विकासन्युज

भदौ २३ र २४ को आन्दोलनपछि पहिलो पट बस्यो राष्ट्रिय सभाको बैठक

काठमाडौं । जेनजी आन्दोलनपछि पहिलो पटक संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक सुरु भएको छ । चार महिनाको लामो अन्तरालपछि आइतबार (आज) सिंहदरबारस्थित संसद भवनमा हिउँदे अधिवेशनअन्तर्गत राष्ट्रिय सभाको बैठक सुरु भएको हो । बैठकको प्रारम्भमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद् लामो समय सञ्चालन हुन नसक्नुको कारणबारे संक्षिप्त जानकारी गराउँदै लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन संसद्‌को भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।  उनले संवाद र सहमतिमार्फत संसद्‌को कार्यसूचीलाई अघि बढाउन सबै दललाई आग्रहसमेत गरेका छन् । हिउँदे अधिवेशनमा सरकारका तर्फबाट बिजनेस भने खासै नआएको बताइएको छ । जेनजी आन्दोलनपछि बसेको यो पहिलो बैठकले संसद्‌को आगामी दिशा, दलहरूबीचको सहकार्यलगायतका विषयमा छलफल गर्ने जनाइएको छ । लामो समयपछि संसद् सञ्चालनमा आएकाले विधेयक निर्माण, नीति निर्माण र सरकारको उत्तरदायित्व सुनिश्चित गर्ने प्रक्रियाले गति लिने अपेक्षा गरिएको छ ।

२६ वर्षमा १३ खर्ब लगानी, ४ हजार मेगावाट विद्युत उत्पादन

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको १३ खर्ब १० अर्ब लगानी भएको पाइएको छ ।  स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को २६औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक भएको ‘स्टडी अन इन्भेस्टमेन्ट अफ हाइड्रोपावर सेक्टर’  प्रतिवेदनले यस्तो जनाएको हो ।  इप्पान र बीएफआइएस न्युजको सहकार्यमा उक्त अनुसन्धान सम्पन्न भएको इप्पानले जनाएको छ ।  प्रतिवेदनमा सरकारी क्षेत्रको एक खर्ब एक अर्ब भन्दा माथि लगानी भएको पाइएको छ । निजी क्षेत्रले प्रवर्द्धन गरेका सञ्चालनमा रहेका र निर्माणाधीन आयोजनामा बैंकिङ क्षेत्रको कुल लगानी ८ खर्ब ७० अर्ब रहेको छ भने निजी क्षेत्रको सेयर लगानी ४ खर्ब ३ अर्ब रुपैयाँ रहेको छ ।  त्यसैगरी, जलविद्युत कम्पनीहरूले निष्काशन गरेको आइपीओ एक करोड ६३ लाख जनाले प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ । यही अवधिमा गरिएको अनुसन्धानबाट दोस्रो बजारमा एक करोड ८ लाख सेयरधनी रहेको पाइएको छ । जलविद्युत कम्पनीले सर्वसाधारण लगानीकर्तामा आइपीओ जारी गरेर ४१ अर्ब ६५ करोड रुपैयाँ संकलन गरेका छन् । कार्यक्रममा  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको सक्रियताले नेपाललाई लोडसेडिङमुक्त बनाउँदै विद्युत निर्यात गर्ने अवस्थामा पुर्‍याएको बताए ।  हाल नेपालको कुल विद्युत उत्पादन करिब ४ हजार मेगावाट पुगेको र यसमध्ये ३३०० मेगावाटभन्दा बढी निजी क्षेत्रको योगदान रहेको उल्लेख गर्दै उनले यसलाई गर्वको विषय भएको बताए । मन्त्री सिन्हाका अनुसार ५–१० मेगावाटका साना आयोजनाबाट सुरु भएको निजी क्षेत्रको यात्रा आज १०० मेगावाटभन्दा ठूला आयोजनासम्म पुगेको छ । ऊर्जा क्षेत्रको विकासले शिक्षा, स्वास्थ्य र स्थानीय विकासमा पनि ठूलो सहयोग पुगेको भन्दै उनले सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य लिएको जानकारी दिए । उनले भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भइसकेको र बंगलादेशमा पनि निर्यात प्रक्रिया अगाडि बढेको बताए। तर कानुनी तथा नीतिगत सुधार, विद्युत खरिद सम्झौता, प्रसारण लाइन विस्तार, वन तथा जग्गा प्राप्तिका जटिलताजस्ता चुनौती अझै कायम रहेको उनले स्वीकार गरे ।  ‘टेक एन्ड पे’ र ‘टेक अर पे’ जस्ता नीतिमा स्पष्टता ल्याउनुपर्ने र वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रियालाई सहज बनाउनुपर्ने आवश्यकता उनले औंल्याए । मन्त्री सिन्हाले निजी क्षेत्रले भौतिक पूर्वाधारसँगै अनुसन्धान, कानुनी दक्षता र जनशक्ति विकासमा पनि लगानी गर्नुपर्नेमा जोड दिए । साथै आगामी निर्वाचनमा विकासप्रेमी र ऊर्जा क्षेत्रको महत्त्व बुझ्ने जनप्रतिनिधि चयन गर्नुपर्ने सुझाव पनि दिए । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्र पाण्डेले नेपालमा बढ्दो जलविद्युत् उत्पादनको उचित उपयोगका लागि स्वदेशमै विद्युत् खपत बढाउनुपर्नेमा जोड दिएका छन् ।  कार्यक्रममा अध्यक्ष पाण्डे ले जलविद्युत् क्षेत्र नेपाली अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्नुपर्ने उल्लेख गर्दै विद्युत् खपतमार्फत तीव्र आर्थिक वृद्धि हासिल गर्न सकिने धारणा राखे ।  उनका अनुसार उद्योग क्षेत्र ठूलो परिमाणमा विद्युत् खपत गर्ने क्षेत्र भए पनि कुल गार्हस्थ उत्पादन (जीडीपी) मा उद्योगको योगदान सन् १९९६ को ९ प्रतिशतबाट घटेर हाल ५ प्रतिशतभन्दा कममा झरेको छ । यद्यपि कुल विद्युत् खपतको ३५ प्रतिशतभन्दा बढी हिस्सा औद्योगिक क्षेत्रबाट हुने गरेको र पिक आवरमा १८०० मेगावाट मागमध्ये करिब ३३–३५ प्रतिशत उद्योगबाट आउने उनले जानकारी दिए । अध्यक्ष पाण्डेले ऊर्जा क्षेत्र विदेशी मुद्रा आर्जन र व्यापार घाटा न्यूनीकरणका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै जलविद्युत् क्षेत्रमा नेपाली निजी क्षेत्रले जोखिम मोलेर उल्लेखनीय उद्यमशीलता देखाइरहेको बताए । सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको सन्दर्भमा खर्बौं लगानी आवश्यक पर्ने र त्यसका लागि विदेशी लगानी पनि अपरिहार्य हुने उनको भनाइ थियो ।  विद्युत् व्यापारमा निजी क्षेत्रलाई खुला गर्नुपर्ने माग लामो समयदेखि उठाउँदै आएको स्मरण गराउँदै उनले विद्युत् नियमन आयोगले हालै जारी गरेको प्रसारण तथा वितरणमा खुला पहुँचसम्बन्धी निर्देशिकालाई सकारात्मक कदमको रूपमा स्वागत गरे ।  यसै कार्यक्रममा नेपाल चेम्बर अफ कमर्श (सीएनआई)का कार्यवाहक अध्यक्ष नेपालको जलविद्युत् इतिहास दक्षिण एसियामै पुरानो रहेको स्मरण गराउँदै सन् १९११ (विसं १९६७) मा फर्पिङमा ५०० किलोवाटको आयोजना स्थापना भएको उल्लेख गरे । उनले जलविद्युत् आयोजना विकासमा सर्भे लाइसेन्सदेखि पीपीए र निर्माण सम्पन्न गर्न १०–१२ वर्ष लाग्ने अवस्थालाई जटिल कानुनी तथा प्रक्रियागत समस्याको परिणाम बताए । एक आयोजनाका लागि १६ वटा मन्त्रालय धाउनु पर्ने अवस्थाले लगानीकर्तालाई निरुत्साहित गरेको भन्दै उनले ‘सिंगल विन्डो सिस्टम’ तत्काल लागू गर्न सरकारसँग माग गरे ।  अध्यक्ष गणेश कार्कीले हाल देशभर ९०० भन्दा बढी जलविद्युत आयोजनाले लाइसेन्स लिएर काम अघि बढाइसकेको जानकारी दिए । उनका अनुसार ११ हजार ६ सय मेगावाट क्षमताका आयोजनाहरू विभिन्न चरणमा छन् भने करिब १६ हजार मेगावाट बराबरको विद्युत खरिद सम्झौता (पीपीए) भइसकेको छ । यसमध्ये ४ हजार मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा जोडिइसकेको छ भने ५ हजार मेगावाट निर्माणाधीन अवस्थामा रहेको छ । कार्कीले जलविद्युत क्षेत्रमा जनताको व्यापक लगानी रहेको उल्लेख गर्दै करिब १ करोड १३ लाख नेपालीले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यस क्षेत्रमा लगानी गरिसकेको बताए । हालसम्म जलविद्युत क्षेत्रमा १३ खर्ब १० अर्ब रुपैयाँ बराबरको लगानी भइसकेको पनि उनले जानकारी दिए ।  