२५ अर्बको मालवस्तु आयात, साढे ८ अर्ब रुपैयाँ राजस्व सङ्कलन
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट २५ अर्ब ३ करोड ६६ लाख रुपैयाँ बराबरका मालवस्तु आयात भएका छन् । गत आव २०८१/८२ को सोही अवधिको तुलनामा १ अर्ब ९३ करोड ७८ लाख रुपैयाँ अर्थात् ८.३९ प्रतिशतले आयात बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वर कुमार हुमागाईंले जानकारी दिए । उनका अनुसार गत आवको पहिलो ६ महिनामा २३ अर्ब ९ करोड ८८ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको थियो । चालु आवको पहिलो ६ महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । उक्त अवधिमा १३ अर्ब ६७ करोड ३७ लाख रुपैयाँ बराबरको सामान विभिन्न मुलुक निर्यात भएको थियो । गत आवको सोही अवधिमा १३ अर्ब ८४ करोड ४ लाख रुपैयाँको वस्तु तथा सामान निर्यात भएको थियो । यो नाकाबाट हुने निर्यात १.२० प्रतिशतले घटेको कार्यालयका सूचना अधिकारी हुमागाईंले बताए । पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैंची, चिया, प्लाइउड, भेनिउर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, काउली, बन्दागोपी, ब्रोकाउली, जडीबुटीलगायत रहेका छन् भने आयात हुने मुख्य मालवस्तुमा पेट्रोलियम पदार्थ, तयारी कपडा, तरकारी, यातायातका साधन र तिनका पाटपुर्जा, तरकारी, सिमेन्ट क्लिङ्कर, शृङ्गारका सामान, कफी, प्लास्टिकका कच्चा पदार्थ, अलकत्रा बिटुमिनलगायत रहेका छन् । कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पुस मसान्तसम्ममा आयात निर्यातबाट ८ अर्ब ४० करोड ९१ लाख ९६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
उम्मेदवारी दर्ता गर्दा बैंक खाता र सेयर विवरण पनि भर्नुपर्ने, १० हजार रुपैयाँ धरौटी
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार मनोनयन दर्ताका लागि प्रत्यक्षतर्फ नागरिकताको प्रमाणपत्र अनिवार्य कागजातका रूपमा रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्धारण गरेको कार्यसूचीअनुसार आज देशभर उम्मेदवारको मनोनयन हुँदैछ । नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रहेको छ । यस्तै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी छ । उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा पनि आवश्यक पर्दछ । सम्बन्धित अनुसूची बमोजिमका प्रतिनिधि मुकरर गरेको फाराम पनि आवश्यक पर्नेछ । प्रचलित कानुनबमोजिम योग्यता पुगेको व्यक्तिले मनोनयन पत्र दर्ता गर्दा वा गराउँदा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका एक जना प्रस्तावक र अर्को एक जना समर्थक भई विवरण भरी सहीछाप गरेको मनोनयन पत्र आवश्यक पर्नेछ । दलको तर्फबाट उम्मेदवारी दिएको भए उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको पदाधिकारीले प्रदान गरेको प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोनयनको औपचारिक पत्र आवश्यक पर्नेछ । यस्तै, एकल चुनाव चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी दलहरूको हकमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र पनि उपलब्ध गराउनुपर्नेछ । प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारका लागि १० हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर पनि आवश्यक पर्नेछ । महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ । आर्थिक विपन्न भएकाको हकमा सम्बन्धित स्थानीय तहले आर्थिक रूपमा विपन्न भनी सिफारिस गरेको पत्र पनि जरुरी पर्ने आयोगले जनाएको छ । उम्मेदवार हुने व्यक्तिले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ बमोजिमको स्व घोषणा पत्र पनि उपलब्ध गराउनुपर्नेछ । यस्तै, आफ्नो चल, अचल सम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र सेयर, ऋणपत्र, कसैलाई ऋण दिएको वा लिएको भए त्यसको सम्पूर्ण विवरण उल्लेख गरी सिलबन्दी रूपमा पेस गरेको सम्पत्ति विवरण पनि उपलब्ध गराउनुपर्नेछ । वैयक्तिक विवरण फाराम भर्नुपर्नेछ । उम्मेदवार हुने व्यक्तिले आफू निर्वाचित, मनोनीत वा नियुक्त भएको निकायबाट कुनै पनि प्रकारको पेस्की लिएको भए सो पेस्की फर्छ्यौट भएको ब्यहोराको निस्सा पनि उपलब्ध गराउनुपर्नेछ । लेखा परीक्षणबाट कुनै पनि उम्मेदवारका नाममा किटानी साथ असुल उपर गर्नुपर्ने भनी कायम भएको बेरुजू भए सो बेरुजू फर्छ्यौट गरेको निस्सा पनि जरुरी पर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
