सरकार र केसी आईसीयूमै संवाद हुँदै, सहमतिको खोजीमा दुवै पक्ष
काठमाडौं । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै २४औँ आमरण अनशनमा बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता थालेको छ । सरकारको उच्चस्तरीय वार्ता टोली शनिबार धनगढी पुगेर उपचाररत केसीसँग संवादमा जुटेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार वार्ता टोलीमा शिक्षा सचिव चुडामणि पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा तथा प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल सहभागी छन् । शिक्षा सचिव पौडेल शनिबार नै धनगढी पुगिसकेका छन् । अनशनका क्रममा स्वास्थ्य अवस्था जटिल बनेपछि डा. केसीलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको छ । उनी चिकित्सकहरूको निगरानीमा उपचाररत रहँदै वार्तामा सहभागी भएका छन् । सरकार र डा. केसी पक्षबीच पाँच बुँदे मागबारे छलफल भइरहेको छ । स्रोतका अनुसार केसीले अघि सारेका पाँचमध्ये दुई मागमा सकारात्मक सहमतिको संकेत देखिए पनि गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई पदमुक्त गर्नुपर्ने मागमा भने सहमति जुट्न सकेको छैन । विवादित बुँदामा सहमति खोज्न आज पनि दुवै पक्षबीच थप छलफल जारी रहने जनाइएको छ । सरकारले संवादमार्फत निकास निकाल्ने प्रयास गरिरहेको जनाएको छ भने डा. केसी पक्षले मागहरूको स्पष्ट कार्यान्वयनको सुनिश्चितता खोजिरहेको छ ।
गोविन्द केसीका जायज माग पुरा गर्न चिकित्सक संघको आग्रह
काठमाडौं । नेपाल चिकित्सक संघले गोविन्द केसीको जीवन रक्षाका लागि संवादमार्फत समाधान खोज्न आग्रह गरेको छ । संघल डा. केसीले उठाएका जायज मागहरूको शीघ्र सम्बोधन गर्दै संवादमार्फत समाधान खोज्न आग्रह गरेको हो । संघका अनुसार अनशनका क्रममा डा. केसीको स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेका छन् । उनको उमेर, हालै गरिएको शल्यक्रिया तथा समग्र स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै जीवन रक्षाका लागि सरकारले तत्काल आवश्यक पहल गर्नुपर्ने आवश्यकता रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपाल सरकारसहित सम्बन्धित सबै सरोकारवालालाई डा. केसीका जायज मागहरूप्रति संवेदनशील भई यथाशीघ्र वार्ता र सहमतिमार्फत समस्या समाधान गर्न भनेको हो । संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा हस्ताक्षरित विज्ञप्तिमा चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि उठाइएका विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्न सरकारलाई आह्वान गरिएको छ
पैसा फिर्ता गर्न यी तीन किसिमका बचतकर्तालाई प्राथमिकता
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका विभिन्न सहकारी संस्थाका थप ४८ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ । समितिले सहकारीको सम्पत्ति तथा दायित्व व्यवस्थापन ऐन, २०७५, सम्बन्धित अदालतबाट जारी भएका निर्देशनात्मक आदेश तथा नेपाल सरकारको निर्णयअनुसार बचत फिर्ता गर्ने कार्यलाई निरन्तरता दिएको जनाएको छ । समितिका अनुसार बचत फिर्ता गर्दा कार्यविधिअनुसार प्राथमिकता निर्धारण गरिएको छ । ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, स्वीकृत चिकित्सकबाट प्राणघातक रोग लागेको प्रमाणित भएका बचतकर्ता, एकल महिला तथा पूर्ण अशक्त वा पूर्ण अपाङ्गता भएका बचतकर्तालाई पहिलो प्राथमिकतामा राखेर बचत फिर्ता गरिँदै आएको छ । त्यस्तै, एक लाख रुपैयाँभन्दा बढी बचत भएका बचतकर्तालाई एकपटकमा बढीमा ५० प्रतिशत वा अधिकतम पाँच लाख रुपैयाँसम्म बचत फिर्ता गर्ने व्यवस्था लागू गरिएको समितिले जनाएको छ । समितिले दिएको जानकारीअनुसार गत २०८३ असार ५ गते कान्तिपुर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका ३७ जना, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ४ जना, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ३ जना, आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका २ जना तथा पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका २ जना गरी कुल ४८ जना बचतकर्तालाई बचत रकम फिर्ता गरिएको हो । समितिका अनुसार ती बचतकर्तालाई प्रतिव्यक्ति अधिकतम दुई लाख ५० हजार रुपैयाँका दरले बचत रकम फिर्ता गरिएको छ । बचतकर्ताबाट प्राप्त निवेदन तथा मागदाबीलाई प्राथमिकताका आधारमा अध्ययन गरी चरणबद्ध रूपमा रकम फिर्ता गर्ने प्रक्रिया जारी रहेको समितिले जनाएको छ ।
इरानका परमाणु केन्द्रमा धावा बोल्ने अमेरिकी योजना सार्वजनिक
काठमाडौं । अमेरिकी विशेष फौज (स्पेशल फोर्सेस) ले इरानका कडा सुरक्षा घेराभित्र रहेका परमाणु केन्द्रहरूमा सैन्य इतिहासकै सबैभन्दा उन्नत अभियान सञ्चालन गर्ने तयारी गरिरहेको दाबी गरिएको छ । अभियानको उद्देश्य इरानसँग रहेको संवर्धित युरेनियम कब्जामा लिनु रहेको अमेरिकी सञ्चारमाध्यम न्यूयोर्क पोस्टले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । उक्त रिपोर्टअनुसार यो अत्यन्तै जटिल अभियानका लागि हजारौं सैनिकलाई इरानका परमाणु केन्द्रहरूमा परिचालन गर्ने योजना बनाइएको छ । न्यूयोर्क पोस्टले सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज (सीएसआईएस) का उपनिर्देशक जोसेफ रोजर्सलाई उद्धृत गर्दै वार्ता अपेक्षित गतिमा अघि नबढेकाले इरानको परमाणु सामग्री नियन्त्रणमा लिने सबैभन्दा सम्भावित विकल्प सैन्य अभियान हुन सक्ने जनाएको छ । सैन्य योजनाबारे जानकारी राख्ने एक स्रोतलाई उद्धृत गर्दै पोस्टले यो अभियानमा हजारौं सैनिकको आवश्यकता पर्न सक्ने जनाएको छ । ती सैनिकले परमाणु केन्द्रमा प्रवेश गर्ने, विस्फोटक हटाउने र यातायात मार्ग सुरक्षित बनाउने काम गर्नेछन् । त्यसपछि विशेष फौजको सानो टोलीले समृद्ध युरेनियम सुरक्षित रूपमा बाहिर निकाल्ने योजना रहेको बताइएको छ । स्रोतका अनुसार यो प्रक्रिया अत्यन्त जोखिमपूर्ण हुनेछ । जोसेफ रोजर्सले भने, ‘मेरो विचारमा यो सैन्य इतिहासकै सबैभन्दा उन्नत अभियानमध्ये एक वा सम्भवतः सबैभन्दा उन्नत अभियान हुनेछ। ’ उनले इरानको सैन्य क्षमता धेरै हदसम्म कमजोर भइसकेको दाबी गर्दै पनि उनीहरू अझै भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको सुरक्षा गर्ने क्युबाली टोलीभन्दा धेरै सक्षम रहेको बताए । अर्को रिपोर्टअनुसार सम्भावित विशेष अभियानमा अमेरिकी नौसेना सिल टिम सिक्सको सिल्भर स्क्वाड्रन, सेकेन्ड रेन्जर बटालियन र अमेरिकी सेनाको २१औं अर्डनेन्स कम्पनी सहभागी हुन सक्नेछन् । रिपोर्टमा उल्लेख भएअनुसार २१औं अर्डनेन्स कम्पनीले फोर्डो र इस्फहानस्थित परमाणु केन्द्रबाट समृद्ध युरेनियम सुरक्षित रूपमा व्यवस्थापन गरी अर्को स्थानमा सार्ने जिम्मेवारी पाउने सम्भावना छ । न्यूयोर्क पोस्टका अनुसार रोजर्सले सैनिकहरूले सबैभन्दा पहिले परमाणु केन्द्र वरिपरि सुरक्षा घेरा बनाउने र त्यहाँबाट विमानस्थलसम्म सुरक्षित मार्ग तयार गर्ने बताएका छन् । त्यसअघि अमेरिकी टोलीले केन्द्रभित्र प्रवेश गर्न नष्ट भएका प्रवेशद्वारहरू पनि सफा गर्नुपर्ने उनले उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) का अनुसार हाल इरानसँग ६० प्रतिशतसम्म समृद्ध गरिएको ४५० किलोग्रामभन्दा बढी युरेनियम रहेको छ । साउदीको परमाणु डिलपछि किन चर्चामा आयो पाकिस्तान ?
