विकासन्युज

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आइतबार (आज) सुनचाँदीको मूल्य केही बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ६०० र चाँदी रु ६० ले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ४१० निर्धारण भएको छ । गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८५ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ३५० निर्धारण भएको थियो ।  गत बिहीबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार ३०० र चाँदी रु चार हजार ५०५ मा कारोबार भएको थियो ।    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुन चार हजार ५२ र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

बोरिङको बिल पास गर्न साढे ७ लाख रुपैयाँ घुस खाने दुईजना अख्तियारको फन्दामा

काठमाडौं । बोरिङ र मोटर जडानको काम सम्पन्न भएपछि त्यसबापतको भुक्तानी गरिदिने क्रममा सेवाग्राहीसँग घुस माग्ने दुईजना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । सर्लाहीस्थित भूमिगत जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख र एक मेकानिकल अधिकृतलाई आयोगले नियन्त्रणमा लिएको हो । कार्यालयका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई आयोगले नियन्त्रणमा लिएको हो । ढकाल र चौधरीले बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरिसकेपछि सेवाग्राहीलाई हैरानी दिँदै घुस मागेको सूचना तथा उजुरी प्राप्त भएको थियो ।  त्यसपश्चात अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले निगरानी तथा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा उनीहरूलाई सेवाग्राहीबाट रु. ७ लाख ५० हजार घुस लिइसकेको अवस्थामा सर्लाहीको बागमती नगरपालिका–१२ स्थित कार्यालय प्रमुखको सरकारी क्वाटरबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । कारबाहीका क्रममा घुसबापत लिइएको ७ लाख ५० हजार, स्रोत नखुलेको ७१ हजार ११५ नगद र तीन थान मोबाइल समेत बरामद गरिएको आयोगले जनाएको छ । अख्तियारले दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