सरकारले अघि सारेको २८ हजार ५०० मेगावाट उत्पादन गर्ने ऊर्जा मार्गचित्र स्वागतयोग्य रहेको भन्दै आन्तरिक खपतका लागि १३ हजार ५०० मेगावाट र छिमेकी मुलुकमा १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य सकारात्मक रहेको उनको धारणा थियो । यद्यपि उनले बजेटमार्फत आएको ‘टेक एण्ड पे’ नीतिले लगानीकर्तामा निराशा पैदा गरेको बताए । साथै निजी क्षेत्रलाई विद्युत व्यापारमा प्रवेश गर्न अनुमति दिनुपर्ने, प्रसारण लाइन अभावका कारण उत्पादित विद्युत खेर गइरहेको र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) तथा प्रारम्भिक वातावरणीय परीक्षण (आईईईई) प्रक्रिया अत्यन्तै झन्झटिलो बनेको गुनासो गरे । अध्यक्ष कार्कीले वन मन्त्रालयसहित १६ वटा मन्त्रालय धाउँदा आयोजनाको समय र लागत बढेको, बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिका कारण समस्या थपिएको भन्दै व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने मिति (आरसीओडी) थप गर्न सरकारसँग आग्रह गरे ।  सेयर निष्कासनमा ढिलाइ हुँदा करिब ३५ वटा आयोजना आइपीओ स्वीकृतिको पर्खाइमा रहेको र विद्युत उत्पादनपछि मात्र सेयर दिने प्रावधानले स्थानीय तथा सर्वसाधारण लगानीकर्ता मारमा परेको उनले बताए । कार्यक्रममा इप्पानका वरिष्ठ उपाध्यक्ष तथा इप्पान डे मुल समारोह समितिका संयोजक महन कुमार डागीले नेपालको समृद्धिका मुख्य आधार ऊर्जा, पर्यटन र कृषि रहेको उल्लेख गर्दै जलविद्युतमा ८२ हजार मेगावाटभन्दा बढी र सोलार ऊर्जामा ४० हजार मेगावाटभन्दा बढी सम्भावना रहेको बताए। हाल देशको कुल विद्युत उत्पादन ३ हजार १९५ मेगावाट पुगेको र निजी क्षेत्रको २६ वर्षे यात्रामा ३ हजार ३३५ मेगावाट उत्पादन गर्न सफल भएको उनले बताए । उनका अनुसार डिजेल, पेट्रोल र एलपिजी ग्यासको आयात घटाउँदै उर्जा खपत बढाउनु नै समृद्धिको आधार हो। निजी क्षेत्रले उत्पादन गरेको विद्युतको हिस्सा ८३ प्रतिशत पुगेको र निर्माणाधीन ५ हजार ७ सय मेगावाट आयोजनामा अझ बढी योगदान रहेको उनले दाबी गरे। डागीले आगामी २/४ वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन हुने निश्चित रहेको भन्दै त्यसको खपत र व्यापारका लागि समयमै नीति नबने गम्भीर समस्या आउन सक्ने चेतावनी दिए। संसारभर प्रमाणित निजी क्षेत्रलाई विद्युत व्यापार र प्रसारण लाइन निर्माणमा अनुमति दिनुपर्नेमा उनले जोड दिए। उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा इप्पानले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।  उनले विगत दुई दशकभन्दा बढी समयदेखि इप्पानले देशको ऊर्जा क्षेत्रलाई सबल बनाउँदै आत्मनिर्भरता हासिल गर्न पुर्‍याएको योगदान राष्ट्रिय विकास र आर्थिक समृद्धिको आधारस्तम्भ भएको उल्लेख गरे । उपराष्ट्रपति यादवले नेपाल जलविद्युत तथा नवीकरणीय ऊर्जामा धनी राष्ट्र भएकाले यस अमूल्य स्रोतको सदुपयोग गरी ऊर्जा आयातमा परनिर्भरता घटाउनुपर्नेमा जोड दिए । ऊर्जा आत्मनिर्भरता आर्थिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएको भन्दै उनले पर्याप्त ऊर्जा बिना विकास सम्भव नहुने स्पष्ट पारे ।  