टीभीएसले बजारमा ल्यायो ‘अर्बिटर’ इलेक्ट्रिक स्कुटर, मूल्य २ लाख ८१ हजार
काठमाडौं । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक स्कुटर टीभीएसअर्बिटर नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । एक समारोहका बीच यो नयाँ र आधुनिक स्कुटरको अनावरण गरिएको हो । सहरी यात्रालाई लक्षित गरी ल्याइएको यो स्कुटरले एकपटक पूर्ण चार्जमा १५८ किलोमिटरसम्म (आईडीसी) यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार टीभीएस अर्बिटरमा ३.१ किलोवाट-घण्टा क्षमताको ब्याट्री, क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट, ३४ लिटरको अन्डर-सिट बुट स्पेस तथा कनेक्टेड मोबाइल एपजस्ता सुविधा उपलब्ध छन् । उद्योगमै पहिलो पटक १४ इन्चको अगाडिको ह्विल प्रयोग गरिएको यस स्कुटरले आरामदायी, स्थिर र सहज यात्रा अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । स्कुटरमा कलर एलसीडी डिस्प्ले, इनकमिङ कल सूचना, टर्न-बाइ-टर्न नेभिगेसन, पार्किङ असिस्ट, रिजेनेरेटिभ ब्रेकिङ, इको र पावर मोड, ओभर-द-एयर (ओटीए) अपडेट, जियोफेन्सिङ, लाइभ लोकेसन ट्र्याकिङ तथा चोरीसम्बन्धी अलर्टजस्ता स्मार्ट फिचर पनि समावेश गरिएको कम्पनीले जनाएको छ । टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय अध्यक्ष पेयमन कार्गरले नेपालमा टीभीएस अर्बिटरको आगमनसँगै दिगो र स्वच्छ यातायात प्रवर्द्धन गर्ने कम्पनीको प्रतिबद्धता थप बलियो भएको बताए । आधुनिक प्रविधि, आकर्षक डिजाइन र दैनिक उपयोगिताको संयोजनमार्फत नयाँ पुस्ताका ग्राहकको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले यो स्कुटर विकास गरिएको उनले बताए । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले टीभीएस आइक्युबको सफलतापछि टीभीएस अरबिटरले पनि नेपाली विद्युतीय दुईपाङ्ग्रे बजारमा कम्पनीको उपस्थितिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । देशभर रहेको बिक्री तथा सेवा सञ्जालमार्फत ग्राहकलाई सहज सेवा उपलब्ध गराइने उनले बताए । यस्तै, जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताका अनुसार टीभीएस अर्बिटरलाई नेपालका विभिन्न सडक र भौगोलिक अवस्थाहरूमा हजारौं किलोमिटर परीक्षण गरिएको छ । सहरका व्यस्त सडकदेखि पहाडी उकालो र कच्ची बाटोहरूमा पनि यसको कार्यक्षमता उत्कृष्ट पाइएको उनको दाबी छ । पेट्रोलबाट चल्ने स्कुटरको तुलनामा यसको सञ्चालन खर्च करिब १० गुणा कम हुने बताइएको छ । कम्पनीका अनुसार टीभीएसका इलेक्ट्रिक स्कुटरहरूको प्रयोगले नेपालमा हालसम्म करिब १६५० टन कार्बन उत्सर्जन कम गर्न मद्दत पुर्याएको छ । जुन ७५ हजार रुख रोपे बराबरको योगदान हो । जगदम्बाको मजबुत नेटवर्कले नेपाली ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता गुप्ताले जनाए । नेपालभर रहेका टीभीएसका १२५ भन्दा बढी टच प्वाइन्टहरूबाट यो स्कुटरको बिक्री र सेवा उपलब्ध हुनेछ । टीभीएस अरबिटर नियोन सनबर्स्ट, कोस्मिक टाइटानियम र मार्सियन कपर गरी तीन रंगमा उपलब्ध हुनेछ । यसको परिचयात्मक मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
