विकासन्युज

विश्व बैंक र एडीबीसँग सहकार्यमा आरओएससी मूल्यांकन, आइक्यान बन्यो राष्ट्रिय नेतृत्वकर्ता

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले नेपालका लागि ‘रिपोर्ट अन द अब्जरभेन्स अफ स्ट्यान्डड्र्स एन्ड कोड्स (आरओएससी) लेखांकन तथा लेखापरीक्षण (ए एन्ड ए) मूल्यांकनमा प्रमुख राष्ट्रिय समकक्षीका रूपमा मान्यता पाएको छ ।  नेपाल सरकारको अनुरोधमा विश्व बैंक समूह र एसियाली विकास बैंक (एडीबी) ले आइक्यानसँगको सहकार्यमा उक्त मूल्यांकन गरिरहेका छन् ।  विश्वस्तरीय मापदण्डमा आधारित यो मूल्यांकनको उद्देश्य नेपालको लेखांकन तथा लेखापरीक्षण वातावरणको मूल्यांकन गर्नु, विद्यमान कमीकमजोरी र चुनौतीहरू पहिचान गर्नु तथा पारदर्शिता, जवाफदेहिता र लगानीकर्ताको विश्वास सुदृढ गर्न आवश्यक सुधारसम्बन्धी सुझाव सिफारिश गर्नु हो ।  नेपालले वित्तीय सुशासन सुदृढ गर्ने, निजीक्षेत्रको दिगो लगानी आकर्षित गर्ने र सबै आकारका व्यवसायका लागि वित्तीय स्रोतमा पहुँच विस्तार गर्ने प्रयास गरिरहेको बेला यो पहल अत्यन्तै महत्वपूर्ण समयमा अघि बढेको छ । रिपोर्ट अन द अब्जरभेन्स अफ स्ट्यान्डड्र्स एन्ड कोड्स (आरओएससी) लेखांकन तथा लेखापरीक्षण (ए एन्ड ए) मूल्यांकनले लागू हुने लेखांकन तथा लेखापरीक्षणका मापदण्डहरू, नियामक तथा संस्थागत संरचना, व्यावसायिक शिक्षा तथा तालिम प्रणाली, अनुपालना र कार्यान्वयन संयन्त्रहरू तथा वास्तविक अभ्यासहरूको समीक्षा गर्नेछ । अन्तर्राष्ट्रिय उत्तम अभ्याससँग मेल खाने यसका निष्कर्ष र सिफारिशहरूले नेपाललाई संस्थागत क्षमता र वित्तीय प्रतिवेदन प्रणालीलाई अझ सुदृढ गर्न सहयोग पुर्‍याउनेछन् । नेपालका लागि यसअघिको आरओएससी ए एन्ड ए मूल्यांकन सन् २०१५ मा सम्पन्न भएको थियो । त्यसयता नेपालले अन्तर्राष्ट्रिय असल अभ्याससँग मेल खाने किसिमको अभ्यासमा उल्लेखनीय प्रगति गरेको छ । प्रमुख सुधारहरूमा सूचीकृत कम्पनी, बैंक, बीमा कम्पनी तथा सरकारी स्वामित्वका संस्थानहरूमा नेपाल वित्तीय प्रतिवेदन मापदण्ड (एनएफआरएस) कार्यान्वयनमार्फत अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्ड (आइएफआरएस) सँग पूर्ण मेल खाने किसिमको अभ्यास; नेपाल लेखापरीक्षण मापदण्ड (एनएफआरएस) जारी गरी अन्तर्राष्ट्रिय लेखापरीक्षण मापदण्ड (आइएफआरएस) अवलम्बन; लेखापरीक्षणको गुणस्तर अभिवृद्धिका लागि नेपाल गुणस्तर नियन्त्रण मापदण्ड (एनएसक्युसी १) र विद्वत् समीक्षा संयन्त्रको कार्यान्वयन; तथा अन्तर्राष्ट्रिय शिक्षा मापदण्ड (आइइएस) र आइएफएसीका कर्तव्यअनुरूप व्यावसायिक शिक्षा र निरन्तर व्यावसायिक विकासको सुदृढीकरण समावेश छन् । यी सुधारहरूले नेपालको वित्तीय प्रतिवेदन संरचनामा पारदर्शिता, जवाफदेहिता र विश्वसनीयता उल्लेखनीय रूपमा बढाएका छन् । आरओएससी ए एन्ड ए मूल्यांकनले अन्तर्राष्ट्रिय मापदण्डहरूको परिपालनाको अवस्था मूल्यांकन गर्ने, नेपालको प्रगति उजागर गर्ने र बजारको विश्वास थप बलियो बनाउन तथा दिगो आर्थिक वृद्धिलाई समर्थन गर्न रणनीतिक सिफारिशहरू गर्नेछ ।  ‘यो मूल्यांकन नेपालको वित्तीय क्षेत्रका लागि एउटा कोसेढुंगा हो । यसले एक दशकको सुधारहरूलाई मान्यता दिएको छ र नेपाललाई विश्वव्यापी लगानीका लागि विश्वसनीय एवं भरोसायोग्य गन्तव्यका रूपमा स्थापित गर्छ । आइक्यान अन्तर्राष्ट्रिय मापदण्डअनुरूप लेखांकन तथा लेखापरीक्षण अभ्यासमा उत्कृष्टता प्रवर्द्धन गर्न पूर्ण रूपमा प्रतिबद्ध छ,’ संस्थाका अध्यक्ष नीलबहादुर सारु मगरले भने । आइक्यानले यो राष्ट्रिय प्राथमिकताप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्दै नियामक निकायहरू, व्यावसायिक संस्थाहरू, शैक्षिक तथा निजी क्षेत्रलगायत सबै सरोकारवालालाई सफल मूल्यांकनका लागि सक्रिय सहकार्य गर्न र नेपालको वित्तीय सुशासन संरचनालाई थप सुदृढ गर्न आह्वान गरेको छ । 

