विकासन्युज

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं । नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र होइन, उद्योगको अवस्था, उपभोक्ताको रुचि र आगामी दिनको दिशासमेत देखाउने मञ्चका रूपमा स्थापित छ । यही कारण १८औँ नाडा अटो शो २०२६ लाई नाडाले आफ्नो ५०औँ स्थापना वर्षको स्वर्ण जयन्तीसँग जोडेर अझ फराकिलो सन्देश दिने गरी तयारी गरेको छ । भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन् । करिब ३ लाख वर्गफिट क्षेत्रमा फैलिने अटो शोमा २३ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेइकल, १३ ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधन, ७० वटा अटोमोबाइल पार्टपुर्जा तथा उत्पादनका स्टल र १० वित्तीय तथा बीमा संस्थाको सहभागिता रहनेछ । तर यसपटक नाडाले अटो शोको परिचय गाडी प्रदर्शनमा मात्र सीमित गर्न खोजेको छैन । रोबोटिक्स, एआई, डिजिटल प्रविधि र स्वदेशी उत्पादनलाई प्रदर्शनीको केन्द्रमा राखिएको छ । नाडाका महासचिव मिलन बाबु मल्लका अनुसार ५०औँ वर्षको अवसरमा आयोजना हुन लागेको यो संस्करणले नाडाको पाँच दशकको यात्रा र अबको अटोमोबाइल क्षेत्रबीचको सम्बन्ध देखाउने प्रयास गर्नेछ । ‘अब अटो शो गाडी हेर्ने ठाउँ मात्र रहेन’ मल्लका अनुसार अटोमोबाइल क्षेत्र अहिले तीव्र परिवर्तनको चरणमा छ । पेट्रोल–डिजेलबाट विद्युतीय सवारीतर्फको परिवर्तनसँगै सवारीसाधनमा एआई, कनेक्टिभिटी र अटोमेसनको प्रयोग बढिरहेको छ । 'अहिले अटोमोबाइल भनेको गाडी मात्र होइन । यो प्रविधि, मोबिलिटी, रोजगारी, वित्तीय सेवा र उद्योगसँग जोडिएको ठूलो इकोसिस्टम हो । त्यसैले अटो शोमा पनि त्यही परिवर्तन देखिनुपर्छ भन्ने हाम्रो सोच हो,' मल्ल भन्छन् । यही सोचअनुसार यसपटक दर्शकले ‘जीआई ह्युमनोइड’ र ‘जीओ–२ क्वाड्रुपेड’ रोबोट प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् । सवारीसाधनमा राखिएको क्युआर कोड स्क्यान गर्दा एआई प्रविधिको प्रयोगमार्फत सम्बन्धित गाडीको विवरण डिजिटल माध्यमबाट प्राप्त गर्न सकिने व्यवस्था पनि मिलाइँदैछ । मल्लका अनुसार प्रविधिलाई प्रदर्शनको आकर्षणका रूपमा मात्र नभई दर्शकको अनुभव सहज बनाउने माध्यमका रूपमा प्रयोग गर्न खोजिएको हो । 'हामीले दर्शकलाई गाडी देखाएर मात्र पठाउन चाहेका छैनौँ । उसले गाडीबारे बुझोस्, तुलना गरोस् र प्रविधिले भविष्यमा हाम्रो मोबिलिटीलाई कहाँ लैजाँदैछ भन्ने अनुभव गरोस् भन्ने हो,' उनी भन्छन् । ‘मेड इन नेपाल’ लाई छुट्टै पहिचान यस वर्षको अटो शोको अर्को महत्त्वपूर्ण पक्ष ‘मेड इन नेपाल एन्ड मेड फर नेपाल’ प्याभिलियन हो । अटो शोको इतिहासमै पहिलोपटक छुट्टै प्याभिलियनमार्फत नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन र अटोमोबाइल सामग्रीलाई प्राथमिकताका साथ प्रदर्शन गरिँदैछ । नेपालमै बनेका मोटरसाइकल, स्वदेशमा एसेम्बल भएका स्कुटर तथा बाइकसँगै टायर, लुब्रिकेन्ट, ब्याट्री, हेल्मेट र स्पेयर पार्ट्सलाई पनि यहाँ राखिनेछ । मल्लका लागि यो केवल एउटा प्याभिलियन होइन, नेपाली उद्योगबारे धारणा बदल्ने प्रयास हो । 