विकासन्युज

९ व्यवसायमाथि कडा कारबाही, फन पार्कसहित ६ कम्पनीलाई जरिवाना

काठमाडौं । काठमाडौं फन पार्कसहित विभिन्न ९ कम्पनी तथा व्यवसायमाथि कडा कारबाही भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार (जेठ २१ गते) गरेको अनुगमनका क्रममा ६ वटा फर्मलाई जरिवाना र ३ वटा फर्मलाई निर्देशन दिएको हो ।  विभागका अनुसार काठमाडौं महानगरपालिका-३१, भृकुटीमण्डपस्थित काठमाडौं फन पार्कलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । यस्तै, शंखमुलस्थित इलाभेन इलाभेन ग्रुप प्रालिलाई ५१ हजार रुपैयाँ, नयाँ बानेश्वरस्थित रेडोलेन्स नेपाल प्रालिलाई ५० हजार रुपैयाँ र पञ्चकुमारीस्थित पूर्वेली सेकुवा कर्नरलाई १० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ । त्यस्तै, काठमाडौं महानगरपालिका-७ चावहिलस्थित मोबडिल्ज र महानगरपालिका-१० बुद्धनगरस्थित गणेश मोटर बाइक वर्कसपलाई ५-५ हजार रुपैयाँ जरिवाना गरिएको छ । विभागले भिमसेनगोला स्थित गर्ल्स क्लोजेट प्रालि, चावहिलस्थित रुम्बा कलेक्सन र नाचघर गल्लीस्थित डेलिसियस मःम पसललाई भने सामान्य निर्देशन दिएको छ । काठमाडौं उपत्यकाका विभिन्न उद्योग तथा फर्महरूको अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार आवश्यक निर्देशन तथा कारबाही गरिएको विभागले जनाएको छ । अनुगमनका क्रममा उपभोक्ता अधिकार उल्लङ्घन तथा कानुनी प्रावधानको पालना नगरेको पाइएपछि कारबाही गरिएको विभागको भनाइ छ ।

भोलि भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएका छन् । खनाल शुक्रबार (भोलि) देखि भारतको तीन दिने औपचारिक भ्रमणमा जान लागेका हुन्। मन्त्री खनाल भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा भारत जान लागेका हुन् । परराष्ट्र मन्त्रालयले बिहीबार आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी विदेशमन्त्री डा। जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नेछन् । उक्त बैठकमा नेपाल र भारतबीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुनेछ । विशेषगरी दुई देशबीचको व्यापार, लगानी, कनेक्टिभिटी ९सम्पर्क सञ्जाल०, ऊर्जा क्षेत्र र जनता–जनताबीचको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्नेबारे विस्तृत विचार–विमर्श हुने विज्ञप्तिमा उल्लेख छ । नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको रूपमा हुन लागेको यस भ्रमणले नेपाल र भारतबीचको कूटनीतिक, ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र मजबुत बनाउने विश्वास परराष्ट्र मन्त्रालयले व्यक्त गरेको छ । भ्रमण तालिकाअनुसार परराष्ट्रमन्त्री खनाल २४ जेठमा स्वदेश फिर्ता फर्कने कार्यतालिका रहेको छ । रास्वपाका सभापति रवि लामिछाने पनि भारतमै छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहलगायतसँग भेटवार्ता गरिसकेका छन् । 

