विकासन्युज

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

काठमाडौं । आराध्यदेव पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका लागि भारतीय गृहमन्त्री अमित साहले ४० किलो चन्दन अर्पण गरेका छन् । भारतीय गृहमन्त्रीले पठाएको चन्दन प्रतिनिधिसभा सदस्य सन्दीप रानाको संयोजनमा पशुपतिनाथका मूल अर्चक गणेश भट्टलाई हस्तान्तरण गरिएको हो ।   भारतबाट पशुपतिनाथको शिरमा श्रीयन्त्र पूजा गर्न प्रत्येक वर्ष विशेष प्रकारको चन्दन अर्पण हुने गरेको छ । गतवर्ष गोआका मन्त्रीले पशुपतिनाथलाई ३५ किलो चन्दन अर्पण गरेका थिए ।      पशुपतिनाथका मूल अर्चकले बुझ्नुभएको चन्दन आजै गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख सुशीला शर्मालाई भण्डारणका लागि जिम्मा लगाएका छन् । नेपाल र भारतका जनता जनताबीचको धार्मिक एवं सांस्कृतिक सम्बन्धका कारण भारतमा हुने विशेष प्रकारको चन्दन प्रत्येक वर्ष आराध्यदेव भगवान् श्री पशुपतिनाथलाई प्राप्त हुने गरेको छ ।     

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र पोखराको लेकसाइडस्थित डालिया होटेलबीच ग्राहक तथा कर्मचारीलाई सहुलियत दिने उद्देश्यले सम्झौता भएको छ । बैशाख २४ गते सम्पन्न उक्त सम्झौताअनुसार नेपाल बैंकमा खाता भएका ग्राहक तथा बैंकका कर्मचारीहरूले डालिया होटेलद्वारा प्रदान गरिने विभिन्न सेवामा १० प्रतिशतदेखि ३५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी तथा होटलका तर्फबाट बिक्री निर्देशक सिता रायमाझीले हस्ताक्षर गरेका छन् । यस सम्झौताबाट बैंकका ग्राहक तथा कर्मचारीहरू सहुलियतपूर्ण सेवाबाट लाभान्वित हुने अपेक्षा गरिएको छ । नेपाल बैंक लिमिटेडले हाल देशभर २३१ शाखा, २४६ एटीएम र ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । आधुनिक प्रविधि र युवा जनशक्तिमार्फत गुणस्तरीय सेवा दिँदै बैंक प्रतिस्पर्धात्मक रूपमा अगाडि बढिरहेको जनाएको छ । यसैबीच, नेपाल बैंक लिमिटेड र नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ स्थित कोटबारी होटेल प्रा.लि. बीच पनि छुट सम्बन्धी सम्झौता भएको छ । भदौ ११ गते सम्पन्न उक्त सम्झौताअनुसार बैंकका कर्मचारी, उनका परिवारका सदस्य तथा बैंकका ग्राहकहरूले कोटबारी होटेलका विभिन्न सेवामा १० प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट पाउनेछन्  । सम्झौतामा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र होटलका तर्फबाट महाप्रबन्धक आनन्द सिंह ठकुरीले हस्ताक्षर गरेका छन् । 

१२ अंकले घट्यो नेप्से, ३ अर्बको कारोबार

काठमाडौं । बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२ अंकले घटेर २७४२ बिन्दुमा झरेको हो ।  नेप्सेका अनुसार ७२ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३४८ कम्पनीको ८७ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युत कम्पनीको भएको छ । आँखु खोलाको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, रिडि पावरको १४ करोड, एनआरएन इन्फाइस्ट्रक्चरको १३ करोड, फस्ट माइक्रो फाइनान्सको ११ करोड ७१ लाख र बुंगल हाइड्रोको ११ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । आज अप्पर लोहर खोलाको सेयर मूल्य १४.९५ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।  

१५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएको भन्दै प्रतिपक्षी दलहरुले सदन अवरुद्ध गरेका हुन् ।