अर्गानिक किसानका लागि खुसीको खबर, प्रधानमन्त्रीले दिए यस्तो आश्वासन
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्गानिक कृषि व्यवसायीहरूको छाता संगठन ‘अर्गानिक एसोसियसन नेपाल’का पदाधिकारीहरूसँग छलफल गरेका छन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री र अर्गानिक एसोसियसन नेपालका पदाधिकारीसँग छलफल भएको हो । प्रधानमन्त्रीले नेपालमा अर्गानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् । छलफलका क्रममा पदाधिकारीहरूले अर्गानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरणको व्यवस्था निकै खर्चिलो भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण एजेन्सी नेपालमै स्थापना हुनुपर्ने माग राखेका थिए । उक्त मागप्रति प्रधानमन्त्री सकारात्मक रहेका छन् । यस्तै, अर्गानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण गर्न महँगो हुने गरेकाले सरकारले प्रमाणीकरणमा दिँदै आएको ७५ प्रतिशतसम्म अनुदान पनि बन्द भएकोमा त्यसलाई सुचारु गर्न पदाधिकारीले माग गरेका थिए । नेपालमै अन्तर्राष्ट्रिय मापदण्डको प्रमाणीकरण एजेन्सी स्थापना नभएसम्म उक्त अनुदान प्रदान गर्ने विषयमा समेत प्रधानमन्त्री शाह सकारात्मक भएका छन् । प्रधानमन्त्री शाहले अनियन्त्रित रासायनिक मल र विषादीको नियन्त्रण गर्दै अर्गानिक कृषि प्रवर्द्धनका लागि सरकारले आवश्यक कदम चाल्ने पनि बताए । प्रांगारिक मल उत्पादनमा सरकारले अनुदान दिनुपर्ने माग पदाधिकारीले राखेका थिए । प्रांगारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई सहयोग अनुदान दिनुपर्ने उनीहरूको मागअनुरूप व्यवस्था गर्न समेत प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । अग्र्यानिक मलको उत्पादन वा खरिद गर्न रासायनिक मलले पाएको सुविधासरह सुविधा हुनुपर्ने मागमा प्रधानमन्त्री सकारात्मक रहेका छन् । साथै अग्र्यानिक उत्पादन निर्यातमा सरकारले दिने गरेको अनुदान दुई वर्षयता रोकिएकोमा उक्त समस्या कानुनी पमै निराकरण गर्ने प्रयासमा सम्बन्धित मन्त्रालयले कार्यविधि बनाइरहेको उनले बताए । छलफलमा एसोसियसनका अध्यक्ष दीपक बास्कोटा, महासचिव शान्ता बास्कोटा कोइराला, सदस्यहरु तथा गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टि फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष फर्शुराम आचार्य सहभागी थिए ।
राधिका दासीले अघोषित श्रीमान राखेको भनेर अन्तवार्ता दिने केसी पक्राउ
काठमाडौं । राधिका दासीको चरित्र हत्या गरेको वेदिका केसीलाई पक्राउ परेकी छन् । बिहीबार काठमाडौंबाट साइबर ब्यूरोले केसीलाई पक्राउ गरेको हो । साइबर ब्यूरोका अनुसार उनले राधिका दासीको चरित्र हत्या गरेकी थिइन् । उनीविरुद्ध दासीले केही दिनअघि ब्यूरोमा दासीले उजुरी दिएकी थिइन् । उनको जाहेरी परेपछि अनुसन्धानका लागि केसीलाई पक्राउ गरेको हो। धर्म, आस्था र परम्पराका गलत तथ्य वा विषयका सम्बन्धमा उनले बहस चलाउँदै आएकी थिइन्। एक अन्तवार्तामा उनले दासी विरुद्ध बोलेकी थिइन । उनले प्रकाश सुवेदीसँगको संवादमा दासीको भारतमा अघोषित श्रीमान रहेको बताएकी थिइन ।
