कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति
म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सडक स्तरोन्नति सकिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीको नागढुङ्गादेखि मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको कैह्कुखोला खण्डको सडकलाई ११ मिटर फराकिलो बनाएर दुई लेन कालोपत्र र ढलान गर्न आर्थिक वर्ष २०७३/७४ देखि योजना सुरु भएको थियो । शर्मा–गजुरमुखी जेभीले ‘भेरियसन अर्डर’सहित रु ६३ करोडमा ठेक्का लिएको तातोपानी–घाँसा खण्डको १६ किलोमिटर ५०० मिटर सडकमध्ये पहिरो प्रभावित तीन किलोमिटर ३०० मिटरबाहेकको ठाउँमा कालोपत्र र ढलान गर्ने काम सकिएको हो । जेभीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले दुई किलोमिटर ५०० मिटर ढलान र १० किलोमिटर ७०० मिटरमा डिबिएसडी प्रविधिको कालोपत्र भएको जानकारी दिए । ‘प्रतिकूल भूगोल, कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्री अभावलगायत कारणले योजना निर्माणमा ढिलाइ भएको हो’, उनले भने, ‘स्तरोन्नति सकिएको सडकलाई औपचारिक रूपमा सडक आयोजना कार्यालयलाई हस्तान्तरणको प्रक्रियामा छौं ।’ लक्ष्यभन्दा पाँच वर्ष ढिलागरी सम्पन्न भएको हो । गजुरमुखी निर्माण सेवा आन्तरिक समस्यामा परेपछि साझेदार शर्माले अधुरो कामलाई पूर्णता दिएको हो । पहिरो प्रभावित गुइँठे, खामभित्ता, दुवारीखोला, लाटोखोला, रुप्से, घोप्टेभिर, ठाडोखोला खण्डमा आयोजनाले नयाँ ठेक्कामार्फत काम सुरु गरेको छ । कडा चट्टान र साँघुरो सडक भएको काभ्रेभिर, बादरजुङ र घोप्टेभिर क्षेत्रमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो बनाइएको छ । नागढुङ्गा, जलथले, गुइँठे, सुकेबगर, दाना, तितर, काभ्रे र घाँसा क्षेत्रमा कालोपत्र भएको छ । सडक कालोपत्र भएपछि दुई घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको अन्नपूर्ण गाउँपालिका–३ का वडाध्यक्ष रमेश पुर्जाले बताए । यो खण्डको धेरै दूरी अन्नपूर्ण गाउँपालिका–३ को भूगोलमा पर्छ । मुस्ताङ आवतजावत गर्ने पर्यटक, तीर्थयात्री, स्थानीयवासीका साथै कोरला नाकाबाट सामान आयातनिर्यात गर्ने मालवाहक सवारीसाधनलाई सहज भएको छ । सडक सहज भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको वडाध्यक्ष पुर्जाले बताउनुभयो । शर्मा–गजुरमुखीले बेनी–जोमसोम कोरला सडकको दोस्रो (तातोपानी–घाँसा) र तेस्रो घाँसा कैह्कुखोला–खन्ती खण्डमा स्तरोन्नतिको जिम्मा लिएको थियो । सोह्र किलोमिटर दूरीको कैह्कुखोला–खन्ती खण्डको दुई वर्षअघि नै स्तरोन्नति सकेर हस्तान्तरण गरेको थियो । भारत र चीनलाई जोड्ने ४३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको लाइफ लाइन (भाग्यरेखा) मानिएको छ । १० अर्ब ५७ करोड अनुमानित लागत रहेको २०२ किलोमिटर दूरीको बेनी–जोमसोम कोरला सडक योजनाअन्तर्गत ९४ किलोमिटर ग्राभेल, ८८ किलोमिटर कालोपत्र र १४ वटा सडक पुल निर्माण सकिएको छ । आयोजना प्रमुख तेजस्वी शर्माले १० अर्ब ५७ करोड रहेका आयोजनामा ८२ प्रतिशत अथवा आठ अर्ब २० करोड खर्च भइसकेको बताए । रासस
छिमेक लघुवित्तबाट ३ संस्थापक बाहिरिने, सेयर मूल्य ३९५ देखि ४१० रुपैयाँ
