विकासन्युज

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल सेवा दिन साझेदारी

काठमाडौं । नेपालको निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल र बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कबीच ’कनेक्टेड भेइकल’ सेवा उपलब्ध गराउने सम्झौता भएको छ ।  सोमबार एक कार्यक्रमका बीच यी दुई कम्पनीले साझेदारी गरेका हुन् । यस सहकार्यसँगै अब नेपालमा बिक्री हुने प्रत्येक नयाँ बीवाईडी सवारी साधनमा एनसेलको इन्टरनेट अफ थिङ्स सिम जडान गरिनेछ ।  यस आईओटी प्रविधिको प्रयोगले चालक तथा यात्रुहरूलाई कुनै बाह्य उपकरण, वाई-फाई हटस्पट वा मोबाइल डेटामा निर्भर नभई गाडीकै सिस्टमबाट सीधा इन-भेइकल इन्टरनेट कनेक्टिभिटी प्राप्त हुनेछ । यसबाट बीवाईडी एप इकोसिस्टम, युट्युब, स्पोटिफाइ, काराओके जस्ता इन्फोटेनमेन्ट सेवा र भरपर्दो नेभिगेसन सहजै प्रयोग गर्न सकिनेछ । सम्झौता हस्ताक्षर कार्यक्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले यो साझेदारीले सवारी साधनमा स्मार्ट कनेक्टिभिटी, सुरक्षा र इन्टेलिजेन्ट मोबिलिटी थप्दै ग्राहकलाई डिजिटल अनुभव प्रदान गर्ने बताए ।  त्यसैगरी, साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले भरपर्दो इन–भेइकल कनेक्टिभिटीले ग्राहकहरूलाई बीवाईडीका आधुनिक सुविधाहरूको पूर्ण उपभोग गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।  यो सुविधा नयाँ गाडी खरिदकर्ताका लागि मात्र नभई पुराना बीवाईडी धनीहरूका लागि पनि उपलब्ध हुनेछ । पुराना ग्राहकहरूले देशभरका १३ आधिकारिक बीवाईडी सर्भिस सेन्टरमा गएर एनसेलको आईओटी सिम जडान गरी यो सेवा लिन सक्नेछन् ।  यद्यपि, उपलब्ध सुविधाहरू, डेटा प्लान, भ्यालिडिटी र शुल्क विवरण सवारी साधनको मोडल र सेवा प्याकेज अनुसार फरक पर्न सक्नेछ ।