एनआईसी एशिया क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले 'विश्व लगानीकर्ता सप्ताह, २०२५' को अवसरमा सोलुखुम्बु र पाल्पाका तीन स्थानमा लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । पुस १–२ गते सम्पन्न कार्यक्रमहरुमा सेजोङ कोरियन भाषा इन्स्टीच्युट (सोलुखुम्बु), सोलुखुम्बु बहुमुखी क्याम्पस, र सहिद बहुमुखी क्याम्पस (पाल्पा) मा ३५० भन्दा बढी विद्यार्थी, क्याम्पस कर्मचारी तथा आम सर्वसाधारणहरुले सहभागिता जनाएका थिए । कार्यक्रम अन्तर्गत धितोपत्र बजारको विकास, डिम्याट खाता र ब्रोकर खाता खोल्ने प्रक्रिया, प्राथमिक सेयर निष्काशन, दोश्रो बजारमा लगानी, मुद्रा बजार उपकरण, सामूहिक लगानी कोष (एसआइपी) र लगानी सम्बन्धी निर्णय गर्दा ध्यान दिनुपर्ने बुँदाहरुमा विस्तृत जानकारी प्रदान गरिएको थियो । सहभागीहरुसँग छलफल तथा अन्तरक्रियाको माध्यमबाट पूँजी बजार सम्बन्धी ज्ञान अभिवृद्धि गर्ने अवसर समेत सिर्जना गरिएको संस्थाले जनाएको छ । एनआईसी एशिया क्यापिटलले आफ्नो स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ र यस प्रकारका कार्यक्रमहरु जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

