विकासन्युज

साढे ३ अर्ब लगानीमा बुटवलमा ‘होटल ह्यात प्लेस’ सञ्चालनमा, ३५० जनालाई रोजगारी दिने

काठमाडौं । साढे ३ अर्ब रुपैयाँ लगानीमा बुटवलमा ‘होटल ह्यात प्लेस’ सञ्चालनमा आएको छ । बुटवल उपमहानगरपालिका–८ सुख्खानगरस्थित बुटवल–नारायणगढ सडकखण्डको छेउमा निर्माण गरी सञ्चालनमा ल्याइएको ‘होटल ह्यात प्लेस’ लुम्बिनी प्रदेशको आर्थिक केन्द्र बुटवलको पहिलो पाँचतारे होटल हो ।  होटल सफ्रोन सिके प्रालि मार्फत निर्माण गरिएको यो होटलको व्यवस्थापन अन्तर्राष्ट्रियस्तरको हायात होटल समूहले गर्ने भएको छ । सफ्रोन सिके प्रालिले हायतसँग दीर्घकालीन सम्झौता गर्दै होटल सञ्चालनमा अन्तर्राष्ट्रिय मापदण्ड लागू गरेको छ । २५ कट्ठा क्षेत्रफलमा फैलिएको यो होटलमा रूपन्देहीका सफल उद्योगी व्यवसायीहरू चुन्नुप्रसाद पौडेल, नरिश्वर पौडेल, भूमिराज पौडेल, कमलकिशोर मालपानी, उमाशंकर मालपानी र नितेश मालपानीको संयुक्त लगानी रहेको छ । होटलमा गरिएको ३ अर्ब ५० करोड रुपैयाँ लगानीमध्ये ६५ प्रतिशत बैंक ऋण र ३५ प्रतिशत लगानी सञ्चालक समूहको रहेको सञ्चालक चुन्नुप्रसाद पौडेलले जानकारी दिए । ‘२५ कट्ठा क्षेत्रफलमा ५ वर्षको यो होटल स्थापना भएको छ । होटलमा करिव ३५० करोड लगानी गरेका छौं । जसमा ग्लोबल आइएमइ बैंक लिमिटेड र होटल सफ्रोन सिकेको सयुक्त लगानी रहेको छ । यो होटलमा कुनै नेताको एक पैसा पनि लगानी छैन । होटल पूर्णक्षमतामा सञ्चालनमा आउँदा ३५० जना सम्मलाई रोजगारी दिनेछ । कुक, सरसफाइ गर्नेदेखि म्यानेजरसम्मले काम यो होटलमा गर्नुपर्ने हुन्छ, रोजगारी सबै स्थानीयलाई नै नदिने सक्ने अवस्था पनि रहन सक्छ, ’ सञ्चालक पौडेलले भने । अत्याधुनिक संरचनामा बनेको यो होटलमा जमिनमुनि दुईतले पार्किङ र जमिनमाथि १० तले भवन रहेको छ । होटलमा ६ श्रेणीका १०९ कोठा छन्, जसमा एकैपटक २५० पाहुना बस्न सक्ने व्यवस्था छ । करिब ५ हजार ७४६ वर्गमिटर क्षेत्रमा फैलिएको होटलमा रेस्टुरेण्ट, स्विमिङ पुल, ब्याङ्कवेट हल, क्यासिनो, स्पा, चारवटा सेमिनार हल र अन्य विलासी सुविधाहरू समावेश गरिएको छ ।  होटल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २५ किलोमिटर र भारतको बेलहिया सिमानाबाट २८ किलोमिटर दूरीमा अवस्थित छ । होटल ह्यात प्लेसले प्रत्यक्ष रूपमा ३५० जनालाई रोजगारी दिनेछ । ह्यात प्लेस बुटवलले लुम्बिनी प्रदेशको आतिथ्य उद्योगमा नयाँ अध्याय सुरु गर्दै बुटवललाई अन्तर्राष्ट्रिय पर्यटकका लागि आकर्षक गन्तव्यको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । होटलको अगाडि नै बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्र रहेकोले सम्मेलन, व्यापारिक भ्रमण र पर्यटनका लागि बुटवल आउने पाहुनालाई सहज आवासीय सुविधा मिल्ने विश्वास गरिएको छ ।   