उनका अनुसार सस्तो र पर्याप्त ऊर्जा उपलब्ध भएमा उद्योग, कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा तीव्र विकास भई रोजगारी सिर्जना र आर्थिक समृद्धि सुनिश्चित हुनेछ । साथै ऊर्जा क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । त्यस्तै, इप्पानले यस वर्षदेखि इप्पान जर्नल अवार्डको सुरुवात गरेको  छ । यस वर्षको इप्पान जर्नल अवाड नयाँ पत्रिकाका मिलन विश्वकर्मा र कान्तिपुर दैनिककी सीमा तामाङले प्राप्त गरेकी छिन् । 

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं ।  विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ । चाँदीको मूल्यमा भने केही उतारचढाव आएको छ । आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ भने चाँदी तोलामा २० रुपैयाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ७७ हजार ८०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको सेतो धातुको मोल पाँच हजार ६२५ रुपैयाँ निर्धारण भएको छ ।  गत बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँ र शुक्रबार दुई लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको थियोभने बिहीबार एक तोला चाँदी पाँच  हजार ४८५ र शुक्रबार पाँच हजार ६४५ रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव, डलर विनिमय दर तथा भूराजनीतिक अनिश्चितताका कारण स्थानीय बजारमा पनि मूल्य प्रभावित भएको महासङ्घले जनाएको छ ।  अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५९६ र त्यति नै तौलको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।   

गुल्मी कांग्रेस तीन टुक्रामा विभाजित : असन्तुष्टहरूले गठन गरे बीपी कांग्रेस, सभापतिमा पाण्डे

काठमाडौं । केन्द्रमा नेपाली कांग्रेस दुई टुक्रामा विभाजित हुँदा गुल्मी कांग्रेस तीन टुक्रामा विभाजित भएको छ ।    गगन थापा नेतृत्वको विशेष महाधिवेशनले निर्वाचित गरेको नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता दिएसँगै गुल्मीमा पनि कांग्रेस विभाजित भएको हो ।  गुल्मीमा सभापति थापा नेतृत्वको आधिकारिक समूह, शेरबहादुर देउवा नेतृत्वको समूहसँगै यी दुवै समूहमा नलाग्नेहरूले नेपाली कांग्रेस बीपी गठन गरेका हुन् ।  जिल्ला सभापति खिलध्वज पन्थीसहितको जिल्ला कार्य समितिको बहुमत निर्वाचन आयोगले आधिकारिकता दिएको थापा नेतृत्वमा रहेको नेपाली कांग्रेसमा रहेको जिल्ला नेता महेन्द्र भण्डारीले जानकारी दिए । जिल्लाका पुराना नेता तथा मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्र कुँवर, हरिनारायण सापकोटासहितका नेताहरू देउवा नेतृत्वमा रहेको नेपाली कांग्रेसमा रहेको युवा नेता रविन्द्र घिमिरेले जानकारी दिए । देउवा र थापा दुवै समूहमा नलागेका नेताहरूले विद्रोह गरेर जिल्लामा नेपाली कांग्रेस बीपी जिल्ला कार्य समिति गठन गरेका छन् । नवगठित उक्त कार्य समितिको सभापतिमा नेपाली कांग्रेस गुल्मी जिल्ला कार्य समितिका पूर्वसदस्य सुरेन्द्रप्रसाद पाण्डे रहेका छन् । पाण्डे नेपाल शिक्षक संघ गुल्मीका पूर्वउपसभापति तथा पालुखा मावि इस्माका पूर्वप्रधानाध्यापकसमेत रहिसकेका जिल्लाका चर्चित नेता हुन् । पाण्डेका अनुसार नेपाली कांग्रेसका जिल्लाका अधिकांश नेताहरूसँग छलफल बीपी कांग्रेसले छलफल गरिरहेको छ । पाण्डेले जिल्लाका वडा, पालिका, क्षेत्र र जिल्लाका एक सयभन्दा धेरै नेताहरू बीपी कांग्रेसमा प्रवेश गर्नेगरी छलफल चलिरहेको छ ।

