नरेन्द्र विष्ट

सोमबारदेखि सवारी चल्न नदिने चेतावनी, १३ खर्ब लगानी र १५ लाख रोजगारी प्रभावित हुँदै

काठमाडौं । निजी सवारीसाधनलाई भाडामा चलाउन दिने गण्डकी प्रदेश सरकारको निर्णयको विरोधमा यातायात व्यवसायीहरू सडकमा उत्रिएका छन् ।  नेपाल यातायात व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक तथा ढुवानी व्यवसायी महासंघ, नेपाल स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघको संयुक्त आयोजनामा व्यवसायीहरूले विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले आइतबार माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म र्‍याली निकालेका थिए । गण्डकी प्रदेश सरकारले जेठ १ गते राजपत्रमा प्रकाशित गर्दै ल्याएको ‘राइड सेयरिङसम्बन्धी नियमावली २०८२’ विरुद्ध व्यवसायीले प्रदर्शन गरेका हुन् । व्यवसायीहरूले सोमबारदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने चेतावनी दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार प्रदेश सरकारले ल्याएको नियमावली संविधान र ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९’ विपरीत छ । उनले संघीय कानुनको अवमूल्यन गर्दै सातै प्रदेशले फरक-फरक नियमावली ल्याउने क्रम सुरु भएकोप्रति आपत्ति जनाए । उनले भने, ‘राइड सेयरिङ र प्रविधिको हामी विरोधी होइनौं, तर कानुन बाहिर गएर प्रदेश सरकारले यस्तो नियमावली ल्याउन मिल्दैन । निजी प्रयोजनका लागि दर्ता गरिएका रातो नम्बर प्लेट सवारीसाधनलाई सार्वजनिक यातायातको रूपमा प्रयोग गर्न दिनु अनुचित छ ।’ यस्तै, सार्वजनिक यातायात केद्रीय महासंघका अध्यक्ष डा. डोलनाथ खनालले पनि आफूहरू बाध्यताले सडकमा आएको बताए । उनले भने, ‘सोमबारदेखि देशभर यातायात बन्द गर्छाैं । गण्डकीमा तीन दिनदेखि ठप्प गरेका छौं भने अब देशभर बन्द हुन्छ ।  हालसम्म सरकार मौन छ । न हामीलाई वार्तामा बोलाएको छ, न कुनै जानकारी नै दिएको छ । जनतालाई कति समस्या भइरहेको छ । यो पीडा कसले बुझ्ने ? हामीले जनताका लागि नभई सरकारका लागि बाटाे बन्द गरेका हौं ।’ विशेषगरी सवारी ऐन, २०४९ अनुसार निजी सवारीले भाडाका यात्रु बोक्न दिनुमा उनीहरूको असहमति छ । संघीय ऐन विपरीत प्रदेश सरकारले अधिकार नाघेर नियमावली ल्याएको उनीहरूको दावी छ ।  नेपाल सरकारको गण्डकी प्रदेश सरकारले देशको संविधानको धारा ५७ को उपधारा ६ उपधारा ३ वा ५ र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत हुने गरी राइडर सेयरिङकाे नाममा निजी प्रयोजनको लागी खरिद गरिएका पुराना १० वर्षे २ पाङ्ग्रे सवारी साधन, १५ वर्ष पुराना निजी ४ पाङ्ग्रे सवारी साधनलाई भाडाका सवारीसाधन सरह प्रयोग गर्ने मन्त्रिपरिषदबाट निर्णय गरेकोप्रति गम्भीर आपत्ति जनाएका छन् ।   यस्ता छन् व्यवसायीहरूका सात बुँदे माग गण्डकी प्रदेशको ‘राइड सेयरिङ नियमावली २०८२’ को दफा २ (ज) खारेज गर्नुपर्ने, सर्वोच्च अदालतको चैत्र २० गतेको परमादेश तत्काल कार्यान्वयन गरिनुपर्ने, सवारी ऐन २०४९ संशोधन नभएसम्मको लागि सरकारले यातायात महासंघ तथा मजदुर संगठनसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने, सार्वजनिक यातायातको सामाजिक सुरक्षा कोष अनिवार्य रूपमा लागू गरिनुपर्ने र बिमा दर निर्देशिका २०७३ संशोधन गरी दुर्घटना राहत कोष स्थापना गरिनुपर्ने, ढुवानी ऐन लागू गरी मालवस्तुमा अनिवार्य बीमा व्यवस्था गर्नुपर्ने, छिमेकी मुलुकबाट नेपाल प्रवेश गर्दा लागू गरिएको असमान नीति, विशेषतः ७२ घण्टे सुविधा हटाइनुपर्ने आन्दोलनले जनजीवन प्रभावित विरोधका कारण पोखरालगायत गण्डकी प्रदेशका प्रमुख सहरहरूमा सार्वजनिक सवारी अवरुद्ध भएको छ । शनिबार मात्रै प्रहरीले स्कर्टिङमार्फत पोखराबाट काठमाडौं यात्रु पुर्‍याएको थियो । पर्यटन क्षेत्रमा समेत असर पर्न थालेको छ । व्यवसायीहरूले विदेशी पर्यटकबाहेक अन्यको टिकट बुकिङ नगर्न पर्यटन व्यवसायी संघ (नाट्टा) गण्डकीलाई आग्रह गरेका छन् । गण्डकी सरकार भन्छ- नियमावली फिर्ता हुँदैन गण्डकी प्रदेश सरकार भने नियमावली फिर्ता नहुने अडानमा अडिग छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘राइड सेयरिङ’ लाई वैधता दिँदा युवाहरूको वैदेशिक पलायन कम हुने तर्क गरेका छन् । उनले भने, ‘नियमावली फिर्ता हुँदैन, तर अवैध रूपमा चलेकालाई कानुनी दायरामा ल्याउने उद्देश्य प्रदेश सरकारको हो ।’ गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सचिव कमलकुमार अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ । मन्त्रालयले व्यवसायीलाई वार्तामा आउन आह्वान गरेको छ । तर व्यवसायीहरूले नियमावली खारेज नभएसम्म वार्ता नबस्ने अडान दोहोर्‍याएका छन् ।  गण्डकीमा मात्रै १५ हजारभन्दा बढी सार्वजनिक सवारी रहेका छन् भने ३० भन्दा बढी समिति सक्रिय छन् । सार्वजनिक यातायात बन्द हुँदा लामो तथा छोटो दुरीका यात्रु मर्कामा छन् । पोखरा र ठुला सहरहरूमा राइड सेयरिङहरुले सेवा दिएका छन् । यसअघि व्यवसायीहरुले बुधबार सबै प्रदेशका मुख्यमन्त्रीहरूलाई मागपत्र बुझाएका थिए । सोमबारदेखि देशव्यापी अनिश्चितकालका लागि आफ्ना सवारीसाधनहरू घर ग्यारेजमा थन्क्याई आन्दोलन गर्ने उनीहरूले चेतावनीको छ ।  २०७४ सालमा सरकारले यातायात क्षेत्रलाई व्यवस्थित गर्ने भन्दै संघ समितिलाई निलम्बन गरी सम्पत्ति रोक्का गरी कम्पनीमा रूपान्तरण गर्दा यातायात क्षेत्र नै अस्तव्यस्त भई हजारौं यातायात व्यवसायी पलायन भएको व्यवसायीको भनाइ छ । आफ्ना माग पूरा नभए सार्वजनिक यातायात क्षेत्रको १३ खर्ब लगानी जोखिममा पर्ने यातायात व्यवसायीहरू बताउँछन् । यातायात क्षेत्रमा १५ लाखले प्रत्यक्ष रोजगारी पाएको र ४० लाख परिवार सार्वजनिक यातायात क्षेत्रमा आश्रित रहेको व्यवसायीको दाबी छ । व्यवसायीहरूको सात बुँदे माग पुरा नभए देशभरको सार्वजनिक यातायात ठप्प हुने चेतावनीले सर्वसाधारण जनतालाई थप सास्ती हुने देखिएको छ । वार्ता र संवादमार्फत समाधान खोज्ने प्रयास भइरहे पनि दुवै पक्ष अडानबाट पछि नहट्दा समस्या जटिल बन्दै गएको छ ।

नाडा र नाइमाको एक्स्पोले व्यवसायी विभाजित, को कुन धारमा ?

