विकासन्युज

रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत, पर्साबाट १ करोड धरौटी माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि पर्सा जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी तोकेको छ । अदालतले लामिछानेलाई सम्बन्धित मुद्दामा उपस्थित हुन र तोकिएको धरौटी रकम बुझाउन आदेश दिएको हो । पर्सा जिल्ला अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार अदालतले तोकेको १ करोड रुपैयाँ धरौटी अझै भुक्तानी हुन बाँकी छ । उनले भने, ‘धरौटी रकम जम्मा गर्दै रहेको भन्ने सुचना आएको छ ।’ वीरगञ्जमा रहेको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको वचत रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दायर भएको थियो । तहसिलदार भट्टराईका अनुसार उक्त मुद्दामा न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले धरौटी माग गर्ने निर्णय भएको हो ।

माधवकुमार नेपाल बने रौतहट १ बाट प्रतिनिधि सभाको उम्मेदवार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनी रौतहट क्षेत्र नं १ बाट चुनावी मैदानमा उत्रिएका हुन् । उम्मेदवारी दर्ता गराउने क्रममा नेपालले पार्टीका स्थानीय कार्यकर्ता तथा समर्थकसँग भेटघाट गरेका थिए । उनले आफ्नो चुनावी अभियान सबल लोकतन्त्र, समृद्ध रौतहट भन्ने नारासहित सुरु गर्ने बताएका छन् । उनले निर्वाचनमा अन्य प्रमुख प्रतिस्पर्धीहरूसँग मतदाता माझ आफ्नो राजनीतिक अनुभव, विकासमुखी योजना र सामाजिक न्याय सुनिश्चित गर्ने अठोट प्रस्तुत गर्ने बताएका छन् ।

४२ अंकले बढ्यो नेप्से, ११ अर्ब ८५ करोडको कारोबार

काठमाडौं । मंगलबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४२ अंकले बढेर २७१४ बिन्दुमा पुगेको हो ।  नेप्सेका अनुसार २२४ कम्पनीको सेयर मूल्य बढ्दा ३१ कम्पनीको मूल्य घटेको छ । ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३३९ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्राइस्ट्रक्चरको भएको छ । एनआरएनको ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै राधी विद्युतको ३९ करोड, मन्जुश्री फाइनान्सको ३७ करोड, ग्रीन भेन्चरको ३० करोड र एसवाई प्यानलको २६ करोड रुपैयाँको कारोबार भएको छ । मंगलबार १३ वटै उपसमूहको परिसूचक बढेको छ । सबैभन्दा धेरुै होटल तथा पर्यटन उपसमूहको परिसूचक ३.३६ प्रतिशतले बढेको छ । त्यस्तै, लगानी उपसमूहको परिसूचक साढे २ प्रतिशत बढेको छ भने बैंकिङ, विकास बैंक, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । आज गुर्खाज फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।   

कुलमान घिसिङले गरे काठमाडौं - ३ बाट उम्मेदवारी दर्ता

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं - ३ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकता सहमति भंग भएको थियो । एकता प्रक्रिया भंग भएपछि दुवै दल अलगअलग तरिकाले निर्वाचनमा गएका हुन् ।  

पुष्पकमल दाहालले गरे रुकुम–पूर्वबाट उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सोमबार (आज) रुकुम–पूर्व आउने भएका छन्। दाहालले मंगलबार उम्मेदवारी दर्ता गरेका हुन् । पहिलो संविधान सभा २०६४ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्न थालेका दाहालले काठमाडौं १० मा दोहोरिएर निर्वाचनमा उम्मेदवारी दिएका थिए ।  २०७० मा सम्पन्न दोस्रो संविधान सभाको उक्त प्रतिस्पर्धामा दाहाल तेस्रो भएका थिए । त्यसपछि उनी दोहारिएर एकै निर्वाचनमा प्रतिस्पर्धा गरेका छैनन् ।  २०७९ मा भएको प्रतिनिधिसभा चुनावमा उनी गोरखा- २ बाट निर्वाचित भएका थिए ।

माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाबाट आयोजना प्रभावितलाई सीपमूलक तालिम सुरु