विद्युत नियमन आयोगको अध्यक्षमा धिताल नियुक्त
काठमाडौं । विद्युत नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बसेको बैठकले डा. धिताललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि पनि आयोगको अध्यक्ष भएका धिताल सरकारले ल्याएको अध्यादेशको कारण पदमुक्त भएका थिए । उनी पुनः अध्यक्षमै फर्किएका हुन् । धितालसँग जलविद्युत, सोलार ऊर्जा, ग्रामीण विद्युतीकरण, नवीकरणीय ऊर्जामा झन्डै ३० वर्षको अनुभव रहेको छ । उनले जर्मनीबाट नवीकरणीय उर्जामा मास्टर्स गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट नवीकरणीय ऊर्जामै पीएचडी गरेका छन् ।
विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । भारतको मणिपुर घरका २० वर्षीया मोनादेवी ह्लाजोम र २३ वर्षीया ओनियम एली आज गाँजासहित पक्राउ परेका हुन् । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचरबाट खटिएको प्रहरीले थाई एयरवेजको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनीहरूको ‘सुटकेस’ तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यसैबीच, नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३३ जना पक्राउ गरेको छ । प्रहरी समाचार कक्षका अनुसार बाँकेबाट छ, जुम्ला, मोरङ, कञ्चनपुर, चितवन र दाङबाट तीन/तीन, रुपन्देही र काठमाडौंबाट दुई/दुई, सुर्खेत, बर्दिया, कैलाली, सर्लाही, भक्तपुर, बारा, सल्यान र सुनसरीबाट एक/एक जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट लागुऔषध खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइन ट्रामाडोल, भोमिन र एनारगन बरादम गरेको छ ।
डिजिटल नेटवर्कमा आबद्धताका आधारमा कांग्रेस मुलुककै ठूलो राजनीतिक दल : पौडेल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले डिजिटल नेटवर्कमा आबद्ध सदस्य संख्याका आधारमा नेपाली कांग्रेस मुलुककै सबैभन्दा ठूलो राजनीतिक दल बनेको दाबी गरेका छन् । बिहीबार आयोजित ‘बीपी स्मृतिमा जरा अभियान’ समापन तथा नयाँ अभियान घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो दावी गरेका हुन् । पार्टीका सबै क्रियाशील सदस्यको विवरण डिजिटल प्रणालीमा अद्यावधिक गरिएको र अब प्रत्येक सदस्यलाई डिजिटल परिचयपत्र प्रदान गरिने उनले जानकारी दिए । उनका अनुसार अब केन्द्रीय कार्यालयले पार्टीका सूचना, निर्णय र निर्देशन डिजिटल नेटवर्कमार्फत सिधै सदस्यसम्म पु‍र्याउने व्यवस्था गरिएको छ । ‘अब विज्ञापन गरेर सूचना दिनुपर्ने अवस्था रहनेछैन । नेतृत्वले हरेक सदस्यसँग प्रत्यक्ष संवाद गर्न सक्नेछ,’ उनले भने । पौडेलले डिजिटल प्रणालीमार्फत नेतृत्व र कार्यकर्ताबीच नियमित संवाद, पार्टीका रणनीति तथा दृष्टिकोण