प्रधानमन्त्री कार्कीद्वारा सहिद परिवारसँग भेट, भनिन्- सहिदको रगतले न्याय पाउनुपर्छ
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विजया दशमीको अवसरमा जेनजी आन्दोलनका सहिद परिवारसँग भेटघाट गरेका छन् । प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौंको वनस्थलीमा पुगेर सहिद सौरन किशोर श्रेष्ठको परिवारसँग भेटघाट गरेका हुन् । प्रधानमन्त्रीले नागार्जुन-३ पुगेर सहिद कान्छी नगरकोटीका परिवार र कीर्तिपुरस्थित मैत्रीनगर पुगेर सहिद बुद्धिबहादुर तामाङको परिवारसँग भेट गरे । प्रधानमन्त्री कार्कीसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि सहिद परिवारलाई भेट्न गएका थिए । मन्त्री खरेलले सहिद परिवारसँग भेट गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘प्रधानमन्त्रीले पनि विजया दशमीमा टीका लगाउनु भएन, मैले पनि टीका लगाइन, जेनजी आन्दोलनका मृतक तथा सहिद परिवारसँग भेटघाट र कुराकानी गरियो, सहिद परिवारको इच्छा सहिदको रगतले न्याय पाउनुपर्छ भन्ने चाहना रहेको थियो ।’
बिदाका दिन पनि सडक तथा पुल निरीक्षणमा निस्किए मन्त्री घिसिङ’
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बीपी राजमार्ग र मध्यपहाडी राजमार्गसहित आसपासका सडक तथा पुलको निरीक्षण तथा अनुगमन गरेका छन् । सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका भएका मन्त्री घिसिङ बडादसैँ पर्वको बिदाका अवसरमा पनि सम्बद्ध मन्त्रालयका प्राविधिक तथा उच्च अधिकारीलाई साथमा लिई स्थलगत निरीक्षणसहित निर्देशन दिए । उनले काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लामा पर्ने महत्वपूर्ण सडक खण्डका बिग्रे भत्केका भौतिक संरचना र अलपत्र अबस्थामा रहेका पुल तथा पूर्वाधारहरूको निरीक्षण गरी सम्बद्ध अधिकारीहरूलाई आवश्यक निर्देशन दिएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । सङ्घीय राजधानी काठमाडौंबाट बीपी राजमार्ग हुँदै गृहजिल्ला रामेछाप आउनुभएका मन्त्री घिसिङले बीपी राजमार्गसहित खैरेनी घाटको पुल र निर्माणाधीन मध्यपहाडी लोकमार्गको कार्य प्रगतिका बारेमा जानकारी लिए । बाढी पहिरोलगायतका कारण बिग्रे भत्केका संरचनाहरूको अस्थायी रुपमा भने पनि जतिसके छिटो मर्मत गर्नुपर्ने बताउँदै उनले भत्केका पक्की पुलहरूको स्थानमा ‘बेली बृज’ र ‘कल्भटर्’ निर्माण गर्न र सडकमा देखिएका खाल्टाखुल्टी पुरी सहजरूपमा यातायात सञ्चालन तथा व्यवस्थापन गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएको बताए ।
५ वर्षमा झण्डै १५ लाख व्यक्तिको आँखा उपचार
काठमाडौं । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित रुपन्देहीको भैरहवास्थित श्री रण अम्बिका शाह आँखा अस्पतालबाट पाँचवर्षको अवधिमा झण्डै १५ लाख बिरामीले उपचार सेवा लिएका छन् । आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्ममा १४ लाख ७७ हजार १७४ जनाको आँखाको उपचार भएको अस्पताले जनाएको छ । अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयका अनुसार आव २०७७/७८ मा १ लाख ५३ हजार ५३३, २०७८/७९ मा २ लाख ८२ हजार २३७, २०७९/८० मा ३ लाख २८ हजार ८४०, २०८०/८१ मा ३ लाख २९ हजार ५११ र २०८१/८२ मा ३ लाख ८३ हजार ५३ जनाको उपचार गरिएको हो । अस्पतालको तथ्याङ्कअनुसार उपचारका लागि आउनेको सङ्ख्या क्रमशः वृद्धि हुँदै गएको देखिन्छ । त्यस्तै आर्थिक वर्ष २०८१/८२ मा २८ हजार ७६१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको सो अस्पतालका सहव्यवस्थापक तुल्सीप्रसाद पराजुलीले जानकारी दिए । यसैगरी, आँखाको पर्दा फाटेका, आँसु आउने नली र आँखाको डेढोपनको समस्या झेलिरहेका १० हजार ६०६ जनाको शल्यक्रिया गरिएको सह-व्यवस्थापक पराजुलीले बताए । उनका अनुसार उल्लिखित सेवा लिन आउनेमा ५० प्रतिशतभन्दा बढी नेपाली रहेको छन् । सो अस्पतालले गत वर्षदेखि नाक, कान तथा घाँटीरोग (इएनटी) विशेषज्ञ सेवासमेत प्रदान गर्दै आएको पराजुलीले जानकारी दिए । उनका अनुसार हालसम्म आठ हजार बढीले यो सेवा लिइसकेका छन् । विसं २०४० सालदेखि सञ्चालनमा आएको यस अस्पतालले नेपालका विभिन्न जिल्लासँगै भारतीय बिरामीलाई समेत सेवा दिँदै आएको छ । यसैगरी सो अस्पतालले विभिन्न स्थानमा निःशुल्क आँखा परीक्षण शिविरसमेत सञ्चालन गर्दै आएको सूचना अधिकारी पाण्डेयले जानकारी दिए ।
