विकासन्युज

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आज

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको संसदीय सुनुवाइको आजै गर्ने भएको छ ।        प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइका लागि मंगलबार (आज) अपरान्ह १ः३० बजेको समय कार्यसूचीमा तय गरेको समितिका सचिव तुलबहादुर विश्वकर्माले जानकारी दिए ।        समितिले आज बिहान प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न बैठक बोलाएको थियो ।  विपक्षी दलका सांसदहरू पद्मा अर्याल, वर्षमान पुन, नरबहादुर विष्टलगायतले प्रक्रियाबाट जानुपर्ने र छ वर्षे प्रधानन्यायाधीशले गर्ने कामको कार्ययोजना अध्ययन गर्न समय माग गरेका थिए ।        बैठकमा समितिका सदस्यहरू कवीन्द्र बुर्लाकोटी, मधु चौलागाईंलगायतले उजुरी अध्ययन गर्नका लागि धेरै समय आवश्यक नपर्ने भएकाले प्रक्रिया छिटो अगाडि बढाउनुपर्ने माग गरेका थिए ।        समितिका सभापति बोधनारायण श्रेष्ठले उजुरी सुनेपछि प्रस्तावित प्रधानन्यायाधीशलाई प्रश्न गर्न सकिने भएकाले अध्ययनका लागि धेरै लामो समय जरुरी नपर्ने हुँदा प्रक्रिया अघि बढाउन सबैलाई सहयोगका लागि आग्रह गरेका थिए ।        प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध समितिमा १६ वटा उजुरी परेको छ । संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

डिजिटल पहुँच पुर्‍याउन दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दै टेलिकम