'नेपालमा उत्पादन सम्भव छैन भन्ने सोचलाई हामीले विस्तारै बदल्नुपर्छ। स्वदेशमा उद्योग बस्यो भने त्यसले रोजगारी सिर्जना गर्छ, सीप विकास गर्छ र अर्थतन्त्रमा मूल्य थप्छ । त्यसैले ‘मेड इन नेपाल’लाई अटो शोमा छुट्टै स्थान दिनु हाम्रो प्राथमिकता हो,' उनी भन्छन् । अटो शोको मूल नारा पनि ‘उद्योगदेखि रोजगारसम्म’ राखिएको छ । नाडाका अनुसार अटोमोबाइल क्षेत्रले कुल भन्सार राजस्वमा करिब १८ प्रतिशत र समग्र राष्ट्रिय राजस्वमा २२ देखि २५ प्रतिशतसम्म योगदान गर्दै आएको छ। प्रत्यक्ष रूपमा करिब १ लाख र अप्रत्यक्ष रूपमा करिब १० लाख मानिसको रोजगारीसँग यो क्षेत्र जोडिएको नाडाको दाबी छ । मल्लको भनाइमा यही तथ्यले अटोमोबाइल क्षेत्रलाई केवल सवारीसाधन आयात–बिक्रीको व्यवसायका रूपमा बुझ्न नहुने देखाउँछ । 'अटोमोबाइल क्षेत्रसँग जोडिएको रोजगारी र राजस्वलाई हेर्दा यो अर्थतन्त्रको महत्वपूर्ण हिस्सा हो । त्यसैले उद्योगलाई दीर्घकालीन रूपमा बलियो बनाउन नीति, लगानी, पूर्वाधार र प्रविधि सबै पक्षमा सँगसँगै काम गर्नुपर्छ,' उनी भन्छन् । ईभीसँगै नीतिगत बहस यसपटकको अटो शोमा विद्युतीय सवारीसाधनको उपस्थिति उल्लेख्य रहनेछ । विभिन्न ब्रान्डले नयाँ ईभी मोडल सार्वजनिक गर्ने तयारी गरेका छन् । स्मार्ट मोबिलिटी, दिगो यातायात र कनेक्टिभिटीका विषयमा सिम्पोजियम पनि आयोजना हुनेछ । मल्लका अनुसार ईभीको बजार विस्तारसँगै चार्जिङ पूर्वाधार, प्राविधिक जनशक्ति, सर्भिस नेटवर्क र स्थिर नीतिको आवश्यकता पनि बढेको छ । 'ईभी बिक्री बढ्नु मात्रै पर्याप्त हुँदैन । त्यससँगै चार्जिङ पूर्वाधार, दक्ष जनशक्ति, सर्भिस र नीतिगत स्थिरता पनि चाहिन्छ। अबको बहस यही समग्र प्रणाली कसरी बलियो बनाउने भन्नेमा हुनुपर्छ,' उनी भन्छन् । दर्शकका लागि सहज व्यवस्थापन ६ दिनसम्म चल्ने प्रदर्शनीमा करिब २ लाख आगन्तुक आउने आयोजकको अपेक्षा छ। भीड व्यवस्थापनलाई ध्यान दिँदै नेपाल पुलिस क्लब, नेसनल ट्रेडिङ, सुन्धारा, सञ्चय कोष भवन, पुरानो बसपार्क तथा अन्य स्थानमा पार्किङको व्यवस्था गरिनेछ। बाहिरी पार्किङस्थलबाट भृकुटीमण्डपसम्म निःशुल्क सटल बस सञ्चालन गरिनेछ। प्रदर्शनीस्थलमा सीसीटीभी निगरानी, ह्विलचेयर सुविधा, आपत्कालीन स्वास्थ्य टोली र ट्राफिक सूचना डेस्क पनि रहनेछन्। आधिकारिक टिकटिङ पार्टनर खल्तीमार्फत अग्रिम टिकट बुक गर्दा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको आयोजकले जनाएको छ। नाडाको ५०औँ वर्षमा आयोजना हुन लागेको १८औँ अटो शोका बारेमा मल्लको अन्तिम सन्देश भने बजारभन्दा फराकिलो छ। 'हाम्रो लक्ष्य एउटा सफल अटो शो गर्नु मात्र होइन । ५० वर्षमा नाडाले जहाँसम्म यात्रा गरेको छ, त्यसबाट अब नेपाली अटोमोबाइल उद्योगलाई कहाँ लैजाने भन्ने बहस पनि सुरु गर्नुपर्छ । उद्योग बलियो भयो भने व्यवसायसँगै रोजगारी र अर्थतन्त्र पनि बलियो हुन्छ,' उनी भन्छन् । भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा हुने अटो शोमा त्यसैले नयाँ गाडी मात्रै देखिने छैनन् । नेपाली अटोमोबाइल उद्योगको वर्तमान अवस्था र आगामी यात्राको एउटा चित्र पनि देखिनेछ ।

