विकासन्युज

नेपालमा दिपल एस०५ प्लसको बिक्री सुरु, ४०५ किमि रेन्ज

काठमाडौं । नेपालका लागि दिपलका फ्युचरिस्टिक तथा इन्टेलिजेन्ट इभीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले ‘२०२६ दिपल एस०५ प्लस’को बिक्री सुरु गरेको छ । कम्पनीका अनुसार कम्प्लिट स्मार्ट लक्जरी इलेक्ट्रिक एसयुभीका रूपमा प्रस्तुत गरिएको एस०५ प्लस उन्नत प्रविधि, आकर्षक डिजाइन र फाइभ–स्टार सुरक्षा मापदण्डसहित बजारमा ल्याइएको हो । यसले विशेषगरी विवेकशील ग्राहकलाई लक्षित गरेको कम्पनीको दाबी छ । नयाँ एस०५ प्लसमा रियर ह्विल ड्राइभ प्रणाली रहेको छ, जसले यसलाई सेग्मेन्टमै पर्फर्मेन्स–केन्द्रित इभी बनाएको कम्पनीले जनाएको छ । यसमा ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले ३२० एनएम टर्क उत्पादन गर्दै ४०५ किलोमिटर (डब्लुएलटिपी) रेन्ज प्रदान गर्छ । चार्जिङतर्फ यसमा १५१.५ किलोवाट डीसी फास्ट चार्जिङ सपोर्ट रहेको छ, जसले करिब १५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्ने बताइएको छ । साथै ६ किलोवाटको भेहिकल–टु–लोड (V2L) सुविधा रहेको यस गाडीबाट बाह्य उपकरणमा समेत विद्युत आपूर्ति गर्न सकिन्छ । डिजाइनतर्फ ‘आईएफ डिजाइन अवार्ड २०२५’ विजेता एस०५ प्लसमा सिग्नेचर फ्रेमलेस डोर, फ्लस ह्यान्डल र आकर्षक लाइनले यसको रोड प्रेजेन्सलाई थप मजबुत बनाएको छ। इन्टेरियरमा १५.४ इन्चको फुल एचडी टचस्क्रिन, ८ वटा सोनी स्पिकर, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो तथा ६४ कलर एम्बायन्ट लाइटिङ जस्ता प्रिमियम सुविधा दिइएका छन् । यसमा १५९ लिटर क्षमताको फ्रंक (अगाडिको स्टोरेज) तथा रिमोट इन–एन्ड–आउट सिस्टमसमेत समावेश गरिएको छ, जसले स्मार्ट पार्किङलाई सहज बनाउँछ । साथै ४जी र ५जी कनेक्टिभिटीले सवारीलाई सधैं इन्टरनेटसँग जोडिराख्ने सुविधा दिन्छ । सुरक्षातर्फ ‘युरो एनक्याप’को ५–स्टार रेटिङ प्राप्त गरेको यो मोडेल उच्च सुरक्षा मापदण्ड पूरा गर्ने सवारीका रूपमा प्रस्तुत गरिएको छ । एमएडब्लु वृद्धिका अनुसार एस०५ प्लस पर्फर्मेन्स, डिजाइन, प्रविधि र सुरक्षामा कुनै सम्झौता नगर्ने ग्राहकलाई लक्षित गरिएको हो । नेपाली बजारमा यस गाडीको मूल्य ५३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ र बुकिङ खुला गरिएको कम्पनीले जनाएको छ ।  

