विकासन्युज

राष्ट्र बैंक धमाधम ऋणपत्रमा केन्द्रित, मंगलबार फेरि २० अर्बको ऋणपत्र जारी

काठमाडौं । केही समयअघिसम्म निक्षेप संकल उपकरण वा रिभर्स रिपो जारी गरेर बजारको तरलता व्यवस्थापन गरिरहेको केन्द्रीय बैंक पछिल्लो पटक ऋणपत्रमा केन्द्रित हुँदै गएको छ । चालु आर्थिक वर्षमा पहिलो पटक १४ पुस २०८२ मा केन्द्रिय बैंकले २५ अर्ब रुपैयाँबराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ क’ जारी गरेको राष्ट्र बैंकले मंगलबार फेरि आठौँ पटक ऋणपत्र जारी गर्न लागेको हो ।  सोमबार राष्ट्र बैंकले २५ अर्बको बन्ड जारी गरेकोमा मंगलबार राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको एक वर्ष अवधिको लागि ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८३ ज’ जारी  गरेको छ ।  अनलाइनमार्फत आवेदन दिन सकिने उक्त ऋणपत्र आज जारी गरिने बैंकले सूचनामार्फत जानकारी दिएको छ । तथापि, यस ऋणपत्रमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी)ले मात्र सहभागी हुन पाउने केन्द्रीय बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।  तथापि, ऋणपत्र निष्कासन मितिमा काउन्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभएमा त्यस्ता काउन्टरपार्टीको स्वीकृत बोल रकम रद्ध गरी सोको २.५० प्रतिशत दरको हर्जनासहित ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोरअन्तर्गतका कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लगाइने पनि बैंकले सूचनामा भनेको छ । राष्ट्र बैंकले २०५३ सालमा पहिलोपटक ‘नेपाल राष्ट्र बैंक बन्ड, २०५३’ जारी गरेको थियो । खासै ऋणपत्रलाई प्राथमिकतामा नराख्ने गरेको राष्ट्र बैंकले फेरि पछिल्लो समय ऋणपत्रलाई जोड दिन लागेको छ ।   

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावरविरुद्ध स्थानीय आन्दोलित

दार्चुला । अपिहिमाल गाउँपालिका–३, ४ र ५ मा निर्माण सम्पन्न भएको १० मेगावाट क्षमताको मकरीगाड हाइड्रोपावर कम्पनी लिमिटेडविरुद्ध स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । आयोजना प्रभावित क्षेत्रका नागरिकलाई सेयर दिनुपर्ने मागसहित स्थानीय आन्दोलित भएका हुन् । हाइड्रोपावर कम्पनीले सेयर जारी गर्ने तयारी गरिरहेको अवस्थामा स्थानीयले प्रत्यक्ष लाभ लिन नसक्ने अवस्था सिर्जना भएको आरोप लगाउँदै मकरीगाड सेयर वितरण सङ्घर्ष समिति गठन गरी कम्पनीलाई ज्ञापनपत्र बुझाएका छन् । सङ्घर्ष समितिका संयोजक देवेन्द्रसिंह रोकायाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आर्थिक रूपमा कमजोर तथा गरिब स्थानीय नागरिकलाई निःशुल्क सेयर उपलब्ध गराउनुपर्ने र आयोजना प्रभावित क्षेत्रका नागरिकलाई कम्तीमा ८० प्रतिशत सेयर सुनिश्चित गर्नुपर्ने माग गरिएको छ । ज्ञापनपत्रमा आयोजनाका कारण प्रभावित सडकमा पक्की पर्खाल र तटबन्ध निर्माण गर्नुपर्ने माग राखिएको छ । यस्तै प्रभावित क्षेत्रमा आवश्यक पूर्वाधार विकास, पानीका मुहान सुक्ने स्थानमा खानेपानी योजना निर्माण तथा विस्थापित पुराना घट्टको सट्टा नयाँ पानी घट्ट निर्माण गर्नुपर्ने मागमा उल्लेख छ । यसअघि मकरीगाडमा परम्परागत घट्ट थिए ।  त्यसैगरी, आयोजना प्रभावित क्षेत्रमा विद्यालय भवन निर्माण तथा आधारभूत स्वास्थ्य संस्थामा आवश्यक उपकरण उपलब्ध गराउन कम्पनीसँग माग गरिएको छ । मकरीगाड हाइड्रोपावरलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेखित माग तीन दिनभित्र सम्बोधन नगरिए हाइड्रोपावर बन्द गर्ने चेतावनी पनि दिइएको छ । हाइड्रोपावरलाई ज्ञापनपत्र बुझाएको सङ्घर्ष समितिले अपिहिमाल गाउँपालिकासँग पनि सेयर वितरण र आयोजनाका विषयमा आवश्यक समन्वय गर्न आग्रह गर्दै ज्ञापन बुझाएको छ । गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहरालाई ज्ञापन बुझाउँदै स्थानीयले पाउने सेवा–सुविधाका विषयमा प्रभावकारी भूमिका निर्वाह गर्न माग गरिएको छ ।  

