मेलम्ची खानेपानी अवरोध हटाउन हेलम्बु गाउँपालिकालाई पहल गर्न मन्त्री घिसिङको आग्रह
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको अवरोध हटाउनका लागि हेलम्बु गाउँपालिकालाई तत्काल पहल गर्न आग्रह गरेका छन् । विगतमा गरिएका सम्झौता कार्यान्वयनको माग गर्दै आयोजनाका प्रभावितहरूले मुहान बन्द गरेपछि काठमाडौं उपत्यकामा खानेपानी आपूर्तिमा अवरोध उत्पन्न भएको छ । सोही अवस्थाको समाधानका लागि सोमबार मन्त्री घिसिङले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पासँग छलफल गर्दै समस्या समाधानका लागि आवश्यक सहयोग र पहल गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले समेत सोमबार मेलम्ची खानेपानीमा देखिएको समस्या समाधानका लागि निर्देशन दिएकी थिइन् । हाल खानेपानी मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री कार्कीले नै सम्हालिरहेकी छन् । मन्त्री घिसिङले सरकार विगतका सहमति र अहिलेका माग वार्ता तथा छलफलबाट समाधान गर्न तयार रहेको जनाउँदै मेलम्चीबाट पानी आउन बन्द हुँदा काठमाडौं उपत्यकामा गम्भीर समस्या देखिएकोले यसमा स्थानीय तहले गम्भीर बन्नुपर्नेमा जोड दिए । उनले समस्या समाधान गरी जतिसक्दो छिटो काठमाडौंमा खानेपानी ल्याउन सरकार सक्रिय रहेको बताए । हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पाले विगतमा भएका सम्झौता सरकारले कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आयोजनाले लिएका जग्गा तथा घरभाडा, सिएमसी कम्पनीका आपूर्तिकर्तालाई पाउँनुपर्ने रकम भुक्तानी, मेलम्ची बजारदेखि घ्याङसम्मको सडक निर्माण र सुन्दरीजलमा पुग्ने पानीको बिक्री आम्दानीको २५ प्रतिशत हेलम्बु विकासका लागि विनियोजन गर्नुपर्ने माग पुनः दोहोर्याए । उक्त विषयमा तत्कालीन खानेपानीमन्त्रीको उपस्थितिमा २१ असोज २०८१ मा मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति, हेलम्बु गाउँपालिका र स्थानीय राजनीतिक दलबीच सहमति भएको थियो ।
नबिल एसएसईले दोहोर्याएको सफलताको बाटो
काठमाडौं । ‘यही कोठाबाट सुरु गरेको हो । यो कोठाको पनि आधा भागमात्रै प्रयोग गरेको थिएँ,’ नेपाकार्ट लजिस्टिक प्रालिका प्रबन्ध निर्देशक (एमडी) साजन ताम्राकारले एउटा कोठा देखाउँदै भने, ‘एकदमै कन्जस्टेड भएपछि अरू कोठाबाट डेलिभरी सेवा विस्तार गर्याैं । नबिल एसएसईमा सहभागीपछि भने अर्काे घरबाट पनि थप सेवा विस्तार गरिरहेका छौं ।’ उनले नयाँ बनेको घरतिर लैजाँदै भने, ‘आजबाट यो घरबाट पनि सेवा सुरु गरेका छौं । यसलाई हामीले पार्ट–पार्ट बनाएर राखेका छौं । यो डिस्प्याच सेन्टर हो । अनलाइनका सामान सबै ड्यासबोर्डमा हुन्छन् । राइडर हिरोजहरूले सामान लिएर आउनु हुन्छ । सामान कुन–कुन ठाउँ जानु पर्ने हो, त्यो डेस्टिनेसनअनुसार राखिएको हुन्छ ।’ कोठाभित्र सामानहरू छरिएका छन् । बौद्ध, जोरपाटी, बुढानीलकण्ठ, कपन, थानकोट, साँखु, भक्तपुर, ललितपुर लगायत विभिन्न ठाउँहरूको नाम भित्तामा टाँसिएका छन् । कर्मचारीहरूले सूची हेर्दै सामान कार्टुनमा प्याक गरिरहेका छन् । केही कर्मचारीहरू सामान ल्याइरहेका देखिन्छन् । ‘कुन-कुन ठाउँ जानुपर्ने हो, ती सामानहरू एउटा बोरा (झोला)मा राखिन्छन् । हामी २० जना छौं । केही साथीहरू सामान ल्याउन जानु भएको छ, उहाँहरूले सामान ल्याएपछि डेलिभरी हिरोहरूले सम्बन्धित ठाउँमा सामान पुर्याएर आउनु हुन्छ,’ ताम्राकारले भने, ‘भेण्डरबाट १२/१ बजेभित्र नेपाकार्टमा सामान आइपुग्छ भने २ बजेभित्र सम्बन्धित ग्राहक भएको ठाउँसम्म पुर्याउन डेलिभरीहरू निस्किन्छन् ।’ ताम्राकारका अनुसार ग्राहकहरूले फेसबुक, टिकटक, इन्स्टाग्राम लगायत अनलाइन माध्यमबाट सामानहरू खरिद गर्छन् । पसलबाट ग्राहकले अर्डर गरेका सामानहरू डेलिभरी हिरोजले नेपाकार्ट लजिस्टिकमा ल्याउँछन् । र, नेपाकार्ट लजिस्टिकबाट ग्राहकहरूले भनेको ठाउँमा सामान पुर्याइदिन्छन् । ग्राहक र भेण्डरले अर्डरदेखि सामान पाउँदासम्म सबै अनलाइनमा लाइभ देख्न सकिने सिस्टमको विकास गरेको उनले बताए । यसरी सुरु भयो नेपाकार्ट लजिस्टिक ललितपुरस्थित लगनखेलको नेवारी समुदायमा जन्मे हुर्केका ताम्राकार थप अध्ययनका लागि भारतको बैंगलरमा थिए । त्यहाँ रहँदा उनले त्यहाँको डिजिटलाइजेशन देखे र अनुभव पनि गरे । भारतमा देखेको डिजिटल क्रान्तिलाई नेपालमा सुरु गर्नु पर्छ भन्ने सोचसहित उनी सन् २०१६ मा नेपाल फर्किए । उनले एउटा कोठाभित्रैबाट लजिस्टिक सेवा सुरु गरे । ‘म भारतको बैंगलरमा रहँदा त्यहाँको डिजिटाइजेसन देखेको थिएँ । तत्कालीन समयमा भारतमा फ्लिपकार्ड, ईकार्ड धेरै नै चलेको थियो । जबकि नेपालमा अनलाइनको सुरुवात नै भएको थिएन । त्यो अवधारणालाई नेपाल आएर अनलाइन र लजिस्टिक सुरु गरेको हुँ । कोभिडको बेलामा अनलाइन चलाउन सकिएन । तर, लजिस्टिकमा भने सम्भावना देखियो,’ उनले विगत सम्झिँदै भने । योजनाअनुसार डेलिभरि गर्ने भनेर नेपाल फर्किएका ताम्राकारले एउटा सानो कोठाको आधि कोठाबाट एक्सल फर्म्याटमा लजिस्टिक व्यवसाय सुरु गरे । जतिबेला उनीसँग आफ्नै कम्पनीको झोला पनि थिएन । सामान्य झोलामा राखेर डेलिभरी गर्थे । ‘लजिस्टिक कम्पनी एउटा डेलिभरी कम्पनी जस्तो मात्रै देखिन्छ । तर, यहाँ ठूलो माध्यम हुन्छ,’ उनले भने, ‘सुरुवाती दिनमा १२/१४ घण्टा खट्थे । आफै म्यानेजर, आफै डेलिभरी ब्वाई, आफै भेण्डरसँग कुरा गर्थे । तर, कोरोना महामारीका कारण त्यति धेरै विस्तार गर्न सकिनँ । कोरोनापछि भने लजिस्टिक व्यवसाय फस्टाउन थाल्यो । त्यसपछि नेपाकार्ट लजिस्टिक कम्पनी दर्ता गरेर वेवसाइट बनाएर व्यवसाय थालनी गरे ।’ नेपाकार्ट लजिस्टिकको माध्यमबाट ताम्राकारले बिक्रेता (साहुजी) र खरिदकर्ता (ग्राहक) हरूलाई जोडिरहेका छन् । अनलाइन कारोबारलाई पारदर्शी र विश्वसनीय बनाउन उनी प्रयत्न गरिरहेका छन् । नेपाकार्ट लजिस्टिकको सेवा काठमाडौंमा मात्रै सीमित नराखी उनले देशभर विस्तार गरिरहेका छन् । नबिल एसएसईले मनोबल बढायो परिवारको सुझाव सल्लाहमा लजिस्टिक व्यवसाय सञ्चालन गरिरहेका ताम्राकारलाई विज्ञहरुको सुझाव आवश्यक महसुस हुन्थ्यो । उनलाई आफ्नो व्यवसायलाई कसरी थप व्यवस्थित र विस्तार गर्ने भन्ने ज्ञानको कमी भइरहन्थ्यो । उनलाई व्यवसाय विस्तारका लागि थप मेन्टरिङको आवश्यकता थियो । उनी इनोभेसनको खोजीमा थिए । नबिल बैंकको फेशबुक पेज र लिंक्डइनमा नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई)को बारेमा जानकारी पाएपछि उनले आवेदन दिए । नबिल एसएसईमा सहभागी भएपछि भने उनलाई व्यवसाय सञ्चालन