मणिपाल शिक्षण अस्पतालको आम्दानी १.८९ अर्ब, ५० प्रतिशत कोटा विदेशी विद्यार्थीलाई

काठमाडौं । नेपाल मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप प्रालि (मणिपाल शिक्षण अस्पताल) ले गत आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा १ अर्ब ८९ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आर्थिक वर्षको १० महिनाको १ अर्ब ८४ करोड ८० लाख रुपैयाँको तुलनामा २.३२ प्रतिशत अर्थात् ४ करोड ३० लाख रुपैयाँले बढी हो । कम्पनीको आम्दानी पछिल्ला वर्षहरूमा निरन्तर बढ्दो क्रममा देखिएको छ । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले २ अर्ब २७ करोड रुपैयाँ, आव २०८०/८१ मा १ अर्ब ८८ करोड ९० लाख रुपैयाँ, आव २०७९/८० मा १ अर्ब ५० करोड ८० लाख रुपैयाँ, आव २०७८/७९ मा १ अर्ब ९ करोड ९० लाख रुपैयाँ, आव २०७७/७८ मा १ अर्ब ७ करोड रुपैयाँ, आव २०७६/७७ मा १ अर्ब १० करोड ५० लाख रुपैयाँ र आव २०७५/७६ मा १ अर्ब २२ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । पोखरास्थित नेपाल मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपको स्थापना सन् १९९४ मा भएको हो । सुरुमा भारतको मणिपालको लगानीमा स्थापना भएको यो कम्पनीको सम्पूर्ण स्वामित्व सन् २०२१ को अगस्टमा नेपाली कम्पनी बापो होल्डिङ्स निजी लिमिटेडले खरिद गरेको थिया । त्यसपछि सन् २०२३ फेब्रुअरीमा बापो होल्डिङ्स कम्पनीमा गाभिएको थियो । हाल कम्पनीको करिब ८३ प्रतिशत सेयर अटोवेज समूह र १७ प्रतिशत सेयर बतास समूहको स्वामित्वमा रहेको छ । अटोवेज समूहका अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायण प्रसाद पौडेल हुन् भने बतास समूहका अध्यक्ष आनन्दराज बतास हुन् ।  नेपालका निजी मेडिकल कलेजमध्ये एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने पहिलो संस्थामध्ये एक मानिने यस संस्थाले काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा चिकित्साशास्त्र स्नातक, विज्ञान स्नातक (नर्सिङ) लगायत स्नातक, स्नातकोत्तर तथा अन्य स्वास्थ्य विज्ञानसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । पोखरामा ५०० शय्याको अस्पताल सञ्चालन गरिरहेको कम्पनीको अस्पताल तथा मेडिकल कलेज करिब १० हेक्टर क्षेत्रफलमा फैलिएको छ । हाल कम्पनी पूर्ण रूपमा नेपाली लगानीकर्ताको स्वामित्वमा रहे पनि ’मणिपाल’ ब्रान्ड नाम प्रयोग गरिरहेको छ । भारतको मणिपाल समूहको स्थापित ब्रान्ड छविका कारण कम्पनीले भारत, श्रीलंका, माल्दिभ्स, बंगलादेश, सिंगापुर, थाइल्यान्ड, मध्यपूर्व, केन्या, दक्षिण अफ्रिका, संयुक्त राज्य अमेरिका, क्यानडा, संयुक्त अधिराज्य, अष्ट्रेलिया र न्युजिल्यान्डलगायत विभिन्न देशका विद्यार्थी आकर्षित गर्दै आएको छ । यद्यपि, भविष्यमा ’मणिपाल’ ब्रान्डको प्रयोग निरन्तर रहने वा नरहने विषय अझै स्पष्ट नभएकाले त्यसले स्वदेशी तथा विदेशी विद्यार्थी भर्नामा पार्ने प्रभावलाई महत्वपूर्ण रूपमा हेरिएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ५० करोड रुपैयाँ ऋण लिएको छ । त्यसमध्ये १ अर्ब ९४ करोड रुपैयाँ दीर्घकालीन र ५६ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ । कम्पनीका अनुसार चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा विद्यार्थी भर्ना सन्तोषजनक रहेको तथा अस्पताल सेवाबाट हुने आम्दानी निरन्तर बढ्दै गएको छ । अस्पतालको शय्या उपयोग दर ५७ प्रतिशतबाट घटेर ५३ प्रतिशतमा झरे पनि प्रति शय्या औसत आम्दानी तथा भर्ना भएर उपचार गराउने बिरामीको संख्या बढेकाले समग्र आम्दानी वृद्धि भएको हो ।  यद्यपि, कर्मचारी व्यवस्थापनसम्बन्धी खर्च बढेकाले सञ्चालन नाफा मार्जिन अघिल्लो वर्षको २९ प्रतिशतबाट घटेर गत आर्थिक वर्षको ९ महिनामा २४ प्रतिशतमा सीमित भएको छ । कम्पनीले एमबीबीएसको सिट संख्या १०० बाट १२० पुर्याएकाले आगामी वर्षहरूमा विद्यार्थी संख्या बढ्दै जाँदा नाफामा सुधार आउने अपेक्षा गरेको छ । विद्यार्थीबाट शैक्षिक सत्रको सुरुमै अग्रिम शुल्क संकलन हुने भएकाले कम्पनीको कार्यशील पुँजीको अवस्था सामान्यतया ऋणात्मक रहने गरेको छ । अग्रिम शुल्कको उपयोगसम्बन्धी स्पष्ट नीतिगत व्यवस्था नहुँदा पूँजीगत लगानीमा खर्च हुने र त्यसले भविष्यमा नगद प्रवाहमा असन्तुलन ल्याउन सक्ने कम्पनीको भनाइ छ । साथै, सरकारी स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गतको भुक्तानी ढिलो प्राप्त हुने अवस्थाले पनि कम्पनीको तरलतामा थप दबाब सिर्जना गरिरहेको जनाएको छ ।  यस्ता चुनौतीबीच पनि कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ४६ प्रतिशत र आर्थिक वर्ष २०८०/८१ मा ४८ प्रतिशत लाभांश वितरण गरेको थियो । नेपालको स्वास्थ्य सेवा क्षेत्रमा निजी तथा सरकारी अस्पतालबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । सरकारी अस्पतालहरूले पछिल्ला वर्षहरूमा पूर्वाधार र सेवा–सुविधामा सुधार गरेसँगै निजी अस्पतालहरूमा सेवा शुल्क तथा गुणस्तर दुवैमा दबाब बढेको छ । यस्तो अवस्थामा सेवा गुणस्तर कायम राख्दै बिरामी र विद्यार्थीको विश्वास जोगाउनु कम्पनीका लागि प्रमुख चुनौती रहने देखिएको छ । चिकित्सा शिक्षा क्षेत्रको नियामकीय वातावरण पनि कम्पनीका लागि अर्को महत्वपूर्ण जोखिम हो । एमबीबीएस कार्यक्रमअन्तर्गत नेपाली विद्यार्थीको शुल्क चिकित्सा शिक्षा आयोगले निर्धारण गर्ने व्यवस्था छ भने उपत्यकाबाहिरका मेडिकल कलेजका लागि अधिकतम शुल्क करिब ४६ लाख रुपैयाँ तोकिएको छ । विदेशी विद्यार्थीको शुल्क निर्धारणमा भने कम्पनीलाई केही लचकता रहेको छ र उनीहरूबाट नेपाली विद्यार्थीको तुलनामा ६० देखि ७० प्रतिशतसम्म बढी शुल्क लिने गरिएको छ । हाल एमबीबीएस कार्यक्रमका कुल सिटमध्ये ५० प्रतिशत विदेशी विद्यार्थीका लागि छुट्याइएको छ । भविष्यमा सिट बाँडफाँट, विदेशी विद्यार्थीको कोटा वा शुल्कको सीमामा हुने नीतिगत परिवर्तनले कम्पनीको आम्दानी तथा वित्तीय अवस्थामा प्रत्यक्ष प्रभाव पार्ने जनाएको छ ।  