मुख सुक्ने समस्या छ ? थाइराइडसँग हुनसक्छ यस्तो सम्बन्ध

काठमाडौं । मुख सुक्ने समस्यालाई धेरैले सामान्य रूपमा लिने गर्छन् । तर, पटक–पटक मुख सुक्ने र र्‍याल कम बन्ने समस्या छ भने त्यसलाई बेवास्ता गर्नु हुँदैन । यस्तो समस्या थाइराइडसँग पनि सम्बन्धित हुनसक्ने विभिन्न अध्ययनले देखाएका छन् । थाइराइड हर्मोनको स्तर कम वा बढी हुँदा मुखमा ‍र्‍याल उत्पादन कम हुन सक्ने बताइएको छ । यसका कारण मुखमा सुख्खापन महसुस हुने अवस्थालाई चिकित्सकीय भाषामा जेरोस्टोमिया (ड्राई माउथ) भनिन्छ । र्‍यालले मुखलाई स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका खेल्छ । यसले खाना चपाउन र निल्न सहज बनाउनुका साथै खानामा रहेको स्टार्च पचाउन पनि सहयोग गर्छ । ‍र्‍यालमा पाइने क्याल्सियम र फस्फेटले दाँतलाई बलियो बनाउन तथा दाँतसम्बन्धी समस्याबाट जोगाउन सहयोग गर्ने जनाइन्छ । थाइराइड ग्रन्थीले शरीरको मेटाबोलिजम नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्छ ।  थाइराइडबाट उत्पादन हुने टी–३ र टी–४ हर्मोनले र्‍यालग्रन्थीको कार्यमा पनि प्रभाव पार्न सक्छ । त्यसैले थाइराइड हर्मोनको स्तरमा असन्तुलन हुँदा ‍र्यालको उत्पादन प्रभावित हुन सक्ने बताइएको छ ।  थाइराइड ग्रन्थीले शरीरलाई आवश्यक मात्रामा हर्मोन उत्पादन गर्न नसक्ने अवस्थालाई हाइपोथाइरायडिज्म भनिन्छ ।  यस्तो अवस्थामा शरीरका कोषिकामा ऊर्जा उत्पादन कम हुने र त्यसको प्रभाव र्‍यालग्रन्थीमा पनि पर्न सक्ने बताइएको छ । यसले ‍र्‍याल​​​​​​​को मात्रा घटाएर मुख सुक्ने समस्या निम्त्याउन सक्छ ।  हाइपोथाइरायडिज्मको सामान्य कारणमध्ये हाशिमोटो थाइरायडाइटिस पनि एक हो । यो एक प्रकारको अटोइम्युन अवस्था हो, जसमा शरीरको प्रतिरक्षा प्रणालीले थाइराइड ग्रन्थिमाथि नै असर गर्छ । यस्तो अवस्थामा पनि मुख सुक्ने समस्या देखिन सक्ने बताइएको छ ।  थाइराइड अत्यधिक सक्रिय हुँदा अर्थात् हाइपरथाइरायडिज्मको अवस्थामा पनि र्‍यालको उत्पादन घट्न सक्छ । मेटाबोलिक दर बढ्दा शरीरमा तरल पदार्थ छिटो कम हुन सक्ने भएकाले मुख सुक्ने समस्या देखिन सक्छ । यसका साथै हाइपरथाइरायडिज्ममा हुने तनाव र चिन्ताले सिम्प्याथेटिक नर्भस सिस्टम सक्रिय गराउन सक्छ । यसले पनि ‍र्‍याल उत्पादनमा कमी ल्याउन सक्ने बताइएको छ । थाइराइड क्यान्सरको उपचारमा रेडियोएक्टिभ आयोडिन प्रयोग गरिने अवस्थामा ‍र्‍यालग्रन्थीमा असर पर्न सक्छ । यसका कारण मुख सुक्ने तथा खानाको स्वादमा परिवर्तन हुने समस्या देखिन सक्ने बताइएको छ ।  थाइराइडसँग सम्बन्धित ड्राई माउथको समस्या कम गर्न केही उपाय अपनाउन सकिन्छ । धेरै नुनिलो खाना तथा ड्राइ मिटबाट बच्ने । तम्बाकु, मदिरा, क्याफिन तथा कार्बोनेटेड पेय पदार्थ कम गर्ने । पालुंगो, हरियो सागसब्जी, माछालगायत पोषक तथा आइरनयुक्त खानेकुरा समावेश गर्ने । नियमित रूपमा पानी पिउने । मुख तथा दाँतको नियमित सरसफाइ गर्ने । र्‍याल उत्पादन बढाउन सुगर–फ्री क्यान्डी प्रयोग गर्न सकिने । राति सुत्दा कोठामा ह्युमिडिफायर प्रयोग गर्न सकिने ।   ड्राई माउथको कारण थाइराइडसँग सम्बन्धित भएमा चिकित्सकको सल्लाहअनुसार थाइराइडको औषधि नियमित सेवन गर्नु महत्त्वपूर्ण हुन्छ । आवश्यकताअनुसार चिकित्सकले ‍र्‍याल उत्पादन बढाउने औषधि वा सुगर–फ्री क्यान्डी प्रयोग गर्न सुझाव दिन सक्छन् ।  केही अवस्थामा र्‍याल उत्पादन बढाउन विद्युतीय स्टिमुलेसन वा अन्य उपचार विधि प्रयोग गर्न सकिने स्रोतमा उल्लेख छ । साथै दाँत तथा मुखको स्वास्थ्यमा समस्या आउन नदिन समय–समयमा दन्त परीक्षण गराउनु आवश्यक हुन्छ । मुख लामो समयसम्म सुकिरहने, ‍र्‍याल निकै कम बन्ने वा समस्या निरन्तर बढ्दै गएमा आफै उपचार नगरी चिकित्सकसँग परामर्श गर्नु उचित हुन्छ ।

