अधिक तरलताले बैंकिङ प्रणाली दबाबमा, कर्जा माग नबढ्दा निक्षेप थुप्रिँदै
कृष्णराज गौतम काठमाडौं । अधिक तरलता व्यवस्थापन अहिले समग्र बैंक तथा वित्तीय क्षेत्रले सामना गर्नुपरेका चुनौती बनेको छ । देशका विभिन्न वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स क्षेत्रमा सर्वसाधारण जनताको सङ्कलन भएको निक्षेप अहिलेसम्मकै उच्च तहमा पुगेको हो । बैंकिङ प्रणालीमा लगानी गर्न सकिने करिब नौ खर्ब रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलले जानकारी दिए । ब्याजदर न्यून तहमा कायम गरिँदा पनि पनि कर्जाको मागमा अपेक्षित सुधार आउन नसकेकाले यस क्षेत्रमा चुनौती बढेको हो । बजारमा कर्जाको माग नै नभएको अवस्थामा बढ्दो जोखिमका कारण बैंकहरूले पनि लगानीमा कडाइ गर्दा निक्षेप थुप्रिन पुगेको हो । बजारमा चाहिनेभन्दा बढी लगानीयोग्य रकम बैंकहरूमा थुप्रिएकाले पनि अहिले पैसा भएर पनि राज्य गरिब भएजस्तो अवस्थामा पुगेको छ । पछिल्लो समयमा रेमिट्यान्स प्रवाहमा सुधार आएकाले निक्षेप थपिने क्रम जारी छ । निक्षेप अत्यधिक हुनुले बैंकहरू घाटामा जाने अथवा डुब्ने अवस्थामा नपुग्ने तर पुँजी वृद्धिमा समस्या हुने उनी बताउँछन् । उनी भन्छन्, 'अत्यधिक निक्षेप बैंकहरूका लागि चिन्ताको विषय हो तर, बैंकहरूले विभिन्न क्षेत्रमा लगानी गरेर नाफा कमाउन सक्छन् ।' केन्द्रीय बैंकले विभिन्न योजना तथा कार्यक्रममार्फत कर्जा प्रवाहका लागि व्यवसायीलाई उत्साहित बनाउने प्रयास गरिरहेको छ । राजनीतिक अस्थिरतासँगै उत्पन्न हुने अवस्था, विभिन्न समयमा आन्दोलन, छोटो समयमा हुने सरकार परिवर्तन तथा सरकारले अवलम्बन गर्ने नीति तथा कार्यक्रमजस्ता विषयले पनि केही हदसम्म बैंकका नियमित कार्य प्रभावित हुने गरेको पाइएको छ । यस्ता अवसरको उच्चतम् सदुपयोग गर्दै बैंक अगाडि बढ्नुपर्छ । बैंकले लगानी विस्तार गरी जनआकांक्षाअनुरूपका सेवा सुविधा प्रदान गरेर ग्राहकलाई सन्तुष्ट बनाउने कार्यले हुने वित्तीय गतिविधिले नै देशको अर्थतन्त्र चलायमान हुने गर्दछ । बैंकलाई आमनेपाली जनताले विश्वास गर्छन् । मुलुकभर ससाना एकाइमा छरिएको पुँजीलाई एकीकृत गरेर बैंकले विभिन्न उत्पादनशील क्षेत्रमा लगानी गर्ने गरेका हुन्छन् । स्थानीय स्रोतसाधनको सही सदुपयोग गरी लघुउद्यम सञ्चालन गर्न चाहने जनतालाई बैंकले सहयोग गरिरहेको छ । वित्तीय चेतनाको कमीले विगतमा ठूलठूला व्यापारी र व्यवसायीका लागि मात्रै बैंक स्थापना गरिएको हो भन्ने बुझाई समाजमा थियो । बैंक स्थापनापछि पनि वित्तीय सक्षारताको अभावमा सर्वसाधारण नागरिकले वस्तु विनिमयमार्फत कारोबार गर्ने गर्दथे । बैंकिङ कारोबारलाई सहजरूपमा लिइँदैन थियो । मानिसमा बचत र लगानीको महत्वलाई सचेतना फैलाउने कार्य गरेर बैंकले घरेलु तथा साना उद्योगको विकासदेखि मझौला तथा ठूला उद्योग स्थापना गर्न तथा गरिबी निवारणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सरकारको आम्दानी तथा खर्चको व्यवस्थापन, विदेशी विनिमय सेवा उपलब्ध गराउने, आयात–निर्यात व्यापारमा हिसाब