साझा गरिने उल्लेख गर्दै यसले संगठनलाई थप प्रभावकारी र व्यवस्थित बनाउने विश्वास व्यक्त गरे । उनले २०७८ मंसिरमा सम्पन्न १४औं महाधिवेशनमा रहेका क्रियाशील सदस्यको संख्या आगामी असोजमा हुने १५औं महाधिवेशनसम्म पनि कायम रहने बताए । पुस १० गतेसम्म सदस्यता नवीकरण गरेका करिब ८० प्रतिशत सदस्यले आवश्यक विवरण अद्यावधिक गरिसकेको र नयाँ क्रियाशील सदस्यता वितरणको काम पनि जारी रहेको जानकारी दिए । महामन्त्री पौडेलले गगन थापाको नेतृत्वमा कांग्रेसलाई थप व्यवस्थित, सिर्जनशील र जनमुखी बनाउने अभियान अघि बढाइएको दाबी गरे । पार्टीले भुइँ तहका नागरिकका मुद्दालाई केन्द्रमा राखेर नयाँ अभियान सञ्चालन गर्ने उनले बताए । क्रियाशील सदस्यता वितरणमा कुनै बन्देज नरहेको उल्लेख गर्दै उनले १८ वर्ष उमेर पूरा गरी राजनीतिक दलको सदस्य बन्न योग्य जोसुकैले क्रियाशील सदस्यता लिन सक्ने बताए । युवाको नेतृत्व विकासलाई प्राथमिकता दिइएको उल्लेख गर्दै पौडेलले ३५ वर्षमुनिका युवालाई महाधिवेशन प्रतिनिधिदेखि केन्द्रीय सदस्यसम्म पुग्ने अवसर सुनिश्चित गरिएको दाबी गरे । उनका अनुसार यही उमेर समूहबाट २१ जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ ।
आउटसोर्सिङको विरोधमा टेलिकम कर्मचारी यूनियन
काठमाडौं । नेपाल टेलिकमका कर्मचारी संगठनका प्रतिनिधिहरूले व्यवस्थापनले गरेको पछिल्ला निर्णयप्रति असन्तुष्टि जनाउँदै संस्थाको सेवा प्रवाह, अनुभवी जनशक्तिको व्यवस्थापन र आउटसोर्सिङको प्रभावबारे विरोध जनाएका छन् । टेलिकमले सेवा प्रभावकारिता र कार्यसम्पादन सुधार गर्ने उद्देश्यले अघि बढाएको आउटसोर्सिङको निर्णयले अपेक्षित सुधार ल्याउनुको सट्टा झन् समस्या थपेको कर्मचारी संगठनहरूको आरोप छ । उनीहरूका अनुसार आउटसोर्सिङपछि मर्मतसम्भारलगायतका काममा ढिलाइ भइरहेको छ । नेपाल टेलिकम वर्कर्स युनियन (एनटीसीडब्ल्यु) का केन्द्रीय सल्लाहकार कृष्णप्रसाद अर्यालले पछिल्लो समय संस्थामा गरिएका केही निर्णयका कारण सेवा प्रवाह नै धराशायी बन्न थालेको जानकारी दिए । उनले ग्राहकले सेवा शुल्क तिरेको लामो समयसम्म पनि सेवा नपाउने अवस्था सिर्जना भएको उल्लेख गरे । ग्राहकले पैसा तिरेको ६ दिनसम्म पनि लाइन जडान नभएको, बिग्रिएको सेवा समयमै मर्मतसम्भार नभएको उदाहरण दिँदै उनले व्यवस्थापनको कार्यशैलीप्रति प्रश्न उठाए । केन्द्रीय सदस्य अर्यालले भने, ‘सार्वजनिक संस्थाको सेवा प्रवाहमा ग्राहकको विश्वास सबैभन्दा महत्त्वपूर्ण हुन्छ, तर, सेवा विस्तार र मर्मतसम्भारजस्ता आधारभूत काममै ढिलाइ हुन थालेपछि त्यसले संस्थाप्रतिको ग्राहकको भरोसामा समेत असर पार्न सक्छ ।’ अर्यालले व्यवस्थापनलाई आउटसोर्सिङका नाममा संस्थाका सबै काम बाह्य पक्षलाई जिम्मा लगाउँदै नजान चेतावनीसमेत दिए । नेपाल टेलिकम सार्वजनिक तथा राज्यको महत्वपूर्ण निकाय भएकाले संस्थाको दीर्घकालीन हितलाई ध्यानमा राखेर निर्णय गर्नुपर्ने उनको भनाइ छ । आउटसोर्सिङको प्रभाव प्रत्यक्ष रूपमा सेवा प्रवाह, प्राविधिक दक्षता र संस्थाको आन्तरिक जनशक्ति व्यवस्थापनसँग जोडिएको उल्लेख गर्दै उनले यसमा व्यवस्थापन पक्षले तत्काल कदम चाल्नुपर्ने बताए । नेपाल राष्ट्र कर्मचारी संगठनका अध्यक्ष तेजबहादुर शाहीले पनि बागमती प्रदेशमा ‘पाइलट प्रोजेक्ट’का नाममा गरिएको आउटसोर्सिङको कडा विरोध गरेका छन् । उनले ५० वर्षभन्दा माथिका अनुभवी कर्मचारीलाई ‘आँखा देख्दैनन्’ भन्ने बहाना बनाएर रसुवा, मन्थली र हेटौँडालगायत टाढाका क्षेत्रमा पठाएर अनुभवी कर्मचारीलाई विस्थापित गर्न खोजेको भन्दै असन्तुष्टि जनाए । यसरी अनुभवी कर्मचारीलाई विस्थापित गर्दै नयाँ आउटसोर्सिङ व्यवस्थामार्फत काम गराउँदा मर्मतसम्भारको काम झन् प्रभावकारी हुन नसकेको उनको दाबी छ । ‘आउटसोर्सिङ लागू भएपछि मर्मतसम्भारका काममा झन् समस्या सिर्जना भएको छ, उनले भने, ‘घण्टामै सम्पन्न हुनुपनेै कामसमेत ६ दिनसम्म लम्बिने अवस्था आएको छ ।’ अध्यक्ष शाहीले व्यवस्थापनमाथि दोहोरो मापदण्ड अपनाएको आरोपसमेत लगाए । उनका अनुसार युनियनसँग सहमति गरेर हस्ताक्षर गरिएको आउटसोर्सिङसम्बन्धी निर्णय कार्यान्वयन गर्ने व्यवस्थापनले युनियनकै सहमतिमा तयार भएका वैदेशिक तालिम, सरुवालगायतका सकारात्मक कार्यविधि भने कार्यान्वयन नगरेको अभिव्यक्ति दिएका छन् । उनले व्यवस्थापनले कर्मचारीसँग भएका सहमति र सम्झौतालाई समान रूपमा कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे । एनटीसीडब्ल्युका अध्यक्ष राेशन बजगाईंले पनि व्यवस्थापनले आउटसोर्सिङलाई छलकपटपूर्ण रूपमा प्रयोग गरी कर्मचारीलाई पीडित बनाएको उल्लेख गरे । उनका अनुसार युनियनले व्यवस्थापनलाई नयाँ मोडालिटीको अभ्यास गर्नका लागि मात्र आउटसोर्सिङलाई स्वीकार गरेको थियो । तर, व्यवस्थापनले त्यसलाई कर्मचारीमाथि दबाब सिर्जना गर्ने माध्यमका रूपमा प्रयोग गरेको उनको आरोप छ । कर्मचारीले काम गर्न नसकेको बहाना बनाएर उनीहरूलाई उपत्यकाबाहिर सरुवा गर्ने तथा बुढेसकाल वा स्वास्थ्य समस्या देखिन थालेको उमेरमा अनुचित व्यवहार गर्ने गरिएकोमा उनले आपत्ति जनाए । यस्तो व्यवहारलाई उनले अनुचित श्रम अभ्यासको संज्ञा दिँदै आलोचना गरे । व्यवस्थापनको यस्तो कार्यशैलीले कर्मचारीको मनोबल कमजोर बनाउनुका साथै कम्पनीको व्यापारसमेत खस्किएको र संस्थाको साखमा असर परेको दाबी उनको छ । ट्रेड युनियनको धर्म र मर्मअनुसार कर्मचारीको मर्यादा र अधिकार कायम राख्न युनियन प्रतिबद्ध रहेको बजगाईंको भनाइ छ । उनले टेलिकमको माइक्रो–म्यानेजमेन्टमा मन्त्रालय तथा सरकारको हस्तक्षेप बढ्दै गएकोसमेत आरोप लगाएका छन् । साथै सञ्चालक समितिका सदस्यहरू खरिद प्रक्रियालगायतका जिम्मेवारीबाट पन्छिन खोजेको विषयमा समेत उनले प्रश्न उठाए । ट्रेड युनियन आन्दोलनलाई कसैले चाहेर पनि रोक्न नसक्ने भन्दै बजगाईंले नेतृत्वबाट भएका गलत निर्णय र कमजोरीलाई सुधार गर्दै अघि बढ्न आग्रह गरेका छन् । आगामी दिनमा व्यवस्थापनले कर्मचारीप्रति इमानदार व्यवहार गर्दै उनीहरूलाई