सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावअनुसार बैंकले ४ प्रतिशत बोनस सेयर र ६.५२६३ प्रतिशत नगद लाभांश दिने भएको छ । नगद लाभांशमा बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ । बैंकले ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसा चुक्ता पुँजीको ४ प्रतिशत अर्थात् १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ २२ पैसा बराबरको बोनस शेयर दिने प्रस्ताव गरेको छ । त्यस्तै, ६.५२६३ प्रतिशत नगद लाभांशबापत २४ करोड ३६ लाख ९७ हजार १०२ रुपैयाँ ४७ पैसा वितरण गर्ने प्रस्ताव गरिएको छ । बोनस सेयर र नगद लाभांश गरी बैंकले कुल ३९ करोड ३० लाख ५९ हजार ८४२ रुपैयाँ ६९ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश तथा वित्तीय विवरण अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय भएको बैंकले जनाएको छ । राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव वा निर्देशन प्राप्त भएमा सोसमेत समावेश गरी आगामी वार्षिक साधारणसभाबाट स्वीकृत गराउने बैंकको तयारी छ ।
सिद्धार्थ क्यापिटलका दुई म्युचुअल फण्डहरूको लाभांश घोषणा
काठमाडौं । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेका दुई बन्दमुखी योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेका छन् । सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सञ्चालनमा रहेका सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इक्विटी फण्ड–२, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ को लेखापरीक्षण कार्य सम्पन्न भएको छ । लेखापरीक्षण कार्य सम्पन्न भएलगत्तै सिद्धार्थ क्यापिटलको भदौ १ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ का इकाइधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । निर्णयअनुसार सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ का इकाइधनीले ८ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ का इकाइधनीले १० प्रतिशत नगद लाभांश पाउनेछन् । लाभांश वितरणका लागि आवश्यक प्रक्रिया पूरा गरी बुक क्लोज मिति तय गरिनेछ ।
कालीमाटीमा सबैभन्दा महँगो तरकारी पार्सले, किलोको १ हजार ४५० रुपैयाँ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि विभिन्न तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार तरकारीको मूल्यमा वस्तुअनुसार उल्लेख्य फरक देखिएको छ । कालीमाटी बजारमा ठूलो गोलभेडा (नेपाली) को औसत थोक मूल्य प्रतिकिलो ७१ रुपैयाँ रहेको छ भने भारतीय ठूलो गोलभेडाको औसत मूल्य ७५ रुपैयाँ छ । स्थानीय सानो गोलभेडाको औसत मूल्य ३५ रुपैयाँ र टनेलको सानो गोलभेडाको ५२ रुपैयाँ ५० पैसा रहेको छ । आलुतर्फ रातो आलु (लाम्चाे) को औसत मूल्य ४९ रुपैयाँ ६७ पैसा, रातो आलु (गाेलाे) र (मुडे) को ५० रुपैयाँ ८३ पैसा तथा भारतीय रातो आलुको ३८ रुपैयाँ ५० पैसा रहेको समितिले जनाएको छ । सेतो आलुको औसत मूल्य ३६ रुपैयाँ छ । प्याजको औसत थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । स्थानीय गाजरको ११० रुपैयाँ र तराईको गाजरको ७५ रुपैयाँ औसत मूल्य निर्धारण भएको छ । तरकारीमध्ये स्थानीय काउलीको औसत मूल्य ९५ रुपैयाँ, रातो मुलाको २५ रुपैयाँ, तने बोडीको ८२ रुपैयाँ ५० पैसा, भटमासको ११२ रुपैयाँ ५० पैसा, तिते करेलाको ४५ रुपैयाँ र लौकाको ५५ रुपैयाँ रहेको छ । यस्तै, स्थानीय परवरको औसत मूल्य ६४ रुपैयाँ, तराईको परवरको ६१ रुपैयाँ ६७ पैसा, घिरौलाको २५ रुपैयाँ, चिचिन्डोको २५ रुपैयाँ र फर्सीको ५५ रुपैयाँ रहेको छ । फलफूलतर्फ स्याउ (फुजी) को औसत मूल्य प्रतिकिलो २९० रुपैयाँ, नेपाली केराको २७५ रुपैयाँ, मालभोग केराको १९० रुपैयाँ र कागतीको २२५ रुपैयाँ रहेको छ । अनारको औसत मूल्य ३२५ रुपैयाँ तथा आँप (मालदह) को २६५ रुपैयाँ रहेको छ । कालीमाटी बजारमा सबैभन्दा महँगो वस्तुमध्ये पार्सलेको औसत मूल्य प्रतिकिलो १ हजार ४५० रुपैयाँ रहेको छ । सिताके च्याउको औसत मूल्य ९०० रुपैयाँ, डल्ले च्याउको ५०८ रुपैयाँ ३३ पैसा र सुकेको खुर्सानीको ५२५ रुपैयाँ रहेको समितिको मूल्यसूचीमा उल्लेख छ । यस्तै, किवीको औसत मूल्य ३७५ रुपैयाँ, एभोकाडोको ४५० रुपैयाँ, ड्रागन फ्रुट (नेपाली) को ४५० रुपैयाँ र अदुवाको २१३ रुपैयाँ ३३ पैसा रहेको छ । समितिले बजारको माग र आपूर्ति अवस्थाका आधारमा मूल्य निर्धारण हुने जनाएको छ ।
दक्षिण कोरियाको सत्तारुढ दलको अध्यक्षमा पूर्वप्रधानमन्त्री किम निर्वाचित
काठमाडौं । दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री किम मिन–सुक सत्तारुढ डेमोक्रेटिक पार्टीको नयाँ अध्यक्षमा निर्वाचित भएका छन् । सोमवार सम्पन्न निर्वाचनको नतिजाअनुसार किम पार्टीको नेतृत्व चयन प्रक्रियामा विजयी भएका हुन् । नेतृत्वका लागि भएको प्रतिस्पर्धामा किमले कुल ५४.०८ प्रतिशत मत प्राप्त गर्दै शिर्ष स्थान सुरक्षित गरे । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी जुङ चुङ–रेलाई पराजित गरेका हुन्, जसले ४५.९२ प्रतिशत मत प्राप्त गरे । जुङ पार्टी प्रमुखका रूपमा दोस्रो कार्यकालका लागि चुनावी मैदानमा थिए । निर्वाचनको पहिलो चरणमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि र्याङ्क–च्वाइस (वरीयतामा आधारित) मतदान प्रणालीमार्फत दोस्रो चरण (रनअफ) बाट नेतृत्वको टुङ्गो लगाइएको हो । पार्टीले भर्खरै कार्यान्वयनमा ल्याएको यस नयाँ प्रणालीअनुसार मतदाताले उम्मेदवारहरूलाई पहिलो, दोस्रो र तेस्रो प्राथमिकतामा राख्नुपर्ने हुन्छ । यदि कसैले पनि स्पष्ट बहुमत नल्याएमा, सबैभन्दा कम मत पाउने उम्मेदवारको दोस्रो प्राथमिकताको मतलाई अन्य उम्मेदवारहरूमा बाँडफाँड गरी विजेता घोषणा गरिन्छ । यस निर्वाचनमा प्रतिनिधि तथा दर्ता भएका पार्टी सदस्यहरूको मतलाई ७० प्रतिशत र राष्ट्रिय जनमत सर्वेक्षणको नतिजालाई ३० प्रतिशत भार दिइएको थियो । विजयी भएपछि किमले पार्टी सदस्य र आम नागरिकप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले आफ्नो कार्यकालमा राष्ट्रपति र सरकारलाई रचनात्मक सहयोग पुर्याउने तथा पार्टी र सरकारबीच सन्तुलित र सहयोगात्मक सम्बन्ध स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
७ प्रतिशत लाभांश बाँड्ने माछापुच्छ्रे क्यापिटलको घोषणा
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको करसहित ७ प्रतिशतका दरले २ करोड ४३ हजार ७६५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव अनुमोदनका लागि कम्पनीले भदौ २४ गते दिउँसो साढे १२ बजे काठमाडौंको बालुवाटारस्थित बालुवाटार प्यालेस बैंक्वेटमा सातौं वार्षिक साधारण सभा बोलाएको छ । सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । त्यसैगरी, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षण समितिको सिफारिसअनुसार लेखापरीक्षक नियुक्ति गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।
सिद्धार्थ बैंकबाट बाहिरिदैँ ४ जना संस्थापक
काठमाडौं । सिद्धार्थ बैंकका चार संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेका छन् । उनीहरूले आफ्नो स्वामित्वमा रहेको ४ लाख ६९ हजार १२२ कित्ता सेयर बिक्री गरेर बैंकबाट बाहिरिन लागेका हुन् । बैंकका अनुसार संस्थापक सेयरधनी कृष्णराज पराजुलीले आफ्नो नाममा रहेको १ लाख १० हजार कित्ता र कृष्णकुमारी गुरुङले ४७ हजार ४७९ कित्ता सेयर बिक्रीमा राखेका छन् । पराजुली र गुरुङको नाममा रहेको सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । ३५ दिनभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिद नभएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । यस्तै, लीलादेवी शारदाले २ लाख ७२ हजार ७३७ कित्ता र अजयकुमार जालानले ३८ हजार ९०६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । शारदा र जालानको नाममा रहेको सेयर खरिदका लागि सर्वसाधारण लगानीकर्ता समेतले ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।
