विकासन्युज

ओखलढुंगामा रास्वपाका विश्वराज पोख्रल ५ मतले विजयी

काठमाडौं । ओखलढुंगामा रास्वपाका उम्मेदवार विश्वराज पोख्रेल विजयी भएका छन् । उनले १३ हजार ९५३ मत ल्याएर विजयी भएका हुन् । उनी ५ मतले विजयी भएका हुन् । कांग्रेस उम्मेदवार कुमार लुइँटेलले १३ हजार ९४८ मतप पाएका छन् । तेस्रोमा रहेका नेपाली कम्युनिष्ट पार्टीका अम्विरबाबु गुरुङले ११ हजार २९६ मत ल्याएका छन् भने एमाले उम्मेदवार अस्मिता थापाले १० हजार ७२० मत प्राप्त गरेकी छिन् ।

डोल्पामा नेकपाका धनबहादुर बुढा विजयी

कर्णाली । एकमात्र निर्वाचन क्षेत्र भएको डोल्पामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का धनबहादुर बुढा विजयी भएका छन् । बुढाले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार लङ्कबहादुर रोकायलाई एक हजार ४०६ मतान्तरमा छ हजार ८०२ मत ल्याएर विजयी भएका हुन् । रोकायले पाँच हजार ३९६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत चन्द्रदेव भारतीले जानकारी दिए ।    त्यसैगरी, नेपाली कांग्रेसका कर्णबहादुर बुढाले दुई हजार ९४७ र राष्ट्रिय स्वतन्त्र पार्टीका देवसिंह ऐडीले १८१ मत प्राप्त गरेका छन् । डोल्पामा नौ दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । यहाँ २५ हजार पाँच कुल मतदाता सङ्ख्या रहेको यो निर्वाचन क्षेत्रमा १६ हजार ४३७ मत खसेको थियो ।

ओली नेतृत्वबाट हट्नुपर्ने माग राख्दै एमाले मकवानपुरका अध्यक्षले दिए राजीनामा

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन  २०८२ मा नेकपा एमालेले लज्जास्पद हार व्यहोरेपछि नेकपा एमाले मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा दिएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पोखरेलले जनमतको कदर र पार्टीको खराब नतिजाको नैतिक जिम्मेवारी लिँदै आजकै मितिदेखि लागू हुने गरी अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।  उनले पार्टीको केन्द्रीय नेतृत्वलाई समेत जिम्मेवारी लिएर राजीनामा दिन र पार्टी पुनर्गठनको बाटो खुला गर्न आग्रह गरेका छन् । पार्टीले भोगेको अनपेक्षित पराजयपछि पार्टीभित्र नतिजाको जिम्मेवारी लिने र नेतृत्वलाई दबाब दिनुपर्ने उनको भनाइ छ ।  नेतृत्वको कार्यशैलीप्रति कडा प्रहार गर्दै उनले लेखेका छन्, ‘यो परिणामको वास्तविक कारण पहिचान गर्न नसकी गोलमटोल भाषामा मात्र व्यक्त हुने, इष्र्या र घमण्डपूर्ण प्रवृत्तिबाट समस्याको समाधान सम्भव हुँदैन ।’  पोखरेलले नेकपा माले हुँदै एमालेको ४५ वर्षे यात्रामा अहिले पार्टीले भोगेको परिणामबारे गम्भीर समीक्षा गर्नुपर्ने उल्लेख गरेका छन् ।   

मुगुमा कांग्रेसका शाही विजयी

कर्णाली । मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर शाही प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।   उनले पाँच हजार ६१७ मत प्राप्त गरी विजयी भएको  मुख्य निर्वाचनको अधिकृतको कार्यालयले जनाएको छ । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार शाहीका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार पूर्णबहादुर रोकायलाई ६१६ मतान्तरमा पाँच हजार ६१७ मत ल्याएर विजयी भएका हुन् । रोकायले पाँच हजार एक मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का चन्द्रबहादुर शाहीले दुई हजार ४४० र राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले ३७१ मत प्राप्त गरेका छन् । मुगुमा सात दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । यो निर्वाचन क्षेत्रमा ३६ हजार ६०५ कुल मतदाता रहेकामा २२ हजार १६८ मत खसेको थियो ।   

झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

भद्रपुर (झापा) । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाका पाँचै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भएका छन् । झापा १ बाट रास्वपाकी निशा डाँगी ४५ हजार ६८० मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५० मत प्राप्त गरे। झापा २ मा रास्वपाकी इन्दिरा रानामगर ६० हजार ११० मतसहित निर्वाचित भइन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का देवराज घिमिरेले ११ हजार ३६८ मत प्राप्त गरे। त्यसैगरी, झापा ३ बाट रास्वपाका प्रकाश पाठक ३८ हजार ६७४ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले १७ हजार २९४ मत प्राप्त गरे। झापा ४ मा रास्वपाका शम्भुप्रसाद ढकाल ४३ हजार ६३१ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का लालप्रसाद साँवा लिम्बूले ११ हजार ९१६ मत प्राप्त गरे। त्यसैगरी, झापा ५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ६८ हजार ३४८ मत प्राप्त गरी निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बैतडीमा रास्वपाको जित : हरिमोहन भण्डारी २२ हजारभन्दा बढी मतसहित विजयी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिमोहन भण्डारी बैतडीबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। भण्डारीले २२ हजार १ सय ३४ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस का चतुरबहादुर चन्दले १८ हजार १ सय ९४ मत ल्याए। यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा तीन पटक लगातार निर्वाचित भई चार पटक मन्त्रीसमेत बनेका दामोदर भण्डारीले १७ हजार ९१ मत प्राप्त गरे। नेपाल कम्युनिष्ट पार्टी का परमानन्द भट्टले ६ हजार ९ सय ६५ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी का भुपेनबहादुर चन्दले २ हजार ६८१ मत प्राप्त गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बैतडीमा ७२ हजार ८४३ मत खसेको थियो। त्यसमध्ये ५ हजार ११३ मत बदर भएको छ। भण्डारीको राजनीतिक यात्रा भने निकै उतारचढावपूर्ण रह्यो। उनले आफ्नो राजनीतिक यात्रा राष्ट्रिय प्रजातन्त्र पार्टी बाट सुरु गरेका थिए। पछि नेपाली कांग्रेस मा प्रवेश गरेका उनी यसपटक भने राष्ट्रिय स्वतन्त्र पार्टी बाट चुनावी मैदानमा उत्रिएका थिए। २०७४ सालको प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका भण्डारी तत्कालीन नेकपा माओवादी केन्द्र का प्रेमप्रकाश भट्टसँग पराजित भएका थिए। २०७९ सालमा कांग्रेसबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका थिए। त्यसबेला उनी कांग्रेसका आधिकारिक उम्मेदवार बिरबहादुर बिष्टभन्दा बढी मत ल्याए पनि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुरेन्द्र पालसँग पराजित भएका थिए। कांग्रेसबाट विद्रोह गरेपछि उनीमाथि कारवाहीसमेत भएको थियो। चुनाव नजिकिँदै जाँदा कारवाही फुकुवा गरिए पनि उनी त्यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गरिसकेका थिए। रास्वपामा प्रवेश गरेसँगै यसपटक भण्डारीले विजय हासिल गर्दै संसदीय यात्राको नयाँ अध्याय सुरु गरेका छन्।

सिरहा–१ मा रास्वपाका गुप्ता निर्वाचित

गोलबजार । सिरहा  १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बब्लु गुप्ता प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । उनले ४१ हजार ३३३ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ  ।  गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरी नौ हजार ७८४ मत ल्याए । नेकपा ९एमाले०का रामशङ्कर यादवले सात हजार ८६६ मत प्राप्त गरे । यहाँ नेपाली कम्युनिस्ट पार्टीका रामचन्द्र यादवले दुई हजार ८५३ मत पाउँदा जसपा नेपालका सत्यनारायण यादवले दुई हजार २८५ मत पाएका छन् ।  नवनिर्वाचित सांसद गुप्ता निवर्तमान युवा तथा खेलकुदमन्त्री थिए ।   

महिलाहरू समाज परिवर्तनका निर्णायक शक्ति हुन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाहरू समाज परिवर्तनका निर्णायक शक्ति रहेको बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्चको अवसरमा प्रचण्डले सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दै  महिलाहरू समाज परिवर्तनका निर्णायक शक्ति रहेको बताए। उनले इतिहासका विभिन्न कालखण्डमा महिलाहरूले देखाएको अदम्य साहस, त्याग र बलिदानीपूर्ण संघर्षकै परिणामस्वरुप आजका महत्वपूर्ण अधिकारहरू प्राप्त हुन सकेको उल्लेख गरेका छन्। सन्देशमा प्रचण्डले व्यवहारिक जीवनमा अझै पनि महिलामाथि असमानता र हिंसा पूर्ण रूपमा अन्त्य नभएको औंल्याएका छन्। उनले भनेका छन्, 'स्वतन्त्रता र अधिकारका नाममा बजारवादी पूँजीवादी संरचनाले महिलामाथि नयाँ–नयाँ रूपका शोषण र असमानता पनि सिर्जना गरिरहेको यथार्थ हाम्रो सामु छ।' संयोजक प्रचण्डले अबका प्रयासहरू सबैखाले शोषण र विभेदको अन्त्य गर्दै महिलालाई साँचो अर्थमा अनुभूतिको तहसम्म समानता स्थापित गर्नमा केन्द्रित हुनुपर्ने बताएका छन्। संविधानमा प्राप्त अधिकारहरूको रक्षा गर्दै जनसङ्ख्याको अनुपातअनुसार राज्यका सबै तह र संरचनामा महिलाको समानुपातिक र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने दिशामा दृढताका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।