प्रवासी नेपालीलाई अर्थमन्त्रीको आह्वान- लगानी ल्याउनुहोस्, सरकारले साथ दिन्छ

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन प्रवासमा रहेका नेपालीहरूलाई आग्रह गरेका छन् । अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूद्वारा आयोजित एक सम्मेलनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने हाम्रो मान्यतामा हामी स्पष्ट छौँ । ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ,’ अर्थमन्त्री वाग्लेले भने । प्रवासमा रहेका नेपालीहरू सरकारको विकास र लगानी विस्तारका सद्भावना दूत भएको पनि उनको भनाइ छ । नेपालमा अविश्वसनीय जनमतबाट बनेको नयाँ सरकारले सुशासनको जग बसाल्न र आर्थिक विकासको ढोका फराकिलो बनाउन काम गरिरहेको तथा यसमा प्रवासमा रहेका नेपालीहरूको हातेमालो जरुरी भएको पनि अर्थमन्त्री वाग्लेले बताए । ‘सरकारले बितेका एक सय दिनमा गरेका कामहरू हेर्नुभयो भने हामी उच्च इमानदारीका साथ सुशासन, जनतालाई सरकारी सेवा सहज रूपमा प्रदान गर्न र अर्थतन्त्रको जहाज मोड्न उल्लेखनीय सुरुवात गरेका छौँ,’ अर्थमन्त्री वाग्लेले भने, ‘सरकारको नेतृत्वदेखि मन्त्रीहरूसम्म सबैले उच्च नैतिकताको कसीमा उभिएर काम गरिरहनुभएको छ। मेरिटोक्रेसी, नेतृत्वमा उच्च नैतिकता, भ्रष्टाचारमा शून्य सहनशीलता र अर्थतन्त्रको समुन्नतिका लागि आर्थिक राजकाजको जहाज मोड्ने कदमको थालनी पछिल्लो एक दशककै सुनौलो सुधारको सुरुवात हो ।’ बजेटमार्फत अर्थतन्त्रको पुनरुत्थानका लागि कर, राजस्व, बजेट वितरणमा नयाँ सुरुवात तथा लगानीका नयाँ सम्भावनाका ढोका खोलिएको भन्दै उनले प्रवासमा रहेका नेपालीहरूबाट नेपालमा लगानी भित्र्याउने अपेक्षा सरकारले गरेको बताए । नेपालबाट लगानीको प्रतिफल फिर्ता लैजान सरकारले सहजीकरण गर्ने भन्दै उनले आफ्नो वा विदेशी लगानी नेपाल ल्याउन पहलकदमी लिन अस्ट्रेलियामा रहेका नेपालीहरूलाई आग्रह गरे । ‘डायस्पोरालाई नेपालमा लगानी ल्याउन सहजीकरणका महत्त्वपूर्ण ढोकाहरू खोलिएका छन् । तपाईंहरू हाम्रो सद्भावना दूत हुनुहुन्छ। आफैँले कमाएको वैध र विदेशी लगानी नेपालमा ल्याउन तपाईंहरू सबैभन्दा राम्रो सहजकर्ता हो,’ अर्थमन्त्रीले भने, ‘हामीले सरकारका तर्फबाट एनआरएनए बन्ड, अफसोर बन्ड, वैकल्पिक वित्त परिचालनजस्ता रूपान्तरणकारी अवधारणा अघि सारेका छौँ। यो नेपालमा तपाईंहरूको लगानी विस्तारका लागि हो ।’ सरकारी खाताभन्दा बाहिरबाट अर्थतन्त्रको पुनरुत्थानका लागि यो सहजीकरण गरिएको भन्दै उनले सरकारले थप के-के सहजीकरण गर्नुपर्छ, स्पष्ट रूपमा भन्न पनि उनीहरूलाई आग्रह गरे । अस्ट्रेलियाको कुल जनसङ्ख्याको करिब एक प्रतिशत नेपाली रहेको उल्लेख गर्दै उनले उनीहरू नेपालको समृद्धिका सम्पत्ति भएको बताए । देश बनाउने साझा उद्देश्यका लागि एक भएर हातेमालो गर्न पनि उनले सबैलाई आग्रह गरे ।

ग्रिनप्लाई, जेमिनी र मकालु वाइनले आईपीओ बिक्री गर्ने, कुनको कति ?

काठमाडौं । मकालु वाइन इन्डस्ट्रीज लिमिटेड, जेमिनी रिसाइकल नेपाल कम्पनी लिमिटेड र ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेका छन् । तीनै कम्पनीले आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेका हुन् ।  ग्रिनप्लाई नेपालले साउन २२ गते बिहान ११ बजे मोरङको बुढीगंगा गाउँपालिका–५ स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा बोलाएको छ । सभामा जारी पुँजीको २० प्रतिशत बराबर १६ लाख ४० हजार कित्ता सेयर निष्कासन गर्ने प्रस्ताव पेश गरिनेछ । साथै, जगेडा कोषमा रहेको संस्थापक सेयर प्रिमियम मूल्यमा जारी गर्नेछ । यस्तै, जेमिनी रिसाइकलले पनि साउन २२ गते दिउँसो ३ बजे सोही स्थानस्थित रजिष्टर्ड कार्यालयमा सभा बोलाएको छ । सभाले जारी पुँजीको २० प्रतिशत बराबर १० लाख कित्ता आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ । साथै संस्थापक सेयर प्रिमियम मूल्यमा जारी गर्नेछ । त्यसैगरी, मकालु वाइनले साउन २३ गते बिहान ११ बजे इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा सभा आयोजना गर्ने भएको  छ। सभाले जारी पुँजीको २० प्रतिशत बराबर १० लाख कित्ता आईपीओ निष्कासन गर्ने, संस्थापक सेयर प्रिमियम मूल्यमा जारी गर्नेछ । तीनै कम्पनीले विशेष साधारण सभाबाट प्रस्ताव पारित भएपछि नियामक निकायबाट आवश्यक स्वीकृति लिएर आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाउनेछन् ।