विद्युत् नियमन आयोगका पदाधिकारी नियुक्तिका लागि आवेदन आह्वान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ ।  मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै आयोगका एक अध्यक्ष र चार सदस्य पदका लागि योग्य तथा इच्छुक व्यक्तिबाट आवेदन माग गरेको हो । चार सदस्यमध्ये एक पद महिलाका लागि सुनिश्चित गरिएको मन्त्रालयले जनाएको छ । विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा ५ अनुसार नियुक्ति प्रक्रिया अघि बढाइएको मन्त्रालयले उल्लेख गरेको छ ।  इच्छुक उम्मेदवारले ऐनमा तोकिएको न्यूनतम शैक्षिक योग्यता तथा अनुभव पूरा गरेको हुनुपर्नेछ । आवेदन दिन इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र मन्त्रालयअन्तर्गत रहेको विकास सहायता तथा प्राविधिक समन्वय महाशाखामा निवेदन बुझाउनुपर्नेछ ।  यसअघि आयोगका अध्यक्षसहित चार सदस्य ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ अनुसार स्वतः पदमुक्त भएपछि आयोग नेतृत्वविहीन बनेको थियो । त्यसपछि सरकारले नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाएको हो । यसका लागि मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रीस्तरीय निर्णयमार्फत तीन सदस्यीय सिफारिस समिति गठन गरेका छन् । मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठित समितिमा सहसचिव सागरराज गौतम र ऊर्जा विज्ञ सतिषनारायण जोशी सदस्य रहेका छन् । मन्त्री श्रेष्ठले आयोगको भूमिका महसुल निर्धारण, उपभोक्ता संरक्षण, सेवा प्रदायकको दिगोपन र दीर्घकालीन लगानी प्रवद्र्धनसँग प्रत्यक्ष जोडिएको बताए ।  कर्णालीका ग्रामीण भान्सादेखि तराईका औद्योगिक क्षेत्र तथा अन्तरदेशीय विद्युत् व्यापार सम्मलाई समेट्ने गरी ऊर्जा बजारको संरचना निर्माण गर्न सक्षम नेतृत्व आवश्यक रहेको उनको भनाइ छ । उनले सरकार आयोगको स्वतन्त्र भूमिका र कार्यादेशप्रति गम्भीर रहेको स्पष्ट पार्दै आयोगको विश्लेषण र सुझावले मन्त्रालयका नीतिगत निर्णयलाई मार्गदर्शन गर्ने बताए। सरकार उच्च क्षमता भएका व्यक्तिहरूको खोजीमा उल्लेख गर्दै मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई नजिकबाट बुझेको व्यक्ति प्रतिस्पर्धामा आउनुपर्ने पनि बताए ।

रुसमा मोटोपनाको समस्या तीव्र रूपमा बढ्दै

काठमाडौं । रुसमा मोटोपनाको समस्या तीव्र रूपमा बढ्दै गएको भन्दै स्वास्थ्य विज्ञहरूले यसलाई गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा औँल्याएका छन् । रुसी विज्ञान प्रतिष्ठानका शिक्षाविद् गेन्नादी ओनिश्चेन्कोका अनुसार मोटोपनाको दर बढ्ने गतिका आधारमा रुस विश्वका शीर्ष १० देशभित्र पर्न थालेको छ र निकट भविष्यमै अमेरिकासँग बराबरीमा पुग्न सक्ने अवस्था देखिएको छ । पछिल्लो तथ्यांकअनुसार मोटोपनाको संख्या धेरै भएका विश्वका शीर्ष ५० देशमध्ये पनि रुस समावेश रहेको उनले बताए । विशेषज्ञहरूका अनुसार रुसमा मोटोपना बढ्नुको मुख्य कारण अस्वस्थ खानपान र निष्क्रिय जीवनशैली हो । विशेषगरी फास्ट फुड, अत्यधिक चिनी र सेतो रोटीको बढ्दो प्रयोगले स्वास्थ्यमा नकारात्मक असर पारिरहेको उल्लेख गरिएको छ । ओनिश्चेन्कोले कालो रोटी तथा सम्पूर्ण अन्नबाट बनेका रोटी स्वास्थ्यका लागि बढी लाभदायक हुने बताउँदै यस्ता खाद्य पदार्थमा कार्बोहाइड्रेटसँगै रेसा र वनस्पतिजन्य प्रोटिन पाइने जानकारी दिए । रुसी स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय अन्तःस्रावी अनुसन्धान केन्द्रकी निर्देशक तथा शिक्षाविद् नतालिया मोक्रिशेभाले बालबालिकामा पनि मोटोपनाको समस्या बढ्दै गएको बताए । उनका अनुसार बालबालिका डिजिटल उपकरणको अत्यधिक प्रयोगका कारण शारीरिक रूपमा कम सक्रिय भइरहेका छन्, जसले ऊर्जा खर्च कम भई तौलसम्बन्धी समस्या निम्त्याइरहेको छ । स्वास्थ्य विज्ञहरूले स्वस्थ भोजन, नियमित व्यायाम र सक्रिय जीवनशैली अपनाउन आग्रह गरेका छन् । रासस 