अमेरिकाको ब्रुमफिल्ड सहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध कायम

ललितपुर । ललितपुर महानगरपालिका र अमेरिकाको कोलोराडो राज्यमा अवस्थित ब्रुमफिल्ड सहरबीच भगिनी सम्बन्ध कायम भएको छ । दुवै सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्बन्धमा भएको समझदारीपत्र (एमओयू) मा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र ब्रुमफिल्ड सहरकी मेयर गाइलिन क्याट्रिओटाले हस्ताक्षर गरेका हुन् । महानगर प्रमुख महर्जनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा वडा नं. १३ का वडाध्यक्ष गणेश केसी पनि सहभागी थिए । कार्यक्रममा बोल्दै महानगर प्रमुख महर्जनले कला, संस्कृति र सम्पदाको सहर ललितपुरले अन्तर्राष्ट्रिय सहरसँग भगिनी सम्बन्ध गाँस्नु महत्वपूर्ण उपलब्धि भएको बताए । यस सम्बन्धले ललितपुर महानगर मात्र नभई समग्र नेपालको छविलाई अन्तर्राष्ट्रिय रूपमा थप उचाइ दिने विश्वास उनले व्यक्त गरे । भगिनी सम्बन्धलाई मितेरी सम्बन्धको रूपमा व्याख्या गर्दै प्रमुख महर्जनले भने, 'अब हामी एक–अर्काका नजिकका साथी भयौँ । दुःख–सुख साटासाट गर्नेछौँ ।' उनले ब्रुमफिल्ड सहरका असल अभ्यासहरू ललितपुरमा अनुकरण गर्ने र ललितपुरको कला, संस्कृति तथा सम्पदाबाट ब्रुमफिल्डले पनि धेरै कुरा सिक्न सक्ने बताए । मित्रताको प्रतीकस्वरूप ब्रुमफिल्ड सहरमा कलात्मक मन्दिर वा फल्चा निर्माण गर्न सकिने प्रस्ताव पनि उनले अघि सारे । ब्रुमफिल्ड सहरकी मेयर गाइलिन क्याट्रिओटाले सुन्दर नेपालको कला र संस्कृतिले सम्पन्न सहरसँग भगिनी सम्बन्ध कायम गर्न पाउँदा खुशी लागेको बताइन् । उनले ललितपुर महानगरको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । यसअघि ललितपुर महानगरपालिकाले दक्षिण कोरियाको चेओरवन र रुसको उलान उदे सहरसँग अन्तर्राष्ट्रिय भगिनी सम्बन्ध कायम गरिसकेको छ । साथै, देशभित्र सल्यानको शारदा नगरपालिका, संखुवासभाको चैनपुर नगरपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका, गुल्मीको मालिका गाउँपालिका, जुम्लाको चन्दननाथ नगरपालिका र दोलखाको भीमेश्वर नगरपालिकासँग पनि भगिनी सम्बन्ध स्थापना भइसकेको छ ।

सुनको मूल्य तोलामा दुई लाख ७६ हजार ५०० रुपैयाँ पुग्यो

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । तीन दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको  हो । मंगलबार सुनको मूल्य तोलामा १८ सय र चाँदीको मूल्य तोलामा १४५ रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक तोला सुनको मूल्य रु दुई लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल रु पाँच हजार ३४० कायम भएको छ ।   गत आइतबार प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार  तोलामा चार हजार १०० ले बढेर दुई लाख ७४ हजार ७०० रुपैयाँ कायम भएको थियो ।  यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ४ हजार ९९० रुपैयाँमा खरिदबिक्री भएको एक तोला चाँदी हिजो पाँच हजार १९५ रुपैयाँमा किनबेच भएको थियो । अमेरिकी डलरको उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको व्यवसायीहरूले बताएका छन् ।  अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५८८ र त्यति नै परिमाणको सेतो धातु ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।   