काठमाडौं । सबै नागरिकसम्म डिजिटल पहुँच पुर्‍याउने उद्देश्यले भौगोलिक रूपमा विकट तथा जनसङ्ख्याको दृष्टिले कम मानिस बसोबास गर्ने दुर्गम बस्तीहरूमा दूरसञ्चार सेवा विस्तार भइरहेका छन् । यस्ता दुर्गम बस्तीहरूमा सेवा उपलब्ध गराउन हेलिकप्टरबाट उपकरण तथा सामग्री ओसारेरसमेत दूरसञ्चार सेवा विस्तार भइरहेको छ । दुर्गम भूगोलमा इन्टरनेट सेवा विस्तार गर्ने सरकारको प्रतिबद्धताअनुसार नेपाल टेलिकमले काम गरिरहेको छ । यस्ता स्थानहरूमा कम्पनीले गरेको लगानीबाट व्यावसायिक लाभ हासिल नहुने भए पनि डिजिटल विभेद न्यूनीकरणलाई प्राथमिकता दिएको टेलिकमले जनाएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पनि दुर्गम क्षेत्रसम्म डिजिटल पहुँच विस्तार गरी डिजिटल विभेद न्यूनीकरण गरिने उल्लेख गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पनि डिजिटल पहुँच विस्तारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् ।   यसका लागि आवश्यक समन्वय, सहकार्य तथा मार्गनिर्देशनसमेत मन्त्रालयबाट भइरहेको छ । नेपाल टेलिकमले फोरजी सेवा पूर्ण रूपमा कार्यान्वयन र फाइभजी सेवा पनि सँगसँगै सुरु गर्ने सरकारको योजनाअनुसार काम गरिरहेको छ । फाइभजी सेवा सञ्चालनका लागि ३३००–३७०० मेगाहर्ज ब्यान्ड खुला गरी प्रविधि विस्तारको मार्ग प्रशस्त गरिएको मन्त्रालयले जनाएको छ । नेपाल टेलिकमका सहप्रवक्ता प्रक्षित थापा क्षेत्रीले दुर्गम तथा दूरदराज क्षेत्रहरूमा पनि इन्टरनेट र मोबाइल सेवा विस्तारलाई प्राथमिकतामा राखेर काम भइरहेको बताइन् । उनका अनुसार नवीनतम प्रविधिको प्रयोग गर्दै भौगोलिक अवस्था र आवश्यकताअनुसार कुन प्रविधि उपयुक्त हुन्छ भन्ने मूल्याङ्कन गरेर सेवा विस्तार गरिँदै आएको छ । उनले सम्भव भएसम्म ‘अप्टिकल फाइबर’ विस्तार गर्ने योजनाअनुसार नेपाल टेलिकमले काम गरिरहेको जानकारी दिनुभयो । त्यस्तै, विद्युत् सुविधा नपुगेका स्थानहरूमा सोलार टावरमार्फत विद्युत् आपूर्ति गरी सञ्चार सेवा सञ्चालन गरिएको छ । दुर्गम क्षेत्रमा भने भिस्याट प्रविधिको प्रयोग गरेर सेवा उपलब्ध गराइएको उनको भनाइ छ । टेलिकमका अनुसार डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित लाहाँ तथा ठूलीभेरी नगरपालिकाअन्तर्गत दुनै क्षेत्रमा समुद्र सतहदेखि करिब ३९०० मिटर उचाइमा केही दिनअघि सफलतापूर्वक फोरजी सेवा सञ्चालनमा ल्याइएको छ । त्रिपुरासुन्दरी लाहाँमा सोलार पावरबाट सिङ्गल सेक्टर टुजी सञ्चालनमा रहेकामा उक्त साइटको स्तरोन्नति गरी जलविद्युत् जडान र १८ मिटर पोल जडानपश्चात् फोरजी सेवा सञ्चालनमा आएको हो । यसबाट त्रिपुरासुन्दरी–६ का बस्तीहरू लाहाँ, खादाङ, फुल्चिङ, पालङ गाउँ तथा जाजरकोट–डोल्पा राजमार्गमा उच्च गतिको फोरजी मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार भएको छ भने करिब २५० घरधुरीका १२०० मोबाइल प्रयोगकर्ता