ट्राफिक सप्ताहबाट ३ लाख ८० हजारभन्दा बढी लाभान्वित, नागरिक र प्रहरीबीचको सम्बन्ध सुधार्ने लक्ष्य
काठमाडौं । ट्राफिक सचेतनाको कमी र लापरवाहीका कारण हुने सडक दुर्घटना न्यूनीकरण गर्ने मुख्य उद्देश्यका साथ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ट्राफिक सप्ताह तथा सडक दुर्घटना न्यूनीकरण अभियान २०८२ सम्पन्न भएको छ । गत पौष २६ गतेदेखि सुरु भएको साताव्यापी अभियानबाट ३ लाख ८० हजारभन्दा बढी सडक प्रयोगकर्ता प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । सडक विकासको पर्याय भए पनि बढ्दो दुर्घटनाले ठूलो धनजनको क्षति निम्त्याइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै काठमाडौं उपत्यकामा ७ हजार १६९ सवारी दुर्घटनामा १९० जनाले ज्यान गुमाएका छन् भने हजारौं घाइते भएका छन् । यो भयावह अवस्थालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले नागरिक केन्द्रित अभियान सञ्चालन गरेको ट्राफिक कार्यालयको भनाइ छ । अभियानको पूर्वसन्ध्यामा पौष २५ गते आयोजित रक्तदान कार्यक्रमबाट सप्ताहको सुरुवात गरिएको थियो, जहाँ १३९ जनाले रक्तदान गरेका थिए । साताभरि ट्राफिक प्रहरीले सडक प्रयोगकर्तालाई शिक्षित र जागरुक बनाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्यो । जसमा ५० हजारभन्दा बढी पर्चा, पम्प्लेट वितरण तथा डिजिटल होर्डिङ बोर्ड र सामाजिक सञ्जालमार्फत प्रचार/प्रसार गरिएको जनाएको छ । चालकहरूसँग चिया कार्यक्रम, निःशुल्क आँखा जाँच, सवारीसाधनको प्राविधिक जाँच र नयाँ प्रविधिबारे तालिम दिन नाडासँग सम्झौता समेत भएको छ । विद्यार्थी, पैदलयात्री र सर्वसाधारणका लागि अन्तरक्रिया, प्रभातफेरी, नागरिक सुनुवाइ तथा दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन गरिएको ट्राफिक कार्यालयले जनाएको छ । ट्राफिक कार्यालय अनुसार पिक एन्ड ड्रप व्यवस्थापन, जेब्रा क्रसिङ र रोड मार्किङ, र सडक छेउका रुख छाँटकाँट जस्ता कार्यहरू गरिएको छ । यस्तै, ट्राफिक प्रहरी कर्मचारीका लागि इन्फ्लुएन्जा खोपको सुरुवात र उनीहरूको मनोबल बढाउन विभिन्न सम्मान कार्यक्रम गरिएको बताइएको छ । पौष २६ गते प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा वसन्तपुरबाट निकालिएको विशाल सचेतना र्यालीमा १० हजारभन्दा बढीको सहभागिता थियो । सोही दिन जनस्तरबाट पुनर्निर्मित कार्यालय भवन र मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको समेत उद्घाटन गरिएको थियो । जेनजी आन्दोलनपश्चात अस्तव्यस्त बनेको सडक व्यवस्थापन र प्रहरीको खस्किएको मनोबललाई उकास्न पनि यो अभियान महत्त्वपूर्ण रहेको ट्राफिक कार्यालयले जनाएको छ । ‘जसरी घरमा अनिष्ट नहोस् भनेर सप्ताह लगाइन्छ, हामीले सडकमा नागरिकको घरमा चोटपटक नलागोस् र कसैले दुर्घटनाको शिकार बन्न नपरोस् भनेर यो सप्ताह लगाएका हौं,’ ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीकाले भने । सडक दुर्घटनाको सबैभन्दा बढी जोखिममा युवा वर्ग रहेको उनको भनाइ छ। ‘युवाहरूको कानसम्म हाम्रो सन्देश पुगोस् र उनीहरूलाई दुर्घटनाको जोखिमबाट बचाउन सकियोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो,’ उनले थपे । ट्राफिक प्रहरीको प्रयासको चौतर्फी प्रशंसा भए पनि सडक सुरक्षासँग सम्बन्धित अन्य सरकारी निकायहरूको उदासीनताप्रति भने चर्को आलोचना भएको थियो । राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आक्रोश पोख्दै भने, ‘पौष २६ गतेदेखि ट्राफिक प्रहरी सडकमा खटिँदा यातायात व्यवस्था विभाग कहाँ गयो ? सडक विभाग कहाँ गयो ? सडक बोर्ड कहाँ गयो ?’ उनले कर उठाउने तर जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले गर्दा दुर्घटना न्यूनीकरणको सम्पूर्ण भार ट्राफिक प्रहरी, व्यवसायी र आम नागरिकको काँधमा आइपरेको बताए । सिटौलाका अनुसार नेपालमा रहेका ६२ लाख सवारीसाधनमध्ये उपत्यकामा मात्रै २४ लाख मोटरसाइकल छन् र ८० प्रतिशतभन्दा बढी दुर्घटना दुई पाङ्ग्रे सवारीबाटै हुने गरेको छ । शनिबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीकै प्रमुख आतिथ्यतामा विभिन्न सचेतनामूलक प्रस्तुतिसहित अभियानको समापन गरिएको थियो । प्रहरीले सप्ताह सकिए पनि दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनको जिम्मेवारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । दुर्घटनामुक्त सडकको परिकल्पना साकार पार्न ट्राफिक नियमको पालना गर्दै आफू बच्न र अरुलाई पनि बचाउन सबै सडक प्रयोगकर्तालाई आह्वान गरिएको छ ।
धर्म चौधरी उज्यालो नेपाल पार्टीको महासचिवमा सर्वसम्मत चयन, आजै प्रदेश सभा सदस्यबाट राजीनामा
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता तथा पूर्व प्रदेश भौतिक पूर्वाधार तथा यातायात मन्त्री धर्म चौधरी उज्यालो नेपाल पार्टीको महासचिव पदमा सर्वसम्मत रूपमा चयन भएका छन् । पार्टी स्रोतका अनुसार हालै सम्पन्न उज्यालो नेपाल पार्टीको केन्द्रीय बैठकले चौधरीलाई महासचिवमा चयन गर्ने निर्णय गरेको हो । संगठन विस्तार, नीतिगत स्पष्टता र वैकल्पिक राजनीतिक धार निर्माणमा अनुभवी नेतृत्व आवश्यक रहेको ठहर गर्दै उनको नाममा सर्वसम्मति जुटेको बताइएको छ । महासचिवमा चयन भएसँगै चौधरीले आजै लुम्बिनी प्रदेश सभा सदस्य पदबाट राजीनामा दिने तयारी गरेका छन् । उनले पार्टीको जिम्मेवारीलाई प्राथमिकता दिँदै प्रदेश सभा सदस्य पदबाट अलग हुने निर्णय गरेको जनाइएको छ ।
कांग्रेस शेखर कोइराला समूहको भेला आज, आन्तरिक रणनीतिमा छलफल हुने
काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले आइतबार (आज) अपरान्ह आफूनिकट नेताहरूको भेला बोलाएको छ । अनुपम फुडल्यान्डमा नेताहरू आउनेक्रम चलिरहेको नेता बद्री पाण्डेले जानकारी दिए । पार्टीभित्र पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, नेतृत्व विवाद र संगठनात्मक अवस्थाबारे साझा धारणा बनाउने उद्देश्यले भेला बोलाइएको पाण्डेको भनाइ छ । विशेष गरी नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक मतभेद, आगामी रणनीतिक मोर्चामा पार्टीको भूमिकाबारे गम्भीर छलफल हुने बताइएको छ । भेलामा केन्द्रीय तहका नेताहरू, सांसदहरू, पूर्वसांसदहरू तथा शेखर कोइराला पक्षधर प्रभावशाली नेताहरूको सहभागिता रहने छ । पार्टीभित्र एकता, लोकतान्त्रिक अभ्यास र निर्णय प्रक्रियामा पारदर्शिताको विषय पनि छलफलको प्रमुख एजेन्डा हुने अनुमान गरिएको छ ।
