राजस्वले अनिवार्य दायित्व पनि नधान्ने अवस्था, अर्थमन्त्रीले सुनाए सार्वजनिक वित्तको तीतो यथार्थ
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रियालाई राज्यको सामूहिक परीक्षणको रूपमा व्याख्या गरेका छन् । अर्थ मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा उनले मुलुकको सार्वजनिक वित्त प्रणाली संकटपूर्ण अवस्थामा रहेकोतर्फ सचेत गराए । राज्यको अनिवार्य दायित्व १३३० अर्ब पुगिसकेको तर राजस्व भने ११८० अर्ब मात्र रहेको तथ्याङ्क प्रस्तुत गर्दै अर्थमन्त्रीले यो सीमित स्रोतका बीच नागरिकका आकांक्षाहरू सम्बोधन गर्नु चुनौतीपूर्ण रहेको बताए । उनले अर्थ मन्त्रालयको आफ्नै सीमा र बाध्यताहरू रहेको उल्लेख गर्दै सबै मन्त्रालयलाई यथार्थपरक प्राथमिकता निर्धारण गरेर बजेट निर्माणमा लाग्न निर्देशन दिए । बजेट निर्माणका क्रममा सुशासन, सदाचारिता र आर्थिक वृद्धिलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिँदै अर्थमन्त्रीले आगामी बजेटका लागि १० वटा मुख्य सैद्धान्तिक आधारहरू प्रस्तुत गरे । जसमा संस्थागत सबलीकरण, निजी लगानी प्रवर्द्धन, सूचना प्रविधिको विस्तार, हरित उत्पादन, पुँजी निर्माणका लागि पूर्वाधार विकास, र विपन्न वर्गको उत्थान जस्ता विषयहरू समेटिएका छन् । कार्यक्रममा अर्थसचिव डा. घनश्याम उपाध्यायले मन्त्रालयहरूलाई रकमान्तर प्रक्रियामा सहजीकरण गर्ने र बहुवर्षीय ठेक्काको स्रोत सहमतिको समयसीमा परिवर्तन गर्ने जस्ता सुधारका निर्णयहरू भइसकेको जानकारी दिए । राष्ट्रिय योजना आयोगका पदाधिकारी तथा प्रधानमन्त्रीका सल्लाहकारहरूको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा बजेट महाशाखाका सहसचिव डा. सुमन दाहालले बजेट तयारीको हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए । विभिन्न मन्त्रालयका मन्त्रीहरूले आ-आफ्नो क्षेत्रका समस्या र योजनाहरू राख्नुभएको उक्त छलफललाई बजेट निर्माणको एक नवीन र अनुशासित अभ्यासको रूपमा लिइएको छ । सबै मन्त्रालयका नेतृत्वलाई एकै ठाउँमा राखेर बजेटका प्राथमिकता र वित्तीय अनुशासनबारे अन्तरक्रिया गरिएको यो पहिलो पटक हो ।
नेतृत्वविरुद्ध भ्रम फैलाएको भन्दै कान्छारामसँग कांग्रेसले माग्यो जवाफ
काठमाडौं । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पार्टी नेतृत्व र संगठनविरुद्ध भ्रमपूर्ण अभिव्यक्ति दिएको भन्दै समितिले उनलाई तीन दिनभित्र जवाफ पेश गर्न निर्देशन दिएको हो । केन्द्रीय कार्यालयमा आज संयोजक तारामान गुरुङको अध्यक्षतामा बसेको केन्द्रीय अनुशासन समितिले उक्त निर्णय गरेको हो । अनुशासन समितिका अनुसार जिल्ला सभापतिजस्तो जिम्मेवार पदमा रहेका तामाङले पदीय मर्यादाको ख्याल नगरी पार्टी र नेतृत्वविरुद्ध बदनियतपूर्ण तथा तथ्यहीन अभिव्यक्ति दिएका थिए । उनको उक्त कार्य नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा १ (क, ख, ग, ङ र च) बमोजिम अनुशासन उल्लंघन भएको समितिले ठहर गरेको छ । बैठकले विधानको धारा ३४ को उपधारा ८ (घ) बमोजिम तामाङलाई ३ दिनभित्र आफ्नो स्पष्टीकरण पेश गर्न पत्र काट्ने निर्णय गरेको छ ।
थाइल्याण्ड लैजाने भन्दै ठगी गर्ने सापकोटा पक्राउ
काठमाडौं । सामाजिक सञ्जालमार्फत थाइल्याण्ड जान पाइन्छ भन्दै विज्ञापन गरी ठगी गर्ने स्काई वाल्क टुर्स एण्ड ट्राभल्सका सञ्चालक पक्राउ परेका छन् । आइतबार २३ वर्षीय निर्दोष सापकोटालाई पेप्सीकोलाबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । सापकोटाले भिजा, हवाई टिकट, होटल बुकिङ, गाइडसमेतको सुविधा रहेको भन्दै खर्चवापत लाग्ने रकम स्काई वाल्क टुर्स एण्ड ट्राभल्सको नाममा रकम पठाउन लगाउने गरेका थिए । ग्राहकलाई विभिन्न किसिमको बहाना बनाएर उनले झुलाउँदै आएका थिए । उनले आफै नक्कली टिकट र भिसा बनाएर झुक्याउने गरेका थिए । हालसम्म सापकोटाले २६ जनासँग १६ लाख ६० हजार ठगी गरिसकेको प्रहरीले जनाएको छ।