प्रत्यक्ष लाभान्वित भएका छन् । त्यस्तै, डोल्पाको ठूलीभेरी नगरपालिका–१ थाला डाँडाको ३९०० मिटर उचाइमा टावर राखिएको छ । यस साइटमा उच्च क्षमताको सौर्य ऊर्जा प्रणाली जडान गरी २५ मिटरको टावर जडानपश्चात् फोरजी सेवा सञ्चालनमा आएको छ । यहाँबाट ठूलीभेरी नगरपालिका वडा नम्बर १, २, ३ र ४ का थाला गाउँ, लोचा गाउँ, तिप्ला, कुल्मी र काइके गाउँपालिकाका वैजबाडा, वनठाडा, सहरतारा, गुम्बातारा, टुप्पातारा, लाबन बगर तथा दुनै सहरतारा पदमार्गमा उच्च गतिको फोरजी सेवा विस्तार भएको छ । यसबाट करिब ८०० घरधुरीका ३२०० भन्दा बढी मोबाइल प्रयोगकर्ता लाभान्वित भएको जनाइएको छ । ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रमा ३४०० मिटर उचाइमा गत शुक्रबारदेखि फोरजी सेवा सुरु भएको छ । यस सेवाबाट ओलाङ्चुङगोला, याङमा, जारीटार, लुम्बासम्बा पदमार्गको दिगासम्बा तथा ग्रेट हिमालय ट्रेलअन्तर्गत लाङ्ग्योङ आसपासका क्षेत्रमा मोबाइल नेटवर्क सुविधा उपलब्ध हुन थालेको छ । त्यसैगरी, ताप्लेजुङको पाथिभरा मन्दिर क्षेत्रमा पनि फोरजी सेवा सञ्चालनमा ल्याइएको छ । पाथीभरा मन्दिर परिसर, काफ्लेपाटी, देउराली, भालुगौडा तथा मन्दिरतर्फ जाने पदमार्गका विभिन्न स्थानहरूमा मोबाइल नेटवर्क सुविधा विस्तार भएको छ ।  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६, घुन्सा ९३८५० मिटर मा नेपाल टेलिकमले सफलतापूर्वक फोरजी सेवा सञ्चालनमा ल्याएको छ । यसअघि स्याटेलाइटमार्फत टुजी सेवा मात्र रहेको यस क्षेत्रमा अब उच्च गतिको मोबाइल इन्टरनेट सेवा विस्तार भएको छ । घुन्सा, फले, खम्बाचेन, लोनाक तथा कञ्चनजङ्घा आधार शिविरतर्फ जाने पदमार्गका क्षेत्रमा मोबाइल नेटवर्क सुविधा उपलब्ध हुनेछ । नेपाल टेलिकमले सङ्खुवासभा जिल्लाका दुर्गम तथा उच्च हिमाली क्षेत्रमासमेत आफ्नो दूरसञ्चार सञ्जाल विस्तार तथा स्तरोन्नति गरेको छ । यसबाट स्थानीय बासिन्दा तथा पर्यटकलाई अत्यावश्यक सञ्चार सुविधा उपलब्ध भएको छ । सङ्खुवासभाको मकालु गाउँपालिका–२ स्थित चेक्सेडाँडा क्षेत्रमा स्थापना गरिएको नयाँ बिटीएस टावर हालै सञ्चालनमा आएको छ । सो टावरले मकालु गाउँपालिका–२ का विभिन्न बस्तीहरू, वडा नम्बर ३ का केही क्षेत्र तथा वडा नम्बर ५ को माङसिमामा मोबाइल नेटवर्क उपलब्ध गराएको छ ।  साथै, यो टावरले मकालु बेस क्याम्प ट्रेकिङ मार्गका उच्च पहाडी क्षेत्रहरूमा समेत ‘नेटवर्क कभरेज’ दिएको छ । त्यस्तै, नेपाल टेलिकमले सिम्बोप्वा डाँडामा माइक्रोवेभ रेडियो रिपिटर तथा बीटीएस (तासिथवा) स्थापना गरेको छ । करिब ३७०० मिटर उचाइमा रहेको यस स्थानमा टावर स्थापना गर्न चुनौतीपूर्ण थियो । बसोबास क्षेत्रभन्दा माथि करिब छ घण्टा ठाडो उकालो चढेर मात्र पुग्न सकिने यो क्षेत्रमा उपकरण ढुवानी र निर्माण सम्पन्न गर्न करिब तीन वर्ष लागेको टेलिकमले जनाएको छ ।  