नेपाली ४ कम्पनी विरुद्ध अमेरिका र इटलीका कम्पनीको उजुरी
काठमाडौं । उद्योग विभागले विभिन्न उद्योग तथा कम्पनीविरुद्ध दायर भएका ट्रेडमार्कसम्बन्धी उजुरीमा ७ दिनभित्र लिखित प्रतिक्रिया पेस गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । विभागका अनुसार अमेरिकास्थित म्याकडोनल्ड्स कर्पोरेसनले नवलपरासीस्थित ट्रस्ट फुड्स प्रोडक्ट्स प्रालिविरुद्ध ‘ह्याप्पी फुड’ ट्रेडमार्कसम्बन्धी उजुरी दायर गरेको छ । त्यसैगरी, म्याकडोनल्ड्स कर्पोरेसनले विराटनगरस्थित एम.आर.एफ.जी. एड्हेसिभ केमिकल एन्ड इन्डस्ट्रिजविरुद्ध ‘एमटीवाईआरई केयर’ लोगो ट्रेडमार्कसम्बन्धी दाबी विरोधको उजुरी दर्ता गरेको विभागले जनाएको छ । यस्तै, अमेरिकाको कोहलर कम्पनीले पर्सास्थित रोलेक्स सेनिटरी वेयर्स प्रालिविरुद्ध ‘आरएसडब्ल्यू कोहलर’ ट्रेडमार्कसम्बन्धी उजुरी दायर गरेको छ । इटलीको डोल्से एन्ड गब्बाना ट्रेडमाक्र्स एसआरएलले रुपन्देहीस्थित अंकुर सोप इन्डस्ट्रिज एन्ड सप्लायर्स प्रालिविरुद्ध ‘डीजी सोप’ ट्रेडमार्कसम्बन्धी उजुरी दायर गरेको विभागले जनाएको छ । विभागका अनुसार उजुरीको प्रतिलिपिसहित सम्बन्धित उद्योग तथा कम्पनीको नाम र ठेगानामा यसअघि नै सात दिनको म्याद दिएर सूचना पठाइएको थियो । तर, हालसम्म कुनै पनि कम्पनीबाट लिखित प्रतिक्रिया प्राप्त नभएको र तामेली प्रतिवेदनसमेत प्राप्त नभएपछि विभागले सार्वजनिक सूचना जारी गरेको हो । विभागले बाटोको म्यादबाहेक सात दिनभित्र आवश्यक प्रमाणसहित कानुन शाखामा उपस्थित भई लिखित प्रतिक्रिया पेस गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । निर्धारित अवधिभित्र प्रतिक्रिया प्राप्त नभए प्रचलित कानुनबमोजिम कारबाही अघि बढाइने र त्यसपछि सम्बन्धित पक्षको कुनै उजुरी वा दाबी स्वीकार नगरिने विभागले स्पष्ट पारेको छ ।
७ निर्माण कम्पनी ३ वर्षसम्म सरकारी ठेक्काबाट आउट
काठमाडौं । सरकारले सात वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायको सिफारिसका आधारमा ती कम्पनीलाई कालोसूचीमा राखेको हो । कालोसूचीमा पर्ने कम्पनीमध्ये अमृता महरा मुख्य व्यक्ति रहेको नमादेउ निर्माण सेवा, देउरा–बझाङलाई डोटीस्थित खत्याडी माध्यमिक विद्यालयको सिफारिसमा कालोसूचीमा राखिएको हो । त्यसैगरी, शंकरबहादुर प्याकुरेल मुख्य व्यक्ति रहेका एम÷एस बागेश्वरी मल्टिपर्पोज निर्माण सेवा, रामेछाप कन्स्ट्रक्सन र सन्तोषी निर्माण सेवालाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय तथा पूर्वाधार विकास निर्देशनालय, सुर्खेतको सिफारिसमा कालोसूचीमा समावेश गरिएको छ । यस्तै, पवन महतो मुख्य व्यक्ति रहेको रमन कन्स्ट्रक्सन, धनुषा, श्यामकिशोर साह मुख्य व्यक्ति रहेको सुगम निर्माण सेवा, धनुषा र उद्धव भट्टराई मुख्य व्यक्ति रहेको ओम इन्फ्राटेक, ललितपुरलाई पनि कालोसूचीमा राखिएको छ । यी कम्पनीलाई सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना तथा सडक विभाग, सन्धिखर्क–अर्घाखाँचीको सिफारिसमा कालोसूचीमा राखिएको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार सबै कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिसम्म कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।