धनुषाका किसानको दैलोमा कृषिमन्त्री चौधरी
धनुषा । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले धनुषाका किसानको घरदैलोमा पुगेकी छन् । धनुषा जिल्लाको कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै उनले किसानहरूसँग छलफल गरेकी हुन् । भेटवार्ताका क्रममा उनले प्राङ्गारिक मलको प्रयोग बढाउन आग्रह गरेकी छन् । ‘माटो सुधार नै कृषि सुधारको आधार हो । स्थानीय स्रोतबाट बनेका गोठे मल र प्राङ्गारिक मलको प्रयोग बढाउन सबै किसानलाई आग्रह गर्दछु,’ उनले भनिन्, ‘यसले रासायनिक मलमाथिको निर्भरता पनि घट्दै जान्छ । माटो सुधार पनि हुँदै जान्छ, यसले दीर्घकालीन माटो सुधार हुन्छ ।’ किसानसँग छलफलका क्रममा मन्त्री चौधरीले लक्ष्मीनियाँ गाउँपालिका–७ स्थित महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड अन्तर्गत सञ्चालित कस्टम हायरिङ केन्द्रको निरीक्षण गरेकी छन् । केन्द्रमार्फत आधुनिक कृषि उपकरण किसानलाई सहुलियत दरमा भाडामा उपलब्ध गराइँदै आएको छ । त्यसैगरी, मन्त्री चौधरीले बटेश्वर गाउँपालिका–५, शान्तिपुरस्थित अन्नपूर्ण माछापालनको पनि अवलोकन गरेकी छन् । कम्पनीले व्यवसायिक माछापालनसँगै माछाको भुरा, दाना तथा आवश्यक औषधिको आपूर्ति गर्दै स्थानीय मत्स्य व्यवसायलाई सहयोग पुर्याउँदै आएको जनाएको छ । त्यसैगरी, मन्त्री चौधरीले धनुषाको चित्रनगरस्थित आँप बगैंचाको समेत अवलोकन गरेकी छन् ।
१९ अर्बको नागढुंगा सुरुङमार्ग उद्घाटन सोमबार
काठमाडौं । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा-सिस्नेखोला सुरुङमार्ग भोलि (सोमबार) औपचारिक रूपमा उद्घाटन हुँदैछ । करिब १९ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको यो आयोजना नेपालको सडक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ । नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको सुरुङमार्गको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ । सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार सुरुङको मुख्य भाग २.६८ किलोमिटर लामो भए पनि इभ्याकुएसन (आपत्कालीन निकास) टनेल र क्रस-प्यासेजहरू समेत जोड्दा यसको कुल संरचनात्मक लम्बाइ करिब ५.५ किलोमिटर पुगेको छ । निर्माण लागत भेरिएसनसहित करिब १९ अर्ब रुपैयाँ पुगेको उनले बताए । जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनले २०७६ सालदेखि निर्माण थालेको यो आयोजना प्राविधिक चुनौती र विभिन्न प्रशासनिक जटिलता पार गर्दै अन्ततः सञ्चालनको चरणमा पुगेको हो । यद्यपि उद्घाटनसँगै सर्वसाधारणका लागि सुरुङ खुला हुने छैन । प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारीसाधन लाई मात्र प्रवेश दिइने सडक विभागले जनाएको छ । महानिर्देशक जैसीका अनुसार उद्घाटनपछि सुरुङभित्रका सबै सुरक्षा प्रणालीको