विकासन्युज

प्रचण्डले कसरी मनाउँदैछन् दसैँ ?

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको यसपालीको दसैँ राजनीतिक र पारिवारिक दुवै सन्दर्भमा सामान्य रहने बताइएको छ । गत वर्षहरूमा जस्तै उनले यसपालि पनि सामान्यरुपमा दशैं मनाउने दाहालका प्रेस संयोजक गोविन्द आर्चायले जानकारी दिए । ‘विगत वर्षहरुमा पनि उहाँले दसैँलाई त्यस्तो रौनकमा मनाएको जस्तो लाग्दैन,’ आचार्यले भने, ‘यसपालि त उहाँको भरतपुरमा रहेको आफ्नो घर तत्काल बस्न योग्य छैन । यस्तो अवस्थामा दसैँ शेष हुने कुरै भएन ।’ दाहाल पनि भदौ २४ को जेनजी आन्दोलनपछि नयाँ घरमा सरेका छन् । केही राजनीतिक भेटघाट र परिवारका सदस्यसँग उनको दसैँ बित्ने आचार्यले बताए ।  आचार्यका अनुसार उनले दसैँलाई मात्र धार्मिक उत्सव नभई सामाजिक पुनर्मिलन, मेलमिलाप र राष्ट्रिय एकताको पर्वका रूपमा लिनुपर्नेमा जोड दिएका छन् ।  राजनीतिक रुपमा भने प्रचण्डको यो दसैँ केही चुनौतीपूर्ण देखिएको छ । आगामी निर्वाचन, अनि आफैले घोषणा गरेको विशेष महाधिवेशन लगायतले उनलाई दसैँमा पनि राजनीतिक चिन्तनमै व्यस्त राख्ने सम्भावना छ ।  परिवारसँग पूजापाठ गर्ने परम्परागत कार्यक्रम नभए पनि उनले आफ्नो महत्वपूर्ण समय परिवारलाई नै दिन सक्ने आचार्यले जानकारी गराए । त्यसका बाबजुद उनको अधिकांश समय पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकसँग औपचारिक भेटघाटमै खर्चिन सक्ने अनुमान गरिएको छ । 

दसैँको मुखमै सत्ता र शक्तिबाट विमुख ओली, डेरामै वृद्ध बुबाबाट थाप्दैछन् टीका

काठमाडौं । २०८२ सालको दसैँको पूर्वसन्ध्यामा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अवस्था अघिल्ला वर्षहरू भन्दा असाधारण र कठिन छ । यसपटक ओली सत्ताबाट बाहिरिएका मात्र छैनन्, राजनीतिको केन्द्रविन्दुबाट पनि असहज परिस्थितिमा धकेलिएका छन् ।  भदौ २४ गतेको जेनजी आन्दोलनका प्रदर्शनकारीले ओली बालकोटस्थित निवास पूर्ण रूपमा आगजनी गर्यो ।  पार्टी कार्यालय र निवास पन ध्वस्त बनेको बेला ओलीलाई यस पटकको दसैँमा खासै उल्लास छैन । यही बेला उनी विभिन्न लाञ्छना र आरोपहरूको सामना गरिरहेका छन् ।  परम्परागत रूपमा दसैँ नेपाली समाजमा परिवार, मित्र, शुभेच्छुकसँग मिलेर खुसी बाँड्ने पर्व हो । तर ओलीले यसपटक सम्भवतः त्यो सामूहिक खुसीभन्दा बढी आत्ममन्थन र राजनीतिक चुनौतीसँगै दसैँ मनाउनुपर्ने देखिन्छ । राजनीतिक रूपमा पनि ओलीको दसैँ २०८२ कठिनाइको बीचमा गुज्रिने संकेतहरू देखिएका छन् । पार्टीको संगठनात्मक ढाँचामा व्यापक आक्रमण भएको छ । ओली विरुद्ध पार्टीभित्रै असन्तोष बढेको छ । सरकार बाहिर रहँदा पनि उनको प्रभाव कम हुँदै गएको परिवेशमा,दसैँले उनलाई आत्म परीक्षण गर्ने अवसर त दिन सक्छ, तर शक्तिको केन्द्रतर्फ फर्कनुपर्ने ऊर्जा सञ्चित गर्ने चुनौती पनि बढाएको छ ।  यस्तो अवस्थामा ओलीले डेराबाट दसैँ मनाउँदै छन् । विगतमा काठमाडौंमा दसैँ मनाएर गृह जिल्ला झापासम्म पुग्ने गरेका ओलीको यस पटकको दसैँ कार्यक्रमको केही तयारी नभएको ओलीका स्वकीय सचिव राजेश शाक्यले जानकारी गराए । शाक्यका अनुसार उनले घरमै टीकाटालो गरेर दसैँ मनाउने छन् । ओलीले बडा दसैँ आफ्ना बुवासँग टीका लगाएर, घरमा टीका थाप्न आउने आफन्त र पार्टीका नेता कार्यकर्तालाई टीका लगाइदिएर मनाउने शाक्यले जानकारी दिए ।

