः सामान्य हुँदै जाने पूर्वानुमान गरिएको छ,’ कार्यालयका प्रमुख सञ्जय साहले भने । वर्षासँगै हुनसक्ने विपद् जोखिम न्यूनीकरणका लागि कैलाली, कञ्चनपुरलगायत जिल्लाका विभिन्न नदी किनारमा ‘गेज रिडर’लाई सक्रिय पारिएको पनि उनले जानकारी दिए । 

बाढीको जोखिममा रहेका ३९३ जनालाई सुरक्षित स्थानमा सारियो

काठमाडौं । काठमाडौं महानगरपालिकाले बाढीको जोखिममा रहेका ३९३ जनालाई सुरक्षित स्थानमा सारेको छ ।अविरल वर्षापछि आएको बाढीले महानगर क्षेत्रका खोला किनारामा बस्दै आएका ३९३ जनालाई सुरक्षित स्थानमा सारिएको हो । महानगर प्रमुख बालेन्द्र शाहले हालसम्म बाढीको जोखिममा रहेका बस्तीका मानिसलाई चारवटा विद्यालयमा सारिएको जानकारी दिए । उनका अनुसार विश्व निकेतन मावि त्रिपुरेश्वरमा ७० जना, गुह्येश्वरी माविमा ५२ जना, जन विकास मावि कुलेश्वरमा ५२ परिवारका २५१ जना र महेन्द्र सरस्वती आधारभूत विद्यालय टेकुमा २० जनालाई राखिएको छ । महानगरको शिक्षा विभागले महानगरभित्रका ७० वटा विद्यालयमा तत्कालका लागि आश्रयस्थल (सेल्टर) को व्यवस्था गर्न सकिने जनाएको छ । उद्धार गरिएकाहरूका लागि खाने र बस्ने व्यवस्था महानगरपालिकाले गरिरहेको छ । महानगरले  कुनै समस्या परेमा १६६००१०५५११,  ०१५९०१७६४, ०१५९०१७६३ मा सम्पर्क गर्न सबैलाई अनुरोध गरेको छ । 