काठमाडौं । अटो व्यवसायीहरूबीच एकले अर्कालाई सकाउने खेलको सुरुवात भएको छ । नाडाकै केही पदाधिकारीहरूको प्रयासमा नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) स्थापनादेखि सुरु भएको खेल अटो एक्स्पोको संघारमै प्रष्ट देखिएको हो ।  दुवै संस्थाले अटो एक्स्पो आयोजना गर्ने घोषणा गरिसकेका छन् । नाइमाले बुकिङ रजिस्ट्रेसन पनि बन्द गरिसकेको छ भने नाडाले अगाडि नै रजिस्ट्रेसन खोले पनि अहिलेसम्म बन्द गरेको छैन । अर्थात नाडाले विगतको जस्तै बिजनेस पाउन सकेको छैन । अधिकांश अटो व्यवसायीहरू नाइमामा जाँदा नाडा अटो शोको भविष्यमाथि नै प्रश्न उठेको छ ।  नाइमाको नेपाल मोबिलिटी एक्स्पोको लागि स्टल बुकिङ चाहिएभन्दा बढी भए पनि नाडा अटो शोका लागि भने स्टल नै बुकिङ हुन सकेनन् । व्यवसायीहरूले एक-आपसमा जुँगाको लडाइँ गर्दा नाडा अटो शोको भविष्यमाथि प्रश्न उठेको हो ।  कुन व्यवसायी कुन संस्थामा ? युनाइटेड टेडर्स सिण्डिकेट नेपालमा टोयोटा ब्राण्डका गाडीहरूको एकमात्र आधिकारिक  बिक्रेता वैद्य अर्गनाइजेसन अन्तर्गतको युनाइटेड टेडर्स सिण्डिकेटकी प्रबन्ध निर्देशक तथा नाइमाकी अध्यक्ष हुन् रितुसिंह वैद्य । उनी व्यवसायी सुरज वैद्यकी श्रीमती पनि हुन् । भारतको नयाँदिल्लीमा जन्मिएर नेपालका प्रतिष्ठित घराना वैद्यज अर्गनाइजेनसभित्र भित्रिएकी रितु हाल टोयोटा ब्राण्डको गाडी प्रवर्द्धनमा तल्लीन छिन् ।  टोयोटा नेपाल भित्रिएको ५१ वर्ष भैसकेको छ भने रितु यही ब्राण्डको विस्तारका लागि स्ट्राटेजी बनाइरहेकी छिन् । उनले सेल्स, सर्भिस, स्पेयर पार्टस सबै आफैले समालिरहेकी छिन् ।  नाइमाकी अध्यक्ष समेत रहेकी रितुले नेपाल मोबिलिटी एक्स्पोमा टोयोटा ब्राण्डसँगै लेक्सस तथा एथर ब्राण्डका सबै गाडीहरू प्रर्दशनमा राख्नेछिन् । उनी जसरी पनि नाइमाको एक्स्पो सफल बनाउन लागेकी छन् । कन्टिनेन्टल ट्रेडिङ प्रालि सुहृद घिमिरे किया गाडीको आयातकर्ता तथा आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ प्रालिका अध्यक्ष हुन् । उनी नाइमामा पनि संग्लन छन् । कन्टिनेन्टल ट्रेडिङ प्रालिले किया, इसुजु, कोमात्सु र ओटिस जस्ता प्रतिष्ठित ब्राण्डहरू बिक्री गर्दै आइरहेको छ । जसले व्यावसायिक क्षेत्रमा छुट्टै पहिचान बनाएको छ । आगामी साउनको अन्तिम सातातिर भृकुटीमण्डपमा हुने नेपाल मोबिलिटी एक्स्पोमा किया गाडीका ब्राण्डहरू प्रदर्शनमा राखिनेछन्।  लक्ष्मी इन्टरकन्टिनेन्टल नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलका निर्देशक हुन् अञ्जन श्रेष्ठ र निराकार श्रेष्ठ । नेपालको ठूला व्यावसायिक ग्रुपको पहिचान बनाएको लक्ष्मी ग्रुपको नेतृत्व तहमा रहेर काम गरिरहेका अञ्जन श्रेष्ठ नेपालका एक सफल व्यवसायीका रुपमा पनि परिचित छन् । उनी हाल नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका रूपमा कार्यरत छन् भने उनी नाडाको पूर्व अध्यक्ष समेत हुन् । निराकर नाडा र नाइमाका पनि सदस्य हुन् । नेपाल मोबिलिटी एक्स्पोमा हुण्डाई र फोरथिङ गाडीको ब्राण्डहरू प्रदर्शनमा राखिने जानकारी छ ।  शारडा ग्रुप नेपालका आमोडा जेइको गाडीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स तथा शारडा ग्रुपका निर्देशक गौरव शारडा हुन् । गौरव नाइमाको मोबिलिटी एक्स्पोका संयोजक समेत हुन् । उनी एसपीजी अटोमोबाइलको स्थापनासँगै अटोमोबाइल क्षेत्रमा प्रवेश गरेका हुन् भने गौरवले नेपाली बजारमा चेरी ब्राण्ड, निसान, डाटसन र नयाँ ईभी ब्राण्ड ओमोडा विक्री वितरण गर्दै आएका छन् । नाइमा मोबिलिटी एक्स्पोमा यी ब्राण्डहरुका साथै यही साता मात्रै नेपाल भित्र्याइएको विन्डसर नयाँ ब्राण्डका विद्युतीय कार (इभी) हरू प्रर्दशनीमा राखिनेछन् ।  विशाल ग्रुप नेपालका लागि मोरिस ग्यारेज एमजी गाडीको आधिकारिक बिक्रेता पारामाउन्ट माेटर्स तथा विशाल ग्रुपका प्रबन्ध निर्देशक हुन् निकुञ्ज अग्रवाल । नेपालकै ठूलो व्यापारिक समूहमध्येको एक विशाल ग्रुप हो । निकुञ्जले उक्त व्यावसायिक समूहको नेतृत्व गरिरहेका छन् । यो ग्रुपले नेपाली अटो बजारलाई तताएको छ । विशाल ग्रुपले नेपाली बजारमा धेरै ब्राण्डका गाडी ल्याएर बिक्री गर्दै आएको छ ।   यस ग्रुपले फक्सवागन, रेनो, एमजी, विलिङ, सुजुकी मोटरसाइकल, माज्दा, मेक्सस, भिनफास्ट, ग्रेटवाल जस्ता ब्राण्ड बिक्री गरिरहेको छ भने नाइमाको एक्स्पोमा एमजी फस्कवागेन, टिभीएस, ग्रेटवालल ब्राण्डहरू प्रदर्शनीमा अवलोकन गर्न सकिनेछ ।  साइमेक्स इंक प्रालि बिवाइडीका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिकी प्रबन्ध निर्देशक हुन् यमुना श्रेष्ठ । उनी नाइमाकी सदस्य पनि हुन् । पछिल्लो समय उनले नेपाली अटो बजार तताएकी छन् । पछिल्लो समय उनको कम्पनी नेपाली बजारमा सर्वाधिक विद्युतीय बीवाईडी गाडी बिक्री गर्ने कम्पनी बनेको छ । जबकि सन् २०२४ मा कम्पनीले ६ हजार थान गाडी बिक्री गरेर नेपालकै पहिलो नम्बरमा पर्न सफल भएको थियो । ६ महादेशमा ३० भन्दा बढी औद्योगिक पार्कहरू स्थापना गरेको बीवाईडीले इलेक्ट्रोनिक्स, अटोमोबाइल बजारमा छल्याङ मारेको छ ।  यमुनाले अटोमोबाइलका साथै हस्पिटालिटी क्षेत्रमा पनि लगानी विस्तार गरिरहेकी छिन् । साउनमा हुने नाइमा एक्स्पोमा कम्पनीले बीवाईडी विभिन्न ब्राण्डहरूसँगै यहीँ साता नेपाल भित्र्याइएको नयाँ गाडी सिलायोन ७ मोडेलको गाडी नाइमा मोबिलिटी एक्स्पोको प्रदर्शनीमा राखिने कम्पनीले जनाएको छ ।  