गर्दा हुने ज्ञानको अभाव हुन छाडेको छ । ‘नबिल एसएसईमा सहभागिता जनाएपछि बिजनेश कन्सेप्टमा एउटा स्पष्ट चित्र नै पाएँ । व्यवसाय गर्दा कसरी गर्ने, कति बेला कस्तो निर्णय गर्ने भन्ने विषयमा स्पष्ट हुन पाएँ । विगतमा धेरै दुविधा हुने गरेको थियो । तर, अहिले केही समस्या आयो भने यसरी गर्नुपर्छ है भनेर जान्न पाइयो,’ उनले भने, ‘पहिलो आफ्नै घर परिवारले सिकाउँथे भने अहिले एक्सपर्टहरूले नै सिकाउनु भएको छ । नबिल एसएसईको तालिम एकदमै फलदायी बनेको छ ।’ नबिल एसएसईमा सहभागी भएपछि ताम्राकारले आफ्नो व्यवसायलाई विस्तार गर्दै नयाँ घरबाट पनि सेवा दिन थालेका छन् । नबिल एसएसईमा आवद्ध हुनुभन्दा व्यवसाय सञ्चालन, व्यवस्थापन लगायतका चुनौती खेपिरहेका साजन अहिले ठूला-ठूला बिजनेश पनि सहजै डिल गर्न सक्ने भएका छन् । नबिल एसएसईबाट कम्पनीको मार्केटिङ, ब्राण्डिङदेखि हरेकमा सहयोग पुगेको उनको भनाइ छ । साथै कहिलेकाहीँ केही दुविधा वा समस्या उत्पन्न भयो भने कन्सल्टिङका लागि मेन्टरबाट सहयोग भइरहेको ताम्राकारले बताए । नबिल एसएसईबाट व्यवसायको अवधारणदेखि दर्ता, अकाउण्टिङ, मार्केटिङ, ब्राण्डिङसम्मको ज्ञान चरणवद्ध रूपमा सिक्न सकिने उनले सुनाए । ‘नबिल एसएसईमा जोडिनुभन्दा अगाडिसम्म हामी १० जना मात्रै थियौं । नबिलसँग जोडिएपछि २० जना पुगेका छौं । बिजनेश कन्सेप्टमा एउटा स्पष्ट चित्र नै कोर्न पाएँ । उहाँहरू (नबिल एसएसई)सँग जोडिएपछि नयाँ–नयाँ ब्राण्डसँग पनि टचअप हुन पाएका छौं,’ उनले भने, ‘अप्रेसनका काममा सहज भइरहेको छ । मुख्य विषय लिडरसिपका विषयमा बुझ्न पाइयो ।’ आफूजस्ता युवा उद्यमीहरूका लागि नबिल एसएसई महत्त्वपूर्ण रहेको उनले बताए । साथै यस्ता कार्यक्रम अन्य सरकारी तथा निजी संस्थाहरूले पनि सञ्चालन गर्न आवश्यक रहेको उनको भनाइ छ । आवेदन दिने अन्तिम दिन कात्तिक २८ गते नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि कात्तिक २८ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । सामाजिक उद्यमशीलताको प्रवर्द्धन गर्ने लक्ष्यका साथ सुरु गरेको यस कार्यक्रममा उद्यमशीलता मार्फत समाजमा सकारात्मक योगदान पुर्याउने सोच भएका व्यक्तिहरू सहभागी हुन सक्ने बैंकले जनाएको छ । नबिल एसएसई अन्तर्गत २ वटा कार्यक्रम फेलोसिप र सर्टिफिकेट कोर्स छन् । बैंकका अनुसार हाल नबिल एसएसईको फेलोसिप कोर्सको छैटौं समूहका लागि आवेदन खुलाइएको हो । ६ महिना अवधिको यो कार्यक्रम त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायसँगको सहकार्यमा निःशुल्क सञ्चालन भइरहेको छ । फेलोसिप कार्यक्रम स्टार्टअप तथा नविनतम आइडियामा काम गरिरहेका सामाजिक उद्यमीहरूलाई लक्षित गरिएको छ । जसमा सहभागीले ६ महिनासम्म विश्वस्तरीय प्रशिक्षण र मेन्टरसिप पाउनेछन् । साथै नेटवर्क विस्तार, वित्तीय पहुँच सुविधा पनि पाउनेछन् । फेलोसिपअन्तर्गत हालसम्म ७६ जना सहभागी भई ६२ उद्यम सञ्चालन भइरहेका छन् । त्यसैगरी, सर्टिफिकेट कोर्स ७ वटै प्रदेशमा सञ्चालित छ । ३ महिना अवधिको यो कोर्स विभिन्न शैक्षिक संस्थाको सहकार्यमा सञ्चालन भइरहेको छ । बैंकका अनुसार हाल यो कोर्स कोशी प्रदेशमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, मधेस प्रदेशमा वीरगञ्ज