विकासन्युज

पशुपतिका ढोकादेखि मन्दिर परिसरसम्म चिटिक्क, तेस्रो साता पनि चल्यो सफाइ

काठमाडौं । आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएको पशुपति क्षेत्रमा साउनको दोस्रो सोमबारको तयारीस्वरूप सफाइ गरिएको छ ।  पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारीस्वरूप विगत तीन हप्ताअघिको शनिबारदेखि सफाइ अभियान सुरु गरेको हो ।  सफाइको तेस्रो साता आज पनि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको कोष सञ्चालक परिषद् सदस्य रहनुभएका स्थानीयवासी एव पशुपतिका भण्डारी केदारमान भण्डारीले जानकारी दिए । शनिबार (आज) को सफाइका क्रममा दर्शनका लागि भक्तजन लाम बस्ने चारै ढोकाअघिको क्षेत्र एवं मूल ढोका प्रवेश मार्ग क्षेत्रमा पनि सफाइ गरिएको उनले बताए ।  भकुण्डोल, वनकाली, हंसमण्डप, पञ्चदेवल पूर्व हुँदै राजराजेश्वरी, क्रियापुत्री भवन, सुमार्गी भवनका साथै कपाली समुदायको समाधिस्थललगायत क्षेत्रमा पनि सफाइ गरिएको छ ।  सफाइमा कोषका सदस्यसचिव तीर्थ श्रेष्ठ, कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठलगायत कोष सञ्चालक परिषद् सदस्यहरू, कोषका कर्मचारी, स्थानीय सङ्घ संस्थालगायत स्थानीयवासीको पनि सक्रिय सहभागिता रहेको पनि उनले सुनाए ।  यो वर्ष साउन महिनामा चार वटा सोमबार परेको छ । पहिलो सोमबार साउन ४ गते सम्पन्न भइसकेको छ । यसैगरी, साउनको ११, १८ र २५ गते पनि सोमबार परेको छ ।  बाँकी तीन वटै सोमबार भक्तजनलाई सहज रूपमा पशुपतिनाथ मन्दिरभित्र पूजा, आराधना एवं दर्शन गराउने उद्देश्यले यो सफाइ गरिएको हो ।