एकै परिवारका ७ जना चिकित्सक, डेढ अर्ब लगानीमा जीबी हस्पिटल बनाउँदै

काठमाडौं । झापाको दमक नगरपालिका-९ मा एक सय बेडको जीबी मेट्रिनिटी एण्ड चाइल्डकेयर जनरल हस्पिटल सञ्चालनमा आउने भएको छ । झापामा पेट्रोलपम्प, एमआरएफ टायरको लिडरसिप र रियल स्टेट व्यवसाय गरिरहेको लगानीकर्ता एवं चिकित्सक डा. सुमन आचार्यको परिवारले अब आफ्नै गाउँमा एक सय बढी शय्याको अस्पताल सञ्चालन गर्ने भएको हाे ।   डा. आचार्यले भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगिसकेकोले अब चाँडै सञ्चालनमा ल्याउने जानकारी दिए । ‘अहिले निर्माणको अन्तिम चरणमा छ,’ विकासन्युजसँग कुरा गर्दै आचार्यले भने, ‘छिट्टै हामी आफ्नै गाउँमा स्वास्थ्य सेवा सुरु गर्ने छौं ।’ एमबीबीएस गरेर विभिन्न अस्पतालमा सेवा दिँदै आएका आचार्यले आफ्नै गाउँठाउँमा स्वास्थ्य सेवा दिने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याउन लागेकाे बताए ।  ‘म एक चिकित्सक हुँ, पढाइ सकेपछि पाटनलगायत  विभिन्न अस्पतालमा काम गरेँ तर, अब स्वास्थ्य सेवा आफ्नै गाउँमा सेवा दिनुपर्छ भन्ने लाग्यो  अनि पारिवारिक सल्लाहमा अस्पताल सञ्चालन गर्ने निर्णयमा पुग्यौं,’ उनले भने । एकै घरमा ७ जना चिकित्सक बनिसकेपछि ७ जना चिकित्सकले एउटा अस्पताल सञ्चालन गर्न सक्ने भन्दै आफ्नै अस्पताल सञ्चालन गर्ने निर्णय गरेको उनले सुनाए ।  ‘मेरो श्रीमती पनि चिकित्सक हुन्, उनीसहित बुवाआमा र अन्य सदस्यसँग सल्लाह गर्यौं,’ आचार्य भन्छन्, ‘सबैको सहमति अनुसार एक सय बेडको अस्पताल बनाउने सहमति भयो ।’ पारिवारिक सहमति अनुसार आजभन्दा तीन वर्ष पहिलेदेखि अस्पताल निर्माण कार्य सुरु गरिएको थियो ।  आचार्यका बुवा घानु आचार्य पहिल्यैदेखि व्यवसायमा आबद्ध छन् । अस्पताल सञ्चालन गर्ने सुमनको निर्णयमा लगानी र सहयोग बुवा घानुकै छ । दमक नगरपालिका वडा नम्बर ९ मा ठूलो अस्पताल छैन । मान्छे बिरामी हुँदा बिर्तामोड, विराटनगर लगायत भारत जानुपर्ने बाध्यता छ । विशेषगरी महिलाहरूमा देखिने गाइनोसम्बन्धी समस्या र बालबालिका सामान्य बिरामी हुँदा पनि स्थानीयहरूले भौतारिनुपरेको छ ।  स्थानीय नागरिकलाई उपचारका लागि अन्यत्र जान नपरोस् भन्ने उद्देश्यले गाउँमै सेवा दिने योजना अनुसार अस्पताल सञ्चालनमा ल्याउने तयारी भइरहेको डा. आचार्यले बताए ।  उनी भन्छन्, ‘हाम्रो गाउँमा राम्रो अस्पताल छैन, नागरिकले सेवा लिन विराटनगर बिर्तामोड पुग्नुपर्छ, सामान्य सेवादेखि गम्भीर प्रकृतिका जोखिमबाट सेवा लिन सहज होस् भनेर हामीले अस्पताल सञ्चालन गर्ने योजना बनाएका हौं ।’ आचार्यले बन्न लागेको अस्पताल जनरल अस्पताल हुने बताए । महिला स्वास्थ्य (गाइनो) र बालरोग (पेड)लाई डेडिकेटेड गरे पनि पहिलो चरणमा जनरल अस्पतालका रुपमा सञ्चालन गरिनेछ ।  ‘हामीले सञ्चालन गर्न लागेको मल्टिस्पेसालिटी अस्पताल नै हो, जुन एक सय बेड भन्दा माथिको हुन्छ, । लक्षित बालबालिका र गाइनोलाई नै हो,’ आचार्यले भने ।  तीन वर्ष अगाडिदेखि निर्माण कार्य सुरु भएकाले संरचना अन्तिम चरणमा आइसकेको छ । परिवारका ७ जना चिकित्सक आचार्यको परिवारमा ७ जना चिकित्सक छन् । अहिले उनीहरू विभिन्न अस्पतालमा सेवा दिइरहेका छन् । एकै घरमा धेरै व्यक्ति चिकित्सक भइसकेपछि पनि आचार्य परिवारलाई अस्पताल खोल्न प्रेरणा मिलेको हो ।  उनी भन्छन्, ‘श्रीमती, भाइबहिनीलगायत घरैमा धेरै चिकित्सक पनि भयौँ, अर्को गाउँमा ट्रसरी  सेन्टरको सेवा दिने अस्पताल पनि भएन, हामीले आफै सक्ने भएपछि गाउँमै किन सुरु नगर्ने त भन्ने लाग्यो र त्यही अनुसार काम सुरु गर्यौं ।’ आचार्यको परिवारमा उनीसहित डा. जनश आचार्य, डा. ज्योति आचार्य, डा. दीक्षा आचार्य, डा. जेमिश आचार्य , डा. उत्सव आचार्य र डा. सञ्जीव विष्ट गरी ७ जना चिकित्सक छन् ।  डा. आचार्य र उनको परिवार विगत दुई दशकभन्दा बढी समयदेखि विभिन्न व्यवसायमा संलग्न रहँदै आएको छ, जसका कारण व्यवसायीक व्यवस्थापन, वित्तीय अनुशासन र उद्यम सञ्चालनमा राम्रो अनुभव हासिल भएको बताइएको छ । आचार्यले २०८३ सालसम्म अस्पताल सञ्चालनमा ल्याइसक्ने योजना बनाएका छन् । डेढ अर्ब लगानी अर्याल परिवारले सञ्चालन गर्न लागेको अस्पतालमा डेढ अर्ब रुपैयाँ लगानी रहेको सुमनले जानकारी दिए । उनका अनुसार यसको नाम जीबी मेट्रिनिटी एण्ड चाइल्डकेयर जनरल हस्पिटल राखिएको छ ।  जग्गासहित करिब १ अर्ब ४४ करोड रुपैयाँ लागतमा झापाको दमक नगरपालिका-९ मा हस्पिटल बनिरहेको हो । मेट्रिनिटी एण्ड चाइल्डकेयर जनरल हस्पिटल ६९:३१ को ऋण-पुँजी अनुपातमा वित्तीय व्यवस्थापन गरिने छ, जसअनुसार १ अर्ब दीर्घकालीन ऋण र ४४ करोड रुपैयाँ पुँजी रहने बताइएको छ ।  सन् २०२५ नोभेम्बरसम्म हस्पिटल निर्माण प्रगति ५० प्रतिशत पुगेको कम्पनीले जनाएको छ । सन् २०२० मा निर्माण सुरु भएको उक्त अस्पताल करिब २ एकड क्षेत्रफल जग्गामा सञ्चालन हुनेछ । मातृत्व तथा बाल स्वास्थ्य सेवामा विशेष ध्यान दिने उद्देश्यले स्थापना गरिएको यस अस्पतालले झापा, इलाम, मोरङ र भारतका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने दाबी गरेको छ ।