विशेष महाधिवेशन : मध्यान्ह १२ बजे निर्वाचन कार्यक्रम सार्वजनिक गरिने

काठमाडौं । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा मंगलबार (आज) मध्यान्ह १२ बजे निर्वाचन कार्यक्रम सार्वजनिक हुँदैछ ।  पार्टीको निर्वाचन समितिका प्रमुख सीताराम केसीले केहीबेरमै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए । दोस्रो विशेष महाधिवेशन पक्षधर नेताहरू र संस्थापन पक्षधर नेताहरू वार्तामा रहेको समयमा निर्वाचन समितिले निर्वाचन कार्यक्रम सार्वजनिक गर्न लागेको हो । समिति प्रमुख केसीका अनुसार वार्ताले समितिका कार्यलाई कुनै बाधा गर्नेछैन । उनले भने, ‘हामी हाम्रो काम गर्छौं । वार्ताबाट अन्य परिणाम आएको अवस्थामा समितिको कार्यक्रम स्थगन वा रद्द हुन्छ ।’

बिटकोइनको मूल्य २०२६ मा १५०‍ प्रतिशतसम्म बढ्नसक्ने

काठमाडौं । क्रिप्टोकरेन्सी बजारमा पछिल्लो समय ठूलो उतारचढाव देखिँदै आएको छ । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वोइन पनि यसबाट अछुतो रहन सकेको छैन । गत वर्ष अक्टोबरमा बिटक्वोइन १ लाख २५ हजार अमेरिकी डलर पार गर्दै ऐतिहासिक उच्च स्तरमा पुगेको थियो । तर त्यसपछि यसको मूल्य क्रमशः घट्दै आएको छ । हालसम्म बिटक्वाइन आफ्नो उच्चतम स्तरबाट करिब २८ प्रतिशतभन्दा बढी घटिसकेको छ । यद्यपि, उद्योगका ठूला अधिकारी तथा लगानीकर्ताहरूले सन् २०२६ सम्म बिटक्वाइन नयाँ उचाइमा पुग्न सक्ने बताएका छन् । तर त्यससँगै तीव्र उतार–चढावको जोखिम पनि कायमै रहने उनीहरूको भनाइ छ । सीएनबीसीको बिटकोइन फोरकास्ट रिपोर्टअनुसार सन् २०२६ का लागि विभिन्न विज्ञहरूले बिटकोइनको मूल्य निकै फराकिलो दायरामा रहने अनुमान गरेका छन् । केहीका अनुसार बिटकोइन ७५ हजार डलरसम्म झर्न सक्छ भने केहीले यसलाई २ लाख २५ हजार डलरसम्म पुग्ने देखेका छन् । यसको अर्थ सन् २०२६ मा हालको मूल्यको तुलनामा बिटकोइन १५० प्रतिशतसम्म बढ्न सक्ने सम्भावना छ । आज बिटकोइन ९२ हजार ४४ डलरमा कारोबार भइरहेको छ । गत वर्ष अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति रहँदा क्रिप्टो बजारले तुलनात्मक रूपमा अनुकूल नियामक वातावरणको लाभ पाएको थियो । साथै ठूला संस्थागत लगानीकर्ता र बैंकजस्ता परम्परागत वित्तीय संस्थाहरूको रुचि पनि