राख्ने, निजी क्षेत्रका व्यवसायी तथा कम्पनीको कारोवारमा समेत बैंकले प्रभावकारी रुपमा कार्य गरिरहेको छ । जेनजी पुस्ताका प्रदर्शनका क्रममा भएका असामान्य परिस्थितिबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिमा कार्यरत कर्मचारीलाई तलब भत्तालगायतका सुविधाका लागि आधार दरमा बढीमा शून्य दशमलव ५० प्रतिशत विन्दु मात्र प्रिमियम थप गरी कर्जा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ । कम्तीमा पनि एकसय महिलालाई रोजगारी प्रदान गरी निर्यातमूलक उद्योग सञ्चालन गर्ने संस्थालाई न्यूनतम् ब्याजदरमा प्रदान गरिने कर्जाले पनि तरलता केही सुधार हुने दिने अपेक्षा गरिएको छ । राष्ट्र बैंकले दिएका यी सहुलियतहरुले कर्जाको माग बढाउनुका साथै अर्थतन्त्रलाई गति दिन सक्छ । रकम पर्याप्त भएको बेला कर्जा माग नै कम भएपछि निक्षेप व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता बैंकलाई छ । कम तरलता हुँदा बजारमा प्रवाह गर्ने र बढी हुँदा तान्ने राष्ट्र बैंकले गर्ने गरेको छ । उनले तरलता व्यवस्थापनका लागि दुई दशमलव ६४ प्रतिशतमा उक्त नौ खर्ब रुपैया राष्ट्र बैंकले खिचेको प्रवक्त पौडेलले जानकारी दिए । अधिक तरलताको समयमा बैंक तथा वित्तीय क्षेत्रमा भएको पर्याप्त लगानीयोग्य रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सकिन्छ । बैंकहरुलाई कर्जा प्रवाह गर्ने क्षमता विकास गर्न केन्द्रीय बैंकले नीतिगत रुपमा सहयोग गर्दै आएको छ । अन्तरराष्ट्रिय परिस्थिति, नजिकिँदै गरेको चुनाव, वित्तीय सुरक्षाजस्ता विषयले कर्जाको माग विस्तारै बढ्ने उनले बताए । तुलनात्मक रूपमा न्यून ब्याजदरमा कर्जा पाइने भएकाले व्यापार व्यवसाय विस्तार तथा औद्योगिकीकरण लगायतका अवसर भए पनि राजनीतिक अन्योलता तथा वस्तुको उत्पादन गर्दा लागत महँगो पर्ने हुँदा तरलता व्यवस्थापन हुन नसकेको हो । यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्दछ । बैंकहरुमा निक्षेप बढ्ने तर कर्जा नबढ्ने हुँदा बैंकहरुको ब्याज खर्च बढ्न गई नाफामा कमी आउन सक्दछ । त्यसकारण पनि निक्षेपको ब्याजदर घट्न थाल्दछ । निक्षेपकर्ताहरु कम ब्याजदरमा निक्षेप बैँकमा राख्न बाध्य हुन्छन् । त्यसले गर्दा निक्षेपकर्ताको आम्दानीको स्रोतमा कमी आउँछ । लगानीयोग्य वातावरण बन्न नसक्दा कर्जाको माग हुँदैन त्यसले गर्दा लगानी अनुत्पादक क्षेत्रतर्फ प्रवाह हुने जोखिम बढाउँछ । अधिक तरलताले बचत घट्ने तथा अनावश्यक उपभोग बढ्ने त्यसले मूल्यवृद्धि हुने क्रम हुन्छ । त्यसैगरी राष्ट्रिय स्तरमा आयातमा वृद्धि भई अर्थतन्त्रमा नकारात्मक असर पार्छ । देशको भुक्तानी सन्तुलनमा समेत असर देखा पर्छ । यसले समग्र मूल्यस्तरमा वृद्धि ल्याउने र मुद्रास्फीतिको अवस्था ल्याउन सक्ने त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागका पूर्वप्रमुख डा रेशम थापाले जानकारी दिए । अधिक तरलताका कारण स्वदेशमा भइरहेको बचतको विदेशतर्फ पनि पलायन हुनसक्ने जोखिमको अवस्था ल्याउँछ । तरलता न्यून तथा अधिक हुनु दुवै वित्तीय प्रणालीमा