साउनमा ब्रोकर कमिसन सवा ४१ करोड, यी हुन धेरै कमाउने कम्पनी

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरूले साउनमा ४१ करोड बढी कमिसन आर्जन गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार साउनमा ९१ वटा धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरूले कुल ४१ करोड २७ लाख ३६ हजार रुपैयाँ कमिसन आर्जन गरेका हुन् । यो कमिसन असार हिनाको तुलनामा ७.१६ प्रतिशत अर्थात् २ करोड ७६ लाख रुपैयाँ बढी हो । असरामा कुल ३८ करोड ५१ लाख ३० हजार रुपैयाँ कमिसन आर्जन गरेका थिए । नेप्सेले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनमा सबैभन्दा बढी कमिसन नासा सेक्युरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं. ५८) ले आर्जन गरेको छ । उक्त कम्पनीले साउनमा ३ करोड ८२ लाख २४ हजार रुपैयाँ कमिसन आर्जन गरेको हो । यस्तै, सानी सेक्युरिटिज कम्पनी (ब्रोकर नं. ४२)ले १ करोड ४० लाख ३८ हजार रुपैयाँ, इम्पेरियल सेक्युरिटिज कम्पनी (ब्रोकर नं. ४५)ले १ करोड ३२ लाख ४८ हजार रुपैयाँ, भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४)ले १ करोड ३२ लाख १३ हजार रुपैयाँ र अनलाइन सेक्युरिटिज (ब्रोकर नं.४९)ले १ करोड ३१ लाख ४६ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् । त्रिशक्ति सेक्युरिटिज (ब्रोकर नं. ४८)ले १ करोड २१ लाख २२ हजार रुपैयाँ, दीपशिखा धितोपत्र कारोबार कम्पनी (ब्रोकर नं.३८)ले १ करोड ३ लाख ४२ हजार रुपैयाँ, डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिज (ब्रोकर नं. ४४)ले १ करामेड २ लाख ९ हजार रुपैयाँ, आर्यतारा इन्भेस्टमेन्ट एण्ड सेक्युरिटिज (ब्रोकर नं. ५७) ले १ करोड ११ हजार रुपैयाँ र एबीसी सेक्युरिटिज (ब्रोकर नं. १७)ले ८६ करोड ७५ लाख रुपैयाँ कमिसन आर्जन गरेको नेप्सेको तथ्याङ्कमा उल्लेख छ । यसैगरी कोहिनूर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (३५) ले ८५ लाख ८ हजार रुपैयाँ, क्यापिटल म्याक्स सेक्युरिटिज (६२) ले ८३ लाख ७९ हजार रुपैयाँ, नबिल स्टक डिलर (७७) ले ८२ लाख ४१ हजार रुपैयाँ, प्रिमियर सेक्युरिटिज (३२) ले ७७ लाख ६१ हजार रुपैयाँ र नेपाल स्टक हाउस (१४) ले ७५ लाख १२ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।  सुमेरु सेक्युरिटिज (३९) ले ७० लाख ९० हजार रुपैयाँ, लिन्च स्टक मार्केट (४१) ले ७० लाख ६० हजार रुपैयाँ, श्री हरि सेक्युरिटिज (५६) ले ६७ लाख ५७ हजार रुपैयाँ, कलश स्टक मार्केट (७४) ले ६३ लाख ६५ हजार रुपैयाँ र नागरिक स्टक डिलर (६०) ले ६० लाख ५३ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।   यस्तै, सबैभन्दा कम कमिसन भने मनी वर्ल्ड सेयर एक्सचेन्ज (ब्रोकर नं. ७३) ले गरेको छ । साउनमा मनि वर्ल्डले ७०५ रुपैयाँ मात्रै कमिसन आर्जन गरेको नेप्सेले जनाएको छ ।  नेप्सेको तथ्याङ्क अनुसार पाहि इन्भेस्टमेन्ट (ब्रोकर नं. ७९)ले ६२ हजार ३०९ रुपैयाँ, गरिमा सेक्युरिटिज (ब्रोकर नं. ७८)ले ४ लाख ९ हजार रुपैयाँ, ट्रेडमो सेक्युरिटिज (ब्रोकर नं. ९८)ले ५ लाख रुपैयाँ, बेनी सेक्युरिटिज (ब्रोकर नं. ९३)ले ५ लाख ८१ हजा रुपैयाँ र सजिलो ब्रोकर (ब्रोकर नं. ९०)ले ६ लाख ८८ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् । एलिट स्टक हाउस (६८) ले १२ लाख ९०२ रुपैयाँ, सगरमाथा सेक्युरिटिज (१८) ले १० लाख ९६ हजार रुपैयाँ, स्वर्ण लक्ष्मी सेक्युरिटिज (३७) ले १० लाख ८४ हजार रुपैयाँ, भोले गणेश सेक्युरिटिज (६१) ले १० लाख ७८२ रुपैयाँ र आरबीबी सेक्युरिटिज (९७) ले ८ लाख ७१ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।

