काठमाडौंका यी स्थानमा आज ३ घण्टा विद्युत् आपूर्ति बन्द हुने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली कटौती गर्न लागेको हो । काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले राष्ट्रपति भवन शीतल निवासको वितरण प्रणाली भूमिगत गर्ने कार्य गरिरहेको छ । यस्तै, भूमिगतकार्य सम्पन्न भइसकेका केबलमा प्राविधिक उपकरण जडानका लागि बिजुली कटौती हुन लागेको हो । प्राधिकरणका अनुसार पानीपोखरी फिडर साङ्ग्रिला होटल अगाडि, लाजिम्पाट, पानी पोखरीका विभिन्न क्षेत्र, महाराजगञ्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा आज बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म बिजुली कटौती हुनेछ । यस्तै, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसनधान व्यूरो र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्रमा पनि बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म बिजुली कटौती हुनेछ । सूचना अनुसार बालुवाटार, चुनदेवी, पञ्चकन्या आसपासका क्षेत्रसमेतमा सोही समयसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले बिजुली कटौती हुँदा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएको खण्डमा त्यसभन्दा पहिले पनि बिजुली आपूर्ति हुन सक्ने प्राधिकरणले उल्लेख गरेको छ ।
आलु किलोको २७ रुपैयाँ, यस्तो छ तरकारी र फलफूलको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १०५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ८०, गोलभेँडा सानो (तराई) प्रतिकिलो ९५, आलु रातो प्रतिकिलो ३२, आलु रातो (भारतीय) प्रतिकिलो २७, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४५ रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो ८०, गाजर (तराई) प्रतिकिलो ७०, बन्दा (लोकल) प्रतिकिलो ८०, बन्दा (तराई) प्रतिकिलो ५५, बन्दा (नरिबल) प्रतिकिलो ६०, काउली स्थानीय प्रतिकिलो १२०, काउली स्थानीय (ज्यापू) प्रतिकिलो १४०, काउली तराई प्रतिकिलो १००, रातो मूला प्रतिकिलो ४०, सेतो मूला (लोकल) प्रतिकिलो २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २५, भन्टा लाम्चो प्रतिकिलो ७०, भन्टा डल्लो प्रतिकिलो ८०, मकै बोडी प्रतिकिलो ५० कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो ७०, घिउ सिमी (लोकल) प्रतिकिलो १४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १२०, घिउ सिमी (राजमा) प्रतिकिलो ९०, टाटे सिमी प्रतिकिलो १००, तिते करेला प्रतिकिलो १८०, लौका प्रतिकिलो ९०, परबर (तराई) प्रतिकिलो २४०, घिरौँला प्रतिकिलो ११०, फर्सी पाकेको प्रतिकिलो ५०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४०, सलगम प्रतिकिलो ८०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ६०, पिँडालु प्रतिकिलो ६५ र स्कुस प्रतिकिलो ९० कायम गरिएको छ । रायोसाग प्रतिकिलो ४५, पालुङ्गो प्रतिकेजी ८०, चमसुर प्रतिकिलो ८०, मेथीको साग प्रतिकिलो ८०, तोरीको साग प्रतिकिलो ५०, हरियो प्याज प्रतिकिलो ६०, बकुला प्रतिकिलो १००, तरुल प्रतिकिलो ८०, च्याउ (कन्य) प्रतिकिलो १३०, च्याउ (डल्ले) प्रतिकिलो ४५०, राजा च्याउ प्रतिकेजी ३००, सिताके च्याउ प्रतिकेजी १,००० र कुरिलो प्रतिकिलो २,०५० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो १३०, चुकुन्दर प्रतिकिलो ८०, सजीवन प्रतिकेजी ४२०, रातो बन्दा प्रतिकिलो १००, जिरीको साग प्रतिकिलो १३०, गाँठकोभी प्रतिकिलो ७०, सेलरी प्रतिकिलो २५०, पार्सले प्रतिकिलो ६००, सौफको साग प्रतिकिलो ८०, पुदिना प्रतिकिलो ४००, गान्टेमुला प्रतिकिलो ८०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १२०, तोफु प्रतिकिलो १५०, गुन्द्रुक प्रतिकिलो ४०० र रूखटमाटर प्रतिकेजी २६० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो २८०, स्याउ (फुजी) प्रतिकिलो ३५०, केरा (दर्जन) १८०, कागती प्रतिकिलो १००, अनार प्रतिकिलो ३५०, सुन्तला (नेपाली) प्रतिकिलो १४०, तरबुजा हरियो प्रतिकिलो १००, मौसम प्रतिकिलो १२०, जुनार प्रतिकिलो १२०, भुइँकटहर प्रतिगोटा १५५ रहेको छ । काँक्रो (लोकल) प्रतिकिलो १४०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ८५, निबुवा प्रतिकिलो ७०, नास्पाती (चाइनिज) प्रतिकिलो २३०, मेवा (नेपाली) प्रतिकिलो ७०, मेवा (भारतीय) प्रतिकिलो ११०, लप्सी प्रतिकिलो किनु प्रतिकिलो १२०, स्ट्रबेरी प्रतिकिलो ५००, किबी प्रतिकिलो ३०० र एभोकाडो प्रतिकिलो ३५० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो ८०, अदुवा प्रतिकिलो १००, सुकेको खुर्सानी प्रतिकिलो ४२०, खुर्सानी हरियो प्रतिकिलो १२०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो १२५, खुर्सानी हरियो (माछे) प्रतिकिलो ९०, भेडे खुर्सानी प्रतिकिलो १००, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी ६५०, हरियो लसुन प्रतिकिलो १२०, हरियो धनियाँ प्रतिकिलो १२० रहेको छ । लसुन सुकेको (चाइनिज) प्रतिकिलो २८०, लसुन सुकेको (नेपाली) प्रतिकिलो २००, छ्यापी सुकेको प्रतिकिलो १६०, छ्यापी हरियो प्रतिकिलो २००, माछा सुकेको प्रतिकिलो १,०००, ताजा माछा (रहु) प्रतिकिलो ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो २८० र ताजा माछा (छडी) प्रतिकिलो २५० निर्धारण गरिएको छ ।
निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत
काठमाडौं । निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री ढुवानीका लागि विभिन्न १३ व्यवसायीक संस्था सूचीकरण गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री, मतपत्र तथा अन्य अत्यावश्यक सामग्री ढुवानीका लागि कुरियर सेवातर्फ दुई वटा फर्म छनौट गरेको हो । आयोगका अनुसार, यसरी छनोट भएका व्यवसायीक फर्ममा साझा कुरियर एण्ड कार्गो र ट्रान्स एयर इन्टरनेशनल लजिष्टिक प्रालि रहेका छन् । आयोगले हेलिकोप्टर सेवातर्फ पनि फर्म वा कम्पनीलाई सूचीकृत हुन आग्रह गरेको भएपनि कुनै पनि फर्मले दर्ता गराएका छैनन् । यस्तै, ट्रक तथा कन्टेनर सेवा उपलब्ध गराउनका लागि ११ वटा फर्म सूचीकरण भएका छन् । आयोगका अनुसार यसरी दर्ता भएका सेवा प्रदायकमा हिमालयन कार्गो लजिष्टिक, वासुकी ट्रान्सपोर्ट, चितवन रोडवेज क्यारियर, न्यू भैरव ट्रान्सपोर्ट, अदिति ट्रान्सपोर्ट छन् । यस्तै, ओम ट्रान्सपोर्ट, हरहर महादेव ढुवानी सेवा, देउती बज्यै कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, कृष्ण ट्रान्सपोर्ट, धवलागिरि कालिका कन्स्ट्रक्सन एण्ड सप्लायर्स र एयर मनकामना कुरियर एण्ड कार्गो प्रालि सूचीकृत भएका छन् । आयोगले गत पुस १७ गतेको सार्वजनिक सूचनाका आधारमा प्राप्त भएका निवेदनलाई तोकिएको शर्त र वार्षिक औसत कारोबारको आधारमा मूल्याङ्कन गरी ती सेवाप्रदायक फर्मलाई सूचीकृत गरिएको जानकारी दिएको छ । ती सेवाप्रदायक संस्थालाई आयोगले निर्वाचन सामग्री आपूर्तिका लागि परिचालन गर्नेछ ।
अमेरिकन डलरको मूल्य बढ्यो, अरुको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७१ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपियाँ ४९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपियाँ ७० पैसा र बिक्रीदर ११३ रुपैयाँ १६ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १८ पैसा र बिक्रीदर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ८२ पैसा र बिक्रीदर २० रुपैयाँ ९० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४० रुपैयाँ कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५० पैसा र बिक्रीदर ३९ रुपैयाँ ६७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९ रुपियाँ ८९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५ रुपैयाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६६ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर ३८४ रुपियाँ ८५ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७८ रुपियाँ ४३ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