राम्रो मानिँदैन । कर्जाको माग बढेको अवस्थामा बैंकले आफ्नो क्षमताभन्दा बढी लगानी गरेमा न्यून तरलता समस्या हुने उनले बताए। कागजी प्रक्रियाबाट सुरु गरिएको बैंकिङ प्रणाली सूचना प्रविधिको विकाससँगै समयानुकूल परिवर्तन गर्दै सूचना प्रविधिको प्रयोगमार्फत सेवाग्राहीलाई आधुनिक डिजिटल बैंकिङसम्बन्धी सेवा सुविधा उपलब्ध गराउने क्षमता विकास गरेका छन् । देशभर बैंकका शाखा स्थापना भएकाले पनि यस क्षेत्रमा धेरै जनताको पहुँच स्थापित हुँदै गएको छ भने ग्राहकको सङ्ख्या पनि बढ्ने क्रममा छ । चालिसको दशकमा सरकारले सुरु गरेको आर्थिक उदारीकरणको नीतिका कारण निजी क्षेत्रबाट बैंक तथा वित्तीय संस्था स्थापना तीव्र रुपमा हुन थालेको पाइन्छ । सामान्यतया कुनै पनि व्यक्ति तथा संस्थाले बैंकमा वचत गरेको वित्तीय सम्पत्ति आवश्यक परेको समयमा सजिलै झिकेर खर्च गर्नसक्ने रकममा रूपान्तरण गर्न सकिने अवस्थालाई तरलता भनिन्छ । बैंक तथा वित्तीय क्षेत्रमा तरलतालाई तुरुन्त लगानीयोग्य पुँजीका रूपमा बुझ्ने गरिन्छ । बैंकको दायित्व निक्षेपकर्ताको ब्याजसहित रकम मागेको समयमा फिर्ता गर्नुपर्ने हुन्छ । बैंकको नाफामुखी र सेवामुखी दुबै भएर भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । देशको अर्थतन्त्रमा तरलता, ब्याजदर र मुद्रास्फीतिको निकट सम्बन्ध हुन्छ । तरलता बढ्दा ब्याजदर घट्छ र मुद्रास्फीति बढ्ने गर्छ । तरलतामा सङ्कुचन आयो भने ब्याजदर बढ्छ र मुद्रास्फीति कम हुन्छ । वित्तीय प्रणालीमा नाफा आर्जनका लागि तरलता व्यवस्थापन महत्वपूर्ण हुन्छ । तरलता व्यवस्थापनका लागि सर्वसाधारणले बैंकमा राखेको निक्षेप, बैंकहरूले केन्द्रीय बैंकमा राख्ने गर्दछन् । अर्थात् राष्ट्र बैंक केन्द्रीय बैंक भएकाले तरलता व्यवस्थापन गर्ने उद्देश्यले समग्र वित्तीय प्रणालीलाई गतिशील बनाउन सो रकम राख्ने गर्दछ र निश्चित रकम व्याजका रुपमा सम्बन्धित बैंकलाई दिने गर्दछ । बैंकमा व्यक्ति तथा विभिन्न सङ्घसंस्था, कम्पनी, संस्थान आदिबाट सङ्कलन हुन आएको रकम चल्ती, मुद्दति तथा निक्षेप खातामा जम्मा भएका हुन्छन् । तरलता असन्तुलनका कारण अर्थतन्त्रमा समस्या नआओस् भन्ने उद्देश्यले केन्द्रीय बैंकले तरलताको व्यवस्थापन गर्ने काम गर्दछ । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई निक्षेपको ९० प्रतिशतसम्म कायम गर्न पाउने सुविधा दिएको छ । कर्जा/निक्षेप अनुपात पनि भनिन्छ । राष्ट्र बैंकले बजारमा धेरै तरलता भए प्रशोचन गर्ने र कम भए प्रवाह गर्ने गर्दछ । राजनीतिक अस्थिरता र लगानीयोग्य वातावरणको अभावका कारण कर्जाको माग बढेको छैन । यसले गर्दा बैंक तथा वित्तीय संस्थामा थोरै ब्याजदरमा पनि निक्षेप राख्न स्थिति छ । सरकारले जेनजी प्रदर्शनको क्रममा प्रभावित उद्योग र व्यवसायीलाई सहुलियत ऋण तिर्ने समयावधि थप गरेको छ । यसले कर्जा लिएर भुक्तानी गर्नसक्ने अपेक्षा राखिएको छ । सहुलियतपूर्ण कर्जा र जसले कर्जा लिएर भुक्तानी गर्न नसक्नेका लागि राष्ट्रियस्तरमा खडा हुने पुनर्निर्माण कोषबाट प्रदान गर्ने