पार्टीको निर्णय र कार्यसूचीभन्दा बाहिर गई गतिविधि गर्न पाइँदैनः घिमिरे
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति गुरुराज घिमिरेले पार्टीको निर्णय र कार्यसूचीभन्दा बाहिर गएर गतिविधि गर्ने छुट कसैलाई पनि नरहेको बताएका छन् । बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसभित्र अनुशासन, एकता र साझा कार्यदिशा अपरिहार्य रहेको उल्लेख गर्दै पार्टीको आधिकारिक निर्णयअनुसार अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गरे । घिमिरेले बदलिँदो समयको माग र जनताको अपेक्षा बुझ्न नसके कांग्रेस कमजोर बन्न सक्ने चेतावनी दिए । उनले कांग्रेसलाई पुनः जनतासँग बलियो रूपमा जोड्न युगको आवश्यकता, नागरिकका चाहना र समकालीन राजनीतिक चुनौतीलाई आत्मसात गर्नुपर्नेमा जोड दिए । उनले पार्टीभित्र व्यक्तिगत एजेन्डाभन्दा संगठनको सामूहिक कार्यसूचीलाई प्राथमिकता दिनुपर्ने बताउँदै कांग्रेसलाई जनमुखी, उत्तरदायी र समयअनुकूल बनाउने दिशामा सबै नेता–कार्यकर्ताले एकताबद्ध भएर काम गर्नुपर्ने धारणा राखे ।
सरकारविरुद्ध फेरि आमरण अनशनमा डा. गोविन्द केसी
काठमाडौं । सरकारले माग सम्बोधन नगरेपछि प्रा. डा. गोविन्द केसी फेरि आमरण अनशनमा बसेका छन् । चिकित्सा शिक्षा क्षेत्रमा देखिएका विकृति, स्वार्थपरक नियुक्ति र नीतिगत निर्णय सच्याउन सरकारलाई दिएको साउन ५ गतेसम्मको अल्टिमेटम सकिए पनि कुनै पहल नभएपछि उनले सुदूरपश्चिमको धनगढीबाट अनशन सुरु गरेका हुन् । बुधबार धनगढी पुगेका डा. केसी धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिरको धर्मशालामा अनशनमा बसेका छन् । उनले पाँचबुँदे माग अघि सार्दै चिकित्सा शिक्षा आयोग र शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालयमा भएका स्वार्थको द्वन्द्व प्रेरित गैरकानुनी नियुक्ति तत्काल बदर गर्न, छात्रवृत्ति कटौती गर्ने तथा निजी मेडिकल कलेजमा सिट वृद्धि गर्ने प्रस्ताव खारेज गर्न र राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ ले व्यवस्था गरेको चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने प्रावधान तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । अनशन सुरु गर्नुअघि जारी विज्ञप्तिमा डा. केसीले आफ्ना मागप्रति सरकार गम्भीर नबनेको आरोप लगाउँदै अनशनका क्रममा उत्पन्न हुन सक्ने कुनै पनि विषम परिस्थितिको पूर्ण जिम्मेवारी वर्तमान सरकारले नै लिनुपर्नेसमेत चेतावनी दिएका छन् । यस्ता छन् पाँच बुँदे माग १. स्थापित नियम र मूल्य–मान्यता विपरीत स्वार्थको द्वन्द्व हुने गरी दशरथ चन्द मेडिकल विश्वविद्यालय लगायत चिकित्सा शिक्षा आयोगमा गरिएका गैरकानुनी र स्वार्थपरक नियुक्तिहरू तत्काल बदर गरी ऐनका विवादित प्रावधानहरू शीघ्र संशोधन गरियोस् । २. चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गरियोस् । ३. ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ बमोजिम चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी प्रावधान शीघ्र कार्यान्वयन गरियोस्। साथै विगतका सरकारहरूसँग भएका लिखित सहमतिहरू कार्यान्वयन गरियोस् । ४. सुदूरपश्चिम लगायत सीमावर्ती क्षेत्रका नागरिकहरू स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकसँग परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य गर्दै नागरिक अधिकार र राष्ट्रिय आत्मसम्मानको रक्षाका लागि आवश्यक पूर्वाधार र सेवा प्राथमिकताका साथ विस्तार गरियोस् । ५. २०८२ भदौ २३ र २४ मा भएका जघन्य हत्या, आगजनी, लुटपाट र विनाशका दोषीहरूलाई कडा कारबाही गरियोस् तथा २०४६ सालदेखि हालसम्म उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीहरूबाट भएका भ्रष्टाचार एवं अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरियोस् ।
सेयर बजारमा ४ अर्ब ६९ करोडको कारोबार
काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एकसचेन्ज (नेप्से) परिसूचक १४ अंकले बढेर २७२६ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार १५३ कम्पनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३३८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिलाइन्स स्पिीनिङको भएको छ । रिलाइन्सको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै आँखु खोलाको २७ करोड, रिडि पावरको २४ करोड, सोलु हाइड्रोको १७ करोड र एनआरएन इन्फ्राइस्ट्रक्चरको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । एभरेष्ट कलरको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ ।
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
जनकपुरधाम । नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक गोविन्दकुमार साह आफैँ ठगीमा परेको भनी दुखेसो पोखेका छन् । धितोमा रहेको आफ्नो जग्गा बैंकमा पुनःधितो राखी अरु कसैले चार करोड रुपैयाँ ऋण लिएको थाहा पाएपछि आफू ठगीमा परेको उनले जानकारी दिए । धनुषाको विदेह नगरपालिका–८ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–२ मा बसोबास गर्दै आएका सुरक्षाकर्मी साहले आफू ठगिएको थाहा पाएपछि प्रहरीमा उजुरी दिएको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिए । पूर्वएसएसपी साहका अनुसार विसं २०७९ मा चिनजानका व्यक्तिसँग रु ९९ लाख ऋण लिइ विदेह नगरपालिका–६ तीनकौरियाको पत्नीका नाममा रहेको पाँच कठ्ठा १३ धुर दृष्टिबन्धक गरिदिएकामा उनलाई थाहा नै नदिइ ती व्यक्तिले अर्कालाई त्यो जग्गा पुनः धितो राखी चार करोड रुपैयाँ ऋण लिएका थिए । पूर्वसुरक्षाकर्मी साहका अनुसार ऋणको साँवा–ब्याज तिर्ने र जग्गा फिर्ता गरिदिन पटक–पटक आग्रह गर्दा ती व्यक्तिले विभिन्न बहाना बनाएपछि उनले ठगीको उजुरी दर्ता गराएका छन् । पूर्ववरिष्ठ उपरीक्षक साहको जाहेरीका आधारमा धनुषा प्रहरीले ठगीको अभियोग लागेका स्थानीय गोपाल साह, उनकी पत्नी रेखाकुमारी साह तथा छोरा हरेराम साहलाई पक्राउ गरेको छ ।