गुहेश्वरी मर्चेन्ट बैंकिङको कामु सीईओमा अर्चना प्रधान नियुक्त
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा अर्चना प्रधान नियुक्त भएकी छन् । संस्थाको माघ २ गते बसेको सञ्चालक समितिको बैठकले सहायक महाप्रबन्धक प्रधानलाई कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । निर्णयअनुसार प्रधानले माघ ४ गतेदेखि लागू हुने गरी कामु सीईओको कार्यभार सम्हाल्नेछिन् । यसअघि बैंकका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले दिएको राजीनामा स्वीकृत भएपछि रिक्त रहेको पदमा प्रधानलाई कामु सीईओको जिम्मेवारी दिइएको संस्थाले जनाएको छ ।
सरकारले १३ खर्ब लगानी डुबाउन खोजेको इप्पानको आरोप
काठमाडौं । तत्कालीन सरकारले १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने महत्त्वाकांक्षी लक्ष्य सार्वजनिक गरे पनि विद्युत् खरिद सम्झौता (पीपीए) रोकेर निजी क्षेत्रलाई निराश बनाएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आरोप लगाएको छ । इप्पानको २६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष गणेश कार्कीले सरकारको लक्ष्य र निजी क्षेत्रले भोगिरहेको यथार्थबीच ठूलो विरोधाभास रहेको बताए। उनले निजी क्षेत्रको १३ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसक्दा पनि सरकारको असहयोगका कारण उत्साह निराशामा परिणत भएको गुनासो गरे । ‘सरकारले २८ हजार ५ सय मेगावाटको लक्ष्य लिँदा र भारतसँग निर्यात सम्झौता गर्दा हामी उत्साहित थियौं । तर अहिले ुबिजुली नचाहिने हो किु जस्तो व्यवहार भइरहेको छ,’ अध्यक्ष कार्कीले भने । नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि पीपीए रोकेकोप्रति चर्को असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष कार्कीले यसले समग्र ऊर्जा क्षेत्रलाई ठप्प बनाएको बताए । ‘हामीले १३ हजार मेगावाटका लागि पीपीए आवेदन दिएका छौं, तर सबै रोकिएको छ । ३० हजार मेगावाटका लाइसेन्सहरू कि त होल्डमा छन् कि खारेजीको प्रक्रियामा छन्,’ उनले भने। उनले करिब ३ खर्ब रुपैयाँको थप लगानी पाइपलाइनमा रहेको जानकारी दिँदै प्रश्न गरे, ‘यदि पीपीए नखोल्ने र लाइसेन्स खारेज गर्ने हो भने के राज्यले निजी क्षेत्रको यो ३ खर्ब लगानी कोल्याप्स गराउन खोजेको हो ?’ अध्यक्ष कार्कीले सरकार र प्राधिकरणसँग स्पष्ट माग राख्दै यदि प्राधिकरणले बिजुली किन्न नसक्ने हो भने निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिनुपर्ने बताए । ‘यदि प्राधिकरणले बिजुली किन्न सक्दैन भने हामीलाई लाइसेन्स दिनुहोस्। हामी आफै आन्तरिक र बाह्य बजार खोजेर बेच्छौं,’ उनले भने, ‘हामीले भारतसँग सम्झौता गरिसकेका छौँ, अब कानुन र नीतिको अड्चन देखाएर रोक्न पाइँदैन ।’ एकातिर सरकारले प्रसारण लाइन समयमा बनाउन नसकेको र अर्कोतिर आयोजना ढिलाइ हुँदा निजी क्षेत्रलाई पेनाल्टी लगाउन खोजेको भन्दै कार्कीले आपत्ति जनाए । उनले करिब ८० वटा आयोजनाको व्यापारिक उत्पादन मिति (आरसीओडी) कटिसकेको जानकारी दिए । यसबाहेक सर्वोच्च अदालतको एक फैसलाले निकुञ्ज क्षेत्रका १९ हजार मेगावाटका आयोजना प्रभावित भएको र २०७७ सालदेखि वन मन्त्रालयमा ईआईए र रुख कटानका फाइलहरू अड्किँदा काम अघि बढ्न नसकेको गुनासो उनले गरे । नीतिगत अनिश्चितता र प्रसारण लाइन अभावले उत्पादन भएको बिजुली समेत बेच्न नपाउँदा हाइड्रोपावर कम्पनीहरूले बैंकको ब्याज तिर्न र लगानीकर्तालाई लाभांश दिन नसकेको अध्यक्ष कार्कीले बताए । यसको प्रत्यक्ष असर सेयर बजारमा परेको र अधिकांश हाइड्रोपावर कम्पनीको सेयर मूल्य अंकित मूल्य (१०० रुपैयाँ) भन्दा तल झरेको उनको भनाइ थियो । तत्काल पीपीए खुल्ला गरिनुपर्ने, निजी क्षेत्रलाई विद्युत् व्यापारको लाइसेन्स दिनुपर्ने,वन तथा अर्थ मन्त्रालयसँग समन्वय गरी नीतिगत गाँठो फुकुवा गर्नुपर्ने, काबू बाहिरको परिस्थितिका लागि आरसीओडीको म्याद थप र पेनाल्टी मिनाहा गरिनुपर्ने, प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई पनि सहभागी गराउनुपर्ने, १६ वटा मन्त्रालय धाउनुपर्ने झन्झट हटाएर ऊर्जा मन्त्रालयबाटै एकद्वार प्रणाली लागू गर्नुपर्ने लगायतका मागहरू इप्पानले राखेको छ । अध्यक्ष कार्कीले यी मागहरू पूरा नभए सरकारले देखेको १० वर्षमा २८ हजार ५ सय मेगावाटको लक्ष्य केवल सपनामा सीमित हुने चेतावनी दिए ।
युवाको नेतृत्वमा एआई क्रान्ति : अर्ब डलर स्टार्टअप जन्माउने २० वर्षे पुस्ता
काठमाडौं । विश्वका केही सबैभन्दा सफल स्टार्टअपहरू युवा संस्थापकहरूले सुरु गरेका थिए । उदाहरणका लागि बिल गेट्स वा मार्क जुकरबर्गलाई हेरौं । दुवै जना आफ्नो उद्यम सुरु गर्दा मात्र १९ वर्षका थिए । तर अहिले अर्ब डलर मूल्यका कृत्रिम बौद्धिकता (एआई) स्टार्टअपहरूको उदयसँगै एउटा नयाँ प्रवृत्ति देखिएको छ । औसतमा हेर्दा यस्ता स्टार्टअपका संस्थापकहरू झन् कम उमेरका हुँदै गएका छन् । विश्वव्यापी प्रारम्भिक चरणको भेन्चर क्यापिटल फर्म एन्टलरले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार एआई युनिकर्न (एक अर्ब डलरभन्दा बढी मूल्यका स्टार्टअप) का संस्थापकहरूको औसत उमेर २०२१ मा ४० वर्षको उच्च बिन्दुमा पुगेको थियो भने २०२४ मा घटेर २९ वर्षमा झरेको छ । यस प्रतिवेदनका लागि एन्टलरले विश्वभरका १ हजार ६२९ युनिकर्न र ३ हजार ५१२ संस्थापकहरूको अध्ययन गरेको थियो । तर अन्य उद्योगहरूमा भने संस्थापकहरूको उमेर बढ्दो क्रममा छ । सन् २०१४ मा युनिकर्न बन्ने स्टार्टअपका संस्थापकहरू औसतमा सुरु गर्दा ३० वर्षका थिए । तर २०२२ देखि २०२४ को बीचमा युनिकर्न बनेका स्टार्टअपका संस्थापकहरूको औसत उमेर ३४ वर्ष पुगेको छ । पछिल्लो एक वर्षमा युवा संस्थापक भएका थुप्रै एआई स्टार्टअपहरू चर्चामा आएका छन् । २९ अर्ब डलर मूल्यको एआई डेटा लेबलिङ कम्पनी स्केल एआईका सह–संस्थापक एलेक्जेन्डर वाङ अहिले मात्र २९ वर्षका छन् । मेटाले जुन महिनामा स्केल एआईसँग १४.