विकासन्युज

व्यापारी अग्रवालले भाडाको घरबाट हामफालेर गरे आत्महत्या

काठमाडौं । व्यापारी नवीन अग्रवालले चार तला माथिबाट हाम फालेर आत्महत्या गरेका छन् ।  जिल्ला प्रहरी कार्यालय, काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले सोमबार बेलुकी ६ बजे उनले कामपा– ७, कुमारीगालको एक घरबाट हामफालेको जानकारी दिए । उनका अनुसार अग्रवाल सोही घरमा तेस्रो तलामा भाडामा बस्दै आएका थिए ।  अग्रवाललाई स्थानीयले देखेर स्तुपा अस्पतालमा लगेका थिए । उनको साढे ७ बजे बेलुकी मृत्यु भएको प्रवक्ता भट्टराईले जानकारी दिए । उनका अनुसार अग्रवाल उच्चरक्तचाप, मधुमेह र मानसिक स्वास्थ्य (डिप्रेसन) को औषधि सेवन गर्दै आइरहेका थिए । अग्रवालले भारतबाट कपडा आयात गरी काठमाडौंमा बिक्री गर्थे ।

पोखरामा श्रृङ्खलाबद्ध चोरी गर्ने ९ जनाको गिरोह पक्राउ, ४ जना विदेशी

काठमाडौं । कास्की प्रहरीले पोखराका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध चोरीमा संलग्न एक संगठित गिरोहलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा दुई भारतीय र दुई चिनियाँ नागरिकसहित ९ जना रहेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार यो गिरोह पोखराका कम्तीमा पाँच वटा ठूला चोरीका घटनामा संलग्न देखिएको छ ।  पक्राउ पर्ने विदेशी नागरिकहरूमा भारतको उत्तर प्रदेशका २३ वर्षीय राहुल निसाद, महाराष्ट्रका ४० वर्षीय सोमनाथ हनुमन्त जाधव तथा चीनको वन्जाका ३० वर्षीय वेन जी र स्याङडोङका ३७ वर्षीय वाङ लिया इन रहेका छन् ।  यस्तै, चोरीमा संलग्न तथा सहयोग गर्ने नेपाली नागरिकहरूमा स्याङ्जाका ४२ वर्षीय राजकुमार बिक, कास्की अन्नपूर्णका ५० वर्षीय खिमबहादुर क्षेत्री (राजु केसी), अर्घाखाँचीका २९ वर्षीय अशोक पोखरेल, पोखरा–१६ का ५१ वर्षीय केशव पाइजा मगर र बागलुङका २७ वर्षीय अनिल विक रहेका छन् ।  प्रहरीका अनुसार यो गिरोहले योजनावद्ध रूपमा भूमिका बाँडफाँड गरी चोरी गर्ने गरेको पाइएको छ । भारतीय नागरिकहरू प्रत्यक्ष चोरीमा संलग्न हुने, चिनियाँ नागरिकहरूले चोरीपूर्व ‘रेकी’ (निगरानी) गर्ने र नेपाली सहयोगीहरूले घर देखाउने तथा चोरीका सामान किनबेचमा सहयोग गर्ने गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानका अनुसार चिनियाँ नागरिकहरूले नेपाली र हिन्दी भाषा बुझ्ने भएकाले समूहमा सञ्चार गर्न सहज भएको छ ।  गिरोहले पोखरामा २०८३ असार १४ गते पोखरा–१८ मणिमार्गस्थित हेमराज गिरीको घरबाट २५ तोला सुनचाँदीका गहना र ७० हजार रुपैयाँ, असार ४ गते पोखरा–१७ छोरेपाटनका शिवप्रसाद बरालको घरबाट सुन, नगद १ लाख १५ हजार, ल्यापटप र मोबाइल, २०८३ असार १५ गते पोखरा–१८ भकुण्डेका गिरिधारी श्रेष्ठको घरबाट १ तोला ५४ लाल सुन र दुई थान मोबाइल, २०८३ असार २३ गते, पोखरा–८ का मोहसिन खतामीको कोठाबाट मोबाइल र ८५ हजार नगद, २०८३ असार २३ गते पोखरा–६ लेकसाइडका हिरामणी लामिछानेको घरबाट आइफोन लगायतका सामग्री चोरी गरेका छन् । प्रहरीले उनीहरूको साथबाट ९ थान मोबाइल, १ थान स्मार्ट घडी, १ थान ल्यापटप, विभिन्न तौलका सुनका ढिक्का र टुक्राहरू (करिव १५ तोला) र नगद २ लाख ८१ हजार २२० रुपैयाँ बरामद गरेको छ । पक्राउ परेकाहरूमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याद थप गरी वडा प्रहरी कार्यालय बैदाममार्फत थप अनुसन्धान भइरहेको पासवानले जानकारी दिए । यसैबीच, कास्की प्रहरीले सार्वजनिक बसमा यात्रुको पर्स चोरी गर्ने अर्को एक गिरोहलाई पनि पक्राउ गरेको छ ।  असार ३२ गते रूपा गाउँपालिकाबाट पोखरा आउँदै गरेको ग २ ख १३७२ नम्बरको बसमा अनिता श्रेष्ठको पर्स चोरी गर्ने रौतहटका ४२ वर्षीय गुरुप्रसाद बजगाईं, ३४ वर्षीय रविन खड्का र झापाका ४५ वर्षीय टेकबहादुर भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  उनीहरूको साथबाट चोरी भएको सुनको हार, चाँदीको औंठी र नगद बरामद गरिएको छ । पछिल्लो समय स्थानीय व्यक्तिहरू भन्दा पनि बाहिरी जिल्ला र विदेशी नागरिकहरू समेत चोरीमा संलग्न हुनुले सुरक्षा चुनौती थपिएको प्रहरीको विश्लेषण छ । पक्राउ परेका सबैमाथि जिल्ला प्रहरी कार्यालय, कास्कीले कानुनी प्रक्रिया अगाडि बढाएको छ । 