सशस्त्र प्रहरीले तीन महिनामा ३ सय ४७ जनाको गर्‍यो सकुशल उद्धार

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापनसहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद् जोखिममा परेका ३ सय ४७ जना नागरिकहरुको सकुशल उद्धार गरेको छ । सशस्त्र प्रहरीले नदी, ताल तथा खहरे खोलाहरूमा डुबेका तथा बगाएका २ सय ११ वटा घटनाहरुबाट ८६ जनाको जीवितै उद्धार गरेको छ, भने सो घटनामा परी मृत्यु भएका १ सय २२ जनाको शव निकालेको छ । त्यस्तै, विपद्को उच्च जोखिम लगायत बाढी, डुबान तथा कटानका घटनामा परेका २ सय ३९ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।  देशका विभिन्न स्थानमा भएको सडक दुर्घटनाहरूमा ६ जनाको तत्काल सकुशल उद्धार गरेको छ भने ८ सय ७ जनाको घाइते अवस्थामा उद्धार गरी उपचारको लागि विभिन्न अस्पतालतर्फ पठाएको छ । त्यसैगरी हावाहुरीमा परेका १२ जनाको उद्धार गरेको छ । त्यस्तै, देशको पहाडी क्षेत्रमा गएको पहिरोमा परेका ४ जनाको जीवितै उद्धार गरिएको छ । त्यस्तै सशस्त्र प्रहरीले देशभर २ सय २६ स्थानमा भएको आगलागी नियन्त्रणमा परिचालित भई सो आगलागीमा परी घाईते भएको ४ जनाको समेत सकुशल उद्धार गरेको छ । जटिल प्रकृतिका जल विपद्का ३१ वटा घटनामा सशस्त्र प्रहरीको गोताखोरले ३ जनाको सकुशल उद्धार गरेको छ, भने १४ जनाको शव फेला पारेको छ ।  विपद्को जोखिम न्यूनीकरणका लागि सशस्त्र प्रहरीले ४ सय ६४ वटा विद्यालय र ५ सय ४१ वटा क्लव तथा समुदायस्तरमा जनचेतनामूलक कक्षा संचालन गरेको छ । जसमा ४७ हजार ६ सय ८१ जना सहभागी रहेका थिए । त्यसैगरी विपद् प्रतिकार्यको पूर्वतयारीका लागि सशस्त्र प्रहरी बल नेपालको एकल आयोजनामा १ सय १७ वटा र अन्य निकायहरुसँगको समन्वयमा १२ वटा गरी जम्मा १ सय २९ वटा कृत्रिम घटना अभ्यास सञ्चालन गरेको थियो ।  जसमा २० हजार ३ सय ६६ जना सहभागी रहेका थिए । त्यस्तै सो अवधिमा सशस्त्र प्रहरीले समुदायस्तरमै दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले ४० वटा विपद् स्वयंसेवक तालिम संचालन गरेको छ ।  उक्त तालिमबाट ३ सय ५३ जना महिला र ७ सय ३१ पुरुष गरी १ हजार ८४ जना स्थानीय नागरिकहरु समुदाय विपद् स्वयंसेवकका रूपमा तयार भएका छन् । त्यसैगरी देशभर २८ हजार २ सय ८१ सय जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन सम्बन्धी विशेष अनुशिक्षण तालिम प्रदान गरी तयारी हालतमा साथै कुनै पनि स्थानमा विपद्को सूचना प्राप्त हुनासाथ तत्काल परिचालन हुनसक्ने गरी ८ हजार १ सय ८० जना जनशक्ति २४सै घण्टा तयारी अवस्थामा रहेका छन् । त्यसैगरी विपद् उद्धारमा लाग्ने समयलाई कम गर्न सशस्त्र प्रहरी बल नेपालले देशभर ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य टोली खटाइएको छ, भने १६ वटा अति जोखिमयुक्त स्थानहरुमा आवश्यक जनशक्ति र स्रोतसाधनसहित विपद् व्यवस्थापन बेस स्थापना गरिएको छ ।  सशस्त्र प्रहरी बल नेपालमा रहेका १ सय ३४ जना गोताखोरहरुलाई देशको अति जोखिमयुक्त ११ स्थानमा आवश्यक उपकरणसहित तत्काल परिचालन हुने गरी तयारी हालतमा राखिएको छ । मनसुन शुरु हुन अगावै उद्धार कार्यका लागि सशस्त्र प्रहरीले ८२ वटा राफ्ट बोट र ५३ वटा मोटर बोटहरू तयारी हालतमा तथा घाइतेहरूको तत्काल उपचार र स्थानान्तरणका लागि ८ वटा मास क्याजुअल्टी भेइकल, ८ वटा ’ए’ क्लास एम्बुलेन्स, १० वटा आई.आर.टी भेइकल र सडक अवरोध हटाउन १३ वटा हेभी इक्विपमेन्टहरू तयारी अवस्थामा र १३ जिल्लाका विभिन्न स्थानमा २८ वटा डिजास्टर रिलिफ सिस्टम कन्टेनरहरू समेत राखेको छ । त्यस्तै, सशस्त्र प्रहरी बल नेपालले आफ्नो वेभसाईट तथा फेसबुक, ट्वीटर मार्फत आपद् विपद्मा परेका नागरिकहरुको तत्काल उद्वार तथा सहयोग गर्नको लागि टोल फ्रि नम्बर १११४ मा सम्पर्क गर्न सकिने उल्लेख गरेको छ भने विपद्मा परेका नागरिकहरुले तत्कालै उद्वारको लागि सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । त्यसैगरी राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले उपलब्ध गराएको टोल फ्रि नम्बर १२३४ मा समेत देशभरका सबै जिल्लाहरुमा आपद् विपद्मा परेका आम नागरिकहरुले तत्काल उद्धार, राहत र सहयोगको लागि सम्पर्क गर्न सकिने बताएको छ ।  

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षासचिव पौडेल धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा काठमाडौं । अनसनरत चिकित्सक डा. गोविन्द केसीसँग वार्तामामार्फत सहमतिपूर्ण समाधान खोज्ने उद्देश्यले सरकारको पहल जारी रहेको छ ।  सोही क्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेल शनिबार (आज) धनगढी पुगेका छन् ।  शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले डा. केसीसँग वार्ताका लागि सचिव पौडेललाई धनगढी पठाएको जानकारी दिए । सचिव पौडेलले डा केसीसँग प्रत्यक्ष संवादगरी उनले उठाएका मागबारे छलफल गर्नेछन् ।  यसअघि शिक्षामन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोनमार्फत प्रारम्भिक संवाद गरेका थिए । त्यसैको निरन्तरता स्वरूप सचिव पौडेललाई धनगढी पठाइएको जनाइएको छ ।  सरकारले संवाद र सहमतिका माध्यमबाट डा. केसीले उठाएका विषयको यथाशीघ्र सम्मानजनक तथा सहमतिपूर्ण समाधान खोज्न प्रतिबद्ध रहेको जनाएको थियो ।  

