विकासन्युज

साढे ८ अर्बमा तीव्र पुनर्निर्माण गरिँदै क्षतिग्रस्त बीपी राजमार्ग

काठमाडौं । पटक पटकको बाढी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको दुई महिनाअघि स्थायी रूपमा निर्माण सुरु गरिएको थियो । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडक खण्डको तीन स्थानबाट थालिएको स्थायी पुनर्निर्माण कार्यलाई तीव्रता दिइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । राजमार्गको काभ्रेपलाञ्चोक र सिन्धुलीको क्षतिग्रस्त सडक खण्डको आगामी दुई वर्षभित्र पुनर्निर्माणको काम सक्ने लक्ष्य राखिएको छ । कार्यालयका अनुसार क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माणका लागि हाल तीन खण्डमा काम सुरु गरिएको छ । कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बाढीले बीपी राजमार्गको पुनर्निर्माणका लागि तीन निर्माण व्यवसायी कम्पनी कार्यक्षेत्रमा खटेर तीव्र रूपमा काम गरेको बताए । उनका अनुसार जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले भने पुनर्निर्माण गर्ने भनिएको एक खण्डको काम सुरु हुनसकेको छैन । ‘जाइकाले थप अध्ययन गरिरहेको छ, केही समयमै उसले पनि काम सुरु गर्ने जनाएको छ,’ उनले भने । उनले गत वर्षको बाढीले क्षति पुर्याएको विभिन्न स्थानमा ‘आरसिसी’ पर्खाल लगाउने काम भइरहेको छ भने चौकी डाँडामा खोलाबाट प्लम्प पर्खाल लगाउन तथा चारसयबेँसी र भकुण्डेबेँसीमा पनि ‘आरसिसी’ पर्खाल लगाउन सुरु गरिएको जानकारी दिए । यस्तै डालावेँसी, मङ्गलटार खण्ड, चारसयबेँसीदेखि नार्के खण्डमा सडक चौडा बनाउने कामसमेत भइरहेको उनको भनाइ छ ।  गत वर्ष र यस वर्षको बाढीले ‘वासआउट’ (सडक पूर्ण क्षति) भएको स्थानमा बाढीले क्षति नगर्ने संरचना निर्माणको डिजाइन गरिएको छ । यस्तै आगामी वैशाखसम्म बाढीले क्षति पुर्याएको स्थानमा संरचना निर्माण गरिसक्ने जसबाट अब आउने वर्षायाममा खोलाको किनारबाट यातायात सञ्चालन गर्न नपर्ने गरी साविकको स्थानबाट यातायात सञ्चालन लक्ष्य लिइएको जनाइएको छ । यस वर्ष क्षतिग्रस्त स्थानमा संरचना निर्माण गर्ने, सडक चौडा गर्ने लगायतका काम सम्पन्न गर्ने र आगामी वर्ष बाँकी रहेका केही स्थानमा संरचना बनाइ कालोपत्र गरी कामलाई तीव्रता दिइएको योगेशले बताए । बाढी पहिराले उक्त राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो । बाढी पहिरोले सडकको विभिन्न खण्ड