सातै प्रदेशलाई लक्षित गर्दै एनएमबि बैंकको ‘प्रदेश बचत खाता’ सार्वजनिक

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ योजना सुरु गरेको छ । देशका विभिन्न भागमा रहेका ग्राहकहरूको स्थानीय पहिचान र वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै बैंकले यो नयाँ बचत योजना ल्याएको हो । एनएमबि बैंकले सातै प्रदेशका लागि सातवटा विशेष खाता योजना सुरुवात गरेको छ, जसमा कोशी प्रदेशका लागि कोशी बचत खाता, मधेस प्रदेशका लागि मिथिला बचत खाता, बागमती प्रदेशका लागि बागमती बचत खाता, गण्डकी प्रदेशका लागि फेवा बचत खाता, लुम्बिनी प्रदेशका लागि बुद्धभूमि बचत खाता, कर्णाली प्रदेशका लागि रारा बचत खाता र सुदूरपश्चिम प्रदेशका लागि खप्तड बचत खाता रहेका छन् । डिजिटल बैंकिङ र बचतलाई प्रोत्साहन गर्न यस योजनामा धेरै आकर्षक सुविधाहरू समावेश गरिएका छन् । ग्राहकहरूले पहिलो वर्षका लागि निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क इन्टरनेट बैंकिङ र निःशुल्क भिसा डेबिट कार्डका साथै पहिलो वर्षका लागि निःशुल्क डिम्याट र मेरोसेयर खाता दर्ता सुविधा तथा अन्य धेरै थप सुविधाहरू प्राप्त गर्नेछन् । यस बचत खाताको सुरुवातमार्फत एनएमबि बैंकले देशका सबै भागमा सहज, आधुनिक र डिजिटल बैंकिङ सेवा पुर्‍याउने आफ्नो लक्ष्यलाई अझ अगाडि बढाएको जनाएको छ । एनएमबि बैंकले हाल देशभर १९८ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । 

पोशाक उद्योगीलाई प्रधानमन्त्रीले भने– मानिस होइन, सामान निर्यात गर्ने अर्थतन्त्र बनाऔं