नबिल बैंक नेपाल्स बेस्ट बैंकसहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
काठमाडौं । नबिल बैंक लिमिटेड विश्व बैंकिङ क्षेत्रको प्रतिष्ठित युरोमनी अवार्ड्स फर एक्सिलेन्स अन्तर्गत तीन विधामा सम्मानित भएको छ । बैंकले ‘नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ र ‘नेपाल्स बेस्ट बैंक फर एसएमईज्’ उपाधि प्राप्त गरेको जनाएको छ । बैंकका अनुसार यी अवार्डले नबिल बैंकको सुदृढ वित्तीय अवस्था, डिजिटल रूपान्तरण, जिम्मेवार बैंकिङ अभ्यास तथा वातावरणीय, सामाजिक र सुशासन (ईएसजी) मा गरेको योगदानसँगै साना तथा मझौला उद्यम (एसएमई) प्रवर्द्धनमा खेलेको भूमिकाको अन्तर्राष्ट्रिय स्तरमा कदर गरेका छन् । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले उक्त सम्मानले बैंकप्रति ग्राहक, कर्मचारी, शेयरधनी तथा साझेदारले राखेको विश्वासलाई थप मजबुत बनाएको बताए । उनले नवप्रवर्तन, दिगोपना र समावेशी आर्थिक विकासप्रतिको प्रतिबद्धतालाई अझ सशक्त बनाउँदै आगामी दिनमा पनि उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । बैंकिङ क्षेत्रको प्रतिष्ठित अवार्डमध्ये एक मानिने युरोमनी अवार्ड्स फर एक्सिलेन्सले नवप्रवर्तन, नेतृत्व र उत्कृष्ट कार्यसम्पादनका आधारमा विभिन्न देशका उत्कृष्ट वित्तीय संस्थालाई सम्मान गर्दै आएको छ। नबिल बैंकका अनुसार ‘नेपाल्स बेस्ट बैंक’ उपाधिले बैंकको समग्र बैंकिङ उत्कृष्टता, ग्राहक केन्द्रित सेवा र डिजिटल नवप्रवर्तनलाई मान्यता दिएको छ । त्यस्तै ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ अवार्डले दिगो वित्त, हरित लगानी, वित्तीय समावेशीकरण र सामाजिक उत्तरदायित्वका क्षेत्रमा बैंकले गरेको नेतृत्वदायी योगदानको कदर गरेको जनाएको छ । यस्तै ‘नेपाल्स बेस्ट बैंक फर एसएमईज्’ अवार्डले साना तथा मझौला उद्यमका लागि लक्षित वित्तीय सेवा, विशेष कर्जा योजना तथा परामर्श सेवामार्फत उद्यमशीलता र आर्थिक गतिविधि विस्तारमा बैंकले खेलेको भूमिकालाई सम्मान गरेको बैंकले जनाएको छ । बैंकले विगत केही वर्षदेखि डिजिटल बैंकिङ, दिगो बैंकिङ अभ्यास र वित्तीय समावेशीकरणमा निरन्तर लगानी गर्दै ग्राहक, समुदाय, सेयरधनी तथा समग्र अर्थतन्त्रका लागि दीर्घकालीन मूल्य सिर्जना गर्ने रणनीतिलाई अघि बढाइरहेको जनाएको छ ।
सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा कर अधिकृत पक्राउ
जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको छ । आयोगको बर्दिवासबाट खटिएको टोलीले सेवाग्राीसँग घुस लिँदै गरेको अवस्थामा कर अधिकृत पाललाई पक्राउ गरेको आयोगका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए । लहानस्थित एक कम्पनीको कर परीक्षणमा सहज गरिदिने भन्दै कर अधिकृत पालले सेवाग्राहीसँग घुस लिएको अभियोग छ । सूचना अधिकारी पोखरेलका अनुसार घुसको रकम यकिन गर्न कर अधिकृत पालमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।
‘सुरुङमार्गभित्र गाडी रोक्न, ओभरटेक गर्न पाइँदैन, २ तथा ३ पाङ्ग्रे सवारी छिर्न पनि पाइन्न’