बिजुलीमा भ्याट लागू भएपछि प्राधिकरण अन्योलमा, राजस्व विभागलाई लेख्यो पत्र

  काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएसँगै देखिएका कानुनी तथा प्राविधिक अन्योलबारे आन्तरिक राजस्व विभागसँग प्रष्टीकरण मागेकाे छ । प्राधिकरणले आन्तरिक राजस्व विभागलाई पत्र पठाउँदै आर्थिक ऐन, २०५३ बमोजिम विद्युत शक्तिमा मूल्य अभिवृद्धि कर लागू भएपछि उत्पन्न दुई महत्वपूर्ण विषयमा राय मागेको हो । प्राधिकरणका अनुसार २०८३ साउन १ गतेदेखि मूल्य अभिवृद्धि करमा दर्ता भएको छ ।  त्यसपछि कर विजक जारी गर्ने क्रममा केही विषयमा द्विविधा देखिएकाले विभागको आधिकारिक स्पष्टीकरण मागिएको हो । प्राधिकरणले असार महिनामा उपभोग भएको विद्युतको बिल साउन १ गते जारी भएमा त्यसमा भ्याट लाग्ने वा नलाग्ने भन्ने विषय स्पष्ट पार्न अनुरोध गरेको छ । स्वीकृत ट्यारिफअनुसार उपभोक्ताबाट लिइने न्यूनतम चार्ज तथा डिमान्ड चार्जमा पनि भ्याट लाग्ने वा नलाग्ने विषयमा समेत स्पष्टिकरण मागिएको छ । करसम्बन्धी व्यवस्था स्पष्ट भएपछि सोहीअनुसार बिलिङ प्रणाली कार्यान्वयन गरिने पत्रमा उल्लेख गरिएको छ ।  

माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौं : मन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति बढाउन प्राङ्गारिक मलको प्रयोग गर्नुपर्ने बताएकी छन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकास्थित महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडका किसानसँगको अन्तरक्रियामा मन्त्री चौधरीले बढ्दो रसायनिक मलको प्रयोगका कारण बर्सेनि माटोको उर्वरा शक्ति ह्रास भइरहेकाले मानव स्वास्थ्य र माटोको बिग्रेको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक र जैविक मलको प्रयोग गर्नुपर्ने बताइन्।  किसानले बर्सेनि उत्पादन बढाउने नाममा अत्यधिक रासायनिक मलको प्रयोग गरिरहेकाले माटोको उर्वरा शक्ति घट्नाका साथै मानव स्वास्थ्यसँगै वातावरणमा नकारात्मक प्रभाव बढ्दै गएको उल्लेख गर्दै मन्त्री चौधरीले विगतमा धान खेतमा पाइने माछा र गँगटो विस्तारै कम हुँदै जानु यसैको प्रभाव भएको जिकिर गरिन् ।       रासायनिक मलको साटो प्राङ्गारिक मललाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै मन्त्री चौधरीले किसानले बर्सेनि भोग्दै आएको सिँचाइ, मल र बीउबिजनको समस्यालाई सरकारले गम्भीरता पूर्वक लिएको बताइन् ।  कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष बबितादेवी यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाका पदाधिकारी, किसान लगायतका सहभागिता रहेको थियो । सो क्रममा मन्त्री चौधरीले सहकारी संस्थाको स्थलगत अनुगमनसमेत गरिन् ।   

वडा सदस्यको घरबाट ठूलो परिमाणमा डिएपी मल बरामद

जनकपुरधाम । धनुषा प्रहरीले जिल्लाको धनुषाधाम नगरपालिका–५ ९०० बिघास्थित वडा सदस्य सुरेश साहको घरबाट प्रहरीले ठुलो परिमाणमा रासायनिक डिएपी मल बरामद गरेको छ ।  वडा सदस्य साहले लुकाइछिपाइ डिएपी मल घरमा राखेको र रातिको समस्यामा महँगो मूल्यमा बिक्री गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरी चौकी ९०० बिघाबाट खटिएको टोलीले करिब ४०० बोरा डिएपी मल बरामद गरेको हो ।  वडा सदस्य साहको घरबाट बरामद भएको सो रासायनिक मलको स्रोत नभेटिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । नियन्त्रणमा लिइएको मल ट्याक्टरमा लोड गरेर इलाका प्रहरी कार्यालय धनुषाधाम ल्याउने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । उनका अनुसार बरामद भएको मलको यकिन सङ्ख्या र त्यसको स्रोतबारे थप अनुसन्धान भइरहेको छ । वडा सदस्य साह फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेको भनाइ छ ।    

