यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँर कैलाली- २ बाट उम्मेदवार
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विजय स्वाँर नेपाली कांग्रेसबाट कैलाली- २ बाट उम्मेदवार बनेका छन् । यातायात क्षेत्रमा लामो समयदेखि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका स्वाँरलाई कांग्रेसले टिकट दिएसँगै कैलाली-२ को प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ । कैलाली स्वाँरको गृहजिल्ला हो । उनले नेकपा एमालेका सूर्यबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनाल र नेकपाका नन्दबहादुर साउदसँग प्रतिस्पर्धा गर्नेछन् । यस क्षेत्रमा एमाले, कांग्रेस र रास्वपाबीचको त्रिपक्षीय भीडन्त मुख्य आकर्षणको केन्द्र रहने देखिएको छ । गत २०७९ सालको आमचुनावमा यस क्षेत्रबाट नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी विजयी भएका थिए । रेशम चौधरीको प्रभाव क्षेत्र मानिने यस ठाउँमा यसपटक कांग्रेसले स्वाँरलाई टिकट दिएपछि पुरानो नतिजा उल्टिने दाबी कांग्रेस वृत्तमा छ । कैलालीको विकास र स्थानीय मुद्दाहरूलाई प्राथमिकतामा राखेर चुनावी अभियान सुरु गरेका स्वाँरले परिवर्तन र समृद्धिका लागि आफ्नो उम्मेदवारी भएको बताए ।
काबुलमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट, एक चिनियाँसहित सातको मृत्यु
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा सोमबार एक चिनियाँ रेस्टुरेन्ट बाहिर भएको विस्फोटमा एक चिनियाँ नागरिकसहित सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । काबुल प्रहरीका प्रवक्ता खालिद जरदानका अनुसार राजधानीको सहर–ए–नाव क्षेत्रमा भएको विस्फोटमा मृत्यु हुनेमध्ये एक जना चिनियाँ नागरिक र छ जना अफगान नागरिक रहेका छन् । प्रवक्ताका अनुसार स्थानीय समयअनुसार दिउँसो ३ बजे विस्फोट भएको थियो । काबुलस्थित आपतकालीन अस्पतालका चिकित्सकहरूले बीबीसीलाई दिएको जानकारीअनुसार विस्फोटपछि चार महिला र एक बालकसहित २० जना घाइतेलाई अस्पताल ल्याइएको थियो । प्रहरी प्रवक्ता खालिद जरदानले मृतक चिनियाँ नागरिक मुस्लिम रहेको र उनले आफ्नी पत्नी तथा एक अफगान सहयोगीसँग मिलेर चिनियाँ नुडल रेस्टुरेन्ट सञ्चालन गर्दै आएको बताए । उनका अनुसार विस्फोट रेस्टुरेन्टको भान्साको नजिक भएको थियो र घटनाको अनुसन्धान जारी छ । यसैबीच चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएसआईएस) ले उक्त विस्फोटको जिम्मेवारी लिएको छ । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले रेस्टुरेन्ट बाहिर भएको विस्फोटको निन्दा गरेका छन् ।
सुनको मूल्य तोलामा २ लाख ८४ हजार ७ सय रुपैयाँ पुग्यो
काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ तोकिएको छ । सोमबार सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैबीच चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोला ७० रुपैयाँले वृद्धि भई ५ हजार ८८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।
रिक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीले पदबाट राजनीमा दिएपछि रिक्त भएका ती मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने गरी तोकेका छन् । प्रधानमन्त्रीसमक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएकाले उनीहरुले सम्हाली आएका मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्ष तर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको प्रक्रिया देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा सुरु भएको छ । निर्वाचन आयोग सहायक प्रवक्ता कुलबहादुर जिसीलेका अनुसार उम्मेदवारी दर्ताका लागि मंगलबार बिहान १०ः०० देखि बेलुकी ५ः०० बजेसम्मको निर्वाचन कार्यक्रम यसअघि नै सार्वजनिक गरिसकिएको जानकारी दिए । बेलुकी ५ः०० बजेसम्म आएर लाम बस्नेले उम्मेदवारी दर्ता गर्न पाउने पनि उनले सुनाए । सबै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । उम्मेदवारी दर्ताका लागि नागरिकता वा मतदाता परिचयत्र पत्रसहित १३ प्रकारका कागजात साथमा लिएर आउन आयोगले यसअघि नै आह्वान गरिसकेको छ । आज बेलुकी ५ः०० देखि ७ः०० बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम रहेको पनि उनले सुनाए । माघ ६ गते बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ । माघ ७ गते दिउँसो ३ः०० बजेदेखि माघ ८ गते बेलुका ५ः०० बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ः०० देखि ७ः०० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ । माघ ९ गते बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । माघ ९ गते दिउँसो १ः०० देखि ३ः०० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ः०० देखि साँझ ७ः०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ ।