पब्लिक कलेज र मोनास्टिक सेकेन्ड्री इङ्ग्लिस बोर्डिङ स्कुल र बागमती प्रदेशमा क्याम्पियन कलेजमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । साथै लुम्बिनी प्रदेशमा क्षितिज इन्टरनेशनल कलेज, दिव्यज्योति बहुमुखी क्याम्पस र कोहलपुर मोडल कलेज, कर्णाली प्रदेशको सुर्खेतस्थित सुर्खेत मोडल कलेज र सुदूरपश्चिममा सुदूरपश्चिमाञ्चल एकेडेमीमा यो कार्यक्रम सञ्चालित छ । सामाजिक उद्यमीमार्फत स्थानीय अर्थतन्त्रलाई सशक्त बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । हालसम्म सर्टिफिकेट कोर्समा आबद्ध भइ १ हजार ६९ जनाले लाभ लिइसकेका छन् । आवेदन दिने कसरी ? नबिल एसएसईका दुवै कार्यक्रमका लागि इच्छुकले नबिल बैंकको आधिकारिक वेबसाइट वा नबिल एसएसईका सामाजिक सञ्जाल प्लेटफर्महरू मार्फत आवेदन दिन सक्नेछन् । नबिल बैंकले नबिल एसएसईमार्फत हजारौं युवालाई उद्यमशील यात्रामा सहभागी गराउँदै देशको आर्थिक र सामाजिक संरचना सुदृढ बनाउने लक्ष्य लिएको छ। आवेदन याे लिङ्कमा क्लिक गरेर दिन सकिन्छ ।
त्रिवि परिसरमा निर्माण कार्यमा अवरोध, दोषीलाई कारबाही गर्न व्यवसायी संघको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर, किर्तिपुरमा विभिन्न संघ–संगठनको नाममा केही व्यक्तिहरूले निर्माण व्यवसायीहरूलाई डर, त्रास देखाउँदै निर्माण कार्यमा अवरोध सिर्जना गरेको विषयमा कीर्तिपुर निर्माण व्यवसायी संघले आपत्ति जनाएको छ । संघले सोमबार बिहान त्रिविका उपकुलपति प्राडा दीपक अर्याललाई ज्ञापन पत्र बुझाउँदै त्रिवि रजिष्ट्रारको कार्यालयद्वारा आह्वान गरिएको बोलपत्र अनुसार चमेना गृह भवनको निर्माण कार्य भइरहँदा विभिन्न समूहबाट अवरोध सिर्जना गरिएको बताएको हो । ज्ञापन पत्रमा संघले निर्माण व्यवसायीहरूलाई डर र त्रास देखाई निर्माण कार्यमा बाधा पुर्याउने व्यक्तिहरूलाई तत्काल कडा कारबाही गर्न माग गर्दै निर्माण कार्य सहज रूपमा सञ्चालन हुन सक्ने वातावरण बनाउनुपर्ने बताएको छ । 'त्रिवि स्थापनाकालदेखि योगदान गरेका कीर्तिपुरवासीलाई हरेक संरचना निर्माणमा पहिलो प्राथमिकतामा राख्ने विगतको सम्झौता कार्यान्वयन गरिनुपर्छ, ' ज्ञापन पत्रमा भनिएको छ । संघले आफ्नो मागको सुनुवाई नभए कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ।
नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा चलाउन पाएसँगै यात्रुमा खुसी
काठमाडौं । सरकारले काठमाडौंको गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा जडान गरेसँगै यात्रुमा खुसी छाएको छ । गुल्मी जानका लागि बसपार्क आएका चन्द्र केसी मानिसको धेरै आवतजावत हुने स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गरेर जनताको मन जितेको बताउँछन् । 'काठमाडौं मात्र नभई निःशुल्क इन्टरनेट सेवालाई काठमाडौं बाहिर पनि विस्तार गर्नुपर्छ', उनी भन्छन् । दाङ जानका लागि नयाँबसपार्क आएका भूपप्रसाद भुसाल पहिलोपटक बसपार्कमा निःशुल्क इन्टरनेट सेवा पाउँदा ज्यादै खुसी लागेको बताउँछन् । निःशुल्क इन्टरनेटको सेवालाई गाउँगाउँसम्म लैजानुपर्ने उनको भनाइ छ । नयाँबसपार्कको काउन्टरमा कार्यरत बच्चुराम भट्ट सरकारले निःशुल्क इन्टरनेट सेवा दिएर धेरै राम्रो काम गरेको बताउँछन् । 