यी ७ खानेकुरा जसले बालबालिकालाई चर्को गर्मीबाट बचाउँछ

काठमाडौं । गर्मीमा तापक्रम बढ्दै जाँदा आफ्नो स्वास्थ्यको धेरै ख्याल राख्नु पर्ने हुन्छ । विशेषगरी बालबालिका र वृद्धवृद्धालाई यसको धेरै असर हुन्छ । तीव्र घाम, आद्र्रता र तातो हावाका कारण बालबालिकाहरू चाँडै थाक्छन् ।  बाहिर खेल्दा उनीहरूको शरीर धेरै चाँडै डिहाइड्रेटेड हुन्छ, त्यसैले यो मौसममा उनीहरूको लागि उचित आहार लिनु धेरै महत्त्वपूर्ण छ ।  यस्तो अवस्थामा आमाबाबुको सबैभन्दा ठूलो तनाव भनेको बच्चाहरूलाई के खुवाउने भन्ने हुन्छ । आज हामी तपाईंलाई केही यस्ता खानेकुराहरूको बारेमा बताउन गइरहेका छौं, जुन गर्मीमा प्रत्येक अभिभावकले आफ्ना बच्चाहरूको आहारमा समावेश गर्नु महत्त्वपूर्ण छ ।  तरबुजाः तरबुजामा पानीको मात्रा धेरै हुन्छ । यसले शरीरलाई शीतल राख्न मद्दत गर्छ । यसलाई खाँदा बच्चाहरूलाई हाइड्रेटेड र ताजा राख्न मद्दत गर्छ । यसमा भिटामिन र एन्टिअक्सिडेन्ट पनि पाइन्छ । काँक्रोः काँक्रोलाई पनि गर्मीको राम्रो खाना मानिन्छ । यो वयस्कहरूको लागि मात्र नभई बच्चाहरूको लागि पनि स्वस्थकर हुन्छ ।  यसमा लगभग ९५ प्रतिशत पानी हुन्छ, जसले शरीरलाई हाइड्रेटेड राख्न मद्दत गर्छ ।   यसलाई खानामा सलादको रूपमा वा हल्का नुन हालेर खाजाको रूपमा समावेश गर्न सकिन्छ । दही भातः तपाईं बच्चाहरूको खानामा दही र भात पनि समावेश गर्न सक्नुहुन्छ । दही र भातको मिश्रणले चर्को गर्मीमा धेरै राहत दिन्छ । यसले पेटलाई शीतल बनाउँछ र पाचन सुधार गर्छ ।   नरिवल पानीः गर्मीमा खेल्दा बालबालिका धेरै पसिना बगाउँछन्, जसका कारण उनीहरू डिहाइड्रेटेड महसुस गर्छन् । नरिवल पानीले हाइड्रेड गराउन मद्दत गर्छ । यसमा प्राकृतिक इलेक्ट्रोलाइट्स हुन्छन् जसले बच्चाहरूलाई सक्रिय राख्छन् र पानीको मात्रा पुनःपूर्ति गर्छन् । महीः मही पिउनाले शरीरलाई शीतलता मिल्छ र खाना सजिलै पचाउन पनि मद्दत गर्छ । यसमा क्याल्सियम र धेरै आवश्यक पोषक तत्वहरू पाइन्छ जुन बालबालिकाको स्वास्थ्यको लागि राम्रो हुन्छ । कागती पानीः तपाईं आफ्ना बच्चाहरूलाई पनि कागती पानी दिन सक्नुहुन्छ । कागती पानी बनाउनुहोस् र आफ्नो बच्चा बाहिर खेलेर वा स्कूलबाट फर्किँदा खुवाउनुहोस् । यो गर्मी मौसममा बच्चाहरूको लागि एकदमै राम्रो पेय पदार्थ हो । यसमा भिटामिन सी हुन्छ, जसले शरीरलाई ताजा राख्न मद्दत गर्छ ।  गोलभेडाः यसमा भिटामिन र खनिज प्रचुर मात्रामा पाइन्छ । यसलाई बालबालिकाको खानामा सलादको रूपमा समावेश गर्न सकिन्छ । जसले शरीरलाई हाइड्रेटेड राख्न पनि मद्दत गर्छ ।

दिपेन्द्र सिंह ऐरी एशियन ब्याट्रीको ब्राण्ड एम्बेसडर, ‘भोल्टेक्स’ सिरिज सार्वजनिक