लामो समयदेखि प्रतीक्षा गरिएको नागढुंगा सुरुङमार्ग साउन ११ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । हाल भौतिक पूर्वाधार निर्माणको काम सकिएसँगै सञ्चालनको अन्तिम तयारी भइरहेको छ । सुरुङमार्गको सञ्चालनको जिम्मा पाएको चिनियाँ र नेपाली निर्माण कम्पनीको संयुक्त टोली युसिन एआरटी जेभीले प्राविधिक जडान र सञ्चालनको अन्तिम तयारी तीव्र रुपमा गरिरहेको छ । विशेषगरी सुरुङमार्गको सञ्चालन, व्यवस्थापन, सुरक्षा, चुनौती र प्राविधिक पक्षबारे युसियन एआरटी टोलीका नेपाली प्रतिनिधि तथा सेफ्टी म्यानेजमेन्ट डेपुटी लिडर कविराज श्रेष्ठसँग विकासन्युजका लागि नरेन्द्र विष्टले कुराकानी गरेका छन् । सुरुङमार्ग सञ्चालनको सम्पूर्ण प्राविधिक र सुरक्षा तयारी पूरा भएको हो ? हो, आगामी साउन ११ गते अर्थात् जुलाई २७ बाट नागढुङ्गा सुरुङमार्गलाई सञ्चालनमा ल्याउन सरकारको निर्देशन छ । त्यही निर्देशनअनुसार हामीले विभिन्न चरणका प्राविधिक परीक्षणहरू, कर्मचारीको तालिम र सुरक्षा पूर्वाधारको तयारी गरिरहेका छौं । अहिले हामी अन्तिम चरणको अभ्यासमा जुटेकका छौं । हामी सञ्चालनका लागि पूर्ण रूपमा तयार भइसकेका छौं । यो नेपालको लागि गौरवको आयोजना मात्र नभएर इन्जिनियरिङ क्षेत्रको एउटा ठुलो फड्को पनि हो । सवारी चालकले सुरुङमार्गभित्र प्रवेश गर्दा अनिवार्य रूपमा पालना गर्नुपर्ने नियमहरू के–के हुन् ? सुरुङमार्गको सुरक्षा व्यवस्था अत्यन्तै संवेदनशील र प्रविधियुक्त हुन्छ । त्यसैले चालकले केही नियमहरू कडाइका साथ पालना गर्नुपर्ने हुन्छ । पहिलो, सुरुङमार्गको इस्ट पोर्टल अर्थात् काठमाडौं तर्फ वा वेस्ट पोर्टल (धादिङ तर्फ) मा प्रवेश गर्नेबित्तिकै चालकले तोकिएको गतिको सीमा पालना गर्नुपर्छ । दोस्रो, सुरुङमार्गभित्र छिर्नु अगाडि नै आफ्नो सवारीको हेडलाइट अनिवार्य रूपमा बाल्नुपर्छ । साथै सुरक्षाका लागि इमर्जेन्सी लाइट पनि बाल्नुपर्ने हुन्छ । तेस्रो र सबैभन्दा महत्त्वपूर्ण नियम भनेको सुरुङमार्गभित्र कहिल्यै पनि ओभरटेक गर्न पाइँदैन । एउटा गाडीले अर्को गाडीलाई उछिन्न खोज्दा ठुलो दुर्घटना हुन सक्छ । सुरुङमार्गभित्र गाडी रोक्न शख्त निषेध छ । अत्यन्तै आपत्कालीन अवस्था बाहेक गाडी रोक्न पाइँदैन । यदि गाडी बिग्रिएमा पनि त्यसको लागि निश्चित स्टप स्पट र उद्धार टोलीको व्यवस्था गरिएको छ । सेफ्टी म्यानेजमेन्ट डेपुटी लिडर कविराज श्रेष्ठ । यात्रु र चालकहरूलाई तपाईं के सन्देश दिन चाहनुहुन्छ ? हाम्रो सन्देश भनेको सजग र अनुशासित हुनुहोस् भन्ने नै हो । हामीसँग सुरुङमार्गमा अत्याधुनिक कन्ट्रोल रुम छ । प्रत्येक मिटरको गतिविधि हामी मोनिटर गरिरहेका हुन्छौं । सुरुङभित्र ठुला–ठुला स्पिकरहरू जडान गरिएका छन् । यदि कुनै चालकले नियम उल्लंघन गरेमा वा असुरक्षित गतिविधि गरेमा हामी कन्ट्रोल रुमबाटै माइक मार्फत निर्देशन दिन्छौं । जुन चालकले आफ्नो सिटमै बसेर स्पष्ट सुन्न सक्छ । त्यसैले