विकासन्युज

कांग्रेसले अब भाषणभन्दा बढी ऐतिहासिक निर्णय गर्ने साहस देखाउनुपर्छ : आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बदलिएको राजनीतिक परिवेशमा कांग्रेसले अब भाषणभन्दा बढी ऐतिहासिक निर्णय गर्ने साहस देखाउनुपर्ने बताएका छन् । बीपी कोइरालाको स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै आङ्देम्बेले यस्तो बताएका हुन् । विगतमा एउटा प्रभावशाली भाषणले लामो समयसम्म कार्यकर्तालाई उत्साहित बनाउने अवस्था रहे पनि अहिलेको समय त्यस्तो नरहेको उनको भनाइ छ । ‘अहिलेको समयले हामीसँग एक थान भाषण मात्रै मागेको छैन। कुनै बेला एक व्यक्तिको भाषण सुनेर महिनौं त्यसैमा रमाउने अवस्था थियो,’ उनले भने, ‘तर अहिलेको समयले नेपाली कांग्रेससँग गम्भीरतापूर्वक ऐतिहासिक निर्णय पनि गर भनेर माग गरिरहेको छ। हामीले त्यो सन्देश बुझ्नुपर्छ ।’ उनले कांग्रेसलाई समयको चुनौतीअनुसार अघि बढ्न आग्रह गर्दै पार्टीभित्र खुला छलफल, बहस र वाद–प्रतिवादलाई संस्थागत गर्नुपर्ने बताए ।  जीवन्त राजनीतिक दलमा फरक विचार स्वाभाविक हुने उल्लेख गर्दै उनले बहसबाटै सही निष्कर्ष र बलियो निर्णयमा पुग्न सकिने धारणा राखे ।

सलिकोले एक वर्षमा ५ अर्ब ४२ करोड बीमा शुल्क संकलन, ४ अर्ब दाबी भुक्तानी

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा ५ अर्ब ४२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सोही अवधिमा कम्पनीले ४ अर्ब ९६ करोड रुपैयाँ दाबी भुक्तानी गर्दै उल्लेखनीय व्यावसायिक सफलता हासिल गरेको जनाएको छ । कम्पनीका अनुसार उक्त प्रदर्शनले बीमितप्रतिको प्रतिबद्धता, द्रुत सेवा र ग्राहक विश्वासलाई थप सुदृढ बनाएको छ । पछिल्ला केही वर्षयता सलिकोले व्यवसाय विस्तार, सेवा सञ्जालको सुदृढीकरण तथा ग्राहक पहुँचमा निरन्तर वृद्धि गर्दै आएको जनाएको छ । यससँगै दाबी भुक्तानी क्षमतामा पनि उल्लेखनीय सुधार आएको कम्पनीको दाबी छ। सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले ग्राहक, अभिकर्ता, व्यवसायिक साझेदार, कर्मचारी, सेयरधनी, नियामक निकाय तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट सेवा, छिटो दाबी भुक्तानी तथा नवीन बीमा समाधानमार्फत ग्राहकको विश्वासलाई थप बलियो बनाउने प्रतिबद्धता जनाए । कम्पनीले आगामी दिनमा पनि प्रविधिमैत्री सेवा, सहज दाबी व्यवस्थापन तथा नवीन बीमा समाधानमार्फत ग्राहकलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्दै नेपालको बीमा क्षेत्रको दिगो विकासमा योगदानलाई निरन्तर अघि बढाउने जनाएको छ ।

