विकासन्युज

नवदुर्गाको तान्त्रिक नृत्य आजदेखि सुरु

काठमाडौं । तान्त्रिक नाच भनेर चिनिने भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको प्रारम्भिक नृत्य आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष विजयादशमीको दिनदेखि नवदुर्गा नाचको प्रारम्भिक नृत्य सुरु गरिने नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बाल गोपाल बन मालाले जानकारी दिए ।  तौलाछें टोलको झट्टाप्वा नासद्यःमा नवदर्गाका मूल पुजारीले देवगण हुने सबै वनमालालाई तान्त्रिक विधिअनुरुप पूजा गरेपछि घंघला सिं ल ल्हायगु (घुँघुँरू हस्तान्तरण) गरेपछि नवदुर्गा नाचको प्रारम्भिक नृत्य सुरु भएको मानिन्छ । बनमालाहरुलाई सिद्धि थाप्ने विधानका क्रममा नवदुर्गा मन्दिरका पुजारी कर्माचार्यले तीन प्रमुख बाजा खिं बाजा, तःबाजा, र कार्य बाजा तथा घुँघलाहरु नास द्यः (नृत्यनाथ) को अगाडि राखी तान्त्रिक विधिपूर्वक पूजा गर्ने प्रचलन रहेको अध्यक्ष वनमालाले बताए । नास द्यःलाई भेडाको भोग बलि दिएपछि बाजा र घ“घला प्राप्ति गरेका वनमालाहरुले नास द्यःअघितिर बाजाबजाइ नवदुर्गा नृत्य पहिलो प्रस्तुत गर्नुपर्ने प्रचलन रहेको छ ।

जापानले अमेरिकामा साढे ५ खर्ब डलर लगानी गर्ने, ४५ दिनभित्र रकम उपलब्ध गर्नुपर्ने

काठमाडौं । जापानका कर दूतले बुधबार स्पष्ट पार्दै हालै सम्पन्न जापान-अमेरिका व्यापार सम्झौताको हिस्साका रूपमा प्रस्तावित ५ खर्ब ५० अर्ब डलरको लगानी विषयमा ‘संयुक्त राज्य अमेरिकासँग कुनै विसङ्गति नरहेको’ जानकारी दिए ।  ह्वाइट हाउसका अनुसार उक्त सम्झौता अन्तर्गत खतरामा परेका केही भन्सार शुल्कहरू घटाइने र सोको सट्टा टोकियोले अमेरिकामा लगानी गर्नेछ । यससँगै, दक्षिण कोरियाले पनि ३ खर्ब ५० अर्ब डलर ऋण उपलब्ध गराउने सम्झौता गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापान र दक्षिण कोरियाले यसलाई ‘साइनिङ बोनस’ का रूपमा अग्रिम उपलब्ध गराउने धारणा सार्वजनिक गरेका छन् । तर, अमेरिका-जापानबीच भएको समझदारी ज्ञापनपत्र (एमओयु) मा तत्काल भुक्तानीको प्रावधान नभई ‘समय-समयमा’ रकम उपलब्ध गराइने उल्लेख गरिएको छ । सम्झौतामा वासिङ्टनले लगानी क्षेत्र तोकेको ४५ दिनभित्र जापानले आवश्यक रकम उपलब्ध गराउनुपर्ने वा अन्यथा उच्च भन्सार शुल्कको जोखिम ब्यहोर्नुपर्ने व्यवस्था पनि छ । तर, जापानका लागि प्रमुख वार्ताकार रियोसेइ अकाजावाका अनुसार, कुल ५ खर्ब ५० अर्ब डलरमध्ये एक/दुई प्रतिशत मात्र प्रत्यक्ष लगानी हुनेछ भने बाँकी रकम ऋण तथा ऋण ग्यारेन्टीका स्वरूपमा रहनेछ । ‘वासिङ्टनले लगानी, ऋण र ऋण ग्यारेन्टीबीचको भिन्नतामा खास ध्यान दिएको छैन,’ उनले भने, ‘त्यहाँ कुनै विसङ्गति छ भन्ने म विश्वास गर्दिनँ । विसङ्गतिबाट जोगिनका लागि अमेरिकाले एमओयु प्रस्ताव गर्यो, जापानले त्यसको जवाफ दियो र त्यसमा हस्ताक्षर भयो ।’ दूत अकाजावाले भने, ‘समझदारी ज्ञापनपत्र कुनै अन्तर्राष्ट्रिय सन्धि होइन, न त यो कानूनी रूपमा बाध्यकारी हुन्छ । यो त एक प्रशासनिक कागजात मात्र हो जसले साझा बुझाइ र समझदारीलाई अभिव्यक्त गर्दछ, जुन दुवै पक्षबीच विद्यमान छ भन्नेमा म पूर्ण विश्वस्त छु ।’

भारतको मेट्रो रेल परियोजनाको लागि एडीबीले स्वीकृति गर्यो १९० मिलियन अमेरिकी डलर ऋण