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा पाँच लाख ७३ हजार ९७७ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । चालु आवको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्य गरी उक्त सङ्ख्यामा पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  दश महिनामा चार लाख २० हजार ८६ आन्तरिक र एक लाख ५३ हजार ८९१ जना बाह्य पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । आन्तरिकतर्फ दुई लाख १९ हजार ८१७ पुरुष र दुई लाख २६९ जना महिला पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसैगरी बाह्यतर्फ ९० हजार ९५७ पुरुष र बाँकी महिला पर्यटक मुस्ताङ भित्रिएका प्रहरी निरीक्षक बस्यालले उल्लेख गरे ।      म्याग्दी र मुस्ताङको सिमाना थासाङ गाउँपालिका-४ घाँसास्थित प्रहरी चेक पोस्टमा प्रविष्ट भएको प्रहरी तथ्याङ्कअनुसार सबैभन्दा कम साउनमा १९ हजार ७९१ र सबैभन्दा बढी वैशाख महिनामा एक लाख पाँच हजार ५०३ जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् ।      जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बस्यालका अनुसार चालु आवको साउनदेखि वैशाख महिनासम्म कोरला सडकको म्याग्दी हुँदै एक लाख ३१ हजार ६७२ वटा विभिन्न प्रकारका सवारीसाधन मुस्ताङ भित्रिएका छन् । वसन्त ऋतुको आगमनसँगै अनुकूल पर्यटकीय याम चैत र वैशाख महिनामा सबैभन्दा बढी पर्यटक भित्रिएका उनको भनाइ छ ।      यसैगरी हिउँदयाम अघिको असोजमा ७५ हजार ५९९ र कात्तिकमा ८३ हजार ७६६ आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको प्रहरी तथ्याङ्कले देखाएको छ । बर्खायामको सुरुवाती समयको अनुकूल याममा मुस्ताङ भ्रमण गर्नेको घुइँचो बढ्ने गरेको हो ।       अनुकूल यामको मौका छोपेर उल्लेख्य सङ्ख्यामा भारतीय पर्यटक र नेपाली पर्यटक मुक्तिनाथ मन्दिरको दर्शन गर्न आउने गरेका प्रहरी चेक पोस्टमा प्रविष्ट तथ्याङ्कले देखाएको छ । मुस्ताङ भित्रिएका बाह्य पर्यटकको सङ्ख्यामध्ये ८० प्रतिशत बढी भारतीय पर्यटक हुने गरेका प्रहरी निरीक्षक बस्यालको भनाइ छ ।      गत आर्थिक वर्षमा सात लाख पाँच हजार ७७९ जना पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । गतवर्ष भित्रिएका पर्यटकमध्ये पाँच लाख ५५ हजार ३२६ जना आन्तरिक र एक लाख ५० हजार ४५३ जना बाह्य रहेका प्रहरी निरीक्षक बस्यालले जानकारी दिए । चालु आवको भदौमा जेनजी युवाको आन्दोलन, अमेरिका(इजराइल र इरानबीचको मध्यपूर्वको द्वन्द्वका कारण मुस्ताङको पर्यटनमा आशिंक असर पुगेको उनको बुझाइ छ । बर्सेनि बढ्दो क्रममा पर्यटन आगमन रहेको छ ।      मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ मा अवस्थित पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्ने उद्देश्यले भारतीय र नेपाली पर्यटक मुस्ताङ आउने गर्दछन् । यसका साथै कागबेनीधाममा श्राद्ध र तर्पण गर्ने, कोरला नाका र लोमान्थाङको अवलोकन गर्ने उद्देश्यले मुस्ताङमा पर्यटकको उपस्थित हुने गरेको हो । यहाँको पृथक प्रकारको भूगोल, जैविक विविधता, प्राचीन कला संस्कृति, रहनसहन, हिमाली सौन्दर्यता र यहाँको विशेष प्रकारको मौलिकताका कारण मुस्ताङमा पर्यटकीय आकर्षण बढ्दै गएको सरोकार भएकाहरूले बताएका छन् । रासस  

कांग्रेसको प्रश्न- प्रधानमन्त्री शाह संसदको अंग हुन् कि अलग्गै साम्राज्यको सम्राट ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री प्रधानमन्त्री बालेन शाह प्रतिनिधि सभा बैठकमा लगातार अनुपस्थित रहेको विषयलाई लिएर गम्भीर प्रश्न उठाएका छन् । संसदबाट निर्वाचित प्रधानमन्त्रीले कुनै अर्को साम्राज्यको सम्राटजस्तो व्यवहार देखाएर संसदमा उपस्थित नभएको भन्दै केसीले सभामुखमार्फत सरकारको भूमिकामाथि प्रश्न गरेका हुन् । उनले प्रधानमन्त्रीले नै गृहमन्त्रालय सम्हालेको अवस्थामा मनसुन सुरु हुन लागेका बेला विपद् व्यवस्थापन, सुरक्षा तयारी र सरकारी जवाफदेहिताजस्ता संवेदनशील विषयमा उनले जवाफ दिनुपर्ने बताए । आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद केसीले प्रधानमन्त्री शाहमाथि कटाक्ष गर्दै भने, ‘प्रधानमन्त्री नै अहिले गृहमन्त्री हुनुहुन्छ । उहाँ यो संसदको अंग हो कि होइन ? उहाँ भिन्दै साम्राज्य वा टापुको सम्राट हो कि यो संसदको अभिन्न अंग हो ?’ नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाह स्वयं संसदमा उपस्थित नभएपछि विपक्षी दल आक्रोशित बनेका छन् ।  प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको तर्फबाट जवाफ दिएका थिए । कांग्रेसले प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिलाई संसदप्रतिको बेवास्ता र गैरजवाफदेहिताको संकेतका रूपमा व्याख्या गरेको छ । विपक्षी सांसदहरूले राष्ट्रिय महत्वका विषयमा प्रधानमन्त्री स्वयं उपस्थित भएर धारणा राख्नुपर्ने मागसमेत गरेका छन् ।