कर्मचारीको तलबभत्तामा जीवन बीमा कम्पनीले गरे ७ अर्ब खर्च

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा जीवन बीमा कम्पनीहरूले कर्मचारीको तलबभत्तामा ७ अर्बभन्दा बढी रकम खर्चिएका छन् ।  बीमा कम्पनीहरूले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिकसम्मको वित्तीय विवरणअनुसार १४ जीवन बीमा कम्पनीले १ वर्षमा ७ अर्ब २९ लाख रुपैयाँ खर्च गरेका हुन् । अघिल्लो वर्ष २०८१/८२ मा कम्पनीहरूले कर्मचारीहरूको तलबभत्तामा ६ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ खर्च गरेका थिए । अघिल्लो आवको तुलनामा तलबभत्तामा गर्ने खर्च ५.०५ प्रतिशतले बढेको हो । एक वर्षको अवधिमा कर्मचारीको तलबभत्तामा  हिमालयन लाइफले सबैभन्दा धेरै खर्च गरेको छ । कम्पनीले कर्मचारीको तलबभत्तामा ९० करोड २७ लाख रुपैयाँ खर्च गरेको छ ।  अघिल्लो आवमा कम्पनीले ८५ करोड ९४ लाख रुपैयाँ खर्च गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको कर्मचारीको तलबभत्तामा जाने खर्च ५.०५ प्रतिशतले बढेको छ । कर्मचारीको तलबभत्तामा धेरै खर्च गर्ने दोस्रो कम्पनीमा नेपाल लाइफ रहेको छ । कम्पनीले एक वर्षमा ८३ करोड ९८ लाख रुपैयाँ खर्च गरेको छ ।  अघिल्लो आवमा कम्पनीले सो शीर्षकमा ८८ करोड ७४ लाख रुपैयाँ खर्च गरेको थियो । समीक्षा वर्षमा कर्मचारीको तलबभत्तामा जाने खर्च ५.३६ प्रतिशतले घटेको छ । त्यसैगरी, तेस्रोमा सूर्यज्योति लाइफ रहेको छ । कम्पनीले कर्मचारीको तलबभत्तामा ६८ करोड ५५ लाख रुपैयाँ खर्च गरेको छ ।  अघिल्लो वर्ष कम्पनीले ६५ करोड ७१ लाख रुपैयाँ खर्च गरेको थियो । अघिल्लो आवको तुलनामा कर्मचारीको तलबभत्तामा जाने खर्च ४.३३ प्रतिशतले बढेको हो । एक वर्षमा कर्मचारीको तलबभत्तामा नेशनल लाइफले ५४ करोड ६३ लाख रुपैयाँ, सानिमा रिलायन्सले ४९ करोड ४९ लाख रुपैयाँ, रिलायबल नेपालले ४७ अर्ब १३ करोड रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेशनले ४७ करोड २ लाख रुपैयाँ खर्च गरेका छन् । त्यसैगरी, समीक्षा वर्षमा आईएमई लाइफले ४५ करोड ६५ लाख रुपैयाँ, प्रभु महालक्ष्मीले ४४ करोड ५ लाख रुपैयाँ, सन नेपाल लाइफले ३९ करोड ४६ लाख रुपैयाँ, मेट लाइफले ३८ करोड ४२ लाख रुपैयाँ, एशिएन लाइफले ३७ करोड ८९ लाख रुपैयाँ, सिटिजन्स लाइफले ३६ करोड ९८ लाख रुपैयाँ र राष्टिय जीवन बीमा कम्पनीले कर्मचारीको तलबभत्तामा १६ अर्ब ६९ करोड रुपैयाँ खर्च गरेका छन् ।  समीक्षा वर्षमा पाँच कम्पनीले कर्मचारीको तलबभत्तामा खर्च गर्ने रकम कटौती गरेको देखिएको छ । 