दसैँमा ६ लाख ११ हजार बढीले छाडे काठमाडौं

काठमाडौं । दसैँको घटस्थापनादेखि आजसम्मको नवौँ दिनको अवधिमा मात्रै ६ लाख ११ हजार ६५७ जनाले काठमाडौं छाडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही असोज ६ गते घटस्थापना सुरु भएको दिनदेखि आजसम्म सो सङ्ख्यामा यात्रु विभिन्न नाकाबाट काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै ५८ हजार ३९६ जनाले काठमाडौं उपत्यका छाडेका छन् । दसैँ सुरु भएसँगै काठमाडौं उपत्यका छाड्ने नागरिकको सङ्ख्या तीव्र रुपमा बढ्दै गएको र पछिल्लो २४ घण्टामा मात्र १३ हजार ३२६ यात्रु वाहक सवारी साधन उपत्यकाबाट बाहिरिएका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।  उनले भने, ‘अहिले राजधानी छाडेर जानेको सङ्ख्या बढेको छ, काठमाडौँ भित्रिने र बाहिरिने नाकामा सामान्य तरिकाले सवारी साधन चलिरहेका छन् ।’ घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकाबाट बाहिरिएका सवारी साधनको सङ्ख्या १ लाख १३ हजार ४१५ पुगेको छ । यिनै सवारी साधनमार्फत यात्रामा निस्किनेहरुको मुख्य गन्तव्य भने देशका पूर्वी, पश्चिमी र सुदूरपश्चिम प्रदेशका जिल्ला रहेका छन् ।  काठमाडौं उपत्यकामा ७७ हजार ५४५ सवारी साधनबाट ३ लाख १९ हजार १५ जना आजसम्म भित्रिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विशेषगरी कोटेश्वर, कलङ्की, बल्खु, नयाँ बसपार्क, जगती लगायतका नाकामा यात्रुको भीड देखिएको छ ।