ट्राफिक नियमको पालना गरी सुरक्षित यात्रा गर्न हामी सबैमा अपिल गर्दछौं । सबै प्रकारका सवारी साधन सुरुङमार्गमा जान पाउँछन् कि केही प्रतिबन्धहरू पनि छन् ? सुरुङमार्गको संवेदनशीलतालाई हेरेर केही सवारी साधनलाई प्रवेश निषेध गरिएको छ । सरकार र सडक विभागको निर्णय अनुसार अहिलेलाई दुईपाङ्ग्रे (मोटरसाइकल/स्कुटर) र तीनपाङ्ग्रे (अटो रिक्सा आदि) सवारी साधनलाई सुरुङमार्गमा प्रवेश निषेध गरिएको छ । यसैगरी, ग्यासका बुलेटहरू, प्रज्वलनशील केमिकल बोकेका गाडीहरू र पेट्रोलियम पदार्थ बोकेका ट्याङ्करहरूलाई पनि सुरक्षाका कारण सुरुङभित्र जान दिइने छैन । धेरै उचाइ भएका र बढी भार भएका सवारी साधनका साथै चौपाया बोकेका गाडीहरूलाई पनि प्रवेश निषेध गरिएको छ । यस्ता सवारी साधनहरू पुरानै साविकको बाटो भएर जानुपर्ने हुन्छ । गाडीको गतिको सीमा कति निर्धारण गरिएको छ ? सामान्यतया हामीले सुरुमा प्रति घण्टा ४० किलोमिटरको सीमा राख्ने सोच बनाएका छौं । तर, सुरुको एक/दुई हप्ता यात्रु र चालकलाई बानी नपरुन्जेलसम्मका लागि प्रति घण्टा ३० किलोमिटरको गतिको सीमा तोक्ने विषयमा हाम्रो सेफ्टी युनिटले छलफल गरिरहेको छ । बिस्तारै मानिसहरू अभ्यस्त भएपछि यसलाई समायोजन गर्न सकिन्छ । यो सुरुङमार्ग हुँदै काठमाडौंबाट बाहिरिने नागढुङ्गाको उकालो र जाममा कत्तिको राहत मिल्छ ? समयको बचत कति होला ? यो सुरुङमार्गको सबैभन्दा ठुलो फाइदा नै समय र इन्धनको बचत हो । साविकको बाटोबाट जाँदा नौबिसेदेखि थानकोटसम्म उकालो, घुम्ती र जामका कारण सामान्य अवस्थामा पनि ४५ मिनेट देखि १ घण्टा लाग्ने गर्छ । जाम हुँदा त ३/४ घण्टासम्म पनि कुर्नुपर्ने हुन्छ । तर सुरुङमार्गको प्रयोग गर्दा सिस्नेखोला देखि किसिपिढीसम्मको ५ किलोमिटरको दूरी पार गर्न जम्मा ७ देखि ८ मिनेट मात्र लाग्छ । यसले गाडीको इन्धन खपत घटाउँछ, गाडीको इन्जिनको आयु बढाउँछ र मानिसको अमूल्य समय जोगाउँछ । यो एउटा गेम–चेन्जर प्रोजेक्ट हो । आयोजना सञ्चालनका लागि जनशक्तिको व्यवस्थापन कसरी गरिएको छ ? सुरुङमार्ग सञ्चालनका लागि हामीले दक्ष जनशक्तिको एउटा ठुलो टोली तयार गरेका छौं । सडक विभागको टेन्डर प्रक्रिया अनुसार विभिन्न युनिटहरू छन् । जस्तैः फ्यासिलिटी म्यानेजमेन्ट युनिट, ट्राफिक फ्यासिलिटी कन्ट्रोल म्यानेजमेन्ट, सिभिल वर्क युनिट, टोल कलेक्सन र सेफ्टी म्यानेजमेन्ट युनिट । जम्माजम्मी १५० जना कर्मचारीको दरबन्दी छ । यसमा सिभिल इन्जिनियर, मेकानिकल इन्जिनियर, टोल कलेक्टर र सुरक्षा विज्ञहरू समावेश छन् । नेपालमा सुरुङ मार्गको अनुभव भएका मानिस कम भएकोले हामीले धेरैलाई अहिले विशेष तालिम दिएर तयार पारेका छौं। नेपालको पहिलो सुरुङमार्ग भएकोले यसमा जोखिम र चुनौतीहरू के–के देख्नुहुन्छ ? चुनौतीहरू त अवश्य छन् । सबैभन्दा ठुलो चुनौती भनेको मानिसहरूको व्यवहार र अनुशासन हो । नयाँ संरचना भएकोले चालकहरू एक्साइटेड भएर सुरुङ भित्र फोटो खिच्ने, गाडी रोक्ने वा उच्छृङ्खल गतिविधि गर्ने