नाइमा मोबिलिटी एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिङ

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा विद्युतीय सवारीसाधन (ईभी) ब्रान्ड लिपमोटरले ३०० भन्दा बढी गाडीको बुकिङ हासिल गरेको छ । नेपालमा लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले एक्स्पोमा ३०० भन्दा बढी गाडीको बुकिङ हासिल गरेको दावी गरेको हो । भृकुटीमण्डपमा आयोजित ६ दिने एक्स्पोमा हालै सार्वजनिक गरिएको लिपमोटर बी ०३ एक्स विद्युतीय एसयूभीप्रति आकर्षण बढी देखिएको कम्पनीले जनाएको छ । बी ०३ एक्समा १४५ किलोवाट क्षमताको मोटर, ५३ किलोवाट–आवरको ब्याट्री र एकपटकको चार्जमा ५०५ किलोमिटर (सीएलटीसी) सम्मको यात्रा क्षमता रहेको छ ।  त्यस्तै, ५१० लिटरको ठूलो सामान राख्ने स्थान र लेभल–२ उन्नत चालक सहायता सुरक्षा प्रविधि (एडीएएस) समेत यसमा उपलब्ध छ । यी विशेषताका कारण बी ०३ एक्स एक्स्पोका प्रमुख आकर्षणमध्ये एक बनेको कम्पनीको भनाइ छ । त्यसैगरी, लिपमोटर बी १० ले पनि एक्स्पोमा उल्लेख्य प्रतिक्रिया पाएको सांग्रिला मोटर्सले जनाएको छ । हालै गरिएको रणनीतिक मूल्य समायोजन तथा एक्स्पो विशेष अफरका कारण बी १० प्रति ग्राहकको चासो थप बढेको कम्पनीले जनाएको छ ।  संशोधित मूल्यले प्रिमियम विद्युतीय सवारीको क्षेत्रमा बी १० लाई आकर्षक मूल्य–प्रस्तावका रूपमा स्थापित गरेको र कुल बुकिङमा यसको महत्त्वपूर्ण हिस्सा रहेको कम्पनीको दाबी छ । बी ०३ एक्स र बी १० दुवै मोडलप्रतिको उच्च आकर्षणका कारण लिपमोटरको स्टल एक्स्पो अवधिभर व्यस्त रहने स्टलमध्ये एक बनेको थियो।  एक्स्पोमा प्राप्त उत्साहपछि सांग्रिला मोटर्सले अब बुकिङ भएका सवारीको छिटो डेलिभरी र नेपालभर बिक्री तथा सेवा सञ्जाल विस्तारमा ध्यान केन्द्रित गर्ने जनाएको छ । सांग्रिला मोटर्सले एक्स्पोमा सहभागी आगन्तुक तथा ग्राहकलाई विश्वास र समर्थनका लागि धन्यवाद दिएको छ । लिपमोटरलाई विश्वव्यापी रूपमा स्टेलान्टिस समूहको समर्थन रहेको छ । स्टेलान्टिसले मासेराती, अल्फा रोमियो र प्युजोसलगायत १४ प्रमुख अटोमोबाइल ब्रान्ड सञ्चालन गर्दै आइरहेको छ ।  कम्पनीका अनुसार लिपमोटर चीनको प्रमुख नयाँ ऊर्जा सवारीसाधन स्टार्टअपमध्ये एक हो र यसले विश्वभर १६ लाखभन्दा बढी सवारी बिक्री गरिसकेको छ ।  जुलाई महिनामा मात्रै १ लाखभन्दा बढी सवारी बिक्री भएको कम्पनीको दाबी छ । लिपमोटरका विश्वभर ४० भन्दा बढी देशमा १ हजार ७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्र रहेका छन् । 