आइएमई मोटर्स कमर्सियल भेहिकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स हो । यसका प्रबन्ध निर्देशक निसान ढकाल हुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा हुन् । उनी नाडामा आमन्त्रित सदस्यका रूपमा छन् । तर उनले आफ्ना गाडीको प्रदर्शनी भने नाइमामा राख्नेछन् ।   उक्त कम्पनीले कमर्सियल भेहिकलमा आफ्नो बजार हिस्सा बढाउँदै लगेको छ भने नाइमा एक्स्पोमा अशोक लेल्याण्डले कमर्सियल भेहिकल गाडीहरू प्रदर्शनमा राख्नेछ ।  पद्म ज्योति ग्रुप  होन्डा बाइक तथा स्कुटर र होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ तथा पद्म ज्योति ग्रुप हो । जसका प्रबन्ध निर्देशक सौरभ ज्योती हुन् भने उनी नाइमा पनि आवद्ध छन् । उनी नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पद्म ज्योतिका छोरा हुन् । उक्त कम्पनीमा हाल मिरा ज्योति सुधृण ज्योति, सिर्जना ज्योति र आरती ज्योति कम्पनीका निर्देशक छन् । उक्त ग्रुपले होन्डा मोटरसाइकल बिक्री गर्दै आएको छ भने आगामी साउनमा हुने नाइमा मोबिलिटी एक्स्पोमा कम्पनीले होन्डा ब्राण्डका सवारी साधनहरू प्रर्दशनमा राख्नेछ ।  शौरव नाडाका पूर्व अध्यक्ष समेत हुन् । तर, उनी पनि नाइमामा आवद्ध भएका छन् ।  महिन्द्रा अग्नि ग्रुप महेन्द्रा गाडीको लागि आधिकारिक बिक्रेता अग्नि इन्करपोरेटेड प्रालिले तथा अग्नि ग्रुप हो । यसका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ हुन् । यस कम्पनीले महिन्द्रा र याज्दी ब्राण्डका गाडीहरू बिक्री गर्दै आइरहेको छ । कम्पनीले मोबिलिटी एक्स्पोमा प्रदर्शनमा राख्न पनि यी दुवै ब्राण्डका साथै महिन्द्राको नयाँ ब्राण्ड बीई सिक्स र एक्सयुभी नाइन ई एसयुभी गाडी यही साता नेपाल ल्याइएको छ । यी गाडीहरू टेस्ट ड्राइभका लागि ल्याइएको र मोबिलिटी एक्स्पोमा प्रदर्शनीमा राखिने जानकारी दिएको छ ।  अल्फा अटोमोटिभ  रोयल इन्फिल्डको लागि आधिकारिक बिक्रेता त्रिवेणी ग्रुप अन्तर्गको अल्फा अटोमोटिभ हो । यसका प्रबन्ध निर्देशक हर्ष सांघाई हुन् । अल्फा अटोमोटिभले रोयल इन्फिल्डको दुईपाँग्रे सवारीसाधनबाट नेपालभरि आफ्नो बजार विस्तार गरिरहेको छ । रोयल इन्फिल्ड मोटरसाइकल नेपाली युवा पुस्तामाझ अधिक लोकप्रिय छ ।  नेपाली बजारमा सबै पुस्ताले विश्वास गरेर रुचाइएको ब्रान्ड रोयल इन्फिल्ड हो । अल्फा अटोमोटिभले नेपाली बजारमा रोयल इनफिल्डका साथै डोङफेङ, कर्मसियल गाडी, क्लासिक ३५० को नयाँ भर्सन एफआई, इलेक्ट्रा, सिग्नल्स, मेटेओर ३५०, हिमालयनलगायतका मोडलहरू बिक्रीवितरण गर्दै आएको छ । यस कम्पनीले मोबिलिटी एक्स्पोमा रोयल इनफिल्ड र डोङफेङ कमर्सियल ब्राण्डका गाडीहरू प्रदर्शनीमा राख्नेछ ।  हंसराज हुलासचन्द एण्ड कम्पनी बजाज बाइक तथा स्कुटरको आधिकारिक बिक्रेता गोल्छा अर्गनाइजेसन अन्तर्गतको हंसराज हुलासचन्द एण्ड कम्पनी हो । यस कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छा हुन् ।  कम्पनीले नेपाल बजारमा बजाज मोटरसाइकल बिक्री गर्दै आइरहेको छ । कम्पनीले मोबिलिटी एक्स्पोमा बजाजसँगै सिट्रोन, लिपमोटर, प्युजो  ब्राण्डका गाडीहरू प्रदर्शनमा राख्नेछ । गोल्छा नेपाल उद्योग वाणिज्य महासंघसँगै नाडाका अध्यक्ष भइसकेको व्यवसायी हुन् । उनी पनि नाइमामा आवद्ध भएका छन् ।  नाडा अटो शोमा सीमित व्यवसायी एक दर्जन गाडी तथा बाइकको लागि आधिकारिक बिक्रेता कम्पनी एमडब्लु ग्रुपका अध्यक्ष विष्णु अग्रवाल, विवेक सिकारिया, सिजी माेटर्सका निर्वाण चौधरी तथा सिप्रदी ट्रेडिङ प्रालिका राजनबाबु श्रेष्ठ नाडामा अटो शो मा सहभागी हुने छन् ।  सिप्रदी ट्रेडिङ नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता हो सिप्रदी ट्रेडिङ प्रालि । सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ हुन् । उनी नाडाका उपाध्यक्ष पनि हुन् ।  सिप्रदी ट्रेडिङले टाटा ब्रान्डका गाडीहरू बिक्री गर्दै आएको छ । यो कम्पनीले भदौ पहिलो सातादेखि सुरु हुने नाडा अटो शोमा सहभागी हुनेछ भने प्रदर्शनमा टाटा ब्रान्डका गाडीहरू राख्नेछ ।  एमएडब्ल्यू ग्रुप एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल हुन् । एमएडब्ल्यूले हेभी इक्युपमेन्टदेखि चर्चित प्यासेन्जर गाडीसम्म बिक्री गर्दै आएको छ भने दुईपाँग्रे यामाहा र हेभीइक्युपमेन्टमा जेसीबी र चारपाँग्रेमा जिप, स्कोडा र पछिल्लो समय चर्चित ब्रान्डको रूपमा स्थापित सेरेस बिक्री गर्दै आएको छ । यस कम्पनीले आयात गर्ने जीप, दिपाल, सेरेस, नामी, स्कोडा, फोटोन र सोकोन लगायतका आधा दर्जन ब्रान्डका गाडीहरू नाडा अटो शोमा अवलोकन गर्न सकिनेछ ।  यो कम्पनी नाइमा मोबिलिटी एक्स्पो तथा नाडा अटो शो दुवैमा देखिनेछ । यसैगरी एमडब्लूले बिक्री गर्ने यामाहा मोटरसाइकल पनि अटो नाडा शोमा अवलोकन गर्न सकिने बुझिएको छ ।  चौधरी ग्रुप  चौधरी समूह अन्तर्गतको सिजी मोटोकर्पले मारुती सुजुकीका चारपाँग्रे गाडी बिक्री गर्दै आएको छ । जुन हाल नाडा अटोमोबाइल एसोसियसनका अध्यक्ष करण चौधरीले नेतृत्व  गर्दै आएका छन् । अटो व्यवसायमा विनोद चौधरीका छोरा निर्वाणको प्रवेशसँगै चौधरी ग्रुपले हाल धमाधम विद्युतीय ब्रान्ड भित्र्याइरहेको छ । चौधरी ग्रुपले नेटा, आयोन, एक्सपेङ, स्मार्ट, रिडारा, विद्युतीय गाडी तथा कमर्शियलतर्फ केवाईसी, किङलङका गाडी बिक्री गर्दै आएको छ । हिरो ब्रान्डको मोटरसाइकल तथा अतिरिक्त, भेष्पा, अप्रिलिया र यात्री मोटरसाइकलसहित केही अन्य इलेक्ट्रिक दुईपाँग्रे सवारी साधनहरू नाडा अटो शोमा अवलोकन गर्न सकिनेछ । 