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले भारतमा इन्दौर मेट्रो रेल परियोजनाको निर्माणका लागि १९० मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।  यस परियोजनामा इन्दौरको अत्यधिक मानविय चाप भएको क्षेत्रलाई विमानस्थलसँग जोड्ने ७ वटा स्टेसन सहित ८.६२ किमी स्थलगत मेट्रो लाइन निर्माण गरिएको थियो ।  मेट्रो लाइनले ग्रीन हाउस ग्याँस उत्सर्जनलाई वार्षिक रूपमा अनुमानित १२ हजार ४१४ टन कार्बन डाइअक्साइड घटाउने र भारतमा हावाको गुणस्तर सुधार गर्ने अपेक्षा गरिएको छ । यस पहलमा सेवाहरूसँग बहुआयामिक एकीकरण, शैक्षिक संस्था र बजारमा पहुँच सुधार गर्ने लगायतका प्रयास समावेश गरिएको छ । मेट्रो, विमानस्थल, रेलवे र बस प्रणालीहरू बिचको सम्न्वयात्मक कार्यलाई अनुकूलन गर्न बहुआयामिक एकीकरण अध्ययन पनि गरिने जनाइएको छ ।  सन् २०३० जनवरी सम्ममा सञ्चालन सुरु हुने अपेक्षा गरिएको यस परियोजनालाइ मध्य प्रदेश मेट्रो रेल कर्पोरेसन लिमिटेडले सञ्चालन गर्ने जनाइएको छ ।

आईएमएफले स्वीकृत गर्‍यो ईसीएफको ऋण सुविधा, ४ करोड अमेरिकी डलर पाउने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विस्तारित ऋण सुविधा (ईसीएफ) को किस्ता स्वीकृत गरेको छ । आईएमएफको कार्यकारी बोर्डले नेपालमा ईसीएफबारे छैटौं समीक्षा गर्दै विस्तारित ऋण सुविधा स्वीकृत गरेको हो । अर्थमन्त्री रामेश्वर खनालका अनुसार आईएमएफको विस्तारित ऋण सुविधा अन्तर्गतको छैटौं समीक्षा सफलतापूर्वक सम्पन्न भएको हो ।  अर्थमन्त्री खनालले आईएमएफ बोर्ड बैठकले नेपालको ईसीएफ छैटौं समीक्षालाई अनुमोदन गरेको जनाए ।  यस स्वीकृतिसँगै नेपालले ईसीएफ कार्यक्रम अन्तर्गत ४ करोड अमेरिकी डलर बराबर वित्तीय सहयोग प्राप्त गर्ने बाटो खुलेको हो । 

विशेष कृषि मौसम बुलेटिनः बालीनालीको उचित व्यवस्थापन गर्न सुझाव

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेबाट मनसुनी गतिविधि थप सक्रिय हुने जानकारी गराएपछि सरकारले विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ ।  जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन जारी गर्दै भारी/अति भारी वर्षाको समयमा कृषि कर्म गर्दा ध्यान दिन अनुरोध गरिएको छ ।  कृषि मौसम विद् रामेश्वर रिमालले यस समयमा किसानले विशेष ध्यान दिनसके बालीनाली जोगाउन सकिने र त्यसका लागि हालै जारी बुलेटिनलाई ध्यान दिन अनुरोध गरे ।  उनका अनुसार जारी बुलेटिनमा मनसुन सक्रिय रहने समयमा तरकारी बाली, फलफूल बगैँचा तथा पाक्न लागेका धान खेतमा पानी निकासको उचित व्यवस्था गर्न, विषादी छर्कने कार्य रोक्न, नदी, खोला छेउका संरचनाहरू बाढीको जोखिममा पर्नसक्ने हुनाले सम्भव भएसम्म भण्डारणमा रहेका तथा अन्य सामग्री सुरक्षित स्थानमा व्यवस्थापन गर्न भनिएको छ ।  यस्तै, जल तथा मौसम विज्ञान विभागबाट जारी हुने तीन दिने मौसम पूर्वानुमान बुलेटिन अध्ययन गरी सोहीअनुसार व्यवस्थापन गर्न, आगामी असोज १७-१९ सम्म मनसुन सक्रिय रहने देखिएकाले धानबालीमा हुने सम्भावित क्षति न्यूनीकरणका लागि पानीको निवास, धान नकाट्न, काटेको भए भित्र्याइहाल्न, अग्लो ठाउँमा भण्डारण गर्न, विभिन्न तरकारी बालीको नर्सरीमा पानी जमेर बेर्ना कुहिन सक्ने भएकाले पानी निकासको प्रबन्ध गर्न पनि अनुरोध गरिएको छ ।  बर्सातको समयमा मौरीलाई चरन क्षेत्रको कमी हुने भएकाले चिनी चास्नी बनाएर खुवाउन, पशुबस्तुलाई पानीमा भिज्ने गरी नराख्न, दानालाई सफा र ओभानो ठाउँमा भण्डारण गर्न, भिजेका र बाढी पसेका स्थानका घाँस, पराल, दाना वा अन्न नखुवाउन पनि अनुरोध गरिएको छ । यस्तो अवस्थामा पशुबस्तुलाई पाचन प्रणाली र पाचन प्रणाली जन्य रोगका लक्षण देखिन सक्ने हुँदा त्यसबारे चनाखो भई अनुगमन गर्न पनि भनिएको छ ।  ‘चिसो ठाउँमा भण्डारण गरेको दानामा ढुसीको सङ्क्रमण हुनसक्छ, जसले गर्दा पशुबस्तुको पाउनु साथै विष उत्पन्न भई पशुबस्तु मर्न सक्दछ । तसर्थ कुहिएको दाना वा परालमा ढुसीका प्रजाति हुनसक्छन्, जसले दीर्घकालीन रूपमा पशु र मानिसलाई क्यान्सर गराउन सक्दछ,’ बुलेटिनमा भनिएको छ । खोर चिसो र हिलो भएको अवस्थामा कुखुरामा जुम्रा, सुलसुलेजस्ता बाह्य परजीवीको समस्या देखिने हुँदा दैनिक रूपमा खोरको अनुगमन गर्न, परजीवी देखिएमा दक्ष प्राविधिकको सल्लाह लिन, माछा पोखरीमा धमिलो पानी मिसिन नदिन माछापोखरीको निकासद्वारमा माछाको ‘साइज’अनुसारको जाली राखी निकासको उचित व्यवस्था गर्न पनि अनुरोध गरिएको छ । मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले आज पनि देशभर बदली रहेको र शुक्रबारदेखि भने न्यून चापीय प्रणालीका कारण देशका धेरै ठाउँमा भारीदेखि अतिभारीसम्म वर्षा हुने जानकारी गराइसकेकाले सोहीअनुसार सतर्कता अपनाउन आग्रह गरे । 