भएको छ । यसले पनि तरलता व्यवस्थापनमा सहयोग पुग्ने अर्थशास्त्री राधेश्याम मालाकारले बताए । सरकारले पुनर्निर्माणका लागि पुनर्निर्माण कोष खडा गरिसकेको छ । जेनजी प्रदर्शनको क्रममा सृजना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापारिक तथा व्यावसायिक प्रतिष्ठान र आर्थिक गतिविधिलाई तत्काल सञ्चालन गर्नको निमित्त नेपाल सरकार, नेपाल राष्ट्र बैंक र बिमा कम्पनीहरुले विभिन्न किसिमका राहत सुविधाका कार्यक्रम सुरु गरिसकेको छ यसले बजारमा कर्जाको माग बढाउने र अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ । आन्दोलनको कारण भएको तोडफोड र आगजनीबाट भएको क्षति पुनर्निर्माण गर्दा कर्जाको माग बढ्ने व्यवसायीको धारणा छ । पुनःरुत्थानको लागि वित्तीय प्रणालीमा थुप्रिएको रकम उपयोग हुने विश्वास छ । निक्षेप बढ्ने तर कर्जा लगानी नबढ्ने हो भने बैंकहरुको ब्याज खर्चका कारण मुनाफामा कमी आउने तथा सम्बन्धित शेयरधनी पाउने लाभांश पनि प्रभावित हुन जानेछ । रासस
ओएन बायोटेकले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकका ग्लोबल आइएमई क्यापिटल
काठमाडौं । ओएन बायोटेकले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रति सेयर अंकित मूल्य रु. १०० दरका ३० लाख कित्ता साधारण सेयर सार्वजनिक गर्न लागेको हो । कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बुधबार सम्झौतापत्रमा ओएन बायोटेकका तर्फबाट अख्तियार प्राप्त सञ्चालक अध्यक्ष चुन्नप्रसाद शर्माले र ग्लोबल आइएमईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) मन्दिप लुइँटेलले हस्ताक्षर गरे । विसं २०७६ साल पौष २ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको ओएन बायोटेक एण्ड रिसर्च पब्लिक लिमिटेडको केन्द्रीय कार्यालय रुपन्देहीको तिलोत्तमा–१६ मा रहेको छ । कम्पनीका उद्योग क्षेत्रहरू तिलोत्तमा–१६, १७ तथा शुद्धोधन–१ मा सञ्चालनमा छन् । कम्पनीले कृषि उत्पादनपछि खेर जाने सहायक सामग्रीहरू- पराल, भुस, उखुको बगास, तोरीको पिना तथा भुसजस्ता कच्चा पदार्थ प्रयोग गरी ताजा च्याउ उत्पादन गर्दै आएको छ । साथै गहुँ, जुनेलो र कोदो प्रयोग गरी विभिन्न प्रकारका च्याउका बीउ–बीजन उत्पादन तथा आपूर्ति पनि गरिरहेको छ । ताजा च्याउको बजारीकरणसँगै कम्पनीले अत्याधुनिक प्रविधिबाट प्रशोधन गरिएको ड्राई मसरुम उत्पादन गरिरहेको छ भने भविष्यमा क्यान मसरुम प्लान्ट सञ्चालन गर्ने लक्ष्यसमेत लिएको छ । यसका अतिरिक्त, मौसमी तरकारी उत्पादन तथा बजारीकरण, किसानका लागि कम्पोष्ट मल उपलब्ध गराउने कार्य पनि कम्पनीले गर्दै आएको छ ।