कोरोला नाकाबाट ईभीको ओइरो, २ सातामै उठायो २ अर्ब बढी राजस्व

काठमाडौं । नेपाल-चीन उत्तरी कोरला नाकास्थित न्हेचुङ भन्सार कार्यालयले दुई साताको अवधिमा २ अर्ब २ करोड ९६ लाख २९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत ३१ भदौमा पूर्णरुपमा सञ्चालनमा आएको यहाँको कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले मङ्गलबार बिहानसम्म उक्त राजस्व सङ्कलन गरेको हो ।  यो भन्सार कार्यालयको इतिहासमै पहिलो पटक त्यति ठूलो अनुपातमा राजस्व सङ्कलन भएको हो । यहाँ दैनिक औसत भन्सार राजस्व १३ करोड ६६ लाख रुपैयाँ बढी अनुपातमा राजस्व सङ्कलन गर्न सफल भएको देखिएको छ । यसअघि यहाँको भन्सार कार्यालयले बर्सेनि सीमापार गर्ने उपल्लो मुस्ताङका नागरिकले आयात गर्ने घरायसी मालवस्तु राजस्व १० देखि १५ लाख रुपैयाँमै सीमित रहन्थ्यो । यसपटक बाढीपहिरो र नदी कटानका कारण रसुवागढी र तातोपानी नाका अवरुद्ध हुँदा यहाँको नाकाबाट मालबस्तु तथा विद्युतीय सवारी आयात बढ्दो रहेको हो । सीमावर्ती स्थानीय नागरिकका लागि मात्रै सञ्चालनमा आएको कोरला नाका भन्सार विभागले पूर्णरुपमा सञ्चालनमा ल्याएसँगै कोरला नाकामा व्यापारिक चहलपहलसमेत ह्वात्तै बढेको हो । यस भन्सार कार्यालयमा चीनबाट कोरला नाका हुँदै भित्रिएका एक हजार १०९ विद्युतीय सवारी साधनमध्ये ९६५ को भन्सार जाँचपास भइसकेको भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए । भन्सार कार्यालय न्हेचुङमा हाल १४४ विद्युतीय सवारी साधनको भन्सार जाँच पाँस हुन बाँकी रहेको भन्सार प्रमुख खड्काको भनाइ छ ।  यसैगरी कोरला नाकाबाट मालवस्तु आयात गरिएका ३७५ मालबाहक कन्टेनरमध्ये सबैको भन्सार जाँचपाँस भई गन्तव्यतर्फ प्रस्थान गरेका भन्सार प्रमुख खड्काले उल्लेख गरे। यहाँको भन्सार कार्यालयका कर्मचारी दसैँ बिदामा घरतर्फ प्रस्थान गरिसकेका छन् । असोज १८ गते अर्थात पूर्णिमासम्म दसैँको सार्वजनिक बिदा भएको र दसै मनाएर कार्यस्थलमा फर्किन दुई दिन समय लाग्ने भएकाले सम्भवत २१ गतेदेखि पुनः भन्सारका नियमित कार्यसम्पादन सुरु हुने भन्सारका नायब सुब्बा उत्तम राईले जानकारी दिए।  नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएसँगै मुस्ताङमा व्यापारिक चहलपहलसमेत बढेको छ । नाका सञ्चालनले यहाँको आन्तरिक व्यापार व्यवसाय राम्रो चलेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए ।  यसैगरी नाकामा स्थानीय नागरिक र सवारी चलाउन जान्ने युवाहरुले राम्रो आम्दानी गरेको अध्यक्ष गुरुङको भनाइ छ ।  नाकाको सीमापारी भन्सारमा लोड अनलोड गर्ने तथा त्यहाँ चीनको भन्सारमा ल्याएका विद्युतीय सवारी साधन चलाएर बाहिर निकाल्ने युवाहरूले मनग्ये आम्दानी गर्ने बाटो खुलेको उनले उल्लेख गरे । 

प्रधानमन्त्री कार्कीले दसैँका टीका नलगाउने

प्रधानमन्त्री कार्कीले टीका नलगाउने ् काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको महान् चाड बडा दसैँका अवसरमा यसवर्ष टीका नलगाउने बताएकी छिन् । बडादसैँ हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले जानकारी दिए ।  प्रधानमन्त्री कार्कीको सचिवालयले पीडाको यस अवस्थामा उनले टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका नलगाउने स्पष्ट गरेको छ ।