बगाएपछि गत सालदेखि अस्थायी रूपमा सञ्चालनमा ल्याइएको क्षतिग्रस्त राजमार्ग स्थायी रूपमा निर्माण सुरु गरिएको कार्यालयले जनाएको हो । अबको पुनर्निर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने योगेशको भनाइ छ । ‘पुनर्निर्माण हुने सडक खण्डमा दुई लेनको सडक बन्ने छ भने यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाई पनि दुई लेनको निर्माण गरिनेछ,’ उनले भने । उनका अनुसार ५ वटा पुललाई दुई लेनमा परिणत गर्न अध्ययन भइरहेको छ ।  डालाबेँसीदेखि चारसयबेँसीसम्म ८.५ किमी सडक पुनर्निर्माणका लागि खानी-एवन-कमलजीत जेभीले १ अर्ब ४२ करोड ३७ लाख रुपैयाँ (भ्याटसहित) मा निर्माण गर्ने गरी ठेक्का पाएको छ । यस्तै चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११.०८ किमी सडक पुनर्निर्माणका लागि लामा-नवकान्तिपुर जेभीलाई १ अर्ब ३३ करोड ५३ लाख रुपैयाँमा ठेक्का दिइएको छ । नेपालथोकदेखि बर्खेखोलासम्म ४.९० किमी सडक पुनर्निर्माणका लागि ६१ करोड रुपैयाँमा निर्माण गर्नेगरी खरिढुङ्गा-घिसिङ-क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको बताइएको छ । क्षतिग्रस्त कुल २९.५ किमी सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किमी सडक भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले निर्माण गरिदिने भएको छ । यस लम्बाइको क्षतिग्रस्त सडकको ठेक्का प्रक्रियाको काम भइरहेको योगेशले जानकारी दिए । उनका अनुसार यस खण्डको पुनर्निर्माणका लागि जापानले २ अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । कार्यालयले जाइकाले निर्माण गर्ने सडक खण्ड बाहेकका अन्य खण्डमा सरकारले गत असोजअघि नै ठेक्का लगाइसकेको छ । क्षतिग्रस्त खण्ड पुनर्निर्माणका लागि सरकारले ८ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति दिइसकेको छ । जसमध्ये काभ्रेपलाञ्चोक तर्फका तीन सडक खण्डलाई ७ अर्ब ५० करोड रुपैयाँ र सिन्धुलीको एक सडक खण्डलाई १ अर्ब रुपैयाँको स्रोत सहमति दिइएको हो । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बीपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिबास १६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो । खण्ड-खण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको २०७२ असार १८ गते औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा लिइएको छ ।