सानिमा रिलायन्स लाइफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स लाइफले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसहित अपरेशनल प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश १ र २ मा कार्यरत कर्मचारीहरू सहभागी रहेको कार्यक्रम यही माघ ३ र ५ गते आयोजना गरिएको थियो । उक्त नियमित प्रशिक्षण कम्पनीको प्रमुख सञ्चालन अधिकृत ज्ञान रायमाझीका साथै अभिकर्ता विभाग प्रमुख विशाल श्रेष्ठ, ग्राहक सेवा विभाग प्रमुख ज्ञानेन्द्र देव भट्ट तथा दाबी विभाग प्रमुख सञ्जीव सिंहले प्रदान गरेका थिए । प्रमुख सञ्चालन अधिकृतले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय संस्थाबाट हुनसक्ने समस्या तथा त्यसका समाधानहरूको बारेमा प्रशिक्षण प्रदान गरेका थिए । प्रशिक्षणमा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी ऐन, नियमावली र निर्देशन बमोजिमको कार्य प्रभावकारी रूपमा गर्न गराउन, आवश्यक नीति, कार्यविधि, नियन्त्रण प्रणाली, जनशक्ति, साधनस्रोत समेतको समुचित व्यवस्था मिलाउने लगायत कर्मचारीहरूको काम कर्तव्य र अधिकार आदिको विषयमा छलफल गरिएको थियो । कर्मचारीहरूको क्षमता र सीप अभिवृद्धि गर्दै बिमाको बदलिँदो परिवेशसँग आफूलाई अभ्यस्त गराउन यस्तो खालको कार्यक्रमले सहयोगी भूमिका निर्वाह गर्ने कम्पनीले विश्वास लिएको छ । आफ्नो ग्राहकवर्गको आवश्यकता पहिचान गरी उनीहरूलाई निष्पक्ष परामर्श आवश्यकता रहेको हुन्छ । साथै उपस्थित विभागीय प्रमुखहरूले कम्पनीमा अभिकर्ता र ग्राहकहरूलाई चुस्तदुरुस्त सेवा प्रदान गर्न अपनाउनु पर्ने प्रक्रिया र तरिकाहरुको बारेमा केन्द्रित थियो । हाल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको छ । साथै २० हजारभन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन् ।
समृद्धि फाइनान्सको साधारण सभा सम्पन्न, पोखरा फाइनान्ससँगको मर्जर पारित
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको चौविसौँ वार्षिक साधारण सभा बुधबार होटेल एभोकाडो, हेटौडामा सम्पन्न भएको छ । साधारण सभामा कम्पनीका अध्यक्ष अजय कुमार मिश्रले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले शुभकामना मन्तव्य राख्दै संस्थाले हालसम्म गरेका कार्य तथा प्रगतिबारे जानकारी गराएका थिए । साथै, आर्थिक वर्ष २०८१/८२ को वार्षिक विवरण, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण स्वीकृतिका लागि पेश गरिएकोमा सभाले सर्वसम्मतिले पारित गरेको छ । त्यसैगरी साधारण सभाले पोखरा फाइनान्ससँगको मर्जर प्रक्रिया सर्वसम्मत रूपमा अनुमोदन गर्दै बाँकी प्रक्रिया सम्पन्न गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । साथै, आर्थिक वर्ष २०८२/८३ का लागि आरएसएमए एसोसियट्सलाई बाह्य लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय पनि सर्वसम्मत रूपमा भएको छ ।
बाँकेमा ६१ मतदानस्थल संवेदनशील
नेपालगञ्ज । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेमा रहेका १३९ मतदानस्थलमध्ये ६१ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् । भारतसँग ६५ किलोमिटरको खुला सीमा रहेको जिल्लामा प्रतिनिधिसभाको निर्वाचनका लागि ५० वटा संवेदनशील तथा २८ वटा सामान्य मतदानस्थलका रूपमा रहेको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङले जानकारी दिए । एक सय ३९ मतदानस्थलमा ४०० मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले निर्वाचनलाई मर्यादित र