घरधनीको योजनामा एसबीआई बैंक लुटपाट, २ करोड ६८ लाख मात्रै बरामद
काठमाडौं । सिन्धुलीको घ्याङ्लेख गाउँपालिका-२ हायुटारस्थित नेपाल एसबीआई बैंक लुटपाटको मुख्य योजनाकारको आरोपमा घरधनी छविलाल स्याङतानसहित बैंक लुटपाटमा संलग्न भएको आरोपमा ७ जनाको विवरण जिल्ला प्रहरीले सार्वजनिक गरेको छ । गत पुस २९ गते राति बैंक लुटपाट गरिएको थियो । बैंकको शाखा राखिएको घरका धनी स्याङ्तानको मुख्य योजनामा बैंक लुटिएको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार पक्राउ पर्नेहरूमा सवारी चालक काभ्रेको बनेपा नगरपालिका-१० का ४९ वर्षीय भागवतसिंह थापा, घ्याङ्लेख गाउँपालिका-२ का ४७ वर्षीय चतुरमान बज्यु, चितवन भरतपुर महानगरपालिका-२ का २४ वर्षीय सशाङ्क श्रेष्ठ, नुवाकोट पञ्चकन्या गाउँपालिका-५ का २३ वर्षीय मिलन गिरी, सोही ठाउँका १९ वर्षीय विवेक मगर, घ्याङ्लेख गाउँपालिका-२ का ४४ वर्षीय छविलाल स्याङ्तान र एक १६ वर्षीय बालक छन् । पक्राउ परेकाहरूलाई सिन्धुली जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए । ‘बैंक लुटमा मुख्य योजनाकार तीन जना देखिन्छन् । बैंक राखिएको घरका धनी छविलाल स्याङ्तान, स्याङ्तानका जेठान चतुरमान बज्युलाई पक्राउ गरिसकिएको छ भने अर्का एक जना फरार छन्,’ उनले भने । बैंकबाट लुटेको २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ नगदसमेत प्रहरीले बरामद गरेको छ । लुटेराहरूले घटनास्थलमा देखाएको पेस्तोल नक्कली रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरी उपरीक्षक सुवेदीका अनुसार सुरक्षा गार्डसहितका कर्मचारीहरूलाई नक्कली प्लाष्टिकको पेस्तोल र खुकुरी देखाएर बैंक लुटिएको थियो । प्रहरीले लुटमा प्रयोग भएको दुई थान खुकुरी, एक थान प्लाष्टिकको पेस्तोल, पाँच थान मोबाइल, ठूलो पानी टेप एक वटा, कालो रङको नकाव तीन थान, रातो रङको नकाव एक थान र कालो पञ्जा एक जोरसमेत बरामद गरेको छ । घरधनी स्याङ्तानले लुटेराहरूलाई हतियार व्यवस्थापन गरिदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनले सूचना आदान–प्रदान गरेको प्रहरीको अनुसन्धानको निष्कर्ष छ । बज्यु, उनका ज्वाइँ घरधनी स्याङ्तान र अर्का फरार अभियुक्तले २०८२ असोजबाट नै बैंक लुट्ने योजना बनाएको र पटकपटक लुटको प्रयास गरिएको पाइएको प्रहरीको अनुसन्धानमा खुलेको हो । प्रहरीका अनुसार पहिलोपटक पुस २३ गते बैंक लुट्ने योजना बनाएका थिए । उक्त दिन बैंक लुटमा संलग्न चार जना काठमाडौंबाट दुईवटा मोटरसाइकलमा सिन्धुली आएका थिए । तर, त्यसबेला परिस्थिति अनुकूल नभएर फर्केको र दोस्रो प्रयासमा बैंक लुटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पुस २८ गते पनि उनीहरु बैंक लुट्न आउने गरी काठमाडौंको कोटेश्वरमा जम्मा भए पनि ढिलो भएकाले नआएको र पुस २९ गते सोही ठाउँमा जम्मा भएर सार्वजनिक यातायात चढी बनेपा गएका थिए । बनेपाबाट विएडी ०३९८ नम्बरको टाटा सुमो रिजर्भ गरी घ्याङलेख आएको पाइएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सुवेदीले बताए । बैंकमा आएर २९ गते साँझ उनीहरूले एसबिआई बैंकभित्र प्रवेश गरी सुरक्षा गार्ड रुद्रबहादुर कार्की र अन्य कर्मचारीलाई नियन्त्रणमा लिई, शाखा प्रमुखलाई प्लाष्टिकको पेस्तोल देखाई बैंकमा पैसा भएको भल्टको ताल्चा खोल्न लगाई बैंकमा भएको पैसा बोरा तथा झोलामा हालेर भागेको पाइएको उनले सुनाए । बैंक लुटेर भाग्ने क्रममा प्रहरी र स्थानीयको सक्रियतामा अभियुक्त पक्राउ गर्न र पैसा तथा अन्य प्रमाण बरामद गर्न प्रहरी सफल भएको थियो । पक्राउ परेकाहरुका विरुद्ध चोरी तथा डाँकासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार बैंकबाट ३ करोड ७ लाख रुपैयाँ लुटपाट भएको थियो ।