सिटिजन्स बैंकको १९ वर्ष : सेवा विस्तारसँगै सामाजिक उत्तरदायित्वमा जोड
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैशाख ७ गते १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको अवसरमा १९औँ वार्षिकोत्सव मनाएको छ । १९ वर्षको अवधिमा बैंकले २० लाख ११ हजारभन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको जनाएको छ । सातै प्रदेशमा आफ्नै भवनमार्फत प्रदेश कार्यालय सञ्चालन गरिरहेको बैंकले देशभर २०० शाखामार्फत चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म करिब २ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले बैशाख ७ गते बिहान सातै प्रदेशमा करिब ९४६ कर्मचारीको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रममार्फत जनमानसमा वित्तीय साक्षरताको अभिमुखीकरण हुने अपेक्षा गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले “रक्तदान नै जीवनदान” भन्ने नारासहित नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा सातै प्रदेशका २० शाखाबाट ५५० जनाको सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यसै अवसरमा कोशी प्रदेशको दिक्तेल शाखा, बागमती प्रदेशका तेमाल र लाम्बगर शाखा, लुम्बिनी प्रदेशका बेलाटारी र साउ फर्साटीकर शाखा, गण्डकी प्रदेशका धारापानी र बेनी शाखा, कर्णाली प्रदेशको जुफाल शाखा तथा सुदूरपश्चिम प्रदेशको अमरगढी शाखामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमार्फत करिब ५०० सेवाग्राहीले निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथै आवश्यक औषधि पनि निःशुल्क प्राप्त गरेका छन् ।
केरा किसानका पीडा सुन्दै मन्त्री चौधरीले भनिन्– मल आपूर्ति र बीमा भुक्तानी सहज बनाउँछौं
काठमाडौं । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले केरा उत्पादक किसानसँग भेटवार्ता गरेकी छन् । मन्त्री चौधरीले किसानसँगको भेटवार्तामा केरा उत्पादन, बजारीकरण, मल आपूर्ति लगायत विषयमा छलफल गरिन् । मन्त्री चौधरीले किसान टिक्न सके मात्र कृषि क्षेत्र टिक्ने उल्लेख गर्दै बीमा, उत्पादन र बजार व्यवस्थापनमा समन्वयात्मक ढंगले काम गर्नुपर्नेमा जोड दिएकी छन् । नेपालमा उत्पादन हुने कृषि उपजलाई प्राथमिकता दिनु आवश्यक रहेको र आपूर्ति व्यवस्थामा पारदर्शिता कायम गर्नुपर्ने उनले बताइन् । विश्व बजारमा रासायनिक मलको अभाव देखिए पनि सरकारले यसको सहज आपूर्तिका लागि पहल गरिरहेको मन्त्री चौधरीले जानकारी दिइन् । ‘अभावको बहानामा मूल्यवृद्धि गर्नु वैधानिक होइन, कालोबजारी नियन्त्रणमा सबैको सहयोग आवश्यक छ,’ मन्त्री चौधरीले भनिन् । मन्त्रीले कृषि उत्पादनसँगै बजारीकरणमा पनि सरकारले सहजीकरण गरिरहेको स्पष्ट पारिन् । सो भेटघाटमा किसानहरूले बीमा, मल आपूर्ति, बजारीकरण र नीतिगत समस्याबारे गुनासा राखेका थिए । किसानहरूले बीमा भुक्तानीमा ढिलाइ, प्रिमियम तिरे पनि क्षतिपूर्ति नपाएको, प्राकृतिक विपत्तिबाट भएको क्षतिको राहत नपाएको जस्ता समस्या उठाएका थिए । केरा खेतीमा संलग्न किसानहरूले सीमामा कडाइ, मल अभाव र बजार मूल्यमा अस्थिरताका कारण समस्या भोग्नु परेको बताएका छन् । केही किसानले केरा उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्य भएपनि आवश्यक प्रविधि, मल र नीति सहयोग अभाव रहेको उल्लेख गरे । कैलालीका किसान दीपेन्द्र थारुले किसानले लगानी गरे पनि उचित प्रतिफल नपाएको गुनासो गर्नुभयो । ‘किसान सधैं पीडित किन हुनेरु आपूर्ति कमी हुँदा पनि किसान नै दोषी देखाइन्छ,’ थारुले भने । चितवनका जनक राज पन्तले जग्गा व्यवस्थापन र नदी किनार क्षेत्रमा खेती प्रवर्द्धन गर्नुपर्ने सुझाव दिए । बाराका किसानहरूले कृषि क्षेत्रमा युवा पुस्ता आकर्षित गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा किसानहरूले ५० लाख रुपैयाँसम्मको लगानीमा ८० प्रतिशत बीमा सुविधा भए पनि भुक्तानी प्रक्रिया प्रभावकारी नभएको गुनासो गरेका थिए । एक वर्ष बित्दा पनि बीमा दाबी भुक्तानी नहुने समस्या रहेको उनीहरूले बताएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले बीमा प्रक्रियालाई सहज बनाउन पहल भइरहेको जानकारी दिए । ज्ञान केन्द्रबाट सिफारिसमा ढिलाइ हुँदा क्षतिपूर्ति वितरण प्रभावित भएको उनले बताए। सचिव मिश्रले देशभर करिब ८ सय कृषि प्राविधिक परिचालन गरिएको जानकारी दिँदै प्रभावकारी उपयोग गर्नुपर्ने बताए । साथै सिँचाइ, मल लगायत क्षेत्रमा सरकारले विभिन्न अनुदान उपलब्ध गराउँदै आएको पनि उनले स्पष्ट पारे ।
रास्वपाको सचिवालयमा अटाएनन् बालेन, यस्तो बन्यो नयाँ टिम
काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पार्टीको सचिवालय समितिमा अटेका छैनन् । रास्वपाको सोमबार बसेको केन्द्रीय समिति बैठकले १६ सदस्यीय सचिवालय टिममा उनलाई नराखेको हो । सचिवालय बैठकमा रास्वपाका सभापति रवि लामिछानेसँगै उपसभापति स्वर्णिम वाग्ले, महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी र भुपदेव शाह रहेका छन् । भुपदेवलाई सोमबारको बैठकले अनुमोदन गर्दै सचिवालयमा राखेको हो । यस्तै, सहमहामन्त्री विपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सहकोषाध्यक्ष्य बसुमाया तामाङ र प्रवक्ता मनिष झा पनि सचिवालयमा छन् । सचिवालय सदस्यहरूमा गणेश पराजुली, दिपक बोहरा, बिराज भक्त श्रेष्ठ, शिशिर खनाल, सोबिता गौतम, हरि ढकाल, सागर ढकाल र सरिता श्री ज्ञवाली रहेका छन् । सागर र ज्ञवाली आज नै नियुक्त भएका हुन् । आज बसेको बैठकले ६ जनालाई संघिय नेतृत्व मञ्चमा मनोनित पनि गरेको छ । तुलसी प्रसाद चौधरी, राम सिह थारू, जीवन धामी, प्रेमा चौधरी, नवराज राना र एकराज चौधरीलाई सो मञ्चमा मनोनित गरेको प्रवक्ता मनिष झाले बताए । यस्तै, बैठकले जीवन प्रभा लामा, मोती प्रसाद पंगाली, हरिप्रसाद पाण्डे र विष्णुहरि शर्मालाई केन्द्रीय सल्लाहकार परिषदमा मनोनित गरेको छ ।
प्रधानमन्त्री र गृहमन्त्रीलाई ‘गोली हान्छु’ भन्ने ‘सानु भाइ’ पक्राउ
काठमाडौं । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ परेका छन् । शनिबार काठमाडौं सिनामंगलबाट सानु भाइ भन्ने २० वर्षीय साजन विष्ट पक्राउ परेका हुन् । विष्टले फेसबुकमा सानू भाइ नामक एकाउन्टबाट पूर्वप्रधानमन्त्री केपी ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वमन्त्री दिपक खड्कालाई तुरुन्त रिहा गर अन्यथा प्रधानमन्त्री तथा गृहमन्त्रीलाई गोली हान्न टिम बाध्य हुनेछ जस्ता स्टाटस लेखेका थिए । त्यसैगरी, उनले एके ४७ जस्ता अत्याधुनिक ठुला हतियारहरू काठमाडौंमा भित्रिसकेको भनेर भ्रम फैलाएका थिए । सर्वसाधारणमा त्रास फैलाउने र आफूले भनेका कुराहरू नमानेमा हालको प्रधानमन्त्री तथा गृहमन्त्रीलाई ज्यान मार्ने धम्कीपूर्ण थप भिडियोसमेत उनले सार्वजनिक गरेका थिए । विष्ट ५ वर्षदेखि भारतको बैंगलोरमा बसोबास गर्दै आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनी बैंगलोरको एमजी रोडस्थित फेन्सी स्टोरमा काम गर्थे । उनी भारतमा बस्दा विभिन्न अपराधमा संलग्न रहेको अनुसन्धानबाट खुलेको कार्यालयले जनाएको छ ।
त्रिपुरेश्वरमा गुडिरहेको मोटरसाइकलमा आगलागी
काठमाडौं । त्रिपुरेश्वरको सडकमा गुडिरहेको अवस्थामा मोटरसाइकलमा आगलागी भएको छ । सुनधाराबाट त्रिपुरेश्वरतर्फ गइरहेको बा ९० प ८१८१ नम्बरको मोटरसाइकलमा आगलागी भएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालक ३८ वर्षीय अमृत रेग्मीले चलाएको मोटरसाइकलमा गुडिरहेको अवस्थामा आगलागी भएको हो । मानवीय क्षति नभएको तर मोटरसाइकल भने पूर्ण रूपमा क्षति भएको जनाइएकाे छ ।