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाका ३ संस्थापक सेयरधनी बाहिरिने भएका छन् । आफ्नो नाममा रहेको सेयर बिक्री गरेर लघुवित्त संस्थाबाट ३ संस्थापक सेयरधनी बाहिरिन लागेका हुन् । लघुवित्तका अनुसार संस्थापक सेयरधनी एसजी सेक्युरिटिज प्रालि, शिवाङ्गी इन्भेष्टमेन्ट प्रालि र विनिता अधिकारीले कुल १ लाख ७० हजार ८४७ कित्ता सेयर बिक्रीमा राखेका हुन् । जसमध्ये एसजी सेक्युरिटिज र शिवाङ्गी इन्भेष्टमेन्टको समान ६४ हजार ३०६ कित्ता र विनिता अधिकारीको ४२ हजार २३५ कित्ता सेयर बिक्रीमा राखिएको हो । लघुवित्तका अनुसार एसजी सेक्युरिटिज र शिवाङ्गी इन्भेष्टमेन्टले बिक्रीमा राखेको सेयरको मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ र अधिकारीको सेयरको प्रतिकित्ता ४१० रुपैयाँ तोकिएको छ । लघुवित्तको सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने लघुवित्तले जनाएको छ ।
यस्तो छ आइतबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौं । । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आइतबारका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ६३ पैसा र बिक्रीदर १९१ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७९ रुपैयाँ १७ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ १६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ३० पैसा र बिक्रीदर १०३ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ २८ पैसा र बिक्रीदर ११० रुपैयाँ ७४ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ०६ पैसा र बिक्रीदर नौ रुपैयाँ १० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ २४ पैसा र बिक्रीदर २० रुपैयाँ ३३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ र बिक्रीदर ३८ रुपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ १२ पैसा र बिक्रीदर ३९ रुपैयाँ २८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५३ पैसा र बिक्रीदर चार रुपैयाँ ५५ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ११ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३० पैसा र बिक्रीदर १५ रुपैयाँ ३७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ३४ पैसा र बिक्रीदर २२ रुपैयाँ ४४ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८ रुपैयाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर ४६४ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४६६ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३७८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ६५ पैसा, ओमनी रियाल एकको खरिददर ३७० रुपैयाँ २३ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ७९ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
पुस १० गतेदेखि १२ गतेसम्म एभरेष्ट बैंकका बैंकिङ सेवा अवरुद्ध हुने
काठमाडौं । एभरेष्ट बैंकको बैंकिङ सेवाहरू अवरुद्ध हुने भएका छन् । बैंकले आफ्नो कोर बैंकिङ प्रणाली (सीबीएस) स्तरोन्नति गर्ने भएकाले केही बैंकिङ सेवाहरू निश्चित समयका लागि अवरुद्ध हुने जनाएको छ । बैंकका अनुसार पुस १० गते बिहीबारदेखि पुस १२ गते शनिबारसम्म अनलाइन बैंकिङ, मोबाइल बैंकिङ सम्बन्धी सम्पूर्ण सेवाहरू अवरुद्ध हुने छन् । यस्तै, पुस ११ गते शुक्रबार बैंकका शाखा तथा काउन्टरहरु (वीरगन्ज र नेपालगन्ज भन्सारमा रहेका शाखा, आईसीडी तथा आईसीपी, बैंकका एनसीएचएल ईसीसी, एनआरबि आरटिजीएस सेवाहरू पूर्ण रुपमा बन्द रहने बैंकले जनाएको छ । उक्त समयमा एटीएम तथा कार्ड, कनेक्ट आईपीएस सेवा भने नियमित सुचारु हुने बैंकले जनाएको छ । बैंकका अनुसार उक्त समयमा भएका कारोबारहरूको एसएमएस तथा ई-मेल अलर्ट आउने छैनन् । बैंकले प्रणाली स्तरोन्नतिका क्रममा ग्राहकलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गरेको छ ।