काठमाडौं ।  रसुवा जिल्लामा निर्माणाधीन २१६ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाले आयोजना प्रभावित क्षेत्रका घरपरिवारका सदस्यहरूको स्वरोजगार, रोजगारी तथा सीप अभिवृद्धि गर्दै स्थानीय जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यले सीपमूलक तालिम कार्यक्रम सुरु गरेको छ । आयोजनाबाट पहिलो चरणमा रसुवाको राम्चे, कालिकास्थानलगायतका गाउँका आयोजना प्रभावित ४० जनालाई तालिम प्रदान गर्न सुरु गरिएको छ । आयोजनाको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रा.लि.ले कालिका गाउँपालिकासँगको सहकार्यमा सञ्चालन गरेको उक्त तालिमको मंगलबार वडा नं १ कार्यालयमा आयोजित कार्यक्रमकाबीच औपचारिक उद्घाटन गरिएको छ । आयोजना प्रभावित घरपरिवारको आवश्यकता, माग तथा सम्भाव्यताको आधारमा २० जनालाई केयर गिभर र २० जनालाई होटल सञ्चालन सम्बन्धी तालिम प्रदान गर्न सुरु गरिएको हो ।  आगामी चरणमा आयोजनाबाट प्रभावित पालिका अन्य वडाहरूमा समेत क्रमशः तालिम कार्यक्रम विस्तार गरिनेछ । समग्रमा यस कार्यक्रममार्फत आयोजना प्रभावित समुदायका करिब ३७० जनालाई सीपमूलक तालिम दिने लक्ष्य राखिएको छ ।  उद्घाटन कार्यक्रममा कालिका गाउँपालिका वडा नं.१ का अध्यक्ष दावा तामाङले मागमा–आधारित र वडास्तरमै सञ्चालन गरिएको तालिमबाट स्थानीय सहभागिता सहज बनाएको उल्लेख गरे । यस किसिमका कार्यक्रमले स्थानीय स्तरमै दक्ष जनशक्ति विकासमा महत्वपूर्ण योगदान पुर्याउने  बताउँदै उनीहरुले तालिम अवधिभर सक्रिय सहभागिता जनाई सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे ।  कार्यक्रममा नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिका प्रमुख सञ्चालन अधिकृत सङ्घी माले सीपमूलक तालिममार्फत आयोजना प्रभावित घरपरिवारको सामाजिक तथा आर्थिक अवस्था सुदृढ बनाउनेतर्फ कम्पनी प्रतिबद्ध रहेको बताए ।  उनले आयोजनाको सामुदायिक सहयोग कार्यक्रम अन्तर्गत आयोजना प्रभावित गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराउनुका साथै संस्थागत सामाजिक उत्तरदायित्व र आदिवासी समुदाय योजना कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, संस्कृति संरक्षण, राहत वितरण, जीविकोपार्जन तथा आयआर्जन अभिवृद्धि लगायतका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जानकारी दिए ।  सन् २०१८ मा गरिएको माग–आधारित मूल्यांकन आधारमा प्रभावित क्षेत्रमा सञ्चालन गरिने विभिन्न तालिम कार्यक्रम तय गरिएको थियो । अद्यावधिक घरधुरी सर्वेक्षण, द्रुत बजार मूल्यांक तथा स्थानीय माग विश्लेषणका आधारमा हाल ती तालिम कार्यक्रमहरू परिमार्जन गरिएको छ ।  प्रारम्भिक बाल विकास सहजकर्ता मेसन, वेटर, बेकरी, कुक, सिलाइकटाइ, ब्युटी पार्लर, हाउसकिपिङ लगायतका तालिमहरू समुदायको रुचि र वर्तमान बजार आवश्यकतासँग मेल खाने गरी तय गरिएका छन् । यी कार्यक्रमहरू रोजगारी, स्वरोजगारी तथा आयआर्जन प्रवद्र्धनमा केन्द्रित छन् ।  सरकार र कम्पनीबीच भएको आयोजना विकास सम्झौता (पिडिए) बमोजिम आयोजनाल नेपाल रोजगार तथा सीपमूलक तालिम योजना तय गरी सोही बमोजिम आयोजना प्रभावित क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गरिएको छ ।  कोरियन कम्पनीहरूको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमार्फत रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकु क्षेत्रमा आयोजनाको बाँध लगायतका संरचनाहरू तथा उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युतगृह लगायतका संरचनाहरू निर्माणाधीन छन् । उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रयोग हुने माथिल्लो त्रिशूली–१ आयोजना प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो जलविद्युत आयोजना हो ।  आयोजनाको मुख्य निर्माण कार्य २०७८ साल पौष महिनादेखि सुरु गरिएको हो । हाल भूमिगत विद्युतगृह, मुख्य सुरुङ, बाँध लगायतका सम्पूर्ण संरचनाहरू तीव्र गतिमा निर्माण भइरहेको छन् । आयोजनाको समग्र भौतिक प्रगति ७४ प्रतिशत पुगेको छ । आयोजनाको निर्माण कार्य २०८३ साल मंसिर महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

सुर्खेत–१ मा पूर्णबहादुर खड्काका भाइ विष्णु खड्का बने कांग्रेसको उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले आगामी निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेपछि सुर्खेत–१ मा उनकै भाइ विष्णु खड्का उमेदवार बनेका छन् । पार्टीमा व्यापक असन्तुष्टि बढेकोवेला खड्काले आफू उम्मेदवार नहुने बताएका थिए । उपसभापति खड्काको उक्त घोषणापछि कांग्रेसले खड्काका भाइ विष्णु खड्कालाई टिकट प्रदान गरेको हो ।  विष्णु खड्का पार्टीको जिल्ला उपसभापति भएर सक्रिय भूमिका निभाइरहेका नेता हुन् । उनी व्यवसायी पृष्ठभूमि भएका व्यक्ति पनि हुन् । खड्कालाई जिल्लास्तरमा परिचित अनुहारको रूपमा लिइन्छ । जिल्लामा पूर्वउपसभापति पूर्णबहादुर खड्काको राजनीतिक प्रभाव र क्षेत्रीय पहुँचले विष्णु खड्काको उम्मेदवारीलाई बल प्रदान गर्ने सम्भावना छ ।

युनाइटेड अजोड इन्स्योरन्सका सिईओ गौतमले दिए राजिनमा

काठमाडौं । युनाइटेड अजोड इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कमल गौतमले राजीनामा दिएका छन्  । कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले हिजो (मंसिर ५ गतेदेखि नै लागू हुने गरेर राजीनामा स्वीकृत गरेको कम्पनी सचिव वैद्यनाथ प्रसाद उपाध्ययले जानकारी दिए । कम्पनीका अनुसार उनले राजिनमा पत्रमा व्यक्तिगत कारण देखाउँदै राजिनामा दिएका हुन् । गौतमलाई  कम्पनीले २०८१ मंसिर २६ गते बसेको बैठकले सिईओमा नियुक्त गरेको थियो । कम्पनीमा उनले एक वर्ष बिताएका छन् । ​​​​​ सिईओ गौतमको राजिनमासँगै कम्पनीले निमित्त सिईओमा नायब प्रमुख कार्यकारी अधिकृत (डिसिईओ) रेना रिजाललाई नियुक्त गरेको छ ।