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मानिस विदेश निर्यात गरेर मात्रै देश नबन्ने बताएका छन् । मंगलवार (आज) तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री साहले देश बनाउन मानिस नभई मान्छेले उत्पादन गरेका सामग्री निर्यात गर्नुपर्ने बताएको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले जानकारी दिए ।  प्रधानमन्त्री शाहले तयारी पोशाकको निर्यातमा विशेष जोड दिएको अध्यक्ष पाण्डेले बताए ।  प्रधानमन्त्री शाहले सरकारले तयारी पोशाक उद्योगका समस्या समाधान, निर्यात विस्तार र लगानी प्रवर्द्धनलाई प्राथमिकतामा राखेको पनि उनले बताए । तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डे । प्रधानमन्त्री शाहले तयारी पोशाक उद्योग बंगलादेश, भियतनाम, चीन, भारत र श्रीलंकाभन्दा पछाडि पर्नुको कारणबारे पनि जिज्ञासा पनि राखेका थिए ।  अध्यक्ष पाण्डेका अनुसार तयारी पोशाक उद्योगलाई अर्थतन्त्रको प्रमुख आधार बनाउने विषयमा बुँदागत छलफल भएको छ । पोशाक उद्योगसँग सम्बन्धित मन्त्रालयमा रोकिएका काम तत्काल समाधान गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन् । अमेरिका लगायतका मुलुकसँग स्वतन्त्र व्यापार सम्झौता (एफटीए), वैदेशिक प्रत्यक्ष लगानी (एफडिआई) भित्र्याउने, बहुराष्ट्रिय कम्पनी आकर्षित गर्ने तथा दुई दशकदेखि बन्द रहेका हेटौंडा कपडा उद्योगजस्ता रुग्ण उद्योग पुनः सञ्चालन गर्ने विषयमा पनि छलफल भएको अध्यक्ष पाण्डेले जानकारी दिए । अध्यक्ष पाण्डेका अनुसार ग्रीन गार्मेन्ट भिलेज स्थापना गरी काठमाडौं उपत्यकाभर छरिएका गार्मेन्ट उद्योगलाई एकीकृत गर्ने तथा त्यसलाई औद्योगिक पर्यटनसँग जोड्ने अवधारणामा पनि प्रधानमन्त्रीले चासो देखाएका थिए ।  त्यसैगरी, प्रधानमन्त्री शाहले उद्योगीहरूलाई स्पष्ट कार्ययोजना ल्याउन आग्रह गर्दै प्लान्ट–बेस्ड र एनिमल–बेस्ड फाइबर उत्पादन, कपास खेती, फाइबरदेखि फ्याब्रिक र फ्याब्रिकदेखि फेसन तथा निर्यातको विस्तारमा जोड दिएको पाण्डेले जानकारी दिए । प्रधानमन्त्रीले अमेरिकामा ‘फ्लेमेबिलिटी’ परीक्षणका कारण रोकिएका नेपाली तयारी पोशाकको निर्यात सहजीकरणका लागि परराष्ट्र मन्त्रालयलाई आवश्यक पहल गर्न पनि निर्देशन दिएका थिए । सरकारले आवश्यक नीतिगत सुधार, एफटीए विस्तार र अन्तर्राष्ट्रिय बजारसँग प्रभावकारी समन्वय हुन सकेमा निर्यातलाई १० देखि २० गुणासम्म विस्तार गर्न सकिने अध्यक्ष पाण्डेले बताए ।  अध्यक्ष पाण्डेले गिरिजाप्रसाद कोइरालापछि पहिलो पटक नेपालको प्रधानमन्त्रीले तयारी पोशाक उद्योगीहरुसँग छलफल गरेको बताए । यसले आफूहरूलाई उत्साहित बनाएको उनको भनाइ छ ।   प्रधानमन्त्री साहले उद्योगीसँग समस्या मात्रै नभएर समाधान पनि लिएर आउन आग्रह गरेका छन् । तयारी पोशाक उद्योग संघका महासचिव भीमकुमार गिरीकाअनुसार समस्यासँगै समाधान पनि लिएर आए तत्काल समस्या समाधान गर्न सकिने प्रधामन्त्रीको भनाइ छ ।  साथै सहरमा मात्रै केन्द्रित नभई ग्रामिण क्षेत्रमा पनि उद्योग सञ्चालन गर्न आग्रह गरेको उनले बताए । साथै तयारी पोशाक उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थलगायत सामाग्रीहरू नेपालमै उत्पादन गर्न सक्षम हुनुपर्ने प्रधानमन्त्री साहको भनाइ छ ।  संघका अनुसार नेपालबाट वार्षिक करिब १० अर्ब रुपैयाँ बराबरको तयारी पोशाक निर्यात भइरहेको छ । छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष वसन्तराज अधिकारी, महासचिव भीमकुमार गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल र प्राविधिक सल्लाहकार प्रकाशकुमार झा थिए ।