आज नौ संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र समसामयिक विषयमा छलफल

काठमाडौं । सङ्घीय संसद् मातहतका नौ वटा संसदीय समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक भदौ ८ गते र राष्ट्रियसभाको बैठक शुक्रबारका लागि तय भएकाले संसद्का विभिन्न समितिहरूले आज एकै दिन आफ्नो बैठक राखेका हुन् ।  समितिहरूले विभिन्न विधेयकमाथिको छलफलदेखि सरकारी निकायका कामकारबाही, विकास आयोजना, वैदेशिक सहायता र कृषि तथा पर्यटन क्षेत्रका विषयमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची तय गरेका छन् । अर्थसमितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफल जारी रहनेछ । छलफलका लागि अर्थमन्त्री र अर्थसचिवलाई समितिमा आमन्त्रण गरिएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ । बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा होटल एसोसिएसन नेपालसहित पर्यटन क्षेत्रका सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गरिनेछ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान १० बजे बस्दैछ । बैठकमा समितिमा प्राप्त उजुरीका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपालमा जैविक तथा प्राङ्गारिक मलको उत्पादन, भण्डारण र बिक्री–वितरणको अवस्था सुधार गर्ने विषयमा उत्पादकहरूसँग छलफल हुनेछ । रासायनिक मलको प्रयोग क्रमशः घटाउँदै कृषि उत्पादनमा नकारात्मक असर नपर्ने उपायबारे समेत छलफल गरिनेछ। बैठक बिहान १० बजे बस्नेछ । यसैगरी, पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्दैछ । बैठकमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गत सञ्चालित बागमती ब्युटिफिकेसन आयोजनाका विषयमा छलफल गरिनेछ    । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाहीलगायत समसामयिक विषयमा आयोगका पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान १० बजे बस्नेछ । बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल गरिनेछ । त्यस्तै, सार्वजनिक लेखा समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा नेपालले प्राप्त गर्ने वैदेशिक सहायताको लेखापरीक्षणसम्बन्धी विषयमा छलफल हुनेछ । विधायन व्यवस्थापन समितिको बैठक भने अपराह्न १ बजे बस्नेछ । बैठकमा विधायिकी अन्तरसम्बन्धका विषयमा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष र कार्यकारी निर्देशकसँग छलफल गरिनेछ । यसरी आज बस्ने नौवटै समितिका बैठकमा कानून निर्माण, सार्वजनिक प्रशासन, सुशासन, विकास आयोजना, कृषि, पर्यटन र सार्वजनिक वित्तसँग सम्बन्धित विषयले प्राथमिकता पाउने भएका छन् ।

ईईसी–नेपालले गर्‍यो ईयू राजदूत भेरोनिक लोरेन्जोको सम्मान तथा बिदाइ

काठमाडौं । युरोपियन इकोनोमिक चेम्बर (ईईसी) नेपालले आफ्नो १८औँ वार्षिक साधारणसभाको अवसरमा नेपालका लागि युरोपियन युनियन (ईयू) की राजदूत भेरोनिक लोरेन्जोको कार्यकाल पूरा भएको अवसरमा विशेष बिदाइ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा राजदूत लोरेन्जोले नेपालमा आफ्नो कार्यकालका अनुभव र सम्झनाहरू साझा गर्दै नेपाल–युरोपियन युनियन सम्बन्ध सुदृढ बनाउन गरिएको सहकार्यबारे चर्चा गरिन् । ईईसी–नेपालले राजदूत लोरेन्जोले नेपाल–ईयू सम्बन्धलाई अझ मजबुत बनाउन पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेको जनाएको छ । 