उच्च मागसँगै नाइमाको बुकिङ बन्द, नाडाले पाएन बिजनेस

काठमाडौं । अटो व्यवसायीका लागि दशैं पर्व मानिने नाडा अटो शो यसपटक भने संकटको संघारमा पुगेको छ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) छुट्टिएर जन्मिएको नयाँ संस्था नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएन (नाइमा) को नेपाल मोबिलिटी एक्स्पो  हुने भएपछि नाडा अटो शो संकटमा पुगेको हो ।  नाडाभित्र चरम राजनीति भएको, निषेधको परिपाटी र आयातकर्ताको विषय सुनुवाइ नै नभएको भन्दै रातारात नयाँ संस्था ‘नाइमा’ खोलिएको थियो ।  नाडा र नाइमा दुवै संस्थाले यसअघि नै फरक–फरक मितिमा अटो शो गर्ने घोषणा गरिसकेका छन् । विगतका वर्षमा मिलेर नाडा अटो शो आयोजना गर्ने व्यवसायीहरू यसवर्ष छुट्टाछुट्टै अटो शो गर्ने भएपछि नाइमाको मोबिलिटी एक्स्पोमा उत्साह र रौनक देखिने निश्चित भएको छ भने नाडालाई बिजनेस पाउन नै हम्मेहम्मे भएको छ । यसले नाडा अटो शो हुने कि नहुने भन्ने मै दुबिधा देखिएको छ ।  नाडाले आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म १७औं संस्करणको ‘नाडा अटो शो’ गर्ने जानकारी गराइसकेको छ । जसका लागि फागुन २७ गतेदेखि चैत ४ गतेसम्मका लागि भन्दै रजिष्ट्रेसन खोलेको थियो । तर, सो रजिष्ट्रेसन अहिलेसम्म पनि बन्द भएको छैन ।  ढिलो गरेर रजिष्ट्रेसन खोलेको नाइमाले बन्द गरिसकेको छ । नाइमाले वैशाख २२ गते देखि २९ गतेसम्म स्टल बुकिङ खुला गरेमा सोचेभन्दा बढी स्टल बुकिङ भएपछि बन्द गरिसकेको छ ।   नाइमाले आगामी साउन २१ गतेदेखि २५ गतेसम्म भृकुटीमण्डपमा ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्ने घोषणा गरिसकेको छ । नेपालमा बिक्री हुने मुख्य ब्राण्ड नाइमामा आवद्ध व्यवसायीले आयात गर्ने भएकोले पनि नाडा अटो शोभन्दा नाइमा मोबिलिटी एक्स्पो प्रभावशाली हुने देखिएको छ ।  नाडा अटो शो २०२५ मा सोचेभन्दा कम कम्पनीले मात्र स्टल बुकिङ गराएपछि बुकिङ बन्द नभएको बताइएको छ । नाइमाले भने सोचेभन्दा बढी स्टल पाएको छ ।  नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले माग गरेभन्दा बढी आवेदन परेपछि सबैलाई समेट्न अतिरिक्त स्टलहरूको व्यवस्था गर्नुपरेको बताइन् । ‘यसलाई हामीले नेपालमा मोबिलिटी क्षेत्रमा देखिएको उत्साह र सम्भावनाको स्पष्ट संकेत भएको बुझेका छौं, हामीले प्रदर्शनीकर्तालाई २५ प्रतिशत सस्तोमा स्टल दिएका छौं, नाडाको भन्दा हाम्रो व्यवस्थित स्टल हुन्छ,’ उनले भनिन् ।  नेपाल मोबिलिटी एक्स्पो २०२५ ले परम्परागत नाडा अटो शोभन्दा फरक तरिकाले, प्रविधिनिर्भर, इन्टरएक्टिभ र उपभोक्तामैत्री अनुभव दिने उद्देश्य लिएको उनको भनाइ छ । मोबिलिटी एक्स्पोले अटोमोबाइल क्षेत्रका निर्माता डिलर, डिस्ट्रिब्युटर, उपभोक्ता, अवलोकनकर्ता तथा यस क्षेत्रमा सरोकार राख्ने सबैलाई कम मूल्यमा टिकेट दिनेदेखि मिडिया र बिजनेश डेको लागि अलग्गै दिनको व्यवस्था गरिएको छ ।  व्यवसायीले आफ्ना स्टलहरू बाहिर गार्डेनमा राख्नु नपर्ने बताइन् । उनकाअनुसार पहिलो संस्करणकै प्रदर्शनीका लागि अटो क्षेत्रबाट आएको सहभागिता उल्लेखनीय रहेको छ । नाइमाले सुरुमा ४४ वटा स्टलको व्यवस्था गरेको थियो । तर, सहभागी कम्पनीहरूको चापका कारण ४८ वटा आवेदन प्राप्त भएपछि बुकिङ बन्द गरी थप स्टल निर्माण गरेको हो ।  नाइमा मोबिलिटी एक्स्पोमा २३ वटा चारपाँग्रे, १९ वटा दुईपाँग्रे र ८ वटा कमर्शियल ब्राण्ड सहभागी हुनेछन् । मोबिलिटी एक्स्पोमा चारपाँग्रे, दुईपाँग्रे तथा व्यावसायिक सवारीसाधन उत्पादन तथा आयातमा संलग्न ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरू सहभागी हुनेछन् । प्रदर्शनीमा चार पाँग्रेअन्तर्गत बीवाइडी, सिट्रोन, फोरथिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टास, हुन्डाई, केई, किया, लीपमोटर, एलईभी ०१, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुविशी, निसान, ओमोडा र जेको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फक्सवागेन र जीकर रहनेछन् । दुईपाँग्रेमा एम्पियर, एथर, बजाज, बेनेली, सीएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआइयू, रिभोल्ट, रोयल इन्फिल्ड, सेगवे–नाइनबोट, सुजुकी, ट्राइम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, यज्दी र जीहो रहने नाइमाले जनाएको छ । यसैगरी, कमर्शियलतर्फ चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, कारी, किङलोङ र सनलङ सहभागी हुनेछन् । यो एक्स्पोले नेपालका मोबिलिटी क्षेत्रमा क्रान्तिकारी सोच प्रस्तुत गर्नेछ भने आगन्तुक तथा प्रदर्शक दुवैका लागि नयाँ अनुभव दिने नाइमाको दाबी छ । पहिलो पटक आयोजना गर्न लागेको यो एक्स्पो ऐतिहासिक हुने अपेक्षा र विश्वास नाइमाको छ । मोबिलिटी एक्स्पोले नेपालको विद्युतीय सवारी साधन, स्मार्ट मोबिलिटी समाधान र दिगो यातायात प्रणालीप्रतिको प्रतिबद्धतालाई उजागर गर्ने विश्वास नाइमाको छ ।  फागुनमै रजिष्ट्रेशन खोलेको नाडा अटो शोमा भने हालसम्म कुन–कुन ब्राण्ड सहभागी भए ? कति भए भन्ने यकिन जानकारी नाडाले दिन चाहेको छैन । नाडाका अध्यक्ष करण चौधरीले चाँडै सार्वजनिक गर्ने तयारी भइरहेकोले अहिले नबताउने तर्क राखे ।  ‘बुकिङ खुल्ला नै राखेका छौं । हामीले हालसम्म स्टलबारे यति भए भनेर सार्वजनिक गरेका छैनौं । समय भएको छैन, अझै धेरै छ । स्टल बन्द गरेर सबैलाई जानकारी गर्नेछौं,’ उनले भने ।  एक अटो व्यवसायीका अनुसार नाइमामा सहभागी भएका कम्पनी नाडा र नाडामा सहभागी भएका कम्पनी नाइमाले आयोजना गरेको एक्स्पोमा सहभागी हुने छैनन् ।  नाइमाको आयोजनामा हुने एक्स्पोमा केही ठूला कम्पनीहरु सहभागी नहुने नाडाका एक सदस्यले जानकारी दिए । ती सदस्यका अनुसार नाडासँग असन्तुष्ट व्यवसायीहरु मिलेर नाइमा गठन गरेपछि आयोजना गर्न लागेको यो एक्सपोमा सिप्रदी ट्रेडिङ र एमएडब्लु ग्रुपलगायत केही अन्य प्रमुख कम्पनीहरु नदेखिने भएका हुन् । नाडा अटो शोको विषयमा अझै पनि छलफल नै भइरहेको ती सदस्यले बताए ।  उनले नाइमामा अधिकांश अटो मोबाइल आयातकर्ता तथा उत्पादकहरुको सहभागिता भए पनि, सिप्रदी ट्रेडिङ र एमएडब्लू ग्रुप सहभागी नहुने जानकारी दिए । अटोमोबाइल बजारमा तीव्र गतिमा विस्तार भइरहेको सिजी मोटर्स र सुजुकी गाडीको बिक्री गर्ने सिजी मोटोकर्प पनि नाइमा मोबिलिटी एक्स्पोमा सहभागी नहुने निश्चित भएको छ ।  उनका अनुसार सिप्रदी ट्रेडिङले बिक्री गर्ने टाटा ब्रान्डका कारहरु र एमएडब्लु ग्रुपले आयात गर्ने जीप, दिपाल, सेरेस, नामी, स्कोडा, फोटोन र सोकोन लगायतका आधा दर्जन ब्रान्डका गाडीहरू नाइमा मोबिलिटी एक्सपोमा अवलोकन गर्न पाइने छैन ।  यसैगरी एमडब्लु ग्रुपले बिक्री गर्ने यामाहा मोटरसाइकल पनि नाइमा एक्सपोमा सहभागी नहुने उनी बताउँछन् ।  सिजी मोटर्सले आयात गरी बिक्री गर्दै आएको एवोन, एक्सपेङ, अवतार, नेटा, स्मार्ट, केवाईसी र किङलङ ब्रान्डका ईभी (इलेक्ट्रिक भेहिकल) र हिरो ब्रान्डको मोटरसाइकल तथा अतिरिक्त, भेष्पारअप्रिलिया र यात्री मोटरसाइकलसहित केही अन्य इलेक्ट्रिक दुई पाँग्रे सवारी साधनहरु नाडामै रहेको बुझिएको छ ।

देशभर सवारीसाधनको संख्या झण्डै ६० लाख, धेरै मोटरसाइकल, १२ लाखमात्रै उपत्यकाको सडकमा