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्टबीचको सहकार्यले निरन्तरता पाएको छ । मार्भल टेक्नोप्लास्ट लगातार दोस्रो वर्ष पनि टोलीको एक्सिलेन्स पार्टनरका रूपमा आबद्ध भएको हो । बुधबार आयोजित कार्यक्रममा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का र मार्भल टेक्नोप्लास्टका उपाध्यक्ष पवनकुमार सन्चेतीले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक खड्काले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीले दुवै संस्थाबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै ब्रान्ड प्रवर्द्धन, बजार विस्तार तथा व्यावसायिक सहकार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । उनले मार्भल टेक्नोप्लास्टजस्ता प्रतिष्ठित कम्पनीहरूले नेपाली क्रिकेटमा निरन्तर लगानी गर्नु सकारात्मक रहेको उल्लेख गर्दै यस्ता साझेदारीले नेपाल प्रिमियर लिग मात्र नभई समग्र नेपाली क्रिकेटको विकास, व्यावसायिकता र दीर्घकालीन उन्नयनमा महत्वपूर्ण योगदान पुग्ने बताए । मार्भल टेक्नोप्लास्टका उपाध्यक्ष पवनकुमार सन्चेतीले पनि सुदूरपश्चिम रोयल्ससँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताउँदै टोलीलाई आगामी प्रतियोगिताका लागि शुभकामना दिए । उनले नेपाल प्रिमियर लिगजस्ता प्रतियोगिताले खेलमार्फत देशलाई एकताबद्ध गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । एनपीएलको तेस्रो संस्करणको तयारीमा रहेको सुदूरपश्चिम रोयल्सले यसअघि पनि विभिन्न व्यावसायिक साझेदारसँगको सहकार्य विस्तार गर्दै आएको छ । पहिलो दुई संस्करणमा उपविजेता बनेको सुदूरपश्चिम रोयल्स प्रतियोगिताकै सबैभन्दा ठूलो समर्थक (फ्यानबेस) भएको टोलीका रूपमा परिचित छ ।

पार्टीको निर्णय र कार्यसूचीभन्दा बाहिर गई गतिविधि गर्न पाइँदैनः घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति गुरुराज घिमिरेले पार्टीको निर्णय र कार्यसूचीभन्दा बाहिर गएर गतिविधि गर्ने छुट कसैलाई पनि नरहेको बताएका छन् । बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसभित्र अनुशासन, एकता र साझा कार्यदिशा अपरिहार्य रहेको उल्लेख गर्दै पार्टीको आधिकारिक निर्णयअनुसार अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गरे । घिमिरेले बदलिँदो समयको माग र जनताको अपेक्षा बुझ्न नसके कांग्रेस कमजोर बन्न सक्ने चेतावनी दिए ।  उनले कांग्रेसलाई पुनः जनतासँग बलियो रूपमा जोड्न युगको आवश्यकता, नागरिकका चाहना र समकालीन राजनीतिक चुनौतीलाई आत्मसात गर्नुपर्नेमा जोड दिए । उनले पार्टीभित्र व्यक्तिगत एजेन्डाभन्दा संगठनको सामूहिक कार्यसूचीलाई प्राथमिकता दिनुपर्ने बताउँदै कांग्रेसलाई जनमुखी, उत्तरदायी र समयअनुकूल बनाउने दिशामा सबै नेता–कार्यकर्ताले एकताबद्ध भएर काम गर्नुपर्ने धारणा राखे ।