तीन विभागका महानिर्देशक फेरिए, नेपाललाई सूचना विभागको जिम्मेवारी

काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका तीन विभागको नेतृत्व हेरफेर गरेको छ । सूचना तथा प्रसारण विभाग, मुद्रण विभाग र पुरातत्व विभागका प्रमुखको जिम्मेवारी परिवर्तन गरिएको हो । सरकारले सूचना तथा प्रसारण विभागका वरिष्ठ सहसचिव छविन्द्र पराजुलीलाई मुद्रण विभागमा सरुवा गरेको छ । पराजुली यसअघि सूचना तथा प्रसारण विभागका महानिर्देशक थिए । पराजुलीको सरुवापछि सूचना तथा प्रसारण विभागको नेतृत्व उपसचिव अनुप नेपाललाई दिइएको छ । नेपाल यसअघि फ्रिक्वेन्सी शाखामा उपसचिवका रूपमा कार्यरत थिए । सहसचिव प्रमुख रहने व्यवस्था रहेको विभागमा तत्कालका लागि उपसचिव नेपाललाई जिम्मेवारी दिइएको हो । यस्तै, यसअघि मुद्रण विभागको महानिर्देशक रहेका सहसचिव रविलाल शर्मालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा तानिएको छ। शर्माको स्थानमा पराजुलीलाई मुद्रण विभागको जिम्मेवारी दिइएको हो । उता, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पुरातत्व विभागको नेतृत्व पनि परिवर्तन गरिएको छ । विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गलाई मन्त्रालयमा सरुवा गरी संस्कृति महाशाखामा जिम्मेवारी दिइएको छ । प्रधानाङ्गलाई मन्त्रालयमा ल्याएपछि रिक्त भएको पुरातत्व विभागको महानिर्देशकमा संस्कृति विभागका महानिर्देशक डा. सुरेश श्रेष्ठलाई सरुवा गरिएको छ । श्रेष्ठले अब पुरातत्व विभागको नेतृत्व सम्हाल्नेछन् । सरकारले एकैपटक तीन महत्वपूर्ण विभागको नेतृत्व परिवर्तन गरेसँगै सम्बन्धित निकायमा नयाँ नेतृत्वको कार्यसम्पादनलाई चासोका साथ हेरिएको छ । सूचना तथा प्रसारण, मुद्रण र पुरातत्व विभाग आ–आफ्नो क्षेत्रका महत्वपूर्ण सरकारी निकाय भएकाले नेतृत्व परिवर्तनले ती निकायको नियमित काम र आगामी योजनामा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ । 

क्यानडामा लगाइने ५० प्रतिशत भन्सार शुल्क तीन दिनका लागि स्थगन गर्ने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाविरुद्ध लगाउने घोषणा गरिएको ५० प्रतिशत भन्सार शुल्कलाई तीन दिनका लागि स्थगन गरिएको जानकारी दिएका छन् ।  बुधबारदेखि कार्यान्वयनमा आउन लागेको उक्त भन्सार महशुल दुई मुलुकबीच भएको नयाँ सहमतिसँगै तत्कालका लागि रोकिएको हो ।  राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत क्यानडा र अमेरिकाबीच एक सम्झौता भएको उल्लेख गर्दै आवश्यक कागजातहरूलाई अन्तिम रूप दिन बाँकी रहेकाले सो अवधिभरका लागि शुल्क स्थगन गरिएको बताए ।  यसअघि ट्रम्पले क्यानडाबाट आयात हुने सामग्रीहरूमा ५० प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएका थिए । उक्त निर्णय कार्यान्वयन हुनुभन्दा अगावै दुई देशबीचको वार्ता सकारात्मक बनेपछि यो कदम चालिएको हो ।  