आफूसँग प्रतिस्पर्धा गरेको गुटलाई ओलीले दिएनन् टिकट

काठमाडौं । एमालेको ११औं महाधिवेशनमा आफूसँग प्रतिस्पर्धा गरेका ईश्वर पोखरेल समूहका नेतालाई अध्यक्ष केपी शर्मा ओलीले टिकट वितरणमा वेवास्ता गरेका छन् । एमालेले शनिबार १६५ निर्वाचन क्षेत्रमध्ये एकैपटक १४१ क्षेत्रका उम्मेदवारको टुंगो लगाएको छ । ती कुनै पनि क्षेत्रमा ईश्वर पोखरेलका नेताहरूले टिकट पाएका छैनन् । पोखरेल समूहका उपाध्यक्ष गोकर्ण विष्टले मात्रै टिकट पाएका छन् ।  टिकट वितरणमा ईश्वर पोखरेल खेमालाई पूरै बेवास्ता गरिएको छ । गत मंसिरको ११औं महाधिवेशनमा पदाधिकारीमा प्रतिस्पर्धा गरेका पोखरेल समूहका गोकर्ण विष्टले मात्र टिकट पाएका छन् । ओलीसँग प्रतिस्पर्धा गरेका पोखरेल, महासचिवमा प्रतिस्पर्धा गरेका सुरेन्द्र पाण्डे, उपमहासचिव योगेश भट्टराईले टिकट पाएका छैनन् । उनीहरूको टिकट होल्ड गरिएको छ ।  सचिवका प्रतिस्पर्धी गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का, इन्द्रलाल सापकोटाले पनि टिकट पाएनन् ।  पोखरेल समूहका चर्चित नेताहरु झपट रावल, गणेश पहाडी, एलपी सावा, महेश बस्नेत (इलाम), जय राई, पुरुषोत्तम पौडेल, कृष्ण राई, अमिरबाबु गुरुङ, मनबहादुर गुरुङ, रत्न गौतम, बालकृष्ण सुवेदीले पनि टिकट पाएनन् ।   फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । क-कसले पाए टिकट ?  कैलाली १. द्वारिका न्यौपाने २. सूर्यबहादुर थापा ३. गौरीशंकर चौधरी ४. लेखराज भट्ट ५. यज्ञराज ढुंगाना कञ्चनपुर १. कमला बोहरा २. वचनबहादुर सिंह ३. दीपकप्रसाद भट्ट अछाम १. झपटबहादुर बोहरा २. यज्ञ बोगटी बाजुरा १. लालबहादुर थापा डोटी १. दीपक धामी डडेल्धुरा १. चक्र स्नेही बझाङ १. अफिलाल ओखेडा बैतडी १. दामोदर भण्डारी दार्चुला १. गणेशसिंह ठगुन्ना सल्यान १. गुलाबजंग शाह रूकुम पश्चिम १. नन्दराम देवकोटा सुर्खेत १. ध्रुवकुमार शाही २. कुलमणि देवकोटा कालिकोट १. नागेन्द्र शाही जुम्ला १. शान्तिबहादुर महत मुगु १. पूर्णबहादुर रोकाया जाजरकोट १. डम्बर बहादुर सिंह दैलेख १. रवीन्द्रराज शर्मा २. लक्ष्मीप्रसाद पोखरेल हुम्ला १. दल फडेरा डोल्पा १. लंक रोकाया नवलपरासी १. राम प्रसाद पाण्डे २. भगवती प्रसाद यादव रूपन्देही १. बाँकी २. बाँकी ३. वासुदेव घिमिरे ४. बाँकी ५. खिमलाल भट्टराई पाल्पा १. नारायण आचार्य २. विष्णु पौडेल कपिलवस्तु १. विश्राम चौधरी २. बाँकी ३. वीरेन्द्र प्रसाद कडौनिया दाङ १. बाँकी २. बाँकी ३. घनश्याम पाण्डे बाँके १. सूर्य ढकाल २. बाँकी ३. दलबहादुर सुनार बर्दिया १. शालिकराम अधिकारी २. विमला विक रूकुम पूर्व १. बाँकी रोल्पा १. गोकुल घर्ती प्युठान १. सूर्य बहादुर थापा क्षेत्री अर्घाखाँची १. पिताम्बर भुसाल गुल्मी १. प्रदीप ज्ञवाली २. गोकर्ण विष्ट नवलपुर १. भागीरथ सापकोटा २. तिल बहादुर महत क्षेत्री गोरखा १. आरसी लामिछाने २. मिलन गुरूङ लमजुङ १. पृथ्वीसुब्बा गुरुङ तनहुँ १. भगवती न्यौपाने २. केदार सिग्देल स्याङ्जा १. मीनप्रसाद गुरूङ २. खिमबहादुर थापा म्याग्दी १. हरिकृष्ण श्रेष्ठ कास्की १. बैण बहादुर क्षेत्री २. कृष्ण बहादुर थापा ३. दामोदर बैरागी बागलुङ १. हिरा केसी २. मन्जु शर्मा चालिसे मुस्ताङ १. इन्द्रधारा विष्ट मनाङ १. पोल्देन गुरूङ पर्वत १. पदम गिरी सिन्धुली १. प्रदीप केसी (कटुवाल) २. मनोजजंग