गोप्य रूपमा सुन थुपार्दै चीन, सरकारी तथ्यांकभन्दा धेरै सुन भएको दावी

काठमाडौं । पछिल्लो समय चीनले चुपचाप ठूलो मात्रामा सुन सञ्चय गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । चीनले अन्तर्राष्ट्रिय बजारबाट खरिद गर्ने सबै सुनको विवरण सार्वजनिक गर्दैन । गोल्डम्यान स्याक्सको अनुमानअनुसार चीनले मे महिनामा लन्डनको ओटीसी (ओभर-द-काउन्टर) बजारमार्फत ४८ टनभन्दा बढी सुन खरिद गरेको थियो । यो एक वर्षभन्दा बढी अवधिमा कुनै एक महिनामा गरिएको सबैभन्दा ठूलो खरिद हो ।  यो परिमाण चीनको केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकभन्दा ४.८ गुणा बढी हो । चीनको केन्द्रीय बैंकले मे महिनामा १० टन सुन खरिद गरेको आधिकारिक घोषणा गरेको थियो । त्यसपछि जुन महिनामा उसले १५ टन सुन खरिद गरेको जनाएको छ, जुन कम्तीमा साढे दुई वर्षयताकै सबैभन्दा ठूलो मासिक खरिद हो ।  यससँगै चीनको केन्द्रीय बैंकले लगातार २०औं महिनासम्म आफ्नो सुन सञ्चिति बढाएको छ । यस वर्ष हालसम्म चीनले आधिकारिक रूपमा ४० टन सुन खरिद गरिसकेको छ । विश्लेषकहरूका अनुसार चीनले खरिद गरेको वास्तविक सुनको परिमाण आधिकारिक तथ्यांकभन्दा निकै बढी छ । उनीहरूको अनुमानमा चीनले यस वर्ष हालसम्म करिब ८० टन सुन सञ्चय गरिसकेको छ । सन् २००९ मा चीन गोल्ड एसोसिएसनका तत्कालीन उपमहासचिव होउ हुइमिनले चीनसँग कम्तीमा ५ हजार टन सुनको सञ्चिति हुनुपर्ने बताएका थिए । तर अमेरिकाको स्तरमा पुग्न चीनले अझै लामो दूरी तय गर्न बाँकी छ । हाल अमेरिकासँग ८ हजार १३३.५ टन सुन सञ्चिति छ, जुन विश्वमै सबैभन्दा ठूलो हो । त्यसपछि जर्मनी (३ हजार ३५०.३ टन), इटाली (२ हजार ४५१.८ टन), फ्रान्स (२ हजार ४३७ टन) र रूस (२ हजार ३३० टन) रहेका छन् । चीन २ हजार ३१३ टन सुन सञ्चितिसहित यो सूचीको सातौं स्थानमा छ । त्यसपछि क्रमशः स्विट्जरल्यान्ड (१ हजार ४० टन), भारत (८८१ टन), जापान (८४६ टन) र नेदरल्यान्ड्स (६१२ टन) रहेका छन् । चीनले किन थुपार्दैछ सुन ? चीनले आफ्नो सुन सञ्चिति बढाइरहनुका पछाडि धेरै रणनीतिक र आर्थिक कारण रहेको विश्लेषकहरूको भनाइ छ । यद्यपि चीनले भने यी कारणहरूलाई आधिकारिक रूपमा पुष्टि गरेको छैन । विश्लेषकहरूका अनुसार चीनले अमेरिकी डलरमाथिको निर्भरता क्रमशः घटाउँदै विदेशी मुद्रा सञ्चितिलाई थप विविधीकरण गर्ने रणनीति अपनाइरहेको छ ।  अमेरिका–चीनबीच बढ्दो व्यापारिक तथा भू-राजनीतिक तनाव र सम्भावित वित्तीय प्रतिबन्धको जोखिमलाई ध्यानमा राख्दै चीनले सुनको हिस्सा बढाएको हुन सक्ने उनीहरूको आँकलन छ । सुनलाई विश्वव्यापी रूपमा सुरक्षित (सेफ हेभेन) सम्पत्ति मानिन्छ । युद्ध, आर्थिक मन्दी वा वित्तीय संकटका बेला सुनको मूल्य तुलनात्मक रूपमा स्थिर रहने भएकाले धेरै केन्द्रीय बैंकले जोखिम व्यवस्थापनका लागि सुन सञ्चिति बढाउने गर्छन् । चीनको कदमलाई पनि यही रणनीतिसँग जोडेर हेरिएको छ । यस्तै, चीनले आफ्नो मुद्रा युआनको अन्तर्राष्ट्रिय प्रयोग विस्तार गर्ने दीर्घकालीन लक्ष्य लिएको छ । ठूलो सुन सञ्चितिले केन्द्रीय बैंकको वित्तीय विश्वसनीयता बढाउन सहयोग पुग्ने भएकाले यसलाई पनि एक कारणका रूपमा हेरिएको छ । हाल अमेरिकासँग करिब ८,१३३.५ टन सुन सञ्चिति छ, जुन विश्वमै सबैभन्दा ठूलो हो । चीनसँग भने आधिकारिक रूपमा २,३१३ टन सुन सञ्चिति छ । त्यसैले चीनले निरन्तर सुन खरिद गरिरहे पनि निकट भविष्यमा अमेरिकालाई उछिन्ने सम्भावना कम देखिन्छ ।  यद्यपि केही विश्लेषकहरूले चीनको वास्तविक सुन सञ्चिति आधिकारिक तथ्यांकभन्दा बढी हुन सक्ने अनुमान गरेका छन् ।