प्रभावकारिता परीक्षण गर्न मक ड्रिल (नमूना अभ्यास) सञ्चालन गरिनेछ । त्यसपछि करिब एक सातासम्म एकतर्फी परीक्षण सञ्चालन गर्दै जेट फ्यान, भेन्टिलेसन प्रणाली, वायु उत्सर्जन तथा अन्य प्राविधिक उपकरणको कार्यक्षमता परीक्षण गरिनेछ । सबै प्रणाली सफलतापूर्वक परीक्षण सम्पन्न भएपछि करिब एक महिनाभित्र सुरुङमार्ग पूर्ण रूपमा सर्वसाधारणका लागि सञ्चालनमा ल्याइने तयारी गरिएको विभागले जनाएको छ । सुरुङमार्गमा भने मोटरसाइकल तथा प्रज्वलनशील र विस्फोटक पदार्थ बोकेका सवारीसाधन सञ्चालन गर्न निषेध गरिएको छ । अन्य सवारीसाधनले भने निर्धारित सुरक्षा मापदण्ड पूरा गरेपछि सुरुङमार्ग प्रयोग गर्न पाउनेछन् । सडक विभागले यस आयोजना बिल अफ क्वान्टिटी (बीओक्यू) मोडालिटीमा अघि बढाएको थियो । डिजाइन र निर्माण सुपरिवेक्षणमा जापानी परामर्शदाताको प्राविधिक सहयोग रहेको थियो । महानिर्देशक जैसीका अनुसार सिस्नेखोलाबाट नागढुंगातर्फको जोखिमपूर्ण उकालो, पहिरो तथा सवारी जामको दीर्घकालीन समाधान खोज्ने उद्देश्यले यो सुरुङमार्ग निर्माण गरिएको हो । प्राविधिक चुनौती, भौगोलिक जटिलता र स्थानीय तहमा देखिएका विभिन्न अन्योल पार गर्दै निर्माण सम्पन्न भएको यो आयोजना अब नेपालको आधुनिक सडक पूर्वाधारको नयाँ अध्यायका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ । सुरुङ सञ्चालनमा आएपछि काठमाडौं भित्रिने तथा बाहिरिने सवारीको यात्रा समय घट्नुका साथै वर्षायाममा हुने पहिरो र लामो ट्राफिक जामको समस्या समेत उल्लेख्य रूपमा कम हुने विश्वास गरिएको छ ।
मुखभित्र खैरो हेरोइन लुकाएर नेपाल आएका युवक पक्राउ
काठमाडौं । लागूऔषध तस्करहरूले सुरक्षा जाँच छल्न नयाँ-नयाँ उपाय अपनाउन थालेका छन् । मुखभित्र खैरो हेरोइन लुकाएर नेपाल प्रवेश गर्दै गरेका एक युवक यहाँ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार शनिबार साँझ भारतबाट पैदल नेपाल प्रवेश गरेका अर्जुनधारा नगरपालिका-९ का २२ वर्षीय अरमान खानलाई शङ्का लागेर जाँच गर्दा निजको मुखमा प्लास्टिकमा पोको पारेको खैरो हेरोइन भेटिएको थियो ।
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । स्थानीय बजारमा आइतबार (आज) सुनचाँदीको मूल्य केही बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ६०० र चाँदी रु ६० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ४१० निर्धारण भएको छ । गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८५ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ३५० निर्धारण भएको थियो । गत बिहीबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार ३०० र चाँदी रु चार हजार ५०५ मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुन चार हजार ५२ र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।