सरकार र दुर्गा प्रसाईंबीच सम्झौता: १ लाख ऋण मिनाहादेखि २० हजार तलब वृद्धिसम्म (पूर्णपाठ)
काठमाडौं । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीच सम्झौता भएको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र महाअभियानका संयोजक प्रसाईंले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार संविधान संशोधनका विषयमा अध्ययन, विश्लेषण र सुझाव दिन स्वतन्त्र विज्ञ, दुवै पक्षका प्रतिनिधि तथा सरोकारवालाको सहभागितामा उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिनेछ । सम्झौतामा लघुवित्त, सहकारी र बैंकिङ क्षेत्रसँग सम्बन्धित समस्याको समाधानलाई प्राथमिकता दिइएको छ । लघुवित्त र सहकारी क्षेत्रमा ऋण मिनाहा सम्बन्धी विषयमा कार्यदल गठन गरिने र त्यसको अध्ययन प्रतिवेदनका आधारमा ऋणी साना बचतकर्ताको हकमा एक लाख रुपैयाँसम्मको ऋण आगामी असार मसान्तबाट क्रमशः फिर्ता गर्न राष्ट्रिय सहकारी प्राधिकरणमार्फत चक्रवर्ती कोष स्थापना गरिने सहमति भएको छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा भविष्य मिति राखिएका चेक लिन नपाउने, लिइसकेका चेक खारेज गर्ने, धितो पुनर्मूल्यांकन गरी कर्जा पुनर्संरचना वा पुनर्तालिकीकरण गर्ने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने तथा कालोसूचीमा परेका ऋणीको हकमा सहजीकरण गर्ने व्यवस्था गर्ने उल्लेख छ । २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित राजनीतिक सभासँग सम्बन्धित घटनामा दुर्गा प्रसाईंलगायत अभियन्तामाथि लगाइएका फौजदारी मुद्दा तथा संगठित अपराधसम्बन्धी मुद्दा आवश्यक कानुनी प्रक्रिया पूरा गरी मन्त्रिपरिषद् बैठकबाट फिर्ता लिने प्रक्रिया अघि बढाइने सम्झौतामा उल्लेख छ । साथै झापा र इलाम कारागारमा रहेका अभियन्तालाई पनि रिहा गर्ने व्यवस्था गरिनेछ । भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको स्थायी समाधान राष्ट्रिय भूमि आयोगमार्फत अघि बढाइने र वैकल्पिक व्यवस्था नभएसम्म निजी तथा गुठी जग्गाबाहेक अन्य स्थानबाट नहटाइने सहमति भएको छ । सहरी सौन्दर्य र वातावरणीय मापदण्डलाई ध्यानमा राख्दै उपत्यका बाहिर स्थानान्तरणको विषयमा स्थानीय तहसँग छलफल गरिनेछ । निजामती कर्मचारी, सेना, प्रहरी र सशस्त्र प्रहरीको तलबमा २० हजार रुपैयाँ वृद्धि गर्ने विषयमा आगामी आर्थिक वर्षको बजेट तयारीका क्रममा स्रोतको आधारमा सकारात्मक निर्णय गर्ने पनि सम्झौतामा उल्लेख छ । विदेशिएका युवालाई स्वदेश फर्किएपछि सीप विकास गराई बिना धितो सहुलियतपूर्ण ऋणमार्फत उत्पादन र रोजगारीमा जोड्ने कार्यक्रम आगामी बजेटमा समेटिनेछ । नर्सिङ, एमबिबिएस, एमडी, चार्टर्ड एकाउन्टेन्ट तथा प्राविधिक शिक्षामा कोटा वृद्धि गर्न विज्ञ कार्यदल गठन गरिनेछ । २०४६ सालपछि भ्रष्टाचार गरी सम्पत्ति आर्जन गरेका सार्वजनिक पदधारीको सूचना संकलन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइने र जेनजी आन्दोलनसम्बन्धी विषयमा पूर्वन्यायाधीश गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा कारबाही गरिने सहमति भएको छ । सम्झौतामा समेटिएका बुँदालाई मन्त्रिपरिषदबाट अनुमोदन गरी कार्यान्वयनमा लैजाने निर्णयसमेत भएको सरकार पक्षले जनाएको छ ।
ऐतिहासिक संकटमा देउवा एण्ड टिम
काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको समूहलाई नेपाली कांग्रेसको आधिकारिक मान्यता दिएपछि शेरबहादुर देउवा पक्ष ठूलो सकंटमा परेको छ । शुक्रबार आयोगले गगन थापा नेतृत्वको समूहलाई आधिकारिक नेपाली कांग्रेसको मान्यता दिने निर्णय गरेसँगै देउवा टिम ठूलो संकटमा परेको हो । शुक्रबार थापा र शेरबहादुर देउवा पक्षका नेताहरु आधिकारिकताको माग गर्दै आयोग पुगेका थिए । थापा समूह बिहीबार पनि आयोग पुगेको थियो । नेपाली कांग्रेसका महामन्त्री द्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले पार्टीभित्र विद्रोह गरेर विशेष महाधिवेश आयोजना गरेका थिए । सो विशेष महाधिवेशनले थापालाई सभापति र शर्मालाई उपसभापतिमा निर्वाचित गरेको छ । यस्तै सो सूमहले नयाँ कार्यसमिति पनि चयन गरिसकेको छ । विशेष महाधिवेशनपछि उनीहरु विवरण अध्यावधिक र आधिकारिकताको माग गर्दै आयोग पुगेका थिए । शुक्रबार आयोगले उनीहरुलाई नै आधिकारिक नेपाली कांग्रेसको मान्यता दिएको हो । अब देउवासँगै कार्यवाहक सभापतिको भूमिका रहेका पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, शशांक कोइीराला, रमेश लेखक, विमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ, धनराज गुरुङ, मीनेन्द्र रिजाल, महालक्ष्मी उपाध्याय ’डिना’, सुजाता कोइराला, एनपी साउद, नैनसिंह महर, जीतजंग बस्नेत पुगेका छन् लगायतका नेताहरु ठूलो सकसमा परेका हुन् । . आज दिउँसो मात्रै पत्रकार सम्मेलन गर्दै देउवा समूहले आफूहरूलाई आधिकारिकता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको थियो । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो चेतावनी दिएका थिए । उनले षड्यन्त्र र दबाबमा परेर निर्वाचन आयोगले पार्टी विधान र संविधानविपरीत निर्णय गरेर वडा तहदेखि केन्द्रसम्म आन्दोलन चर्काउने चेतावनी दिएका थिए । खड्काले पार्टीको केन्द्रीय कार्यसमिति बाहेक कुनै पनि पदाधिकारीलाई विशेष महाधिवेशन बोलाउने अधिकार नभएको जिकिर गर्दै आफूहरू नै आधिकारिक भएको जिकिर गरेका थिए । ‘पार्टीको विधान, संविधान र निर्वाचनसम्बन्धी ऐन र दलसम्बन्धी ऐनको आधारमा भन्दा तलमाथि भएर यदि निर्वाचन आयोगले षड्यन्त्र र दबाबमा परेर संविधान र लोकतन्त्रमाथि बडारिएको कालो बादललाई साथ दिँदै आयोगले नेपाली कांग्रेसको विधानविपरीत अन्यथा निर्णय गर्यो भने देशभर आन्दोलन गर्नेबाहेक हामीसँग विकल्प हुनेछैन,’ उनले पत्रकार सम्मेलनमा भनेका थिए । आयोगले यो निर्णयले देउवा एण्ड टिम ठूलो संकटको मोडमा पुगेको छ । अब उनीहरु अर्को पार्टी दर्ता गरेर अगाडि बढ्छन् वा अदालत पुग्छन् यो भन्ने हेर्न बाँकी छ । नयाँ दल खोलेर अगाडि बढे पनि उनीहरु आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा भाग लिन पाउने छैनन् ।
गगन–विश्व समूहलाई निर्वाचन आयोगले दियो मान्यता
काठमाडौं । निर्वाचन आयोगले गगनकुमार थापा र विश्वप्रकाश शर्मा समूहलाई मान्यता दिएको छ । शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई मान्यता दिने निर्णय गरेको हो । आयोगले कानुन र विधानसम्मत ठहर्याउँदै त्यहाँबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो । राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गरेर थापालाई मान्यता दिने निर्णय भएको आयोगले जनाएको छ । आयोगले मान्यता दिएसँगै अब विशेष महाधिवेशनले गरेका सबै निर्णयहरूले मान्यता पाउने भएको छ । गत पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा गगन थापाको अगुवाइमा विशेष महाधिवेशन आयोजना गरिएको थियो । विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो । विशेष महाधिवेशनबाट पार्टी सभापतिमा थापा, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीमा प्रदीप पौडेल र गुरु राज घिमिरे निर्वाचित भएका थिए । विश्वप्रकाश उपसभापति, पौडेल महामन्त्री, विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति घोषणा