नाडा अटो शो मौलिक हो, अरू त कपी मात्र हुन् : आयोजक

काठमाडौं । ५० वर्षको गौरवमय इतिहास बोकेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो १८औं संस्करणको नाडा अटो शोको तयारी पूरा भएको जनाएको छ ।  आयोजकले नाडा अटो शोको मौलिकता, निरन्तरता र अटोमोबाइल क्षेत्रको आर्थिक योगदानलाई जोड दिँदै पछिल्लो समय भएका अन्य अटोसम्बन्धी प्रदर्शनीसँग आफ्नो तुलना गर्न नमिल्ने दाबी गरेको छ । नाडाका प्रतिनिधिले नाडा अटो शोलाई मौलिक तथा आधिकारिक कार्यक्रमको संज्ञा दिँदै अन्य प्रदर्शनीहरू नाडा अटो शोको अवधारणाबाट प्रभावित भएको टिप्पणी गरेका छन् । ‘नाडाको आफ्नै ५० वर्षको गौरवमय इतिहास छ र यो १८औं संस्करण हो । अरूले बीचमा इभेन्ट गर्दैमा हामी आफ्नो ‘फ्लो’ रोक्दैनौं,’ नाडाका प्रतिनिधिले भने, ‘नाडा अटो शो जेन्युइन हो, अरू त यसैका कपी मात्र हुन् ।’ नाडाका अनुसार देशभर २ हजार ८ सयभन्दा बढी सदस्य आबद्ध रहेको संस्था सातै प्रदेशमा फैलिएको छ । त्यसैले नाडा अटो शो केवल व्यापारिक प्रदर्शनी नभई नेपालको अटोमोबाइल क्षेत्रको प्रतिनिधित्व गर्ने प्रमुख कार्यक्रम भएको आयोजकको दाबी छ । आयोजकले अटोमोबाइल क्षेत्रलाई नेपालको राजस्व संकलनको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेको छ ।नाडाका अनुसार अटोमोबाइल क्षेत्रले भन्सार विन्दुमा करिब १८ प्रतिशत र समग्र सरकारी राजस्वमा २२ देखि २५ प्रतिशतसम्म योगदान पु‍र्याउँदै आएको छ । यो क्षेत्रले करिब १ लाख जनालाई प्रत्यक्ष र करिब १० लाख जनालाई अप्रत्यक्ष रोजगारी दिएको तथ्याङ्क पनि आयोजकले प्रस्तुत गरेको छ । भृकुटीमण्डपको सीमित क्षेत्रफलमा प्रदर्शनी आयोजना गर्नुपर्ने भए पनि यसपटक आगन्तुकलाई सहज हुने गरी नयाँ प्रविधिको प्रयोग गरिएको नाडाले जनाएको छ । आगन्तुकले कुन ब्रान्डको स्टल कहाँ छ भन्ने जानकारी नाडाको वेबसाइट, क्यूआर कोड र ह्वाट्सएपमार्फत सहजै प्राप्त गर्न सक्नेछन् ।  पार्किङको समस्या कम गर्न नेपाल पुलिस क्लब तथा आसपासका क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । यस वर्षको नाडा अटो शोको मुख्य नारा ‘उद्योगदेखि रोजगारीसम्म’ तय गरिएको छ । नेपालमै सवारी साधनको उत्पादन तथा एसेम्बलिङलाई प्रोत्साहन गर्दै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नु नाडाको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ । नाडाले अटो शोमा प्रदर्शनीसँगै अटोमोबाइल क्षेत्रसम्बन्धी ज्ञान र सीप विस्तारमा पनि जोड दिँदै आएको जनाएको छ । संस्थाले सातै प्रदेशमा कर, भन्सार तथा विद्युतीय सवारीसाधन (ईभी) लगायतका विषयमा प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । दशैंको पूर्वसन्ध्यामा आयोजना हुन लागेको नाडा अटो शोले अटोमोबाइल क्षेत्रको व्यापार, प्रविधि र सम्भावनालाई एकै ठाउँमा प्रस्तुत गर्ने आयोजकको अपेक्षा छ ।

कांग्रेसले फेर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका, वडा अधिवेशन धकेलियो

