विकासन्युज

मधेस​​​​​​​मा महानवमीका दिन पनि दुर्गा भवानीको ‘खोइँछ’ भरिँदै

काठमाडौं । मधेस प्रदेशको महोत्तरीसहितका जिल्लामा शारदीय नवरात्र (बडादसैँ) पर्वको अवसरमा देवी दुर्गाको ‘खोइँछ’ (पोल्टा) भरिँदैछ । फूलपातीका दिनको सन्ध्या आरतीसँगै देवीको ‘खोइँछ’ भर्नेक्रम सुरु भएको हो । आ-आफ्नो भाकलअनुसार शक्तिपिठ, मन्दिर र प्रतिमास्थलमा ‘खोइँछ’ भर्न श्रद्धालुको भीड लागिरहेको छ । आज नवरात्रको अन्तिम दिन महानवमीको दिन पनि देवीको ‘खोइँछ’ भर्न श्रद्धालु लामबद्ध छन् । यहाँ सोमबार महासप्तमीका दिन बनाइएका माटाका प्रतिमाको प्राणप्रतिष्ठा गरिएसँगै देवी दर्शनका लागि शक्तिपीठ खुला गरिएका छन् । दर्शन खुला गरिएसँगै फूलपातीका दिनको सन्ध्या आरती सकेर ‘खोइँछ’ भर्न थालिएको हो । योक्रम आज महानवमीको मध्यरातसम्म जारी रहनेछ । देवी दुर्गालाई विभिन्न समयमा गरिएको भाकलस्वरुप ‘खोइँछ’ भर्ने चलन बसेको मटिहानी-७ का बासिन्दा ९० वर्षीय प्रेस स्वतन्त्रता सेनानि विन्देश्वरीप्रसाद मण्डल बताउँछन् ।  मैथिल बोलीचालीमा दशहरा भनिने यो पर्वको सप्तमी तिथिमा देवी शक्तिपिठ, मन्दिर र नवस्थापित प्रतिमास्थलमा फूलपाती राखिएसँगै देवी कालरात्रिको पूजाआराधना गरिएपछि ‘खोइँछ’ भर्नेक्रम थालिन्छ । खासगरी विभिन्न समयमा गरिएका भाकलअनुसार देवीको सारीको अँचरा (पोल्टा) मा वस्त्रपरिधान, सौन्दर्य प्रशाधन, द्रव्य (सुन, चाँदीसहितका धातुबाट बनेका गहना), नरिवल, केरासहितका फलपूmल र नगद भेटीसहित सामग्री चढाउने विधिलाई मिथिलामा ‘खोइँछ’ भर्ने भन्ने गरिन्छ । हाल महोत्तरीको औरही नगरपालिका-७ स्थित सोनामाई देवी शक्तिपिठ, बर्दिवास-४ माइस्थानस्थित पञ्चधुरा माई मन्दिर, बर्दिवास-१ र १४ स्थित दुर्गामन्दिर, जलेश्वरस्थित सन्सारीमाई र राजदेवी मन्दिरमा ‘खोइँछ’ भर्न भीड लागेको छ ।  ‘खोइँछ’ मा पुरुष सहभागी हुनसक्ने भए पनि यो विधिमा भने महिला बढी सहभागी हुने गरेका छन् । मिथिलामा दसैँको सप्तमीदेखि नवमी तिथिभरि ‘खोइँछ’ भरिने परम्परा छ । मटिहानीस्थित दुर्गा मन्दिरमा स्थापित जिल्लाका देवी प्रतिमामा नेपाली मात्र नभई सीमापारी भारतको मधुवनी जिल्लाका भक्तहरू प्नि ‘खोइँछ’ भर्न लामबद्ध छन् । ‘खोइँछ’ भरिदा धनधान्य, आरोग्यतासहित इच्छित मनोकामना पूरा हुने मैथिल जनविश्वास रहेको सोनामाईस्थानका पुजारी कामेश्वर झा बताउँछन् ।  ‘खोइँछ’  भरिनेक्रमसँगै  बडादसैंँ पर्वको महासप्तमी पर्वका दिनदेखि नै  यी ठाउँ (देवीस्थल)मा बलि दिनेक्रम सुरु भएको छ । फूलपाती विधि सम्पन्न भएसँगै सप्तमीकै दिन सुरु हुने बलि आज नवमीमा पनि जारी छ । जिल्लाको प्रसिद्ध सोनामाई देवी शक्तिपिठमा मधेशसका जिल्लाका साथै र छिमेकको भारतीय जिल्लाबाट हजारौँको सङ्ख्यामा भक्तजन दर्शन, पूजाआराधना र ‘खोइँछ’ भर्न पुगेका छन् ।

फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प, ६० जनाको निधन, सयौं घाइते

काठमाडौं । मध्य फिलिपिन्सको सेबु टापुमा गएको शक्तिशाली भूकम्पका कारण निधन हुनेहरूको सङ्ख्या बुधबारसम्म ६० पुगेको छ भने सयौं घाइते भएका छन् । घाइतेहरूको भीडले अस्पतालहरू भरिएका कारण कतिपयलाई बाहिर नीलो टेन्टमुनी उपचार गर्न बाध्य हुनुपरेको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) का अनुसार मङ्गलबार साँझ ९:५९ बजे (१३:५९ जिएमटी) सेबु प्रान्तको बोगो नजिकै केन्द्रविन्दु भएर ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो । यस सहरमा करिब ९० हजार मानिस बसोबास गर्छन् । भूकम्पपछि लगातार सयौँ पटक परकम्प आएका कारण स्थानीय बासिन्दा रातभर बाहिरै बस्न बाध्य भए । अस्पताल परिसरमा घाइते बालबालिकाहरू रोइरहेका र वयस्कहरू चिच्याइरहेका दृश्य देखिएको थियो । त्यहीँ कर्मचारीहरूले स्ट्रेचरमा कालो शरीरका झोलाहरू राखी शवगृहतर्फ लैजाने कार्य जारी राखेका थिए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदका अनुसार केन्द्रीय टापुहरूमा १४७ जना घाइते भएको र कम्तीमा २२ भवन क्षतिग्रस्त भएको पुष्टि गरिएको छ ।  नागरिक सुरक्षा उप-प्रशासक राफेलिटो अलेजान्ड्रोले पत्रकारहरूसँग भने, ‘हामीलाई थप हताहतको विवरण प्राप्त भइरहेको छ, परिस्थिति अत्यन्त संवेदनशील र परिवर्तनशील छ ।’ स्थानीय उद्धारकर्ता टेडी फन्टिलासका अनुसार बोगोको अस्पताल भरिसकेपछि घाइतेहरूलाई करिब १०० किलोमिटर टाढा रहेको प्रान्तीय राजधानी सेबु शहरका अस्पतालतर्फ सार्नुपरेको छ । सेबु प्रान्तीय गभर्नर पामेला बारिकुएट्रोले आफ्नो आधिकारिक फेसबुकमार्फत गम्भीर घाइतेहरूको उपचारका लागि अस्पताल बाहिर समेत आपत्कालीन उपचार गर्नुपरेको जानकारी दिए । भूकम्पका कारण ऐतिहासिक संरचना र सार्वजनिक भवनहरूमा समेत क्षति पुगेको छ । सेबु नजिकैको बान्टायन टापुको पुरानो क्याथोलिक चर्चको बेल्फ्री खस्दा भाग्यवश कसैलाई चोट नलागेको प्रत्यक्षदर्शीहरूले बताए । त्यस्तै, स्थानीय टेलिभिजनले सेबु पुल हल्लिँदा मोटरसाइकल यात्रीहरू रेलिङ समातेर ज्यान जोगाइरहेको दृश्य देखाएको छ । अनलाइन व्यापारी जेफोर्ड मारङ्गा (२१) ले भने, ‘हामी फुड कोर्टमा थियौँ, अचानक सबैतिर थरथर हल्लियो । मलको छत खस्न सक्छ भन्ने डरले हामी टेबलमुनि लुक्यौँ ।’ सेबु प्रान्तीय सरकारले उद्धारमा सहयोग गर्न चिकित्सक र स्वयंसेवकलाई आह्वान गरेको छ । प्रान्तीय उद्धार अधिकारी विल्सन रामोसका अनुसार अँध्यारो र निरन्तर परकम्पले उद्धार कार्यमा थप कठिनाइ ल्याएको छ । फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका अनुसार हालसम्म ३७९ पटक परकम्प आइसकेका छन् । भूकम्पपछि सेबु र वरपरका टापुहरूमा विद्युत् आपूर्ति अवरुद्ध भए पनि मध्यरातपछि पुनः सञ्चालनमा ल्याइएको छ । बान्टायनमा एक व्यावसायिक भवन र विद्यालय ढलेका छन् भने बोगोस्थित फास्टफुड रेस्टुरेन्टमा ठूलो क्षति पुगेको छ । स्थानीय बासिन्दा एग्नेस मेर्जाले आफ्नो घरको भान्साको टाइल भत्किएको र छिमेकीहरू घरबाट भागेको अनुभव सुनाउँदै भने, ‘यो मेरो जीवनकै पहिलो ठूलो अनुभव हो । यस्तो लाग्यो कि हामी सबै तलै खस्नेछौँ ।’ त्यस्तै, टाबोगन सहरका सडकहरूमा करिब पाँच सेन्टिमिटर दरार देखिएको छ । सुरुमा युएसजिएसले ७ म्याग्निच्युडको भूकम्प भएको बताए पनि पछि ६.९ मा परिमार्जन गरिएको हो । प्यासिफिक सुनामी चेतावनी केन्द्रले भने यस भूकम्पबाट सुनामीको कुनै खतरा नभएको स्पष्ट पारेको छ । फिलिपिन्स प्रशान्त महासागरको ‘रिङ अफ फायर’ मा अवस्थित भएकाले यहाँ दैनिकजसो हल्का भूकम्प अनुभव हुने गर्दछ । यद्यपि यसपटकको जस्तो शक्तिशाली र विनाशकारी भूकम्प कहिले र कहाँ आउँछ भन्ने भविष्यवाणी गर्ने प्रविधि अझै उपलब्ध छैन ।