३ अर्ब डलरको सम्झौता गर्दै वाङलाई भित्र्याएर ‘टीबीडी ल्याब्स’ नामक नयाँ एआई अनुसन्धान इकाइको नेतृत्व सुम्पिएको थियो । यसअघि ६५ वर्षे ‘एआई गडफादर’ यान लेकुनको नेतृत्वमा रहेको मेटाको जेनेरेटिभ एआई टोली, यसको एलएलएएमएफोर मोडल अपेक्षित रूपमा सफल नहुँदा पुनःसंरचना गरिएको थियो । यस पुनःसंरचनापछि वाङ लेकुनका प्रबन्धक बने । यसैबीच, एआईमा आधारित प्रतिभा खोज तथा भर्ती प्लेटफर्म मर्करका सहसंस्थापक ब्रेन्डन फुडी, आदर्श हिरिमथ र सूर्य मिधा सबै अहिले २२ वर्षका छन् । हालै यस कम्पनीको मूल्यांकन १० अर्ब डलरभन्दा बढी भएको छ । त्यस्तै, एआई सहयोगी कोडिङ तथा डेभलपर प्लेटफर्म एनीस्फियर पनि एक अर्ब डलरभन्दा बढी मूल्यांकनसहित २० वर्ष आसपासका युवाहरूको नेतृत्वमा छ । एन्टलरका सह–संस्थापक तथा प्रमुख व्यवसाय अधिकृत फ्रिड्टजोफ बर्जेका अनुसार अब संस्थापकसँग गहिरो उद्योग अनुभव हुनु अनिवार्य मानिँदैन । बरु चतुर, उद्यमशील र नयाँ उपाय खोज्न सक्ने क्षमता बढी मूल्यवान् ठानिन थालेको छ । ‘एआईको युगमा प्रयोग गर्न इच्छुक र सक्षम हुन, परम्परागत कर्पोरेट अनुभव वा लामो सेवाभन्दा बढी महत्त्वपूर्ण हुन थालेको छ,’ उनले भने । ‘परम्परागत कम्पनी निर्माणको धेरै अनुभव हुनु कहिलेकाहीँ उल्टै हानिकारक पनि हुन सक्छ । किनकि त्यसले पूर्ण रूपमा नयाँ सोच (ब्ल्याङ्क स्लेट) बाट सोच्न अवरोध गर्न सक्छ । अत्याधुनिक र नयाँ प्रविधिमा प्राविधिक रूपमा निपुण हुनका लागि कहिलेकाहीँ युवा हुनु फाइदाजनक हुन्छ, किनकि त्यही विषय तपाईंले हालसालै अध्ययन वा प्रशिक्षणमा सिकेको हुन्छ,’ उनले थपे । एन्टलरको प्रतिवेदनले एआई स्टार्टअपहरू अन्य उद्योगको तुलनामा औसतमा दुई वर्ष छिटो विस्तार भइरहेको पनि देखाएको छ । यी स्टार्टअपहरू औसत ४.७ वर्षमै युनिकर्न बन्न सफल भएका छन् । २०२५ मा तीव्र गतिमा विस्तार भएका एआई स्टार्टअपका उदाहरणहरूमा मिस्ट्रल , लभेबल र सुनो एआई पर्दछन् । र जुकरबर्गकै उदाहरणले देखाउँछ— कलेजको होस्टेल कोठामा जन्मिएको एउटा अनौठो विचारले पनि असाधारण सफलता हासिल गर्न सक्छ । ‘उनी अत्यन्तै युवा थिए, तर समयसँगै आफूलाई ढाल्दै संसारकै ठूला कम्पनीमध्ये एकको नेतृत्व गरिरहेका छन्,’ बर्जेले भने । भेन्चर क्यापिटल फर्म लियोनिसले नोभेम्बरमा सार्वजनिक गरेको एक प्रतिवेदनले पनि एआई स्टार्टअपका संस्थापकहरूको मध्यम (मिडियन) उमेर २९ वर्ष रहेको देखाएको छ । अधिकांश संस्थापकहरू मध्य–२० देखि अन्तिम–२० को उमेर समूहका छन् र धेरैजसो कर्पोरेट करिअरभन्दा सिधै शैक्षिक संस्था वा अनुसन्धान प्रयोगशालाबाट आएका हुन्छन् । बर्जेले भने, ‘२० वर्ष आसपासका युवाहरूमा कम्पनीलाई छिटो अघि बढाउने गुण हुन्छ । तर कम्पनी परिपक्व हुँदै जाँदा नेतृत्व परिवर्तन हुनु सामान्य कुरा हो ।’ उनको निष्कर्ष छ– युवा उमेरमै कम्पनी सुरु गर्नु नयाँ कुरा होइन तर अहिले युनिकर्न बनाइरहेका सबै संस्थापकहरू नै पाँचदेखि दस वर्षपछि पनि ती कम्पनीको नेतृत्वमै रहनेछन् भन्ने ग्यारेन्टी हुँदैन ।
नेपाल बैंकका ग्राहकलाई ब्ल्याक हर्स जुत्तामा २० प्रतिशतसम्म छुट