काठमाडौं । एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आधिकारिक ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । कम्पनीले यससँगै ‘भोल्टेक्स’ सिरिज अन्तर्गतका नयाँ ब्याट्रिहरू पनि सार्वजनिक गरेको छ । काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा देशभरका ४०० भन्दा बढी डिलर, रिटेलर तथा व्यावसायिक साझेदारहरूको सहभागिता रहेको थियो । कम्पनीले कार्यक्रमलाई ब्राण्ड विस्तार र नयाँ रणनीतिक यात्राको महत्वपूर्ण चरणका रूपमा प्रस्तुत गरेको छ । कम्पनीका अनुसार ‘भोल्टेक्स’ सिरिज उत्पादनमा एकरूपता कायम गर्ने, ब्राण्डिङ सुदृढ बनाउने तथा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित बजारमा ल्याइएको हो । आधुनिक प्रविधि, टिकाउपन र उच्च प्रदर्शनलाई प्राथमिकतामा राखिएको यस सिरिजले नेपाली अटोमोबाइल बजारमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ । कार्यक्रममा बोल्दै दिपेन्द्र सिंह ऐरीले गुणस्तरीय नेपाली ब्राण्डसँग सहकार्य गर्न पाउँदा आफू गौरवान्वित भएको बताए । उनले नेपाली उत्पादनप्रतिको उपभोक्ता विश्वास बढ्दै गएको उल्लेख गर्दै एशियन ब्याट्रीले उद्योग क्षेत्रमा बनाएको पहिचान प्रशंसनीय रहेको धारणा राखे । कार्यक्रमका क्रममा कम्पनीको ब्राण्ड विकास, बजार विस्तार तथा बिक्री प्रवर्द्धनमा योगदान पुर्‍याउने रिटेलर तथा डिष्ट्रिब्युटरलाई सम्मानसमेत गरिएको थियो । कम्पनीले आफ्ना व्यावसायिक साझेदारलाई सफलताको प्रमुख आधारका रूपमा व्याख्या गरेको छ । कम्पनीका अध्यक्ष सुरेश लोहनीले एशियन ब्याट्रीले नेपाली अटोमोबाइल क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको बताए । गुणस्तर, विश्वसनीयता र बिक्रीपछिको सेवाप्रतिको प्रतिबद्धताका कारण बजारमा कम्पनीको उपस्थिति सुदृढ भएको उनको भनाइ छ । एशियन ब्याट्रीले बजाज, हिरो, सेभ्रोले, फोर्ड, होण्डा र इसुजुजस्ता अन्तर्राष्ट्रिय अटोमोबाइल ब्राण्डलाई आफ्ना उत्पादन उपलब्ध गराउँदै आएको जनाएको छ । विराटनगरस्थित उत्पादन केन्द्र र काठमाडौंस्थित कर्पोरेट कार्यालयमार्फत कम्पनीले अन्तर्राष्ट्रियस्तरको उत्पादन प्रणाली अपनाउँदै आएको छ । कम्पनीका अनुसार प्रत्येक ब्याट्री कडा परीक्षणपछि मात्र बजारमा ल्याइने भएकाले उत्पादन टिकाउ, भरपर्दो र उच्च प्रदर्शनयुक्त हुने गरेका छन् । देशभर फैलिएको सेवा सञ्जालमार्फत ग्राहकलाई बिक्रीपछिको सेवा र प्राविधिक सहयोग पनि प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । स्वदेशी उद्योगका रूपमा सुरु भएको एशियन ब्याट्रीले हाल अन्तर्राष्ट्रिय बजारतर्फ पनि आफ्नो उपस्थिति विस्तार गर्दै ‘मेड इन नेपाल’ उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ ।

सिन्धु विकास बैंकको सीईओमा गणेशकुमार केसी

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गणेशकुमार केसी नियुक्त भएका छन् । जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले केसीलाई आगामी चार वर्षका लागि सीईओकाे पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीका सचिव पुस्कर जिसीले जानकारी दिएका छन् । केसीले जेठ ११ गतेदेखि नै कार्यभार सम्हालिसकेका छन् ।