चमती-नयाँबजार जग्गा विकास आयोजनाले मारमा उपभोक्ता

काठमाडौं । चमती, नयाँबजारलगायत जग्गा विकास आयोजना क्षेत्रमा देखिएका समस्याबारे अध्ययन गर्न काठमाडौं महानगरपालिकाले संयुक्त अध्ययन समिति गठन गर्ने भएको छ । महानगरपालिकाको ५६औँ कार्यपालिका बैठकमा कार्यपालिका सदस्य मचाराजा महर्जन, ईश्वरमान डंगोल र रोजिना श्रेष्ठले नापी कार्यालयबाट फरक-फरक समयमा कायम गरिएको नदीको मापदण्ड तथा सडकको फरक-फरक मापदण्डका कारण स्थानीय उपभोक्ता मर्कामा परेको विषय उठाएका थिए । त्यसपछि कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरपालिकाले सञ्चालन गरेका सबै जग्गा विकास आयोजना समेट्ने गरी संयुक्त अध्ययन समिति गठन गरिने बताइन् । समितिमा सुशासन समिति, भवन व्यवस्था समिति, विधायन समिति, प्रशासन विभाग, कानुन तथा मानव अधिकार विभाग र सहरी व्यवस्थापन विभागका प्रतिनिधि रहनेछन् । ‘स्थानीयको मर्का मैले पनि सुनेकी छु । उहाँहरूले प्रदेशको मापदण्डलगायत विभिन्न मापदण्डका कारण आफूहरू पीडित भएको गुनासो गर्नुभएको छ । यसको कानुनी समाधानका लागि अध्ययन समितिले भदौभित्र प्रतिवेदन दिनेछ,’ डंगोलले भनिन् ।   बैठकमा प्रशासन विभागअन्तर्गतका प्रस्ताव सुशासन समितिका संयोजक ख्यामराज तिवारी, सम्पदा तथा पर्यटन विभागअन्तर्गतका प्रस्ताव सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत र शिक्षा विभागअन्तर्गतका प्रस्ताव शिक्षा तथा स्वास्थ्य समितिका सदस्यसचिव नमराज ढकालले प्रस्तुत गरेका थिए । वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले महानगरपालिकाको लगानीमा निर्माण भएका पार्क तथा खेलकुद मैदान सञ्चालन तथा व्यवस्थापनका लागि कार्यविधि आवश्यक रहेको विषय उठाए । त्यस्तै, कार्यपालिका सदस्य महेश नेपालीले भवन अभिलेखीकरणलाई आवासको हकसँग जोडेर हेर्नुपर्ने विषय उठाएका थिए । जवाफमा कार्यवाहक प्रमुख डंगोलले दुवै विषयमा अध्ययन तथा मस्यौदा तयार भइरहेको र आगामी कार्यपालिका बैठकमा पेश गरिने जानकारी दिइन् । बैठकले महानगरपालिकाको आन्तरिक स्रोतबाट नियुक्त भएका तथा नियुक्त हुने विद्यालयका कर्मचारी र शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने निर्णयसमेत गरेको छ ।  यसअन्तर्गत नेपाल भाषा प्रशिक्षण सहायक १७२ जना, तामाङ भाषा प्रशिक्षण सहायक १ जना, प्राविधिक धारका शिक्षक १६ जना, प्रशिक्षक ३२ जना, सहायक प्रशिक्षक १६ जना, विद्यालय सहायक १ जना, आया ८७ जना, प्रारम्भिक बाल विकास शिक्षक १२३ जना र विद्यालय नर्स ३३ जना गरी ४८१ जना कर्मचारी तथा शिक्षक समेटिनेछन् । बैठकले सेवा तथा सामानतर्फ करिब १ हजार ५ सय वस्तुको दररेट स्वीकृत गरेको छ । उक्त प्रस्ताव दररेट निर्धारण समितिका संयोजक जगदीश अर्यालले पेश गरेका थिए । यस्तै, बैठकले नेपाल भाषा सहायक प्रशिक्षक र तामाङ भाषा प्रशिक्षण सहायकको करार अवधि एक वर्षका लागि थप गर्ने निर्णय गरेको छ ।

देशभर मनसुनी वायुको प्रभाव, ३ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्यतया बदली रहेको छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । पहाडी भू-भागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, मधेश प्रदेश तथा कोशी प्रदेशको तराईका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हुरीबतासको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशका हिमाली र पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेशको तराईमा सामान्यतया बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदली रहनेछ । राति हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भू-भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । यस्तै, कोशी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।