जीवित देवी कुमारीले सर्वसाधारणलाई दशमीको टीका लगाइदिने

काठमाडौं । कुमारी आर्यताराले सर्वसाधारणलाई दशमीमा टिका लगाइदिने भएकी छिन् । महानवमीको रातमा जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराएपछि सर्वसाधारणलाई दशमीको टीका ११ बजेपछि लगाउने कार्यसूची रहेको हनुमान ढोकास्थित कुमारी घर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिए ।  जीवित देवी कुमारीलाई विशेष शक्ति प्राप्त हुने विश्वासका साथ महानवमीको मध्यरातमा तलेजु भवानीको दर्शन गराइने प्रचलन छ । भवानीको प्रतीकका रूपमा कुमारीलाई सम्मान गरिन्छ । नवमीको रातमा पनि मूलचोक नजिकै पूजाआजाका क्रममा ५४ बोका र ५४ राँगाको बलि दिने प्रचलन छ । गएराति कालरात्रिमा समेत पशु बलि दिइएको हो । यसरी तलेजुको पूजाआजा गर्दा राज्य सञ्चालनका लागि शक्ति प्राप्त गर्ने सङ्कल्पसहित धार्मिक गतिविधि गरिँदै आएको छ ।

मेलमिलाप, सद्भाव र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दछु : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन् । राष्ट्रपति पौडेलले हिन्दु धर्मावलम्बीहरूको महान् चाड विजयादशमी, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै समृद्धिको कामना गरेका हुन् ।  उनले भने, ‘सत्य, धर्म र न्यायको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशीर्वाद मान्यजनबाट ग्रहण गर्ने गरिन्छ, यस अवसरमा समग्र राष्ट्रमा मेलमिलाप, सद्भाव र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै गर्दछु ।’ विजया दशमी २०८२ ले सम्पूर्ण विश्वमा शान्ति एवं मानव जातिको कल्याण गर्ने उनको विश्वास छ । 

आज विजयादशमी, शुभ साइत ११:५३ बजे, लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने

काठमाडौं । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँघर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:५३ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले बताए । ‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साह शक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ,’ उनले भने । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधि पूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान ९:२३ बजे रहेको समितिले जनाएको छ । लगाइ माग्ने पूर्व, लगाइदिने पश्चिम फर्कनुपर्ने विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइ माग्ने मानिस पूर्व फर्कनुपर्ने बताउँछन्, धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराई । टीका लगाइ दिनेले भने पश्चिम फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उहाँले सुनाउनुभयो । टीका लगाइ माग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधि पूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोगव्याधमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिक रूपमा समेत पुष्टि भइसकेको छ । घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो । त्रेता युगमा आजैका दिन भगवान रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रुपमा पनि लिइन्छ । आज गुरु पुरोहित, हजुरबा, हजुर आमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ:- आयुद्रोणसुते श्रियं  दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।। शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते । विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।। अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ । यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गा देवीको स्वरूप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ । जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते।। आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसाद स्वरूप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने मानिसको बाटोमा भीड लाग्छ ।