बाढी-पहिरोले देशका मुख्य सडक अवरुद्ध

काठमाडौं । बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार आज बिहान ५ बजेसम्म काभ्रेपलाञ्चोक-सिन्धुली जोड्ने बीपी राजमार्गमा राति सवारी सञ्चालनमा लगाइए प्रतिबन्ध जारी छ । सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै खुर्कोट-नेपालथोक-कटुन्जे बेँसी सडकखण्डमा बेलुका ६ देखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । यसैगरी, कान्ति लोकपथमा पनि वर्षायामका कारण अर्को सूचना नभएसम्म बेलुका ५ देखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार इलाम नगरपालिका-९ राजदुवालीस्थित मेची राजमार्गमा हिलो थुप्रिएपछि उक्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ जिरोकिलो तथा वडा नं २ कोदारीस्थित अरनिको राजमार्गमा पहिरो खसेकाले सो खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लामासाँघु-रामेछाप राजमार्गको केही भाग सामाकोशी खोलाले कटान गरेपछि यातायात सेवा अवरुद्ध भएको छ । खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ । पासाङ ल्हामु सडक खण्डमा पहिरो खस्दा त्रिशूली-मैलुङ-स्याफ्रु बेँसी कच्ची सडकखण्ड पनि अवरुद्ध भएको छ । त्यसैगरी, मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ घ्याकर खोलामा जलसतह बढेपछि जोमसोम-कोरला सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । अवरुद्ध सडक सडक विभाग तथा स्थानीय निकायले खुलाउने प्रयास जारी राखेका प्रहरीले जनाएका छन् ।

तीन प्रदेशमा आज भारी वर्षाको चेतावनी, जनजीवन प्रभावित हुन सक्ने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा आज भारी वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । अहिले कोशी प्रदेशको तराई भागमा मुख्यतया मौसम सफा रहे पनि बाँकी भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भागमा सामान्यदेखि पूर्ण बदली तथा तराईमा आंशिक बदली रहनेछ । हिमाली र पहाडी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक-दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । यसैगरी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना  छ । आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । साथै, तराईका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले भारी वर्षाका कारण ती क्षेत्रमा गेग्रान, बाढीपहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । प्रतिकूल मौसमका कारण  दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन तथा विभागका पछिल्ला मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ ।

यात्रुलाई बासी खाना खुवाउने पूर्वपश्चिम हाइवे होटललाई २५ हजार जरिवाना

काठमाडौं । यात्रीलाई बासी खाना खुवाउने दाङ देउखुरी क्षेत्रमा रहेको एक होटललाई जरिवाना गरिएको छ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका-३ मसुरीयास्थित पूर्वपश्चिम हाइवे होटललाई २५ हजार रुपैयाँ जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख पदम बरालले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनसहित खाद्य खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोलीले २५ हजार रुपैयाँ जरिवाना गरेको हो । टोलीले होटलको फ्रिजमा अस्वस्थकर, बासी खाना भण्डारण गरेको, पकाएर बनाइने खानामा कृत्रिम रङ प्रयोग गरेको, भान्साको संरचना उपयुक्त नभएको, मूल्य सूची नटाँसेको, नालीमा फोहर पानी जमेको, भान्सामा दुर्गन्ध रहेको जस्ता समस्या पाएपछि जरिवाना गरेको प्रमुख बरालले बताए ।  प्रमुख बरालका अनुसार उक्त होटललाई यसअघि पनि पटकपटक सुधार गर्न निर्देशन गरिएको भए पनि अटेर गरिएपछि सो टोली पुनः अनुगमनका लागि होटलमा पुगेको हो । यसअघि जस्तै यसपटक पनि कुनै पनि सुधार नदेखिएपछि अनुगमन टोलीले जरिवाना गरेको हो ।  तोकिएको जरिवाना एक हप्ताभित्र जिल्ला प्रशासन कार्यालयमा बुझाउनुका साथै कागजपत्रसमेत ल्याउन निर्देशन दिइएको छ । सो टोलीले शुक्रबार देउखुरी क्षेत्रमा रहेका सात वटा होटलको पनि अनुगमन गरेको थियो ।