काठमाडौं । नेपाल बैंक लिमिटेड र ब्ल्याक हर्स इण्डष्ट्रिज प्रालिबीच सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक तथा बैंकमा कार्यरत कर्मचारीले ‘ब्ल्याक हर्स’ ब्राण्डका जुत्ता खरिद गर्दा १० देखि २० प्रतिशतसम्म छुट पाउनेछन् । काठमाडौंको नागार्जुनमा रहेको जुत्ता उत्पादन उद्योग ब्ल्याक हर्स इण्डष्ट्रिज प्रालिले उत्पादन तथा बिक्री गर्दै आएका विभिन्न किसिमका जुत्तामा यो छुट सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ । छुट सुविधा बिल रकममा लागु हुने जनाइएको छ । सम्झौतापत्रमा पुस ३० गते नेपाल बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान विभागका प्रमुख निर्मल सुवेदी र ब्ल्याक हर्स इण्डष्ट्रिज प्रालिका तर्फबाट प्रबन्ध निर्देशक चिनबहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि नेपाल बैंकका ग्राहक तथा कर्मचारीले ब्ल्याक हर्स इण्डष्ट्रिजद्वारा उत्पादित ‘ब्ल्याक हर्स’ ब्राण्डका जुत्ता देशभर रहेका आधिकारिक विक्रेतामार्फत सुपथ मूल्यमा खरिद गर्न सक्नेछन् । बैंकले यस्ता सहकार्यबाट ग्राहकलाई थप सुविधा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।
नेपालमा टिभिएस अपाचे रेसिङको औपचारिक सुरुआत
काठमाडौं । विश्वप्रसिद्ध दुई तथा तीनपाङ्ग्रे सवारी साधन निर्माता टिभिएस मोटर कम्पनीले टिभिएस अपाचे अनुभव (एआरई–जीपी) कार्यक्रम पहिलोपटक नेपालमा सुरु गरेको छ । टिभिएस अपाचे शृङ्खलाको २० वर्ष पूरा भएको अवसर पारेर सुरु गरिएको यस रेसिङ कार्यक्रमले नेपाली चालकलाई अन्तर्राष्ट्रिय स्तरको मोटरस्पोर्ट्स अनुभव प्रदान गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ । सतुंगलस्थित सवारी साधन तालिम तथा अनुसन्धान केन्द्रमा सम्पन्न छनोट चरणमा ६० जना चालकले प्रतिस्पर्धा गरेका थिए भने करिब २०० जना दर्शकको उपस्थिति रहेको थियो । १० वटा चुनौतीपूर्ण मोड समेटिएको पेशागत रूपमा तयार पारिएको ट्र्याकमा चालकहरूको प्रदर्शन सबैभन्दा छिटो घुम्ती समयका आधारमा मूल्यांकन गरिएको थियो । प्रतियोगितामा १६० सीसी र २०० सीसी गरी दुई वर्ग समावेश गरिएको थियो । प्रत्येक वर्गका उत्कृष्ट तीन चालकलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कारका साथै विशेष टिभिएस राइडिङ सामग्री प्रदान गरिएको छ। साथै, वर्ग विजेताहरूले भारतको चेन्नईस्थित मद्रास अन्तर्राष्ट्रिय सर्किटमा आयोजना हुने एआरई–जीपी फाइनल चरणमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गरेका छन् । कार्यक्रममा टिभिएस रेसिङका अनुभवी चालकहरूले सहभागीहरूलाई पेशागत तालिम र मार्गदर्शन प्रदान गरेका थिए । टिभिएस मोटर कम्पनीका प्रिमियम व्यवसाय प्रमुख विमल सुम्ब्लीले टिभिएस अपाचेको दुई दशक लामो रेसिङ यात्रालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्नु स्वाभाविक निरन्तरता भएको बताए । त्यस्तै, जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले मोटरस्पोर्ट्सले युवाहरूको सम्भावनालाई सही दिशामा लैजाने उल्लेख गर्दै एआरई–जीपीले नेपाली चालकलाई अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने ढोका खोल्ने विश्वास व्यक्त गरे । दिनभर सञ्चालन भएको कार्यक्रममा स्टन्ट प्रदर्शन, जिमखाना अभ्यास तथा मनोरञ्जनात्मक डिस्क जकी कार्यक्रमसमेत आयोजना गरिएको थियो ।