भूटानविरुद्धको खेलमा विवाद भएपछि क्यानले माग्यो माफी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला राष्ट्रिय क्रिकेट टोली संलग्न खेलमा भूटानी ब्याटरलाई ‘टाइम–आउट’ विधिबाट आउट गरिएको घटनाप्रति गम्भीर खेद प्रकट गर्दै माफी मागेको छ । क्यानका जारी गरेको एक प्रेस विज्ञप्तिअनुसार आज सम्पन्न खेलमा भूटानी ब्याटरलाई जसरी आउट गरियो, त्यसले क्यानले आत्मसात् गर्दै आएको क्रिकेटको मूल्य–मान्यता र खेल भावनालाई प्रतिनिधित्व गर्दैन । विज्ञप्तिमा भनिएको छ, ‘नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीबाट भएको यस कार्यप्रति नेपाल क्रिकेट संघका तर्फबाट हामी हार्दिक माफी चाहन्छौं । यद्यपि उक्त आउट क्रिकेटको नियमभित्रै रहेर गरिएको भए तापनि खेलको वास्तविक मर्म र भावना लिखित नियमभन्दा माथि हुन्छ र हाम्रो हरेक व्यवहारमा यो सदैव झल्किनुपर्छ भन्ने कुरामा हामी दृढ छौं ।’ एक विकासोन्मुख क्रिकेट राष्ट्रको रूपमा नेपालले खेलकुद कौशल, आपसी सम्मान र निष्पक्ष खेललाई उच्च प्राथमिकता दिँदै आएको क्यानले उल्लेख गरेको छ । यस घटनाले ती मापदण्डहरू पूरा गर्न नसकेको स्वीकार गर्दै यसबाट पर्न गएको कुनै पनि प्रकारको निराशाप्रति संघले दुःख व्यक्त गरेको छ । नेपाल क्रिकेट संघले मैदानभित्र र मैदानबाहिर खेलको उच्च मर्यादा र निष्ठा कायम राख्न क्यान पूर्ण रूपमा प्रतिबद्ध रहेकोसमेत जनाएको छ ।

खिम्ती आयोजनाको स्वामित्व हस्तान्तरण गर्न प्राधिकरणको सक्रियता, वार्ता समिति पुनर्गठन

काठमाडौं । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत् केन्द्रको सेयर स्वामित्व हस्तान्तरण र आगामी दिनमा सञ्चालन तथा व्यवस्थापनका विषयमा छलफल अघि बढाउन बनेको वार्ता समितिको पुनर्गठन गरेको छ ।  प्राधिकरणका सञ्चालक समिति सदस्य अंशु किरण शाहीको संयोजकत्वमा समिति पुनर्गठन गरिएको हो । समितिले आयोजनाको स्वामित्व, नयाँ विद्युत् खरिद सम्झौता (पीपीए), रोयल्टी तथा कर भुक्तानीलगायत विषयमा प्रवर्द्धक कम्पनीसँग वार्ता गर्नेछ । खिम्ती जलविद्युत् आयोजना निर्माण, सञ्चालन, व्यवस्थापन तथा हस्तान्तरण (बुट) मोडल अन्तर्गत हिमाल पावर लिमिटेडले प्रवर्द्धन गरेको हो । आयोजनाले २०५७ असार २७ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको थियो ।  विद्यमान सम्झौताअनुसार व्यावसायिक उत्पादन थालेको २० वर्षपछि आयोजनाको ५० प्रतिशत स्वामित्व नेपाल विद्युत् प्राधिकरणमा हस्तान्तरण हुनुपर्ने व्यवस्था छ । तर, विविध कारणले सो हुन सकेको छैन ।   यससँगै आयोजनाबाट उत्पादित विद्युतको नयाँ खरिद दर निर्धारण, रोयल्टी तथा कर सम्बन्धी व्यवस्थालाई पनि टुंगो लगाउनुपर्नेछ । त्यस्तै, प्राधिकरण सञ्चालक समिति सदस्य कृष्ण बसेलको संयोजकत्वमा प्रशासकीय पुनरावलोकन समिति पनि गठन गरिएको छ ।  उक्त समितिले विद्युत् महसुल, जरिवाना तथा प्रशासनिक निर्णयसँग सम्बन्धित विवादहरूको पुनरावलोकन र समाधानका लागि काम गर्ने जनाइएको छ । सञ्चालक समितिको बैठकले प्राधिकरणमा रिक्त रहेका विभिन्न पदमा पदपूर्तिको प्रक्रिया अघि बढाउन प्राधिकरणकै पूर्वउपकार्यकारी निर्देशक शान्ति लक्ष्मी शाक्यलाई विज्ञ सदस्यका रूपमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

