ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व संकलन
काठमाडौं । बितेका २४ घण्टामा दुई हजार २९७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २० लाख २१ हजार रुपैयाँ राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १३४, सङ्केत बत्ती उल्लङ्घनकर्ता १०२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १०८ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १४१, निषेधित क्षेत्रमा हर्न बजाउने १८६, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १५८, एकतर्फी सडकमा सवारी चलाउने ७७ र अन्य सवारी नियम पालना नगरेका एक हजार २८८ जनालाई कारबाही गरिएको हो ।
‘दुई अर्ब होइन, दुई रुपैयाँमात्रै बेइमानी गरेको प्रमाण दिनूस्, राजनीति छाडिदिन्छु’
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएका छन् । बिहीबार संसदको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । नैतिकताको उच्च कडीमा उभिएर बनाएको छवि धमिल्याउन नियोजित रूपमा मानिसहरू लागेको र बदनाम गर्ने प्रयास गरेको उनको आरोप छ । अर्थमन्त्रीले भने, ‘दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनूस्, अर्थमन्त्री र राजनीति मात्रै होइन, सार्वजनिक जीवन नै त्यागिदिन्छु । यो नैतिकता अन्य कोही संसद वा राजनीति गर्नेहरूमा छ ?’
कांग्रेसको गतिरोध फुकाउन 'साझा संयन्त्र' गठन प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै १५ औं महाधिवेशन निष्पक्ष, पारदर्शी र सबै पक्षको स्वामित्व हुने बनाउन छोटो समयका लागि साझा सहमतिको संयन्त्र गठन गर्न प्रस्ताव गरेका छन् । आफ्नो निवासमा बिहीबार (आज) आयोजित पत्रकार सम्मेलनमा महतले १४ औं महाधिवेशनबाट आएको कार्यसमिति र गत पुसमा भएको विशेष महाधिवेशनबाट बनेको संरचनालाई समन्वय गर्दै दुवै पक्षबीचको विवाद समाधान गर्न यस्तो संयन्त्र आवश्यक रहेको बताएका हुन् । उनका अनुसार पार्टीभित्र देखिएका असमझदारी अन्त्य गरी बृहत्तर एकता कायम गर्न वर्तमान नेतृत्वले अग्रसरता लिनुपर्ने र यसका लागि सभापति गगनकुमार थापाबाट पहल हुनु आवश्यक छ । महतले भने, ‘फाट्टफुट्ट भेटघाटले मात्र समस्या समाधान हुँदैन, दुवै पक्ष बसेर स्पष्ट समझदारी गर्नुपर्छ ।’ उनका अनुसार उनको पक्षले कुनै पदको भागबन्डा नखोजेको तर १५ औं महाधिवेशन निष्पक्ष हुने आधार र विश्वासको वातावरण चाहिन्छ । महतले प्रस्तावित संयन्त्रमार्फत मुख्यतः तीनवटा विषय समाधान गर्नुपर्ने आवश्यकता औँल्याए । उनका अनुसार पहिलो, १५ औँ महाधिवेशनको निष्पक्षता र पारदर्शितासँग सम्बन्धित विषय सुनिश्चित गर्नु हो । दोस्रो, लामो समयदेखि विवादित रहेको क्रियाशील सदस्यता व्यवस्थापन गरेर टुंग्याउनु र तेस्रो, विधान संशोधनसम्बन्धी विषयमा सहमति कायम गर्नु रहेको छ । महतका अनुसार क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामा देखिएको अन्योल अन्त्य गर्न पनि दुवै पक्षबीच संवाद आवश्यक छ । उनले केन्द्रले जिल्लास्तरबाट विवरण संकलन गरी डिजिटल रूपमा अद्यावधिक गर्न सक्ने विकल्पसमेत प्रस्तुत गरे । नेता महतले पार्टीभित्र संवादको अभावले असमझदारी बढेको भन्दै तत्काल बृहत एकताको प्रयास आवश्यक रहेको दोहोर्याए । साथै विभिन्न विवाद र अन्यौलका कारण केही नेता तथा कार्यकर्ता पार्टी छोड्ने अवस्थामा पुगेको महतको दाबी छ । महतले पार्टी एकताकै पक्षमा आफूहरू रहेको स्पष्ट पार्दै सबै पक्षलाई सहमति र सहकार्यमार्फत १५ औं महाधिवेशनलाई सर्वस्वीकार्य बनाउने वातावरण निर्माण गर्न आग्रह पनि गरे ।