सालपा विकास बैंकले पुस १६ गतेदेखि आईपीओ बिक्री गर्ने
काठमाडौं । सालपा विकास बैंकले पुस १६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बिक्री गरेर बाँडफाँडपश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत अर्थात् १७ करोड २३ लाख ८८ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १७ लाख २३ हजार ८८० कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार ३८८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ५ प्रतिशत अर्थात् ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरेर बाँडफाँड गरिसकेको छ । यस्तै, जारी पुँजीको ०.५० प्रतिशत अर्थात् २६ हजार ११९ कित्ता बैंकका कर्मचारीलाई सुरक्षित राखि बाँकी रहेको १४ लाख ३९ हजार १७९ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । बैंकको आईपीओमा पुस २० गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र बिक्री नभएमा पुस ३० गतेसम्म आवेदन दिने समय लम्बिनेछ । बैंकको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम २५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । बैंकको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताहरुले सीआस्वा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।
कर्जा सूचना केन्द्रले ८ प्रतिशत लाभांश बाँड्ने, लेखापरीक्षकलाई ३ लाख रुपैयाँ
काठमाडौं । कर्जा सूचना केन्द्र लिमिटेडले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको करसहित ८ प्रतिशतका दरले ३ करोड ४९ लाख ३०४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न कम्पनीले पुस २८ गते बिहान पौने १२ बजे होटल याक एण्ड यति काठमाडौंमा २१औं वार्षिक साधारण सभा बोलाएको छ । सभाले सञ्चालक समितिमा प्रतिनिधित्व हुने वाणिज्य बैंक समूहको तर्फबाट ३ जना, विकास बैंक समूहको तर्फबाट १ जना र वित्त कम्पनी समूहका तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्नेछ । यस्तै, सभाले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक बीआरएस न्यौपाने एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टलाई नियुक्ति गर्ने र वार्षिक ३ लाख रुपैयाँ पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सर्वाधिक व्यापार गर्ने सूचीको चौथो स्थानमा परान, कमायो १७.५५ करोड रुपैयाँ
काठमाडौं । नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ । नेपाली चलचित्र क्षेत्रमा ५१औँ दिनसम्म प्रदर्शन हुनुलाई ठूलो उपलब्धिको रूपमा लिइन्छ । दीपकप्रसाद आचार्यले निर्देशन गरेको उक्त चलचित्रले आज काठमाडौं उपत्यकामा रहेका आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, क्युएफएक्स सिटी स्क्वाएर मल, क्युएफएक्स भक्तपुर, सिके सिनेमाज, क्युएफएक्स लविम मल, आइएनआइ सिनेमा लोत्से मल, आइएनआई सिनेमा विश्वज्योति, बिएसआर मुभिज र उपत्यकाबाहिर बुटवलमा रहेको आइएनआई सिनेमाज क्युबक्स, इलाइट सिनेमा इटहरी, भीएफएक्स सिनेमाज, कावासोती सिनेमाज, क्युएफएक्स बागेश्वरी लगायतका चलचित्र भवनमा प्रदर्शनको ५१औँ दिन पूरा गरेको हो । ‘हामीले पारिवारिक कथालाई चलचित्रमार्फत आम दर्शकसम्म पुर्याएका