ट्रम्पजस्तै देखिने एल्बिनो भैँसी हेर्न चिडियाखानामा भीड

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको भन्दै बङ्गलादेशको राष्ट्रिय चिडियाखानामा राखिएको ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी अहिले देशभरि ठूलो आकर्षण बनेको छ ।      सुनौलो रङको कपाल, पहेँलो सिङ  र करिब ७०० किलोग्राम (१,५०० पाउन्ड) तौल भएको यो भैँसी गत साता चिडियाखानामा सारिएपछि ढाका मात्र नभई देशका विभिन्न भागबाट आगन्तुकहरूको भीड बढेको छ । सामाजिक सञ्जालमा यसको तस्बिर र भिडियो भाइरल भएपछि मानिसहरू यसलाई प्रत्यक्ष हेर्न चिडियाखानातर्फ आकर्षित भइरहेका छन् ।      यो भैँसी सुरुमा इस्लामिक पर्व इद अल–अधाका लागि बलिदानका रूपमा प्रयोग गरिने उद्देश्यले राखिएको थियो । तर सुरक्षा कारण देखाउँदै सरकारले यसलाई राजधानी ढाकास्थित राष्ट्रिय चिडियाखानामा स्थानान्तरण गर्न आदेश दिएको थियो । त्यहाँ अहिले अत्यधिक गर्मीका बीच पनि ठूलो भीडले अवलोकन गरिरहेको छ । चिडियाखानामा मङ्गलबार आगन्तुकहरूको भीड बाक्लिएको देखिएको थियो । मानिसहरूले भैँसी रहेको खोर वरिपरि भीड लगाउँदै मोबाइल फोनबाट तस्बिर तथा भिडियो खिचिरहेका थिए । केही अभिभावकहरूले आफ्ना बालबालिकालाई राम्रो दृश्यका लागि काँधमा उचालेर देखाइरहेका दृश्य पनि देखिन्थे ।      चिडियाखानाका कर्मचारीहरूले जनावरको हेरचाह गर्दै कपाल कोर्ने, पानी हालेर चिसो राख्ने र गर्मीबाट जोगाउने प्रयास गरिरहेका छन् । आगन्तुकहरूका अनुसार यसले भैँसीलाई थप विशेष व्यवहार गरिएको अनुभूति दिएको छ ।       ढाकाका विद्यार्थी मोहम्मद नासिमले उक्त भैँसीको रूपरङ र व्यवहार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको टिप्पणी गरे । उनले यसले सामाजिक सञ्जालमा भाइरल भएपछि विशेष ध्यान र व्यवहार पाएको बताए ।     तर यस नामकरणबारे सबैको समान प्रतिक्रिया छैन । केही आगन्तुकहरूले जनावरलाई विश्व नेतासँग जोडेर नाम राख्नु अनुचित भएको टिप्पणी गरेका छन् । ढाकाका बासिन्दा मोहम्मद जोयनल अदेदिनले यस्तो निर्णय असम्मानजनक देखिएको बताउँदै किसानले गलत निर्णय गरेको धारणा राखे ।      स्थानीय मिडियाका अनुसार चिडियाखानामा सुरुमा ‘डोनाल्ड ट्रम्प’ लेखिएको सूचना बोर्ड राखिएको थियो, जसलाई पछि हटाइएको छ । यसै घटनासँग सम्बन्धित रूपमा चिडियाखानाका क्युरेटरलाई शनिबार बर्खास्त गरिएको भए पनि यसको आधिकारिक कारण सार्वजनिक गरिएको छैन ।      भैँसीको भविष्य पनि इद अल–अधाको सन्दर्भमा फेरिएको देखिन्छ । सुरुमा बलिदानका लागि बेचिएको उक्त भैँसीलाई पछि सरकारी हस्तक्षेपपछि फिर्ता गरिएको थियो । गृहमन्त्री सलाहुद्दीन अहमदको निर्देशनपछि प्रहरीले हस्तक्षेप गरेको बताइएको छ ।      यस विषयले सामाजिक सञ्जालदेखि सडकसम्म व्यापक चर्चा पाएको छ । दक्षिणपश्चिमी सहर जसोरका आगन्तुक मोहम्मद हबीबुर रहमानले सुरुमा ‘डोनाल्ड ट्रम्प’ नामक भैँसीलाई बलिदान गरिने चर्चा देखेपछि त्यसपछि चिडियाखानामा राखिएको खबर सुनेर हेर्न आएको बताए ।      चिडियाखानामा अहिले यो भैँसी दुर्लभ जनावरका रूपमा सामाजिक सञ्जाल र सार्वजनिक चर्चाको केन्द्रविन्दु बनेर बङ्गलादेशभरि विशेष आकर्षणको रूपमा स्थापित भएको छ । रासस 

टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि जेल चलान गर्न अदालतको आदेश