काठमाडौं । देशभर सवारीसाधनको संख्या करिब ६० लाख पुगेको यातायात व्यवस्था विभागले जनाएको छ । जसमा सबैभन्दा बढी बाइक तथा स्कुटर छन् भने त्यसपछि साना गाडी कार, भ्यान र जीप रहेका छन् । विभागको तथ्यांकको अनुसार गत आर्थिक वर्ष २०४६/०४७ देखि चालु आवको फागुनसम्ममा देशभर ५८ लाख ५० हजार ४ सय ३२ सवारीसाधन दर्ता भएका छन् ।  सबैभन्दा बढी ४७ लाख ४४ हजार ७२ मोटरसाइकल दर्ता भएका विभागको तथ्यांकमा उल्लेख छ । यसैगरी, दोस्रोमा तीन लाख ६६ हजार ७२३ साना गाडी कार, भ्यान र जीप दर्ता भएका छन् । तेस्रोमा एक लाख २९ हजार एक सय १९ क्रेन, डोजर, एस्काभेटर र ट्रक रहेको विभागले जनाएको छ ।  सबैभन्दा बढी सवारीसाधन बागमती प्रदेशमा दर्ता भएका छन् । बागमतीमा मात्रै १८ लाखभन्दा बढी साना ठूला गरी सबै सवारीसाधन दर्ता भएका हुन् ।  यस्तो छ गत आव २०४६/०४७ देखि चालु आवको फागुनसम्म गाडीको संख्या   कसले गर्छ जाँचबुझ ? यातायात व्यवस्था विभागका सूचना अधिकारी गणेश राईले सबै सवारीसाधनको जाँचबुझ ७ वटै प्रदेशका यातायात व्यवस्था कार्यालयले प्रत्येक ६/६ महिनाको अन्तरालमा गर्ने गरेको जानकारी दिए ।  उनका अनुसार गाडी दर्ता तथा नामसारी गर्ने बेला परीक्षण गरिन्छ । आयात भएका गाडीहरूको रोड टेस्ट गर्ने बेलामा सवारी परीक्षण कार्यालयहरूले गर्ने गरेको उनले बताए ।  उनले भने,  ‘आव २०७४/७५ सम्ममा देशभर दर्ता भएका गाडीहरूको चेकजाँच विभागले नै गर्ने गरेको थियो । तर पछिल्लो समय यो सबै अधिकार प्रदेशलाई दिएको छ । ती कार्यालयले नै प्रदेशभित्रका सवारीसाधनको दर्ता, नामसारी, नवीकरण, खारेजलगायत एक प्रदेशबाट अर्को प्रदेशमा सार्ने काम प्रदेशले नै गर्छ ।’ यसैगरी विदेशबाट आयात गर्ने अनुमति सिफारिस भने विभागबाटै हुने सूचना अधिकारी राईले जानकारी दिए । प्रदेशभित्र चल्ने सवारीसाधनको अनुगमन निरीक्षणलगायत प्रदेशले नै गर्ने उनको भनाइ छ । ट्राफिक व्यवस्थापनमा चुनौती  बागमतीमा दर्ता भएका १८ लाखभन्दा बढी सवारीसाधनमध्ये १२ लाख मात्रै उपत्यकाको सडकमा गुड्ने गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार उपत्यकामा सवारीसाधनको चाप बढेपछि ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ ।  जामले छोटो दूरी पार गर्न पनि उपत्यकामा घण्टौं लाग्ने गर्दछ । खासगरी कार्यालयको समयमा उचित ट्राफिक व्यवस्थापन हुन नसक्दा सर्वसाधारणले सास्ती खेप्दै आइरहेका छन् । प्रवक्ता गिरीका अनुसार ट्राफिक कार्यालयमा झण्डै दुई हजार प्रहरी कर्मचारी छन् । त्यसमध्ये उपत्यकाको सडकमा २४ सै घण्टा १ हजार ७ सय प्रहरी खटिएका उनको भनाइ छ । उनले भने, ‘उपत्यकाको ट्राफिक व्यवस्थापनमा निकै समस्या छ । बागमतीमा रहेका १८ हजार सवारीसाधनमध्ये ९० प्रतिशत  उपत्यकाको सडकमा गुड्ने गरेका छन् । दिन प्रतिदिन  सार्वजनिक गाडीभन्दा निजी गाडीको संख्या थपिँदै गएपछि सास्ती पनि बढ्दै गएको छ ।’ सबै चालकहरू अनुशासित नभएकोले पनि ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको उनले बताए ।  हाल कसरी हुँदैछ उपत्यकाको ट्रफिक व्यवस्थापन ? ट्राफिक प्रहरीकै कारण प्रयासमा ट्राफिक व्यवस्थापनलाई आवश्यक  सुधार गर्दै प्रविधिमैत्री बनाउँदै लगेको प्रवक्ता गिरी बताउँछन् ।  के छ कानुनी व्यवस्था ? सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को हालसम्म पटकपटक गरी १० पटक सम्म संशोधन भएको छ ।  सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले सवारी सम्बन्धी अपराधलाई परिच्छेद– १० को दफा १६० देखि १६४ सम्म व्यवस्था गरेको छ । यो ऐनसँगै यसको कार्यान्वयनका लागि बनेका ‘सडक यातायात नियमावली, २०५४’ पनि लागू छन् ।  यी कानुनी दस्तावेजहरूले सवारीसाधनको दर्ता, चालक अनुमतिपत्र, ट्राफिक नियम, सवारीसाधनको जाँचबुझ, दुर्घटना तथा जरिवाना जस्ता विषयहरूमा स्पष्ट व्यवस्था गरेका छन् । 