गगन थापाले काठमाडौं–४ छोडेर सर्लाही–४ रोजे
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचन क्षेत्र परिवर्तन गरेर सर्लाही जाने भएका हुन् । यसअघि उनी तीनपटक काठमाडौं–४ बाट उनले चुनाव जित्दै आएका थिए । यस पटक भने उनले निर्वाचन क्षेत्र परिवर्तन गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं क्षेत्र नम्बर ४ मा पुकार बम उम्मेदवार भएका छन् । यसअघि बम काठमाडौं–१ बाट उम्मेदवार भएका थिए । त्यस क्षेत्रमा नेपाली कांग्रेसका प्रकाशमान सिंहले जितेका थिए । यस्तै, नेपाली कम्युनिष्ट पार्टीले सो क्षेत्रबाट इन्द्र भुषाललाई उम्मेदवार बनाएको छ । सो क्षेत्रका लागि एमालेले भने उम्मेदवार टुङ्ग्याउन सकेको छैन ।
चितवन राष्ट्रिय निकुञ्जले उच्च सतर्कता बढायो
चितवन । प्रतिनिधि सभा निर्वाचन २०८२ को मिति नजिकिँदै जाँदा चितवन राष्ट्रिय निकुञ्जभित्र चोरी सिकारी हुनसक्ने जनाउँदै उच्च सतर्कता बढाएको छ । निर्वाचनका समयमा नयाँ मानिसहरूको आवतजावत बढ्ने र चोरी सिकारी हुनसक्ने भएकाले उच्च सतर्कता अपनाइएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अहिले स्थानीय, सरोकारवाला निकायहरूसँगको सहकार्यमा सुरक्षा व्यवस्था मिलाइएको छ । निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना, निकुञ्ज प्रशासनले आन्तरिक तथा बाह्य सुरक्षाको व्यवस्था गरेको छ । निर्वाचन लागेपछि चोरी सिकारीको खतरा बढ्ने भएकाले निकुञ्जले त्यहीअनुसार व्यवस्थापन गरेको उनले बताए। निकुञ्ज क्षेत्रको कोर इलाकाभित्र र मध्यवर्ती एवं आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था बलियो बनाइएको छ । उनका अनुसार चोरी सिकारी नियन्त्रण युवा जागरण अभियान, मध्यवर्ती सामुदायिक वनका पदाधिकारी तथा कर्मचारी र स्थानीयलाई निर्वाचनको समयमा सजग हुन आग्रह गरिएको छ । उनले भने, 'प्रतिनिधिसभा निर्वाचनको समयमा निकुञ्ज सुरक्षाका लागि हामी तयार छौँ ।' निकुञ्जभित्र र आसपासका क्षेत्रमा गस्ती बढाउने, एम्बुसिङ, स्विमिङलगायत कामलाई निरन्तर कायम राखिने छ । ९५२/६३ वर्ग किलोमिटरमा फैलिएको निकुञ्जमा २२ वटा मध्यवर्ती उपभोक्ता समिति छन् । निकुञ्जभित्र स्थायी ५७ वटा र अस्थायी तीनवटा पोष्ट छन् । उनले भने, 'सबै पोष्टलाई उच्च सतर्कमा रहन भनिएको छ । कर्मचारी पनि सोहीअनुसार परिचालन गरिएको छ ।' पटिहानी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष साजनकुमार महतो निर्वाचन नजिकिएसँगै उपभोक्ता समितिले पनि उच्च सतर्कता अपनाएको बताउछन् । निर्वाचनको समयमा नकारात्मक सोच राखेका व्यक्ति सलवलाउन सक्ने भएकाले सबै उपभोक्तासहितले आ–आफ्नो ठाउँबाट चनाखो भएर काम गरेको उनले बताए। उनले भने, 'चोरी सिकारी हुनसक्छ कि भनेर निगरानी बढाइएको छ । चनाखो रहन सबै उपभोक्तालाई आग्रह गरिएको छ ।' उपभोक्ता समितिहरू वन्यजन्तु संरक्षणका लागि सधैँ एक भएर काम गर्दै आएको उनको भनाइ छ । अहिले निकुञ्ज क्षेत्रमा रहेका मध्यवर्ती उपभोक्ता समितिहरूको निर्वाचन पनि भइराखेकाले केही बढी सक्रियता बढेको छ भने संरक्षण शिक्षाका बारेमा पनि ज्ञान दिइँदै आएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्त निर्वाचनको समयमा सबैको ध्यान निर्वाचनतर्फ केन्द्रित हुँदा चोरी सिकार हुनसक्ने भएकाले पूर्वतयारीस्वरुप कडाइका साथ काम गरिएको बताउछन् । उनले भने, 'हामी सधैँ चनाखो अवस्थामा रहन्छौँ, यतिबेला थप चनाखो बनेका छौँ ।'
शिक्षामन्त्री महावीर पुनको पनि राजीनामा, चार मन्त्री क्याबिनेटबाट बाहिरिए
काठमाडाैं । शिक्षामन्त्री महावीर पुनले पनि राजीनामा दिएका छन् । उनले सोमबार साँझ पदबाट राजीनामा दिएको बुझिएको छ । उनले आफ्नै अभियानमा लाग्न भन्दै राजीनामा दिएका हुन् । शिक्षामन्त्री पुनको राजीनामाबारे अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । अर्थमन्त्री खनालले लेखेका छन्, ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भयो ।’ पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष हुन् । उनले अब सो केन्द्रलाई नै आफ्नो नेतृत्वमा अगाडि बढाउने योजना बनाएका हुन् । यसअघि ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिएर उज्यालो नेपाल पार्टीको अध्यक्ष हुँदै चुनावी मैदानमा उत्रिएका छन् । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेलले पनि राजीनामा दिँदै रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन् ।