फागुन २१ गते हुने निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदै
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको हो । आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारहरूलाई आग्रह गरेको छ । आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारलाई उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरेको छ । भीडभाड कम गराउने र उम्मेदवारी दर्ता सहज बनाउने उद्देश्यले समय निर्धारण गरिएको आयोगले प्रष्ट पारेको छ । आयोगले यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना चयन हुनेछन् भने प्रत्यक्ष प्रणालीमार्फत १६५ निर्वाचित हुने व्यवस्था छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि निर्वाचन प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराएको छ । निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोटको प्रक्रिया सुरु गरिसकेको छ । अधिकांश राजनीतिक दलले उम्मेदवार छनोट गरिसकेका छन् भने छनोट गर्न बाँकी भएकाले पनि आज बिहानसम्म सबै सक्ने छन् । नेपाली कांग्रेसले केही क्षेत्रका उम्मेदवार छनोटको प्रक्रियामा रहेको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गरिसकेको जनाएको छ । एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले उम्मेदवार छनोट गरी उम्मेदवारलाई आधिकारिक पत्र प्रदान गरिसकेका छन् । आयोगले निर्धारण गरेको कार्यसूची अनुसार आज देशभर उम्मेदवारको मनोनयन हुँदैछ । उम्मेदवारले मनोनयनका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा लिएर उपस्थित हुनुपर्नेछ । त्यस्तै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी पनि छ । आयोगले अन्य केही कागजातसमेत लिएर आउन आग्रह गरेको छ । आयोगले आवश्यक सबै तयारी पूरा भएको जनाएको छ । आज उत्साहपूर्वक रूपमा देशभर उम्मेदवार मनोनयनको कार्यक्रम अगाडि बढ्ने विश्वास व्यक्त गरेको छ । विसं २०७९ मा भएको प्रतिनिधिसभा गत भदौको आन्दोलनका कारण विघटन भएपछि नयाँ निर्वाचन हुन लागेको हो ।
यातायातविज्ञ आशीष गजुरेललाई रास्वपाले सिन्धुली–२ बाट उठायो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सिन्धुली–२ मा यातायात पूर्वाधारविज्ञ आशीष गजुरेललाई उम्मेदवार बनाएको छ । यातायात तथा पूर्वाधार क्षेत्रका अनुभवी गजुरेल नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । रास्वपाबाट उम्मेदवार बनेसँगै उनले उक्त पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन् । गजुरेलले उम्मेदवारीबारे बोल्दै बाहिर बसेर सामाजिक सञ्जालमा वा मिडियामा आवाज उठाएर मात्र यातायात क्षेत्रमा ठोस सुधार नआउने निष्कर्षमा पुगेपछि आफै राजनीतिमा आएको बताए । ‘बाहिरबाट कराएर भएन, भित्रबाटै गएर सुधारमा लाग्नुपर्यो भन्ने सोचले अघि बढेको हुँ,’ उनले भने, ‘यो क्षेत्रलाई गाइड गर्ने भनेको नीतिले हो र नीतिलाई गाइड गर्ने राजनीतिले हो।’ यातायात पूर्वाधारलाई आफ्नो मुख्य विज्ञता र पढेको क्षेत्र बताउँदै उनले यसको दिगो विकासका लागि राजनीति नै निर्णायक हुने बताए । उनले भने, ‘आफ्नो पेशागत कर्मलाई विश्राम दिएको होइन, बरु त्यही कर्मलाई सार्थक बनाउन राजनीतिको मैदानमा आएको हुँ । मेरो मुख्य एजेन्डा नै नितान्त यातायात क्षेत्रको सुधार हो ।’ गजुरेलले लामो समयदेखि देशको यातायात प्रणाली सुधार, पूर्वाधार विकास र सुरक्षित तथा दिगो यातायातको पक्षमा सक्रिय अभियान सञ्चालन गर्दै आएका छन् । नीति निर्माणदेखि कार्यान्वयन तहसम्मको अनुभव बोकेका उनलाई यातायात क्षेत्रको सुधार अभियन्ताका रूपमा चिनिन्छ । सिन्धुली–२ गजुरेलको गृहक्षेत्र समेत भएकाले स्थानीय समस्या, सम्भावना र आवश्यकताबारे उनी राम्रो जानकार छन् । विकास र सुशासनलाई प्राथमिकतामा राख्दै संसदमा नयाँ सोच र प्राविधिक दृष्टिकोण भित्र्याउने लक्ष्यका साथ रास्वपाले उनलाई उम्मेदवार बनाएको हो ।
सञ्चारमन्त्री खरेलले दिए राजीनामा, प्रधानमन्त्रीले के भनिन् ?