काठमाडौं । टिकटकर भनेर चिनिने तुलसा अधिकारीलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।  जिल्ला अदालत, ललितपुरका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । उनलाई नख्खु कारागार लगिने प्रहरीले जनाएको छ । तुलसाको बयानपछि न्यायाधीश गौतमको इजलासमा हिजोबाट थुनछेक बहस सुरु भएकोमा आज सुनुवाइ सकिएको थियो । तुलसाविरुद्ध आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) समेतको कसुरमा मुद्दा चलेको हो ।  एक व्यवसायीको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले उनीविरुद्ध गत चैतमा ६ करोड ५२ लाख २९ हजार बिगो कायम गरी मुद्दा दायर गरेको थियो । तुलसाको २१ करोडको सम्पत्ति खुलेको छैन । २०८२ भदौदेखि फरार भएकी तुलसा चीन हुँदै थाइल्यान्ड पुगेपछि शुक्रबार अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलको सहयोगमा पक्राउ परेकी हुन् ।  उनलाई शनिबार बेलुका काठमाडौं ल्याइएको थियो । तुलसाले आफूमाथि लगाइएका आरोप अस्वीकार गरिरहेकी छन् ।

काठमाडौं महानगरले टिचिङ अस्पताललाई दियो १ करोड ७० लाख बढीका उपकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)लाई प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको छ । अस्पतालको बहिरङ्ग (ओपीडी) सेवालाई थप बिरामीमैत्री र प्रविधिमैत्री बनाउन १ करोड ७० लाख रुपैयाँभन्दा बढी मूल्यका प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको हो । अस्पतालमा एक कार्यक्रमको आयोजना गर्दै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले अस्पतालका प्रमुख प्रा. डा. सुवास आचार्यलाई उपकरण हस्तान्तरण गरेकी हुन् ।  महानगरले उपलब्ध गराएका उपकरणमा शुल्क भुक्तानी, रिपोर्ट प्रिन्ट तथा घरबाटै उपचारका लागि रकम जम्मा गर्न सकिने सुविधासहितका १६ वटा इन्टरएक्टिभ किओस्क मेसिन छन् भने रिपोर्ट, परीक्षण तथा उपचारसँग सम्बन्धित सम्पूर्ण विवरण एकै स्थानबाट हेर्न सकिने ६५ वटा ‘अल इन वन’ डेस्कटप कम्प्युटर पनि प्रदान गरिएको छ ।    

६ दिनदेखि बेपत्ता गाइड दावा शेर्पाको जीवितै उद्धार, ह्याम्स अस्पतालमा उपचार हुँदै

काठमाडौं । सगरमाथा आधार शिविर क्षेत्रबाट गत ६ दिनदेखि बेपत्ता भएका हिमाल आरोहण गाइड दावा शेर्पाको जीवितै उद्धार गरी काठमाडौं ल्याइएको छ ।  गम्भीर बिरामी अवस्थामा फेला परेका शेर्पाको हाल काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । बिहीबार सगरमाथा प्रदूषण नियन्त्रण समितिका कामदारहरूले उनलाई खुम्बु आइसफल क्रयाम्पन पोइन्ट छेउबाट आधार शिविर (बेस क्याम्प) तर्फ घस्रिँदै आइरहेको अवस्थामा फेला पारेका हुन् ।  फेला पर्नासाथ उनलाई तत्काल अल्टिच्युड एयरको हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको हो । सगरमाथाको तेस्रो शिविर (क्याम्प ३) आसपासको क्षेत्रबाट आधार शिविर फर्किने क्रममा गाइड शेर्पा एकाएक बेपत्ता भएका थिए । उनको खोजीका लागि पर्वतारोहण टोली र हेलिकप्टर समेत परिचालन गरिए पनि लामो समयसम्म उनको स्थिति पत्ता लाग्न सकेको थिएन । ६ दिनसम्मको प्रतिकूल मौसम र कठिन भूगोलका बाबजुद बिहीबार उनी आइसफल क्षेत्रमा घस्रिँदै गरेको अवस्थामा फेला परेपछि उद्धार टोलीले उनलाई तत्काल आधार शिविर पुर्‍याएको थियो । लामो समय हिउँमा बिताएका कारण शेर्पाको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको जनाइएको छ । सगरमाथा प्रदूषण नियन्त्रण समितिका अनुसार अत्यधिक चिसोका कारण उनको हात र खुट्टा हिउँले खाएको छ ।  हाल ह्याम्स अस्पतालका चिकित्सकहरूको विशेष निगरानीमा उनको उपचार कार्य अगाडि बढाइएको छ ।