'प्रविधिको जमानामा सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट दिँदा यात्रुलाई धेरै सहज भएको छ', भट्ट भन्छन् । धादिङका दीपक ढकाल नयाँबसपार्कमा मात्र नभई काठमाडौंभित्रका सबै ठाउँमा निःशुल्क इन्टरनेट सेवा विस्तार हुनुपर्ने बताउँछन् । सरकारले नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा विस्तार गरेर सराहनीय काम गरेको उनको भनाइ छ । बस व्यवसायी राकेश भट्ट निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गर्नु मात्र ठूलो कुरा नभई यसको निरन्तरता ठूलो कुरा भएको बताउँछन् । 'सबैले आफ्नो चर्चाका लागि सुरुमा काम गर्छन्, यसले निरन्तरता पाउँछ की पाउँदैन भन्ने मुख्य कुरा हो', उनी भन्छन् । माथि उल्लिखित भनाइ केवल प्रतिनिधिमूलक भनाइ हुन् । गत असोज ६ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री बनेका जगदीश खरेलले आफ्नो पहिलो निर्णयमा हस्ताक्षर गर्दै दुई महिनाभित्र काठमाडौं उपत्यकाका महत्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाईको पहुँच पुर्याउने निर्णयअनुसार यही कात्तिक १९ गते नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका थिए । सरकारको सहकार्यमा भायोनेटले जडान गरेको उक्त इन्टरनेट सेवा एक पटकमा एउटा मोबाइलमा ९० मिनेटसम्म निःशुल्क चलाउन मिल्नेछ । देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतम मुलुकको राष्ट्रिय बसपार्कमा निःशुल्क इन्टरनेट सेवा जडान हुनु खुसी र गौरवको विषय भएको बताउँछन् । 'नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा जडान भएसँगै यात्रुले प्रविधिको प्रयोग गरेर बसको टिकट प्राप्त गर्न सक्नेछन्', उनी भन्छन् । नयाँबसपार्कबाट हाल दैनिक ७०० देखि ८०० सार्वजनिक सवारीसाधन ओहोरदोहोर गर्दै आएका छन् । जसमा ४०० भन्दा बढी ठूला बस, १५० हाराहारीमा माइक्रोबस र २०० भन्दा बढी काठमाडौं उपत्यकाभित्र चल्ने स्थानीय बस रहेका छन् । नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्ल नयाँबसपार्कबाट दैनिक १२ देखि १५ हजार यात्रुको आवतजावत हुने गरेको बताउँछन् । 'सरकारले जडान गरेको निःशुल्क इन्टरनेट सेवा सबै यात्रुको पहुँच हुनुपर्छ, इन्टरनेट कम्पनी र यात्रुबीचको सहजीकरणका लागि लोत्सेले काम गर्नेछ', उनी भन्छन् । सरकारले गत हप्ता गोँगबुस्थित नयाँबसपार्कसहित उपत्यकाका १९ स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गरेको छ । जसमा वीर अस्पताल, परोपकार प्रसूति गृह, त्रिभुवन शिक्षण अस्पताल, टेकु अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल अस्पताल, सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कीर्तिपुर बर्न अस्पताल, पाटन अस्पताल र भक्तपुर अस्पताल सहिद धर्मभक्त अस्पताल रहेका छन् । यस्तै पशुपति आर्यघाट, यातायात व्यवस्था कार्यालय एकान्तकुना, राधेराधे र ठूलो भर्याङ, भक्तपुर क्यान्सर अस्पताल तथा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल रहेका छन् । नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवर सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गर्दा आम नागरिकलाई सहज पुग्ने बताउँछन् । अध्यक्ष कुँवर सार्वजनिक स्थलमा इन्टरनेटको सुविधा अनिवार्य भएकाले यसलाई आगामी दिनमा अझै व्यवस्थित गर्दै लैजानुपर्ने बताउँछन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल सेवाग्राहीको सन्तुष्टिलाई हेरेर आगामी दिनमा इन्टरनेटको क्षमता विस्तार गरिँदै लैजाने बताउँछन् । 