सिम्बोप्वा डाँडाको टावरले भोटखोला गाउँपालिकाका लिंगम, छुम्सुरलगायतका दुर्गम बस्ती तथा कोशी राजमार्गको माथिल्लो खण्डमा मोबाइल नेटवर्क कभरेज उपलब्ध गराएको छ । यहाँ माइक्रोवेभ रिपिटर स्टेसन ९किमाथांका० स्थापना भएपछि किमाथांकासम्म माइक्रोवेभ लिङ्क विस्तार सम्भव भएको टेलिकमको भनाइ छ । त्यसैगरी, टेलिकमले भोटखोला गाउँपालिकाको उत्तरी सीमा क्षेत्र किमाथांकामा माइक्रोवेभ रेडियोमा आधारित फोरजी सेवा सुरु गरेको छ । उत्तर–दक्षिण कोशी राजमार्गसँग जोडिएको यो अत्यन्त दुर्गम क्षेत्रमा यसअघि स्याटेलाइटमा आधारित टुजी भ्वाइस सेवा मात्र सञ्चालनमा थियो । टेलिकमले देशका विभिन्न विकट तथा दुर्गम स्थानहरूमा स्याटेलाइट प्रविधिमा आधारित जिएसएम मोबाइल तथा भिस्याट टेलिसेन्टर उपकरण जडान गरी टुजी प्रविधिमा आधारित मोबाइल, टेलिफोन र डाटा सेवा प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्षमा डोल्पाको कान्छो गाउँ कुगाउँ तथा निजाल, दोलखाको ना–गाउँ र रसुवाको चन्दनबारी गरी चार स्थानमा स्याटेलाइटमार्फत जिएसएम मोबाइल सेवा विस्तार गरिएको छ । हाल टेलिकमले ३८ विभिन्न स्थानमा यो प्रविधिबाट मोबाइल सेवा प्रवाह गरिरहेको छ । यीमध्ये सबैभन्दा बढी १४ ‘साइट’ डोल्पा जिल्लामा छन् । डोल्पाको छार्का–ताङसोङ, छार्का, धो, घुन्सापास, कलाङ, मुकोट, निजाल, फोक्सुन्डो, साल्दाङ, सिम्बाडाँडा, सिमेन्कोमास, तिन्जे, भिजेर र कुगाउँमा यी साइट छन् । हुम्लाको गोठी, राया, रोडीकोट, श्रीनगर र श्रीमस्ठ, मुगुको मुगुगाउँ, पुलु, रारा ९मुर्मा०, सोरुकोट र भी, मनाङको भिमथाङ, फु र नार, दोलखाको बेदिङ र ना–गाउँ, ताप्लेजुङको घुन्सा र ओलाङचुङगोला, सोलुखुम्बुको गोरक्छेप र मोन्जु, रसुवाको गोसाइँकुण्ड र चन्दनबारी, दार्चुलाको टिंकर, बाजुराको बिच्छा र जुम्लाको गुठीचौरमा स्याटेलाइटमार्फत सेवा पुर्याइएको छ । टेलिकमले बाजुराको बडिमालिका मन्दिर क्षेत्र ९४२०० मिटर उचाइमा फोरजी सेवा विस्तार गर्ने तयारी गरिरहेको छ । साथै, सगरमाथा आधार शिविर क्षेत्रमा समेत फोरजी सेवा विस्तारका लागि अध्ययन अगाडि बढाइएको जनाइएको छ । डिजिटल पहुँचको विभाजन घटाउने र सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउने प्राथमिकताअनुरूप नेपाल सरकार सक्रिय रूपमा काम गरिरहेको छ । दुर्गम क्षेत्रमा रहेका देशभरका बस्तीहरूलाई डिजिटल रूपमा जोड्ने अभियान निरन्तर जारी रहने टेलिकमले जनाएको छ । फोरजी सेवा सञ्चालनसँगै अनलाइन कक्षा, डिजिटल भुक्तानी, सामाजिक सञ्जाल, इमेल तथा विभिन्न अनलाइन सेवा सहज रूपमा प्रयोग गर्न सकिने भएको छ । यसले स्थानीय प्रशासन, सुरक्षा, स्वास्थ्य तथा शैक्षिक गतिविधिमा सहयोग पुग्ने र दुर्गम हिमाली क्षेत्रलाई आधुनिक डिजिटल नेटवर्कसँग जोड्दै पर्यटन प्रवद्र्धन, सूचना प्रवाह तथा समग्र क्षेत्रीय विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ । रासस  