९ किलोमिटर नयाँ ‘ट्र्याक’ खोलियो, १ हजार ५४ आयोजना सम्पन्न
काठमाडौं । विकास-निर्माणका गतिविधिलाई केन्द्रमा राखेर क्रियाशील व्यास नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा नौ किलोमिटर नयाँ ‘ट्र्याक’ खोलेको छ । प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार नगरपालिकाले गत आवमा ३.९४ किलोमिटर सडक कालोपत्र र ढलान गरेको छ । हालसम्म नगरपालिकाका १०५ किलोमिटर सडक कालोपत्र र ढलान भएका छन् । यी पालिकाका भित्री सडक पनि हुन् । सोही आवमा एउटा पक्की पुल र ५ वटा उद्यान पनि निर्माण भएका छन् । साथै ४९६ घरमा स्वच्छ खानेपानीको प्रबन्ध भएको छ । १ हजार ५४ आयोजना सम्पन्न नगरपालिकाले गत आवमा वर्ष १ हजार ५४ आयोजना सम्पन्न गरेको छ । १ हजार २१ उपभोक्ता समिति र ३३ वटा आयोजना ठेक्का मार्फत सम्पन्न गरिएको प्रमुख प्रशासकीय अधिकृत लम्सालले जानकारी दिए । पूरा भएका १६ वटा आयोजना ५० लाख रुपैयाँभन्दा बढी लागतका, १६६ वटा आयोजना ५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मका र ८७२ आयोजना ५ लाख रुपैयाँ भन्दा कम लागतका हुन् ।
भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गमा राति गाडी चलाउन रोक
काठमाडौं । भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गमा आजदेखि २१ गतेसम्म राति गाडी चलाउन रोक लगाइएको छ । काभ्रे जिल्ला प्रशासन कार्यालयले असोज १६ गतेदेखि २१ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक र निजी यात्रु बाहक सवारीसाधन सन्चालनमा रोक लगाएको हो । बीपी राजमार्गको काभ्रे भञ्ज्याङ-भकुण्डेबेँसी-सिन्धुली सडक खण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारीसाधन आवागमन निषेध गरिएको काभ्रे जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको हो । साथै, रोसी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै स्थानमा सवारीसाधनहरू रोक्न सक्ने सूचनामा उल्लेख गरिएको छ। उच्च सतर्कता र पूर्वतयारी एवं प्रतिकार्यका लागि अनुरोध ! राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति २०८२ असोज १५ गते प्रकाशित उच्च सतर्कताका लागि अनुरोध गरिएको सूचना बमोजिम असोज १७ गतेदेखि २० गतेसम्म यस (काभ्रे) जिल्लामा समेत भारी वर्षाको सम्भावना रहेको जनाएको छ। बाढी पहिरोको उच्च जोखिममा रहेको देखिएकाले देहायअनुसार गर्ने गराउन सम्बन्धित कार्यालयहरू, संस्थाहरू एवं जिल्लावासी सबैमा अनुरोध गर्दैछौँ। क. वर्षात् र बाढी पहिरोबाट सवारीसाधन र यात्रुलाई हुन सक्ने जोखिम हुन नदिन २०८२ असोज १६ गते बिहीबारदेखि असोज २१ गते मंगलबारसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गको काभ्रे भञ्ज्याङ-भकुण्डेबेँसी-सिन्धुली सडक खण्डमा आवतजावत गर्ने एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारीसाधनबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रु वाहक सवारीसाधनको आवागमनमा निषेध गरिएको छ। साथै रोसी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै स्थानमा सवारीसाधनहरू रोक्न सक्नेछ। ख. उल्लेखित अवधिमा अत्यन्त जरुरी नभईकन बाहिर नजाने, विशेषगरी टाढा र रातको समयमा यात्रा नगर्ने। ग. पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउने। विशेष स्थानीय तहहरूले स्वीकृत मनसुन कार्ययोजना अनुरूप आवश्यक पूर्वतयारी र प्रतिकार्य गर्ने गराउने। घ. डुबान हुने सक्ने बस्तीहरूलाई