एमआरपी हटाउन तीव्र लबिङमा व्यवसायी, मन्त्रीलाई भेटेर बारम्बार दबाब

काठमाडौं । सरकारले बजारमा उपलब्ध वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) लागू गरेको दुई महिना नबित्दै व्यवसायीहरु एमआरपी हटाउने लबिङमा लागेकका छन् । विभिन्न वस्तुमा मूूल्यको लेबल नराख्ने व्यवसायीलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनसँगै धमाधम जरिवाना गर्न थालेपछि व्यवसायीहरु एमआरपी हटाउनुपर्ने लबिङ गरिरहेका हुन् ।  अहिले उद्योगी व्यवसायीले विज्ञप्ति नै जारी गरेर एपआरपी हटाउनुपर्ने माग राखिरहेका छन् भने उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीलाई भेटेर पनि तीब्र लबिङ गरिरहो छन् । हालसम्म नेपाल उद्योग वाणिज्य महासंघ, वीरगञ्ज उद्योग वाणिज्य संघ, मोरङ उद्योग व्यापार संघ र सिद्धार्थ उद्योग वाणिज्य संघले विज्ञप्ति नै निकालेर एमआरपीको विरोध गरेका छन् ।  एमआरपीको बाहनामा व्यवसायीलाई जरिवाना नगर्न उनीहरुको माग छ ।  एमआरपी समयअनुकूल नभएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल राष्ट्रिय व्यवसायी महासंघले पनि विरोध गरिरहेका छन् ।  नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल अहिले बजारमा एमआरपी लागू गर्नु उपयुक्त नभएको बताउँछन् ।  उनले देशको अर्थतन्त्रमा सुधार ल्याउन एमआरपी हटाउनुपर्ने माग राखे ।  विदेशबाट हरेक वस्तु आयात गर्दा त्यहाँका निर्यातकर्ताले एमआरपी लेख्न नमानेको पनि उनकको धारणा छ । निजी क्षेत्रले हरेक वस्तुमा एमआरपी राख्दा त्यो धेरै महँगो पर्ने उनी बताउँछन् । ‘एमआरपी सानो वस्तुमा पनि लगाउनुपर्ने अवस्था छ । जुन सम्भव नै छैन । यसले न हाम्रो कारोबारको मूल्यलाई मान्यता गरिरहेको छ , नत भन्सारको सान्र्दभिक मूल्यलाई,’ उनले भने ।  ‘भन्सारका दरहरू पनि परिवर्तन भइरहन्छन् । हामीसँग नीतिगत व्यवस्था पनि छैन । अर्को कुरा हामीसँग न पूर्वाधारको सुविधा छ । ठाउँअनुसार मूल्य फरक–फरक हुन्छ । अहिले उद्योगी व्यवसायीहरुलाई एमआरपी लागू गर्न धेरै कठिन छ,’ उनले थपे ।  अध्यक्ष अग्रवालले नेपालमै उत्पादित अतिआवश्यक वस्तुमा मात्रै एमआरपी लगाउन सक्ने जिकिर गरे । उनले यससम्बन्धि छुट्टै नियम बनाइनुपर्ने र त्यहीअनुसार यसलाई लागू गर्नुपर्नेमा जोड दिए ।  नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठ पनि एमआरपी तत्काल लागू गर्न सम्भव नभएको बताउँछन् । बजारमा सबै वस्तुमा एमआरपी लागू गर्न आवश्यक नरहेको उनको भनाइ छ । उनी भन्छन्, ‘बजारमा तत्कालै एमआरपी लागू गर्न सकिँदैन । एमआरपी उपयुक्त छैन । ’ बजारलाई लथालिङ्ग अवस्थामा छोडिँदैन- विभाग  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने एमआरपी हटाएर बजारलाई त्यत्तिकै नछोडिने अडान राखेको छ । विभागका महानिर्देशक कुमारप्रसाद दहाल एमआरपी मूल्य कुनै पनि हालतमा नहट्ने बताउँछन् । व्यवसायीहरूले यसको विकल्प खोजेर मात्रै विरोध गर्नुपर्ने उनको भनाइ छ । महानिर्देशक दाहालले भने, ‘हाल जसले एमआरपीबारे विरोध गरिरहेका छन्, ती सबै कालोबजारीका लागि मात्रै विरोध गरिरहेका हुन् । संस्थाहरूले विज्ञप्ति निकाल्दा सोच्नुपर्छ । बजारमा मूल्य लुकाएर आफ्नै मानोमानीमा वस्तु बेच्न पाइँदैन ।’ उनले स्वदेशी उत्पादनदेखि बाहिरबाट ल्याएका सबै लेबलिङ वस्तुमा एमआरपी आवश्यक रहेको बताए । ‘एमआरपी सबै वस्तुमा अनिवार्य छ । एमआरपी बिनाको बजारमा सबै ठगिएका छन् । लेबल नराखी यो र त्यो भन्न मिल्दैन । सबैमा उपभोक्ताले देखिने गरी एमआरपी मूल्य तोकिएकै हुनुपर्यो,’ उनले भने ।  महानिर्देशक दाहालले एमआरपी मूल्य लागू नगरेकै कारण देशभर कालोबजारी बढिरहेको दाबी समेत गरे । उनका अनुसार तराई क्षेत्रमा हाल ८० प्रतिशत कालोबजारी भइरहेको छ ।  उनले एमआरपी कुनै हालतमा हटाउन नहुने धारणा राखे । व्यवसायीहरूले अनुशासित ढंगले नियम पालना गर्नुकको विकलप नरहेको उनको भनाइ छ । उनका अनुसार एमआरपी हटाउन कानुन संशोधन हुनैपर्छ । एमआरपीबारे नेपालमा निश्चित कानुन नबनेका कारण व्यवसायीहरूले मनपरीतन्त्र चलाइरहेको नेपाल उपभोक्ता अधिकार मञ्चका महासचिव विष्णुप्रसाद घिमिरे बताउँछन् ।  उनका अनुसार व्यवसायीहरुले बाहिरबाट कम मूल्यमा वस्तुहरु आयात गर्ने र यता ल्याएर बढी मूल्यमा बेच्ने प्रवृत्ति रहेको छ । उनीे भन्छन्, ‘नेपालमा एमआरपीका नाममा ठगिने प्रवृत्ति बढी छ । हामीले वस्तुको खास मूल्य नै यकिन गर्न पाउँदैनौं । यस्तो हुनु भनेको उपभोक्ता सरासर ठगिनु हो ।’ नेपालमा एमआरपीबारे उचित कानुन नहँुदा समस्या उपभोक्ताले भोग्नु परिरहेको उनको भनाइ छ । विभागको एमआरपी मूल्य लागूगरेको कदम सही रहेको तर यसबारे ठोस कानुन बन्न जरुरी रहेको उनी बताउँछन् । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ ले स्वदेशमा उत्पादन भएका र विदेशबाट आयात भएका बजारमा पठाउने वस्तुको लेबलमा उत्पादकको नाम ठेगाना र दर्ता नम्बर, वस्तुको उत्पादन र उपभोग्य मिति र व्याच नम्बर, वस्तुमा लाग्ने सबै प्रकारका कर समावेश गरी हुन आउने एमआरपी उल्लेख गर्नुपर्ने व्यवस्था छ । यसैगरी, विद्युतीय सामग्री, हार्डवेयर, यान्त्रिक उपकरणलगायत ग्यारेन्टी वा वारेन्टी छ भने त्यसको अवधि, प्रजवलनशील, दुर्घटनाजन्य वा टुटफुट हुने भए सोको जानकारी, मानव स्वास्थ्यलाई हानी नोक्सानी पुर्याउने भए चेतनामूलक सन्देश, चित्र वा चिन्हको प्रयोग भएको विवरणसहित लेबल नेपाली र अंग्रेजी भाषामा अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने कानूनी व्यवस्था छ ।

कुलमानजी छँदा पनि बत्ति झ्याप्प-झ्याप्प जान्थ्यो, समस्या आजको होइन : हितेन्द्रदेव शाक्य

काठमाडौं । बिहीबार साँझ सामाजिक सञ्जालमा अन्धकार रहेका तस्विरले ढाकिए । झ्याप्प झ्याप्प बिजुली जाँदा प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई धेरैले सम्झे । कतिपयले अहिलेका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई सालो केटो भन्दै व्यंग्य गरे । लामो समयको अन्तरालपछि बिहीबार धेरै बेर बिजुली आपूर्ति ठप्प भएको भन्दै शाक्यप्रति आक्रोश पोखे ।  बिहीबार देशभर छिनछिनमै बिजुली आउने-जाने क्रम जारी रह्यो । जसले गर्दा उपत्यकासहित देशभर जनजीवन प्रभावित नै बन्न पुग्यो । बिजुली झ्याप्प झ्याप्प जाने-आउने क्रम बढेपछि नेतादेखि कार्यकर्ताले हैरानी भएको भन्दै सामाजिक सञ्चालमै आलोचना गरे भने सर्वसाधारणले आन्दोलनमै उत्रिने सम्मको चेतावनी दिए ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई इकिंत गर्दै वाहा ! सालो केटो कस्तो कमाल भन्दै व्यंग्य गरे थिए । व्यंग्य गर्दै उनले सालो केटोले ‘अघोषित लोडसेडिङ सुरु गर्यो ।’ भनेर लेखेका छन् ।   यस्तै, हाँस्य व्यङ्ग्य क्षेत्रका चर्चित कलाकार केदारप्रसाद घिमिरे (माग्नेबुढा) ले पनि बिजुली झ्याप्प झ्याप्प गएपछि सामाजिक सञ्जालमा ‘सालो त सालो कसको सालो ! सालो त्यो सालो आएसी अन्धकार र कालो !!’ भन्दै लेखेका छन् । घिमिरे टेलिसिरियल मेरी बास्सैबाट चर्चित छन् । यस्तै, ललितपुरका स्थानीय राजाराम तण्डुकारले सामाजिक सञ्जालमै लाइभ आएर ललितपुरको पाटनढोकामा  शुक्रबार ‘अघोषित लोडसेडिङ बन्द गर विद्युत महसुल वृद्धि गर्न पाइँदैन डेडिकेटेड ट्रंक लाइनको बक्यौता असुल गर ।’ भन्दै हितेन्द्रविरुद्ध आन्दोलन गर्नुपर्ने धारणा राखे ।  पछिल्लो केही सातादेखि साँझ होस् वा दिउँसो झ्याप्प‑झ्याप्प बिजुली जाने क्रम बढिरहेकै छ। उसो त जनमानसमा नेपाल विद्युत प्राधिकरणबाट घिसिङलाई निलम्बन गरेपछि लोडसेडिङ हुन्छ कि भन्ने त्रास छ । चौतर्फी आलोचना भएपछि हितेन्द्रले शुक्रबार स्युचाटारमा पत्रकार सम्मेलन गर्दै प्रणालीमा प्राविधिक समस्या आएकाले झ्यापझ्याप बत्ती गएको जानकारी दिए । झ्यापझ्याप बत्ती जानेबित्तिकै लोडसेडिङ हुन्छ भन्ने भ्रममा नपर्न उनले आग्रह गरे । उनका अनुसार पिक आवरमा भारतबाट विद्युत् आयात भइरहेको ४०० केभी ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमा आएको प्राविधिक समस्याका कारण केही समय विद्युत् आपूर्ति अवरुद्ध भएको हो ।  उनले भने, ‘यो समस्या आजको होइन । कुलमानजी छँदा पनि थियो । यसलाई धेरै ठुलो रुपमा लिएर हल्ला नफैलाऔं ।  यो लोडसेडिङ होइन । भारतको समस्या हो । म यसअघि २०७८ सालमा प्राधिकरणमा आउँदा पनि यस्तै प्रश्न उठेको थियो । त्योबेला पुस/माघको समयमा पटकपटक बिजुली झ्यापझ्याप गएको थियो ।’ उनले यो समस्यालाई अबको ६ महिनामै समाधान गर्ने दाबी गरे । हावाहुरी, वर्षा र चट्याङ पर्ने समय भएकाले कहिलेकाहीँ समस्या आउने भएका यसलाई ठूलो मुद्धा बनाउन नहुने उनको भनाइ छ । साथै, प्राधिकरणमा पैसा शून्य रहेकाले खडेरी लागेको उनले बताए ।  शाक्यले भने, ‘हाम्रो आन्तरिक उत्पादन कम छ । हाल १४ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ । पिकिङ समयमा करिब २ हजार मेगावाट माग छ । विद्युत् प्रसारण लाइनमा पिकिङ समयमा विद्युत् ट्रिप भएकाले प्रसारण लाइनको विद्युत् भारवहन गर्ने क्षमता सीमा नाघेको छ । अहिले हुने विद्युत् लोड क्षमता धान्न नसक्ने अवस्थामा छ । बालाजु र स्युचाटारको लोडले गर्दा चाँडै ओभर लोड हुने अवस्था छ ।’ विद्युत् प्रणालीको धेरै ठाउँमा समस्या रहेको र आफैंले यो समस्या एलडीसीमा बसेर हेरिरहेको उनले बताए । ‘भारतको प्रणालीबाट विद्युत् आएन भने हामीलाई ठुलो समस्या पर्छ । प्राधिकरणको प्रसारण लाइन र प्रणाली सुधार गरिरहेका छौं । सुधार ल्याउन १/२ वर्ष समय लाग्छ,’ उनले भने ।  