'मन्त्रीज्यूले गरेको निर्णयलाई हामी क्रमशः कार्यान्वयन गर्दै लैजान्छौँ', उनी भन्छन् । सञ्चारमन्त्री खरेल सरकारले राजधानी काठमाडौंसहित दुर्गम क्षेत्रमा पनि इन्टरनेट सेवा विस्तारमा काम गरिरहेको बताउँछन् । 'दार्चुलाको मार्मा, बझाङ, जाजरकोटको वारेकोट र मनाङको तिलिचो बेसक्याम्पमा इन्टरनेट सेवा पुर्याइसकेका छौँ, सोलुखुम्बु, रामेछाप, रौतहट, म्याग्दी, बैतडीलगायतका कमजोर नेटवर्क भएका ठाउँमा इन्टरनेट सेवा पुर्याउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको छ', मन्त्री खरेल भन्छन् । सरकारले काठमाडौं उपत्यकाको निःशुल्क इन्टरनेट सेवाको सफल परीक्षणपछि सातै प्रदेशका राजधानीमा निःशुल्क इन्टरनेट सेवा पुर्याउने लक्ष्य लिएको मन्त्री खरेल बताउँछन् । मन्त्री खरेल सरकारले गाउँ, सहर, सुगम, दुर्गम सबै क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा पुर्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताउँछन् । रासस
मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर सात राजनीतिक दलले गरे मुख्यमन्त्री कार्यालयमा तोडफोड
काठमाडौं । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ । मधेस प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेससहितका सात दलका नेता र कार्यकर्ताले मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका हुन् । सोमबार बिहान प्रदेश प्रमुख सुमित्रा भण्डारीले नेकपा एमाले मधेस प्रदेश संसदीय दलका नेता यादवदलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । मुख्यमन्त्री कार्यालय अगाडि नवनियुक्त मुख्यमन्त्री सरोज यादवविरुद्ध मधेसका सात दलका नेता कार्यकर्ताहरुले नाराबाजी गरिरहेका छन् । नवनियुक्त मुख्यमन्त्री यादव आउने जानकारी पाएपछि उनलाई अवरोध गर्न नेता र कार्यकर्ताहरु मुख्यमन्त्री कार्यालय अगाडी जम्मा भएका हुन् । दलका कार्यकर्ताहरुले प्रदेश गृह, सञ्चार तथा कानून मन्त्रालयमा तालाबान्दी समेत गरेका छन् ।
सुनको मूल्य तोलामा २९ सयले बढ्यो, उतारचढावले लगानीकर्ता सशंकित
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ । आइतबार तोलामा २ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ३ हजार ६५ रुपैयाँ कायम भएको हो । सुनचाँदीको भाउमा निरन्तर उतारचढाव देखिँदै आएको छ, यसबाट सुनमा लगानी गर्नेहरु पनि संशकित देखिँदै आएका छन् ।
इटहरीमा एमएडब्लू वृद्धि मोटर्सको नामी भिगो इलेक्ट्रिक एसयूभी सार्वजनिक, मूल्य कति ?