सम्भावना हुन्छ । तर प्राविधिक रूपमा भन्नुपर्दा सुरुङमार्ग बाहिरको बाटो भन्दा बढी सुरक्षित हुन्छ । यहाँ हावाहुरी, बाढी वा पहिरोको प्रत्यक्ष असर पर्दैन । यद्यपि, भित्र हुन सक्ने आगलागी वा मेकानिकल फेलियर हाम्रा लागि चुनौती हुन्, जसका लागि हामीले पर्याप्त पूर्वतयारी गरेका छौं । दैनिक कति सवारी साधन आउजाउ गर्ने अनुमान छ र यसबाट हुने आम्दानीको अवस्था के होला ? अहिलेको ट्राफिक तथ्याङ्क हेर्दा नागढुङ्गा भञ्ज्याङ भएर दैनिक धेरै सवारी साधन चल्छन् । हामीले सुरुङमार्गबाट दैनिक करिब १० हजार सवारी साधन आउजाउ गर्ने अनुमान गरेका छौं । आम्दानीको कुरा गर्दा यो टोल कलेक्सनमा आधारित हुन्छ । तर ठ्याक्कै कति आम्दानी हुन्छ भन्ने कुरा म अहिले भन्न सक्ने अवस्थामा छैन । किनकि त्यो मेरो कार्यक्षेत्र भन्दा बाहिरको कुरा हो । सुरुङमार्गको जिम्मेवारी पाएको चिनियाँ र नेपाली कम्पनी युसियन एआरटी जेभीले मुख्य रूपमा के–के काम गर्छ ? हाम्रो कम्पनीको मुख्य जिम्मेवारी नै नागढुङ्गा सुरुङमार्ग सञ्चालन तथा मर्मत हो । यस अन्तर्गत सवारी साधनको आवागमनलाई सुचारु बनाउने, टोल कलेक्सन गरी सरकारलाई बुझाउने, सुरुङमार्गभित्रका प्राविधिक उपकरणहरूको रेखदेख गर्ने, सरसफाइ गर्ने र सानातिना टुटफुट भएमा मर्मत गर्ने कामहरू पर्छन् । मुख्य उद्देश्य भनेको यात्रुलाई सुरक्षित र निर्बाध सेवा दिनु हो । चिनियाँ र नेपाली टोली बीचको समन्वय र जिम्मेवारी बाँडफाँड कसरी गरिएको छ ? यो एउटा संयुक्त टोली हो । चिनियाँ विज्ञहरूसँग सुरुङमार्ग सञ्चालनको लामो अनुभव छ । त्यसैले अहिले प्रत्येक महत्त्वपूर्ण युनिटको हेडको रूपमा चिनियाँ विज्ञहरू हुनुहुन्छ । उहाँहरूले नेपाली कर्मचारीहरूलाई प्रविधि हस्तान्तरण गरिरहनुभएको छ । जम्मा ८ देखि १० जना चिनियाँ विज्ञहरू हुनुहुन्छ । नेपाली टोलीमा पनि सिभिल इन्जिनियर र अन्य प्राविधिकहरू छन् जो भविष्यमा यसलाई स्वतन्त्र रूपमा सञ्चालन गर्न सक्षम हुनेछन् । सडक विभागले सीभी र कार्यक्षमताका आधारमा कर्मचारीको एप्रुभल दिएपछि मात्र हामीले नियुक्ति गरेका छौं । सुरुङमार्गभित्र सुरक्षा संयन्त्र र उपकरणहरू कसरी मिलाउनुभएको छ ? सुरुङमार्गभित्र सुरक्षाका लागि विभिन्न लेयरको व्यवस्था गरेका छौं । १५ वटा शक्तिशाली ‘जेट फ्यान’ राखिएका छन् । जसले भित्रको कार्बन मोनोअक्साइड र धुवाँको स्तर हेरेर अटोमेटिक रूपमा आफ्नो गति परिवर्तन गर्छन् । लाइटिङ सिस्टम पनि अटोमेटिक बनाइएको छ । जसले बाहिरको घाम वा बदलीको अवस्था हेरेर भित्रको प्रकाश समायोजन गर्नेछ । सुरुङमार्गभित्र हुन सक्ने सम्भावित दुर्घटना वा आगलागीलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारेका छौं । हरेक ५० मिटरमा फायर हाइड्रेट (आगो निभाउने संयन्त्र) जडान छन् । आगलागीको सूचना पाउने बित्तिकै बज्ने अटोमेटिक अलार्मको व्यवस्था छ । पोर्टलमा ५००० लिटर क्षमताका दुईवटा दमकल र तालिमप्राप्त फायर फाइटरहरू चौबिसै घण्टा स्ट्यान्डबाई