असारमा ब्रोकरको कमिसन साढे ३८ करोड, मनी वर्ल्डको १ हजार मात्र

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरूले असारमा साढे ३८ करोड रुपैयाँ कमिसन आर्जन गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार असारमा ९२ वटा धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरूले कुल ३८ करोड ५१ लाख ३० हजार रुपैयाँ कमिसन आर्जन गरेका हुन् । यो कमिसन जेठ महिनाको तुलनामा ५.१६ प्रतिशत अर्थात् १ करोड ८९ लाख रुपैयाँ बढी हो । जेठ महिनामा ब्रोकर कम्पनीहरूले कुल ३६ करोड ६२ लाख २९ हजार रुपैयाँ कमिसन आर्जन गरेका थिए । नेप्सेले सार्वजनिक गरेको तथ्याङ्कअनुसार असारमा सबैभन्दा बढी कमिसन नासा सेक्युरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं. ५८) ले आर्जन गरेको छ । उक्त कम्पनीले असारमा २ करोड ४९ लाख ८८ हजार रुपैयाँ कमिसन कमाएको हो । यस्तै, नासा सेक्युरिटिज (ब्रोकर नं. ५८)ले २ करोड ४९ लाख ८८ हजार रुपैयाँ, अनलाइन सेक्युरिटिज (ब्रोकर नं.४९)ले १ करोड ४३ लाख ९९ हजार रुपैयाँ, सानी सेक्युरिटिज कम्पनी (ब्रोकर नं. ४२)ले १ करोड २७ लाख २६ हजार रुपैयाँ, भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४)ले १ करोड २६ लाख १९ हजार रुपैयाँ, इम्पेरियल सेक्युरिटिज कम्पनी (ब्रोकर नं. ४५)ले १ करोड ९ लाख ६४ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।  नबिल स्टक डिलर (ब्रोकर नं. ७७)ले १ करोड ६ लाख ३० हजार रुपैयाँ, ओपल सेक्युरिटिज इन्भेस्टमेन्ट(ब्रोकर नं. ४)ले १ करोड ६ लाख २ हजार रुपैयाँ, त्रिशक्ति सेक्युरिटिज (ब्रोकर नं. ४८)ले १ करोड १ लाख ५९ हजार रुपैयाँ, डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिज (ब्रोकर नं. ४४)ले ९८ लाख २ हजार रुपैयाँ, लिन्च स्टक मार्केट (ब्रोकर नं. ४१)ले ८४ लाख ७७ हजार रुपैयाँ कमिसन आर्जन गरेको नेप्सेले जनाएको छ ।  यस्तै, सबैभन्दा कम कमिसन भने मनी वल्र्ड (ब्रोकर नं. ७३)दे सेयर एक्सचेन्जले गरेको छ । असारमा मनि वल्र्डले १ हजार १ रुपैयाँ मात्रै कमिसन आर्जन गरेको नेप्सेले जनाएको छ ।  नेप्सेको तथ्याङ्क अनुसार पाहि इन्भेस्टमेन्ट (ब्रोकर नं. ७९)ले ७७ हजार ६५० रुपैयाँ, बेनी सेक्युरिटिज (ब्रोकर नं. ९३)ले १ लाख ४२ हजार रुपैयाँ, ट्रेडमो सेक्युरिटिज (ब्रोकर नं. ९८)ले ४ लाख ७ हजार रुपैयाँ, गरिमा सेक्युरिटिज (ब्रोकर नं. ७८)ले ५ लाख ७२ हजार रुपैयाँ, सजिलो ब्रोकर (ब्रोकर नं. ९०)ले ६ लाख ९२ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् । माछापुच्छ्रे सेक्युरिटिज (ब्रोकर नं. ७६)ले ८ लाख ३९ हजार रुपैयाँ, सगरमाथा सेक्युरिटिज (ब्रोकर नं.१८)ले ८ लाख ४९ हजार रुपैयाँ, एलिट स्टक हाउस (ब्रोकर नं. ६८)ले ९ लाख ३२ हजार रुपैयाँ र भोले गणेश सेक्युरिटिज (ब्रोकर नं. ६१)ले ९ लाख ३७ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाईँ हाम्रो सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार लालीगुराँस सहकारीका ३५ जना तपाईँ हाम्रो सहकारीका ९० जनाले बचतकर्ताले बचत फिर्ता पाएका हुन् ।       सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ । समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो । यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।      समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरूलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्थाबमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको छ ।   