खाडी मुलुकको अपिल पछि अमेरिकाले इरानमा नियोजित आक्रमण स्थगित गरेको छ : ट्रम्प

काठमाडौं । कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) को अपिल पछि इरानमा नियोजित आक्रमण ’स्थगित’ गरेको  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।  सामाजिक सञ्जाल ट्रुथमा राष्ट्रपति ट्रम्पले कतारका अमिर शेख तमिम बिन हमद अल थानी, साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमान र युएईका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानले वार्ता चलिरहेको अवस्थामा इरान माथि निर्धारित आक्रमण नगर्न अनुरोध गरेको बताएका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकाले  इरान विरुद्ध थप सैन्य कारबाहीको 'योजना' बनाएको कुरामा जोड दिदै शान्ति सम्झौताको आशामा खाडीका नेताहरूको अपिल पछि आक्रमणमा ढिलाइ गरेको बताएका छन् । हाल गम्भीर वार्ता भइरहेको उल्लेख गर्दै ट्रम्पले उनीहरुको बीचमा सहयोगीहरूको रूपमा एउटा सम्झौता हुने उल्लेख गरेका छन् ।  जुन संयुक्त राज्य अमेरिका, साथै मध्य पूर्वका सबै देशहरू र विश्व समुदाका लागि स्वीकार्य हुने उनले बताएका छन् । सम्झौता बमोजिम इरानका लागि कुनै आणविक हतियारहरू समावेश हुने छैन भने खाडी मुलुकका नेताहरूप्रतिको सम्मानको आधारमा, सेक्रेटरी अफ वार, पीट हेग्सेथ, द जोइन्ट चिफ्स अफ स्टाफका अध्यक्ष, जनरल डेनियल केन र द युनाइटेड स्टेट्स मिलिटरीलाई निर्देशन दिएको बताएका छन् । तर स्वीकार्य सम्झौता नभएमा एउटै सूचनामा इरानमा आक्रमण गरी अगाडि बढ्न तयार हुन पनि निर्देशन दिएको बताएका छन् । राष्ट्रपति ट्रम्पले इरानको शान्ति प्रस्तावलाइ अस्वीकार गरे पछि यो अवस्था आएको जनाइएको छ  ।   इरानको आणविक कार्यक्रममा तनाव बढ्दै जाँदा वासिङ्टनले कूटनीतिक र सैन्य  विकल्पहरू विचार गर्दै छ भने यो घटनाक्रम संवेदनशील रुपमा अघि बढ्दै छ । अमेरिकी अधिकारीहरूका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्प वार्ताको माध्यमबाट समाधान खोज्दै गर्दा तेहरानले वासिङ्टनले  उपलब्ध गराएका छुटहरू अस्वीकार गरेकाले  निराश भएका छन् । इरानको पछिल्लोे प्रति–प्रस्ताव आइतबार राति पाकिस्तानी मध्यस्थकर्ताहरू मार्फत पठाइएको बताइएको छ । एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार, संशोधित पाठले अघिल्लो प्रस्तुतिहरूको तुलनामा सीमित परिवर्तनहरू मात्र समावेश गरेको छ । रासस   

एनसेल फाउन्डेसनद्वारा १०० जना विद्यार्थीलाई ‘एसईई छात्रवृत्ति’ घोषणा

काठमाडौं । एनसेल फाउन्डेसनले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका १०० जना जेहेन्दार विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ प्रदान गर्ने घोषणा गरेको छ । 'प्रोजेक्ट शिक्षा'सँगको सहकार्यमा फाउन्डेसनले कक्षा ११ र १२ अध्ययनका लागि यो छात्रवृत्ति दिन लागेको हो । यस सहकार्यअन्तर्गत एनसेल फाउन्डेसनले यस वर्ष १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नेछ । छात्रवृत्ति सातै प्रदेशमा सञ्चालन गरिने लिखित परीक्षाका साथै अन्तरवार्ताका आधारमा विद्यार्थी छनोट गरी प्रदान गरिनेछ । यस पहलले देशका हरेक कुनाका विद्यार्थीहरूलाई समान अवसर सुनिश्चित गर्नुका साथै उच्च शिक्षा हासिल गर्न आर्थिक सहयोग आवश्यक पर्ने विद्यार्थीहरूलाई विशेष प्राथमिकता दिनेछ । यसका अतिरिक्त विद्यार्थीहरूले एनसेलबाट १२ महिनासम्म लिमिटेड डेटा र भ्वाइस सेवासहितको सञ्चार सुविधा पनि निःशुल्क प्राप्त गर्नेछन्, जसले उनीहरूलाई अध्ययन, अवसर र आफ्ना आकांक्षाहरूसँग निरन्तर जोडिन सहयोग पुर्‍याउनेछ । 'एनसेल फाउन्डेसनमा हामी शिक्षा देशको भविष्य निर्माण गर्ने एक आधारभूत स्तम्भ हो भन्नेमा विश्वास राख्छौँ । प्रोजेक्ट शिक्षासँगको यस सहकार्यमार्फत हामी एसईई उत्तीर्ण युवा विद्यार्थीहरूलाई उनीहरूको सपना पूरा गर्न सहयोग गर्दै उच्च शिक्षाका लागि गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्न चाहन्छौँ । भौगोलिक अवस्था र आर्थिक परिस्थितिले युवाहरूको भविष्य निर्धारण गर्नु हुँदैन भन्ने हाम्रो विश्वास हो । यस पहलमार्फत हामी सुदृढ र समावेशी भविष्य निर्माणमा योगदान पुर्‍याइरहेका छौँ,' एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् ।  हन्ड्रेड ग्रुपद्वारा सञ्चालित छात्रवृत्ति कार्यक्रम प्रोजेक्ट शिक्षाले पनि थप ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेछ । यो कार्यक्रम सन् २०१७ देखि सञ्चालनमा रहेको छ र नेपालभरका एसईई उत्तीर्ण विद्यार्थीहरूका लागि अर्थपूर्ण शैक्षिक अवसरहरू सिर्जना गर्दै आएको छ ।  