सुरक्षित क्षेत्र (अस्थायी) र सुरक्षित स्थानबारे जानकारी लिने र आवश्यक पर्दा गाँउपालिका/नगरपालिकाद्वारा यसअघि निर्धारित सुरक्षित स्थानमा जाने। ङ. जिल्ला स्थित सुरक्षा निकायहरू, स्थानीय तहहरू, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय स्वीकृत प्रतिकार्य योजना अनुरूप तयारी अवस्थामा रहने। च. बीपी र अरनिको राजमार्ग आयोजनाहरू (सडक डिभिजन भक्तपुर र सूर्यविनायक-धुलिखेल सडक आयोजना) ले सडकहरूमा तुरून्त परिचालन हुने गरी डोजर, एस्काभेटर, लोडरलगायतका साधनहरू तयारी अवस्थामा राख्ने । छ. पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्न सरोकारवाला संस्थाहरू जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क (अलर्टमा) रहने। ज. स्थानीय विपद् व्यवस्थापन समितिहरू र विपद् व्यवस्थापन समितिका क्लस्टर लिड र क्लस्टरको लिडहरूले स्वीकृत प्रतिकार्य योजनाअनुरूप तयारी अवस्थामा रहने।
प्रधानमन्त्री कार्की मृतकका परिवारलाई भेट्दै
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूका परिवारसँग भेट गर्ने भएकी छिन् । प्रधानमन्त्रीले आज अपरान्ह सौरन किशोर श्रेष्ठ, कान्छी नगरकोटी र बुद्धिबहादुर तामाङका परिवारजनसँग भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्की स्वर्गीय श्रेष्ठ, नगरकोटी र तामाङका शोकाकुल परिवारजनलाई भेट्न उहाँहरूका परिवार रहेका स्थान क्रमशः काठमाडौं महानगरपालिका-१६ वनस्थली, नागार्जुन नगरपालिका-३ र कीर्तिपुर नगरपालिका-२ मैत्रीनगर पुग्ने कार्यक्रम छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले लगाए दसैँको टीका
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दसैँको टीका लगाएका छन् । राष्ट्रपति पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११:५३ को शुभ साइतमा टीका लगाए । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लगाएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् । यसअघि राष्ट्रपति पौडेलले बडा दसैँका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउनु घोषणा गरिसकेका छन् । देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी खड्काले बताइन् ।
डाँडाखेत-राहुघाट प्रसारण आयोजना अन्तिम चरणमा
काठमाडौं डाँडाखेत-राहुघाट प्रसारण आयोजना अन्तिम चरणमा पुगेको छ । म्याग्दी र राहुघाट ‘बेसिन’का विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रणालीमा प्रवाह गरिने यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत भएको हो । आयोजना प्रमुख रोशन अग्रवालका अनुसार ४ वर्षमा उक्त प्रगति भएको हो । वन क्षेत्र व्यवस्थापन, ‘सबस्टेसन, टावर’ निर्माणलगायत काममा विना व्यवधान सम्पन्न नहुँदा आगामी कात्तिक ३० गतेसम्ममा बाँकी काम पूरा गर्न असम्भव प्रायः छ । मालिका गाउँपालिका-७ डाडाखेतदेखि रघुगङ्गा गाउँपालिका-३ राहुघाटको अम्वाङ सम्म २५ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै स्थानमा सबस्टेसन निर्माण गर्न ४ वर्षअघि ३ अर्ब ५७ करोड रुपैयाँमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । हालसम्म ४५ वटा ‘डबल सर्किट टावर’ निर्माण भइसेकाका छन् भने १४ वटा निर्माणाधीन छन् । म्याग्दी नदीमा एक सय ७२.८ मेगावाट क्षमताका ४ वटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । राहुघाटमा ३५.५ मेगावाटको चिमखोला-राहुघाट-मंगले, ४८ मेगावाटको अपर राहुघाट र २१.३ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत आयोजनाले उत्पादन थालेका छन् । ४० मेगावाट क्षमताको राहुघाट र २३.५ मेगावाटको माथिल्लो ठूलो खोला आयोजना निर्माणको अन्तिम चरणमा छन् । तुदी पावरले बनाएको चिमखोला-राहुघाट-मङ्गले र संयुक्त ऊर्जाको ठूलो खोला आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रसारण लाइनमा बिजुली प्रवाह गरेका छन् ।