आजदेखि राष्ट्रिय सभाको अधिवेशन सिंहदरबारमा, यस्ता छन् एजेण्डा

काठमाडौं । राष्ट्रिय सभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदैछ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको छ । बैठक आज बिहान ११ बजे बस्दैछ । अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गरिसकेका छन् । अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आव्हानको पत्र पढेर सुनाउने र हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशनको सबै तयारी पूरा भइसकेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा माघ ४ गते आइतबारका दिन ११ बजे राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका थिए । गत भदौ ३१ गते राष्ट्रिय सभाको १८औँ अधिवेशन अन्त्य भएको थियो । यसैबीच, निर्वाचन आयोगले माघ ११ गते राष्ट्रिय सभाको १९ सदस्यका लागि निर्वाचनको तयारी पनि गरेको छ । राष्ट्रियसभा सदस्यमा एक जना निर्विरोध निर्वाचित भइसक्नुभएको आयोगले जनाएको छ । प्रतिनिधिसभाको निर्वाचनको तयारी अगाडि बढिरहेको र राष्ट्रिय सभामा पनि नयाँ सदस्यहरू निर्वाचित भएर आउन लागेको अवस्थामा यो अधिवेशनलाई महत्वका साथ हेरिएको छ ।

गाईभैँसी पालनबाट मासिक एक लाखभन्दा बढी आम्दानी

दाङ । तुलसीपुर उपमहानगरपालिका–३ निवासी विष्णु शर्माले व्यावसायिक रूपमा जर्सी गाई र भैँसीपालन गरेर मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर्दै आएका छन् । उनले अहिले १३ वटा गाई र १२ वटा भैँसीपालन गरेका छन् । स्वदेशमा केही गरौँ भनेर सुरु गरेको व्यवसायबाट मासिक रु एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको शर्माले जानकारी दिए । 'खर्च कटाएर अहिले मासिक रु एक लाखदेखि डेढ लाखसम्म आम्दानी हुन्छ', उनले भने । दैनिक ७५ लिटरसम्म दूध उत्पादन हुँदै आएको उनले बताए । हाल बजारमा रु ९५ प्रतिलिटर दूध बिक्री हुने शर्माले बताए । उनका अनुसार दूधलाई बजारीकरण गर्न समस्या नभए पनि सरकारले ध्यान भने दिनुपर्ने अवस्था छ । 'अहिले बजारमा दूध बेच्नलाई समस्या छैन', उनले भने, 'तर वास्तविक किसानले बजार मूल्य भने पाउन सकेका छैनन्, यसमा सरकारले ध्यान दिनुपर्छ ।' उनले विसं २०७७ देखि गाई र भैँसीपालन सुरु गरेका हुन् । हाल नौ वटा गाई र पाँच वटा भैँसीले नियमित दूध दिँदै आएका छन् । किसान शर्माले रु १३ लाख लगानी गरेर गोठ तयार गरेको जनाउँदै रु १३ लाख जति लगानी गरेर गाई तथा भैँसी खरिद गरेको बताए । उक्त लगानी सङ्कलन भइसकेको उनको भनाइ छ । उनले गाईभैँसीको मल पनि बिक्री गर्दै आएका छन् । प्रत्येक टिपरको रु ३० हजारका दरले मल बिक्री हुने उनले बताए । व्यवसाय गर्ने किसानलाई पशुको निःशुल्क बिमा गर्ने, भकारो सुधार कार्यक्रम वास्तविक किसानसम्म पुग्नुपर्ने तथा पशु एआई गर्दा सरकारले वास्तविक कृषकलाई दिनुपर्नेमा शर्माले जोड दिए । उनले ‘शर्मा बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्म’ दर्ता गरी व्यवसाय गरेका छन् । रासस

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी छाडेकालाई पुनः कांग्रेसमा फर्कन आग्रह गरेको छ । पार्टी सभापति गगन थापाको नेतृत्वमा आज भएको केन्द्रीय कार्यसमिति बैठकले विभिन्न कारणले पार्टीबाट अलग भएकालाई पार्टीमा पुनः आबद्ध हुन आग्रह गरेको हो । निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका निर्णयलाई संविधान, कानुन र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरेकामा आयोगप्रति बैठकले आभार व्यक्त गरेको छ । बैठकले एकता, सद्भाव र सहकार्यमा जोड दिँदै देशविदेशमा रहेका सबै कांग्रेसीमा नवीन ऊर्जाका साथ आगामी फागुन २१ को निर्वाचनमा सशक्त रूपमा सहभागी हुन आह्वान गरेको छ । बैठकले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालगायत पार्टीका अन्य नेताले कांग्रेसको नेतृत्वमा रही लामो समयदेखि पु¥याएको योगदानको उच्च कदर गर्दै धन्यवादज्ञापन गरेको छ । साथै बैठकले उहाँहरूबाट भविष्यमा पनि पार्टीका लागि अभिभावकीय भूमिका प्राप्त हुने विश्वास व्यक्त गरेको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार बैठकले भविष्यमा कुनै दलसँग अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता नगर्ने निर्णय गरेको छ । 

अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार

लस एन्जलस । अमेरिकामा हालसम्म कम्तीमा एक करोड ८० लाख मानिस इन्फ्लुएन्जा (फ्लु) बाट संक्रमित भएका छन् । यस अवधिमा करिब दुई लाख ३० हजार बिरामी अस्पताल भर्ना भएका छन् भने ९ हजार ३ सय जनाको मृत्यु भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो अनुमानमा उल्लेख गरिएको छ । सीडीसीका अनुसार अमेरिकाभर मौसमी फ्लुको गतिविधि अझै उच्च अवस्थामा नै रहेको छ, तर पछिल्ला दुई सातादेखि संक्रमण दर घट्दो वा स्थिर रहेको देखिएको छ। यस सिजनमा इन्फ्लुएन्जा ए (एच३एन२) भाइरस सबैभन्दा बढी फैलिएको प्रकारको रूपमा पुष्टि भएको छ। जनवरी १० मा समाप्त भएको सातासम्म फ्लुसँग सम्बन्धित १५ बालबालिकाको मृत्यु भएको सीडीसीले जनाएको छ। यससँगै यस सिजनमा फ्लुका कारण ज्यान गुमाउने बालबालिकाको संख्या ३२ पुगेको छ। सीडीसीका अनुसार तीमध्ये करिब ९० प्रतिशत बालबालिका फ्लु विरुद्ध पूर्ण रूपमा खोप नलगाएका थिए। सीडीसीले अमेरिकामा फ्लु प्रायः शरद र जाडो याममा देखिने र यसको चरम अवस्था प्रायः डिसेम्बरदेखि फेब्रुअरी महिनासम्म रहने जानकारी दिएको छ। हालको अवस्थालाई ध्यानमा राख्दै सीडीसीले ६ महिनाभन्दा माथिका सबै व्यक्तिहरूलाई, यदि यस सिजनको फ्लु खोप नलगाएका भए, सकेसम्म छिटो खोप लगाउन आग्रह गरेको छ । स्वास्थ्य अधिकारीहरूले समयमै खोप लगाउने, सरसफाइमा ध्यान दिने र लक्षण देखिएमा स्वास्थ्य सेवा लिनु नै फ्लुबाट जोगिने प्रभावकारी उपाय भएको बताएका छन् । रासस

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।      उक्त कार्यालयका अनुसार जिल्लामा चार लाख ३१ हजार २८२ जना मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले चारवटा निर्वाचन क्षेत्र रहेको महोत्तरीमा निर्वाचन क्षेत्र नम्बर १ मा ५६ हजार २२२ पुरुष, ४९ हजार ४२२ महिला र अन्य दुई जना गरी जम्मा मतदाता सङ्ख्या एक लाख पाँच हजार ६४६ जना कायम भएका छन् ।      यसैगरी, निर्वाचन क्षेत्र नं २ मा ५८ हजार ८६१ पुरुष र ४८ हजार ७३३ महिला, निर्वाचन क्षेत्र नं ३ मा ५९ हजार ९५० पुरुष र ५० हजार ८८६ महिला, निर्वाचन क्षेत्र नं ४ मा ६० हजार १५० पुरुष र ४७ हजार ४५६ महिला कायम भएका निर्वाचन अधिकारी झाले बताए ।      यसैगरी, ३४ हजार २५२ नयाँ मतदाता थपिएका छन् । योसँगै जिल्लामा मतदाता सङ्ख्या चार लाख ३१ हजार २८२ पुगेको छ । यसअघि जिल्लामा तीन लाख ९७ हजार ३० जना मतदाता थिए । अब जिल्लामा २५८ मतदानस्थल र ५३६ मतदान केन्द्र कायम भएका छन् । जिल्लाको निर्वाचन क्षेत्र नं १ मा जम्मा ५९ वटा मतदानस्थल र १३० वटा मतदान केन्द्र कायम भएका छन् ।      यसैगरी, क्षेत्र नं २ मा ६२ वटा मतदानस्थल र १३३ वटा मतदान केन्द्र, क्षेत्र नं ३ मा ७७ वटा मतदानस्थल र १४२ वटा मतदान केन्द्र, क्षेत्र नं ४ मा ६० वटा मतदानस्थल र १३१ वटा मतदान केन्द्र कायम भएका छन् ।  

६ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं । मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा रु ३९ अर्ब २३ करोड ६१ लाख ६४ हजार बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।  उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी मासिक प्रतिवेदनअनुसार चालु आवको छ महिनामा ४७५ वटा उद्योगमा रु ३९ अर्ब, चालु आवको पहिलो तीन महिनामा ३११ वटा उद्योगमा रु ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको थियो ।  चालु आवमा सात वटा ठूला, आठ वटा मध्यम र ४६० वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको तथा  गत पुसमा  ३६ वटा साना उद्योगमा रु पाँच अर्ब ९९ करोड ५० लाख बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको प्रतिवेदनमा जनाइएको छ ।  प्रत्यक्ष वैदेशिक लगानीको हालसम्मको कुल प्रतिबद्धता भने सात हजार ७१३ वटा उद्योगमा रु छ खर्ब ७५ अर्ब ४३ करोड ३३ लाख बराबर रहेको छ । बितेका छ महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा सबैभन्दा बढी सूचना प्रविधिमूलक क्षेत्रका २५७ वटा उद्योगका लागि रु एक अर्ब सात करोड ८४ लाख ८६ हजार छ । रकमका आधारमा भने कृषिमूलक क्षेत्रका १३ उद्योगमा रु २१ अर्ब ८८ करोड ८० लाख बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । पर्यटनमूलक क्षेत्रका १४५ उद्योगमा रु १० अर्ब ५४ करोड २० लाख ५० हजार,  उत्पादनमूलक क्षेत्रका २७ उद्योगमा रु दुई अर्ब तीन करोड २३ लाख, ऊर्जामूलक क्षेत्रको एउटा उद्योगमा रु १८ करोड ४२ लाख ५० हजार, खनिज क्षेत्रको एउटा उद्योगमा रु चार करोड ५० लाख र सेवामूलक क्षेत्रका ३१ उद्योगमा रु तीन अर्ब ४६ करोड ६० लाख बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता भएको विवरणमा उल्लेख छ ।  

सडकको दुरावस्था र चालकको लापरबाहीले दुर्घटना बढे

झापा । सडकको दुरावस्था र चालकको लापरबाहीले सवारी दुर्घटना बढेका छन् । बितेका छ महिनामा औसत दैनिक तीन स्थानमा सवारी दुर्घटना हुँदा छ जना घाइते भएका जिल्ला ट्राफिक कार्यालयले जनाएका छ । चालु आर्थिक वर्षको प्रथम छ महिनामा झापामा ६०५ स्थानमा दुर्घटना भएका र त्यसबाट एक हजार ९७ जना घाइते भएका उक्त कार्यालयका प्रमुख सन्तोष राईले बताए । उक्त अवधिमा सवारी दुर्घटनामा परी २९ जनाको मृत्यु भएको छ । घाइतेमध्ये ५५ जना गम्भीर र एक हजार ४२ जनाको अवस्था सामान्य छ । सडक दुर्घटना घटाउन ट्राफिक प्रहरीले समुदायसँग मिलेर चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । एसियाली राजमार्गको स्तरोन्नति भइरहँदा सडकको अवस्था नाजुक बनेको छ । यस्तो सडकमा लापरबाहीपूर्वक सवारी चलाउँदा दुर्घटना बढेका कार्यालय प्रमुख राई बताउँछन् । गत पुसमा छ हजार ५२५ वटा सवारी साधन जाँच दुई हजार ४४५ वटा सवारीसाधनलाई सवारी नियम उल्लङ्घन गरेको अभियोगमा कारबाही गर्नुपरेको थियो । पुसमा १२० स्थानमा सवारी दुर्घटना हुँदा नौ जनाको मृत्यु र १७३ जना घाइते भएका थिए । पुसमा ७३ जना घाइतेलाई दुर्घटनास्थलबाट उद्धार गरेर अस्पताल पुर्याइएको थियो । मङ्सिरमा १२२ स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको थियो । कात्तिकमा ११८ स्थानमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको ट्राफिक प्रहरी प्रमुख राईले बताए । यसैगरी, असोजमा ९० मा, भदौमा ६३ र साउनमा ९२ स्थानमा सवारी दुर्घटना हुँदा क्रमशः छ, चार र तीन जनाको मृत्यु भएको थियो । पुस महिनामा भएको १२० वटा दुर्घटनाको विश्लेषण गर्दै जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले अधिकांश दुर्घटना सवारी चालकको लापरबाहीका कारण हुने गरेको बताए । पुसमा १११ स्थानमा भएका सवारी दुर्घटनामा चालकको लापरबाही पाइएको उनले जानकारी दिए । रासस