काठमाडौं । सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष सोमबार साँझ राजीनामा दिएका हुन् । प्रधानमन्त्री कार्कीले उनलाई अहिलेसम्मको योगदान र सहयोगका लागि धन्यवाद व्यक्त गरेकी छन् । सरकारका प्रवक्ता समेत रहेका खरेलले केही बेरमा पत्रकार सम्मेलन गर्दैछन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नका लागि उनले राजीनामा दिन लागेको बुझिएको छ । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ललितपुर–२ को उम्मेदवार बन्ने तयारीमा रहेको बुझिएको छ । त्यसैले पनि रास्वपाले सो क्षेत्रमा कसैलाई पनि टिकट दिएको छैन । आइतबार साँझ मात्रै खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएर रास्वपामा लागिसकेका छन् ।
अष्ट्रेलियामा अर्बपतिहरूको सम्पत्तिमा वृद्धि : प्रतिवेदन
काठमाडौं । अष्ट्रेलियाका ४८ अर्बपतिहरूको कुल सम्पत्ति देशको ४० प्रतिशत जनसङ्ख्या भन्दा बढी रहेको छ, जसले करिब ११ लाख मानिसको जीवनभरको खर्च बराबर हुने देखाइएको अन्तर्राष्ट्रिय परोपकारी संस्था अक्सफ्यामको प्रतिवेदनले जनाएको छ । त्यहीबीच, साधारण नागरिक दैनिक जीवनको खर्च, घर भाडा र महँगाईको समस्यासँग जुधिरहेका छन् । अष्ट्रेलियामा करिब तीन लाख ७० हजार मानिस गरिबीको सिमानामा रहेका छन्, जसमा १५ वर्षमुनिका करिब ७५ हजार बालबालिकापनि पर्छन् । प्रतिवेदनले हरेक तीनमध्ये एक घरपरिवारले विगत वर्ष खाना सङ्कटको सामना गरेको देखाएको छ । यस प्रतिवेदनले देशमा आम्दानी असमानता बढिरहेको र साधारण जनताको जीवनयापन चुनौतीपूर्ण भइरहेको तथ्यलाई स्पष्ट गरेको छ ।
मधेश पुगेर रास्वपाको उद्घोष : करोड पर्यटक उतार्नेदेखि मधेशको छोरा प्रधानमन्त्री बनाउनेसम्म
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनकपुरधाममा आयोजना गरेको परिवर्तन उद्घोष सभा मार्फत मधेश केन्द्रित राजनीतिक रणनीति सार्वजनिक गरेको छ । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजित सभामा पार्टीका शीर्ष नेताहरूले पूरानो राजनीतिक संरचनाप्रति तीव्र आलोचना गर्दै आफूहरूलाई नयाँ राजनीतिक विकल्पका रूपमा प्रस्तुत गरेका छन् । जनकपुरधाम–४ स्थित तिरहुतिया गाछीमा सम्पन्न सभालाई रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेन लगायत शीर्ष नेताहरुले सम्बोधन गरेका थिए । सभामा हजारौं समर्थक तथा कार्यकर्ताको सहभागिता रहेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । सभालाई सम्बोधन गर्दै पार्टीका सभापति रवि लामिछानेले पुरानो राजनीतिप्रति प्रश्न र नयाँ विकल्पको दाबी गरेका छन् । सभापति लामिछानेले मधेशको माटोबाट परिवर्तनको आवाज उठाउन जनकपुरधाम रोजिएको उल्लेख गर्दै मुलुकको राजनीतिमा दोहोरिँदै आएको असफल अभ्यासको अन्त्य आवश्यक भएको बताए । उनले भने, ‘देशले वर्षौसम्म उही अनुहार र उही शैलीको राजनीति भोगिसक्यो । अब परिणाम दिने राजनीति चाहिएको छ, नारा मात्रै होइन ।’ लामिछानेले रास्वपाले जात, क्षेत्र वा समूहभन्दा माथि उठेर सुशासन, जवाफदेहिता र अवसरको समान पहुँचलाई मूल एजेन्डा बनाएको दाबी गरे । मधेशका समस्या राष्ट्रिय मुद्दा भएको उल्लेख गर्दै उनले अब मधेशलाई केवल चुनावी भाषणको विषय होइन, नीति निर्माणको केन्द्रमा राखिने बताए । उनले मधेशको छोरा बालेनलाई प्रधानमन्त्री बनाउन मधेशको ठूलो सहयोगको अपेक्षा रहने विश्वास व्यक्त गरे । सभामा पार्टीको तर्फबाट प्रस्तावित प्रधानमन्त्रीका उमेदवार तथा रास्वपाका वरिष्ठ नेता बालेन शाहले संयम, सुशासन र कार्यमुखी राजनीतिमा जोड दिए । सभालाई सम्बोधन गर्दै शाहले समर्थकहरूलाई संयमित रहन आग्रह गर्दै भावनाभन्दा परिणाममुखी राजनीतिमा लाग्न आह्वान गरे । उनले भाषणभन्दा पनि काममा जोड दिने गरेको व्यवहार प्रस्तुत गरे । काठमाडौं महानगरपालिकाको अनुभव सुनाउँदै बालेनले स्थानीय तहमा देखिएको सुशासनको अभ्यास अब संघीय राजनीतिमा पनि सम्भव रहेको दाबी गरे । उनले मधेशका युवालाई राजनीति हेर्ने होइन, बदल्ने भूमिकामा आउन समेत आग्रह गरे । यस्तै, उनले अहिले देशमै १० लाख पर्यटक आउने गरेको उदाहरण दिँदै अब जनकपुरमै वार्षिक एक करोड पर्यटक आउने वातावरण सिर्जना हुने धारणा राखे । रास्वपाले यस सभालाई मधेश प्रदेशमा पार्टी संगठन विस्तारको औपचारिक सुरुवातको रूपमा लिएको छ । पार्टी नेताहरूका अनुसार जनकपुरधाममा भएको सभा केवल शक्ति प्रदर्शन नभई स्थानीय तहसम्म संगठन निर्माण, सदस्यता विस्तार र आगामी निर्वाचनको आधार तयार गर्ने उद्देश्यसहित आयोजना गरिएको हो । सभामा उपसभापति डोल प्रसाद अर्याल, डा. स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, नेतृ सोबिता गौतम लगायत अन्य नेताहरूले पनि सम्बोधन गर्दै मधेशका आर्थिक, सामाजिक र प्रशासनिक समस्या समाधानमा रास्वपाको भूमिका रहने बताएका थिए । धनुषाबाट पार्टीको प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका झाले परम्परागत दलहरूको बलियो पकड रहेको मधेश क्षेत्रमा रास्वपाको यो सभा आगामी निर्वाचनको सन्दर्भमा महत्वपूर्ण मानिएको बताए । झाका अनुसार जनकपुरधामबाट परिवर्तनको उद्घोष गर्नु पार्टीको रणनीतिक कदम हो । उनले आफू पनि उम्मेद्वार रहेकोले मधेशमा रंगशाला निर्माण, जनकपुर धामलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने तथा मधेशको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने प्रतिवद्धता गरे । रास्वपाले आगामी दिनमा मधेशका अन्य जिल्लामा पनि यस्तै कार्यक्रम गर्ने तयारी गरेको जनाएको छ।
सञ्चारमन्त्री खरेल पनि राजीनामा दिँदै, रास्वपाबाट चुनाव लड्ने
काठमाडौं । सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । सरकारका प्रवक्ता समेत रहेका उनले पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिन लागेका हुन् । उनले सोमबार साढे ५ बजे पत्रकार सम्मेलनको आयोजना गरेर राजीनामा दिन लागेका हुन् । फागनु २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वार बन्नका लागि उनले राजीनामा दिन लागेको बुझिएको छ । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ललितपुर-२ को उम्मेदवार बन्ने तयारीमा रहेको बुझिएको छ । त्यसैले पनि रास्वपाले सो क्षेत्रमा कसैलाई पनि टिकट दिएको छैन । आइतबार साँझ मात्रै खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएर रास्वपामा लागिसकेका छन् ।