पेट्रोल पम्पहरू सुधार्न आयल निगमको ७ दिने अल्टिमेटम

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोल पम्प (विक्रेता) हरूको सेवा, सुरक्षा र संरचनामा तत्काल सुधार ल्याउन आफ्ना मातहतका प्रादेशिक, डिपो तथा शाखा कार्यालयहरूलाई निर्देशन दिएको छ । निगमको आपूर्ति तथा वितरण विभागका अनुसार निगमबाट पेट्रोलियम पदार्थ खरिद गरी बिक्री गर्ने विक्रेताहरूको बिक्री स्थलमा सेवाग्राहीको सुरक्षा र स्वच्छता सुनिश्चित गर्न यो पहल चालिएको हो ।  यस अन्तर्गत पम्पहरूमा आगलागीको जोखिम न्यूनीकरणका लागि आवश्यक अग्नि सुरक्षाका साधनहरू सधैं तयारी अवस्थामा राख्नुपर्ने, स्वच्छ पिउने पानीको व्यवस्था गर्नुपर्ने र परिसरभित्रका शौचालयहरू नियमित रूपमा अनिवार्य सफा राख्दै सर्वसाधारणले सहजै प्रयोग गर्न सक्ने बनाउनुपर्ने निर्देश गरिएको छ । यसैगरी, निगमले पम्पको भौतिक पूर्वाधार र सौन्दर्यीकरणमा समेत जोड दिँदै बिक्री परिसरभित्र रहेका क्यानोपीहरू दुरुस्त अवस्थामा राख्न र पेट्रोलियम पदार्थको मूल्यसूची स्पष्ट देखिने गरी राख्न भनेको छ ।  पम्प परिसरका सम्पूर्ण संरचनाहरूमा रङ्गरोगन गरी सरसफाइ कायम राख्नुका साथै खाली ठाउँहरूमा हरियाली प्रवद्र्धन गर्ने कार्यलाई समेत अनिवार्य रूपमा समेटिएको छ । यी सम्पूर्ण कार्यहरू पत्र प्राप्त भएको ७ दिनभित्र कार्यान्वयन गरिसक्न र सोको अनुगमन गरी जानकारी गराउन निगमले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका प्रादेशिक कार्यालयसहित सबै इन्धन डिपो र शाखाहरूलाई निर्देशन दिएको छ ।  यसअघि पनि जेठ १ गते यस विषयमा जानकारी गराइसकेको स्मरण गराउँदै निगमले यसपटक तोकिएको समयभित्र निर्देशन पालना नगर्ने पम्पहरूलाई अनुगमनका आधारमा कारबाही प्रक्रिया अघि बढाउने बताएको छ । 