भयरहित रूपमा सम्पन्न गर्नका लागि निर्वाचन लक्षित सुरक्षा व्यवस्था निर्माण गरिएको बताए । उनले सुरक्षामा निर्वाचन प्रहरीसँगै सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालित हुने बताए। मतदानको केही दिनअघिबाटै सीमानाकामा नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त गस्ती हुने र सो गस्ती निर्वाचनको अवधिसम्म जारी रहने जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । बाँकेमा यस पटक तीन लाख ५० हजार ३७१ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिए । उनले अस्थायी मतदाताको नामावली सङ्कलन कार्य जारी रहेको उल्लेख गर्दै अस्थायी मतदान केन्द्रका विषयमा निर्णय नभएको बताए । अस्थायी मतदाताको करिब ७० प्रतिशत नामावली सङ्कलन भएको शाहीको भनाइ छ । अस्थायी मतदाताले समानुपातिकतर्फको निर्वाचन प्रणालीमा मात्रै मतदान गर्न पाउने छन् ।
ज्योति विकास बैंकका ग्राहकलाई चितवनको राइनो लज एन्ड होटलमा २५ प्रतिशतसम्म छुट
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चितवनको सौराहास्थित राइनो लज एन्ड होटल (Rhino Lodge and Hotel) सँग आफ्ना ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका ग्राहकले उक्त होटलमा उपलब्ध सेवा तथा सुविधामा २५ प्रतिशतसम्म छुट पाउनेछन् । सौराहाको रमणीय प्राकृतिक दृश्य, शान्त वातावरण र उच्चस्तरीय आतिथ्य सेवाका कारण राइनो लोज एन्ड होटल चितवनको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै आएको छ । बैंक–होटलबीचको सहकार्यले ग्राहकलाई गुणस्तरीय सेवा किफायती दरमा उपलब्ध गराउने विश्वास बैंकले लिएको छ । ज्योति विकास बैंकले संस्थागत सुशासन, सामाजिक उत्तरदायित्व र दिगो विकासलाई प्राथमिकतामा राख्दै विभिन्न नवीन कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । बैंकले आफ्नै मुनाफाबाट सामाजिक उत्तरदायित्वअन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थाभन्दा ५० प्रतिशत बढी रकम छुट्याएर समाजमा सकारात्मक योगदान पुर्याउँदै आएको दाबी गरेको छ । स्वस्थ र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको आधार भन्ने मान्यताका साथ बैंकले नवजात शिशुको जीवन रक्षा गर्ने उद्देश्यले ‘न्यानो नानी’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । सो कार्यक्रममार्फत हरेक वर्ष २ हजार ५ सय ९० भन्दा बढी नेपाली शिशुको जीवन रक्षा हुँदै आएको बैंकको भनाइ छ । राष्ट्रप्रतिको दायित्व निर्वाह गर्दै ज्योति विकास बैंकले गत आर्थिक वर्षमा ४१ करोड रुपैयाँ कर योगदान गरेको छ । हाल बैंकले उपत्यका तथा उपत्यकाबाहिर गरी ११८ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ एटीएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंकको मोबाईल एपमा ‘लाइभ मार्केट’ सुविधा, आईपीओ आवेदन पनि दिन सकिने