गुराँस लघुवित्तको अध्यक्षमा उदयनारायण बराल नियुक्त

काठमाडौं । गराँस लघुवित्त वित्तिय संस्थाको अध्यक्षमा उदयनारायण बराल नियुक्त भएका छन् । संस्थाको कात्तिक २३ गते बसेको बैठकले सञ्चालक समितिको अध्यक्षमा बराललाई नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनी सचिव भेष बहादुर बस्नेतका अनुसार रिक्त रहेको सञ्चालक समितिको अध्यक्ष पदमा बराललाई सर्वसम्मतीले छनोट गरिएको छ । विराटनगर निवासी उदयनारायण बरालले स्नातकोत्तर (एमए) तहसम्म अध्ययन गरेका छन् । उनीसँग सहकारी क्षेत्रको व्यवस्थापन तथा नेतृत्वमा करीब २७ वर्षको अनुभव रहेको छ । बराल यसअघि त्रिशक्ति सप्लायर्सका प्रोप्राइटर, गुराँस हर्बास्यूटिकल्सका अध्यक्ष तथा लायन्स क्लब अफ विराटनगरका अध्यक्षका रूपमा समेत काम गरिसकेका छन् ।  

एमालेको घर फर्क अभियान : सयभन्दा बढी नेता एमालेमा फर्किँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सुरु गरेको घर फर्क अभियान अन्तर्गत सोमबार काठमाडौंमा विशेष कार्यक्रम हुँदैछ । कार्यक्रममा पार्टी छाडेर विभिन्न समयमा अन्य दल वा समूहतर्फ गएका सयभन्दा बढी नेता तथा कार्यकर्ताहरू पुनः एमालेमा प्रवेश गर्ने तयारीमा रहेको पार्टीले जनाएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुने उक्त कार्यक्रमलाई पार्टीले एकता र संगठन सुदृढीकरणको अवसरका रूपमा लिएको जनाएको छ । हालै एमालेले देशभर पुराना कार्यकर्ताहरूलाई पुनः संगठनमा जोड्ने उद्देश्यसहित घर फर्क अभियानलाई तीव्र पारेको छ । पार्टीका प्रवक्ता राजेन्द्र गौतमका अनुसार अभियानको उद्देश्य आगामी निर्वाचनलाई लक्ष्य गरी एमालेलाई पुनः राष्ट्रिय एकताको केन्द्रका रूपमा स्थापित गर्नु रहेको छ । उनका अनुसार असन्तुष्ट कार्यकर्ताहरूलाई पुनः सक्रिय बनाउँदै संगठनभित्र एकता बलियो बनाउने अभियानको लक्ष्य छ । एमाले छाडेका धेरै नेता पछिल्ला वर्षहरूमा नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्र तथा अन्य दलहरूमा गएका थिए । तीन वर्षअघि, २०७८ भदौ ३ गते अध्यादेशबाट जन्मिएको नेकपा (एकीकृत समाजवादी) मा गएका ती नेताहरू अहिले पुनः एमालेमा फर्कन लागेको प्रवक्ता गौतमले जानकारी दिए ।

सिद्धार्थ बैंकका ग्राहकलाई माउन्ट अफ एक्सेलमा ४० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकहरूले अब काठमाडौंको गोकर्णेश्वरमा अवस्थित माउन्ट अफ एक्सेल प्रालिमा विभिन्न सेवाहरू लिँदा छुट सुविधा पाउने भएका छन् । यस सम्बन्धमा सिद्धार्थ बैंक र माउन्ट अफ एक्सेलबीच सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको बैंकले जनाएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले माउन्ट अफ एक्सेलमा सेवा उपयोग गर्दा सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैंकिङ एप प्रयोग गरी भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकले यस सहकार्यले आफ्ना ग्राहकहरूलाई छुट सुविधा प्रदान गर्नुका साथै नगद रहित कारोबार (डिजिटल ट्रान्जेक्सन) मा जोड दिँदै डिजिटल बैंकिङ संस्कृतिलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेको छ । यस सम्झौता तथा सेवा सम्बन्धी थप जानकारीका लागि ग्राहकहरूले बैंकको २४ घण्टा सञ्चालनमा रहने ‘सिद्धार्थ केयर’ ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सक्नेछन् ।