ओभरलोडको चपेटामा पूर्व-पश्चिम राजमार्ग, पुलहरू एकपछि अर्को भाँचिँदै

काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडकखण्डमा ओभरलोडका कारण एकपछि अर्को गरी पुलहरू भाँचिँदै गएका छन् ।  पछिल्लो पटक नवलपरासीको मध्यविन्दु नगरपालिका- २ चोरमारास्थित गिरुवारी खोलामा रहेको १८४ मिटर लामो पुल ओभरलोडका कारण भाँचिएको छ । सोमबार राति पश्चिमबाट पूर्वतर्फ आइरहेको यात्रुबाहक बस पुलको बीच भागमा बिग्रिएपछि अन्य सवारीसाधनहरू पुलमै रोकिए । पुलले अत्यधिक भार थेग्न नसक्दा लच्किएर डेढ फिट तल झरेको र फलामका डण्डीहरूमा क्षति पुगेको सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख नारायणप्रसाद लामिछानेले जानकारी दिए। जहाँ चार महिनाकै अन्तरालमा दुईवटा ठूला फलामे पुल भाँचिएका छन् । पुल भाँचिएपछि पुनः नेपाली सडक र पुलको गुणस्तरको विषयमा बहस हुन थालेको छ ।  प्रमुख लामिछानेका अनुसार पुल डेढ फिट तल झरेको छ भने पुलको माथिपट्टिको भागमा रहेका फलामका डण्डीहरूमा क्षति पुगेको छ ।  उनले भने, ‘पुलको बीच भागमा पश्चिमबाट पूर्वतर्फ आइरहेको यात्रु बोकेको बस बिग्रियो । त्यहीँ बसका कारण अरू गाडी पुलमा जम्मा भएर रोकिए, पुल साँघुरो भयो । ओभरलोड थेग्न सकेन अनि पुल भाँचिन पुग्यो ।’ उनले पुलको क्षतिबारे अध्ययन गर्न सडक विभागबाट टोली आएको जानकारी दिए । पुलको स्थलगत अध्ययन गर्न सडक विभागबाट सिनियर डिभिजनल इन्जिनियर विशाल भट्टराईको टोली चोरमारामा पुगेको छ ।  उनका अनुसार पुलको अध्ययन गरेर विभागको टोली काठमाडौं फर्किसकेको छ । पुलको अध्ययनपछि भाँचिएको पुल चाँडै निर्माण हुने उनी बताउँछन् । उनले भने, ‘पुलमा त्यति ठूलो क्षति भएको छैन । अब पुल छिट्टै मर्मतका लागि नापजाँचको काममा लागिरहेका छौं । काम आजैदेखि सुरु भएको छ ।’ यो पुल विसं २०३१ मा निर्माण गरिएको थियो ।  यस्ता खालका पुलमा एउटा मात्रै भागले काम गरेन भने पनि सबै फेल हुनसक्ने सडक विभागका पुल अध्ययन गर्न गएको सिनियर डिभिजनल इन्जिनियर विशाल भट्टराई बताउँछन् ।  डाइभर्सनमार्फत् गाडी वारपार पुल भाँचिएपछि सवारीसाधनहरूलाई चोरमार र अरुणखोलाबाट दायाँबायाँ डाइभर्सन गरेर आवागमन गराइरहेको जिल्ला प्रहरी कार्यालय, नवलपरासीका सूचना अधिकारी तथा प्रहरी डिएसपी मधु नेपालले जानकारी दिए । उनका अनुसार मंगलबार रातिदेखि पुल नजिकैबाट ड्राईभर्सन निर्माण गरेर सबै प्रकारका सवारीसाधनहरु वारपार भइरहेका छन् ।  पुलको काम नहुँदासम्मका लागि उक्त वैकल्पिक मार्गको प्रयोग हुने उनी बताउँछन् ।  मध्यविन्दु नगरपालिका–२, चोरमारा बजार तथा अरुणखोलाबाट बाटो प्रयोग गरी सिधै राजमार्गमा निस्कने गरी डाइभर्सन निर्माण गरिएको हो ।  ४० दिनमा विनयी खोला पुलमा गाडी गुड्ने यसअघि गत वर्षको पुस २६ गते पनि भारतीय हेभी ट्रक पास हुने क्रममा दुम्किबासस्थित विनयी खोलाको पुल पनि यसैगरी भाँचिएको थियो । उक्त पुलको निर्माण हाल भइरहेको पुल मर्मत आयोजनाका इन्जिनियर शिव खनालले बताए ।  उनका अनुसार पुलको लगभग ७० प्रतिशत काम सम्पन्न भइसेको छ । उनी भन्छन्, ‘पुलको काम सोचेअनुरूप भइरहेको छ । हाल ढलानको काम गरिरहेका छौं । अबको ४० दिनभित्र पुलमा गाडी गुड्छ ।’  उक्त भारतीय हेभी ट्रकमा सामान ल्याउने कम्पनी शिवम् सिमेन्टले सरकारलाई ८६ लाख रुपैयाँ क्षतिपूर्ति समेत तिरेको थियो । पुल भाँचिएपछि बनाइएको डाईभर्सन पनि दुई पटकसम्म खोलाले बगाएको थियो । बारबार पुलमा समस्या झन्डै तीन वर्षअघि पनि चोरमारा पुलमा प्वाल परेको थियो ।  यसैगरी, नवलपुरको गैंडाकोटको जयश्रीपुल, कावासोतीको लोकाहा पुल, देवचुली दलदलेको बौलाहा खोला ओभरलोडकै कारण भाँचिएका थिए । जीर्ण अवस्थामा रहेका यी पुल विगत १० वर्षदेखि मर्मत गर्दै सञ्चालनमा ल्याउने गरिएको छ । के भन्छन् पूर्वाधार विज्ञ ? पूर्वाधार विज्ञ रामप्रसाद घिमिरेले सुरुमा पुल निर्माण गर्दा सानो क्षमताका गाडी हेरर पुलको डिजाइन गरिएको बताउँछन् । यस्तो अवस्थामा हेभी गाडीमा ओभरलोड गरेर सामान ल्याउँदा पुल भत्किनु स्वाभाविकै मान्छन् उनी । यसैगरी, नदीखोलामा गिट्टी बालुवा निकाल्नाले तलको फाउन्डेसन (आधारभूत संरचना) समेत बिग्रने हुनाले यस्ता खालका समस्याहरू आउने गर्छन् । उनी ठूला ओभरलोड तथा हेभी गाडीहरू पुलमा चल्न रोक लगाइनुपर्ने बताउँछन् ।  उनले भने, ‘ठूला आभरलोड तथा हेभी गाडी पुलमा चलाउन दिनु हुँदैन । यदि चलाउनैपर्ने भएमा डाईभर्सन निर्माण गरेर चलाइनुपर्छ । यस्तो व्यवस्थापन गर्न सकिएन भने पुल पुनः निर्माणको विकल्प नै छैन ।’ उनका अनुसार खासगरी महेन्द्र राजमार्ग, त्रिभुवन राजपथ र अरनिको राजमार्गका ५० वर्ष नाघेका पुलहरूमा यी र यस्ता घटना नियमित हुने जोखिम रहेको बताउँछन्।  के छ कानुनी व्यवस्था ? कानुनी व्यवस्थाअनुसार भारवहन अनुगमन तथा नियन्त्रणका लागि सम्बन्धित निकायहरूले व्यक्ति, फर्म वा कम्पनीहरूले स्थापना गरेका तौलपुलको प्रयोग गर्न सक्ने उल्लेख गरिएको छ । भारवहन नियमनसम्बन्धी निर्देशिका २०७४ अनुसार मालवाहक सवारीसाधनको अगाडिको ‘एक्सल’ को अधिकतम’ एक्सल लोड’ छ मेट्रिक टनभन्दा बढी हुनु हुँदैन । उक्त नियमले पछिल्लो समय प्रतिएक्सल (चार पाङ्ग्रा) १०.२ मेट्रिक टन वजन राखेर सवारीसाधन सडकमा सञ्चालन गर्न सकिने जनाएको छ । सो निर्देशिकाको अनुसूचीमा पाँच एक्सल (१८ पाङ्ग्रा) भएका सवारीसाधनको भारवहन क्षमता ४० .२ मेट्रिक टन रहने उल्लेख गरिएको छ ।  सर्वाधिक वजन परिकल्पना गरिएको यस्तो सवारीसाधनमा अगाडिको एक्सलमा दुई पाङ्ग्रा, बीचको एक्सलमा चार पाङ्ग्रा र पछाडिको तीनवटा एक्सलमा १२ पाङ्ग्रा रहने उल्लेख छ । तर उक्त अनुसूचीको सवारीले बोक्न पाउने अधिकतम वजन सवारीको अगाडिको वा अन्य दुईपाङ्ग्रा जोड्ने एक्सल, एकल एक्सल, ट्यान्डम एक्सल र ट्राइडम एक्सलको योगफल हुने भनिएको छ। उक्त मापदण्ड अनुसार अधिकतम कुल वजन ५९.२ टन हुन आउँछ ।