प्रोत्साहित गर्ने र संस्थागत सुधारको बाटो अपनाउने अपेक्षा व्यक्त गरेका छन् । टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले भने कम्पनीको हितमा आफू पूर्ण प्रतिबद्ध भएर काम गरिरहेको बताइन् । हालसालै मात्रै अदालतबाट सफाइ पाएर काममा फर्किएकी पहाडीले कर्मचारीकै हितमा हुने गरी काम गर्ने प्रतिबद्धता जनाएकी छन् । उनले आफू ‘कुलडाउन’ हुन समय नलिई कम्पनीका अधुरा काम पूरा गर्न र कम्पनीलाई थप उचाइमा पुर्याउन कार्यक्षेत्रमा खटिएको बताएकी छन् । कम्पनीभित्र देखिएको समस्या र विवादमाथि आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले समस्या समाधानतर्फ लाग्ने बताइन् ।
कर तिर्नेहरू डराउन नपरोस्, लुक्ने अवस्था पनि नआओस्: अर्थमन्त्री डा. वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई खुसी पारेर कर उठाउन कर प्रशासकहरूलाई निर्देशन दिएका छन् । बिहीबार आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा देशभरका विभाग मातहतका कर अधिकृतहरूलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । ‘करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्,’ अर्थमन्त्रीले भने, ‘मैले बजारमा सुन्न पाऊँ— कर प्रशासनमा ठूलो सुधार भएछ, कर तिर्न बोझ छैन, कोही पनि त्रसित छैनन् ।’ उनले कर सङ्कलनका लागि जबरजस्ती र त्रसित बनाएर नभई स्वेच्छिक कर अनुपालनमार्फत करदाताहरूलाई करको दायरामा समेट्न कर प्रशासकहरूलाई निर्देशन दिए । ‘करदाता त्रसित भएर करको दायरामा नआएको मैले सुन्न नपरोस् । कर तिर्नबाट लुकेका छन् भन्ने अवस्था कसैलाई नआओस्,’अर्थमन्त्रीले भने । कर प्रशासनलाई चुस्त बनाउन जनशक्ति, पूर्वाधार वा सूचना प्रविधि जस्ता जुनसुकै कुराको अभाव भए निर्धक्क भन्न पनि उनले आग्रह गरे । कर प्रशासनमा अब्बल काम गर्ने र राज्यलाई लाभ दिलाउनेलाई प्रोत्साहन गर्न कुनै कसर बाँकी नराख्ने कुरा पनि उनले स्पष्ट पारे । ‘करदाता खुसी हुनुपर्यो । कर उठाउनेले सहजीकरण गर्नुपर्यो । राजस्वको लक्ष्य पूरा हुनुपर्यो । मिसन १६ खर्बमा आन्तरिक राजस्वको भागको लक्ष्य पूरा हुनुपर्यो,’ उनले भने । यस वर्षको बजेटले अर्थतन्त्रको जहाजलाई मोडेको रूपमा बुझ्न आग्रह गर्दै उनले आगामी ४ आर्थिक वर्षको बजेटले सरकारले बनाउन चाहेको अर्थतन्त्रको आधार देखिने बताए । बजेटमा दिइएको छुट स्किमको कार्यान्वयन गर्न, करदाता प्रोत्साहन कार्यक्रम सफल बनाउन, करदाता सचेतना वृद्धि र कारोबार डिजिटल बनाउन सबैखाले पहल गर्न उनले विभागीय नेतृत्वलाई निर्देशन दिए । मुलुकलाई ‘ग्रे लिस्ट’बाट निकाल्न मन्त्रालयले प्रशस्त पहल गरिरहेको भन्दै उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधलाई कर प्रशासनको तर्फबाट पनि मिहीन ढङ्गले हेर्न आग्रह गरे । कर प्रशासकहरूको बृत्तिविकास उनीहरुको काम गर्ने तरिका र राज्यलाई गरेको सहयोगका आधारमा प्राथमिकताका साथ हेरिने भन्दै उनले सरुवाका लागि सोर्सफोर्स नलगाउन पनि कर्मचारीहरूलाई आग्रह गरे ।