गुल्मीको धुर्कोट शून्य बेरुजु कायम गर्ने लुम्बिनीकै एकमात्र गाउँपालिका

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को ६३ औं वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार धुर्काेट गाउँपालिका शून्य बेरुजु कायम गर्न सफल भएको छ । गुल्मी जिल्लाका १२ स्थानीय तहमध्ये धुर्कोटले मात्र बेरुजु शून्य लेखा परीक्षण कायम गरेको कायम गरेको हो ।  प्रतिवेदनअनुसार गाउँपालिकाले आर्थिक अनुशासन, पारदर्शी खर्च व्यवस्थापन तथा योजनाको प्रभावकारी कार्यान्वयनमार्फत उक्त उपलब्धि हासिल गरेको जनाएको छ । देशभरका ७५३ स्थानीय सरकारमध्ये ७२१ वटा स्थानीय तहको लेखापरीक्षण सम्पन्न भएकोमा केवल चार वटा पालिकाले मात्र शून्य बेरुजु कायम गरेका छन् । तीमध्ये लुम्बिनी प्रदेशबाट धुर्कोट गाउँपालिका एकमात्र पालिका बनेको छ । शून्य बेरुजु कायम गर्ने अन्य स्थानीय तहमा गण्डकीको महाशिला गाउँपालिका, वागमतीको महाभारत गाउँपालिका र कोशीको सोलुदुधकुण्ड नगरपालिका रहेका छन् । धुर्कोट गाउँपालिका उपाध्यक्ष सीता गिरीले शून्य बेरुजु कायम हुनु सबैको साथ सहयोग र सामूहिक प्रयासको परिणाम भएको बताएकी छन् । जनप्रतिनिधिहरूको लगाव, कर्मचारी साथीहरूको आर्थिक अनुशासनका कारण यो सफलता हात लागेको उनले जानकारी दिइन् । उनका अनुसार गाउँपालिकाले पारदर्शिता, जिम्मेवारी र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । सबै पक्ष इमान्दार र उत्तरदायी भएर काम गर्दा शून्य बेरुजु कायम गर्न सम्भव भएको भन्दै उनले आगामी दिनमा पनि यही अभ्यासलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएकी छन् । प्रतिवेदनअनुसार जिल्लाका अन्य स्थानीय तहहरूको बेरुजु विवरण पनि सार्वजनिक गरिएको छ । छत्रकोट गाउँपालिकाको बेरुजु ८ लाख १६ हजार रुपैयाँ वेरुजु  सहित शुन्य वेरुजुको नजिक देखिएको छ । छत्रकोटमा ० दशमलव ०६ प्रतिशत वेरुजु रहेको छ । मालिका गाउँपालिका को ११ लाख ७ हजार रुपैयाँ वेरुजु रहेको छ । यस्तै, सत्यवती गाउँपालिकाको २ लाख ५२ हजार रुपैयाँ वेरुजु रहेको छ । त्यसैगरी, मदाने गाउँपालिकाको ३३ लाख रुपैया,ँ इस्मा गाउँपालिका को ४७ लाख ६२ हजार रुपैयाँ, तथा रेसुङ्गा नगरपालिका को ७४ लाख ५२ हजार रुपैयाँ बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । यस्तै, रुरुक्षेत्र गाउँपालिकाको बेरुजु ८४ लाख २४ हजार रुपैयाँ, गुल्मीदरबार गाउँपालिकाको ९० लाख १ हजार रुपैयाँ र कालीगण्डकी गाउँपालिका को १ करोड ६ लाख ७० हजार रुपैयाँ वेरुजु रहेको छ । प्रतिवेदनअनुसार चन्द्रकोट गाउँपालिका को बेरुजु १ करोड २३ लाख २७ हजार रुपैयाँ रहेको छ भने मुसिकोट नगरपालिकामा सबैभन्दा बढी ४ करोड ३७ लाख ६२ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

सुनको मूल्य तोलामा २ लाख ९५ हजार ३०० रुपैयाँ पुग्यो

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सोमबार प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि दुई लाख ९५ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । यसैगरी चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले वृद्धि भएको छ । सोमबार प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने पाँच हजार ८५ रुपैयाँ निर्धारण भएको छ ।     

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद बैठक आह्वान गरेका छन् । बैठक मंगलबार अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्न लागेको हो । बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।