लाजिम्पाटमा डेढ करोड लगानीमा हाना वेलनेस सञ्चालनमा

काठमाडौं । लाजिम्पाटमा हाना वेलनेस एण्ड स्पा सेन्टर सञ्चालनमा आएको छ। डेढ करोड बढीको लगानीमा हाना वेलनेस सेन्टर सञ्चालनमा आएको हो । लाजिम्पाटस्थित केजी टावरको छैठौ तलामा वेलनेस सेन्टर सुरु भएको हो । ज्याकुजी ( अर्थात तातो पानीमा बस्ने), साउना, स्टीम र (मसाज) थेरापीसहितको वेलनेस सञ्चालनमा आएको हो । हाना वेलनेसका सञ्चालक पदम जिरेलले आधुनिक संरचनासहित थप सुविधासहितको स्पा सेन्टर सुरु गरिएको बताए । व्यस्त सहरमा मानिसहरूको कार्यशैलीलाई आराम दिन वेलनेस सेन्टर सञ्चालनमा ल्याइएको उनको भनाइ छ । ६ तलाको सुविधायुक्त भवनमा सञ्चालित हाना वेलनेस अत्याधुनिक संरचनासहित पारिवारिक वातावरणमा सञ्चालन भइरहेको उनको भनाइ छ । उनका अनुसार ग्राहकको सुविधालाई लक्षित गरेर पार्किङ्ग र लिफ्टको समेत व्यवस्था गरिएको छ ।  थेरापी स्वास्थ्य पर्यटनको महत्वपूर्ण आधार भएको उनले बताए । व्यस्त जीवनशैलीका मानिसलाई शारीरिक आनन्द र तनावमुक्त बनाउन हाना वेलनेस सान्दर्भिक हुने जिरेलको बुझाइ छ । हाना वेलनेस तनाव विसर्जन गर्ने रहेको उनले बताए । युवायुवती तथा महिला, पुरुष र जोडी तथा परिवारका सदस्यहरू जोसुकै आएर पनि यसको मजा लिन सकिने उनको भनाइ छ ।  'आजकालका मानिसहरू स्वास्थ्यप्रतिको सचेतनालाई ख्याल गर्दैनन् । सशारीरिक थकान र तनाव कम गर्न हाना वेलनेस उपयुक्त गन्तव्य हुन सक्छ,’ जिरेलले भने, ‘हाना वेलनेस आयुर्वेदिक उपचार पद्धत्तिमा आधारित रहेकाले हाम्रो सेवाले मानिसलाई स्वस्थ बनाउन मद्दत पुग्छ ।' स्पा शारीरिक थेरापी मात्रै नभएर मानसिक थेरापी पनि भएकाले व्यस्त जीवनबाट फुर्सद मिलाएर स्वस्थ्यकर जीवनका लागि पनि हाना वेलनेस अपरिहार्य भएको जिरेलले बताए । अन्तर्राष्ट्रिय स्तरको सेवासहित वेलनेस सेवा सुरु गरिएको व्यवसायी जिरेलले बताए। स्पा पछिल्लो समय मानिसहरूका लागि वैकल्पिक उपचारको माध्यम पनि बनिरहेको उनले उल्लेख गरे ।   नेचुरोपेथी, आयुर्वेद र पञ्चकर्मका रुपमा लिइन्छ । आयुर्वेद चिकित्साको निगरानीमा सबैखालका मानिसलाई मध्यनजर गरेर ‘हेल्थ प्याकेज’ बनाइने जिरेलको भनाइ छ। हाना वेलनेसलाई आगमी दिनमा चेनको रुपमा विस्तार गर्ने योजना रहेको जिरेलले उल्लेख गरे ।

नेकपा एमाले र नेकपाबीच ३ बुँदे सहमति, कुन प्रदेशमा कसको सरकार ?

काठमाडौं । नेकपा एमाले र नेकपाबीच प्रदेश सरकार सञ्चालन तथा गठनका विषयमा ३ बुँदे सहमति भएको छ । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिअनुसार पछिल्लो समय प्रदेशसभामा बजेट निर्माणका क्रममा देखिएका असमझदारी, बजेटविहीनताको अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धालाई अन्त्य गर्दै जनताको चाहनाअनुसार राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता दिने उद्देश्यले दुवै दल सहकार्य गर्न सहमत भएका छन् । सहमतिको पहिलो बुँदामा प्रदेशसभाहरूमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने उल्लेख गरिएको छ । दोस्रो बुँदाअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा संयुक्त सरकारको नेतृत्व नेकपा एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ । त्यसैगरी, तेस्रो बुँदामा मधेस र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने उल्लेख गरिएको छ । उक्त सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन् ।