श्रम संस्कृति पार्टीबाट अमित थापाले गरे काठमाडौं- ५ बाट मनोनयन दर्ता
काठमाडौं । श्रम संस्कृति पार्टीका अमित थापाले काठमाडौं- ५ बाट मनोनयन दर्ता गरेका छन् । थापाले मंगलबार (आज) उम्मेदवारी दर्ता गरेका हुन् ।
कांग्रेसले प्रत्यक्षतर्फ १५६ क्षेत्रमा उम्मेदवार टुंग्यायो, ९ क्षेत्र बाँकी
काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुँदै गरेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १५६ क्षेत्रमा आफ्नो उम्मेदवार टुंगो लगाइसकेको बताएको छ । मंगलबार (आज) मनोनयन दर्ता सुरु भएको दिन कांग्रेसले उम्मेदवार छनोटको कामलाई निरन्तरता दिएको छ । यसअघि संसदीय बोर्ड र पार्टी उच्च नेतृत्वको बैठकपछि अधिकांश क्षेत्रका उम्मेदवारहरू टुंगो लागेको सहमहामन्त्री प्रकाश स्नेहीले जानकारी दिए । हालै टुंगो लागेको सूचीअनुसार पार्टीका अनुभव नेता र युवा सदस्यहरू दुबैलाई सन्तुलित तरिकाले उम्मेदवार बनाइएको छ । पार्टीले अधिकांश उम्मेदवारी टुङ्ग्याएको छ, बाँकी केहीबेरमै टुङ्ग्याउने स्नेहीको दाबी छ । अहिले पनि ९ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार चयन हुन बाँकी छ । कांग्रेसले चाँडै यी क्षेत्रका उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी गरेको स्नेहीले जानकारी दिए ।
ईश्वर पोखरेलले गरे काठमाडौं- ५ बाट उम्मेदवारी दर्ता
काठमाडौं । नेकपा एमालेका निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नं ५ बाट उम्मेदवारी दर्ता गरेका छन् । पोखरेलले मंगलबार (आज) उम्मेदवारी दर्ता गरेका हुन् । उनी २०७९ मा भएको प्रतिनिधिसभा चुनावमा कांग्रेसका प्रदीप पौडेलसँग पराजित भएका थिए ।
केपी शर्मा ओलीले गरे झापा- ५ बाट उम्मेदवारी दर्ता
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार (आज) उनले दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । सोही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले मनोनयन दर्ता गराइसकेका छन् । दुवै नेताले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्र सर्वाधिक रोचक प्रतिस्पर्धाको केन्द्र बन्ने देखिएको छ ।
रास्वपाबाट सस्मित पोखरेलले गरे क्षेत्र नं ५ बाट मनोनयन दर्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं क्षेत्र नं ५ बाट सस्मित पोखरेलले उम्मेदवारी दर्ता गरेका छन् । पोखरेलले मंगलबार (आज) उम्मेदवारी दर्ता गरेका हुन् । उम्मेदवार पोखरेलले पार्टीको मूल नीतिलाई मजबुत बनाउँदै निर्वाचन क्षेत्रमा विकास र समृद्धि प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल बैंकको ‘लिङ्क, लोड तथा विदड्र’ अभियान, १५ हजार जित्ने अवसर
काठमाडौं । नेपाल बैंक लिमिटेडले डिजिटल बैंकिङ कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘लिङ्क, लोड तथा विदड्र – पुरस्कार जित्ने अवसर’ नामक अभियान सञ्चालनमा ल्याएको छ । नेपाल बैंक लिमिटेड र खल्ती डिजिटल वालेटको सहकार्यमा सञ्चालनमा आएको उक्त अभियान बैंकको ब्राण्ड प्रवर्द्धन तथा डिजिटल बैंकिङ सेवाको विस्तारलाई लक्षित गरिएको बैंकले जनाएको छ । माघ महिनाभर सञ्चालन हुने यस अभियानमा नेपाल बैंकका कर्मचारी तथा बैंकमा खाता रहेका ग्राहकहरू सहभागी हुन सक्नेछन् । अभियान अवधिभर नेपाल बैंकको खाता खल्ती वालेटसँग लिङ्क गरी कारोबार गर्ने ग्राहक तथा कर्मचारीहरूमध्ये हरेक हप्ता एक जना भाग्यशालीलाई चलचित्र टिकट वा खल्ती प्रो सदस्यता पुरस्कार प्रदान गरिनेछ। त्यसैगरी, अभियान अवधिभर भएको कुल कारोबारको आधारमा एक जना सहभागीलाई नगद १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ । पुरस्कारको घोषणा अभियान समाप्त भएपछि गरिनेछ । अभियानमा सहभागी हुन इच्छुक व्यक्तिले खल्ती वालेटमा दर्ता भई आफ्नो परिचय विवरण अद्यावधिक गरेको हुनुपर्नेछ। साथै, नेपाल बैंकको खाता खल्ती वालेटमा लिङ्क गरी उक्त खातामार्फत कारोबार गरेको हुनुपर्ने सर्त तोकिएको छ। यस सम्बन्धमा थप जानकारी लिन नजिकैको नेपाल बैंकको शाखा कार्यालय वा बैंकको कल केन्द्रको फोन नम्बर ०१–५९७१२२२ मा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ । उक्त अभियानले ग्राहकहरूलाई डिजिटल बैंकिङ सेवातर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ । हाल नेपाल बैंक लिमिटेडले देशभर २३१ शाखा, २३७ स्वचालित टेलर मेशिन (एटिएम) तथा ६१ विस्तार काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
सुदूरपश्चिमका कांग्रेस सभापति बलायरले गरे निर्वाचन नलड्ने घोषणा
काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् । जेनजी आन्दोलनको निहुँमा छद्म ढंगले प्रतिनिधिसभा विघटन गरिएको र फेरि उही प्रकृतिको निर्वाचनतर्फ मुलुक धकेलिन लागेको ठहर गर्दै आफू उम्मेदवार नबन्ने मनस्थितिमा पुगेको उनले जानकारी दिए । बलायरले प्रतिनिधिसभा फेरि पनि विघटन नहुने स्पष्ट र विश्वसनीय ग्यारेन्टी नरहेको अवस्थामा त्यस्तो सभामा उम्मेदवार बन्नु उपयुक्त नहुने बताएका छन् । ‘बारम्बार प्रतिनिधिसभा विघटनको अभ्यासले लोकतान्त्रिक प्रणालीप्रति जनविश्वास कमजोर बनाएको छ,’ उनले भने, ‘त्यसै कारण यस पटक म निर्वाचनमा नउत्रिने निर्णयमा पुगेको हुँ ।’ उनका अनुसार यो निर्णयबारे यसअघि नै पार्टी नेतृत्वलाई जानकारी भइसकेको छ । ‘मैले कार्त्तिक महिनामै पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मालाई आफ्नो धारणा र निर्णय अवगत गराएको हुँ,’ बलायरले स्पष्ट पारे ।
उज्यालो नेपाल पार्टीका श्री गुरुङले काठमाडौं- ५ बाट गराए मनोनयन दर्ता
काठमाडौं । उज्यालो नेपाल पार्टीका नेता श्री गुरुङले काठमाडौं क्षेत्र नं ५ बाट आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । मंगलबार (आज) सम्बन्धित निर्वाचन कार्यालयमा पुगेर गुरुङले आधिकारिक रूपमा मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गुरुङले सुशासन, रोजगारी सिर्जना र स्थानीय विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाउने बताएका छन् ।