काठमाडौं । ग्लोबल आइएमई बैंकले मोबाईल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमा सेयर बजारसँग सम्बन्धित लाइभ मार्केट सुविधा उपलब्ध गराएको छ । यस सुविधाबाट प्रयोगकर्ताले सेकेन्डरी बजारमा कारोबार भइरहेको सेयरको सम्पूर्ण जानकारी वास्तविक समयमा पाउनेछन् । बैंकका अनुसार लाइभ मार्केट सुविधामा नेप्से कारोबारको सारांश, टप गेनर, टप टर्नओभर, पोर्टफोलियो, वाचलिष्ट, स्टक कम्प्यारिजन, क्यालकुलेटर र ब्रोकर लिस्ट लगायतका जानकारीहरू समेटिएका छन् । यसबाट लगानीकर्ताले बजारका अवसरहरू र आफ्नो लगानीको अवस्था सजिलै ट्र्याक गर्न सक्नेछन् । यस सुविधामा प्रयोगकर्ताले आफ्नो व्यक्तिगत सेयर लगानी खरिद मूल्य र कित्ता संख्या प्रविष्ट गरी कुल लगानीको वर्तमान मूल्य र नाफा–घाटा रियल–टाइम हिसाब पाउन सक्नेछन् । क्यालकुलेटर सुविधाले सेयर किन्ने वा बेच्ने क्रममा सही हिसाब–किताब गर्न सहयोग गर्दछ भने वाचलिष्ट सुविधाले लगानीकर्तालाई मनपर्ने सेयरहरूको मूल्य परिवर्तन र बजार ट्रेन्ड निगरानी गर्न सुविधा दिन्छ । स्टक कम्प्यारिजनले विभिन्न सेयरको तुलनात्मक विश्लेषणमा मद्दत गर्ने बैंकले जनाएको छ । त्यस्तै, ग्लोबल स्मार्ट प्लसबाट अब आईपीओ आवेदन दिन सकिने व्यवस्था पनि गरिएको छ । प्रयोगकर्ताले आफ्नो डिम्याट नम्बर प्रविष्ट गरेपछि सीआरएन नम्बर तुरुन्तै प्राप्त गरी खुल्ला भएको आईपीओमा सजिलै आवेदन दिन सक्नेछन् । बैंकले एपमार्फत आईपीओ खुला भएको जानकारी समेत उपलब्ध गराउने छ, जसले लगानीकर्तालाई अन्य माध्यम प्रयोग नगरी आवेदन दिन सहज बनाउँछ । ग्लोबल स्मार्ट प्लस मार्फत यसअघि उपलब्ध बैंकिङ सेवाहरू जस्तै रकमान्तरण, क्युआर भुक्तानी र दैनिक उपभोग्य शुल्क भुक्तानी अब सेयर बजार र आईपीओ सुविधासँग जोडिएर प्रयोगकर्ताका लागि थप उपयोगी बनेको छ ।
सहकारीमा युवाको सहभागिता सुनिश्चित गर्न जोड, महासंघले जारी गर्यो ६ बुँदे संकल्प
काठमाडौं । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा सम्पन्न ‘दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन–२०८२’ सहकारी अभियानलाई आधुनिक, प्रविधिमैत्री र युवाकेन्द्रित बनाउने स्पष्ट अठोटका साथ ६ बुँदे संकल्प जारी गर्दै सम्पन्न भएको छ । सम्मेलन २०८२ माघ १३ र १४ गते ललितपुरमा भएको हो । देशभरका युवा सहकारीकर्मी, प्रविधि विज्ञ, नीति निर्माता, सरकारी, निजी, गैरसरकारी तथा अन्य सरोकारवालाहरूको व्यापक सहभागितामा सम्पन्न सम्मेलनमा सहकारी क्षेत्रमा युवाको नेतृत्व र प्रविधिको भूमिकाबारे घनीभूत छलफल भएको थियो। सम्मेलनबाट प्राप्त निष्कर्ष र संकल्प सार्वजनिक गर्दै राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेश पोखरेलले सहकारी क्षेत्रको रूपान्तरणका लागि युवा नेतृत्व र प्रविधिको समन्वय अब विकल्प नभई आवश्यकता भएको बताए । सम्मेलनले जारी गरेको ६ बुँदे संकल्पअनुसार सहकारी संघ संस्थाहरूको नीति निर्माण तथा निर्णय प्रक्रियामा युवाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न संस्थागत नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ । साथै, सहकारीलाई पारदर्शी, दिगो र सदस्य–मैत्री बनाउन डिजिटल भुक्तानी प्रणाली, डेटा व्यवस्थापन, फिनटेक, एग्रिटेक लगायतका आधुनिक