काठमाडौं । एमएडब्लू वृद्धि मोटर्सले इटहरीमा ‘नामी भिगो’ नामक नयाँ इलेक्ट्रिक एसयूभी आधिकारिक रूपमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो मोडलले बलियो डिजाइन, स्मार्ट विशेषता र उत्कृष्ट प्रदर्शनका साथ नेपालमा मिड–साइज इलेक्ट्रिक एसयूभीको स्तरलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखेको छ । नामी भिगोको ‘म्याजिक कर्भ’ डिजाइनले आधुनिक सौन्दर्य र एरोडाइनामिक संरचनाको संयोजन प्रस्तुत गर्दै नामी ब्रान्डको नयाँ डिजाइन पहिचान विकास गरेको कम्पनीले जनाएको छ । यो मोडलमा रहेको ९९ किलोवाट मोटरले शहरदेखि राजमार्गसम्म शक्तिशाली एक्सेलेरेसन र स्मूथ ड्राइभिङ अनुभव प्रदान गर्छ । यसमा दुई ब्याट्री विकल्प उपलब्ध छन् । पहिलो ४४.९४ किलोवाट आवर क्षमताको ब्याट्री जसको डब्लुएलटीपी रेन्ज ३०० किलोमिटर छ, र दोस्रो ५१.८७ किलोवाट आवर ब्याट्री जसले ३५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । यसले १६७ किलोवाट फास्ट चार्जिङ सपोर्ट गर्दछ, जसले ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म केवल १८ मिनेटमै चार्ज गर्न सक्छ । कम्पनीका अनुसार यसले केही मिनेटमै करिब ११५ किलोमिटर दूरी थपिने सुविधा प्रदान गर्छ । गाडीको भित्री भाग अत्याधुनिक र आरामदायी बनाइएको छ । यसमा १२.८ इन्च टचस्क्रिन, भेन्टिलेटेड जिरो–प्रेसर सीटहरू, र पानोरेमिक मोनोरुफ जस्ता विशेषताहरू छन्, जसले चालक र यात्रु दुवैलाई प्रिमियम अनुभव दिन्छ । सुरक्षाका दृष्टिले पनि नामी भिगो उच्चस्तरको छ । यसमा जिरो फायर–एक्स्प्लोजन परीक्षण पार गरेको ब्याट्री सिस्टम, ६८.४ प्रतिशत उच्च–सामर्थ्यको स्टिल बडी र ६ वटा एअरब्यागहरूको संयोजन गरिएको छ, जसले गाडीलाई सुरक्षित र भरपर्दो बनाएको कम्पनीले जनाएको छ । नामी भिगो ई२ भेरियन्टको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ र ई२ प्लस भेरियन्टको मूल्य ४१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । विशेष प्रारम्भिक अफर अन्तर्गत भिगो ई२ ३७ लाख ९९ हजार र ई२ प्लस ४० लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ । एमएडब्लू वृद्धि मोटर्सले नामी भिगोलाई नेपालमा नयाँ पुस्ताका लागि आकर्षक, शक्तिशाली र पर्यावरणमैत्री विद्युतीय सवारीका रूपमा प्रस्तुत गरेको जनाएको छ ।
सुनको खेल अझै बाँकी ! मूल्य घट्ने कि फेरि इतिहास दोहोरिने ?
काठमाडौं । सुनको मूल्य प्रतिऔंस करिब ४ हजार अमेरिकी डलर वरिपरि स्थिर छ, यद्यपि बजारमा तीव्र उतारचढाव देखिएको छ । एक वर्षभित्र ऐतिहासिक उचाइमा पुगेको सुनले सन् १९७९ पछि सबैभन्दा बलियो वार्षिक वृद्धि गर्न लागेको छ । केन्द्रीय बैंकहरूले ठूलो परिमाणमा सुन खरिद गरिरहेका छन्, सुनमा आधारित इटीएफ (इन्भेस्टमेण्ट फन्ड –स्टक मार्केटमा सेयर जस्तै किनबेच गर्न सकिन्छ) मा लगानी बढेको छ र खुद्रा लगानीकर्ताहरूले बार वा सिक्का खरिद तीव्र रूपमा बढाएका छन् । यद्यपि हालको उछालपछि पनि सुन अझै करिब ९ प्रतिशतले आफ्नो सर्वकालीन उच्च ४ हजार ३५० डलरभन्दा तल छ, जुन केही साताअघि मात्रै पुगेको थियो । यो वृद्धि प्रायः सहज मौद्रिक नीतिको अपेक्षाबाट आएको हो । यस वर्ष धेरै केन्द्रीय बैंकहरूले ब्याजदर घटाए, तर अमेरिकी फेडरल रिजर्भ सावधानीपूर्वक अगाडि बढेको छ, जसले लगानीकर्तालाई अनिश्चिततामा पारेको छ । ब्याजदर घट्दा सुन बाँडफाँड गर्ने सम्पत्तिहरू (जस्तै बन्ड) भन्दा आकर्षक हुन्छ । यो पनि पढ्नूहोस् : सुन–चाँदीको मूल्यमा एकैदिन दशककै ठूलो गिरावट तर केही विज्ञहरूका अनुसार सुनका ‘सुनिला दिनहरू’ सकिँदै छन् । विश्व अर्थतन्त्र सुधारिँदै छ, मुद्रास्फीति दबाब घट्दै छ र सुरक्षित लगानीप्रतिको माग केही