सिवाईसी नेपाल आइएमई लघुवित्तको १३.४३ प्रतिशत लाभांश घोषणा

काठमाडौं । सिवाईसी नेपाल आइएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लाभांश वितरण गर्ने घोषणा गरेको छ । पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कुल १३.४३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैठकले वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २६ करोड ६४ लाख २४ हजार ३८८ रुपैयाँको कुल १३.४३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसमा १३.७६ प्रतिशत अर्थात् ३ करोड ३९ लाख ९३ हजार ९७५ रुपैयाँ बराबरको बोनस सेयर र ०.६७ प्रतिशत अर्थात् १७ लाख ८९ हजार १५७ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ) समावेश छ । संस्थाका अनुसार घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।

स्वरोजगार लघुवित्तले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ । पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैठकले वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ७८ करोड ३९ लाख २४ हजार ४०३ रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसमा १४.२५ प्रतिशत अर्थात् ११ करोड १७ लाख ९ हजार २२८ रुपैयाँ बराबरको बोनस सेयर र ०.७५ प्रतिशत अर्थात् ९५८ लाख ७९ हजार ४३३ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) समावेश छ । संस्थाका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ।

२१.०५ प्रतिशत लाभांश बाँड्ने लाइफ इन्स्योरेन्स कर्पोरेशनको घोषणा

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको २१.०५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ । 

अदालतको एक फैसलाले मस्क मालामाल, नेटवर्थ ७०० अर्ब डलर पार गर्ने पहिलो व्यक्ति

काठमाडौं । हाल विश्वमा एक व्यक्तिमाथि अपार धन वर्षा भइरहेको छ । सम्पत्ति यति तीव्र गतिमा बढिरहेको छ कि उनी प्रायः हरेक दिन नयाँ कीर्तिमान बनाइरहेका छन् । ती व्यक्ति हुन्- एलन मस्क । रोयटर्सका अनुसार एलन मस्क इतिहासकै पहिलो व्यक्ति बनेका छन्, जसको नेटवर्थ ७०० अर्ब अमेरिकी डलर नाघेको छ । इलेक्ट्रिक गाडी निर्माता कम्पनी टेस्लामा मस्कलाई दिइएको ठूलो पारिश्रमिक प्याकेज अदालतको निर्णयबाट पुनः बहाल भएपछि उनको सम्पत्तिमा यसरी भारी वृद्धि भएको हो । गत हप्ता डेलावेयर सुप्रीम कोर्टले मस्कलाई सन् २०१८ मा दिइएको पारिश्रमिक प्याकेजसँग सम्बन्धित स्टक अप्सन पुनः बहाल गरिदिएको हो । यसअघि एक तल्लो अदालतले ती स्टक अप्सन रद्द गरेको थियो । यस निर्णयपछि मस्कको अनुमानित सम्पत्ति बढेर करिब ७४९ अर्ब डलर पुगेको छ । ती स्टक अप्सनको मूल्य अहिले करिब १३९ अर्ब डलर पुगेको छ, जुन पहिलो पटक सम्झौता स्वीकृत हुँदा रहेको ५६ अर्ब डलरको तुलनामा धेरै बढी हो । उच्च अदालतले एलन मस्कको पारिश्रमिक प्याकेज रद्द गर्ने अघिल्लो निर्णय गलत र अनुचित रहेको ठहर गरेको छ । अदालतले सन् २०२४ मा गरिएको त्यो फैसला उल्ट्याएको हो, जसमा उक्त सम्झौतालाई ‘अविश्वसनीय’ भनिएको थियो । प्याकेज पुनः बहाल भएपछि मस्कको सम्पत्तिमा अभूतपूर्व वृद्धि भयो र उनी ठूलो अन्तरसहित विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । गत नोभेम्बरमा टेस्लाका शेयरधारकहरूले एलन मस्कका लागि १ ट्रिलियन डलर बराबरको नयाँ पारिश्रमिक योजना स्वीकृत गरेका थिए । यो कुनै पनि कर्पोरेट कार्यकारीलाई अहिलेसम्म दिइएको सबैभन्दा ठूलो पारिश्रमिक प्याकेज हो । यसले टेस्लालाई केवल इलेक्ट्रिक कारमै सीमित नराखी कृत्रिम बौद्धिकता ९एआई० र रोबोटिक्स क्षेत्रमा पनि अगुवा बनाउने मस्कको योजनाप्रति लगानीकर्ताको बलियो समर्थन देखाउँछ । एलन मस्कका महँगा परियोजना टेस्लासम्म मात्र सीमित छैनन् । उनी स्पेशएक्सका संस्थापक तथा सीईओ हुन्, जुन पुनः प्रयोग गर्न मिल्ने रकेट र स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवाका लागि चर्चित छ । उनका परियोजनामध्ये न्यूरालिंक पनि पर्छ, जसले ब्रेन(कम्प्युटर इन्टरफेस विकास गरिरहेको छ । उनी बोरिङ कम्पनीसँग पनि आबद्ध छन्, जसले सुरुङ निर्माण र नयाँ यातायात प्रणालीमा काम गर्छ । मस्क एक्स कर्प डटका प्रमुख पनि हुन्, जुन पहिले ट्वीटर भनेर चिनिने सामाजिक सञ्जाल प्लेटफर्मको प्यारेन्ट कम्पनी हो । साथै उनी एक्सएआई नामक एआई अनुसन्धान कम्पनीको पनि नेतृत्व गरिरहेका छन्। फोर्ब्सको सूचीअनुसार एलन मस्कको सम्पत्ति अहिले उनका सबैभन्दा नजिकका प्रतिस्पर्धी गुगलका सह–संस्थापक ल्यारी पेजभन्दा करिब ५०० अर्ब डलरले बढी छ । यसै हप्ताको सुरुवातमा मात्र मस्कको नेटवर्थ पहिलो पटक ६०० अर्ब डलर नाघेको थियो । स्पेसएक्सको आईपीओ आउने पनि कुरा छ जसले भविष्यमा उनको सम्पत्ति अझ बढ्न सक्ने संकेत गरेको छ ।