चितवन राइनोजको कनेक्टिभिटी पार्टनर बन्यो भायानेट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टिम चितवन राइनोजको आधिकारिक कनेक्टिभिटी पार्टनर बनेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच भायानेटका वाणिज्य तथा बजार व्यवस्थापन विभागका उपाध्यक्ष शहिन श्रेष्ठ र चितवन राइनोजका प्रमुख सञ्चालन अधिकृत डा. आशिष खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नेपालकै सबैभन्दा ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता मानिने नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आगामी मंसिर १ देखि मंसिर २७ (नोभेम्बर १७ देखि डिसेम्बर १३, २०२५) सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सञ्चालन हुनेछ । चितवन राइनोजका मार्की खेलाडी कुशल मल्ल हुन् । सम्झौता समारोहमा भायानेटका उपाध्यक्ष शहिन श्रेष्ठले खेलकुदप्रति कम्पनीको प्रतिबद्धता व्यक्त गर्दै भने, 'हामी खेलकुदसँग सुरुदेखिनै जोडिएका छौं । खेलमा हाम्रो लगानी व्यवसायिक भन्दा बढी सामाजिक जिम्मेवारीको कुरा हो । यो हाम्रो समाज र नयाँ पुस्तामा लगानी हो, जसले देशभित्र सकारात्मक ऊर्जा फैलाउन मद्दत गर्छ । इन्टरनेट जस्तै खेलले पनि मानिसहरूलाई नजिक ल्याउँछ र सम्बन्ध बलियो बनाउँछ। यही कारण हामी खेल क्षेत्रलाई निरन्तर साथ दिइरहेका छौं ।' भायानेटले स्थापना कालदेखि नै खेलकुदलाई सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा बनाउँदै आएको छ । यसअघि कम्पनीले अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप र कर्पोरेट क्रिकेट लिग दुबैको शीर्ष प्रायोजक बनेको थियो । साथै, चर्चित फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ लाई ब्रान्ड दूत घोषणा गर्दै ‘साम्बा प्याक’ पनि सार्वजनिक गरेको थियो । चितवन राइनोजसँगको यस सहकार्यका माध्यमबाट भायानेटले खेलाडीको मनोबल वृद्धि गर्ने, दर्शकको भावना जोड्ने र देशभरका खेलप्रेमीहरूलाई एकै मञ्चमा ल्याउने सेतुको रूपमा काम गर्ने विश्वास व्यक्त गरेको छ ।

५३ करोडको लागतमा दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु भएको छ । गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक कालोपत्र गर्ने योजना सुरु भएको हो । पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले धवलागिरि गाउँपालिका–७ मच्छिममा पहिलो चरणमा सडक फराकिलो पार्न थालेको म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले जानकारी दिए । 'मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–मुना– ढोरपाटन सडक स्तरोन्नतिका लागि रु ९२ करोड ९२ लाखको स्रोत सुनिश्चितता भएको थियो,' उनले भने, 'योजनामार्फत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान हुनेछ ।' पूर्वाधार विकास कार्यालय र ठेकेदारका प्राविधिक टोलीले संयुक्त सर्वेक्षण सकेपछि गत हप्तादेखि उपकरण र मजदुर परिचालन भएका हुन् । गण्डकी प्रदेशमार्फत म्याग्दीमा भित्रिएको हालसम्मकामध्ये सबैभन्दा ठूलो र धेरै बजेटको आयोजना भएको जुग्जालीले बताए । प्रशासनीक खर्च बाहेक रु ६७ करोड लागत अनुमान गरिएको योजना कार्यान्वयनका लागि ठेक्का प्रतिस्पर्धाका क्रममा सबैभन्दा कम रु ५२ करोड ८० लाख ५३ हजार कबोलेको निर्माण कम्पनीसँग २०८२ असार ११ गते ठेक्का सम्झौता भएको थियो । म्याग्दीको मङ्गला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ७० किलोमिटर छोटो पर्ने भएकाले जुग्जालीले गण्डकी प्रदेशको पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्व गरेको समयमा विसं २०८० माघमा यो सडकलाई सङ्घीय समपूरक योजनामा समावेश गराउने निर्णय गराएका थिए । सङ्घीय र प्रदेश सरकारको समपुुरक ५०/५० प्रतिशत लागत साझेदारी रहने यस योजनाको ठेक्का अवधि २७ महिनाको रहेको कार्यालय प्रमुख विष्णु पौडेलले जानकारी दिए । सङ्घीय र प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा रु २४ बजेट विनियोजन गरेको यस योजनाका लागि चाालु आर्थिक वर्ष २०८२/०८३ मा रु २३ करोड २२ लाख विनियोजन भएको छ । उक्त सडकअन्तर्गतको धवलागिरि गाउँपालिका–७ धारापानीबाट ताकम हुँदै झिनडाँडा खण्डको चार किलोमिटर दूरीको सडक कालोपत्र, ढलान र ग्राभेलका लागि आर्थिक वर्ष २०८०/८१ मा रु १४ करोड ६१ लाख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले करिब ६० प्रतिशत भौतिक प्रगति गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । बेनीबाट मङ्गला हुँदै मालिका गाउँपालिकाको केन्द्र दरवाङ जोड्ने २४ किलोमिटर सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । बेनी–तोलाबाङ खण्डमा १८ किलोमिटर कालोपत्र भएको छ । यो सडकले भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिकाको पूर्वाधार र आर्थिक क्षेत्रमा रुपान्तरण गराउने अपेक्षा गरिएको वडा नं.–३ का अध्यक्ष तथा गाउँकार्यपालिकाका प्रवक्ता देवेन्द्र रोकाले बताए । विसं २०७१ मा मुनामा सडक पुगेको थियो । हाल कच्ची अवस्थामा रहेको सडक गाउँपालिकाले मर्मत गरेर यातायात सञ्चालनको व्यवस्था मिलाएको छ । सडक स्तरोन्नति सुरु भएपछि स्थानीयवासीमा खुसीयाली छाएको उनले बताए । सडक निर्माणलाई गुणस्तरीय हिसाबले समयमै सम्पन्न गराउन गाउँपालिकाले समन्वय र सहजीकरण गर्ने रोकाले बताए । मुना हुँदै मरेनीबाट जलजला र ढोरपाटन जोड्ने सडकको गत आर्थिक वर्षमा मार्ग खुलेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए । 'गत वर्ष मार्ग खुलेको मुना–खोरीया–मरेनी–जलजला खण्डको सडकमा यातायात सञ्चालन गर्न मर्मतका लागि सडक डिभिजनसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीलाई ताकेता गरेका छाैं,' उनले भने 'बेनीदेखि मुना खण्डको सडक स्तरोन्नतिसँगै जलजला हुँदै ढोरपाटनको मार्ग खुलेपछि स्थानीयवासीका साथै ढोरपाटन घुम्न जाने पर्यटकहरुलाई सहज हुनेछ ।' रासस