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका संशोधन गरेको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय समिति बैठकले भदौ २ गतेदेखि सुरु गर्ने भनिएको वडा अधिवेशनलाई केही समय पछाडि सार्ने निर्णय गरेको हो । कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार पार्टीभित्र असन्तुष्ट रहेका पक्षलाई समेत सहमतिमा ल्याएर महाधिवेशन अघि बढाउने प्रयासस्वरूप वडा अधिवेशनको मिति सारिएको हो । महामन्त्री पौडेलले वडा अधिवेशन सुरु भइसकेपछि असन्तुष्ट पक्षसँग सहमति कायम गर्न कठिन हुने भएकाले थप छलफल र सहमतिका लागि समय लिन खोजिएको बताए । उनले भने, ‘वडा अधिवेशन सुरु गरेपछि उहाँहरूका लागि ढोका बन्द हुन्छ । त्यसैले अझै पनि उहाँहरू आउन सक्नुहुन्छ कि भनेर गरेको प्रयास हो। हामी सहमतिका लागि लचिलो भएका छौँ ।’ बैठकले महाधिवेशनसँग सम्बन्धित अन्य कार्यक्रमको कार्यतालिकामा समेत आवश्यक हेरफेर गर्ने तयारी गरेको छ । यद्यपि कांग्रेसले १५औँ महाधिवेशनको मुख्य मिति भने परिवर्तन नगर्ने जनाएको छ । महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने पूर्वनिर्धारित निर्णय यथावत् राखिएको महामन्त्री पौडेलले बताए । उनका अनुसार महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टीभित्र कुनै अन्योल नरहेको र तोकिएको समयमै प्रक्रिया अघि बढाइनेछ । संविधान र पार्टी विधानअनुसार मंसिरभित्र महाधिवेशन सम्पन्न गर्नु कांग्रेसका लागि बाध्यकारी रहेको पनि उनले स्पष्ट पारे । पछिल्लो समय कांग्रेसभित्र महाधिवेशनको तयारी, प्रतिनिधि छनोट र संगठनात्मक गतिविधिलाई लिएर विभिन्न पक्षबीच मतभेद देखिँदै आएको छ । यही पृष्ठभूमिमा नेतृत्वले असन्तुष्ट पक्षलाई समेत समेटेर महाधिवेशनको वातावरण बनाउने रणनीति लिएको हो । वडा अधिवेशन नै महाधिवेशनको प्रारम्भिक संगठनात्मक प्रक्रिया भएकाले यसको मिति पछाडि धकेलिनुलाई कांग्रेसभित्र सहमतिको प्रयासका रूपमा हेरिएको छ । अब संशोधित कार्यतालिकाअनुसार तल्लो तहदेखि अधिवेशन प्रक्रिया अघि बढाउने तयारी कांग्रेसको छ ।