मुक्तिनाथ क्यापिटलको लगानी व्यवस्थापनमा नयाँ योजना सार्वजनिक

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले लगानी व्यवस्थापनअन्तर्गत नयाँ योजना ‘मुक्तिनाथ प्रोटेक्सन पोर्टफोलियो’ सार्वजनिक गरेको छ।  उक्त योजनामा न्यूनतम १० लाख रुपैयाँबाट लगानी सुरु गर्न सकिने कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत लगानीकर्ताले लगानी गरेको रकमको आधारमा दुर्घटना बीमा, औषधोपचार बीमा तथा गम्भीर प्रकृतिका रोगसम्बन्धी बीमाको सुविधा समेत प्राप्त गर्न सक्नेछन् । भविष्यमा हुन सक्ने आकस्मिक दुर्घटना, स्वास्थ्य समस्या जस्ता अनिश्चित घटनाबाट उत्पन्न हुन सक्ने आर्थिक क्षतिलाई न्यूनिकरण गर्नु यस योजनाको मुख्य उद्देश्य रहेको छ । 'आजको लगानी, भोलिको सुरक्षा' भन्ने नारासहित मुक्तिनाथ क्यापिटलले लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्दै उत्कृष्ट लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । कम्पनीका अनुसार यो योजनाले एकातर्फ लगानीबाट लाभ आर्जन गर्ने अवसर प्रदान गर्नेछ भने अर्कोतर्फ भविष्यमा हुन सक्ने स्वास्थ्यसम्बन्धी जोखिमबाट हुने आर्थिक क्षतिबाट समेत सुरक्षा प्रदान गर्नेछ ।