रहनेछन् । सुरुमा बसलाई मात्र, त्यो पनि एकतर्फी रूपमा सञ्चालन गर्ने कि भन्ने विषयमा छलफल भइरहेको छ । सबैजना यस प्रविधिसँग परिचित भएपछि मात्र दुईतर्फी बस सञ्चालन र त्यसपछि क्रमशः अन्य साना तथा ठुला सवारी साधनलाई अनुमति दिइने तयारी भइरहेको छ । सेफ्टी म्यानेजमेन्ट युनिट अन्तर्गत रेस्क्यु टिम, पेट्रोल टिम, फायर फाइटिङ टिम, भेइकल टोइङ र भेइकल लिफ्टिङ टिमहरू छन् । सुरुङमार्गभित्र २४सै घण्टा पेट्रोलिङ भइरहन्छ । कुनै पनि सानो दुर्घटना वा गाडी बिग्रने घटना भएमा हामी तुरुन्तै थाहा पाउँछौं र ५ देखि १० मिनेटभित्र उद्धार टोली घटनास्थलमा पुग्छ । यदि सुरुङमार्गभित्र गाडी बिग्रियो वा टायर पन्चर भयो भने के गर्ने ? यदि गाडी बिग्रिएमा चालकले आत्तिएर गाडी बाटोमै छोड्नु हुँदैन । हामीसँग टोइङ भेइकल र लिफ्टिङ भेइकलहरू तयारी अवस्थामा छन् । हामी तुरुन्तै त्यो गाडीलाई तानेर सुरुङ बाहिर निकाल्छौं वा साइड लगाउँछौं ताकि अरू गाडीलाई अवरोध नहोस् । सुरुङमार्गभित्र गाडी मर्मत गर्न वा टायर फेर्न पाइँदैन, किनकि त्यसले जाम र दुर्घटना निम्त्याउन सक्छ । सुरुङमार्गमा आपतकालीन टेलिफोन बुथ राखिएको कुरा सत्य हो ? हो, आपतकालीन टेलिफोन बुथहरू राखिएको छ । यदि तपाईंको मोबाइलले काम गरेन वा कुनै समस्या पर्यो भने तपाईंले ती बुथमा गएर फोन उठाउने बित्तिकै सिधै कन्ट्रोल रुममा सम्पर्क हुन्छ । तपाईंले आफ्नो समस्या बताएपछि हाम्रो टोली तुरुन्तै आउँछ । आगलागी भयो भने नियन्त्रणका लागि के व्यवस्था छ ? आगलागी नियन्त्रणका लागि यहाँ फायर हाइड्रेन्टहरू जडान गरिएका छन् । सुरुङको दायाँ–बायाँ भित्तामा पानीका पाइपहरू छन् । पाइपमा पानीको पर्याप्त प्रेसर हुन्छ । साथै प्रत्येक निश्चित दूरीमा फायर इस्टिङ्ग्युसर अर्थात् आगो निभाउने उपकरण राखिएका छन् । हाम्रा आफ्नै दमकलहरू पनि पोर्टलमा स्ट्यान्डबाई हुन्छन् । सुरुङमार्गभित्र प्रदूषण र धुवाँको व्यवस्थापन कसरी हुन्छ ? हामीले जेट फ्यानहरू राखेका छौं । सुरुङमार्गभित्र गाडीहरू चल्दा निस्कने धुवाँ र कार्बनमोनोअक्साइडलाई बाहिर फाल्न र ताजा अक्सिजन भित्र ल्याउन यी फ्यानहरूले २४सै घण्टा काम गर्छन् । यदि भित्र आगलागी भएर धुवाँ भरियो भने स्मोक डिटेक्टरले तुरुन्तै संकेत दिन्छ र यी फ्यानहरूले धुवाँलाई तीव्र गतिमा बाहिर फाल्छन् । यसले गर्दा यात्रुलाई सास फेर्न समस्या हुँदैन । सुरुङमार्गभित्र बत्ती गयो भने के हुन्छ ? सुरुङमार्गभित्रको बिजुली आपूर्ति कहिल्यै काटिँदैन । ९९.९९ प्रतिशत बिजुली नजाने व्यवस्था गरिएको छ । यदि मुख्य लाइनबाट बिजुली गयो भने पनि १५ सेकेन्डभित्र हाम्रो अत्याधुनिक ब्याकअप जेनेरेटर र अटोमेसन सिस्टमले बिजुली सुचारु गर्छ । सुरुङमार्गभित्र अँध्यारो हुने अवस्था नै आउँदैन । विपद् व्यवस्थापनका लागि के-कस्तो योजना छ ? यो सुरुङमार्ग भूकम्प प्रतिरोधी प्रविधिबाट बनाइएको छ । ठुला रेक्टरका भूकम्पले पनि यसलाई असर नगर्ने गरी इन्जिनियरिङ गरिएको छ । यद्यपि, कुनै