पाकिस्तानको पञ्जाबमा अक्टोबर ७ सम्म भारी वर्षा हुने, २७ जिल्लामा बाढी आउने

काठमाडौं । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) का महानिर्देशक इरफान अली काठियाले शनिबार हालैको बाढीबाट भएको क्षतिको मूल्याङ्कनका लागि सर्वेक्षण कार्य जारी रहँदा पञ्जाबमा आगामी दिनमा थप भारी वर्षा हुने पूर्वानुमान गरिएको बताएका छन् ।  पाकिस्तानभरि जुन महिनादेखि जारी मनसुन वर्षाका कारण अहिलेसम्म कम्तीमा १ हजार ३७ जनाको ज्यान गएको छ । प्रमुख नदीहरू भरिएपछि तिनका किनारमा रहेका ग्रामीण बस्तीहरूमा ठूलो क्षति पुगेको छ । पञ्जाब प्रान्तमै चार हजार सात सय गाउँका करिब ४७ लाख जनसङ्ख्या प्रभावित भएको डन पत्रिकाले जनाएको छ । लाहोरमा आयोजित पत्रकार सम्मेलनमा काठियाले पञ्जाबभरि आइतबार बिहानदेखि वर्षा सुरु हुने र विशेषगरी उत्तरी भागहरूमा अक्टोबर ७ (मङ्गलबार) सम्म जारी रहने अनुमान गरिएको जानकारी दिए ।  रावलपिन्डीदेखि लाहोरसम्मको उत्तर तथा उत्तरपूर्वी भागमा औसत ३० देखि ३५ मिलिमिटर वर्षा हुने अपेक्षा गरिएको छ भने दक्षिणी पन्जाबमा पाँचदेखि १० मिलिमिटर वर्षा हुने सम्भावना रहेको उनले जानकारी दिए । अक्टोबर ६ र ७ मा वर्षाको तीव्रता अझै बढ्ने चेतावनी दिँदै उनले भने, ‘उत्तरी र उत्तरपूर्वी पञ्जाबमा ५० देखि ७० मिलिमिटर वर्षा हुने अनुमान गरिएको छ र यसको प्रभाव केही मध्य जिल्लामा पनि देखिन सक्छ ।’ काठियाले चिनाब नदीको हेड मारालामा हाल २० हजार क्युसेक पानी मापन गरिएको उल्लेख गरे । साथै उनले पाकिस्तान प्रशासित काश्मीरमा रहेको दुल हस्ती जलविद्युत् परियोजनामा आगामी ४८ घण्टामा वर्षा र सिल्ट फ्लसिङका कारण पानीको बहाव १ लाखदेखि १ लाख ५० हजार क्युसेकसम्म बढ्न सक्ने ‘अनौपचारिक स्रोत’ हरूको आधारमा जानकारी दिए । यसैबीच, रावलपिन्डी र इस्लामाबादमा शुक्रबार हल्कादेखि भारी वर्षा भइसकेको र तल्लो भू–भाग जलमग्न भएको डनले उल्लेख गरेको छ । पाकिस्तानको मौसम विभागले पनि अक्टोबर ३ देखि तीव्र हुँदै गएर अक्टोबर ७ सम्म सक्रिय रहने चेतावनी जारी गरेको छ ।  काठियाका अनुसार चेनाब, रावी र सतलज नदीको किनारमा फैलिएको बाढीपछिको क्षति मूल्याङ्कनका लागि पञ्जाबका २७ जिल्लामा सर्वेक्षण जारी छ । सेप्टेम्बर २७ बाट सुरु भएको यो सर्वेक्षण एक महिनाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ, जसमा ६९ तहसिल समेटिएका छन् । ृृनका अनुसार हालसम्म बाढीबाट ४७ लाख मानिस प्रभावित भएका छन्, २६ लाख ३० हजार मानिस र २१ लाख १० हजार गाईवस्तुहरू सुरक्षित स्थानमा सारिएको छ । पञ्जाबमा मृत्युको सङ्ख्या १३४ पुगेको छ, यद्यपि पूर्ण सर्वेक्षणपछि यो सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । पञ्जाबकी मुख्यमन्त्री मरियम नवाजको निर्देशनमा २७ जिल्लाका ११ हजार ५ सय सर्वेक्षणकर्मी २ हजार २१३ टोलीमार्फत फिल्डमा खटिइरहेका छन् । गणनाको पारदर्शिता सुनिश्चित गर्न पाकिस्तानी सेना, सहरी एकाइ, कृषि तथा पशुधन विभागका कर्मचारी र जिल्ला प्रशासनका प्रतिनिधिहरू संयुक्त रूपमा समावेश छन् ।  केही टोलीहरू अझै पनि पानीमुनिका क्षेत्रहरूमा पुग्न संघर्ष गरिरहेको काठियाले स्वीकार गरे । तर, उनले मुख्यमन्त्री मरियम नवाजसहित सबै सरोकारवाला अधिकारीहरूले सर्वेक्षणलाई वास्तविक समयमा निगरानी गरिरहेको र तथ्याङ्क गणना भएलगत्तै प्रान्तीय आपत्कालीन सञ्चालन केन्द्रमा पठाउने व्यवस्था गरिएकोमा जोड दिए ।  उनले बहुस्तरीय प्रमाणीकरण प्रक्रियाबारे पनि स्पष्ट पारे । तहसिल र जिल्ला तहमा प्रारम्भिक जाँचपछि तथ्याङ्क अर्बन युनिटमा पठाइन्छ र त्यसपछि पञ्जाब सूचना प्रविधि बोर्ड (पिआइटिबी) द्वारा प्रमाणीकरण गरिन्छ । पहिलो चरणमा राष्ट्रिय डाटाबेस तथा दर्ता प्राधिकरण (एनएडिआरए) द्वारा नागरिकताको प्रमाणीकरण (सिएनआइसी) जाँच गरिन्छ । त्यसपछि पशुधन खोप रेकर्डसँग तथ्याङ्क क्रस–म्याच गरी शुद्धता सुनिश्चित गरिन्छ । यससँगै, गैर–मालिकहरूको समावेश रोक्न र वास्तविक लाभार्थी छुट्न नदिन पञ्जाब ल्यान्ड रेकर्ड अथोरिटी (पिएलआरए) डाटाबेससँग पनि परामर्श गरिन्छ । पिआइटिबीले अन्तिम चरणमा आफ्नै आन्तरिक जाँच गरेपछि मात्र तथ्याङ्क वित्तीय वितरणका लागि खाली हुन्छ । काठियाले भने, ‘लाभार्थीहरूका लागि बैंक अफ पञ्जाब (बिओपी) काउन्टरहरू स्थापना गरिनेछ, उनीहरूलाई क्षतिपूर्ति सङ्कलन गर्नुपर्ने मिति र स्थानको सूचना सन्देशमार्फत दिइनेछ र आवश्यक परे यातायातको व्यवस्था पनि मिलाइनेछ ।’