बढेको थियो । यही क्रममा डिजिटल एसेट ट्रेजरी (डीएटी) कम्पनीहरूको प्रभाव बढेको देखियो । यी कम्पनीहरूले ठूलो मात्रामा बिटकोइन र अन्य डिजिटल सिक्का सञ्चित गर्छन् । अर्कोतर्फ प्रविधि कम्पनीका सेयर मूल्यांकनलाई लिएर बहस चलिरहेको छ। साथै कृत्रिम बौद्धिकता (एआई) को बूम कतै ‘बबल’ त होइन भन्ने प्रश्न पनि उठिरहेको छ । यी सबै कारणले वर्षको अन्त्यतिर क्रिप्टो बजारमा बिक्री हावी देखियो । लगानीकर्ताहरूले जोखिमयुक्त सम्पत्तिको पुनर्मूल्यांकन गर्दा र क्रिप्टो धारकहरूले आफ्ना डिजिटल सिक्का बेच्दा बिक्री हावी दबाबपूर्ण  भयो, जसले मूल्य झनै घटायो । यी सबै कारणले सन् २०२६ का लागि चुनौतीपूर्ण अवस्था सिर्जना भएको देखिन्छ । क्यारोल अलेक्जेन्डर : ७५ हजार डलरदेखि १ लाख ५० हजार डलरसम्म युनिभर्सिटी अफ ससेक्सकी फाइनान्स प्रोफेसर क्यारोल अलेक्जेन्डरका अनुसार सन् २०२६ मा बिटकोइन ७५ हजार डलरदेखि १ लाख ५० हजार डलरको दायरामा रहन सक्छ । पछिल्ला केही वर्षमा उनका बिटकोइनसम्बन्धी अनुमानहरू धेरै हदसम्म सही सावित भएका छन् । उनले सन् २०२५ को गर्मी सम्म बिटकोइन करिब १ लाख ५० हजार डलर वरिपरि (५० हजार डलर तल–माथि) कारोबार हुन सक्ने बताएका थिए, जुन अनुमान सही देखियो । कोइनशेयर्स : १ लाख २० हजार डलरदेखि १ लाख ७० हजार डलरसम्म क्रिप्टो–केन्द्रित एसेट म्यानेजर कोइनशेयर्सका रिसर्च प्रमुख जेम्स बटरफिलका अनुसार सन् २०२६ मा बिटकोइन १ लाख २० हजार डलरदेखि १ लाख ७० हजार डलरको दायरामा रहन सक्छ । उनका अनुसार वर्षको दोस्रो भागमा मूल्य वृद्धिको सम्भावना बढी देखिन्छ । डिसेम्बर २०२४ मा बटरफिलले बिटकोइन सन् २०२५ मा करिब ८० हजार डलरसम्म झर्न सक्ने अनुमान गरेका थिए, जुन सही सावित भयो । बिट माइनिङ : ७५ हजार डलरदेखि २ लाख २५ हजार डलरसम्म बिट माइनिङका प्रमुख अर्थशास्त्री यूवेई याङले पनि बिटकोइनमा निरन्तर अस्थिरता रहने बताएका छन् । उनका अनुसार सन् २०२६ मा बिटकोइन ७५ हजार डलरदेखि २ लाख २५ हजार डलरसम्मको फराकिलो दायरामा कारोबार हुन सक्छ । याङका अनुसार सन् २०२६ बिटकोइनका लागि बलियो वर्ष हुन सक्छ । डिसेम्बर २०२४ मा उनले सन् २०२५ मा बिटकोइन करिब ८० हजार डलरसम्म झर्न सक्ने अनुमान गरेका थिए, जुन आंशिक रूपमा सही देखिएको थियो ।

अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय ३ महिनाका लागि बन्द

अदानचुली ।  हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द गरिएको छ ।  अत्यधिक जाडोका कारण हिल्सामा रहेको चीनको ताक्लाकोटबाट व्यापारी र अन्य सामग्रीको आयात रोकिएर कारोबार नभएपछि तीन महिनाका लागि भन्सार कार्यालय बन्द गरिएको हो ।      यही पुसबाटै चीनको ताक्लाकोटबाट व्यापारी र सामानहरु आयात हुन छोडेपछि पुसको दोस्रो हप्ताबाट यारी नाका भन्सार कार्यालय बन्द गरेर कर्मचारी सदरमुकाम सिमकोटको सम्पर्क कार्यालयमा आइपुगेका कार्यालयका प्रमुख रामराज जैसीले बताए ।      उनले चीनको ताक्लकोटबाट सामानहरु आयात हुन छाडेपछि भन्सार विभागसँगको समन्वयमा कार्यालय बन्द गरेर आफूहरु जिल्ला सदरमुकाम सिमकोट झरेको जानकारी दिए ।      यस वर्ष हिमपात नभए पनि नारा सडकखण्ड गएको गत कात्तिकमा परेको हिउँले बरफ जमेर सडक अवरुद्ध गरेपछि यातायात सेवासमेत बन्द भएको छ । यसको कारण चीनको ताक्लाकोटबाट सामानहरु आयात हुनसमेत छोडेको प्रमुख जैसीले बताए । कारोबार नहुने भएपछि कर्मचारी हिल्सामा कार्यालय कुर्नुभन्दा सदरमुकाम सिमकोटको सम्पर्क कार्यालयमा झरेका हुन् ।      चीन तर्फको नाकालाई खुल्लै राखेको भन्सार कार्यालयका प्रमुख जैसीले बताए । उनका अनुसार आगामी चैत दोस्रो हप्ता कर्मचारी यारी नाका भन्सार कार्यालयमा फिर्ता भएपछि पुनः नाका सञ्चालनमा आउने छ । गत साउन महिनायता यारी नाका भन्सार कार्यालयले  १८ लाख ६५ हजार रुपैयाँ राजस्व असुली गरेर गत वर्षको भन्दा यस वर्ष कार्यालयले दोब्बर राजस्व उठाएको बताए । रासस  

निगालो होटलले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं। निगालो होटल लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा निगालो होटल लिमिटेडका तर्फबाट अध्यक्ष टिकाराज बराल र मुक्तिनाथ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशी ले हस्ताक्षर गरेका छन् । उक्त अवसरमा चार्टर्ड एकाउन्टेन्ट अनिल पौडेल को समेत उपस्थिति रहेको थियो । नगरकोटमा अवस्थित परम्परागत तथा सांस्कृतिक शैलीको वास्तुकला झल्किने यस चारतारे होटलले जारी पुँजीको २५ प्रतिशत बराबरको १८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीका अनुसार निगालो होटलले परम्परागत हेरिटेज अनुभव र आधुनिक आतिथ्य सेवामार्फत फरक पहिचान स्थापित गर्ने लक्ष्य लिएको छ । होटल परिसरबाट हिमाल, काठमाडौं, भक्तपुर तथा ललितपुर उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिने विशेष भ्यु टावर रहेकोले यसले विशिष्ट पहिचान बनाउने विश्वास व्यक्त गरिएको छ । परियोजनामार्फत पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । सञ्चालनको अन्तिम चरणमा रहेको यस होटलमा ६८ वटा प्रिमियम कोठा (सुइटसहित), तीनवटा बैंक्वेट हल, तीनवटा रेस्टुरेन्ट, बार, पौडी पोखरी, स्पा, जिम, ध्यान कक्ष, कफी शप, सङ्गीत क्लबलगायत विभिन्न विश्वस्तरीय सुविधा रहनेछन् । साथै, भविष्यमा उक्त क्षेत्रकै पहिलो क्यासिनो सञ्चालन गर्ने योजना पनि दीर्घकालीन रणनीतिमा समावेश गरिएको छ । आईपीओ निष्कासनपछि निकट भविष्यमा पोखरा, काठमाडौं र चितवनजस्ता प्रमुख सहरहरूमा सेवा विस्तार गर्ने दीर्घकालीन योजना रहेको कम्पनीका अध्यक्ष बरालले जानकारी दिए । कम्पनीका संस्थापक तथा प्रवर्द्धक समूहमा पर्यटन, जलविद्युत्, बैंकिङ तथा शैक्षिक क्षेत्रमा लामो अनुभव हासिल गरेका व्यवसायीहरूको संलग्नता रहेको छ । होटल सञ्चालनतर्फ २५ वर्षभन्दा बढी अनुभव भएका व्यवस्थापकहरूको नेतृत्वमा सेवा सञ्चालन गरिने कम्पनीले जनाएको छ । करिब १ अर्ब रुपैयाँ लगानी रहेको यो होटल आगामी चार महिनाभित्र सञ्चालनमा आउने कम्पनीको भनाइ छ । साथै, भारतीय तथा अन्तर्राष्ट्रिय ट्राभल एजेन्सीहरूसँग सहकार्य गरी रणनीतिक रूपमा होटल सञ्चालन गर्ने विषयमा समेत अध्ययन भइरहेको जनाएको छ ।