सार्वजनिक चासोका मुद्दामा बहस गर्ने दिन सामाजिक सञ्जाल नहेर्न सुझाव

काठमाडौं । सार्वजनिक चासोका मुद्दामा बहस वा फैसला गर्ने दिन सामाजिक सञ्जाल नहेर्न सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले न्यायाधीश र कानुन व्यवसायीलाई सुझाव दिएका छन् । विशेष अदालत बार एसोसिएसनले काठमाडौंमा आयोजना गरेको मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संवेदनशील मुद्दामाथि आउने तत्कालीन सामाजिक प्रतिक्रियाले व्यक्तिको मनोविज्ञानमा असर पार्ने बताएका हुन् । उनका अनुसार सार्वजनिक सरोकारका मुद्दामा बहस वा फैसला भएपछि सामाजिक सञ्जालमा आउने प्रशंसा र आलोचनाले व्यक्तिमा अस्वाभाविक आत्मविश्वास वा अत्यधिक नकारात्मक सोच पैदा गर्न सक्छ । त्यसैले त्यस्ता मुद्दासँग सम्बन्धित व्यक्तिले कम्तीमा त्यस दिन सामाजिक सञ्जाल र अनलाइन सामग्रीबाट टाढा रहनुपर्ने उनको सुझाव छ । ‘कुनै एउटा मुद्दामा राम्रो बहस भयो वा फैसला आयो भने प्रशंसा आउँछ, त्यसले म त असाध्यै सक्षम रहेछु भन्ने भावना पैदा गराउँछ । नतिजा विवादित भयो भने उल्टै म गलत रहेछु भन्ने नकारात्मक असर पर्न सक्छ,’ उनले भने, ‘त्यसैले सार्वजनिक चासोको मुद्दा हेरेको दिन बेलुका सामाजिक सञ्जाल र अनलाइन मिडिया नहेर्नु राम्रो हुन्छ।’ न्यायाधीश पोखरेलले तत्काल आउने प्रतिक्रिया स्थायी नहुने उल्लेख गर्दै समयसँगै सार्वजनिक धारणा बदलिने बताए ।  उनका अनुसार संवेदनशील मुद्दामा संलग्न व्यक्तिले क्षणिक प्रतिक्रियाभन्दा आफ्नो मानसिक सन्तुलन र पेशागत निष्पक्षतालाई प्राथमिकता दिनुपर्छ । कार्यक्रम विशेष अदालत वार इकाइका अध्यक्ष टीकाबहादुर कुँवरको अध्यक्षतामा भएको थियो ।

काठमाडौंमा ‘हिमालयन लिटरेचर फेस्टिभल २०२६’ हुँदै, विश्व चर्चित लेखकको जमघट

काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’को औपचारिक घोषणा गरिएको छ । दक्षिण एशियाका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक जमघटमध्ये एक मानिने यस महोत्सव आगामी मे २९ देखि जुन ५ सम्म काठमाडौंमा आयोजना हुनेछ । एनसेल फाउन्डेसनको सहकार्यमा हुने आठदिने कार्यक्रम यस वर्ष नेपाली साहित्यका अग्रज व्यक्तित्व गुरु प्रसाद मैनालीप्रति समर्पित गरिएको आयोजकले जनाएका छन् । महोत्सवमा नेपालसहित विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्वान्, पत्रकार तथा उदाउँदै गरेका लेखकहरूको उल्लेख्य सहभागिता रहनेछ । कार्यक्रम हिलिङ, चेतना, सिर्जनशीलता, स्मृति तथा तीव्र परिवर्तनशील विश्वमा सांस्कृतिक संवादजस्ता विषयमा केन्द्रित रहनेछ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत मास्टर क्लास, कार्यशाला, मुख्य वक्तव्य, कविता वाचन, साहित्यिक संवाद, चलचित्र प्रदर्शन, सांस्कृतिक भ्रमण तथा अन्तरविषयक छलफलहरू समावेश गरिएका छन् । यस वर्षको महोत्सवमा पुलित्जर पुरस्कार विजेता कवि ट्रेसी के. स्मिथ र पल मल्डुन, चर्चित उपन्यासकार जीन ह्यान्फ कोरेलिट्ज, कवि तथा अनुवादक टोनी बार्नस्टोन, हिमालयन कवि युयुत्सु शर्मा, साहित्यिक सम्पादक मार्टिन डोयल तथा ‘पोएट लौरिएट’ टिना चाङ लगायत विभिन्न देशका साहित्यिक व्यक्तित्वहरूको सहभागिता रहनेछ । महोत्सवको उद्घाटन विशेष समारोहमार्फत गरिनेछ भने कविता, संस्मरण, जादुई यथार्थवाद, कृत्रिम बुद्धिमत्ता र सिर्जनात्मक लेखन, महिला साहित्य, आदिवासी आख्यान, आघात र हिलिङ, अनुवाद तथा डिजिटल युगमा साहित्यको भविष्यजस्ता विषयमा सत्र सञ्चालन गरिनेछन् । आयोजक युयुत्सु शर्माले साहित्यलाई मानव सभ्यतासँग जोडिएको हिलिङको माध्यमका रूपमा व्याख्या गर्दै महोत्सवले नेपालको सांस्कृतिक पहिचानलाई विश्वमञ्चमा उजागर गर्ने बताए । महोत्सवले युवा साहित्यिक प्रतिभाको प्रवर्द्धनमा पनि जोड दिनेछ । कार्यशाला, मार्गदर्शन कार्यक्रम र अन्तर्राष्ट्रिय सहकार्यमार्फत नयाँ पुस्ताका लेखकहरूलाई अवसर प्रदान गरिनेछ । यसैगरी, महोत्सवअन्तर्गत कवितामा आधारित अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शनसँगै काठमाडौं दरबार स्क्वायर, पाटन, बौद्धनाथ, बुढानीलकण्ठ र नगरकोटलगायतका सांस्कृतिक स्थलको भ्रमण कार्यक्रम पनि समावेश गरिएको छ । आयोजकका अनुसार यस महोत्सवले काठमाडौंलाई विश्व साहित्यिक गन्तव्यका रूपमा स्थापित गर्न थप टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। सोमबार (आज) अपरान्ह साढे ३ बजे बस्नेगरी प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक  आह्वान गरेका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बस्ने बैठकले विभिन्न निर्णय गर्ने जनाइएको छ ।  