नागरिकको उद्धार र राहतमा सक्रियता देखाउन सरकारलाई माओवादीको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले उच्च सतर्कताका साथ विपद् प्रभावितहरूको उद्धार तथा राहतमा खटिन पार्टी नेता कार्यकर्तालाई आग्रह गरेको छ । प्रवक्ता अग्नि प्रसाद सापकोटाले आज विज्ञप्ति जारी गर्दै विपद्बाट सिर्जित विषम परिस्थितिमा जनताको सेवामा जुट्न आग्रह गरे । उनले तीनै तहका सरकारलाई विपद् प्रभावित नागरिकको उद्धार र राहत कार्यमा सक्रियता पूर्वक क्रियाशील हुन आग्रह समेत गरे ।  यस्तै, विपद्को सम्भावित जोखिम भएका स्थानका नागरिकलाई सतर्कता अपनाउन र बाढीपहिरो, डुबान, भू-क्षयलगायत कारण मानवीय क्षतिसमेत हुनसक्ने भएकाले अत्यावश्यक काम नपरी यात्रामा ननिस्कन तथा सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ ।

अलपत्र यात्रुलाई चितवनका होटलहरूले ७५ प्रतिशत छुट दिने, राजमार्ग पूर्ण रूपमा बन्द

काठमाडौं । चितवनका विभिन्न ठाउँमा अलपत्र परेका यात्रुलाई जिल्लाका होटल तथा लजमा ७५ प्रतिशत छुट दिइने भएको छ । सरोकार भएकाहरूसहित आज जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न बैठकले होटलको कोठा भाडामा ७५ प्रतिशत छुट दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । चितवन जिल्ला प्रवेश गरेका र सवारी आवागमन बन्द भएका कारण गन्तव्यमा पुग्न नसकेका यात्रुलाई जिल्ला भरका सबै प्रकारका होटलमा लिँदै आएको कोठा भाडामा ७५ प्रतिशत शुल्क छुट दिने निर्णय भएको उहाँले बताए ।  निर्णय कार्यान्वयनका अवस्था बुझ्न होटल सङ्घ चितवन र जिल्ला प्रहरी कार्यालयले अनुगमन गर्ने पनि प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए । होटल व्यवसायी सङ्घका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)ले अलपत्र परेका यात्रुले आफूलाई ९८५५०१४१८० मा सम्पर्क गर्न सक्ने बताए । उनले बाध्यता हेरेर कतिपयलाई निःशुल्क बस्ने व्यवस्थासमेत गरिने बताए । क्षेत्रीय होटल सङ्घ सौराहाका उपाध्यक्ष सुवासचन्द्र गौतमले आफ्नो निजी होटलमा अलपत्र परेका ४० जनालाई दैनिक निःशुल्क सेवा दिने बताउँदै अन्यलाई प्रशासनको निर्देशनअनुसार ७५ प्रतिशत छुट दिने बताए । चितवनको मुग्लिङ, नारायणगढ, भरतपुर, टाँडी, पर्सालगायत क्षेत्रमा अलपत्र यात्रुले प्रहरीसँगको समन्वयमा होटलमा छुट सुविधा लिएर बस्न सक्ने छन् ।