अपराधीलाई उन्मुक्ति दिने नीति स्वीकार्य छैन, प्रतिशोधको राजनीति बन्द गर्नुहोस् : नेपाली कांग्रेस

काठमाडौं । दण्डहीनतालाई प्रोत्साहन र प्रतिशोधको राजनीति नगर्न नेपाली कांग्रेसले आग्रह गरेको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयबाट असोज ९ गते जारी गरिएको विज्ञप्ति र सोही विज्ञप्तिको आधारमा गरिएको परिपत्रले संविधान वाद, कानुनी राज्य र विधिको शासनमाथि प्रश्न उठाउने भन्दै पीडितलाई आतङ्कित गर्ने काम भएको उल्लेख गरे ।  सप्रमाण भेटिएका अपराधीहरूलाई उन्मुक्ति दिँदै जाने नीति नेपाली जनताका लागि कदापि स्वीकार्य नहुने पनि विज्ञप्तिमा उल्लेख छ । ‘भदौ २३ गते जेनजी पुस्ताले आह्वान गरेको शान्तिपूर्ण प्रदर्शनको आवरणमा आफ्नो कुत्सित मनसाय पूरा गर्ने विभिन्न आपराधिक समूहले २४ गते बिहानैदेखि अकल्पनीय ढङ्गको आतङ्क सिर्जना गर्ने राष्ट्रव्यापी हिंसा, तोडफोड, लुटपाट र आगजनीका घटना घटाउन थाले, जसबाट हरेक क्षेत्रका निजी तथा सार्वजनिक संरचना तोडफोड, आगजनी र लुटपाट गरी ध्वस्त बनाइए । २३ र २४ गते दुई दिनमा सुरक्षाकर्मीसहित ७६ जनाभन्दा बढीको ज्यान गइसकेको छ । सयौं घाइते छन् । राष्ट्रलाई खर्बौंको क्षति भएको छ । यस अकल्पनीय र दुःखद घटनाको जति निन्दा गरे पनि कमै हुन्छ,’ विज्ञप्तिमा भनिएको छ । उक्त प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न सरकारले न्यायिक छानबिन आयोग गठन गरेको कुरा स्वागत योग्य रहेको र त्यसले निष्पक्ष काम गर्नुपर्ने कांग्रेसको आग्रह छ ।  ‘प्रदर्शनको आवरणमा गरिएको नियोजित र निर्देशित रूपमा योजनाबद्ध आगजनी गर्ने, राजनीतिक दल र दल विशेषका नेतामाथि बदला पूर्ण प्रतिशोध लिने उद्देश्यले आक्रमण गर्ने, कार्यालय तोडफोड, लुटपाट र आगजनी गर्ने, सुरक्षाकर्मीको हातहतियार बोकेर लुट्ने अनि बर्दी लगाई हातहतियार बोकेर आतङ्क फैलाउँदै हिँडेका अवस्थामा देखिएका भेटिएका व्यक्तिउपर प्रचलित कानुनबमोजिम कुनै खोजतलास नगर्ने, कानुनी कारबाही नगर्ने भन्ने आसयको गृह मन्त्रालयबाट जारी गरिएको विज्ञप्ति र सोही विज्ञप्‍तिका आधारमा गरिएको परिपत्रले संविधान वाद, कानुनी राज्य र विधिको शासनमा प्रश्न उठेको छ,’ विज्ञप्तिमा जनाइएको छ । घटनाको छानबिन प्रारम्भ नहुँदै राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि पूर्वाग्रही र प्रतिशोधपूर्ण रूपमा काम हुन थालेको भन्दै आयोगलाई नभएको क्षेत्राधिकार विहीन कार्य गर्न गराउन नहुनेमा जोड दिइएको छ । 