थापा रामेछाप १. माधव प्रसाद ढुंगेल दोलखा १. पार्वत गुरूङ सिन्धुपाल्चोक १. आङदोर्जे शेर्पा २. शेर बहादुर तामाङ काभ्रे १. अमित लामा २. बाँकी धादिङ १. भूमी त्रिपाठी २. धन बहादुर घले नुवाकोट १. बद्री मैनाली २. केशव पाण्डे रसुवा १. प्रेम बहादुर तामाङ मकवानपुर १. रामेश्वर राना २. महेश बर्तौला चितवन १. कमलराज पाठक २. अस्मिन घिमिरे ३. शंकरराज थपलिया काठमाडौं १. मोहन रेग्मी २. मणिराम फुयाल ३. रामेश्वर फुयाल ४. बाँकी ५. बाँकी ६. अमनकुमार मास्के ७. बाँकी ८. राजेश शाक्य ९. बाँकी १०. विनोद श्रेष्ठ भक्तपुर १. सोमप्रसाद मिश्र २. महेश बस्नेत ललितपुर १. चेतनाथ सन्जेल २. प्रेमबहादुर महर्जन ३. बाँकी सप्तरी १. सुमनराज प्याकुरेल २. सतिश सिंह ३. ताराकान्त चौधरी ४. बालकृष्ण चौधरी सिराहा १. रामशंकर यादव २. नविन कुमार यादव ३. लिलानाथ श्रेष्ठ ४. बिल्टु साह धनुषा १. रामचन्द्र मण्डल २. उमाशंकर अग्रहरी ३. जुली कुमारी महतो ४. रघुवीर महासेठ महोत्तरी १. लक्ष्मी महतो कोइरी २. राम परीक्षण यादव ३. बाँकी ४. सरोज यादव सर्लाही १. बाँकी २. बाँकी ३. हरि उप्रेती रौतहट १. अजय गुप्ता २. शैलेन्द्र साह ३. कुन्दन कुशवाहा ४. रामजी साह बारा १. अच्युत मैनाली २. बलवीर प्रसाद चौधरी ३. ज्वाला कुमारी साह ४. कृष्ण (किसान) श्रेष्ठ पर्सा १. बाँकी २. बाँकी ३. प्रमोद जैसवाल ४. जालिम मियाँ अन्सारी ताप्लेजुङ १. बाँकी पाँचथर १. अइन्द्रसुन्दर नेम्वाङ इलाम १. काजिमान कागते २. सुहाङ नेम्वाङ झापा १. रामचन्द्र उप्रेती २. देवराज घिमिरे ३. बाँकी ४. मनोज ताम्ली ५. केपी शर्मा ओली संखुवासभा १. बाँकी धनकुटा १. राजेन्द्र राई तेह्रथुम १. भानुभक्त ढकाल भोजपुर १. शेरधन राई सुनसरी १. सूर्य पन्दाक २. बाँकी ३. भगवती चौधरी ४. जगदीश कुशियैत मोरङ १. घनश्याम खतिवडा २. दिलीप कुमार बगडिया (अग्रवाल) ३. दिलीप राई ४. जीवन घिमिरे ५. बाँकी ६. बाँकी सोलुखुम्बु १. कल्पना राई ओखलढुंगा १. अस्मिता थापा उदयपुर १. दुर्गा थापा स्वस्ती २. अमर बहादुर रायमाझी खोटाङ १. देवविक्रम राई  

आधिकारिकताको माग गर्दै देउवा समूह आज अदालत जाँदै

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह आधिकारिकताको माग गर्दै आइतबार (आज) सर्वोच्च अदालत जाने भएको छ । शुक्रबार निर्वाचन आयोगले गगन थापा समूहलाई दिएको आधिकारिकताको मान्यताविरुद्ध देउवा समूह अदालत जाने भएको हो । देउवा समूहले आज सर्वोच्च अदालतमा रिट दायर गर्न लागेको हो ।  देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो । कानुनी पाटोको जिम्मेवारी तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको छ ।  देउवा समूहले निर्वाचन आयोग र नेपाली कांग्रेसका नवनियुक्त सभापति गगन कुमार थापाविरुद्ध रिट दायर गर्ने तयारी गरेको हो ।  

सुन्तला किलोको ११० रुपैयाँ, यस्तो छ तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिकाअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ८० रुपैयाँ, आलु रातो प्रतिकिलो २६ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २५ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४३ रुपैयाँ रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो ६० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ५० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ६० रुपैयाँ, बन्दा (नरिवल) प्रतिकिलो ४५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ८० रुपैयाँ, काउली तराई प्रतिकिलो ९० रुपैयाँ, रातो मूला प्रतिकिलो ३० रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो १५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ७० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ८० रुपैयाँ, मकै बोडी प्रतिकिलो ४० रुपैयाँ कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो ७० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो १२० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ११० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो ८० रुपैयाँ, टाटे सिमि प्रतिकिलो १०० रुपैयाँ, तितो करेला प्रतिकिलो १७० रुपैयाँ, लौका प्रतिकिलो ८० रुपैयाँ, घिरौला प्रतिकिलो १००, फर्सी पाकेको प्रतिकिलो ४५ रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ३० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४० रुपैयाँ, सलगम प्रतिकिलो ७० रुपैयाँ, भिन्डी प्रतिकिलो ११० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ६० रुपैयाँ, पिँडालु प्रतिकिलो ५० रुपैयाँ कायम गरिएको छ । यस्तै, समितिले रायोसाग प्रतिकिलो ३० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी ६० रुपैयाँ, चमसुर प्रतिकिलो ६० रुपैयाँ, तोरीको साग प्रतिकिलो ४० रुपैयाँ, मेथीको साग प्रतिकिलो ६० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरिएको छ । बकूला प्रतिकिलो ९० रुपैयाँ, तरुल प्रतिकिलो ६० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १०० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४०० रुपैयाँ, राजा च्याउ प्रतिकिलो २८० रुपैयाँ, कुरीलो प्रतिकिलो १७५० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो ९० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ७० रुपैयाँ, जिरीको साग प्रतिकिलो ११० रुपैयाँ, सेलरी प्रतिकिलो २२० रुपैयाँ, पार्सले प्रतिकिलो ५०० रुपैयाँ, सौफको साग प्रतिकिलो ७० रुपैयाँ, पुदिना प्रतिकिलो ३०० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ । यस्तै, समितिले स्याउ (झोले) प्रतिकिलो २२० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २८० रुपैयाँ, केरा (दर्जन) १४० रुपैयाँ, कागती प्रतिकिलो ९० रुपैयाँ, अनार प्रतिकिलो ३०० रुपैँया, सुन्तला (नेपाली) प्रतिकिलो ११० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ९० रुपैयाँ, मौसम प्रतिकिलो १०० रुपैयाँ, जुनार प्रतिकिलो १०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो १२० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ७० रुपैयाँ, निबुवा प्रतिकिलो ६० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो ४५० रुपैयाँ, आभोकाडो प्रतिकिलो २५० रुपैयाँ र अमला प्रतिकिलो ७० रुपैयाँ निर्धारण गरिएको छ ।  

गैँडाकोटबाट ‘राइनो क्रुज’ सञ्चालनमा आउँदै