हेलिकप्टर तयारी अवस्थामा छन्, विपदजन्य घटनाको निःशुल्क उद्धार गर्छाैं : वायु सेवा सञ्चालक

काठमाडौं । वायु सेवा सञ्चालकहरूले काठमाडौं उपत्यकाभित्र हुने विपदजन्य घटनाको निःशुल्क उद्धार गर्ने भएका छन् ।  वायु सेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले विज्ञप्ति जारी गर्दै उद्धारको समन्वयका लागि नागरिक उड्डयन प्राधिकरणलाई समन्वय अधिकारी तोक्न आग्रह गरे ।  ‘हाल देशका अधिकांश स्थानहरुमा अत्यधिक रुपमा वर्षा भइरहेको र वर्षातका कारण देशका विभिन्न भू-भागहरूमा बाढी पहिरो जस्ता विपदजन्य अवस्थामा परेका आम नागरिकको उद्धार कार्यको लागि संघमा आवद्ध हेलिकप्टर कम्पनीहरू तयारी अवस्थामा रहेको उनको भनाइ छ ।  ‘समन्वय अधिकारीको निर्देशन बमोजिम उद्धार कार्य गर्ने व्यहोरा समेत यसै पत्रद्वारा मार्फत जानकारी गर्दछौं,’ जारी विज्ञप्तिमा उल्लेख छ ।  सरकारले हेलिकोप्टर सञ्चालकहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको थियो ।

निरन्तर निगरानी र अनुगमन भइरहेको छः गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भारी वर्षापछिको विपद्का क्रममा हुने राहत एवं उद्धारको निरन्तर निगरानी एवं अनुगमन भइरहेको बताएका छन् । विपद् जोखिम न्यूनीकरणका लागि भइरहेका कामबारे जानकारी दिन आज भिडियो सन्देश जारी गर्दै उनले निरन्तर कामको अनुगमन र निगरानी भइरहेको बताए ।  असोज १७ गते बेलुकीदेखि निरन्तर परिरहेको वर्षाको मन्त्रालय र अन्तर्गतका निकायले पहिलेदेखि नै सूचना जारी गरेर सतर्क गराइएको उनले उल्लेख गरे ।  साथै, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकाय, जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत निकायबीच समीक्षा बैठक गरी काम भइरहेको पनि उनले जानकारी दिए ।

उद्धार तथा राहतमा जुट्न कांग्रेस महामन्त्री थापाको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विपद्को अवस्थामा सबै नागरिक, कांग्रेस नेता कार्यकर्ता तथा जनप्रतिनिधिलाई राहत तथा उद्धारमा जुट्न आग्रह गरेका छन् । उनले आज सार्वजनिक गरेको वक्तव्यमा सरकारले जारी गरेका सूचनालाई व्यापक रूपमा प्रचारप्रसार गर्न र सम्भावित जोखिममा रहेका स्थानका जनतालाई सचेत गराउन पनि आग्रह गरेका हुन् ।  ‘भारी वर्षाले सिर्जित विपद्को यो अवस्थामा म आमनेपाली नागरिक, नेपाली कांग्रेसका साथीहरू, स्थानीय तह तथा प्रदेशका निर्वाचित प्रतिनिधिलाई सरकारले जारी गरेका सूचना व्यापक रूपमा फैलाउन र सम्भावित विपद्को समयमा आफ्नो ख्याल गर्दै उद्धार, राहत र सेवामा जुट्न अनुरोध गर्दछु,’ महामन्त्री थापाले भने ।  उनले पार्टीका सबै तहका कार्यकर्तालाई पनि पार्टीले जारी गरेका निर्देशन र सूचनालाई आत्मसात गर्दै आफ्ना ठाउँमा सक्रिय रहन आग्रह गरे ।  महामन्त्री थापाले विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको भन्दै सबै निकाय र जनशक्तिलाई साझा जिम्मेवारीका साथ अग्रपङ्क्तिमा खटिनु समयको माग भएको बताए ।