सुनसान छ काठमाडौं, सवारी चापमा ५० प्रतिशत कमी

काठमाडौं । हाल काठमाडौंका सडक सुनसान प्रायः छन् । दसैँको आगमनसँगै राजधानी उपत्यकाबाट आ-आफ्नो जन्मस्थान जान सुरु भएको थियो । हिजोआज दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्म कमी आएको जनाइएको छ । उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा देखिने यात्रुको भीड कम हुँदै गएको छ । वर्ष भरि रोजगारी, अध्ययन, व्यापार तथा अन्य विभिन्न कारणले राजधानीमा रहेकाहरू दसैँका अवसरमा आ-आफ्नो गाउँ फर्किएका छन् । लामो समयपछि परिवारसँग पुनर्मिलनको आशा, आफ्नै गाउँको माटोको सुवास, चाडपर्वको स्वाद र बाल्यकालका सम्झनाले सबैलाई तानेको छ । सहरी भव्यता र व्यस्त जीवनशैलीबाट केही दिनका लागि टाढा हुँदै गाउँ फर्किने क्रमसँगै राजधानी सुनसान बन्दै गएको छ । ग्रामीण बस्ती भने जीवन्त र रमाइलो हुँदै गएका छन् । विगतमा निकै सवारी चाप हुने काठमाडौँका मुख्य सडकमा हाल सवारी चाप घटेको र उपत्यकामा दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्मको कमी आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीको भनाइले पनि यसलाई पुष्टि गर्छ ।   उनले भने, ‘दसैँका बेला धेरैजसो मानिस गाउँ फर्किसकेका छन्, त्यसैले सडक विगतमा भन्दा खाली भएका छन्, तर ट्राफिक सुरक्षाको दृष्टिले हामी अझै पनि उच्च सतर्कतामा छौँ ।’ गाउँघरमा भने दसैँको आगमनसँगै वातावरण उल्लासमय बन्न थालेको छ । घर आँगनमा टिका र जमरा छर्ने तयारी भइरहेको तथा आआफ्नो धर्म, परम्परा र संस्कारअनुसार चाडको स्वागत भइरहेका दृश्य तथा तस्बिर  सामाजिक सञ्जालमा प्रशस्तमात्रामा देखिन थालेका छन् । परदेशी मन घर फर्किएसँगै वृद्ध बाबुआमा, दाजुभाइ, दिदीबहिनी तथा नातागोता सबैबीच पुनः भेटको भावनात्मक क्षणहरू साटासाट भइरहेका छन् ।  दसैँको रमाइलो केबल टीका र मीठा परिकारमा सीमित छैन, यो एकपटक फेरि परिवारसँग बिताउने, पुराना सम्झनालाई जीवन्त बनाउने र समाजमा मेलमिलाप र एकता बढाउने पर्व पनि भएकाले प्रायः गरी परदेशीएकाहरू गाउँघर फर्किने गर्दछन् । दसैँको चहलपहल सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौंबाट गाउँ फर्किनेको भीड तीव्र रुपमा बढेको थियो । घटस्थापनादेखि मङ्गलबारसम्म ८ दिनको अवधिमा मात्रै ५ लाख ५३ हजार २६१ जनाले काठमाडौं उपत्यका छाडेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