सुनको मूल्य आज ५ हजारले घट्यो
काठमाडौं । पछिल्लो केही दिनदेखि नेपाली बजारमा सुनको मूल्य घटिरहेको छ । सुनको मूल्य आज (बिहीबार) पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ हजार १ सय रुपैयाँले घटेको हो । ५ हजार १ सय रुपैयाँ घटेसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिनपनि सुनको मूल्य १० हजार १ सय रुपैयाँले घटेको थियो । उक्त दिन १ तोला सुनको मूल्य २ लाख ९१ हजार ८ सय रुपैयाँमा झरेको थियो । यसैगरी, चाँदीको मूल्य पनि आज ९० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
इप्पानको उपाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको उम्मेदवारी घोषणा
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को उपाध्यक्ष पदमा युवा उर्जा उद्यमी नरेन्द्र बल्लभ पन्तले उम्मेदवारी घोषणा गरेका छन् । इप्पानको आगामी जेठ २९ गते हुने वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गर्नेछ । ऊर्जा तथा निर्माण व्यवसायी पन्तले वरिष्ठ उपाध्यक्ष प्रत्यासी उत्तम भ्योल लामाको प्यानलबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । इप्पानको वर्तमान कार्यसमितिको कोषाध्यक्ष समेत रहेका पन्तको यस कार्यकालको चर्चा उर्जा क्षेत्रमा लोभलाग्दो रहेको छ । विशेष गरी जलविद्युत कम्पनीहरूलाई संगठित गरी इप्पानलाई नीतिगत र आर्थिक रुपमा अब्बल बनाउन पन्तको भूमिका ठूला रहेको उर्जा व्यवसायीहरू बताउँछन् । उपाध्यक्षको प्रत्यासी पन्त २२.५ मेगावाट क्षमताको ठूलो खोला हाइड्रोपावर लिमिटेडका अध्यक्ष समेत हुन् । पन्तको नेतृत्वले १० मेगावाट क्षमताको युनाइटेड मोदी हाइड्रो पावर लिमिटेड, ८ मेगावाट क्षमताको टक्सार पिखुवाखोला हाइड्रो पावर र ५० मेगावाट युनाइटेड मेवा हाइड्रो लिमिटेडको आयोजन निर्माण सम्पन्न गरी विद्युत उत्पादन गरिरहेको छ भने ६ सय भन्दा बढी मेगावाट क्षमताको विभिन्न आयोजनमा लगानी रहेको छ । नेपाल चेम्बर अफ कमर्सका कार्यसमिती सदस्य पन्त चेम्बरको उर्जा समितिका सभापति पनि हुन् । पन्त निर्माण व्यवसाय, जलविद्युत, इन्भेष्टमेन्ट कम्पनीहरूमा लगानी रहेको देव ग्रुपका अध्यक्ष पनि हुन् । उर्जा युवा उद्येमी पन्त जलविद्युत आयोजनाको निर्माणका क्षेत्रमा आफूलाई अब्बल रूपमा स्थापित गरिसकेका छन् । २० वर्ष लामो क्षेत्रगत अनुभवका कारण आफू इप्पानको उपाध्यक्षमा बलियो दाबेदार रहेको उनले बताए । आफू उपाध्यक्ष पदको लागि योग्य भएकाले जलविद्युत उर्जा उद्येमीहरूले सहयोग गर्नेमा पन्त ढुक्क छन् । जलविद्युत क्षेत्रमा उत्पादकहरूले भोग्दै आएको समस्याको समाधान गर्ने योजना पन्तसँग छ । आगामी दिनमा उर्जा क्षेत्रले मात्रै देशको विकास गर्ने उनको दावी छ ।
देशबन्धु बस्नेतको तेस्रो प्रोजेक्ट, ४ हजार क्षमताको कन्भेन्सन सेन्टरसहित रिसोर्ट बन्ने