सरकारविरुद्ध फेरि आमरण अनशनमा डा. गोविन्द केसी

काठमाडौं । सरकारले माग सम्बोधन नगरेपछि प्रा. डा. गोविन्द केसी फेरि आमरण अनशनमा बसेका छन् ।  चिकित्सा शिक्षा क्षेत्रमा देखिएका विकृति, स्वार्थपरक नियुक्ति र नीतिगत निर्णय सच्याउन सरकारलाई दिएको साउन ५ गतेसम्मको अल्टिमेटम सकिए पनि कुनै पहल नभएपछि उनले सुदूरपश्चिमको धनगढीबाट अनशन सुरु गरेका हुन् । बुधबार धनगढी पुगेका डा. केसी धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिरको धर्मशालामा अनशनमा बसेका छन् ।  उनले पाँचबुँदे माग अघि सार्दै चिकित्सा शिक्षा आयोग र शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालयमा भएका स्वार्थको द्वन्द्व प्रेरित गैरकानुनी नियुक्ति तत्काल बदर गर्न, छात्रवृत्ति कटौती गर्ने तथा निजी मेडिकल कलेजमा सिट वृद्धि गर्ने प्रस्ताव खारेज गर्न र राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ ले व्यवस्था गरेको चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने प्रावधान तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । अनशन सुरु गर्नुअघि जारी विज्ञप्तिमा डा. केसीले आफ्ना मागप्रति सरकार गम्भीर नबनेको आरोप लगाउँदै अनशनका क्रममा उत्पन्न हुन सक्ने कुनै पनि विषम परिस्थितिको पूर्ण जिम्मेवारी वर्तमान सरकारले नै लिनुपर्नेसमेत चेतावनी दिएका छन् । यस्ता छन् पाँच बुँदे माग १. स्थापित नियम र मूल्य–मान्यता विपरीत स्वार्थको द्वन्द्व हुने गरी दशरथ चन्द मेडिकल विश्वविद्यालय लगायत चिकित्सा शिक्षा आयोगमा गरिएका गैरकानुनी र स्वार्थपरक नियुक्तिहरू तत्काल बदर गरी ऐनका विवादित प्रावधानहरू शीघ्र संशोधन गरियोस् । २. चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गरियोस् । ३. ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ बमोजिम चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी प्रावधान शीघ्र कार्यान्वयन गरियोस्। साथै विगतका सरकारहरूसँग भएका लिखित सहमतिहरू कार्यान्वयन गरियोस् । ४. सुदूरपश्चिम लगायत सीमावर्ती क्षेत्रका नागरिकहरू स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकसँग परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य गर्दै नागरिक अधिकार र राष्ट्रिय आत्मसम्मानको रक्षाका लागि आवश्यक पूर्वाधार र सेवा प्राथमिकताका साथ विस्तार गरियोस् । ५. २०८२ भदौ २३ र २४ मा भएका जघन्य हत्या, आगजनी, लुटपाट र विनाशका दोषीहरूलाई कडा कारबाही गरियोस् तथा २०४६ सालदेखि हालसम्म उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीहरूबाट भएका भ्रष्टाचार एवं अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरियोस् ।

सेयर बजारमा ४ अर्ब ६९ करोडको कारोबार

काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एकसचेन्ज (नेप्से) परिसूचक १४ अंकले बढेर २७२६ बिन्दुमा पुगेको छ ।  नेप्सेका अनुसार १५३ कम्पनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३३८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिलाइन्स स्पिीनिङको भएको छ । रिलाइन्सको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै आँखु खोलाको २७ करोड, रिडि पावरको २४ करोड, सोलु हाइड्रोको १७ करोड र एनआरएन इन्फ्राइस्ट्रक्चरको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । एभरेष्ट कलरको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ ।   

पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...

जनकपुरधाम । नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक गोविन्दकुमार साह आफैँ ठगीमा परेको भनी दुखेसो पोखेका छन् ।  धितोमा रहेको आफ्नो जग्गा बैंकमा पुनःधितो राखी अरु कसैले चार करोड रुपैयाँ ऋण लिएको थाहा पाएपछि आफू ठगीमा परेको उनले जानकारी दिए ।  धनुषाको विदेह नगरपालिका–८ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–२ मा बसोबास गर्दै आएका सुरक्षाकर्मी साहले आफू ठगिएको थाहा पाएपछि प्रहरीमा उजुरी दिएको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिए । पूर्वएसएसपी साहका अनुसार विसं २०७९ मा चिनजानका व्यक्तिसँग रु ९९ लाख ऋण लिइ विदेह नगरपालिका–६ तीनकौरियाको पत्नीका नाममा रहेको पाँच कठ्ठा १३ धुर दृष्टिबन्धक गरिदिएकामा उनलाई थाहा नै नदिइ ती व्यक्तिले अर्कालाई त्यो जग्गा पुनः धितो राखी चार करोड रुपैयाँ ऋण लिएका थिए । पूर्वसुरक्षाकर्मी साहका अनुसार ऋणको साँवा–ब्याज तिर्ने र जग्गा फिर्ता गरिदिन पटक–पटक आग्रह गर्दा ती व्यक्तिले विभिन्न बहाना बनाएपछि उनले ठगीको उजुरी दर्ता गराएका छन् ।   पूर्ववरिष्ठ उपरीक्षक साहको जाहेरीका आधारमा धनुषा प्रहरीले ठगीको अभियोग लागेका स्थानीय गोपाल साह, उनकी पत्नी रेखाकुमारी साह तथा छोरा हरेराम साहलाई पक्राउ गरेको छ ।  