बलिदानको व्यापार १ करोड बढी, यस्तो छ दसैँमा प्रदर्शन भएका चलचित्रको व्यापार

काठमाडौं । दसैँका अवसर पारेर तीन नेपाली चलचित्र प्रदर्शन भएका छन् । फूलपाती अर्थात् असोज १३ गतेदेखि चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शनमा आएका छन् । दसैँको बिदा भए पनि तीन वटै चलचित्रले घरेलु बजारमा अपेक्षाकृत व्यापार भने गर्न सकेका छैनन् । चलचित्र विकास बोर्डको ‘बक्स अफिस २ सिनेमा’ एपमा चलचित्र ‘बलिदान’ ले २ दिनमा १ करोड ५ लाख ६५ हजार रुपैयाँ व्यापार (ग्रस कलेक्सन) गरेको तथ्याङ्क छ । उक्त चलचित्रले पहिलो दिन असोज १३ गते नेपालभर प्राप्त गरेको २४४ ‘शो’बाट ५७ लाख १९ हजार ३४० रुपैयाँ र दोस्रो दिन २१३ शोबाट ४८ लाख ४६ हजार रुपैयाँको व्यापार गरेको छ । सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्र ‘बलिदान’ मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारले अभिनय गरेका छन् ।  यस्तै, अभिनेता हरिवंश आचार्यले शीर्ष भूमिका निर्वाह गरेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले प्रदर्शनको २ दिनमा ५९ लाख ५८ हजार रुपैयाँको व्यापार गरेको छ । उक्त चलचित्रले असोज १३ गते १३४ शोबाट २४ लाख ८५ हजार ६४ रुपैयाँ र दोस्रो दिन ३४ लाख ७३ हजार रुपैयाँको व्यापार गरेको छ । उक्त चलचित्रले पहिलो दिन र दोस्रो दिन समान ‘शो’ पाएको छ । दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल लगायतका कलाकारले अभिनय गरेका छन् । अभिनेता आचार्यले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गरेकाे चर्चित पात्र ‘हरिबहादुर’ लाई यसपटक चलचित्रमा ल्याएका हुन् । प्रदर्शनरत तेस्रो चलचित्र ‘माइतीघर’ ले प्रदर्शनको २ दिनमा ३८ लाख ६३ हजार रुपैयाँको व्यापार गरेको छ । उक्त चलचित्रले असोज १३ गते पहिलो दिन १४४ ‘शो’बाट १८ लाख ९६ हजार ४५५ रुपैयाँ र दोस्रो दिन १३० ‘शो’बाट १९ लाख ६७ हजार रुपैयाँको व्यापार गरेको तथ्याङ्क चलचित्र विकास बोर्डको ‘बक्स अफिस २ सिनेमा’ एपमा छ । रोहित अधिकारीले निर्माण तथा मिलन तामाङले निर्देशन गरेको यस चलचित्रमा केदार घिमिरे, उपासना सिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायत  कलाकारले अभिनय गरेका छन् ।  पछिल्ला वर्षमा दसैँमा नेपाली चलचित्रको व्यापार राम्रो भएको पाइएको छ । सोही कारण यो दसैँमा तीन चलचित्रले प्रदर्शन मिति तय गरेका हुन् । बिदाको समयमा चलचित्रले राम्रो प्रतिक्रिया पाएमा त्यसको व्यापार बढ्ने अपेक्षाले चाडपर्व केन्द्रित प्रदर्शन हुने क्रम बढेको चलचित्रकर्मीको भनाइ छ ।

नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध छैन : प्रहरी कार्यालय मुग्लिन

काठमाडौं । बडादसैँको नवौँ दिन आज नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ ।  दसैँ सुरु भएसँगै पहिराेका कारण पटकपटक अवरुद्ध हुँदै आएको नारायणगढ मुग्लिन सडकमा आज भने निर्वाध रूपमा सवारी साधन सञ्चालनमा छन् । हिजो अस्तिको तुलनामा सवारी साधनको चाप कम रहेको र कुनै अवरोध नरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए ।  उनका अनुसार दसैँ अवधिभर राजमार्गमा सुरक्षाकर्मी २४सै घण्टा खटिएको र यात्रुलाई कुनै पनि समस्या हुन नदिनेगरी काम गरिरहेका छन् । मङ्गलबार साँझ ७:३० बजे इच्छाकामना गाउँपालिका-५ स्थित तुइन खोलामा लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको थियो । पहिरो पन्छाए सँगै ८:४० बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको थियो । गएरातिसम्म सवारी साधनको चाप रहे पनि हाल निकै कम रहेको प्रहरीले जनाएको छ । तुइन खोलामा पटकपटक पहिरो खस्दा यात्रुले सास्ती भोग्दै आएका छन् । 

मनकामना केबलकार ३ दिन बन्द गरिने

काठमाडौं । मनकामना केबलकार आजदेखि ३  दिन बन्द गरिने भएको छ । केबलकारको व्यवस्थापक उज्ज्वल शेरचनले आजदेखि १७ गतेसम्म केबलकार सेवा बन्द गरिने जानकारी दिए ।  असोज १८ गतेदेखि पुनःनियमित सेवा सञ्चालनमा आउने उनले बताए । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित मनकामना माई मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना केबलकार सञ्चालन भइरहेको छ । यो नेपालको पहिलो केबलकार हो । 

दसैँपछि मनसुन थप सक्रिय भई अति भारी वर्षा हुने, सावधानी अपनाउन अनुरोध

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले दसैँ (असोज १७ गते) पछि मनसुन थप सक्रिय हुने जानकारी दिँदै सावधानी अपनाउन अनुरोध गरेको छ । विभागले मङ्गलबार राति दोस्रो दसैँ विशेष मौसम बुलेटिन जारी गरी बङ्गालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालमा असोज १७ गतेबाट मनसुन थप सक्रिय भई देशका धेरै ठाउँमा वर्षा हुने जानकारी गराएको छ । विभागकी मौसमविद् विनु महर्जनले भने, ‘हालको मौसम विश्लेषणअनुसार नेपालमा मनसुनी वायुको प्रभाव केही कमजोर रहे पनि बङ्गालको खाडीमा विकसित न्यून चापिय प्रणाली भारतको ओरिसाबाट जमिनको भू-भाग हुँदै प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने भएको छ । त्यो नेपालमा प्रवेश गर्न लागेको र यही १७ गते यहाँ आइपुग्ने हुँदा मनसुन थप सक्रिय हुने सम्भावना देखिएको छ ।’ उनले न्यून चापिय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गरी असोज १७ (एकादशी) का दिनबाट देशका विभिन्न भूभाग खास गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको बताए ।  ‘तसर्थ, नेपालमा यस वर्षको दसैँ अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने छ । हाल  नेपालमा मनसुनी वायुको प्रभाव र स्थानीय वायु विकसित हुँदा नेपालमा मौसम बदली भइरहेको छ,’ उनले भने ।  असोज १७ (एकादशी) मा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराई भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको जनाइएको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । असोज १८ गते कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । असोज १९ गते कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा र एक/दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । दसैँको अन्तमा मनसुन सक्रिय समेत हुने सम्भावना रहेकाले सम्भावित वर्षाका कारण भूक्षय, बाढी, पहिरोका साथै  सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने देखिएको विभागले जनाएको छ । मौसमको अद्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।