ब्याट्रीमा कोशेढुङ्गा बन्दै एसटीसी इनर्जी : विदेश निर्यात सुरु, वार्षिक पाँच लाख युनिट बिक्री लक्ष्य

काठमाडौं । हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको एसटीसी इनर्जी इन्डस्ट्रिज प्रालिले स्थापना भएको छोटो समयमै उल्लेखनीय प्रगति गरेको छ । कम्पनीले हाल मासिक डेढ लाख युनिट ब्याट्री उत्पादन गर्दै आएको छ भने विदेश निर्यातसमेत सुरु गरिसकेको छ । विसं २०७९ सालमा स्थापना भएको कम्पनीले चीन, भारत र जापानबाट ल्याइएका अत्याधुनिक मेसिन जडान गरेर ब्याट्री उत्पादन गर्दै आएको छ । उद्योगले आगामी वर्षभित्र ४ देखि ५ लाख युनिट वार्षिक बिक्री गर्ने लक्ष्य लिएको छ । ५० करोडभन्दा बढीको लगानी, २१ रोपनी क्षेत्रफलमा फैलिएको उद्योग कम्पनीका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेती नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का महासचिव समेत हुन् । उनका अनुसार हालसम्म उद्योगमा ५० करोड रुपैयाँभन्दा बढीको लगानी भइसकेको छ । उद्योगले २१ रोपनी जमिन ओगटेर ब्याट्री उत्पादन गरिरहेको छ । उत्पादनमा विविधता र प्रविधिमा नवीनता एसटीसीले दुईपांग्रे सवारीसाधन, ई-रिक्सा, अटोमोटिभ तथा इन्भर्टरका लागि आवश्यक सबै प्रकारका ब्याट्री उत्पादन गर्छ । उद्योगमा भीआरएलए प्रविधि (भीआरएलए) चीनबाट आयात गरिएको छ, जसले विश्वस्तरीय लिड एसिड ब्याट्रीसँग प्रतिस्पर्धा गर्न सक्ने दाबी गरिएको छ । उद्योगले ब्याट्री प्याक गर्ने कन्टेनरदेखि लिएर उत्पादन मेसिनसम्म सबै सामग्री विदेशबाटै ल्याएको छ । उप्रेतीका अनुसार नेपालमै उत्पादन गर्नुभन्दा आयात गर्दा अझै लागत र गुणस्तर दुवैमा लाभ हुने भएकाले यस्तो नीति अपनाइएको हो । गुणस्तरमा सम्झौता छैन, विदेशी बजारको ध्यान आकर्षित एसटीसीले उत्पादन गर्ने ब्याट्री हाल देशभर वितरणमा छन् भने विदेशमा पनि निर्यात सुरु भइसकेको छ । कम्पनीका क्वालिटी कन्ट्रोल तथा उत्पादन विभाग प्रमुख सुन्दर मूर्तीका अनुसार, ब्याट्रीको गुणस्तरमा कम्पनीले कुनै सम्झौता नगरेको छ । मूर्ती अघिल्लो कार्यकालमा भारतका प्रतिष्ठित ब्राण्डहरू एक्साइड र एम्रोकमा कार्यरत थिए। उनी भन्छन्, 'एसटीसीका ब्याट्रीहरू -१८ डिग्री सेल्सियसदेखि ६५ डिग्रीसम्मको तापक्रममा प्रभावकारी प्रदर्शन गर्न सक्षम छन् । उत्पादनको गुणस्तर परीक्षण पनि पूर्णतः अटोनोमस प्रविधिबाट गरिन्छ, जसले दोषपूर्ण ब्याट्री बजारमा पुग्ने सम्भावना अत्यन्तै न्यून बनाउँछ ।’ अन्तर्राष्ट्रिय मापदण्डको प्रमाणीकरण उद्योगको ब्याट्रीले भारतको बीआईएस र एआईएआई जस्ता मापदण्डहरू पूरा गरिसकेको छ । अब चाँडै नेपालको एनएस मापदण्ड प्रमाणपत्र लिने तयारी भइरहेको जनाइएको छ । वारेन्टी र ग्राहक सेवा एसटीसीले ग्राहकलाई उच्च गुणस्तर र सहज मूल्यमा उत्पादन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । कम्पनीका अनुसार दुईपांग्रे सवारीका लागि ३६ महिना, इन्भर्टर ब्याट्रीमा ६० महिना, र ई-रिक्साका लागि १२ महिनाको वारेन्टी दिइएको छ । यस अवधिमा समस्या आएमा १०० प्रतिशत ब्याट्री रिप्लेसमेन्टको सुविधा समेत उपलब्ध गराइएको छ । उत्पादन क्षमतामा विस्तार कम्पनीले अहिले मासिक २५ हजार दुईपांग्रे सवारी ब्याट्री, २० हजार अटोमोटिभ र अन्य विभिन्न प्रकारका ब्याट्री उत्पादन गर्दै आएको छ । उप्रेतीका अनुसार माग बढेसँगै कम्पनीले उत्पादन विस्तार गरिरहेको छ । उद्योगको कुल वार्षिक उत्पादन क्षमता १८ लाख युनिट रहेको छ। सुरुवातमा कठिनाइ, अब आत्मनिर्भरतातर्फ उप्रेतीका अनुसार उद्योग सञ्चालनको सुरुवाती चरण निकै कठिन रह्यो । 'दक्ष जनशक्तिको अभाव र प्रविधिको सीमित प्रयोगले समस्या आयो भने ब्याट्रीमा कमजोरी देखिएपछि घाटा बेहोरेर रिप्लेस गर्नुपर्‍यो । तर अहिले औसत २.५ प्रतिशत मात्र प्राविधिक समस्या देखिन्छ, जुन अन्य उद्योगको तुलनामा न्यून हो,’ उनले भने । भारतबाट आएका विशेषज्ञहरूले नेपाली कर्मचारीलाई तालिम दिँदै आएको र हाल ७६ जनाको जनशक्ति रहेको उद्योगले जनाएको छ । त्यसमा १४ जना इन्जिनियर छन् भने अन्य आईटी, व्यवस्थापन र प्रशासनमा छन् । वर्षायाममा थप १५ जना कर्मचारी भर्ना गर्ने योजना छ । एसिड आयातमा चुनौती एसटीसीले एसिड आयात प्रक्रिया जटिल भएको गुनासो गरेको छ। गृह मन्त्रालयको अनुमति अनिवार्य हुने, साथै उद्योग विभाग लगायत विभिन्न सरकारी निकायबीच समन्वयको अभावले प्रक्रिया झन् झन्झटिलो भएको उप्रेतीको भनाइ छ । उनका अनुसार नेपाली बजारमा अझै पनि भारतीय र चिनियाँ ब्याट्रीको वर्चस्व छ । तर एसटीसीले तिनै गुणस्तरका ब्याट्री ४० प्रतिशतसम्म सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको छ ।