घुस खुवाउन खोजेको हल्लाप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालका केही पत्रकारहरूलाई चिनियाँ नागरिकले घूस दिएर एक नेपाली राजनीतिज्ञविरुद्ध नकारात्मक समाचार लेखाउन खोजेको भनी सामाजिक सञ्जालमा फैलिएको हल्लाप्रति नेपालस्थित चिनियाँ दूतावासले गम्भीर आपत्ति जनाएको छ ।  दूतावासका प्रवक्ताले एक वक्तव्य जारी गर्दै उक्त हल्ला पूर्णतः निराधार रहेको बताएका छन् । चीनलाई जानाजानी बदनाम गर्ने उद्देश्यले फैलाइएको यस्तो भ्रामक हल्लाको निन्दा गर्दै प्रवक्ताले ती दाबीहरूलाई पूर्ण रूपमा अस्वीकार गरेका छन् ।  चीनले सधैं अन्य राष्ट्रहरूको आन्तरिक मामिलामा अहस्तक्षेपको नीति अङ्गाल्दै आएको स्पष्ट पार्दै उनले नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाका लागि चालेका कदमहरूलाई चीनले सधैँ दृढतापूर्वक समर्थन गर्दै आएको बताएका छन् ।  साथै नेपालको राजनीतिक स्थिरता, आर्थिक विकास र नेपाली जनताको जीविकोपार्जनमा सुधार ल्याउने प्रयासमा चीनको सक्रिय सहयोग निरन्तर रहँदै आएको समेत वक्तव्यमा उल्लेख छ । चिनियाँ दूतावासले यस विषयलाई गम्भीरतापूर्वक लिँदै नेपाल सरकारका सम्बन्धित निकायहरूलाई यसबारेमा गम्भीर, गहिरो र विस्तृत अनुसन्धान गर्न आग्रहसमेत गरेको छ ।  ‘यी हल्लाहरूको गम्भीर, गहन र पूर्ण अनुसन्धान गर्न तथा त्यसमा प्रत्यक्ष रूपमा संलग्न व्यक्तिहरूलाई नेपाली कानुनअनुसार कडा सजाय दिन आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी हाम्रा दुई देशको साझा हितको रक्षा गर्न नेपाली पक्षसँग कानुन प्रवर्तन र सुरक्षा सहयोगलाई सुदृढ पार्न तयार छौं ।’ यस घटनामा प्रत्यक्ष रूपमा संलग्न व्यक्तिहरू र यसको पछाडि रहेका मुख्य योजनाकारहरूलाई पहिचान गरी नेपाली कानुनबमोजिम कडा कारबाही गर्न चिनियाँ पक्षको माग‍ छ ।  दुवै देशको साझा हित र सुरक्षाको रक्षाका लागि चीन नेपालसँग कानुन कार्यान्वयन र सुरक्षा सहयोगलाई थप सुदृढ बनाउन सधैं तयार रहेको समेत प्रवक्ताले स्पष्ट पारेका छन् ।  साथै नेपाल र चीनबीचको दशकौं पुरानो परम्परागत मैत्रीपूर्ण सम्बन्ध र दुईपक्षीय सहयोगलाई अझ मजबुत बनाउन चिनियाँ पक्ष नेपाली जनतासँग मिलेर काम गर्न प्रतिबद्ध रहेको वक्तव्यमा उल्लेख छ ।