पनि विपद्को अवस्थामा हामीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको इमर्जेन्सी रेस्पोन्स ग्रुपसँग समन्वय गरेका छौं । मुख्य सुरुङमार्गको छेउमा अर्को सानो सुरुङ पनि देखिन्छ, त्यो के हो ? त्यो इमर्जेन्सी इभ्याकुएसन टनेल हो । यो मुख्य सुरुङको समानान्तर २६८८ मिटरकै लम्बाइमा छ । यदि मुख्य सुरुङमार्गभित्र ठुलो आगलागी भयो, बाटो ब्लक भयो वा युद्ध जस्तो अवस्था आयो भने यात्रुहरूलाई सुरक्षित रूपमा निकाल्न यो प्रयोग गरिन्छ । मुख्य सुरुङबाट यो इभ्याकुएसन टनेलमा जानका लागि निश्चित दूरीमा ढोकाहरू राखिएका छन् । ती ढोकाहरूबाट मानिस र साना गाडीहरू छिर्न सक्छन् र अर्को सुरुङ हुँदै सुरक्षित बाहिर निस्कन सक्छन् । सुरुङमार्गमा जाम भयो भने के गर्ने ? सुरुङमार्गभित्र ओभरटेक गर्न नपाउने भएकोले गाडीहरू एउटै लाइनमा अनुशासित भएर हिँड्नुपर्छ । यदि एउटा गाडी बिग्रिएर जाम भयो भने हामी तुरुन्तै त्यो गाडीलाई तानेर इभ्याकुएसन टनेलमा हाल्छौं वा बाहिर निकाल्छौं । जाम हुन नदिनु नै हाम्रो मुख्य काम हो । नेपाली टोलीले चिनियाँ प्रविधिबाट के सिकिरहेको छ ? हामीले धेरै कुरा सिकिरहेका छौं । सुरुङ मार्गको सञ्चालन, कन्ट्रोल रुमको मोनिटरिङ, टोल कलेक्सन सफ्टवेयर र सुरक्षाका प्राविधिक पक्षहरू हाम्रा लागि नयाँ थिए । चिनियाँ र भारतीय विज्ञहरूले हामीलाई मक ड्रिल र ड्राई रिहर्सल गराइरहनुभएको छ । अबको केही समयपछि नेपाली जनशक्ति नै यो सुरुङमार्ग पूर्ण रूपमा सञ्चालन गर्न सक्षम हुनेछ । यो एउटा ठुलो ज्ञान र प्रविधि हस्तान्तरणको अवसर हो । यदि सुरुङमार्ग कुनै कारणले बन्द भयो भने विकल्प के छ ? सुरुङमार्ग बन्द हुने अवस्था आएमा यात्रुहरूले साविककै नागढुङ्गाको उकालो बाटो (पुरानो बाटो) प्रयोग गर्नुपर्ने हुन्छ । त्यो बाटोलाई पनि सरकारले विकल्पको रूपमा सधैं सुचारु राख्नेछ । सुरक्षित सुरुङमार्ग प्रयोग गरौं । देशको विकासमा सघाऔं । हामीले नागढुङ्गा सुरुङमार्गले नेपालको यातायात क्षेत्रमा नयाँ क्रान्ति ल्याउने विश्वास गरेका छौं । यसमा सबैको साथ सहयोग आवश्यक छ ।
नेपाल माइक्रो इन्स्योरेन्सका सीईओ रिमाल पक्राउ
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन् । बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा उनी पक्राउ परेका हुन् । बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई काठमाडौं महानगरपालिका, ७ सिफलबाट पक्राउ गरेको हो । रिमाल नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको पत्र जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दिपक भट्टसमेत भएको बीमा ऐन, २०७९ अन्तर्गत र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा फरार रहेका थिए । बिहीबार उनलाई जिल्ला अदालत, बबरमहलमा उपस्थित गराइएको सीआईबीले जनाएको छ । उनीविरुद्ध मुद्दा दायर भएपछि नेपाल माइक्रो इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदबाट निलम्बनमा रहेका छन् ।