प्रविधिहरूको पूर्ण अवलम्बन गर्दै प्लेटफर्म–आधारित सेवा प्रवाहका लागि आवश्यक पूर्वाधार, जनशक्ति र नीतिगत सुधारमा जोड दिइने उल्लेख गरिएको छ । युवामैत्री नीति, प्रविधि प्रयोगमैत्री कानुन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्न सरकार, नियामक निकाय र सहकारी अभियानबीच प्रभावकारी समन्वय आवश्यक रहेको निष्कर्ष सम्मेलनले निकालेको छ । नियमन प्रक्रियालाई सरल र प्रविधिमैत्री बनाउने प्रतिबद्धता समेत संकल्पमा समावेश गरिएको छ । युवालाई प्रविधि र उद्यमशीलतामा दक्ष बनाउन सरकारी, निजी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा देशव्यापी तालिम, मेन्टरशिप, अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना र विस्तार गर्ने लक्ष्य लिइएको छ। यसका लागि केन्द्रीय तहमा अन्तर्राष्ट्रियस्तरको र प्रदेश तहमा राष्ट्रियस्तरको प्रविधियुक्त तालिम केन्द्र स्थापना गर्न सरकारसँग माग गर्ने निर्णय गरिएको छ । सहकारीमार्फत देशभर युवा स्वरोजगार सिर्जना गर्न र स्टार्टअप व्यवसायमा युवाको आकर्षण बढाउन सहकारी संघ संस्थाहरूले वित्तीय लगानी, प्राविधिक शिक्षा तथा व्यावसायिक ‘सपोर्ट सिस्टम’ प्रदान गर्ने ठोस संयन्त्र र नीति निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। साथै, उदाहरणीय कार्य गर्ने युवा उद्यमीहरूलाई प्रोत्साहन गर्दै उत्पादनको बजारीकरणका लागि सहकारी नेटवर्कमार्फत एकीकृत ‘ब्रान्डिङ’ र साझा बजार केन्द्र निर्माण गर्ने लक्ष्य लिइएको छ । सम्मेलनको समापन कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष पोखरेलले सम्मेलनमा उठेका युवासम्बन्धी मुद्दा र सुझावहरूलाई सम्बन्धित निकायसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा महासंघका पूर्व अध्यक्षहरू केशव बडाल, दिपकप्रकाश बाँस्कोटा तथा निवर्तमान अध्यक्ष मिनराज कँडेलले सम्मेलन प्रभावकारी र समयसापेक्ष भएको धारणा राखे । सम्मेलनको अन्तिम दिन विभिन्न महत्वपूर्ण प्यानल छलफलहरू सम्पन्न भएका थिए । ‘डिजिटल रूपान्तरणमा प्रविधि र युवा’ विषयक प्यानल छलफलको मोडरेसन व्यापार वृद्धि विकल्पकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रद्धा शाक्यले गरिन् । उक्त छलफलमा खल्तीका फाउन्डर अमित अग्रवाल, एईसीका सीईओ दिपेन्द्र जोशी, कनेक्ट किसानकी सीईओ इ. संजिता लामिछाने र चन्दागिरी साकोसका सीईओ कृष्णकुमार श्रेष्ठ प्यानलिस्टका रूपमा सहभागी थिए । त्यसैगरी ‘युवामैत्री अर्थतन्त्र निर्माणमा राष्ट्रिय दृष्टिकोण’ विषयक प्यानल छलफलको मोडरेसन महासंघका सञ्चालक परितोष पौड्यालले गरे । उक्त प्यानलमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल, सहकारी विभागका रजिष्ट्रार सुशील ढकाल तथा राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले आफ्ना धारणा राखे । सम्मेलनले सहकारी क्षेत्रको भविष्य युवाको नेतृत्व र प्रविधिको प्रभावकारी प्रयोगमै निर्भर रहेको सन्देश प्रवाह गर्दै राष्ट्रिय सहकारी अभियानलाई नयाँ दिशातर्फ अग्रसर गराउने अपेक्षा गरिएको छ ।