रुपन्देहीमा २३ लाख बराबारको अवैध सामान बरामद

देवदह । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमा झण्डै २३ लाख बराबरको अवैध सामान बरामद गरेको छ । यही कात्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएको अन्दाजी रु २२ लाख ८८ हजार २२८ बराबरको सामान नियन्त्रणमा लिइएको रुपन्देही प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका सामान यही कात्तिक २३ गते आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले रोहिणी गाउँपालिका–२ स्थित मैनिहवाबाट ऊलन लेडिज कुर्ता, बच्चाको मोजा, टोपी, टाउजर सेट, हुडी, जेन्स मोजा गरी एक लाख २५ हजार ८ सय बराबरको सामान बरामद गरेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले तिलोत्तमा नगरपालिका–३ स्थित शङ्करनगरबााट भारतीय नम्बर प्लेट कारको पछाडी सिटमुनी लुकाइछिपाइ बिलबिजक नभएको सामान बरामद गरेको छ । सामान र कारसहित गरी १८ लाख ४० हजार २२८ बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त कारबाट ल्यापटपको चार्जर झोला, पहेँलो रगको धातुबाट बनेको जस्तो देखिने गाई आकारको मूर्ति, मदिराका बोतल, विभिन्न कम्पनीका मोबाइलको डिस्प्ले र डिस्प्लेका प्याकेट र गमको प्याकेटहरु बरामद गरेको छ । त्यसैगरी प्रहरी चौकी शिवपुर गोनाहा र प्रहरी चौकी मर्यादपुरबाट खटिएको संयुक्त टोलीले मायादेवी गाउँपालिका–५ स्थित गोनाहाबाट लु २२ प १२५७ नम्बरको मोटरसाइकल, उलन लेडिज सुट, उनि सल, काँचो कपडा, लेडिज बाक्लो उलन सुट, काँचो कपडा गरी रु तीन लाख २२ हजार २०० बराबरको सामान बरामद गरेको छ ।

मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव, कटेजमा सपथ

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा भण्डारीले जनकपुर बाहिर कार्यक्रम गरेर मुख्यमन्त्री नियुक्त गरेकी हुन् । मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सभामा बहुमत सिद्ध गर्न नसकेपछि गत शनिबार राजीनामा दिएका थिए ।  सोनलले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा एमाले नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन् । आज बिहान ५ बजेर २० मिनेट जाँदा महोत्तरीको बर्दिबास ३ कालापानी स्थित पानस कटेजमा भण्डारीले यादवलाई मधेसको मुख्यमन्त्री नियुक्त गर्दै शपथ ग्रहणसमेत गराएकी हुन् ।