नबिल बैंक नेपाल्स बेस्ट बैंकसहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड विश्व बैंकिङ क्षेत्रको प्रतिष्ठित युरोमनी अवार्ड्स फर एक्सिलेन्स अन्तर्गत तीन विधामा सम्मानित भएको छ । बैंकले ‘नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ र ‘नेपाल्स बेस्ट बैंक फर एसएमईज्’ उपाधि प्राप्त गरेको जनाएको छ । बैंकका अनुसार यी अवार्डले नबिल बैंकको सुदृढ वित्तीय अवस्था, डिजिटल रूपान्तरण, जिम्मेवार बैंकिङ अभ्यास तथा वातावरणीय, सामाजिक र सुशासन (ईएसजी) मा गरेको योगदानसँगै साना तथा मझौला उद्यम (एसएमई) प्रवर्द्धनमा खेलेको भूमिकाको अन्तर्राष्ट्रिय स्तरमा कदर गरेका छन् । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले उक्त सम्मानले बैंकप्रति ग्राहक, कर्मचारी, शेयरधनी तथा साझेदारले राखेको विश्वासलाई थप मजबुत बनाएको बताए । उनले नवप्रवर्तन, दिगोपना र समावेशी आर्थिक विकासप्रतिको प्रतिबद्धतालाई अझ सशक्त बनाउँदै आगामी दिनमा पनि उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । बैंकिङ क्षेत्रको प्रतिष्ठित अवार्डमध्ये एक मानिने युरोमनी अवार्ड्स फर एक्सिलेन्सले नवप्रवर्तन, नेतृत्व र उत्कृष्ट कार्यसम्पादनका आधारमा विभिन्न देशका उत्कृष्ट वित्तीय संस्थालाई सम्मान गर्दै आएको छ।  नबिल बैंकका अनुसार ‘नेपाल्स बेस्ट बैंक’ उपाधिले बैंकको समग्र बैंकिङ उत्कृष्टता, ग्राहक केन्द्रित सेवा र डिजिटल नवप्रवर्तनलाई मान्यता दिएको छ । त्यस्तै ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ अवार्डले दिगो वित्त, हरित लगानी, वित्तीय समावेशीकरण र सामाजिक उत्तरदायित्वका क्षेत्रमा बैंकले गरेको नेतृत्वदायी योगदानको कदर गरेको जनाएको छ । यस्तै ‘नेपाल्स बेस्ट बैंक फर एसएमईज्’ अवार्डले साना तथा मझौला उद्यमका लागि लक्षित वित्तीय सेवा, विशेष कर्जा योजना तथा परामर्श सेवामार्फत उद्यमशीलता र आर्थिक गतिविधि विस्तारमा बैंकले खेलेको भूमिकालाई सम्मान गरेको बैंकले जनाएको छ । बैंकले विगत केही वर्षदेखि डिजिटल बैंकिङ, दिगो बैंकिङ अभ्यास र वित्तीय समावेशीकरणमा निरन्तर लगानी गर्दै ग्राहक, समुदाय, सेयरधनी तथा समग्र अर्थतन्त्रका लागि दीर्घकालीन मूल्य सिर्जना गर्ने रणनीतिलाई अघि बढाइरहेको जनाएको छ ।