औरही नगरपालिकामा चापाकल खरिदमा अनियमितता, ११ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा ह्याण्डपम्प/ट्युबवेल (चापाकल) खरिदमा अनियमितता भएको आरोपमा ११ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । अख्तियारका अनुसार औरही नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा चापाकल खरिद गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत प्रक्रिया अपनाएको पाइएको छ । लागत अनुमान तयार गर्दा मालसामानको आइटम दररेटमा १५ प्रतिशत ‘कन्ट्र्याक्टर ओभरहेड’ थप गरी स्वीकृत गराएको तथा एउटै वस्तु तथा सेवाको खरिदलाई पटक–पटक टुक्र्याएर खरिद प्रक्रिया प्रतिस्पर्धाविहीन बनाइएको आयोगको दाबी छ । आयोगका अनुसार आपूर्तिकर्तासँगको मिलेमतोमा बोलपत्रमार्फत खरिद गर्नुपर्ने कार्य सिलबन्दी दरभाउपत्र र सोझै खरिद गरिएको थियो । खरिद गरिएका चापाकललगायतका सामानको दोहोरो भरपाई तयार गरिएको र वितरण गरिएको भनिएका सामान बुझिलिएको प्रमाणसमेत विश्वसनीय रूपमा पेस गर्न नसकिएको अख्तियारले जनाएको छ । यस प्रकरणमा औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र मैथलीविरुद्ध ३६ लाख १३ हजार ३१ रुपैयाँ बिगो कायम गरिएको छ । त्यस्तै, तत्कालीन इन्जिनियर सन्तोष कुमार यादव र तत्कालीन सब–इन्जिनियर बिपिन कुमार मण्डलविरुद्ध जनही २० लाख ४९ हजार ४५० रुपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरिएको छ । तत्कालीन लेखापाल बिजय कुमार यादव र योजना शाखा प्रमुख गंगाराम यादवविरुद्ध जनही ३६ लाख १३ हजार ३१ रुपैयाँ तथा तत्कालीन जिन्सी शाखा प्रमुख शिव शंकर यादवविरुद्ध १५ लाख ६३ हजार ५८१ रुपैयाँ बिगो कायम गरिएको छ । त्यस्तै, आपूर्तिकर्ता लिला आयरन स्टोर्स र सञ्चालक बिनय कुमार यादवविरुद्ध ५ लाख ३४ हजार ८७६ रुपैयाँ ८१ पैसा, डि.एम. जेनरल अर्डर सप्लायर्स र सञ्चालक दुधनाथ कुमरविरुद्ध ११ लाख ८९ हजार ४७१ रुपैयाँ ३६ पैसा बिगो कायम गरिएको छ । श्री राम इन्टरप्राइजेज र सञ्चालक अमरनाथ कुमरविरुद्ध २ लाख २० हजार १९७ रुपैयाँ ३६ पैसा तथा जैसवाल निर्माण सेवा (सिर्जना ट्रेडर्स) र सञ्चालक रामबाबु चौधरीविरुद्ध ७ लाख ९ हजार ६२३ रुपैयाँ ९२ पैसा बिगो कायम गरिएको आयोगले जनाएको छ । यसैगरी क्वालिटी सोलुसन कम्पनी प्रालि र प्रबन्ध निर्देशक मनोज कुमार यादवविरुद्ध ७ लाख ११ हजार ९०० रुपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरिएको छ । आपूर्तिकर्ताहरूलाई मुख्य कसुरदारहरूले गरेको भ्रष्टाचारजन्य कार्यमा मतियारको भूमिका निर्वाह गरेको आरोप लगाइएको छ । अख्तियारले प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ तथा दफा २२ बमोजिमको कसुरमा कैद, बिगोबमोजिम जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरेको जनाएको छ ।  

माछापुच्छ्रे बैंकको नायब सीईओको जिम्मेवारी कल्याण विक्रम पाँडेलाई

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा कल्याण विक्रम पाँडे नियुक्त भएका छन् । उनले गत साउन २९ गतेदेखि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन् । बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव संगालेका पाँडेले यसअघि ग्लोबल आईएमई बैंक, साविकको जनता बैंक, लक्ष्मी बैंक र कुमारी बैंकलगायत विभिन्न बैंकमा महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् । पाँडेले बंगलोर विश्वविद्यालयबाट वित्त विषयमा एमबीए प्रथम श्रेणीमा उत्तीर्ण गरेका छन् । साथै, अलिगढ मुस्लिम विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा अनर्ससहित बीटेक उपाधि हासिल गरेका छन् । उनलाई योजना तथा कार्यान्वयन, कर्पोरेट तथा पूर्वाधार, एसएमई तथा रिटेल बैंकिङ, व्यवसाय रूपान्तरण तथा डिजिटलाइजेसन, जोखिम व्यवस्थापन तथा अनुपालनलगायतका क्षेत्रमा गहिरो अनुभव रहेको बैंकले जनाएको छ । त्यस्तै, ट्रेड फाइनान्स तथा ट्रान्जेक्सन बैंकिङ, मर्जर तथा एक्विजिसन, वित्तीय विश्लेषण तथा उत्पादन विकास र दिगो तथा हरित बैंकिङका क्षेत्रमा समेत उनले महत्वपूर्ण अनुभव हासिल गरेका छन् । नेतृत्व क्षमता तथा नतिजामुखी कार्यशैलीका लागि परिचित पाँडेको नियुक्तिसँगै माछापुच्छ्रे बैंकले उनको लामो बैंकिङ अनुभव तथा वित्तीय विशेषज्ञताबाट बैंकको व्यवसाय विस्तार, सेवा प्रवाहमा सुधार र रणनीतिक लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।