छौँ । यसलाई उहाँहरूले आफ्नै घर र समाजको कथा भएकाले रुचाउनुभयो । हामीले व्यावसायिक र समीक्षात्मक दुवै रूपमा सफलता पाएका छौं,’ निर्देशक आचार्यले भने । चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रवीन खतिवडालगायतका कलाकारले अभिनय गरेका छन् । पुस ३ गतेसम्मको चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘सिनेपा-२ बक्सअफिस’ मा रहेको तथ्याङ्कअनुसार उक्त चलचित्रले देशव्यापी १७ करोड ५५ लाख ३४ हजार ५३० रुपैयाँ कमाएको छ । यो कमाइसँगै चलचित्र ‘परान’ सर्वाधिक व्यापार गर्ने चलचित्रको सूचीको चौथो स्थानमा छ । ‘सिनेपा २ बक्सअफिस’ मा रहेको तथ्याङ्कअनुसार ४६ करोड ८७ लाख रुपैयाँको कमाइ गर्दै ‘पूर्णबहादुरको सारङ्गी’ पहिलो स्थानमा, २१ करोड ४० लाख रुपैयाँको कमाइ गर्दै ‘कबड्डी ४ः द फाइनल म्याच’ दोस्रो स्थान, १९ करोड ९२ लाख रुपैयाँ कमाइ गर्दै ‘१२ गाउँ’ तेस्रो स्थानमा रहेको छ । साथै, चलचित्र ‘परान’ यो वर्षमा प्रदर्शनको ५१औँ पूरा गर्ने तेस्रो चलचित्र बनेको छ । यसअघि चलचित्र ‘ऊनको स्वीटर’ र ‘जेरीः अन टप’ ले उक्त सफलता पाएका थिए ।
कर्णालीबाट विदेश जानेको सङ्ख्या बढ्दै, वार्षिक ३० हजारले लिन्छन् श्रम स्वीकृति
काठमाडौं । कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका लागि वार्षिक ३० हजारले श्रम स्वीकृति लिने गरेका छन् । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्र कर्णालीका १० जिल्लाका २८ हजार ४९ जनाले श्रम स्वीकृति लिएका छन् । जस अन्तर्गत सबैभन्दा धेरै सल्यानबाट ६ हजार ९६७ पुरुष र ६२० महिला गरी ७ हजार ७ हजार ५८७ जनाले श्रम स्वीकृति लिएका छन् । त्यसैगरी, सुर्खेतका ५ हजार ८९ पुरुष र ५६८ महिलासहित ६ हजार ३८७ जनाले श्रम स्वीकृति लिएको तथ्याङ्क छ । दैलेखका ३ हजार ९६५ पुरुष र ३२३ महिला गरी ४ हजार २८८, रुकुमपश्चिमका २ हजार ८५९, जाजरकोटका २ हजार ५१८, कालिकोटका १ हजार २५, जुम्लाका १ हजार २५५ जनाले श्रम स्वीकृति लिएका छन् । मुगुका ६८६, हुम्लाका ६०८ र डोल्पाका ६८८ जनाले श्रम स्वीकृति लिएको पाइएको छ । पछिल्लो समय स्वदेशमा रोजगारीका अवसर सृजना हुन नसक्नु र धेरै रकम कमाउने आशामा यहाँका नागरिक वैदेशिक रोजगारीमा जाने चलन बढेको सरोकारवाला बताउँछन् । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्नेमा सरोकारवालाको जोड छ । सुरक्षित आप्रवासन कार्यक्रमका प्रदेश व्यवस्थापक कमल बहादुर रोकायाले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन गाउँगाउँसम्म सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको औंल्याए । वैदेशिक रोजगारीमा गएका कर्णालीका हालसम्म २६४ जनाको मृत्यु भएको उनले जानकारी दिए । वैधानिक र कानुनी प्रक्रियाबाट मात्र वैदेशिक रोजगारीमा जानुपर्ने उनको सुझाव छ । पछिल्लो समय अवैधानिक बाटो भएर वैदेशिक रोजगारीमा जाने तथा विभिन्न प्रलोभनमा परेर ठगीका घटना बढिरहेको भन्दै सबै पक्षले यसतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले देशमा रोजगारीको अवसर नहुँदा विदेश जानुपर्ने अवस्था रहेको बताए । साथै उनले वैदेशिक रोजगारीमा जाने व्यक्तिले सबै कुरा थाहा पाएर मात्र जानुपर्ने उनको सुझाव छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव अजित कुमार कर्णले सरकारले श्रम सम्झौता गरेका देशबाहेक अन्य देशमा जान नहुने विषयमा सबै गाउँमा चेतना फैलाउनुपर्नेमा जोड दिए ।