काठमाडौं । सुनसरीको इटहरीमा ४ हजार जनासम्म अटाउने क्षमताको अन्तर्राष्ट्रिय स्तरको रिसोर्ट तथा कन्भेन्सन सेन्टर निर्माण हुने भएको छ । एबी हस्पिटालिटी (विन्डम रिसोर्ट एण्ड कन्भेन्सन सेन्टर) नामक उक्त परियोजनालाई पूर्वी नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा महत्वपूर्ण पूर्वाधारका रूपमा लिइएको छ । परियोजनाको वित्तीय व्यवस्थापन एभरेष्ट बैंकको नेतृत्वमा हुनेछ भने मुक्तिनाथ विकास बैंकको सहकार्य रहनेछ । एबी इन्भेष्टमेन्ट होल्डिङका अध्यक्ष देशबन्धु बस्नेत (अजित) ले परियोजनाको नेतृत्व गर्नेछन् । होटल व्यवसायमा अन्तर्राष्ट्रिय ब्रान्ड भित्र्याउने क्रममा बस्नेतले यसअघि काठमाडौंमा ‘मर्क्यौर’ र इटहरीमा ‘रमाडा बाइ विन्डम’ सञ्चालनमा ल्याइसकेका छन् । यो परियोजना उनको तेस्रो अन्तर्राष्ट्रिय स्तरको होटल तथा आतिथ्य परियोजना हो । परियोजना सम्पन्न भएपछि इटहरीलाई वेडिङ डेस्टिनेशन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन, प्रदर्शनी तथा व्यावसायिक कार्यक्रमहरूको प्रमुख केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । यसले पूर्वी नेपालका इलाम, कञ्चनजङ्घा, चतरा धाम, बराहक्षेत्र, कोशी टापु र भेडेटारजस्ता पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ । परियोजनाले विराटनगर-इटहरी-धरान आर्थिक तथा पर्यटन करिडोरलाई थप सुदृढ गर्दै क्षेत्रीय आर्थिक गतिविधि विस्तार गर्ने विश्वास लिइएको छ । साथै, भारत, भुटान र बंगलादेशबाट आउने पर्यटक तथा व्यावसायिक आगमनलाई समेत यसले थप प्रोत्साहन गर्ने बताइएको छ । परियोजनाका परिकल्पनाकार तथा व्यवस्थापक प्रभात कार्कीका अनुसार, यो कन्भेन्सन सेन्टर केवल होटल संरचना मात्र नभई पूर्वी नेपालको पर्यटन, रोजगारी सिर्जना र निजी क्षेत्रको लगानी विस्तारमा दीर्घकालीन योगदान दिने आधारभूत परियोजना हुनेछ । परियोजना सञ्चालनमा आएपछि हजारौं प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना हुने, स्थानीय उत्पादनको खपत बढ्ने र क्षेत्रीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
नेपालमा लागुऔषध दुव्र्यसन बढ्दो, १९ देखि ४५ वर्ष उमेर समूह सबैभन्दा प्रभावित
काठमाडौं । नेपालमा लागुऔषधको दुव्र्यसन र कारोबार जटिल बन्दै गएको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरोले सीमित स्रोतसाधनका बाबजुद आफ्नो सक्रियता बढाएको छ । पछिल्लो सर्वेक्षणअनुसार नेपालमा लागुऔषध दुव्र्यसनीको संख्यामा वृद्धि भइरहेको छ । विशेष गरी १९ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिहरू यसको चपेटामा बढी परेका छन् । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कारागारहरूमा समेत लागुऔषध सम्बन्धी मुद्दाका कैदीबन्दीको चाप उच्च रहेको बताए । बिहीबार बिहान सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले तराईदेखि हिमालसम्म नै यो समस्या फैलिएको बताए । आर्थिक वर्ष २०८०/८१ मा ब्युरोले ८१४ वटा मुद्दा दर्ता गरेको थियो भने आर्थिक वर्ष २०८१/८२ मा यो संख्या बढेर १,१३२ पुगेको थियो । चालु आर्थिक वर्षमा हालसम्म ८३७ वटा मुद्दा दर्ता भएका छन् । पक्राउ पर्नेमा नेपाली नागरिकको संख्या केही घटेको देखिए पनि विदेशी नागरिकहरूको संलग्नता भने बढ्दो छ । गत वर्ष १७७ जना विदेशी नागरिक पक्राउ परेकोमा यस वर्ष १६० पुरुष र १४ महिला गरी कुल १७४ जना पक्राउ परिसकेका छन् । ब्युरोले गाँजा, चरेस, हेरोइन, ओपियम र महँगो मानिने कोकिनसमेत ठूलो परिमाणमा बरामद गर्दै आएको छ । दक्षिण अमेरिकी मुलुकबाट नेपाल हुँदै अन्यत्र लैजाने गरिएको कोकिन नियन्त्रणमा प्रहरीले विशेष सफलता प्राप्त गरेको छ । हालै मात्र पेटभित्र लुकाएर लागुऔषध ल्याउने एक सेनेगाली नागरिकलाई पक्राउ गरी ६० वटा ट्याब्लेट बरामद गरिएको र थप ५६ हजार २०० ट्याब्लेट अन्य लागुऔषधसमेत बरामद भएको जानकारी दिएको छ । हाल गाँजा र चरेससँगै सेमि–सिन्थेटिक ड्रग्स (एम्पुल, नाइट्रोजन, कोरेक्स, एमडीएमए, एलएसडी) को प्रयोग पनि बढेको पाइएको महानिरीक्षक कार्कीले बताए । ब्युरोको वर्तमान अवस्था, चुनौती र भावी कार्यदिशाबारे जानकारी दिँदै उनले नियन्त्रणका लागि एकीकृत प्रयास आवश्यक रहेको बताए । वि.