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘राइनो क्रुज’ सञ्चालनमा आउने भएको छ । नवलपुर र यस क्षेत्रमा पर्यटकीय क्षेत्रमा दिगो र सम्भावनायुक्त नयाँ गन्तव्य बनाउने योजनासहित राइनो क्रुज सञ्चालनमा ल्याउन लागिएको हो । राइनो वाटर इन्टरटेनमेन्ट प्रालि र होटल रिभर क्राउन प्रालिले संयुक्त रूपमा नारायणी नदीमा राइनो क्रुज सञ्चालन गर्न लागेका हुन् । कम्पनीका प्रबन्ध निर्देशक दीपक ढुङ्गेलले पर्यटकीय प्रयोजनका लागि सञ्चालन गर्न लागिएको क्रुज गैँडाकोट पुलचोकबाट देवघाटसम्म सञ्चालन गर्ने तयारी गरिएको बताए । 'हामीले राइनो क्रुजलाई यातायातका लागि भन्दा पनि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गर्ने तयारी गरेका छौँ', उनले भने, 'हामीले डिनर क्रुज (क्रुजभित्रै खाना खाने प्याकेजसहित)लाई केन्द्रित गरी राइनो क्रुज सञ्चालन गर्दैछौँ ।' यही माघमा सञ्चालनमा ल्याउने तयारीस्वरुप राइनो क्रुटलाई पुनर्निर्माण गरिएको उल्लेख गर्दै प्रबन्ध निर्देशक ढुङ्गेलले प्राविधिक परीक्षणपछि नियमित सञ्चलनको तयारी भइरहेको बताए । दुईवटा तला र एउटा ३६० डिग्री अवलोकनस्थल रहेको क्रुजको क्षमता दुई सय जना यात्रुको भए पनि एक सय ५० जनालाई सेवा दिनेगरी सञ्चालन गर्न लागिएको ढुङ्गेलको भनाइ छ । क्रुजभित्रै रेष्टुराँको सुविधा रहने भन्दै उनले क्रुजमा मनोञ्जन हुनेगरी लाइभ म्युजिक (गीत, सङ्गीत) प्रस्तुत हुने बताए। यस राइने क्रुजलाई लक्जरी रिभर क्रुज बनाउँदै नियमित प्याकेजहरू सञ्चालन गरिने उनले बताए। क्रुज यात्राका लागि प्याकेजमा क्रुजभित्रै खाना तथा नास्ताको व्यवस्था रहने भन्दै ढुङ्गेलले टिकटमात्र काटेर क्रुज यात्रा गर्दा पनि थप शुल्क तिरेर रेष्टुराँबाट खाना तथा खाजा खान सकिने जानकारी दिए । 'राइनो क्रुज नियमित सञ्चालनमा आएपछि हामीले प्याकेज र शुल्क सार्वजनिक गर्नेछौँ', ढुङ्गेलले भने, 'अहिले हामीले होटल रिभर क्राउन र क्रुजमा गरी रु ५० करोड लगानी गरेका छौँ, यहाँ ५० जनालाई प्रत्यक्ष रोजगारीसमेत सृजना भएको छ ।' होटल रिभर क्राउन र राइनो क्रुजलाई एउटै कम्पनीबाट सञ्चालन गरी होटललाई तारे (स्टार)होटलको स्तरमा पुर्‍याउने र आगामी पाँच वर्षभित्र पब्लिक कम्पनीमा गएर सर्वसाधारणका लागि आइपीओ जारी गर्ने तयारी रहेको उनको भनाइ छ । राइनो क्रुज सञ्चालनपछि सम्भाव्यता अध्ययन गर्दै थप दुईवटा ‘मिनी क्रुज’ पनि सञ्चालन गर्ने तयारी रहेको ढुङ्गेलले जानकारी दिए । 'गैँडाकोटको पुलचोक पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको र यहाँ आउने पर्यटकका लागि सहज पहुँच पनि भएकाले रिभर क्राउनबाट राइनो क्रुज सञ्चालन हुन लागेको हो', उनले भने, 'मनोरञ्जनसहित डिनर केन्द्रित क्रुजमा तीन घण्टासम्म समय बिताउन सकिनेगरी प्याकेज तयार हुँदैछ ।' गैँडाकोटमा नारायणी नदीमाथि बन्दै गरेको सिग्नेचर पुलसँगै राइनो क्रुजले यस क्षेत्रमा पर्यटनको नयाँ ढोका खोल्ने ढुङ्गेलले बताए । विसं २०७९ माघ १ गते चितवनको भरतपुर–१६ काभ्रे घाटमा सञ्चालन गरिएको क्रुज विभिन्न कारणले बन्द भएपछि पुनर्निर्माणसँगै गैँडाकोटबाट सञ्चालन गर्न लागिएको हो । काभ्रेघाट वरिपरि नारायणी नदीको बहाव, अवस्थिति धेरै कारणले त्यहाँ क्रुज यात्रा सहज नहुँदा यो बर्खामा विभिन्न उपकरण प्रयोग गरी क्रुजलाई गैँडाकोटसम्म ल्याइएको थियो । 'सबै कुराले गैँडाकोट उपयुक्त रहेकाले अब यस क्रुजलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने योजनासहित होटललाई समेत जोडेर हामी अगाडि बढेका हौँ', उनले भने, 'क्रुजलाई देवघाटसम्म सञ्चालन गर्दा नवलपुरसँगै चितवन र तनहुँको धार्मिक तथा जल पर्यटनमा नयाँ आयाम थपिने हाम्रो विश्वास छ ।' क्रुज सञ्चालनका लागि कम्पनीले यसअघि नै पवित्र धार्मिकस्थल देवघाटबाट गोलाघाटसम्मको अनुमति पाइसकेको छ । रासस