तयारी पोसाक उद्योगलाई नयाँ गति दिने प्रधानमन्त्री बालेनको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारले जोड दिइरहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार (आज) नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै उनले यस्तो बताएका हुन् । तयारी पोसाक उद्योगको विकास र विस्तारका निम्ति सरकार सबै किसिमको सहजीकरणका लागि तयार रहेको प्रतिबद्धता प्रधानमन्त्री बालेनले जनाए । छलफलका क्रममा संघका पदाधिकारीको माग बमोजिम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रहने गरी ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलपमेन्ट काउन्सिल’ गठन गर्ने काम तत्काल अघि बढाउन प्रधानमन्त्री शाहले सम्बन्धित मन्त्रीलाई निर्देशन दिए । काउन्सिल गठनले स्वदेशमा उपलब्ध कच्चा पदार्थमा आधारित तयारी पोसाकको निर्यात प्रवर्द्धन र आयात व्यवस्थापन गर्न सहज हुने अपेक्षा पदाधिकारीले गरेका छन् । पदाधिकारीले राखेको मागबमोजिम प्रधानमन्त्री शाहले निजी क्षेत्रका तयारी पोसाकका रूग्ण उद्योगहरूलाई समेत तुरुन्तै सुचारु गर्न उद्योग मन्त्रालयलाई थप निर्देशन दिएका छन् । यस्तै, उनले निःशुल्क व्यापार सम्झौता (एफटीए) र वैदेशिक लगानी ल्याउन तत्कालै काम गर्ने, अमेरिकामा तयारी पोसाक लगायतका वस्तु रोकिएको र ‘टेस्टिङ सर्टिफिकेसन’ नभएकाले अब त्यसको बाटो खुलाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका छन् । ‘फार्म टु फाइबर’, ‘फाइबर टु फेब्रिक’, ‘फेब्रिक टु फेसन’ र ‘फेसन टु एक्सपोर्ट’ उद्देश्य पूरा गर्नका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गरिने पनि उनले प्रतिवद्धता जनाएका छन् । ग्रिन गार्मेन्ट भिलेजसम्बन्धी व्यवस्था सरकारको नीति तथा कार्यक्रममा भए पनि बजेट नआएको भन्दै प्रतिनिधिले गुनासो गरेकोमा प्रधानमन्त्री शाहले तत्काल उपयुक्त ठाउँमा जग्गा खोज्न उनीहरूलाई आग्रह गर्दै आवश्यक बजेट उपलब्ध गराउने आश्वासन दिए । प्रधानमन्त्री शाहले नेपालमा २०४० सालतिर निर्यातका आधारमा आयात गर्ने अभ्यास भएकोमा त्यससम्बन्धी पुनः अध्ययन गरी आवश्यक काम गर्न पदाधिकारीलाई प्रेरित समेत गरे । नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा पुर्याउन आवश्यक रहेको भन्दै उनले त्यसका लागि तयारी पोसाक उद्योगले खेपिरहेका सबैखाले समस्या समाधान गर्न लागिपर्नेमा जोड दिए । साथै तयारी पोसाक उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थलगायत सामग्रीहरू नेपालमै उत्पादन गर्न सक्षम हुनुपर्ने उनको भनाइ थियो । छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमार गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल र प्राविधिक सल्लाहकार प्रकाशकुमार झा थिए ।