६ वर्षपछि अमेरिकामा सट डाउन, लाखौँ कर्मचारीलाई बेतलबी अवकाशमा पठाउने

काठमाडौं । ६ वर्षपछि पहिलोपटक अमेरिकी सङ्घीय सरकार बन्द (सट डाउन) भएको छ । अमेरिकामा मध्यरात कङ्ग्रेसले कोषसम्बन्धी अस्थायी उपाय पारित गर्न असफल भएपछि सङ्घीय सरकार आधिकारिक रूपमा बन्द भएको छ । ‘अब के हुन्छ भन्ने स्पष्ट छैन’ भनेर सिएनएनले उल्लेख गरेको छ । सन् २०१९ पछि यो पहिलो सरकारी बन्द हो । दुवै पार्टीका नेताहरू दोषारोपमा अडिग छन् । रिपब्लिकनहरूले हालको कोषलाई अझ ७ हप्तासम्म विस्तार गर्न डेमोक्रेटहरूको सहमति आवश्यक भएको दाबी गरेका छन् भने डेमोक्रेटहरूले आवश्यक सहुलियत बिना सिनेटमा कुनै कोषसम्बन्धी प्रस्तावलाई समर्थन गर्न अस्वीकार गरेका छन् । डेमोक्रेटिक नेता हाकिम जेफ्रीज र चक शुमरले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रिपब्लिकनहरूलाई दोषारोपण गरेका छन् ।  ‘महिनौँसम्म जनताको जीवन कठिन र महँगो बनाएपछि, डोनाल्ड ट्रम्प र रिपब्लिकनहरूले अब सङ्घीय सरकार बन्द गराउनुभएको छ किनभने उहाँहरू अमेरिकी जनताको स्वास्थ्य सेवाको रक्षा गर्न चाहनुहुन्न,’ विज्ञप्तिमा उल्लेख छ। यो बन्द कति समयसम्म रहने भन्नेबारे गहिरो अनिश्चितता छ । सिनेटरहरू आज राति क्यापिटलबाट निस्कँदा समाधानबारे कुनै निश्चितता थिएन । भोलि बिहान फेरि रिपब्लिकनहरूले प्रस्तुत गरेको उही कोष योजनामाथि मतदान हुने बताइएको छ । रिपब्लिकन नेताहरूले आवश्यक सङ्ख्यामा डेमोक्रेटहरूको समर्थन नआएसम्म सो प्रस्ताव दैनिक रूपमा मतदानका लागि ल्याउने घोषणा गरेका छन् । सरकारी बन्दले लाखौँ सङ्घीय कर्मचारीहरूलाई ‘अवकाश’ मा पठाउनेछ, भने आवश्यक सेवामा पर्नेहरूलाई भने काम गर्नुपर्ने तर गतिरोध अन्त्य नभएसम्म तलब नपाउने स्थिति रहनेछ । तर, केही कर्मचारीले भने निरन्तर तलब पाउनेछन्, किनभने उनीहरूको जागिर काङ्ग्रेसको वार्षिक विनियोजनबाट प्रत्यक्ष वित्त पोषित हुँदैन । सामान्यतया, जीवन र सम्पत्तिको सुरक्षा जस्ता आवश्यक कार्यहरू भने जारी रहनेछन् । अघिल्ला बन्दहरूले अध्यागमन सुनुवाइहरू रद्द गरेका थिए, घर खरिदकर्ताहरू र साना व्यवसायहरूलाई संघीय ऋण उपलब्ध गराउन ढिलाइ गरेका थिए र विभिन्न क्षेत्रमा अवरोध ल्याएका थिए ।

सर्लाहीमा माटोको ढिस्को खस्दा पुरिएर ४  जनाको मृत्यु

काठमाडौं । माटोको ढिस्को खस्दा पुरिएर सर्लाहीमा ३ बालबालिकासहित ४ को मृत्यु भएको छ । सर्लाही जिल्लाको हरिपुवामा ढिस्कोले पुरिएर आज बिहान ४ जनाको मृत्यु भएको हो । हरिपुवा नगरपालिका–१ हर्दी खोला किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथानाकी ६५ वर्षकी सायदा खातुन, ६ वर्षकी सविवा खातुन, ८ वर्षका डिल्लु मन्सुर र ९ वर्षकी नर्गिस खातुनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता बलिष्ठर सिंहले जानकारी दिए । ढिस्कोले पुरिएका उनीहरूलाई तत्काल उद्धार गरी स्थानीयले प्रादेशिक अस्पताल मलङ्गवा पुर्याएका थिए । अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका उनले बताए । 

राष्ट्रपति पौडेलले गरे ९ जना कन्याको पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आश्विन शुक्ल नवमीका अवसरमा राष्ट्रपति भवनमा आज ९ जना कन्याको पूजा गरेका छन् ।  राष्ट्रपतिको सचिवालयका अनुसार नक्साल स्थित बाल मन्दिरमा आश्रय लिएका कन्याको उनले पूजा गरेका हुन् । प्रत्येक वर्ष महानवमीका दिन राष्ट्रप्रमुखले ९ जना कन्याको पूजा गर्ने प्रचलन छ ।  त्यस अवसरमा प्रथम महिला सविता पौडेलले पनि नवदुर्गाका प्रतीक ९ जना कन्याको पूजाअर्चना गरेका थिए ।