सं. २०४९ सालमा ‘लागुऔषध कानुन कार्यान्वयन एकाइ’ का रूपमा स्थापना भएको यो ब्युरो हाल देशभर १५ वटा युनिटमार्फत क्रियाशील छ। काठमाडौंमा मुख्य कार्यालय रहेको ब्युरोका शाखाहरू मोरङ, सुनसरी, चितवन, पोखरा, भैरहवा, बाँके र कैलालीलगायतका सीमावर्ती क्षेत्रमा विस्तारित छन् । ब्युरोमा ७८ जनाको मात्र दरबन्दी भए पनि कार्यचाप र आवश्यकतालाई मध्यनजर गर्दै हाल २१५ जना जनशक्ति परिचालन गरिएको महानिरीक्षक कार्कीले जानकारी दिए । स्थापनाको तीन दशक बितिसक्दा पनि ब्युरोको आफ्नै भवन नहुँदा वार्षिक लाखौँ रुपैयाँ भाडामा खर्च भइरहेको छ । महानिरीक्षक कार्कीका अनुसार ब्युरोले बजेट र प्रविधिको गम्भीर अभाव झेलिरहेको छ । अपरेसन र सूचना सङ्कलनका लागि विनियोजित ५/५ लाख रुपैयाँ अत्यन्त न्यून रहेको उनले गुनासो गरे । यस्तै, लागुपदार्थ सेवन (लापसे) जाँच गर्ने उपकरण (ब्रेथलाइजरजस्तै), एक्स–रे मेसिन र दक्ष प्राविधिक जनशक्तिको अभावले गर्दा अनुसन्धानमा कठिनाइ भइरहेको छ । पक्राउ परेका घाइते वा बिरामी अभियुक्तको उपचार खर्चसमेत प्रहरीले नै व्यहोर्नुपर्ने बाध्यता रहेको छ । ब्युरोले आगामी तीन वर्ष (२०८३–२०८६) का लागि विशेष कार्ययोजना तर्जुमा गरेको छ । यस अन्तर्गत ‘इन्टिग्रेटेड नार्कोटिक इन्टेलिजेन्स म्यानेजमेन्ट सिस्टम’ लागू गर्ने लक्ष्य राखिएको छ, जसमा गृह मन्त्रालय, अध्यागमन, भन्सार र नेपाल प्रहरीबीच समन्वय हुनेछ । साथै, ७७ वटै जिल्लामा वस्तुगत सर्वेक्षण गरी पकेट क्षेत्रहरू पहिचान गर्ने र ‘इन्टेलिजेन्स–लेड पोलिसिङ’ मार्फत नियन्त्रण अभियान चलाउने योजना रहेको छ । ब्युरोले लागुऔषध अपराधलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग जोडेरसमेत अनुसन्धान प्रक्रिया अगाडि बढाएको उनले बताए । जसले मुलुकलाई वित्तीय अपराधको ‘ग्रे लिस्ट’ बाट बाहिर राख्नसमेत मद्दत पुग्ने विश्वास लिइएको महानिरीक्षक कार्कीको भनाइ छ ।
माडीमा जडीबुटी उद्यान बनाईदै
चितवन । चितवनको माडी नगरपालिकामा जडीबुटी पार्क (उद्यान) बनाउन थालिएको छ । डिभिजन वन कार्यालय चितवनको सहयोगमा माडी–७ मा पार्क निर्माण गर्न लागिएको हो । कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार पार्कमा ३०० जडीबुटीका बिरुवा रोपिने छ । पार्कमा मौवा, तेजपत्ता, अमला, बेलजस्ता जडीबुटी प्रकृतिका बिरुवा रोपिने छ । तीनदेखि पाँच मिटरको फरकमा बिरुवा रोप्ने गरी सम्झौता भई काम सुरु गरिएको उनले जानकारी दिए । उनले भने, 'जडीबुटी पार्कबाट उत्पादित जडीबुटीले आयुर्वेदिक औषधि निर्माणमा सहयोग पुग्ने छ ।' यसका लागि कार्यालयले रु दुई लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए । उनका अनुसार माडी नगरपालिका–७ मा रहेको रेवा मध्यवर्ती उपभोक्ता समितिले पार्क निर्माण गर्ने छ । बाँसबाट बनेको बारले बिरुवाको संरक्षण गरी पार्क निर्माण गर्न लागिएको हो ।