कमजोर भएको छ । वास्तविक ब्याजदर अझै उच्च भएकाले सुन जस्ता बिना प्रतिफलका सम्पत्तिहरू कम आकर्षक देखिएका छन् । साथै पछिल्ला महिनाहरूमा भूराजनीतिक तनाव घटेका छन् जसले पहिले मूल्यलाई समर्थन गरेको थियो । लगानीकर्ताहरू अहिले सेयर र उच्च प्रतिफल क्रेडिट बजारतर्फ सर्दैछन् जसले तत्काल सुनप्रतिको माग घटाएको छ । वस्तु विश्लेषकहरूका अनुसार सुन बिस्तारै घट्न सक्छ तर ठूलो गिरावट सम्भावना छैन । केन्द्रीय बैंकहरूको खरिद पनि आगामी वर्ष केही कम हुनसक्छ । धेरै देशहरूले मुद्राको जोखिमबाट जोगिन सुनको भण्डार बढाएका हुन् तर यदि त्यसमा कमी आयो भने छोटो अवधिमा मूल्य हल्का घट्न सक्छ । यद्यपि २०२३ भन्दा मूल्य धेरै माथि रहने अर्थशास्त्रीहरूको अनुमान छ । संरचनात्मक माग, दीर्घकालीन लगानी र अनिश्चितताहरूले मूल्यलाई समर्थन गर्नेछन् । अक्टोबर महिनामा दश वर्षयताकै ठूलो एकदिने गिरावट देखियो, जसले बजारमा अल्पकालीन हलचल ल्यायो । तर महिनाको अन्त्यसम्म सुन झन्डै ५ प्रतिशतले माथि थियो, जसले यसको मजबुती देखायो । विज्ञहरूले यसलाई ‘स्वस्थ विश्राम’ भनेका छन्—लगातार महिनौंको तीव्र वृद्धिपछि स्वाभाविक विराम । बलियो अमेरिकी डलरले सुनलाई महँगो बनाएको छ जसले विदेशी खरिदमा दबाब बढाएको हो । दीर्घकालीन संकेतहरू भने अझै सकारात्मक छन् । प्रमुख लगानी बैंकहरू सुनप्रति आशावादी छन् । यूबीएसले आगामी १२ महिनाभित्र प्रतिऔंस ४ हजार २०० डलर पुग्ने लक्ष्य राखेको छ र राजनीतिक जोखिम तथा बजार अस्थिरताले यसलाई ४ हजार ७०० डलर सम्म पुर्याउन सक्ने बताएको छ । गोल्डम्यान स्याचले भने २०२६ को अन्त्यसम्म ४ हजार ९०० डलर पुग्ने अनुमान गरेको छ, जसलाई दीर्घकालीन संस्थागत लगानी र सुनमा आधारित हेजिङ मागले समर्थन गर्नेछ । त्यसैबीच एचएसबीसीले सुनको गति २०२६ को पहिलो ६ महिनामा चरममा पुग्ने बताएको छ । यसको अनुमानमा २०२५ भरि मूल्य ३ हजार ७०० देखि ४ हजार ५० डलर बीच रहनेछ भने २०२६ मा ३ हजार ६०० देखि ४ हजार ४०० डलर को दायरामा व्यापार हुनेछ । बैंकले वर्षको अन्त्यसम्म मूल्य ३ हजार ९५० डलर हुने र २०२६ अन्त्यसम्म ३ हजार ८०० डलर मा पुग्ने सम्भावना जनाएको छ । एचएसबीसीका अनुसार ‘अधिकृत क्षेत्रको खरिद’ नै हालको उछालको मुख्य आधार हो, तर उच्च मूल्यले अहिले ‘भौतिक माग घटाउँदै’ गएको चेतावनी पनि दिएको छ । तर सबै विश्लेषकहरूको निष्कर्ष एउटै छ—अस्थायी गिरावटले दीर्घकालीन उकालो अन्त्य भएको संकेत गर्दैन । सुन अझै पनि मुद्रास्फीति, ऋण जोखिम र भूराजनीतिक घटनाविरुद्ध बीमाको रूपमा प्रमुख सम्पत्ति रहन्छ । आगामी चालहरू मौद्रिक नीति र विश्व परिस्थितिमा निर्भर हुनेछन् । फेडरल रिजर्भको डिसेम्बरको निर्णय निर्णायक हुन सक्छ— यदि ब्याजदर घटाउने संकेत आयो भने सुन फेरि उकालो लाग्न सक्छ । तर, यदि मुद्रास्फीति कम र अर्थतन्त्र स्थिर रह्यो भने मूल्य अहिलेको स्तर वरिपरि स्थिर रहन सक्छ । संक्षेपमा सुन अहिले पनि सुधारप्रतिको आशावाद र जोखिमप्रतिको सतर्कता बीचको सन्तुलनमा छ । ४५ वर्षपछि पनि यो विश्व बजारमा सबैभन्दा बढी हेरिने र बहस गरिने सम्पत्तिमध्ये एक रहँदै आएको छ । टेस्ला शैलीमा ‘रिभियन’ले पनि सीईओ आरजे स्क्यारिन्जलाई ४.६ अर्ब डलरको तलब प्याकेज दिने